Monday, January 7

मानवीय संवेदनामा चुकेको वैदेशिक रोजगार -सन्तोष अधिकारी

आप्रवासन अथवा बसाई सराई एक जटिल प्रक्रिया हो । यो अहिले संसारको सबैभन्दा जल्दो बल्दो मुद्दा बनिरहेको छ । बसाई सराईको सामाजिक, आर्थिक तथा सुरक्षा जस्ता बहुआयामिक प्रभाव हुने भएकोले पनि बसाई सराई व्यवस्थापनका लागि त्यसका सूक्ष्म तत्त्वहरू विश्लेषण आवश्यक हुन्छ ।
मानिसहरू विभिन्न कारणले आफू बसोबास गरिरहेको स्थान छाडेर कहीँ कतै जानुपरेको छ जुन स्थायी वा अस्थायी अनि ऐच्छिक वा बाध्यकारी बसाई सराई हुन सक्दछ। हुन त आप्रवासनको परिभाषामा कस्तो आप्रवासनलाई स्थायी वा अस्थायी र ऐच्छिक वा बाध्यकारी भन्ने विषयमा एकरुपता छैन।
अन्तर्राष्ट्रिय आप्रवासीहरूको सङ्ख्या विभिन्न अध्ययनको अनुमान भन्दा धेरै दरमा बढिरहेको छ। सन् २००३ मा गरिएको संयुक्त राष्ट्रसंघको अध्ययन र अनुमानले सन् २०५० मा अन्तर्राष्ट्रिय आप्रवासीहरूको सङ्ख्या २३ अर्ब हुने प्रक्षेपण गरेको थियो तर विद्यमान बसाई सराई वृद्धिदर प्रक्षेपण भन्दा धेरै भएकोले उक्त सङ्ख्या पहिले नै नाघिसकेको छ। पछिल्लो अन्तर्राष्ट्रिय तथ्याङ्क अनुसार संसारभरिका २४ अर्ब मानिसहरू आफ्नो देशभन्दा बाहिर बसोबास गरेको देखिन्छ, जुन सन् २००० मा करिब १५ अर्ब ५० करोड मात्रै भएको अनुमान गरिएको थियो।

अन्तर्राष्ट्रिय आप्रवासनको गन्तव्य र आकारमा विगतका वर्षहरूमा उतारचढाव आएको देखिएको छ। सामान्यतः: अन्तर्राष्ट्रिय आप्रवासन सँगसँगै विप्रेषण पनि जोडिएको हुन्छ। जसका सकारात्मक र नकारात्मक पाठाहरूका बारेमा अक्सर बहस भइरहेको हुन्छ।

नेपालको सन्दर्भमा श्रमका लागि विदेशिनेको हिस्सा र मुद्दा महत्त्वपूर्ण छ। स्वदेशमा बढ्दो युवा जनसङ्ख्या र बेरोजगारीले गर्दा बैकल्पिक उपायहरूको खोजीका क्रममा धेरैजसो युवाहरूले वैदेशिक रोजगारलाई सजिलो विकल्पको रूपमा स्विकारेको देखिन्छ। नेपाली युवाहरूको वैदेशिक रोजगारीको इतिहास त्यति धेरै पुरानो त छैन तथापि औपचारिक तथ्याङ्क भने खासै भेटिँदैन। करिब २०० वर्ष अघि पन्जाब लाहोरका तत्कालीन महाराजा रनजीत सिंहको सेनामा भर्ती हुनका लागि नेपाली युवाहरू जाने गरेको अवस्था नै सबै भन्दा पुरानो मानिन्छ। साथै सन् १८१६ को सुगौली सन्धि पश्चात् औपचारिक रूपमा नै नेपाली युवाहरू तत्कालीन इष्टइण्डिया कम्पनीमा सैन्य भर्ती हुने गरेको देखिन्छ।

