Wednesday, March 28

=========गजल -------------------


ननुघेको शीर झुकोस्, त्यस्तो पो त गजल लेख्नु ।
नबुझेको चित्त बुझोस्, त्यस्तो पो त गजल लेख्नु ।

दु:ख पीर पर सरोस् ! भोक आफै थला परोस् !
सुन्ने मान्छे मस्त झुलोस्, त्यस्तो पो त गजल लेख्नु ।

काउकुती भित्रै लागोस् ! अन्तर्मन जुर्मुराओस् !
आनन्दमा आत्मा डुबोस्, त्यस्तो पो त गजल लेख्नु ।

मनले मनको बाटो छेकोस् ! नुबझेको प्यास मेटोस् !
खुलेआम मौका जुरोस्, त्यस्तो पो त गजल लेख्नु ।

दिल गुन्गुनाउन थालोस् ! उसै छम्म छम्म नाचोस् !
अनायसै आँखा जुधोस्, त्यस्तो पो त गजल लेख्नु ।

गाह्रो साह्रो स्वाट्ट फूकोस् ! वैरी आफै मित्र बनोस् !
उत्साहले लक्ष्य चुमोस्, त्यस्तो पो त गजल लेख्नु ।

चौतर्फी सुगन्ध चलोस् ! ईशाराले मात चढोस् !
सुतेको रहर उठोस्, त्यस्तो पो त गजल लेख्नु ।

शब्द आफै जादु गरोस् ! नमेटिने छाप बसोस् !
तालीसँगै वाह ! छुटोस्, त्यस्तो पो त गजल लेख्नु ।

प्रेयसीको आँत गलोस् ! माया बन्द कोठा बनोस् !
'सान्निध्य' यो छेउ पुगोस्, त्यस्तो पो त गजल लेख्नु ।
-म्याग्दी

२०६८।१२।०३/०६
शुक्रवार/सोमवार
हाल : गैरीगाउँ, काठमाडौँ ।