Tuesday, July 11

नेपाल कति बन्यो, कति बिग्रियो- २-चैतन्य मिश्र

नेपाल कति बन्यो वा कति बिग्रियो?

यो प्रश्न रोचक त छँदैछ, बहुआयामिक पनि छ। योसँगै अर्को प्रश्न पनि सोध्नुपर्ने हुन्छ — नेपाल कसले बिगार्‍यो वा बनायो?

अनि त्यसले फेरि अर्को प्रश्न जन्माउँछ — के नेपाल कसैले बनाउन वा बिगार्न सक्छ? नेपाल बनाउने वा बिगार्ने कुनै व्यक्ति वा दलले हो वा अरू क-कसले हो? साथै देश तुरून्तै बन्न वा बिग्रिन सक्छ? कि बन्ने वा बिग्रिने क्रियाको ऐतिहासिक शृंखला हुन्छ?

यी बृहत् र बहुआयामिक प्रश्नहरूको उत्तर तत्कालको नेपाललाई हेरेर मात्र भेटिँदैन। नेपालभित्र मात्र खोजेर पनि भेटिँदैन। कुनै व्यक्ति वा दलमा केन्द्रित भएर त झनै भेटिँदैन। अंग र अंश-अंश भेटिन्छ, पूर्णांग र मर्म भेटिँदैन।

यो लेखमा म आफैंले पनि यी प्रश्नहरूको सोझो उत्तर खोज्न धेरै प्रयत्न गरेको छैन। तर यी प्रश्नहरूलाई कसरी साँघुरो घेराबाट नहेरेर अलिक बृहत् दृष्टिबाट समेत हेरिनुपर्छ भन्ने केही अवधारणाहरू अघि सारेको छु। त्यसपछि कुनै पनि मुलुकको उन्नति र अवनतिका शृंखला र प्रक्रियाका बारेमा चर्चा गरेको छु। अनि नेपाल कति बन्यो वा बनेन भनेर कसरी विश्लेषण गर्ने, त्यसबारे पनि केही चर्चा गरेको छु।

देशलाई हेर्नुभन्दा अगाडि व्यक्तिको जीवनलाई कसरी बुझ्ने, त्यहाँबाट सुरू गरौं।

एक किसिमले हेर्दा व्यक्तिको जीवन र देशको इतिहासबीच धेरै सादृश्यहरू छन्।

सरलीकृत रूपमा मानिसको जीवन दुइटा पत्रले बनेको हुन्छ।

एउटा, तात्कालिक र स्थानिक।

अर्को, दीर्घकालीन र व्यापक।

तात्कालिक र स्थानिक भनेका हामीले अहिले र यही स्थानमा स्वचालित रूपमा झैं गर्ने व्यवहार, सोच आदि हुन्। हामी खान्छौं, काममा जान्छौं, परिवार सिर्जना गर्छौं, बिरामी हुन्छौं, निको पनि हुन्छौं। यी यावत कर्महरू हाम्रो जीवनमा भइरहने र गरिरहने प्रत्यक्ष घटनाहरू हुन्। हामीले यो दैनिकीलाई सहज रूपमा व्यवस्थापन गरिरहेका हुन्छौं। यी कर्महरूको कर्ता भएर अगाडि सर्छौं। यी दैनिकी पूरा गर्न आवश्यक सबै चिजबिजको जोहो गर्छौं।

यी यस्ता नियमित तालिकाबद्ध कामहरू हुन् जुन नगरी हामी रहन सक्दैनौं। यी सबैलाई हामी अवास्तविक पनि मान्दैनौं। केही शास्त्रहरूमा भनिनेजस्तो भ्रम वा छल पनि होइनन् यी।

हाम्रो निजी जीवनमा धेर-थोर अर्थ राख्ने सरकार, सरकारी नीति तथा नियमहरू, राजनीतिक पार्टीहरू, चुनाव लगायत घटना, परिपाटी आदि छन्। यी पनि वास्तविक सत्य नै हुन्।

त्यस्तै सञ्चारमाध्यमहरू पनि हाम्रो दैनिक जीवनमा छन्। तिनीहरूले हामीलाई खबर दिइरहेका हुन्छन्। अझ भनौं, हरेक दिन बृहत् परिवतर्नहरू भइरहेजसरी समाचार सम्प्रेषण गर्छन्। ती सबै हाम्रो जीवनमा कति सान्दर्भिक छन्? अझ दीर्घकालीन हिसाबले कति सान्दर्भिक छन्, त्यसमा हामी धेरै विचार गर्दैनौं।