अहिले धेरै नेपाली युवाहरू भारत, सिङ्गापुर र बेलायतमा गुर्खाजका रूपमा काम गरिरहेका छन्। साथै रोजगारीका लागि युवाहरू तिब्बतको भोट जाने कुरा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन काव्यले उजागर गरेको छ। सुगौली सन्धि अनुसार नेपाली र भारतीय नागरिकहरू विना कुनै कागतपत्र वा भिसा एकअर्काको देशमा निर्वाध आवत जावत गर्न पाउने प्रावधानले गर्दा पनि यकिन तथ्याङ्क तथा सूचनाहरू सङ्कलनमा समस्या आएको अनुमान गर्न सकिन्छ। सुगौली सन्धिले सेनामा मात्रै होइन व्यापार, व्यवसाय र रोजगारी गर्ने ढोका खोलिदियो। सन् १९८० को दशक पश्चात् खाडी राष्ट्रहरूको तेल अर्थतन्त्रको व्यापक विस्तार र नेपालमा पनि वैदेशिक रोजगारीलाई सहजीकरण गर्ने गरी वैदेशिक रोजगार ऐन २०४२ लागु हुनु पूर्व नेपाली युवाहरू रोजगारीका लागि भारत जाने प्रचलन थियो। यद्यपि, सन् १९९० को दशक पश्चात् युवाहरूको आकर्षण क्रमशः: भारतबाट अन्य मुलुक तिर सरेको देखिन्छ।
कारण र व्यवस्था जे जसो भए पनि बसाई सराई तथा आप्रवासनको आम्दानीले नेपालका धेरै परिवारको गुजारा चलेको छ। हुन त वर्तमान अवस्थामा कति नेपाली युवाहरू विदेशमा श्रम गरिरहेका छन् भन्ने भरपर्दो तथ्याङ्क सरकारसँग छैन र तथ्याङ्क व्यवस्थापनमा सरकार त्यति सचेत पनि छैन। विभिन्न स्रोतहरूको अनौपचारिक तथ्याङ्क अनुसार खाडी मुलुक, मलेसिया र भारतमा गरी करिब ३५ देखि ४५ लाख युवाहरू बिदेशिएका छन्। साथै ५ देखि १० लाख जति युवाहरू अध्ययन र व्यवसाय गर्न देश बाहिर छन्। साथै सरकारी प्रतिवेदनले पनि कुल जनसङ्ख्याको २० प्रतिशत मानिसहरू आफ्नो घर बाहिर रहेका छन्। अनि कुल युवाहरू मध्ये झन्डै आधा जसो हिस्सा विदेशिएको अवस्था छ। त्यसै गरी तेस्रो जीवनस्तर सर्वेक्षणको प्रतिवेदनले पनि ५६ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्ने गरेको छ। यसरी विदेशिएका युवाहरूबाट प्राप्त विप्रेषणले सम्बन्धितको गुजारा चल्ने मात्र होइन देशकै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएको विभिन्न सरकारी तथा गैरसरकारी अध्ययन प्रतिवेदनहरूमा पढ्न सकिन्छ।
नेपालले वार्षिक रु. ७ खर्ब भन्दा बढी विप्रेषण बापत रकम भित्राइरहेको छ जुन कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ हो। यसरी कुल गार्हस्थ्य उत्पादनको तुलनामा धेरै विप्रेषण प्राप्त गर्ने देशहरू मध्ये नेपाल तेस्रो ठुलो देश हो।

विदेशिने युवाहरू र तिनीहरूले पठाउने जनसङ्ख्याको महत्त्वपूर्ण हिस्सा भएको हुनाले अक्सर राजनीतिक वृत्तमा पनि चर्को बहसहरू हुने गर्दछ कि बसाइ सराइ व्यवस्थापन तथा विप्रेषणको प्रभावकारी लगानी सम्बन्धमा नीति निर्माण हुनुपर्दछ। सन् १९९० को दशकमा ऐन बने पनि विदेशिने क्रममा भने सन् २००० पछि अझ खास गरी सन् २००७ मा गणतन्त्रको स्थापना पश्चात् बढेको तथ्याङ्कले देखाउँछ।

सूचना तथा सचेतना

नेपाली कामदार तथा युवाहरूलाई वैदेशिक रोजगारीसम्बन्धी सीमित ज्ञान मात्र छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी निकायहरू तथा कामदार पठाउने निजी म्यानपावर कम्पनीहरू सम्भावित कामदारहरूलाई आवश्यक पर्ने आधारभूत सूचनाहरू दिने र आम जनतामा सचेतना जगाउने जस्ता क्रियाकलापमा पर्याप्त रूपमा सक्रिय देखिँदैन जसले गर्दा उनीहरू भन्ने गर्दछन् फलानो त भाग्यमानी रैछ राम्रो कम्पनीमा काम पायो अनि प्रमोसन पनि हुँदो रहेछ वा फलानो को त भाग्य नै खोटो। वास्तवमा वैदेशिक रोजगार ऐन बनेको तीन दशक बितिसक्दा पनि सम्बन्धित कामदारहरूलाई पर्याप्त सूचना नहुनु र सचेत नहुनु चैँ देशकै विडम्बना हो।

