Monday, January 11

सेयर बजार विकासमा ‘रिलायन्स मोडल’ -नरबहादुर थापा

  • नेपालको सेयर बजार एक हिसाबले नेपाल राष्ट्र बैंकको सिर्जना हो ।
  • कुनै समय वाणिज्य बैंकको संख्या ३२, विकास बैंक ८८ र वित्त कम्पनीको संख्या ७९ थियो । अहिले लघुवित्त वित्तीय संस्थाहरू ८४ ओटा छन् ।
  • निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको दुई वर्षभित्र न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारण नेपालीलाई जारी गर्नुपर्ने व्यवस्थाले सेयर बजारको यो हैसियत प्राप्त भएको हो । राष्ट्र बैंकले यो व्यवस्था गरेपछि बिमा क्षेत्रको नियामक बिमा समितिले पनि यही प्रावधानलाई आत्मसात् गर्‍यो । अहिले ४० ओटा बिमा कम्पनी सञ्चालनमा छन् ।
  • सेयर बजारको संरचना हेर्दा, सूचीकृत कम्पनीको चुक्ता पुँजी र बजार पुँजीकरणलाई आधार मान्ने हो भने सेयर बजारमा ८० प्रतिशत वित्तीय संस्थाहरूकै प्रभुत्व छ । नेपाल राष्ट्र बैंकको नीतिगत देनका कारण सेयर बजार विकासको पहिलो युग सुरु भएको हो । 
कस्तो छ हाम्रो सेयर बजार ? 

मुख्यतः सेयर मूल्य ज्यादै उतारचढावपूर्ण छ तर यो बजारमा आधारित भएकाले मूल्य स्थिर रहन सक्दैन र उतारचढाव हुनु सामान्य हो । तर ज्यादै उतारचढाव भयो भन्ने चिन्ता छ । 

बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रह्यो र विविधीकरण हुन सकेन । अर्थतन्त्रका यथार्थ क्षेत्र (रियल सेक्टर) सँग सम्बन्धित व्यवसाय सेयर बजारसँग जोडिन सकेका छैनन् ।

बाह्य क्षेत्रको पोर्टफोलियो लगानीका लागि खुला हुन नसक्दा आन्तरिक लगानीकर्तामा मात्र आधारित भयो र बाह्य लगानीकर्ता ल्याउन सकिएन । गैरआवासीय नेपालीको लगानी भित्र्याउने पटक–पटक घोषणा भए पनि कार्यान्वयनमा आएन । 

संस्थागत लगानीकर्ताको अभाव र व्यक्तिगत लगानीकर्तामा केन्द्रित । बजार अस्थिर हुनुमा व्यक्तिगत लगानीकर्तामा निहित हुनुलाई कारणका रूपमा लिनुपर्छ । 

यर बजारको समानान्तरमा बचतपत्र (बन्ड) बजारको विकास अपेक्षित रुपमा हुन सकेन । पुँजीबजारका अन्य उपकरणहरू बचतपत्र, ऋणपत्र (डिबेन्चर), डेरिभेटिभ बजारको समानान्तर विकास हुन नसक्दा सेयर बजार एकांकी भयो र सन्तुलित हुन सकेन । 

सेयर बजारमा सट्टेबाजी (स्पेकुलेसन) धेरै छ भनिन्छ । संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ता हाबी हुँदा विवेकहीनताको अधिकता (इरासनल एक्जुबरेन्स) भएको देखिन्छ । 

नेपालमा सम्भावित सूचीकृत कम्पनीका हकमा पनि लागू हुन्छ । आर्थिक उदारीकरणपछि निजी क्षेत्रको विकास भएको छ । सम्पत्ति सिर्जना पनि भएको छ । तर उक्त सम्पत्ति आपसमा बाँड्ने (सेयरिङ) अवधारणामा निजी क्षेत्र गएन ।

औद्योगिक व्यवसाय ऐन र फिट्टाले निश्चित सेयर जारी गर्नुपर्ने प्रावधान ल्याएको भए तथा ऋणपत्र, बचतपत्र र डेरिभेटिभ बजारको विकासका लागि पहिल्यैदेखि पहल भएको भए हाम्रो सेयर बजार अहिलेकोभन्दा फरक ढंगले विकास हुन्थ्यो, अझै परिपक्व हुन्थ्यो । 

