Monday, November 12

प्रजातन्त्रमा आक्रमण, जोखिममा इतिहास -रमेशनाथ पाण्डे

  • अमेरिकी उत्कृष्टताको प्रभुत्व अपत्यारिलो हुँदै अहिले विश्व नया“ चरणमा प्रवेश गरेको छ।’
  • हालै प्रकाशित पुस्तक ‘एभ्री डे इज एक्स्ट्रा’मा ओबामा प्रशासनका परराष्ट्र मन्त्री जोन केरीले  सन् २००४ मा राष्ट्रपतिको चुनाव आफूले हार्नुको प्रमुख कारण ‘मतदानमा अनियमितता’ बताएका छन् । दुई वर्षअगि सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनलाई हराउन रुसी सरकारद्वारा 
  • प्रजातन्त्रको सुरक्षाका लागि तीन अंगहरूबीच अनिवार्य सन्तुलन र नियन्त्रण कायम राख्न संविधानले गरेका प्रबन्ध र प्रजातान्त्रिक विश्वमा स्थापित शक्ति पृथकीकरणको लक्ष्मण रेखालाई कानुनी छिद्र खोजेर अथवा महाभियोगको त्रास देखाएर अतिक्रमण गर्ने प्रवृत्तिलाई शासकीय शैलीका रूपमा नै स्थापित गरिएको छ । 
  • सरकार टिकाउन पजेरो संस्कृति भित्र्याएर दोस्रो संसदीय व्यवस्था असफल तुल्याइएको थियो, अहिले शक्तिशाली व्यक्तिहरूको भ्रष्टाचार लुकाउन र न्यायको तराजु चाहेको पक्षमा ढल्काउन महाभियोगको अस्त्रलाई दुरुपयोग गर्न थालिएको छ । प्
  • प्रजातन्त्रको दीर्घायु र सार्थकताका लागि नेतृत्व र आमजनता बीचको निकटता अनिवार्य हुन्छ । निकट हुने हौसला जनतामा भरोसा गर्ने आत्मबलबाट मात्रै प्राप्त हुन्छ । 
  • राज्यको माथिल्लो ओहदामा पुग्नेबित्तिकै जीवनभरि असुरक्षित ठान्ने नेपाल दक्षिण एसियाको एक मात्र देश बनेको छ। सत्तामा रहँदा निवास र कार्यालयमा बैठक भइरहेको कोठामा समेत हतियारधारी चनाखो सैनिक पहरा चाहिने, पदमुक्त भएपछि भूतपूर्व प्रधानमन्त्री, सभामुख र गृहमन्त्रीहरू आजीवन सशस्त्र पहराभित्र राखेर मात्रै सुरक्षित हुने अवस्था र व्यवस्थाले शासनलाई लोकप्रिय बताउँदैन । 
  • प्याट्रिक डिनीमद्वारा लिखित बहुचर्चित पुस्तक ‘ह्वाई लिबरलिजम फेल्ड’ले प्रजातन्त्रको असफलताको कारण नवअभिजात वर्गको उदय, मतदातासँग गरेको विश्वासघात र असमानतामा वृद्धिलाई बताएको छ। 
https://nagariknews.nagariknetwork.com/news/60819/

गरिबी हाम्रो मुख्य समस्या-सुदर्शन अधिकारी

  • गरिबी हाम्रो मुख्य समस्या गरिबी भन्नाले गाँस, बास र कपासको अभावमा कष्टपूर्ण जीवन व्यतीत गर्नुपर्ने अवस्था हो । 
  • राज्यले जटिल र ज्यादा जनसंख्यालाई प्रभाव पारेको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानको पहल गर्छ । 
  • हाम्रो सन्दर्भमा कुरा गर्नुपर्दा कृषि, पर्यटन र उद्योग नै सबैभन्दा बढी श्रमशक्तिलाई रोजगार दिलाउने क्षेत्र हुन् । 
  • गरिबी घटाउनका लागि मूल कार्य भनेकै रोजगारी सिर्जना गर्न गराउनु हो, जसका लागि बढ्दो श्रमशक्तिलाई बढीभन्दा बढी स्वदेशमै श्रम गर्ने अवस्थाको सिर्जना गराई आर्थिक क्रियाकलापमा वृद्धि गर्नुपर्छ । 
  • स्थानीय तहमा नै सक्रियतापूर्वक युवाजमात रोजगारी सिर्जना गर्नमा र प्राविधिक ज्ञान लिएर आफ्नै गाँउठाउँमा श्रम गर्न तयार हुने वातावरण निर्माण गर्न सकिए मात्रै बढ्दो गरिबी घटाएर परिणाममुखी नतिजा यस गरिबी निवारणको क्षेत्रमा ल्याउन सकिन्छ । यसतर्फ भने मूलतः राज्यको स्पष्ट नीति र कार्यक्रम हुनु जरुरी छ । 
http://karobardaily.com/news/idea/12023

श्रमक्षेत्रमा आउटसोर्सिङ कार्य प्रणाली : एक चुनौती -प्रेमलकुमार खनाल

  • नवउदारवादी अर्थनीतिले कम खर्च गरेर धेरै मुनाफा कमाउने (सुपर प्रोफिट) को नीति अवलम्बन गर्दै आएको छ । यसै सन्दर्भमा श्रमक्षेत्रमा करार सेवा प्रणाली, नो वर्क नो पे, हायर एन्ड फायर, छिटो अवकाश नीति (अर्ली रिटायरमेन्ट पोलिसी), घर आधारित काम (होम बेस वर्क) जस्ता नीतिसँगसँगै आउटसोर्सिङ कार्य प्रणाली पनि अवलम्बन गर्दै आएको छ । यी नीतिहरूले सारमा श्रमिकहरूबाट थोरै रकममा धेरै काम लिन सकिने हुन्छ । 
  • नेपालमा नवउदारवादी अर्थ नीतिलाई २०४८ देखि अवलम्बन गरिएको । 
  • श्रम ऐन–२०७४ भित्रको आउटसोर्सिङ कार्य प्रणाली (श्रमिक आपूर्तिकर्ताबाट रोजगारदाताले काम लगाउने) को व्यवस्थाले अब नेपालमा आउटसोर्सिङ कार्य प्रणाली वैधानिक भएको छ । आउटसोर्सिङ कार्य प्रणाली नेपालमा दुई दशकअगाडिदेखि नै सुरु भएको हो र अहिले आएर यसलाई कानुनी मान्यता दिइएको छ । 
  • सरकार तथा रोजगारदाताको कोणबाट यसरी काम गराउँदा श्रमिकको खर्चमा कमी आई मुनाफा वृद्धि हुने श्रमिक कर्मचारी भर्ना गर्ने समय कटौती भई अन्य काममा कम्पनीको व्यवस्थापन केन्द्रित हुन पाउने, बजारमुखी र निजी क्षेत्रमैत्री सरकारको नीतिबाट निजी क्षेत्रले पनि यस क्षेत्रमा व्यवसाय गर्न पाउने, श्रमिकहरू संगठित हुने र युनियन गतिविधिबाट हुने जोखिम न्यून हुने आदि तर्क गरेर अहिले विश्वव्यापी रूपमै आउटसोर्सिङ कार्य प्रणाली अवलम्बन गर्न थालिएको छ ।  
काराेबार दैनिकबाट