पर्याप्त सूचना र सचेतनाको अभावमा कामदारहरू विभिन्न एजेन्ट र म्यानपावर को भरोसामा बस्नु परेका छन् भने धेरै एजेन्ट र म्यानपावर कम्पनीहरू सेवा भन्दा पनि व्यापारमूलक भएकाले सबै सूचना कामदारलाई बताउँदैन र कामदारको शोषणको सिलसिला त्यैबाट सुरु हुन्छ। कतिपय कम्पनीहरूले त अनौपचारिक बाटोबाट कामदारलाई विदेश पठाइ मानव तस्करीसमेत गरिरहेको समाचार हाम्रो सामु धेरै देख्न सकिन्छ।

नीतिगत व्यवस्था

वैदेशिक रोजगार तथा आप्रवासनलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन २०४५ मा नै लागू भएको हो र यसलाई समय सापेक्ष बनाउन वैदेशिक रोजगार ऐन २०६४ ले प्रतिस्थापन गरेको छ। सरकारले निजी क्षेत्रलाई वैदेशिक रोजगारमा प्रोत्साहन गर्न वैदेशिक रोजगार ऐन २०६४ दफा ५ बमोजिम विभिन्न म्यानपावर कम्पनीहरूले कामदार छनौट र पठाउने इजाजतपत्र प्राप्त गर्न सक्ने प्रावधान बनाएको छ। साथै, नेपाल सरकारले सोही ऐनको परिच्छेद ७ बमोजिम नियमन तथा अनुगमन गर्ने र परिच्छेद ९ बमोजिम दण्ड सजायको ब्यहोरा उल्लेख भएको छ। यद्यपि, हालसम्म विभिन्न म्यानपावर कम्पनीहरूले ऐन बमोजिम काम नगर्दा पनि उनीहरूलाई दण्ड सजाय भएको विरलै सुन्न पाइन्छ।
त्यसै गरी नेपाल सरकारले वैदेशिक रोजगार प्रवर्द्धन गर्ने वा दुरुत्साहित गर्ने सरकारी नीतिमा पनि स्पष्टता छैन। उदाहरणका लागि आ.ब. २०७५/७६ को नेपाल सरकारको नीति तथा कार्यक्रम (बजेट वक्तव्य) को बुँदा नं. २२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी रोजगारीका लागि विदेशिनु नपर्ने व्यवस्था गर्ने नीतिको कुरा भएको छ भने सोही बजेट वक्तव्यको बुँद नं. २७ मा प्रत्येक प्रदेशमा वैदेशिक रोजगार सेवा स्थापना गर्ने नीति उल्लेख छ। त्यसै गरी चौधौँ योजनाले विप्रेषणको आम्दानीले वैदेशिक शोधान्तर व्यवस्थापन तथा गरिबी र मानव विकास सूचाकाङ्कहरुमा सुधार ल्याएको भनी प्रशंसा गरेको छ भने आर्थिक सर्वेक्षणले बढ्दो विप्रेषणले उपभोगमा वृद्धि भई आयात बढेको भनी आलोचना गरेको छ।
नेपाल सरकारले संस्थागत रूपमा जान चाहनेका लागि ११० वटा देशहरू तथा व्यक्तिगत प्रयास समेत गरी १६७ देशहरूमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ। तर कुन देशमा कस्तो जनशक्ति आवश्यक पर्दछ वा कस्तो जनशक्तिलाई रोजगारीका लागि पठाउने भन्नेमा ठोस नीति सरकारले बनाउन सकेको छैन।
संरचनागत व्यवस्था र कार्य जिम्मेवारी

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अनि वैदेशिक रोजगार विभाग स्थापना भएको छ जसले वैदेशिक रोजगारीसँग सम्बन्धी विभिन्न कृयाकलापहरु गर्ने जिम्मेवारी पाएको छ। नेपाल सरकार कार्य विभाजन नियमावलीले श्रम तथा रोजगार, अर्थ, परराष्ट्र, युवा तथा खेलकुद, गृह र शिक्षा र स्वास्थ्य तथा जनसाख्या मन्त्रालय गरी सात वटा मन्त्रालयहरू युवाहरू र रोजगार सम्बन्धी प्रत्यक्ष जिम्मेवारी भएको उल्लेख गरेको छ भने यी बाहेक कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग मन्त्रालयले पनि युवाहरूका लागि रोजगार व्यवस्थापन सम्बन्धी काम गरिरहेको देखिन्छ भने कतिपय कृयाकलापहरु दोहोरोपना आएको देखिन्छ।