सेयर बजारमा नीतिगत हस्तक्षेप 

नेपालको सेयर बजारका नीति निर्माता हुन्— नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड । राष्ट्र बैंकको मौद्रिक नीति र वित्तीय क्षेत्र नीतिको प्रभाव सेयर बजारमा पर्छ । त्यस्तै, सरकारको बजेटमा कर सम्बन्धी व्यवस्था, वैदेशिक लगानी सम्बन्धी व्यवस्था लगायत अन्य नीतिगत व्यवस्थाको प्रभाव सेयर बजारमा रहन्छ । तीनओटा नीति निर्मातामध्ये सञ्चालनका हिसाबले राष्ट्र बैंकको भूमिका अलि बढी हुन्छ । नीति तय भयो, संस्थागत व्यवस्था पनि भयो । अब दैनन्दिन सञ्चालनमा आउने विषयमा उसको मौद्रिक नीति, वित्तीय क्षेत्र नीतिको प्रभाव हुन्छ । 

राष्ट्र बैंकले नीति तर्जुमा गर्दा लचकता अवलम्बन गरिराखेको हुन्छ । सरकारको नीतिभन्दा राष्ट्र बैंकको नीति छिटो–छिटो परिवर्तन गर्न सकिने हुन्छ किनकि केन्द्रीय बैंकको नीति संसद्मा अनुमोदनका लागि लैजानुपर्ने बाध्यता रहँदैन । यस अर्थमा राष्ट्र बैंकको नीति गतिशील हुन्छ । 

कस्तो अवस्थामा राष्ट्र बैंकले सेयर बजारमा प्रभाव पार्ने नीतिगत व्यवस्था गर्छ भन्ने महत्वपूर्ण हुन्छ । राष्ट्र बैंकले मूलतः चारओटा अवस्थामा सेयर बजारलाई हस्तक्षेप गर्ने कदम चाल्छ । 

पहिलो, पुँजी परिचालन अर्थात् प्राथमिक बजार । सेयर बजारको प्राथमिक बजार भनेको प्राथमिक सेयर निष्काशन (आइपीओ) या थप सेयर निष्काशन (एफपीओ) हुन् । मौद्रिक नीतिको उद्देश्य भनेको सरकारले तय गरेको आर्थिक वृद्धिदर हासिल गर्न सघाउनु पनि हो । सरकारले उच्च आर्थिक वृद्धिदर तय गरेको अवस्थामा यसको औजार भनेको पुँजी परिचालन हो । सेयर बजारमा आबद्ध कम्पनीहरूले लगानीका लागि आवश्यक पर्ने पुँजी परिचालनका लागि सेयर निष्काशन गर्नुपर्छ । आइपीओ, एफपीओ जारी हुँदा पूरा बिक्री भएन भने पुँजी परिचालन हुन सक्दैन । त्यसैले मौद्रिक नीति निर्माताका हिसाबले राष्ट्र बैंक आइपीओ र एफपीओ सफल हुन् भन्ने चाहन्छ । 

निजी क्षेत्रका सूचीकृत कम्पनीले आवश्यक पर्दा पुँजी परिचालनको सहाराका रूपमा जारी गर्ने आइपीओ या एफपीओ सेयर बजारको उतारचढावकै कारण खरिद भएन भने पुँजी परिचालन हुन सक्दैन र आर्थिक वृद्धिदर प्रभावित हुन्छ । शृंखलाबद्ध रूपमा आइपीओ र एफपीओ असफल भए भने सेयर बजारको उतारचढाव रोक्न राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने हुन्छ । सेयर बजारमा उतारचढाव भए पनि आइपीओ, एफपीओ सफल भइराखेको छ भने सेयर बजारमा हुने मूल्यको उतारचढाव धेरै चिन्ताको विषय हुँदैन । 