अहिलेको समय त कस्तो भएको छ भने, सबैले आफ्नो कुरा भन्नैपर्ने र सबै घटनाहरूमा प्रतिक्रिया पाउनैपर्ने, जनाउनै पर्ने! त्यसलाई सामाजिक सञ्जालले झन् उत्प्रेरित गरिरहेको छ। यसले सामाजिक मनोविज्ञानलाई, अर्थात् आफू र अरूहरूबीचको सम्बन्धलाई वर्तमान र स्थान विशेषमा मात्र आधारित र केन्द्रित बनाएको छ। मानौं, यहाँ र अहिलेबाहेक अरू केही सत्य छँदै छैन।

हामी सबै वर्तमान सबभन्दा महत्त्वपूर्ण कसी हो भन्ने विश्वास गर्छौं र त्यसै गर्न हामीलाई भनिएको पनि छ। एउटा पाटोबाट हेर्दा यो ठीक पनि हो।

रसियाली चर्चित लेखक लियो टोल्सटोय आफ्नो कथा 'द इम्पेरर्स थ्री क्वेस्चन्स' मा भन्छन् — वर्तमान नै सबभन्दा महत्त्वपूर्ण समय हो। साथै सबभन्दा महत्त्वपूर्ण व्यक्ति भनेको आफूसँग तत्काल सँगै रहेको व्यक्ति नै हो।

स्थानिक विशिष्टताहरूले मानिसको जीवनमा ठूलो अर्थ राख्छन्। हामीले जीवन बाँच्ने भनेको तत्कालीन समय र स्थानिक परिवेशमा नै हो। तर हामी कस्तो जीवन बाँच्छौं, कस्तो सामाजिक परिवेश र सम्बन्धमा गाँसिएर बाँच्छौं, कस्तो आस, त्रास र कल्पनामा बाँच्छौं, हाम्रो सोचाइको चरित्र र सीमा कसरी बाँधिएको हुन्छ आदिको प्रकृति कसरी निर्माण हुन्छ?

धेरै पहिले नजाऔं, तीन-चार पुस्ताअघिका हाम्रा बाजे-बज्यैको जीवनचर्या र हाम्रो जीवनचर्या किन फरक छ? वर्तमानमै पनि जुम्ला, काठमाडौं अनि टोकियो र दोहाको मानिसहरूको जीवनचर्या किन फरक छ? महिला र पुरूषको पनि निकै फरक फरक किन छ? दलित र गैरदलितबीचको जीवनचर्या किन फरक छ? महिला भनेकै के हो र दलित भनेकै के हो, स्थान र कालबीच फरक किन हुन्छ? महिला सबै स्थान र कालमा एकै किसिमका हुँदैनन्। नेपालभित्र पनि वा काठमाडौंभित्र पनि हालको बज्यै महिला र नातिनी महिलामा धेरै फरक देख्न सकिन्छ। उता दलित प्रवर्ग स्थानविशेष र कालविशेषमा मात्रै प्रकट हुन्छ र अरू स्थान र कालमा लोप हुन्छ। अनि महिला र दलित मात्रै छुट्टै हुने र परिवर्तन हुने होइन, सबै मानिसहरू लगायत सारा प्राणीले स्थान र काल गुणाअनुसारको चरित्र ग्रहण गर्छन्। अर्थात् यो ब्रह्माण्ड लगायत मानिसहरू स्थान र कालअनुसारका किन हुन्छन् भन्ने प्रश्न अहम् महत्त्वको छ।

यी प्रश्न सोध्यौं भने मात्र हामी बल्ल बृहत् र दीर्घकालीन संरचना तथा ऐतिहासिकताबारे सोच्न थाल्छौं। आफ्नै स्थानिकता र वर्तमान व्यापक संरचना र लामो उतारचढाव समेतको ऐतिहासिक शृंखला अन्तर्गत कसरी निर्माण हुने रहेछ भन्नेबारे मनन गर्न थाल्छौं।

यी प्रश्नहरू हामीले किन पनि सोध्नुपर्छ भने संसारका मानिसहरू सबै एउटै किसिमले सोच्दैनन्। सबै एकै किसिमले व्यवहार गर्दैनन्। हामी एक किसिमको काम गर्छौं, अमेरिकनहरू अर्कै खालको काम गर्छन्। एकै ठाउँमा पनि इतिहास फेरिँदै गएपछि काम, सोचाइ आदि यावत गुणहरू फेरिँदै जान्छन्।

जस्तै, यही भौगोलिक स्थानमा मेरा पुर्खाले जे काम गर्थे म त्योभन्दा फरक काम गर्छु। खानपिनदेखि बसोबाससम्म मेरा पुर्खाहरूको र मेरो जीवनमा झन्डै आकाश-पातालको फरक छ।