विदेशिएका युवाहरूले विदेश तथा स्वदेशमा पाएको सास्ती र पाउनुपर्ने सेवा सुविधाका सम्बन्धमा सम्बन्धित निकायको ध्यान कम पुगेको देखिन्छ। बरु हरेक दिन औसतमा ३–५ वटा लासहरू स्वदेश भित्रिरहेको छ भने कार्यस्थलमा भएका श्रम शोषण, यौन शोषण, भेदभाव जस्ता अवस्थामा सरकारी पहल अपर्याप्त देखिएको छ। जसले गर्दा कामदारहरू सरकारी संयन्त्र र पहल सम्बन्धमा आम नैराश्यता देखिन्छ। कतिपय अवस्थामा कुन निकाय प्रमुख जिम्मेवार हो प्रस्ट हुँदैन वा एकापसमा समन्वय हुनुपर्नेमा नहुँदा सम्बन्धित कामदारले समस्या भोगिरहेका छन्।

सरकारका निकायहरू पनि त्यति सक्रिय देखिँदैनन् जुन हिसाबले ती कामदारले देशका लागि प्रत्यक्ष परोक्ष योगदान गरेका छन्। वैदेशिक रोजगारीसम्बन्धमा विद्यमान विभिन्न नीतिहरूमा पनि आर्थिक पाटोमात्र ध्यान दिन खोजेको जस्तो देखिन्छ। साथै, वैदेशिक रोजगारीलाई एउटा व्यवसायको रूपमा विस्तार गर्न खोज्दा कतिपय मानवीय संवेदनामा नीति नियमहरू चुकेको छ। नीति नियमले वैदेशिक रोजगारीको मुद्दालाई व्यक्तिगत रूपमा सम्बोधन गर्न सकेको छैन।

अन्तर्राष्ट्रिय श्रम बजार खुला प्रतिस्पर्धामा आधारित हुन्छ। अनि, हरेक मानिस अझै धेरै केही गरौँ र कमाऔँ भन्ने मानसिकतामा हुन्छन्। त्यसैले उनीहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा जानलाई रोक लगाउनु हुँदैन। जसका लागि नेपाल सरकार र सम्बन्धित निकायहरू सबैभन्दा पहिले आम मानिसमा वैदेशिक रोजगारीका विभिन्न विषयमा पर्याप्त सचेत गराउन गृहकार्य गर्नु आवश्यक छ। कामदारहरूको दक्षता अनुसार आम्दानी तथा अन्य सेवा सुविधा निर्धारण हुने भएकोले भाषा तथा तालिममा अभ्यस्त बनाउन पर्ने हुन्छ। विभिन्न देशहरूमा कस्ता खालका जनशक्ति आवश्यक पर्दछ सोही बमोजिम नेपालका कामदारहरूलाई तालिम प्राप्त बनाइ श्रम सम्झौता सके देशले अनि सम्बन्धित कामदारको परिवार लाभान्वित हुने थिए।

वैदेशिक रोजगारबाट सिकेको सीप र पुँजीलाई स्वदेशमा लगानी गरी स्वरोजगारका अवसरहरू सृजना गर्न सके अल्पकालिक लागि बढ्दो बेरोजगारी र व्यापार घाटा कम गर्न सघाउ पुग्ने थियो।

नेपालमा विकासे परामर्श सेवाका समस्याहरु -विदुर तिमल्सिना

  • निर्माणसम्बन्धी समस्याको कारक भनेको ठेकेदार मात्र हो भन्ने निचोड निकालिएको देखिन्छ । उता ठेकेदार भने धेरै समस्याको कारक आफू नभई डिजाइनमा नै त्रुटि भएको देखाएर उन्मुक्ति पाउने कोसिस गरिरहेको देखिन्छ । 
  • एउटा आयोजनाको निर्माणमा धेरै निकायहरूको संलग्नता तथा भूमिका रहेको हुन्छ । यसमा आयोजनाको मालिक, यसको डिजाइन गर्ने परामर्शदाता, आयोजनाको निर्माण गर्ने ठेकेदार, निर्माणको अनुगमन गर्ने परामर्शदाता र यो आयोजनाबाट प्रभावित हुने जनता सबै जिम्मेवार हुनुपर्ने हो । तर यहाँ ठेकेदारलाई मात्र दोष दिएर अरू उन्मुक्त हुने र ठेकेदार अरू कसैलाई दोष देखाएर उन्मुक्त हुने प्रवृत्ति हाबी छ ।  

