Wednesday, November 14

संघीय सुशासनतिरको यात्रा-उमेशप्रसाद मैनाली

  • झन्डै अढाई सय वर्षदेखिको एकात्मक राज्य प्रणालीबाट संघीय स्वरूपमा रूपान्तरण गर्ने काम ज्यादै चुनौतीपूर्ण त छँदैछ, निकै जोखिमपूर्ण पनि छ। एकात्मक राज्य संयन्त्रका कार्यशैली, शक्तिका स्रोत र अधिकार तथा अधिकारीहरू बीचको अन्तर–सम्बन्धदेखि उत्तरदायित्वका केन्द्रहरूसमेत भत्किएर नवीन स्वरूपमा जानुपर्दा यसमा अभ्यस्त हुन नै लामो समय लाग्न सक्छ। नेपालका लागि त अझ अप्ठेरो स्थिति यसकारणले पनि सिर्जना भएको छ कि हाम्रो संघीयता सार्वभौम राष्ट्रहरू मिलेर ‘संघ’ निर्माण भएको हैन। केन्द्रमा भएको अधिकार विस्तारण (डिफ्युजन) गरिदिएर साझा शासन र स्वशासनको स्थापनाद्वारा नेपाली राष्ट्रियतालाई थप सुदृढ बनाउन खोजिएको हो। 
  • कुनै पनि राजनीतिक प्रणाली (रिजिम) र राज्यका संरचनाहरू आफै साध्य होइनन्। नागरिकको हित वा लोककल्याणका लागि साधनमात्र हुन्। यसर्थ यी उद्देश्य पूर्तिका लागि सामाजिक सम्झौताका रूपमा यी प्रणाली र संस्थाहरू निर्माण भएको मानिन्छ। राज्य र सरकार यी साध्यहरू प्राप्त गर्न सफल भएनन् भने सम्झौताको उल्लंघन भएको मानिन्छ र जनताले नै यसको विकल्पमा फरक प्रणाली र संस्था निर्माण गर्छन्। 
  • लोकतान्त्रिक सहभागिता स्थानीय तहमा बढी सम्भव हुन्छ। सामाजिक अनेकता र विविधताको सम्बोधन केन्द्रले भन्दा राज्य र स्थानीय तहले राम्रोसँग गर्न सक्छन् भन्ने मानिन्छ। केन्द्रभन्दा तलका प्रदेश वा राज्य र स्थानीय निकायका पदाधिकारीहरू जनताप्रति बढी जवाफदेही हुन्छन्। किनकि उनीहरू जनताका दैनन्दिनका समस्याहरू समाधान गर्न जनता र अन्य सामाजिक संस्थाहरूसँगै काम गर्नुपर्ने हुन्छ। जनताबाट टाढा रहेको केन्द्रबाट प्रत्यायोजन वा निक्षेपण हुने अधिकारले नत जनताको मागको राम्रो प्रतिनिधित्व नै गर्न सक्छ, न जनताले उनीहरूको कार्यसूचीमाथि प्रभावकारी नियन्त्रण नै स्थापित गर्न सक्छन्। जनताको नजरमा केन्द्रका कर्मचारीहरू परका प्रशासक (रिमोट व्युरोक्रेट) हुन्। जनताको यही विश्वास नै अब स्थानीय र प्रदेश सरकारका लागि चुनौतीपूर्ण हुनेछ।
  • स्थानीय तहबाट सुशासनको अपेक्षा बढी नै गर्न थालिएको छ। कुनै ठूलो उपलब्धिले मानिसमा आउने उत्तेजनालाई अंग्रेजीमा ‘युफोरिया’ भनिन्छ। 
  • थ्योरी अफ पोलिटिकल प्रोपोगन्डाका लेखक ह्यारोल्ड ल्यासवेलले निर्वाचित सरकारहरूले चार प्रकारका काम गर्छन् भनेका छन्– मनोरञ्जनात्मक (ब्लोइङ बबल), चाचापापा बाँड्ने अर्थात तत्काल खुसी हुने चिजहरू वितरण गर्ने (डिष्ट्रिब्युटिङ गुडिज), तत्काल समस्याको समाधान गर्ने (फाइटिङ फायर) र भविष्यको लागि काम गर्ने (विभिङ फ्युचर)। अहिले निर्वाचित प्रतिनिधिहरूको ध्यान पहिलो र दोस्रो काममा गएको छ। 
  • भनिन्छ, राजनेताहरू भविष्यको पुस्ताको लागि काम गर्छन् भने राजनीतिज्ञहरू आउने चुनावका लागि काम गर्छन्। 