मेरा पुर्खा र मैले वा अमेरिकन र अफ्रिकनहरूले गर्ने काम, सोच, कल्पना, इच्छा-आकांक्षा, भय-त्रास आदिहरूमा हाल रहेको विशिष्टताको सिर्जना कसरी र कहिले भयो? त्यसको जरो कहाँ हो? हामीले गरिरहेका यी सबै कामकुरा हाम्रो इच्छा र पूर्ण स्वतन्त्रतामै गरिएको हो कि होइन? इच्छा नितान्त व्यक्तिगत, स्वस्फूर्त, स्वैच्छिक हुन्छ वा ऐतिहासिक-सामाजिक हिसाबले निर्मित हुन्छ? अर्थात् इच्छाका पछाडि बृहत् संरचनात्मक र ऐतिहासिक कारण छन्? हामी केमा विश्वास गर्ने, केमा नगर्ने, के काम गर्ने, के नगर्ने भन्नका लागि पूर्ण स्वतन्त्र छौं कि अरू कोहीले वा केहीले हाम्रा इच्छा र हाम्रा काम निर्धारित गरिरहेको छ? के सबै काम हामी रोजेर, छानेर नै गर्छौं? वा परिस्थिति अर्थात् काल वा स्थान वा समाजबाट हामी निर्देशित हुन्छौं? हाम्रो हरेकको व्यक्तिगत स्वतन्त्रताको सीमा के हो? वा केहीले इच्छा गरेजस्तो वा भनेजस्तो हामी हरेक कुरामा पूर्णतया स्वतन्त्र छौं?

अन्य समाज र हाम्रो समाजको तुलना गरेर, हाम्रै पुर्खा र हाम्रो तुलना गरेर, व्यक्तिगत स्वतन्त्रताको जरा के हो र त्यसको सीमा के हो भन्ने सोचेर, खोजेर त्यसको जराको नजिक पुग्न सकियो भने दीर्घकालीन र बृहत्तर संरचनाको प्रकृतिसम्म पुगिन्छ।

कुनै पनि स्थिति र समस्यालाई दीर्घकालीन र बृहत् रूपमा देख्न र बुझ्नका लागि अलि टाढा र माथिबाट हेर्न जरूरी हुन्छ। किनभने, धेरै नजिकबाट हेर्दा स्थिति र समस्या प्रस्ट देखिँदैन। साह्रै नजिकको हेराइले भ्रम सिर्जना गर्छ। इनारको पिँधमा उभिएर मुन्टो माथि फर्काएर हेर्ने मानिसले देख्ने सानो टुक्रा आकाश वास्तविक आकाश होइन। र, विपरीत पृष्ठभूमिबिनाको कुनै पनि वस्तु, गुण आदिको सही आकलन गर्न सकिँदैन।

कुनै पनि स्थिति र समस्यालाई नजिकबाट हेर्न आवश्यक हुन्छ तर टाढा वा माथिबाट हेर्न पनि उत्तिकै जरूरी हुन्छ। जसरी नजिकबाट हेरेन भने ठेस लाग्न सक्छ, माथि वा परबाट हेरेन भने वास्तविक स्थितिको भेउ पाउन सकिँदैन। आफूलाई बुझ्न आफैंलाई परबाट, माथिबाट हेर्नै पर्छ।

माथि भनिएजस्तो इनारभित्र उभिएको मान्छेले सीमित आकाश मात्र देख्छ। नितान्त स्थानिक र नितान्त तात्कालिक हुनु आकाशको त्यही अत्यन्त सानो टुक्रालाई सम्पूर्ण आकाश ठान्नु हो। आकाशमा उड्ने चिलले माथिबाट धेरै कुरा बढी देख्छ। व्यापक सोच राख्न सक्छ। र, त्यो व्यापकतालाई अँगालेर निर्णय गर्न सक्छ।

यसरी हेर्नु किन पनि जरूरी छ भने, तत्कालवाद र स्थानिकवादले कुनै पनि गहन र बहुआयामिक प्रश्नहरूको सन्तोषजनक उत्तर दिन सक्दैन। हाम्रा भावी योजना तथा नीतिहरूको आकलन वा निर्धारणमा पनि तत्कालवाद वा स्थानिकवादले धेरै सहयोग गर्दैन। त्यसैले दीर्घकालीन र बृहत् स्तरमा बुझ्न तत्कालवाद र स्थानिकवादभन्दा बाहिर निस्किएर हेर्नुपर्छ। हाम्रो दैनिकी जसरी बनेको छ, जसरी त्यसको सिर्जना भएको छ, त्यसको जरोसम्म पुग्न पर र माथिबाट र ऐतिहासिकतालाई यथेष्ट प्रशय दिएर हेर्नैपर्छ।