सरकारी निकाय र कर्मचारी हुँदाहुँदै किन परामर्शदाता नियुक्त गरिन्छ?
  • सरकारी कर्मचारी एकै प्रकृतिको काम गरेर एकै विषयमा विज्ञता हासिल गर्ने प्रकृतिको हुँदैन र भएका पनि निकै कम हुन्छन् । यिनीहरूको विज्ञता भनेको धेरैजसो प्रशासनिक प्रकृतिको हुन्छ । सरकारी कर्मचारी चाहे ती डाक्टर हुन् या इन्जिनियर धेरै प्रशासनिक काममा व्यस्त हुनु पर्दा विषयको विज्ञता निकै कम कर्मचारीमा मात्र हुन्छ । यस कारण जुन विषयमा विशिष्ट खालको सल्लाह र सुझाव आवश्यकता पर्छ सो कार्यमा परामर्शदाता प्रयोग गर्नु बाध्यता र वान्छनीय दुवै हुन्छ । परामर्शदाता नियुक्त गर्दा यो विश्वास गरिएको हुन्छ कि कुनै तोकिएको विषयमा विशिष्टिकृतरुपले प्रशिक्षित व्यक्तिले स्वतन्त्र एवं बस्तुगत अध्ययन गरी संस्थालाई आवश्यक सुझाव एवं सल्लाह प्रदान गर्दछ ।
  • उन्नाइसौँ शताब्दीको अन्त्य र बिसौँ शताब्दीको सुरुवाततिर व्यवस्थापनको क्षेत्रमा धनी मानी तथा शक्तिशाली व्यक्तिहरूले आफ्नो व्यवसाय तथा शक्ति बिस्तार गर्नको लागि विज्ञहरूको ज्ञानलाई प्रयोग गर्न थालेसँगै विश्वमा परामर्श सेवाको सुरुवात भएको पाइन्छ । सुरुवातको समयमा यस्ता परामर्श सम्बन्धी संस्थाहरू विश्वविद्यालयका प्राध्यापकहरूले चलाउने गर्दथे । अहिलेको विश्वमा व्यवस्थापन, सूचना प्रविधि, रणनीति, मानव स्रोत व्यवस्थापन, सार्वजनिक सम्बन्ध, कानुन, पूर्वाधार विकास, शैक्षिक, आर्थिक/लगानी जस्ता विषयहरूमा विज्ञहरूको विषेशज्ञ सेवा लिने चलन रहेको छ । नेपालमा पनि विश्व बैङ्क, एसियाली विकास बैङ्क जस्ता विकासे संस्थाहरूको प्रवेशसँगै पूर्वाधार विकासमा, प्रजातान्त्रिक अभ्यास सुरु भए पछि कानुनी क्षेत्रमा, वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै रोजगारको क्षेत्रमा, अध्ययनको सिलसिलामा विदेश जाने बढे पछि शैक्षिक क्षेत्रमा परामर्श सेवा लिने दिने क्रम भएको पाइन्छ ।
  • १९७० को दशकमा ठुला पूर्वाधारहरू राजमार्ग, सिँचाइ, सञ्चार, पर्यटन आदि क्षेत्रमा विश्व बैङ्क र एसियाली विकास बैङ्कले लगानी गर्न सुरु गरेसँगै नेपालमा पूर्वाधार विकासको क्षेत्रसा विशेषज्ञ परामर्श सेवाको सुरुवात भएको थियो । हाल आएर यस्तो सेवा विकास सम्बन्धित कार्य गर्ने सरकारी निकायहरू जस्तै, सडक विभाग, सिँचाइ विभाग, रेल विभाग, दातृ निकायहरूदेखि लिएर नेपाल वायु सेवा निगम अनि नेपाल टेलिकम जस्ता संस्थानहरूले पनि प्रयोग गर्न थालेका छन् । 
  • पूर्वाधार विकासमा विशेषज्ञ इन्जिनियरिङ, वातावरणीय, सामाजिक, भौगर्भिक आदि क्षेत्रमा ठुला आयोजनाहरूले विशेषज्ञ सेवाको प्रयोग गर्ने गरेका छन् । यस्ता सेवाहरू दुई प्रकारले लिने गरिन्छ । पहिलो संस्थागतरुपमा र दोस्रो व्यक्तिगत रूपमा । संस्थागत परामर्श सेवा लिँदा निश्चित समय प्रदान गरेर निश्चित कामको जिम्मेवारी प्रतिस्पर्धामार्फत कुनै संस्थालाई त्यस संस्थासँग उपलब्ध सोत साधन हेरेर दिइने गरिन्छ भने व्यक्तिगत परामर्श सेवा प्रयोग गर्दा व्यक्तिको योग्यता हेरेर निरन्तर र अल्पकाल हुने गरी दुई तरिकाबाट लिने गरिन्छ । 
विशेषज्ञ सेवाको प्रयोग गर्दा आयोजनालाई निम्न फाइदाहरू हुन्छन् ।
  • पूर्ण कालीन विशेषज्ञ कर्मचारी राख्नु नपर्ने
  • अप्ठ्यारो कार्यहरूको समाधानका लागि विज्ञको सल्लाह लिन सकिने
  • अस्थायीरुपमा परामर्शदाता नियुक्त गरेर छोटो समयमा कार्य सम्पन्न गर्न सकिने
  • आयोजनाहरूको डिजाइनको सम्पूर्ण जिम्मेवारी परामर्शदातालाई दिएर सरकार तथा दाताहरूले अनुगमनको मात्र कार्य गरे हुने
  • आयोजनामा थप दक्ष जनशक्ति सजिलै नियुक्त गर्न सकिने
  • सरकारी निकायमा हुने ढिला सुस्तीको र प्रक्रियागत झन्झटबाट आयोजना मुक्त हुने
  • अन्य देशमा भएको प्रविधि तथा ज्ञानको विकासको प्रयोग सजिलै गर्न सकिने
  • प्रतिस्पर्धाको माध्यमबाट परामर्श सेवा लिँदा खेरी आर्थिक रूपमा पनि फाइदा हुने ।
यसरी विकास कार्यक्रमहरूमा परामर्शदाता नियुक्त गरेर कार्य गर्न थालेको करिब आधा शताब्दी बित्न लागिसकेको समयमा यस क्षेत्रलाई कसरी हेर्ने गरिएको छ र यसमा कस्ता खालका समस्याहरू छन् भन्ने विषयमा यस क्षेत्रमा काम गरिएको अनुभवलाई आधार मान्दै यस लेखमा केही विषयहरू उजागर गर्ने प्रयास गरेको छु ।