जलवायु परिवर्तनको चिन्ता-रमेश भट्टराई

  • दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच भएको एकहप्ते वार्तामा प्रस्तुत गरिएको प्रतिवेदनका समाचारले भविष्य सुरक्षाको चिन्ता बढ्दो छ । तीन वर्ष लगाएर बनाइएको संयुक्त राष्ट्रसंघद्वारा जारी उक्त प्रतिवेदनले “पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ” भन्ने पक्षलाई ठहर गरेको छ । 
  • विगत १ सय वर्ष (सन् १९०६ देखि २००५) सम्ममा पृथ्वीको औसत तापक्रममा ०.७४ डिग्री सेल्सियसले वृद्धि भएका वैज्ञानिकहरूका तथ्यलाई नियाल्दा मनमा ढ्याङ्ग्रो बज्ने बेला भइसक्यो । 
  • कार्बनडाअक्साइडको तुलनामा तुलनामा मिथेन ग्यासले हरितगृह ग्यासलाई बढी मात्रामा बाँधिराख्ने भएकाले यो विश्व तापमान वृद्धिको कारण हो । 
काराेवार दैनिकबाट

प्रश्न र समाधान : सार्वजनिक नीति भनेको के हाे ?-प्रकाश दाहाल

सार्वजनिक नीति भनेको सरकारले के गर्ने वा के नगर्ने भन्ने सम्बन्धमा गरेको सार्वजनिक घोषणा वा प्रतिबद्धता हो । यो सार्वजनिक सरोकारका समस्याको समाधान गर्न वा अवसरको उपयोग गर्न सरकारले तय गरेको बाटो हो ।
त्यसैले सार्वजनिक नीतिलाई सरकारको पूर्वनिर्धारित कार्यदिशा भन्ने गरिन्छ । यो भविष्योन्मुख हुन्छ । यसले सरकारका लक्ष्य तथा उद्देश्यको कार्यान्वयन गराउने माध्यमको रूपमा काम गर्छ । यो जनता र सरकारलाई आपसमा भेट गराउने योजक हो । यस्तो सार्वजनिक नीति लिखित, मौखिक वा सांकेतिक हुन सक्छ । सरकारात्मक वा नकारात्मक प्रकृतिको हुन सक्छ ।
सार्वजनिक नीतिले सार्वजनिक सरोकारको विषयवस्तु समेटेको हुन्छ । यो अधिकारप्राप्त अधिकारी वा संस्थाद्वारा स्वीकृत भएको हुन्छ र बाध्यकारी हुन्छ । त्यसैले सार्वजनिक अधिकारीले आमजनसरोकारको विषयमा गरेका सबै निर्णय सार्वजनिक नीति हुन् । यसमा सरकारद्वारा मुलुकको राननीतिक, आर्थिक तथा समाजिक मामिलाको व्यवस्थापनका लागि तर्जुमा र कार्यान्वयन गरिएका संविधान, ऐन, नियम, नीति, निर्देशिका, कार्यविधि, योजना, कार्यक्रम, निर्णय, आदेश, परिपत्र आदि सबै पर्छन् ।
सार्वजनिक नीति क्षेत्रका हिसाबले कुनै वर्ग, समूह वा स्थान विशेषको वा क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको हुन सक्छ । यो राजनीतिक प्रणाली, आर्थिक अवस्था र सामाजिक–सांस्कृतिक मूल्य–मान्यताबाट प्रभावित हुन्छ ।
सफल सार्वजनिक नीति
सफल र प्रभावकारी सार्वजनिक नीति त्यो हो, जसले निर्धारित लक्ष्य तथा उद्देश्य प्राप्त गर्दै सरोकारवाला वर्ग/समूहमा अपेक्षित प्रभाव पार्न सक्छ । धेरै सार्वजनिक नीति पढ्दा र सुन्दा राम्रा लागे पनि तिनको कार्यान्वयन नभएर वा कार्यान्वय भए पनि अपेक्षित प्रतिफल दिन नसकेर असफल हुने गर्छन् । सार्वजनिक नीतिको सफलता र प्रभावकारिताका निमित्त तिनको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन प्रक्रियाका सबै चरणमा देहायअनुसार गरिनुपर्छः
-विश्वसनीय र भरपर्दो तथ्यांकका आधारको विकास र प्रयोग गर्ने,
-पर्याप्त विकल्पको पहिचान र विश्लेषण गरी उत्तम नीति विकल्पको छनोट गर्ने,
-यथार्थपरक र कार्यान्वयनयोग्य लक्ष्य तथा उद्देश्य निर्धारण गर्ने,
-तर्जुमा र कार्यान्वयनका क्रममा सरोकारवालाको सक्रिय सहभागिता गराउने,
-कार्यान्वयनपूर्व सरोकारवालाबीच यथेष्ट सञ्चार र सचेतीकरण गर्ने,
-उपलब्ध स्रोतसाधन, समय र क्षमताले धान्ने किसिमको नीति तर्जुमा,
-सामाजिक–सांस्कृतिक मूल्य–मान्यतासँग बेमेल नहुने किसिमको नीति विकल्प छनोट गर्ने,
-कार्यान्वयन र अनुगमन तथा मूल्यांकको स्पष्ट जिम्मेवारी, समयसीमा र स्रोतसाधन तोकिएको नीति कार्यान्वयन
-कार्ययोजना सुरुमै तर्जुमा गरी कार्यान्वयनमा लैजाने,
-कार्यान्वयन निकायहरूको क्षमता विकासमा उचित ध्यान दिने,
-तर्जुमा र कार्यान्वयनका क्रममा अन्य नीतिसँग सामञ्जस्यता कायम गर्ने,
-कार्यान्वयनको समन्वय गर्न उपयुक्त संयन्त्रको व्यवस्था गर्ने,
-कार्यान्वयनको क्रममा नियमित अनुगमन गरी आवश्यक सुधारात्मक कदम चाल्ने,
-कार्यान्वयनको उपलब्धि र प्रभाव मूल्यांकन गरी पृष्ठपोषण प्राप्त गर्ने ।
सारांश
सरकारले मुलुकको समृद्धि र नागरिकको हित अभिवृद्धि गर्न सार्वजनिक प्रतिबद्धताका रूपमा सार्वजनिक नीति जारी गर्दछ । तर, यस्ता नीति सफल र प्रभावकारी हुन यथेष्ट अध्ययनका आधारमा यथार्थपरक लक्ष्य तथा उद्देश्य राखेर सहभागितामूलक ढंगले तर्जुमा गरी स्पष्ट कार्ययोजनासहित कार्यान्वयनमा लगिनु आवश्यक हुन्छ ।