  • नेतृत्वले चमत्कार गर्छ भनिन्छ। 
  • ‘अवसर बिनाको क्षमता खेर जान्छ भने क्षमता बिनाको अवसर व्यर्थ हुन्छ।’ त्यसैले स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएकाहरूले आफ्नो क्षमता देखाउन सक्नुपर्छ, ताकि निर्वाचन गर्ने मतदाताहरूले गर्व गर्न सकुन्। 
  • जसरी निजी क्षेत्रको उत्पादनले आफ्ना उत्पादनलाई फरक र मौलिक गुण देखाएर बजारमा ‘ब्रान्डिङ’ गर्छ, त्यसैगरी आफ्ना क्षेत्रका नागरिकका लागि फरक सार्वजनिक सेवा दिएर अरुलाई ‘इष्र्या’ गर्न र प्रतिस्पर्धा गर्न बाध्य पार्न सक्नुपर्छ। 
  • सुशासन दिने हो भने मुख्य तीन पक्षमा ध्यान दिन आवश्यक हुन्छ– पहिलो, प्रक्रिया अर्थात प्रक्रिया लोकतान्त्रिक पारदर्शी बनाइदिएर, दोस्रो, सार सामग्री (कन्टेन्ट) अर्थात् वितरण गरिने सेवालाई समन्यायिक र न्यायिक तुल्याएर र तेस्रो, सेवा प्रदायन (डेलिभरेबल) अर्थात् गरिब र निमुखाहरूलाई प्राथमिकता दिएर। 
  • सार्वजनिक सेवा सबैका लागि ‘फिट’ हुँदैनन्, फरक–फरक वर्गका लागि सेवाको माग नै फरक हुनसक्छ। त्यसैले ‘नयाँ सेवा अविष्कार गर्ने काममा आफ्नो सिर्जनशीलता देखाउन सक्नुपर्छ। जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न र उनीहरूप्रति प्रत्यक्ष रूपमा उत्तरदायी हुन नागरिकका प्रतिनिधि, सामाजिक अभियन्ता, गैरसरकारी संस्था, धार्मिक संघ–संस्थाका प्रतिनिधिसँग सहकार्य गर्न, उनीहरूलाई आफ्नो संस्थाभित्र र प्रक्रियामा कुनै न कुनै रूपमा संलग्न गराउन सकिन्छ। ‘गोल्डेन ग्रिड’ भनिने यस मोडल धेरै देशमा अवलम्बन गरिएको छ।
  • जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार बुझ्ने काममा पनि कमजोरी देखिँदैछ। बजेटका सिद्धान्त, मान्य कार्यविधि बेगर आफ्नै सेवासुविधा बढाउन खोज्नु, स्वायत्तताका नाममा योग्यता प्रणालीलाई मिचेर कर्मचारी भर्ना गर्न खोज्नु, बिना योजना र स्वीकृति बेगर आफूखुसी विकास निर्माणमा खर्च गर्न खोज्नु अपरिपक्वता हो। 
  • संघीय राज्यव्यवस्था भनेकै कुनै पनि नागरिक एकभन्दा बढी सरकारबाट प्रशासित हुने अवस्था हो। एकात्मक सरकार हँुदा एउटा सरकारबाट आफ्नो स्वतन्त्रता र अधिकार संकुचन होला भन्ने भयमा रहेका नागरिकलाई अब तीन तहको सरकारबाट स्वतन्त्रता बचाउनुपरेको छ। हरेक तहका सरकारका नीतिगत हस्तक्षेपले नागरिक हक नै संकुचन हुने हो। 
https://www.kantipurdaily.com/opinion/2017/07/26/20170726074449.html?author=1

खुसीको खोजीमा शिखर सम्मेलन -उमेशप्रसाद मैनाली

  • किन रोटी मात्रले सुख दिंँदैन ? किन खर्बपतिहरू मिठो मुस्कानमा देखिँंदैनन् ? राज्यको आविष्कार नै मानवजातिको खुसीका लागि भएको राजनीतिक चिन्तकहरूका भनाइ रहेको छ । 