सरकारी दृष्टिकोणमा रहेको समस्या
परामर्शदाता कुनै एक विषयमा निरन्तर कार्य गरेर निश्चित विशेषज्ञता हासिल गरिसकेको विज्ञ हुन्छ । परामर्शदाता स्थायी जागिरे होइन, जसको स्थायी कर्मचारीको जस्तो पेन्सन, भत्ता, बिदाहरू जस्ता सुविधा हूँदैन, न त उसको कामको निरन्तरताको सुनिश्चितता नै हुन्छ । त्यसैले उसले आफ्नो विज्ञता प्रयोग गरे बापत जुन शुल्क लिन्छ त्यो निश्चय नै एउटा जागिरे कर्मचारीको भन्दा बढी हुन्छ र त्यसबापत जुन सेवा दिन्छ त्यो पनि विशेष नै हुन्छ । तर नेपालमा परामर्शदाताको शुल्कलाई देखेर कर्मचारीले हेर्ने दृष्टिकोण नकारात्मक छ । साथै एउटा कार्यालयमा सँगै बसेर काम गर्दा पनि परामर्शदाता र स्थायी कर्मचारी बिचको भिन्नता टड्कारो देख्न सकिन्छ । कर्मचारीले आफूलाई माथिल्लो दर्जा र परामर्शदातालाई तल्लो दर्जामा राखेर व्यवहार गरेको पाइन्छ । कुनै विषयमा १५ वर्ष भन्दा बढी समय काम गरेर विज्ञता हासिल गरेको परामर्शदाता र दुई वर्ष अगाडि लोक सेवा पास गरेर जागिर खान आएको इन्जिनियर/अधिकृतको पोर्टफोलियो तुलना गर्ने विषय नै नहनु पर्ने हो । तर कार्यालयमा सरकारी इन्जिनियर/अधिकृतको तह र मान्यता विशेषज्ञ/विज्ञको भन्दा कहाँ हो कहाँ माथि हुनु पर्छ भन्ने मान्यता स्थापित छ ।
अति न्यून मूल्यमा परामर्शदाता
नेपालमा परामर्शदाता नियुक्त गर्दा होस् वा निर्माणकर्ता छान्दा होस् प्राविधिक मूल्याङ्कनमा छानिएर आइसकेपछि जसले सबै भन्दा थोरै मूल्यमा ठेक्का कबोल्छ उसैले काम पाउने गर्छ । तर यसरी न्यून मूल्यमा परामर्शदाताले दिएको परामर्शको गुणस्तर पनि न्यून स्तरको नै हुन्छ भन्ने कुरामा कुनै ध्यान पुर्‍याइएको देखिन्न । कति आयोजनाहरूमा त दाताको आवश्यकता पुरा गर्न नाम मात्रको परामर्शदाता नियुक्त गर्ने परम्परा पनि देखिन्छ । यति मात्र हैन परामर्शदातालाई किन नियुक्त गरेको हो, उसबाट के काम लिनु पर्ने हो, उसको कामको गुणस्तर कस्तो हुनु पर्ने हो भन्ने विषयमा ज्ञानको कमी कर्मचारीमा हुँदा नियुक्त गरेको परामर्शदाताबाट काम लिन नसक्ने र भएको काम पनि गुणस्तरीय नहुने समस्या व्यापक देखिन्छ ।
विशेषज्ञमा रहेको समस्या