५ लाख युवाले देशभित्रै रोजगारी पाउँछन्, निर्वाह भत्ता दिनै नपरोस्

  • प्रधानमन्त्री रोजगार कार्यक्रमसँग गाँसिएको संविधानको मौलिक हकको धारा ३३ ले बेरोजगारहरुलाई न्यूनतम रोजगारीको हकको रुपमा ग्यारेन्टी गर्यो। त्यो कार्यान्वयन गर्नका लागि नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन पास गरिसकेको छ।
यसको मूल प्रावधानको कुरा गर्ने हो भने यसले नेपालका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्नेछ। यसको कार्यान्वयनको जग भनेकै त्यही हो। त्यो रोजगार सेवा केन्द्रले स्थानीय तहभरि भएका बेरोजगारहरुको सूचीकरण गर्छ।
उनीहरुसँग आवेदन माग्छ, त्यो आवेदनको छानबिन गर्छ। बेरोजगार ठहरिएकाहरुको सूची अपग्रेट गरेर राख्छ। नेपाल सरकारका तीनै तहमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो बजेट कार्यान्वयन गर्ने क्रममा सिर्जना हुने रोजगारीमा ती बेरोजगारहरुलाई खटाइने छ।
सरकारले तोकेको न्यूनतम रोजगार भनेको एक आर्थिक वर्षमा कम्तिमा एक सय दिन मानिएको छ। त्यो रोजगारी उपलब्ध गराउने हो। यदि न्यूनतम रोजगारी दिलाउन सकिएन भने बेरोजगारको सूचीमा परेका र प्रमाणपत्र पाएकाहरुलाई निर्वाह भत्ता दिने व्यवस्था पनि ऐनले गरेको छ।
त्यो कुरा पनि यो कार्यक्रमले गर्छ। निर्वाह भत्ता र रोजगारी अलग अलग कुरा हो फेरि। रोजगारी चाहिँ बेरोजगार हुँ भनेर निवेदन दिने र बेरोजगार ठहरिने व्यक्तिले उपलब्ध भएको रोजगारीमा संलग्न हुन पाउँछ। तर, निर्वाह भत्ता चाहिँ एक परिवारको एक जना व्यक्तिले मात्र पाउँछ।
रोजगारी गर्यो भने नेपाल सरकारले तोकेको न्यूनतम ज्याला वा स्थानीय तहको ज्याला दररेटमा जुन बढी हुन आउँछ, एक सय दिन बराबरको पारिश्रमिक पाउने भयो। रोजगार नपाएर बेरोजगार भयो भने त्यो एक सय दिनको ५० प्रतिशत हुन आउने निर्वाह भत्ता प्राप्त गर्ने व्यवस्था ऐनले गरेको छ।
हामीले यो कार्यक्रममार्फत पनि गर्ने त्यही नै हो। त्योभन्दा बाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सिर्जनामा निजी क्षेत्रसँग साझेदारी र सहकार्य पनि गर्छ। त्यसका लागि उद्योगी व्यवसायीहरुसँग बजारमा उहाँहरुलाई आवश्यक पर्ने जनशक्तीको हामी माग संकलन गर्छौं।
त्यो आवश्यकताअनुसार हामीसँग भएको जनशक्तिको पनि विश्लेषण गर्छौं। हाम्रो बेरोजगारको सूचीमा जति मान्छे दर्ता भएका हुन्छन्, उनीहरुको योग्यता अनुभव, शीप त्यो सबैको रेकर्ड राखिएको हुन्छ। र, बजारको माग अनुसारको जनशक्ति त्यहाँ छ भने निजी क्षेत्रमा पनि हामीले रोजगारी दिन्छौं।
तर, बजारको माग र जनशक्तिमा भएको योग्यता, क्षमता, शीप मेल खाएन भने उहाँहरुसँगै मिलेर क्षमता विकासका लागि तालिम पनि चलाउँछौैं। त्यसमा निश्चित अवधिको एक हप्ता, १०/१५ दिनदेखि लिएर ३ महिनादेखि ६ महिनासम्मको तालिम पनि हुन सक्छ।
तर, त्यो तालिम चलाइरहँदा उसले निश्चित अवधि पूरा गरेपछि उद्योग प्रतिष्ठानमा रोजगारी पाउने व्यवस्था गरेपछि मात्रै हामी तालिम प्रदान गर्छौं। तालिमको लागत नेपाल सरकारले व्यहोर्ने, तालिमको मोडालिटी नेपाल सरकारका विभिन्न तालिम प्रदायक संस्थाहरु अन्य निजी क्षेत्रका संस्थाहरुलाई पनि परिचालन गरेर तालिम दिन सकिन्छ।
तर, त्यसको डिजाइन आवश्यकतामा आधारित बजारको माग र उद्योगी, व्यवसायीहरुको आवश्यकता र संलग्नतामै दिने व्यवस्था गरिन्छ। तालिम सम्पन्न भइसकेपछि उसलाई प्रयोगात्मक गराउनु पर्यो भनेदेखि त्यही उद्योगमा लगेर अभ्यास पनि गराइन्छ। तालिम सम्पन्न भइसकेपछि उसले रोजगारी पाउने व्यवस्था पनि हुन्छ।
सँगसँगै तेस्रो महत्वपूर्ण पक्ष पनि के छ भने त्यसरी बेरोजगार सूचीमा भएका युवाहरुले म नेपाल सरकारले खटाउने काममा भन्दापनि आफैँ स्वरोजगार गर्न चाहन्छु भनेको खण्डमा उनीहरुसँग भएको क्षमता सिप योग्यताको आधारमा उनीहरुले पेश गरेको प्रस्ताव पत्रको आधारमा एकै किसिमको काम गर्न चाहने युवाहरुको समूह बनाएर उनीहरुलाई त्यो व्यवसाय गर्न कस्तो तालिमको आवश्यकता पर्छ। त्यो पनि दिलाउने व्यवस्था गर्छौं। तालिमपछि उनीहरुलाई व्यवसाय गर्न चाहिने सहुलियतपूर्ण ऋण दिने पनि यो कार्यक्रमले गर्छ।
  • बेरोजगारहरुको पहिचान।
  • स्थानीय तहहरुमा भएका रोजगारीका अवसरहरुको पहिचान।
  • ती बेरोजगारलाई सरकारकै खर्चमा विकासमा सिर्जना हुने रोजगारीका क्षेत्रमा परिचालन।
  • निजी क्षेत्रको सहभागितामा उनीहरुको आवश्यकता अनुसार र त्यो क्षमता नभए तालिम।
  • स्वरोजगार बन्न चाहनेलाई आवश्यक सिप तालिम र स्वरोजगार सुरु गर्न चाहिने लगानी सहुलियत दरमा ऋण उपलब्ध गराउने ।
यति गर्दा पनि बेरोजगारको सूचीमा भएकाले केही गर्न सकेनन् भने उसलाई हामीले निर्वाह भत्ता दिने हो। सकेसम्म राज्यले निर्वाह भत्ता दिनु नपरोस् र कम दिनु परोस् भनेर काम गरेर पारिश्रमिक दिने उद्देश्य राखेर यो कार्यक्रमको विकास भएको हो। त्यहीअनुसार हामीले तयारी गरिरहेका छौं।