  • ग्रीक दार्शनिक अरिस्टोटलले ‘राज्य अति आधारभूत आवश्यकताका लागि उत्पत्ति भएको र सुखद जीवनका लागि नै निरन्तर अस्तित्वमा रहेको’ भनेका छन् । उपयोगितावादी सिद्धान्तका प्रवर्तक जेरमी बेन्थम राज्यको अन्तिम साध्य नै सामान्य खुसी (जनरल ह्यापिनेस) रहेको मान्छन् । उनको ‘अधिकतम व्यक्तिहरूको महत्तम हित (ग्रेटेस्ट ह्यापिनेस अफ ग्रेटेस्ट नम्बर)’ निकै चर्चित रहेको छ । 
  • कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होइन कि कुल राष्ट्रिय खुसीपन (ग्रस नेसनल ह्यापिनेस) मा विकासलाई मापन गर्नुपर्छ भन्नेमा विश्व जनमत बन्दैछ । यो अवधारणा सानो पहाडी राष्ट्र भुटानले बहसमा ल्याएपछि भुटानकै दासो कर्मा उराले यसका मापनका सूचकको विकास गरेका थिए । अन्तत: संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१२ मा सदस्य राष्ट्रहरूलाई विकास अभियानमा जनताको खुसी बढाउने उपाय समावेश गर्न एक प्रस्ताव पारित भएपछि त्यसै वर्ष पहिलो ‘ह्यापिनेस रिपोर्ट’ प्रकाशित गरिएको थियो । 
  • भुटानले आफ्नो संविधानमा नै ह्य्याप्पिनेसका चार स्तम्भको रूपमा समन्यायिक र दिगो विकास, संस्कृतिको संरक्षण, वातावरण संरक्षण र सुशासनलाई समावेश गरेको छ । बेलायतले १० क्षेत्र र ४१ मापनका आधार विकास गरेको छ । प्राकृतिक वातावरण, व्यक्तिगत हित, सम्बन्ध, स्वास्थ्य स्थिति, बसोबास, अर्थतन्त्र, शिक्षा र सुशासनजस्ता क्षेत्र समेट्नेगरी मापनका सूचक विकास गरेको छ । विश्व प्रतिवेदनले भने ६ वटा मापनका सूचक (कुल गार्हस्थ उत्पादनमा आधारित प्रतिव्यक्ति आय, सामाजिक सहयोग, स्वस्थ औसत आयु, सामाजिक स्वतन्त्रता, उदारता र भ्रष्टाचारबाट मुक्ति ।
  • खुसीको मापनलाई जटिल बनाउन आवश्यक छैन, तिमीले गए राति राम्रो निद्रामा निदाउन सक्यौ ? हिजो कतिपटक हांँस्न सक्यौ ? जस्ता अति सरल प्रश्नावलीमा यसलाई नाप्न सकिन्छ भन्ने थियो ।
  • सुरक्षा, वातावरण, फुर्सद र सम्बन्धको बजार मूल्य नहुने भएकोले सरकारले नै यसमा ध्यान दिएर मानिसको खुसी बढाउनुपर्छ । सरकारको काम नै जनताको खुसीको प्राप्ति हो । सरकारले विभिन्न सेवाको विकास र वितरण गरेर, अवसर बढाइदिएर, असल शिक्षा दिएर, उत्कृष्ट स्वास्थ्यसेवा दिएर, भविष्यको अवसर सिर्जना गरिदिएर, न्याय दिएर र भौतिक सुविधा बढाइदिएर मानिसको खुसीमा वृद्धि ल्याउन सकिन्छ भन्ने निचोड । 
  • नेपालले ‘जीएनएच’ अर्थात कुल गार्हस्थ खुसीपनको लागि विशेष केही कार्यक्रम ल्याएको छैन र यसका लागि छुट्टै संरचनात्मक व्यवस्था गरेको पनि छैन । 
  • शान्ति मानव मात्रको खुसीको पहिलो आवश्यकता हो । यसका लागि सुरक्षाको अनुभूति र निर्भयको वातावरण राज्यले सिर्जना गर्न सक्नुपर्छ । सुरक्षा भौतिक सुरक्षामा सीमित हुँंदैन । यसले आर्थिक, वातावरणीय, राजनीतिक र सामाजिक सुरक्षासमेत समेट्छ । यी विविध सुरक्षालाई सुदृढ पार्दै नागरिकमा वास्तविक र धारणात्मक भय हटाउन राज्यले सक्यो भने नेपालीको खुसी र भलाइमा वृद्धि गर्न सकिन्छ । 