दोस्रो, सेयर बजारले सम्पत्ति सिर्जना गर्छ । बजार पुँजीकरणले सेयर बजारमा कति सम्पत्ति सिर्जना भयो भन्ने मापन गर्छ । सेयर बजारको उथलपुथलका कारण सम्पत्तिको विनाश भयो । उदाहरणका लागि, १४–१५ सय अर्ब रुपैयाँको बजार पुँजीकरण आधा भयो भने सम्पत्तिको विनाश भयो । यसले लगानी र उपभोगमा असर पार्छ । लगानी र उपभोग भनेको सम्पत्तिको सिर्जनासँग सम्बन्धित छन् । सम्पत्तिको विनाशले लगानीकर्तामा मनोवैज्ञानिक असर पर्छ । सम्पत्तिको विनाशसँगै अर्थतन्त्रमा समष्टिगत माग कम हुन्छ र यसले अर्थतन्त्रको विस्तारमा हिर्काउँछ । लगानी, रोजगारी र उपभोग घट्न थाल्यो भने राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ । 

तेस्रो अवस्था भनेको वित्तीय क्षेत्रको स्थायित्व हो । राष्ट्र बैंकको उद्देश्य वित्तीय क्षेत्रको स्थायित्व हो । सेयर बजारमा उथलपुथल आउँदा वित्तीय स्थायित्वमा दखल आउँछ कि भनेर मौद्रिक नीति निर्माताले हेर्छ । लगानीकर्ताले सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइरहेको हुन्छ । सेयरको धितोमा दिएको कर्जा असुलीमा समस्या भयो भने उनीहरूको नाफा र खुद सम्पत्ति (नेटवर्थ) मा असर पर्छ । सेयर बजारमा उथलपुथलका कारणले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा उल्लेख्य बढेन भने बजारलाई काम गर्न दिनुपर्छ । 

चौं‌थो अवस्थामा सेयर बजारको उतारचढावले भुक्तानी सन्तुलनमा प्रभाव पारेको छ कि छैन पनि हेरिन्छ । भुक्तानी सन्तुलनको अवस्था, विदेशी विनिमय दर, विदेशी मुद्रा सञ्चिति बाह्य क्षेत्र सन्तुलनका द्योतक हुन् । सेयर बजारको उथलपुथलले यसमा अस्थिरता उत्पन्न भयो भने केन्द्रीय बैंकले हस्तक्षेप गर्छ ।

हाम्रो सेयर बजारमा विदेशी संस्थागत लगानीकर्ताको प्रवेश भएको छैन । त्यसकारण सेयर बजारमा सेयर मूल्य तल–माथि हुँदा यसले भुक्तानी सन्तुलनमा प्रत्यक्ष असर गर्दैन । हाम्रो पुँजी खाता परिवत्र्य (कन्भर्टिबल) नबनाएको अवस्थामा यो प्रसंग त्यति सान्दर्भिक नहोला । तर पुँजी खाता परिवत्र्य नबनाए तापनि अरु कारणहरूले हाम्रो अर्थतन्त्र खुला नै छ । त्यसकारण पुँजीको पलायन रोक्ने काम राष्ट्र बैंककै हो । 

यी चारओटा मापदण्डको विश्लेषणका आधारमा सेयर बजारको उतारचढावलाई नियन्त्रण गरी बजारमा स्थायित्व प्रदान गर्नुपर्ने हुन्छ । उल्लिखित मापदण्डको अवस्था सन्तोषजनक रहेको अवस्थामा बजारमा उतारचढाव हुँदैमा राष्ट्र बैंकले हस्तक्षेप गर्दैन । कतिपय लगानीकर्ताले सेयर बजारमा यति ठूलो गिरावट आउँदा पनि राष्ट्र बैंकले किन केही हस्तक्षेप गर्दैन भनेर प्रश्न गर्ने गरेको पाइन्छ । राष्ट्र बैंकले निश्चित व्यक्ति र समूहको भन्दा पनि समग्र अर्थतन्त्रको स्वार्थलाई हेर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले सट्टेबजीलाई मद्दत गर्ने गरी बजारमा हस्तक्षेप गर्नुहुँदैन । साधारण अवस्थामा राष्ट्र बैंकले आफ्ना महत्वपूर्ण औजारहरूको प्रयोग गर्दैन । 

https://ekagaj.com/article/thought/567

No comments:

Post a Comment