यस्तो छ अहिलेसम्मको प्रगति


हामीले यो आर्थिक वर्षको सुरुमै मन्त्रिपरिषद् बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थियौं। हामीले पहिलो चौमासिकभित्रमा यसको ऐन पास गर्ने, नियमावली बनाउने, कार्यक्रम सञ्चालन निर्देशिका र विस्तृत कार्यक्रम दस्तावेज बनाउने भनेर हामीले पेश गरेका थियौं।
त्यसको प्रगति अहिलेसम्म संसदबाट ऐन पास भएर आइसकेको छ। नियमावलीको हाम्रो मस्यौदा तर्जुमा भइसकेको छ। अब अर्थमन्त्रालयमा सहमतिका लागि पठाउन फाइल स्वीकृत भइसकेको छ हामी अब पठाउँछौं। निर्देशिकाको मस्यौदा भएको छ, यसमा सरोकारवालाहरुसँग हामी छलफल गर्दै छौं। आयोजना दस्तावेजको पनि हामीले जिरो ड्राफ्ट तयार गर्दै छौं।
कार्यक्रम कार्यान्वयनको मूल जिम्मेवारी स्थानीय सरकार गाउँपालिका नगरपालिकाको हुन्छ। उहाँहरुलाई यो नीति बनाइरहँदा, योजना बनाइरहँदा सँगसँगै लान सकिएन भने यो कार्यक्रमको स्वामीत्व कमजोर हुन्छ। स्वामीत्व कमजोर भयो भने कार्यान्वयनमा लान कठिन हुन्छ।
तर, त्योभन्दा अर्को महत्वपूर्ण कुरा के छ भने हामीले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने भनेका छौं। त्यो रोजगार सेवा केन्द्रले अनलाइन प्रणालीबाट बेरोजगारको सूची अध्यावधिक गर्ने, रोजगारीका सूची अध्यावधिक गर्ने र उपलब्ध भएका रोजगारीको वास्तविक तथ्यांक मन्त्रालयलाई पठाउन सक्ने गरेर अनलाइन प्रणाली बनाउछौं।
त्यसलाई हामीले रोजगार सूचना व्यवस्थापन प्रणाली भनेका छौं। त्यो विकास गर्नुपर्ने प्राविधिक पाटो छ। हामीले तयारी मात्रै गरिरहेका छौं, त्यसमा त्यति धेरै उपलब्धि हासिल हुन सकेको छैन। हामी त्यसलाई पनि यो कार्यक्रम कार्यान्वयनमा जाने बेलामा त्यो विकास गरि सक्छौं। सबै रोजगार सेवा केन्द्रमा हामीले रोजगार समन्वयकर्ता पठाउने भनेका छौं।
त्यो रोजगार समन्वयकर्ता सूचना प्रविधिमा राम्रो दख्खल राख्ने र अनलाइनबाट सबै काम गर्न सक्ने सक्षम अधिकृतस्तरको र केही हिमाली जिल्लाका ४८ स्थानीय तह जहाँ १० हजारभन्दा कम जनसंख्या छ, ती स्थानीय तहमा सहायकस्तरको समन्वयकर्ता पठाउने तयारी गरेका छौं।
त्यसको एउटा चुनौती छनोटको प्रक्रियामा छ। अब नेपालमा कुनै पनि रोजगारीको अवसरका लागि विज्ञापन गर्ने हो भने आवश्यकताभन्दा ठूलो संख्यामा दर्खास्त पर्ने र त्यो छनोट गर्न ६ महिनाजति समय लाग्छ। हामीलाई जतिसक्दो छिटो चाहिएको छ। यस्ता केही समस्या छन्, नभए अहिलेसम्म हामीले कार्ययोजना जसरी प्रस्तुत गरेका छौं। त्यही गतिमा तयारी गरिरहेका छौं।

यो कार्यक्रमको सन्दर्भ, गहनता र लक्ष्य पनि फरक छ


यो चिन्ता स्वाभाविक नै हो। विगतमा पनि यस्ताखालका कार्यक्रम आएका हुन्। ती कार्यक्रम अहिले पनि सञ्चालनमा छन्। तीनको सफलतामाथि प्रश्न उठिरहेका छन्। ती सन्तोषजनक भएनन्। त्यसमा द्वीविधा भएन। तर, यो कार्यक्रमको सन्दर्भ पनि फरक छ। गहनता र लक्ष्य पनि फरक छ।
अनि, कार्यान्वयनको मोडालिटी पनि हामीले फरक तरिकाले विकास गरिरहेका छौं। यो मौलिक हक कार्यान्वयन गर्ने कार्यक्रम हो। मौलिक हक भनेको यस्तो हक हो, जसलाई राज्यले सुनिश्चितता गर्न सकेन भने त्यसको संवैधानिक उपचारको व्यवस्था हुन्छ।
त्यो राज्यले गर्नैपर्ने हुन्छ। त्यसलाई कार्यान्वयन गर्न कानुन आइसकेको भएर यसलाई सफलतामा लानुको विकल्प छैन, कार्यान्वयन गर्नैपर्ने हुन्छ। रोजगारी सिर्जना गर्न सकिएन भने निर्वाह भत्ता दिनुपर्ने हुन्छ। निर्वाह भत्ता दिनु भनेको राज्यको फजुल खर्च बढ्नु हो। नागरिकलाई परनिर्भर बनाउनु पनि हो।
त्यसकारण यो कार्यक्रम सफल बनाउन राज्य पूरै लाग्नुको विकल्प छैन। धेरैजसो कार्यक्रम असफल हुनुमा त्यसमा सरोकारवालाहरुको स्वामीत्व कति रह्यो भन्ने कुरामा निर्भर रहन्छ। हामीले यो कार्यक्रमलाई कसरी डिजाइन गर्दै छौं भने यसले स्थानीय तहको विकास र समृद्धिलाई पनि योगदान पुर्याउँछ।
त्यसले गर्दा यसले स्रोत निर्माण गर्छ र रोजगारीको सिर्जना पनि गर्छ। हामीले स्थानीय तहमार्फत नै कार्यान्वयन गराउने भएको कारणले गर्दा स्थानीय सहभागिता, स्थानीय पूर्वाधारहरुको निर्माण र स्थानीय स्वामीत्व पनि यसले निर्माण गर्ने हुँदा यो सफल हुन्छ भन्ने मलाई लाग्छ।
यो अरु कार्यक्रमभन्दा भिन्न छ। यस्ता कार्यक्रम असफलताको मूल कारण भनेको पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले यसबाट लाभ लिने कारणले पनि हो। यसलाई हटाउनका लागि कम्प्युटरमा आधारित रोजगार सूचना व्यवस्थापन प्रणाली विकास गरेर कार्यान्वयन गर्न सक्यौं र हामीले बेरोजगारहरुको सही पहिचान गर्न सक्यौं भने कार्यान्वयनमा समस्या आउँदैन।
त्यो दिसामा हामीले तयारी गरिरहेका छौं। मूलचाहिँ हामीलाई तथ्यांक अध्यावधिक गर्ने कुरा र सही बेरोजगार पहिचान गर्ने र ती बेरोजगारलाई सही ढंगले काममा खटाएर उसलाई पारिश्रमिक दिने कुरा हो। त्यसैले हामीले प्रणाली पनि व्यक्तिको विवेकलेभन्दा बढी स्वचालित हिसाबले सञ्चालन हुने प्रणाली विकास गर्न खोजिरहेका छौं।
माथि उल्लेख भएजस्तै ‘एक्स्लुजन’ र ‘इन्क्लुजन इरर’ कम हुन्छ। र, यसको सफल कार्यान्वयन हुन्छ भन्ने कुरा हो। तर, यस पटक सबै ठाउँमा, शतप्रतिशत आलोचनै गर्न नमिल्ने गरी कार्यान्वयन हुन त चुनौतिपूर्ण नै छ। विगतका कार्यक्रमबाट सिक्दै यसलाई सफल कार्यान्वयनमा लान्छौं।

वैदेशिक रोजगारीमा भएकाहरुले देशभित्रै रोजगारी पाउलान्?


यो कार्यक्रमको ओरिजिन नै हेर्ने हो भने पनि यो किन आयोभन्दा यस्तै कारण हो। ५ लाख युवा प्रतिवर्ष श्रमको खोजीमा श्रम बजारमा आउँछन्। एक लाख युवाले देशभित्र काम पाउँछन्।
चार लाख युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। त्यो पनि अवस्था के छ भन्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको न्यूनतम पारिश्रमिकमा सामाजिक बिमा यिनीहरुको जोड्ने हो भने मासिक रुपमा १६ हजारभन्दा बढी मासिक आम्दानी नेपालभित्रै गर्न सकिन्छ, त्यो न्युनतम हो।
त्योभन्दा बढी जतिपनि बार्गेनिङ गरेर लिन सक्छन्। तर, मलेसिया, साउदी, कतारजस्ता देशमा कठिन परिस्थितिमा काम गरेर महिनाको २०/२५ हजार कमाउन युवाहरु विदेश गइरहनु परेको अवस्था छ। अर्थतन्त्रको एकतिहाई हिस्सा रेमिट्यान्सले धानेको छ।
त्यो अहिले सुन्दा राम्रो देखिन्छ। तर, दीर्घकालिन हिसाबले अर्थतन्त्रका लागि राम्रो अवस्था होइन। त्यही भएर हामी चाहन्छौं, आगामी ५ वर्षभित्रमा देशमै आन्तरिक रोजगारी सिर्जना गरेर कोही पनि युवाले बाध्यताले वैदेशिक रोजगारीमा जानु नपरोस् भन्नका लागि यो कार्यक्रम विकास भएको हो।
त्यसैले हामीले यो आन्तरिक रोजगारीको प्रवर्द्धन गरेर अब युवाले बाध्यताले रोजगारीकै खोजीमा, न्यूनतम कमाउन जानु पर्दैन भन्ने अवस्था सिर्जना गर्छौं। विदेशबाट केही सिप, आम्दानी लिएर आउने युवाका लागि पनि नेपाल सरकारले कार्यक्रम घोषणा गरिसकेको छ।

सार्वजनिक प्रशासनमा नयाँ बहस - प्रद्युम्नप्रसाद उपाध्याय

  • नेपालको सार्वजनिक प्रशासन हेर्दा कुनै नियम, प्रक्रिया वा संरचना फेर्ने विषय प्रायः चुनौतीका रूपमा आउने गरेको छ ।
  • निजामती सेवामा कुनै संशोधनको विषय होस् वा नयाँ संरचना निर्माण र मिलानको विषय वा अधिकारको बाँडफाँडको विषय वा स्रोत व्यवस्थापनको विषय होस् व्यवस्थापनले निर्णय लिइसकेपछि कार्यान्वयनसम्म पुर्‍याउन नसकेर निर्णय नै फिर्ता लिनुपरेका धेरै उदाहरण विगतमा आएका छन् ।
  • फेरिने परिस्थितिबाट सिर्जना हुन सक्ने विपरीत प्रभावले परिवर्तन लागू गर्न अप्ठ्यारो पर्न सक्छ भनी संगठनले पहिले नै बुझेर योजना बनाउन नसक्दा परिवर्तन कार्यान्वयन हुन सक्दैनन् । तसर्थ, व्यवस्थापनले संगठनको प्रकृति बुझेर परिवर्तन योजना बनाउनु उपयुक्त हुन्छ । संगठनको प्रकृतिलाई चिसो वा तातो गरी वर्गीकरण गर्न सकिने र परिवर्तनका लागि संगठनमा जाँगरलाई पनि चिसो खालको वा तातो खालको हो त्यो पनि व्यवस्थापनले राम्ररी बुझेर उत्तम रणनीति तय गर्नुपर्ने भनी वानडेन्बर्ग र पिटर्समा (२०१४)ले बताएका छन् ।
  • यस्तो संगठन जहाँ नियम–कानुन, पद्धति, संरचना र प्रक्रियाले सीधै नियन्त्रण, दिशानिर्देश र समन्वय गरी परिणाम प्राप्त गर्ने व्यवस्था हुन्छ र कुनै व्यक्तिगत आन्तरिक इच्छाशक्ति लगाएर कर्मचारी विशेषले तोकेभन्दा बढी काम गरी परिणाम देखाउने कुनै स्थान हुँदैन त्यस्ता संगठन चिसा प्रकृतिका संगठन मानिन्छन् । अर्कोतर्फ, लक्ष्यप्राप्तिमा साझा मूल्य र मान्यता राख्ने र संगठनलाई जसरी पनि उत्कृष्ट बनाउन हिँड्ने दिशाबारे एक सामूहिक समझदारी रहेको संगठन तातो संगठन मानिन्छ ।
  • त्यस्तै, कुनै संगठनमा आउने कुनै परिस्थिति वा आपत्काल, संगठन नै ध्वस्त हुने अवस्था, बजारमा संगठनको ख्याति निरन्तर घटेको अवस्था, नाफा कमाउन नसकेको परिस्थिति वा नयाँ प्रतिस्पर्धीका अगाडि टिक्न असक्षम भएको वेलाजस्ता विषय परिवर्तनका लागि जाँगर चिसो रहेकोअन्तर्गत पर्छन् । परिवर्तनका लागि जाँगर तातो रहेको भन्नाले संगठनमा कार्य गर्नेहरूमा संगठनको प्रगतिका लागि व्यक्तिगत रूपमा दृढ चाहना र महत्वाकांक्षा भएको अवस्था हो । यसरी संगठनको प्रकृति र जाँगरको तातो–चिसो पक्ष संयोजन गरी चार प्रकारका रणनीतिसहितको परिवर्तन चतुर्थांशयोजना तयार गरिन्छ । यी चार रणनीतिक क्षेत्र हुन्ः १) हस्तक्षेपकारी रणनीति, २) कार्यान्वयनमुखी रणनीति, ३) रूपान्तरण रणनीति, र ४) नवीन खोज रणनीति ।
  • यी परिवर्तन चतुर्थांशका मद्दतले संगठनमा परिवर्तनका वाहक निर्धारण गर्न सहज हुन्छ । साथै, त्यसमा क्रियाशील भएर लाग्न सक्नेको पनि पहिचान हुन्छ । व्यवस्थापनले परिवर्तनबाट अधिकतम लाभ प्राप्त गर्ने गरी कति क्षेत्र र कुन समयमा लागू गर्ने भन्ने पनि थाहा पाउँछ, परिवर्तन प्रयासलाई दह्रो रूपमा बढाउन सही रणनीति पनि यसका मद्दतले अपनाउँछ ।
  • परिवर्तनबारे संगठनको प्रकार तथा जाँगरका आधारमा माथि भनिएका चारप्रकारका रणनीतिको प्रभावकारी सञ्चार महत्वपूर्ण हुन्छ :
) हस्तक्षेपकारी सञ्चार : यो व्यवस्थापनले माथिबाट तलतिर हस्तक्षेप गरी परिवर्तनको जानकारी दिने सञ्चार रणनीति हो । यो एकदम स्पष्ट र सीधा हुन्छ । यस्तो सञ्चारमा आमसञ्चार र व्यक्तिगत सञ्चार दुवैको सन्तुलन कायम गर्न व्यवस्थापकले जान्नुपर्छ । व्यवस्थापकलाई परिवर्तन लाद्ने एक चरित्रका रूपमा हेरिने हुँदा उसले विचार पुर्‍याएर प्रस्तुत हुनुपर्छ । कर्मचारीले व्यवस्थापकको अनुहार हेर्छन्, व्यवस्थापक नै परिवर्तनको स्पष्ट संवाहक देखिन्छ । व्यक्तिका भावना र सञ्चारशैलीका आधारमा यो रणनीति सफल–असफल हुने तय हुन्छ ।
२) कार्यान्वयन सञ्चारः जब परिवर्तन आवश्यकताभन्दा पनि महत्वाकांक्षाबाट निर्र्देिशत हुन्छ, तब यो रणनीति देखिन्छ । परिवर्तनले गर्दा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर व्यवस्थापनले कर्मचारीलाई त्यसप्रति उत्साहित गर्ने कार्य यसमा पर्छ । तसर्थ, सम्भाव्य परिणामबारे सबैलाई अवगत गराउने र सो परिणाम प्राप्त गर्नमा सबैको सहयोग चाहिने भनी व्यवस्थापनले भन्छ । यस शैलीमा जनसम्पर्क बढी चाहिन्छ र परिवर्तनको जानकारी व्यवस्थापकका अतिरिक्त व्यवस्थापन टिमले नै दह्रो गरी दिन्छ । व्यवस्थापक आफैँ एक उदाहरण (रोल मोडल) देखिन्छ ।
३) रूपान्तरण सञ्चार : व्यवस्थापनले संगठनमा के कसरी परिवर्तन लागू गर्न सकिन्छ भनी कर्मचारीलाई नै स्वतःस्फूर्त योगदानका लागि आह्वान गर्छ । परिवर्तनको अन्तिम लक्ष्य उनीहरूलाई अवगत गराइन्छ र बृहत् सहभागिता माग गरिन्छ । कर्मचारीलाई परिवर्तनका फाइदाबारे स्पष्ट रूपमा सम्झाइन्छ र संगठनमा समन्वयपूर्वक सूचना सम्प्रेषण होस् भनी एक निश्चित सूचना केन्द्र  पनि राखिन्छ ।
४) नवीन खोजद्वारा सञ्चार : जुनसुकै संगठनमा कुनै महत्वाकांक्षाले मात्र परिवर्तनतर्फ डोर्‍याउने हो । तसर्थ, परिवर्तन कसरी गर्दा उपयुक्त हुन्छ भनी तल्लो तहलाई संलग्न गरी लैजाने सञ्चार रणनीति यो हो । यस सञ्चारमा कडा अनुगमन भने आवश्यक मानिन्छ । तर, परिवर्तनको योजनाकार नेतृत्वले विशेष निर्देशन र सहजीकरण गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । परिवर्तनमा जनसहभागिता सुनिश्चित गर्दै दोहोरो सञ्चार कायम गरेर व्यवस्थापकले कर्मचारीलाई उत्साहित गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
http://www.nayapatrikadaily.com/2018/11/11/112955/