  • सांस्कृतिक स्वतन्त्रता खुसी बढाउने मनोवैज्ञानिक र संवेगात्मक तत्त्व मानिन्छ । नेपाली समाजमा विद्यमान विविध सांस्कृतिक र यस भित्रका पनि उपसांस्कृतिक समूहका मूल्य—मान्यताको संरक्षण गर्न आवश्यक छ । किनकि यसले उनीहरूको खुसीमा अभिवृद्धि गरिदिन्छ । 
  • नेपालको संविधानले सांस्कृतिक बहुलवादको नीति अवलम्बन गरेकोले नीतिगत आधार सकारात्मक छ । सबभन्दा ठूलो कुरा राज्यले नागरिकको खुसी बढाउन विशेष प्रयत्न गर्नुपर्छ र यसका लागि विशेष संरचना, नीति र कार्यक्रम अपेक्षित छन् । भविष्यका हाम्रा प्रयास यस दिशामा परिलक्षित हुनुपर्छ । नेपालले ढिलो नगरी ‘नेसनल ह्यापिनेस’का लागि काम गर्ने संस्थागत संरचना तयार पार्नुपर्छ । 
https://www.kantipurdaily.com/opinion/2017/03/21/20170321075847.html?author=1 

लाभको पदमा लालची -दीपेश केसी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले २०७२ सालयता पदमा रहुन्जेल निवृत्तिभरण (पेन्सन) लिएनन् । पदावधि सकिनेबित्तिकै निवृत्तिभरण व्यवस्थापन कार्यालय पुगेर विगतमा रोकेको पेन्सनबापत एकमुष्ट आठ लाख रुपैयाँ बुझे । २०७१ सालदेखि लाभको पदमा रहुन्जेल सामाजिक सुरक्षाका लागि दिइने निवृत्तिभरण नलिएको देखाउने तर पदबाट हटेपछि खुसुक्क निवृत्तिभरण लिन जाने शैली बस्न्यातले देखाए।
लाभको पदमा रहँदै निवृत्तिभरण नछाड्नेहरूको संख्या उत्तिकै छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबाहेक संवैधानिक निकायमा नियुक्ति पाएका पूर्वकर्मचारीले निवृत्तिभरण बुझ्दै आएका छन् । पौडेल पूर्व मुख्यसचिव र मैनाली पूर्व सचिव हुन्।
पूर्व उपराष्ट्रपतिसमेत रहेका परमानन्द झाले पूर्वन्यायाधीशका रूपमा निवृत्तिभरण बुझ्नुका साथै सरकारले पूर्व उपराष्ट्रपतिलाई दिइआएको सेवा सुविधासमेत लिँदै आएका छन्।
पूर्व प्रधानन्यायाधीशसमेत रहेका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निरन्तर निवृत्तिभरण बुझ्दै आएका छन् । आयोग अध्यक्षका रूपमा उनले पाउने तलबभत्ता पनि लिइरहेकै छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयको रेकर्डअनुसार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, सदस्य डा. गणेशराज जोशी, लोकसेवा आयोगका सदस्य वृन्दा हाडा भट्टराई, डा. गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, कानुन आयोगका माधव पौडेल, भाषा आयोगका लवदेव अवस्थी, महालेखा परीक्षक टंकमणि शर्मा, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधीरकुमार शाह, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालगायत पूर्वकर्मचारीले निवृत्तिभरण र आयोगमा रहेर तलबभत्ता समेत गरी दोहोरो सेवासुविधा लिइरहेका छन्।