नेपालको उच्च शिक्षा पद्धति विशेष रूपमा सामाजिक विज्ञानका क्षेत्रमा विशेषज्ञ उत्पादन गर्ने खालको छ । स्नातकोत्तर र त्यो भन्दा माथिल्लो तहको अध्ययन त्यो व्यक्तिले गर्नु पर्ने हो जुन व्यक्ति त्यस क्षेत्रमा विशेषज्ञता हासिल गर्न र त्यसै क्षेत्रमा आफूलाई समर्पित गर्न चाहन्छ । पढाई सुरु गरिसकेपछि उसको समर्पण पनि त्यसै खालको हुनु पर्छ । तर नेपालमा स्नातक पछि काम पाइन्न अब स्नातकोत्तर पढ्ने भनेर सुरु गर्ने, काम गर्दागर्दै सर्टिफिकेट हासिल गर्नको लागि पढ्ने, धेरै वटा विषयमा स्नातकोत्तर गरेको देखाउनको लागि पढ्ने विषयको रूपमा सामाजिक विज्ञानका विषयहरू चर्चित भएका छन् । कुनै समय एउटा शैक्षिक सत्रमा काठमाडौँको नाम चलेकै एक कलेजमा मात्र दुई हजार भन्दा बढी समाजशास्त्रका विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन्थे भने त्यसरी पढेर पास भएका परामर्शदाताको विशेषज्ञता अवश्य पनि प्रश्न उठ्ने खालको हुने नै भयो ।
नेपालमा परामर्शदाताहरूमा रहेको अर्को समस्या भनेको आफ्नो बायोडाटा असीमित आयोजनाहरूमा प्रयोग गर्ने हो । कुनै परामर्शदाताको "राम्रो" बायोडाटा छ भने त्यसलाई परामर्शदाता संस्थाले आफ्नो प्राविधिक मूल्याङ्कन उच्च देखाउनको लागि आफूले काम गर्न खोजेको सबै आयोजनाहरूमा एकै व्यक्तिको बायोडाटा प्रयोग गरेर काम निकाल्ने प्रवृत्ति हाबी रहेको छ । दाताले खोजेमा पछि बायोडाटा परिवर्तन गर्दिने नखोजे अर्कै कसैलाई काम गर्न लगाउने र प्रतिवेदन पेस गर्ने समयमा मात्र सही परामर्शदातालाई मूर्ती जसरी प्रस्तुत गर्ने गरिन्छ । यति मात्र हैन त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय संस्थाको स्थायी जागिरसँग सँगै विश्व बैङ्कको आयोजनामा कर्मचारी जसरी नै परामर्शदाताको पदमा काम गर्ने परामर्शदाताको पनि यहाँ कमी छैन । विशेषज्ञमा रहेको अर्को समस्या भनेको असीमित कामको जिम्मेवारी लिने हो । हामी कहाँ यस्ता पनि परामर्शदाता छन् जसले एक वर्षमा ३० महिना भन्दा बढी काम गर्छन् मतलब उनीहरू एक वर्षमा ३० महिना भन्दा बढीको हाजिरी गर्छन् । दाता र सरकारी निकायहरूमा हाजिरी तथा बायोडाटाको अनुगमन गर्ने संयन्त्र नहुँदा परामर्शदाता जुनसुकै आयोजनामा पनि बायोडाटा र हाजिरी पठाउने र काम तथा पारिश्रमिक लिन पछि नपर्ने गरेका छन् ।
परामर्शदाता संस्थाहरूमा रहेको समस्या
कुनै पनि कार्यको सफलता भनेको ग्राहकको सङ्ख्याले हैन कामको गुणस्तरले निर्धारण गर्नुपर्ने हो । यो क्षेत्रको विशेषता भनेको यसले दिन विशेषज्ञ सेवा हो । यसरी सेवा दिनको लागि जति राम्रो काम गर्‍यो उति नै आफ्नो विज्ञता पनि बढ्दै जाने नै भयो । कामको गुणस्तर, कामको समयावधिलाई हेरेर सफलता नाप्नु पर्नेमा नेपालमा ग्राहक (क्लाईन्ट) जति धेरै कुनै परामर्शदातासँग छन्, सफलता त्यसैसँग जोडेर हेनेृ गरिन्छ । एउटा भनाइ छ, चपाउन सक्ने भन्दा बढी टोक्नु हुन्न । यसको मतलब गर्न सक्ने भन्दा बढी काम लिनु हुन्न तर हामी काम जति पनि लिने तर काम समयमा गुणस्तरीय ढङ्गले सम्पन्न गर्न नसक्ने समस्याले ग्रस्त छौँ । परामर्शदाता संस्थाहरू सम्मानित विज्ञहरूको सञ्जाल निर्माण गर्ने र आएका कामहरूको सोही अनुसार बाँडफाँड गरेर काम सम्पन्न गर्नुपर्नेमा एकै विशेषज्ञको बायोडाटा धेरै आयोजनामा प्रयोग गर्ने र काम भने अन्य कामदारलगाएर सस्तोमा गर्ने र प्रतिवेदन पेस गर्ने बेलामा मात्र तोकिएको विशेषज्ञ उपस्थित गराउने प्रवृत्ति रहेको छ ।
परामर्शदाता संस्थाहरुमा रहेको अर्को समस्या भनेको सस्तोमा काम लिने र आफू नगरी अन्य कुनै संस्थाहरूलाई टुक्रा टुक्रा कामको जिम्मेवारी दिने प्रवृत्ति हो । जस्तै, कुनै संस्थाले सडकको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ भने उसले इन्जिनियरिङ भाग एउटालाई, सर्वेको भाग एउटालाई, पुनर्वास, सामाजिक विकास र नक्साको भाग एउटालाई र वातावरणीय प्रभावको काम एउटालाई दिएर अन्त्यमा सिङ्गो प्रतिवेदन बनाएर पेस गर्ने गरिन्छ । यसरी काम गर्दा प्रमुख परामर्शदाताले जुन जुन विशेषज्ञ प्रयोग गरेर काम गर्छ भनेको हो तिनीहरूको विज्ञता त प्रयोग नहुने नै भयो काममा एकरुपता पनि हुँदैन र कामको गुणस्तर पनि नहुने हुन्छ ।
अन्त्यमा,
यसरी परामर्शदाता र योसँग सम्बन्धित अन्य विषयहरूका धेरै समस्या नैतिक खालका छन्, जुन समस्या अहिले नेपालको हरेक क्षेत्रमा देखा परेका छन् । परामर्शदाता र विशेषज्ञहरुको प्रमुख दायित्व भनेको दाता तथा सरकारको आवश्यकता पुरा गर्ने हो । त्यसैले जसरी काम पुरा गरेर बुझाए पनि काम गराउने संस्थाको चित्त बुझ्छ भने सो कामको गुणस्तरको बारेमा उठ्ने प्रश्नमा दाता तथा सरकारी निकाय पनि उतिकै जिम्मेवार हुनेछन् । सुध्रिने र सुधार्न खोज्ने हो भने परामर्शदाता र विशेषज्ञहरुले खाली व्यवसाय वृद्धि गर्नको लागि मात्र काम नलिने, काम लिँदा समय र विज्ञहरू छन् भने मात्र लिने गरियो र समयमा नै गुणस्तरीय काम सम्पन्न गरेर बुझाउने गरियो भने यो पेसाको मर्यादा कायम रहन्छ । त्यसै गरी काम दिने निकायले पनि कामको गुणस्तरमा ध्यान दिने, हाजिरी र बायोडाटाको अनुगमन गर्ने र यसको लागि एउटा संयन्त्र बनाउने साथै बोलकबोल भन्दा उच्च गुणस्तरको संस्थालाई काम दिने पद्धति विकास गर्न सकिएमा परामर्श सेवा पनि उच्च गुणस्तरको पाउने र आयोजना कार्यान्वयन पनि उच्च गुणस्तरको हुनेछ ।
Timalsina.bidur@gmail.com