कर्मचारीतन्त्रको अकर्मण्यताका पाँच कारण -प्रकाश दाहाल

स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र विकास र समृद्धिको संवाहक बन्नुको साटो बाधक बनेको छ ।
व्यावसायिकता, योग्यता प्रणाली, विशिष्टीकरण, आदेशको कठोर शृंखला, तटस्थता र प्राविधिक चरित्रजस्ता विशिष्ट गुण हुनुपर्ने कर्मचारीतन्त्र दिनप्रतिदिन थप अकर्मण्य बन्दै जानुका पछाडि मूलतः देहायका पाँचवटा कारण जिम्मेवार छन् ।
१. स्वार्थकेन्द्रित नेतृत्व
प्रशासनिक नेतृत्वको ध्यान सरुवा, बढुवा र अवकाशपछिको नियुक्तिका लागि राजनीतिक नेतृत्वलाई सके रिझाउने नसके पनि नचिढ्याउनेतर्फ बढी केन्द्रित छ । सबैलाई खुसी बनाइराख्ने नाउँमा आफ्नो विभागीय मन्त्रीको निर्देशन र आदेशसमेत अन्य प्रभावशाली राजनीतिक नेतृत्वको मनोविज्ञानको प्रतिकूल नभए मात्र पालना गर्ने अवस्था छ । फलस्वरूप कुनै पनि निर्णय हुनुपूर्व त्यसबाट राज्य र नागरिकलाई पुग्न सक्ने लाभहानिका आधारमा तथ्य, कारण र अनुभवलाई प्रयोग गरी विज्ञका रूपमा मन्त्रीसँग तर्क–वितर्क गर्न सक्ने, तर निर्णय भइसकेपछि इमानदारीपूर्वक कार्यान्वयन गर्ने ‘न्युट्रल कम्पिटेन्ट’ प्रशासनिक नेतृत्व पछिल्लो समयमा दुर्लभप्रायः बनेको छ ।
मन्त्रालय एवं निकायहरूबीच सुविधा, अवसर र प्रतिष्ठामा व्यापक असमानता भएकाले सरुवा कर्मचारी नेतृत्वको पहिलो चासोको विषय बनेको छ । प्रशासनिक नेतृत्वको सरुवा राजनीतिको छनोटमा हुने गरेको छ । सचिव बढुवा र पदस्थापन, मुख्य सचिवमा बढुवा र अवकाशपछिका नियुक्तिमा राजनीतिक नेतृत्वको भूमिका निर्णायक हुन्छ । तर, उनीहरूको छनोटमा योग्य र क्षमतावान्भन्दा आज्ञाकारी व्यक्ति पर्ने गर्छन् । अर्कातर्फ अवकाशपछिको जागिरको आशामा प्रशासनिक नेतृत्वले केही समयपहिल्यैदेखि दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई नचिढ्याउने गरी काम गर्न चाहन्छन् । यस्तै कारणले गर्दा प्रशासनिक नेतृत्वले व्यावसायिकता र विज्ञतालाई भुल्न पुग्यो र अपेक्षित नतिजा दिन सकेन ।
२. कर्मचारीको दलीयकरण
आफ्नो योग्यता, ज्ञान, सिप र अनुभवको उच्चतम प्रयोग गरी राजनीतिक रूपले तटस्थ रहेर सरकारलाई असल नीति, योजना र कार्यक्रमको तर्जुमामा निःस्वार्थ सहयोग गर्दै तिनको सफल कार्यान्वयन गर्नु नै कर्मचारीतन्त्रको धर्म हो । गोप्य मतदान गर्ने अधिकारबाहेक कर्मचारीको सार्वजनिक रूपमा राजनीतिक पहिचान हुनु हुँदैन ।  हामीले कर्मचारीतन्त्रमा राजनीतिक दलका भ्रातृ संगठनका रूपमा ट्रेड युनियन खोल्ने र बहुदलीय प्रतिस्पर्धाबाट आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने व्यवस्था गरेका कारण कर्मचारीहरू सार्वजनिक रूपमै राजनीतिमा सरिक हुने वातावरण बन्यो । मन्त्रीले आफ्नो पार्टीको नजिक रहेका भनिएका कर्मचारीलाई आफूसँग लाने र फरक विचारधाराका कर्मचारीलाई हटाउने प्रचलन सामान्य बन्दै गएको छ । तटस्थ हुँदा कसैको रोजाइमा नपरी अरूले छोडेको स्थान वा जगेडामा बस्नुपर्ने हुनाले कर्मचारी स्वयं कुनै न कुनै दलको नजिक देखिन तथा राजनीतिक नेतृत्व र ट्रेड युनियनको ढोका ढकढक्याउन बाध्य छन् ।
सार्वजनिक अभिव्यक्तिलाई विश्वास गर्ने हो भने सबैजसो राजनीतिक नेतृत्व कर्मचारीतन्त्रमा दलीय ट्रेड युनियन हुनु हुँदैन भन्नेमा स्पष्ट देखिन्छन् । प्रशासनिक नेतृत्व त सायदै यसको पक्षमा होलान् । तथापि राजनीतिक नेतृत्व केही भोटको लोभमा र प्रशासनिक नेतृत्व चाहेको ठाउँमा सरुवा वा टिकाउ हुने आसमा ट्रेड युनियनसँग अप्रिय हुन चाहँदैनन् । ०४६ सालको जनआन्दोलन होस् वा ०६२/६३ को आन्दोलन नै किन नहोस्, हामी सबैले आ–आफ्नो स्थानबाट सहभागिता र समर्थन गरेकै कारण सफल भएका हुन् । तर, आज लोकतन्त्र संस्थागत भइसकेको अवस्थामा आन्दोलनमा कर्मचारीले गरेको योगदानको लाभका रूपमा दलैपिच्छेका ट्रेड युनियन रहिरहनुपर्छ भन्नु तर्कसंगत हुँदैन । आमकर्मचारीको साझा हितका विषयमा सामाजिक संवाद र सामूहिक सौदाबाजी गर्ने अधिकारसहितको गैरराजनीतिक एकल ट्रेड युनियन भए पुग्छ । हामीले यो तथ्यलाई मनन गर्दै व्यावसायिक कर्मचारीतन्त्रको मूल्यलाई आत्मसात् गरी यसलाई राजनीतिबाट तटस्थ राख्न सकेनौँ । त्यसैले कर्मचारीतन्त्रले राजनीतिक छातामुनि उभिएर आफ्नो विवेक र क्षमताको महत्तम प्रयोग गर्न सकेन र यो निकम्मा साबित भयो ।
३. व्यावसायिकताको विनाश