पूर्व मुख्यसचिव विमल कोइराला दोहोरो सेवासुविधा लिनबाट वञ्चित गर्ने गरी दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘संसद्बाट ऐन बनाएर जाँदा दोहोरा सेवासुविधा लिने प्रवृत्तिमा पूर्णविराम लाग्न सक्छ ।’ संवैधानिक आयोग र सरकारी निकायमा नियुक्ति पाउनेको भन्दा निजी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने पूर्वकर्मचारीको संख्या बढी छ । आकर्षक तलब पाउँदै आएकाहरूले निवृत्तिभरण छाडेका छैनन् । संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी नियोग र नाम चलेका व्यावसायिक संस्थामा पूर्वकर्मचारीहरू आकर्षक तलबमा काम गर्दै आएका छन् । कानुनले नरोकेको र सरकारले समेत होस नपुर्‍याएकाले उनीहरू तलब र पेन्सन दुवै बुझ्छन्।
तलब र निवृत्तिभरण एकसाथ लिनु गैरकानुनी नभएको ठहर सर्वोच्च अदालतको फैसलाले देखाए पनि यो प्रवृत्तिमा नैतिकताको प्रश्न उठ्ने गर्छ । पूर्व मुख्यसचिव कोइराला नैतिकतामा ह्रास आएपछि जसरी हुन्छ सुविधामात्र खोज्ने प्रवृत्ति हाबी हुने बताउँछन् । उनी भन्छन्, ‘दोहोरो सेवासुविधा लिनेले लिन खोज्छ, तर दिनेले रोक्नुपर्छ ।’
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारी निवृत्तिभरणलाई सामाजिक सुरक्षाको विषय भन्छन् । उनी भन्छन्, ‘कानुनले तलब र पेन्सन एकसाथ लिन मिल्दैन भनेको छैन तर सिद्धान्ततः अन्य तलब पाए पेन्सन लिन मिल्दैन ।’ पेन्सन लिइरहेको बखत अन्य सेवासुविधा पाए जुन धेरै हो त्यो मात्र लिने परम्परा विदेशमा रहेको उनको भनाइ छ।
निजामती सेवामा काम गरेर पुनः सरकारी नियुक्ति पाउनेहरूले निवृत्तिभरणसहित तलब पनि बुझ्ने प्रवृत्तिमा रोक लगाउन सरकारले नीति बनाए पनि असफल भएको छ । २०६१ कात्तिक १८ गते मन्त्रिस्तरबाट निर्णय भई समान्य प्रशासन मन्त्रालयले २०७१ कात्तिक १८ गते परिपत्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही वर्ष कात्तिक २१ मा दोहोरो सुविधा नदिन निर्देशन दिएको थियो । यो निर्णयविरुद्ध लोक सेवा आयोगका तत्कालीन अध्यक्ष कयोदेवी यमी, तत्कालीन सदस्यद्वय टीकादत्त निरौला र राजेन्द्रप्रसाद साह सर्वोच्चमा रिट दायर गर्न पुगे । सर्वोच्चले २०७३ पुस १९ गते रिट निवेदकका पक्षमा फैसला गरेपछि सबै सुविधा प्रदान गर्न सरकार बाध्य भएको थियो।
मन्त्रिपरिषद्ले २०७२ माघ ८ गते सार्वजनिक लाभको पदमा अथवा सरकारी सेवामा मासिक पारिश्रमिक पाउने गरी नियुक्ति हुने पदाधिकारीले मासिक पारिश्रमिक वा निवृत्तिभरणमध्ये जुन बढी हुन्छ सोही सुविधा रोजेर लिने र सार्वजनिक लाभको पदमा बहाल रहुन्जेल कुनै पदाधिकारीले पारिश्रमिक र निवृत्तभरणको दोहोरो सुविधा उपभोग गरिरहेको रहेछ भने यी दुईमध्ये कुनै एक सुविधबापत प्राप्त गरेको रकम सरकारी कोषमा दाखिला गरिसकेपछि मात्र पहिला गरेको सेवा हालको सेवामा जोड्न मिल्ने गरी निर्णय गर्‍यो । यो निर्णयले सरकारको उच्च पदमा पुगेर पुनः लाभको पदमा पुगेकालाई पिरल्यो । कतिपय उच्च सरकारी अधिकारीहरू भविष्यमा संवैधानिक आयोगमा नियुक्ति पाउँदा पेन्सन रोकिने भएपछि विपक्षमा लागे । सर्वोच्च अदालतको फैसला उनीहरूकै पक्षमा गयो।
बुधबार, २८ कार्तिक २०७५, ०७ : ३०