व्यावसायिक चरित्रले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा पृथक् राखेको हुन्छ । व्यावसायिकताकै कारण कुनै पनि मुलुकको राजनीति त्यहाँको कर्मचारीतन्त्रभन्दा सक्षम हुन सक्दैन भनिएको हो । विशेषज्ञता, उद्देश्य केन्द्रित, तटस्थता र वस्तुगतता, सदाचार, तार्किक क्षमता एवं अडान, प्रणालीबद्ध र उत्तरदायित्व व्यावसायिक कर्मचारीतन्त्रका गुण हुन् । विशिष्टीकरणमा आधारित कामको विभाजन तथा वृत्ति प्रणाली र निर्दिष्ट प्रक्रिया (ऐन, नियम, निर्देशिका, कार्यविधि आदि) मा आधारित कार्य प्रणालीबाट मात्र कर्मचारीतन्त्रमा उल्लिखित गुण कायम हुन सक्छन् ।
हामीले कर्मचारीतन्त्रमा विशिष्टीकरणलाई सधैँ बेवास्ता ग-यौँ । निश्चित समूहको स्वार्थ पूरा गर्न यसभित्रका सेवा, समूह र उपसमूहहरूलाई पटकपटक गाभ्ने र टुक्र्याउने काम ग-यौँ । विगतमा हुलाक सेवा र राजप्रासाद सेवाको खारेजी र त्यहाँका कर्मचारीको प्रशासन सेवामा मिलान, अलगै संसद् सेवा गठन गर्ने क्रममा सो सेवाका कर्मचारीलाई प्रशासन सेवामा जान वा सोही सेवामै एक श्रेणी बढुवा हुन दिइएको अवसर, छुट्टै स्वास्थ्य सेवा गठन गर्ने नाममा सो सेवाभित्र फरक वृत्ति प्रणालीको अवलम्बन, सचिव बढुवाका लागि क्लस्टरको व्यवस्था र पुनः खारेजीको प्रयास, विविध सेवाका कम्प्युटर अपरेटरको प्रशासन सेवामा बढुवा, लोकतन्त्रको लाभ बाढ्ने बहानामा स्वतः बढुवा गर्ने २४ घ १ को व्यवस्था र पछिल्लो समयमा कर्मचारी समायोजनको निहुँमा सेवा समूहलाई भत्काउने, स्वतः बढुवा दिने तथा निजामती, स्थानीय तह र अन्य संगठित संस्थाका कर्मचारीलाई एउटै सेवामा मिलान गर्ने प्रयास यसका उदाहरण हुन् । यस्ता विकृत अभ्यासकै कारण कर्मचारीतन्त्रमा व्यावसायिक चरित्रको विनाश भयो र यसले आफ्नो सक्षमता देखाउन सकेन ।
४. मौलाउँदो संरक्षणवाद
कर्मचारीतन्त्रको गतिहीनता र अक्षमताको अर्को कारण संरक्षणवादले प्रश्रय पाउनु पनि हो । यसमा खासगरी राजनीतिक, भेगीय र पारिवारिक संरक्षणवाद हाबी छन् । राजनीतिक दलहरूले राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने र विज्ञतालाई भन्दा भक्तिलाई कदर गर्ने प्रचलन छ । राजनीतिक नेतृत्व होस् वा प्रशासनिक दुवै कर्मचारीका सम्बन्धमा भेगीय रूपमा पूर्वाग्राही हुने गरेको देखिन्छ । कतिपय मन्त्रालय वा निकायमा जुन भेगको राजनीतिक वा प्रशासनिक नेतृत्व छ, त्यही भेगका कर्मचारीको बाहुल्य देखिन्छ ।
कर्मचारीतन्त्रमा सीमित भेगको वर्चस्व र आरक्षणको त्रुटिपूर्ण पद्धतिको अभ्यासबाट पारिवारिक संरक्षणवादसमेत बढ्दै गएको छ । जातीय, लैंगिक र क्षेत्रीय आधारमा आरक्षणको व्यवस्था गर्नाले सम्बन्धित समूहको टाठाबाठा परिवारका बहुसदस्यले यसको लाभ उठाएका छन् । यसबाट कर्मचारीको पदस्थापन, जिम्मेवारी, सरुवा, अवसरको बाँडफाँड, मूल्यांकन, पुरस्कार तथा प्रोत्साहनलगायत सबै कुरामा आफ्नो पारिवारिक सम्बन्ध, नातागोता, आफन्त र भेगीयतामा आधारित पूर्वाग्रह देखिन थालेको छ । यसले गर्दा योग्यता प्रणालीको अवमूल्यन भई कर्मचारीतन्त्रको कार्यसम्पादनमा ह्रास आएको छ ।
५ . आत्मपरक मूल्यांकन प्रणाली
कर्मचारीतन्त्रलाई नतिजामुखी बनाउन वैज्ञानिक र वस्तुगत मूल्यांकन प्रणाली प्रयोग गरी यसलाई पुरस्कार र दण्डसँग जोडिनुपर्छ । हामीले प्रयोग गरिरहेको मूल्यांकन प्रणाली कर्मकाण्डी छ । यसले कर्मचारीको कार्यसम्पादनको स्तरलाई कत्ति पनि प्रतिविम्बित गर्दैन । बढुवाको प्रमुख आधार रहेको कार्यसम्पादन मूल्यांकनमा सुपरिवेक्षकले व्यक्तिगत रिसिइबीको अवस्थाबाहेक सबैलाई शतप्रतिशत अंक दिने प्रचलन छ । पुरस्कार तथा दण्ड र कार्यसम्पादनबीच कुनै सामञ्जस्य छैन । मागेर पुरस्कार लिनुपर्ने व्यवस्था र यसको छनोट प्रक्रियाका चरम विकृतिले गर्दा एउटा इमानदार र कर्तव्यनिष्ठ कर्मचारीले कुनै पुरस्कार र तक्मा नलिई बहिर्गमन हुन सकियोस् भन्ने कामना गर्नुपर्ने अवस्था छ ।
सरुवा, महत्वपूर्ण जिम्मेवारी, अवसरको वितरण केही पनि कार्यसम्पादनमा आधारित छैनन् । मूल्यांकनको यस्तो आत्मपरक व्यवस्थाका कारण कर्मचारीमा कामप्रतिको उत्प्रेरणा शून्यप्रायः छ । काम गर्दा भन्दा चाकडी, चाप्लुसी, ट्रेड युनियनका गतिविधि र राजनीतिक सम्बन्ध विकासमा केन्द्रित हुँदा बढी लाभ हुने कारण अधिकांश कर्मचारी कामलाई महत्व दिँदैनन् । यसले गर्दा हाम्रो कर्मचारीतन्त्र लक्ष्यविमुख र नतिजाविहीन बनेको अवस्था छ ।
कर्मचारीतन्त्रका यी यावत् विकृति हामी सबैलाई थाहा छ किनकि यिनको सिर्जना पनि हामीले नै गरेका हौँ । समस्याको समाधान दोषारोपणबाट हुँदैन । यस्ता विकृतिको कुशल शल्यक्रिया गरी कर्मचारीतन्त्रलाई पूर्ण रूपले योग्यता प्रणालीमा आधारित, सार्वजनिक मूल्यकेन्द्रित, नतिजामुखी र व्यावसायिक बनाउन यसमा तत्कालै सुधार र शुद्धीकरणका रूपान्तरणकारी कदम चाल्नु जरुरी छ । अनि मात्र कर्मचारीतन्त्रले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनालाई साकार पार्ने गति र दिशामा काम गर्न सक्छ ।

‘साइकलमन्त्री’सँग गाडीको लस्कर कार्तिक २४, २०७५अब्दुल्लाह मियाँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारीसाधनका नाममा पुरानो साइकलमात्र ।
त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।
मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

उनी मन्त्रालयले उपलब्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । गृहले मन्त्रीको शपथ लिएकै दिन ३ फागुनमा सशस्त्र प्रहरीका एक चालकसहित यो गाडी उपलब्ध गराएको थियो । यो गाडी अधिकांश समय मन्त्री निवासमै हुन्छ ।

पत्नी विमला महतका लागि मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी तानेका छन् । यसअघि उक्त गाडी तत्कालीन स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही चढ्थिन् । सशस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण भण्डारीले चलाउने यो गाडीलाई हरेक दिन मन्त्रीपत्नी विमलाले व्यक्तिगत काममा प्रयोग गर्छिन् । मन्त्री पण्डितकै आग्रहमा उक्त गाडीको रातो–नीलो प्लेट हटाएर सेतो राखिएको मन्त्रालयका अधिकारीले बताए ।

मन्त्री पण्डितले आफूले प्रयोग गर्ने दुइटासहित निवासमा थप दुई गाडी प्रयोग भएको स्विकारे । ‘सुविधाले पाउने गाडीबाहेक मसँग अरू छैन,’ उनले भने, ‘क–कसले कुन–कुन चढ्छन्, मलाई थाहा छैन ।’ उनको निजी सचिवालयले तत्कालीन स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को बा २ झ ५५५ नम्बरको हाइलक्स गाडीसमेत दुरुपयोग गरिरहेको छ ।

‘यो गाडी मन्त्रीकै मान्छे/कार्यकर्ताले प्रयोग गर्छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘चालक र इन्धन अनावश्यक काममा प्रयोग भएको देखेर पनि मन्त्रीज्यूले चाल नपाएजस्तो गर्नुभएको छ ।’ कार्यकर्ता र निजी सचिवालयले निवास र मन्त्रालय आउजाउ गर्न यो गाडी प्रयोग गर्दै आएका छन् । साढे तीन महिना पहिले यसलाई मन्त्री पण्डितका निजी सचिव होम लुइँटेलले प्रयोग गर्थे । उनको दिल्लीस्थित नेपाली दूतावासमा सरुवा भए पनि गाडी सचिवालयमै छ । स्वकीय सचिव मनोज राईका लागि फोर्डको बा २ झ ३९६३ नम्बरको गाडी उपलब्ध छ । यसका चालक शंकर घले हुन् । यसअघि मोरङका ओसिम आलम स्वकीय सचिव हुँदा पनि यही गाडी प्रयोग गर्थे । पण्डितले उनलाई गत असारमा हटाएर आफ्नै क्षेत्रका राईलाई स्वकीय सचिव बनाएका हुन् ।

मन्त्रीका निजी सचिव रमेश अधिकारीका लागि पनि मन्त्रालयले अलग्गै गाडी दिएको छ । यो गाडी अधिकारी आफै हाँक्छन् । ‘मन्त्री निवासका लागि केही आयोजनाका गाडी प्रयोग भएको सुनेको छु’ संघीय मामिला मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘मन्त्रीले दुइटा झन्डावाल गाडी नियमानुसार पाउने भए पनि अरू निकायबाट तानेर अनावश्यक प्रयोग भएको छ ।’

१५ औं पञ्चवर्षिय योजनामा सुख समृद्धिको खाका दिनेछौं-पुष्प कँडेल

  • हाम्रा योजना प्रणालीमा धेरै कमजोरी छन्। खासगरी तथ्यांक प्रणाली हामीसँग जुनरूपमा हुनुपर्ने हो, त्यो छैन ।
  • अहिले योजना आयोगले त्यसरी योजना वितरण गर्दैन। आयोगले मूलतः नीति मात्रै दिन्छ। योजना निर्माण गर्ने त प्रदेश र स्थानीय तहले गर्ने हो। ठूला राष्ट्रिय गौरवका आयोजना मात्रै आयोगले तयारी गर्ने हो।
  • योजना आयोग अब नीतिगत कुरामै बढी केन्द्रित हुन्छ। परियोजनागत हिसाबले प्रादेशिक र स्थानीय तह नै बढी जिम्मेवार हुन्छन्। प्रदेशलाई जोड्ने राष्ट्रिय एकता हुने खालको परियोजना मात्रै आयोगले सञ्चालन गर्छ।
https://nagariknews.nagariknetwork.com/news/61238/

सरकारलाई कायल पार्ने आर्थिक चुनौती- डा. गोविन्दबहादुर थापा

  • पुँजीगत खर्च बढाउने प्रभावकारी कदम नचालेसम्म नेपालले हासिल गर्नसक्ने अधिकतम आर्थिक वृद्धि दर भनेको छ प्रतिशतकै हाराहारी हो। 
  • नेपालको अहिलेको स्थिति भनेको अधिक पुँजीगत खर्चको कारणले बजेट घाटा बढ्नुपर्ने स्थिति हो। समृद्धि प्राप्तिको निमित्त यसो हुनु अपरिहार्य छ। त्यसैले सरकारले आर्थिक वृद्धि दर घटाउने होइन पुँजीगत खर्च बढाउनमा जोड दिनुपर्छ। पुँजीगत खर्चको गाँठो नफुकाइ उच्च आर्थिक वृद्धि दरको परिकल्पना गर्न सकिँदैन।
  • अर्थतन्त्रमा लगानी बढाउनुपर्ने समयमा बैंकहरूमा लगानीयोग्य कोषको अभाव देखिनु अर्को चिन्ताको विषय हो। यसको अर्थ बजारमा कर्जाको मागलाई बैंकहरूले पूर्ति गर्न सकिरहेका छैनन् भन्ने बुझिन्छ। आपूर्तिको अभावमा कर्जाको माग खुम्चिनुपर्ने अवस्था नेपाल जस्तो ग्रोइङ अर्थतन्त्रको निमित्त शुभ संकेत होइन। 
  • उच्च ब्याज दर स्वयं नै लगानी निरुत्साहित गर्ने कारक हो। 
  • एकातिर सरकार पुँजीगत खर्च बढाउन नसक्ने र अर्कोतिर बैंकहरू पनि लगानीयोग्य कोषको अभावमा लगानी गर्न नसक्ने भएपछि आर्थिक वृद्धि दर बढ्न नसक्नु स्वाभाविक हो।
  • अर्थतन्त्रमा आवश्यक तरलताको व्यवस्था गर्नु केन्द्रीय बैंकको प्राथमिक दायित्व हो। 
  • अर्थतन्त्रमा विदेशी मुद्रा अभावको समस्याको परिणाम गम्भीर हुनुका साथै दूरगामी पनि हुन सक्छ। किनभने यसको सम्बन्ध अन्तर्राष्ट्रिय समुदायसँग हुने भएकाले त्यो समुदायमा नेपालको बारेमा नराम्रो सन्देश जान्छ।  
http://annapurnapost.com/news/112519