https://nagariknews.nagariknetwork.com/news/61845/


यस आलेखमा मेरो टिप्पणी
  • सरकारी निकायको हकमा पेन्सन एक निश्चित अवधि वा जीवनको उर्जाशिल समय राष्ट्र सेवामा खर्च गरेबापत पाउने मौद्रिक क्षतिपुर्ती हो । यसलाई दैनिक ज्यालाका रुपमा बुझ्नु हुँदैन । पेन्सन पाईरहेको कुनै व्यक्तिले (जुन कुनै राेजगारदाताबाट किन नहोस्) अवकाश पछिको अर्को वृत्तिबाट नियमित आय आर्जन गर्छ भने त्यसलाई वार्षिक आयमा गणना गर्नु उपयुक्त हुन्छ । आय विवरणमा समावेश गरिसकेपछि वर्तमानको तलव भत्ता भुक्तानिमा पारिश्रमिकमा अाय कर आकर्षित गर्ने र विगतको सेवाबापत प्राप्त पेन्सनमा कम दरमा आयकर लाग्ने गरी दुई तह बनाउनु न्यायोचित हुन्छ । 
  • तोकिएको सेवा अवधि पुरा गरेकै कारणबाट प्राप्त हुने पेन्सन र वर्तमानमा अतिरिक्त वृत्तिबापत प्राप्त हुने आयलाई दोहोरो सुविधाका रुपमा व्याख्या गर्दा अवकाशप्राप्त व्यक्ति थप काममा क्रियाशिल हुन उत्प्रेरित हुँदैन । फलस्वरुप अनुभव आवश्यक पर्ने पदमा प्रतिस्प्रधी र क्षमतावान व्यक्ति अनिच्छुक देखिन सक्छ ।  तथापि एकै रोजगारदाताबाट रकम भुक्तानी  लिने भएकोले राज्यबाट दोहोरो भुक्तानि लिएको देखिने वर्तमानको अवस्थामा सुधार गरि एकै काम र एकै सेवा शर्तमा एक पटक मात्र भुक्तानि गरिने व्यवस्था गरी थप कामको लागि थप पारिश्रमिक भुक्तानि गर्नु उपयुक्त हुन्छ । 
  • राज्यकोषबाट पेन्सनबापत प्राप्त गर्ने रकम र नियमित कामबापत प्राप्त गर्ने रकम दुवै लिने कि नलिने भन्ने विषयमा व्यक्तिले स्वतन्त्र निर्णय गर्ने अधिकार छ । कसैले म उपलब्धमध्ये कुनै एक मात्र भुक्तानि लिन्छ भने त्यसको शीर झन उँचो र उदाहरणीय त हुनेछ र राज्य उ प्रति कृतज्ञ हुनेछ नै । तर यसरी लिने वा नलिने विषयलाई नैतिकता र सदाचारको विषय बनाइरहनु युक्तिसंगत छैन । किनकि अतिरिक्त काम गरेबापत आय प्राप्त गर्नु र निश्चित अवधि सेवाबापत पेन्सन प्राप्त गर्नु एक व्यक्ति एक जिवनका दुई पाटा मात्रै हुन् । यति अतिरिक्त काम बापत अतिरिक्त भुक्तानि नलिने हो भने फरक फरक शिर्षकमा एकै व्यक्तिले भुक्तानि लिने अवस्थालाई हटाई एक व्यक्ति एक सेवा र एक भुक्तानिको अवधारणामा जानु पर्छ । जुन तार्किक, न्यायोचित र अव्यवहारिक हुनजान्छ । 
  • सदाचार र नैतिकताको विषय त बरु त्यो हुन सक्छ जहाँ व्यक्तिले दुवै आयलाई आय विवरणमा समावेश गर्ने र राज्यलाई नियमानुसारको कर भुक्तान गर्ने । 
  • राज्यबाट दुई सेवा शर्तका कारण दुई पटक भुक्तानि लिने सम्बन्धमा विद्यमान कानूनमा परिमार्जन र आय कर कानूनमा स्पष्टता कायम गरि अवकाश पछि नियुक्ति वा नयाँ काम गर्ने व्यक्तिको छविमा सार्वजनिक चर्चा र आचरणमा उठने प्रश्नको निराकरण गर्नु उपयुक्त हुन्छ । 
केही सान्दर्भिक बुँदाहरु
Other relevant links
  • https://moneyfacts.co.uk/guides/retirement/pensions-glossary/