हरेक तत्काल विशिष्ट हुन्छ तर हरेक तत्काल इतिहासको अटुट शृंखलाको विन्दु पनि हो। हरेक स्थानविशेष विशिष्ट हुन्छ तर हरेक स्थान विश्व-व्यवस्थाको एउटा कडी पनि हो। सारांशमा हरेक स्थान-समय विश्व-ऐतिहासिक स्थान र समय हो। आफैंलाई, अरूलाई, नेपाललाई वा अन्य कोही-केहीलाई सही रूपले चिन्न र कार्यक्रमिक दिशा निर्माण गर्न उपयुक्त किसिमको विश्व-ऐतिहासिक चेत अपरिहार्य हुन्छ। नत्र विशाल आँधीमा उडिरहेको काग बन्ने सम्भावना उच्च बन्छ।

समग्रमा दुइटा तथ्य बुझ्नु ठीक हुन्छ — हामीले र अरूले बनाएको र भोगिरहेको संरचनाको विहंगम बनावट र त्यसको उत्पत्ति भएयताको उतारचढाव समेतको ऐतिहासिक बहाव।

यसलाई एउटा उदाहरणबाट बुझौं।

सन् १९७२ मा चीनका पूर्व प्रधानमन्त्री जाओ इनलाईलाई एक फ्रेन्च पत्रकारले सन् १७८९ मा भएको फ्रान्सेली क्रान्तिले विश्वमा के प्रभाव पार्‍यो भनेर सोधेका थिए।

जाओले उत्तर दिए — अहिल्यै अन्तिम निष्कर्ष निकाल्न धेरै हतारो हुन्छ!

कुनै घटना भएको झन्डै दुई सय वर्षपछाडि त्यसको प्रभावबारे सोध्दा पनि जाओले पूर्णांगी उत्तर दिन अलि चाँडै हुने बताए।

यसको अर्थ, कुनै पनि घटना वा अवस्थाले पार्ने प्रभाव तात्कालिक मात्र हुँदैन। स्थानिक मात्र हुँदैन। समाजमा त्यसले पार्ने प्रभाव व्यापक हुन्छ र त्यसलाई दीर्घकालीन रूपमा जाँच्ने-बुझ्ने गर्नुपर्छ। त्यसलाई लामो समयसम्म पछ्याउनुपर्छ। कारण र प्रभावका भिन्न भिन्न चरणहरू केलाएर हेरिनुपर्छ। कारणको कारणको कारण र प्रभावको प्रभावको प्रभाव समेत बुझ्नुपर्छ।

यसलाई म महाभारतबाट उदाहरण लिएर अघि बढाउन चाहन्छु।

दुर्योधन र द्रौपदीबीच भएको सानो तात्कालिक घटनाबाट सुरू भएको विवाद विशालतम युद्धसम्म पुग्यो। त्यसको प्रभाव युद्धसम्म मात्र पनि रहेन। महाभारत युद्ध कथाको अहिले पनि यो उपमहाद्वीपको राजनीतिमा प्रभाव देख्न सकिन्छ। राजनीतिज्ञहरूले महाभारत उद्धृत गर्छन्। त्यसका उदाहरण दिन्छन्। कुनै पनि कुरा जटिल छ भन्ने थाहा पाएपछि हामी यो त 'महाभारत रहेछ' पनि भन्छौं।

अब इतिहासको आकलनतिर फर्कौं।

फ्रान्सेली इतिहासविद फर्नान्ड ब्राडलले समयलाई चारवटा आपसमा जेलिएका खण्डहरूमा बाँडेका छन्।

पहिलो, ऋषिमुनिहरूको अर्थात् चिरञ्जीवीहरूको समय। यसको सुरूआत र अन्त अथाह लम्बाइको हुन्छ। अर्थात् यो चिरकालको कल्पनाको द्योतक हो। सत्य, त्रेता, द्वापर र कली युगको ऐतिहासिक विभाजन यसको उदाहरणमध्ये हो।

दोस्रो, संरचनात्मक समय अर्थात् कुनै विशिष्ट संरचना हाबी भएको लामो तर सीमित अवधि। एउटा सिंगो युग, विश्व-ऐतिहासिक काल। कार्ल मार्क्सको सामन्तवाद, पुँजीवाद, समाजवाद आदि यसका उदाहरण हुन्।

तेस्रो, एउटा युग र अर्को भ्रूणबाट वयस्क बन्दै गरेको युगबीचको सन्धिकाल। यो सन्धिकाल वहुधा लामै हुन्छ। उदाहरणका लागि, सामन्तवाद, पुँजीवाद र समाजवाद क्रमैसँग आउने ऐतिहासिक कालहरू हुन् भनेर स्वीकार गर्ने हो भने पनि ती वादहरूमा आधारित समाजहरू एउटा सकिने र अर्को हाबी भइहाल्ने हुँदैन। एउटाबाट अर्कोमा पुग्न लामो सन्धिकाल अथवा दुई किसिमको समाज एकआपसमा खप्टिएर रहिरहने अवधि लामो हुन्छ। एउटा चुनाव जितेर वा क्रान्ति नै गरेर तत्कालै सामन्तवादबाट पुँजीवाद र पुँजीवादबाट समाजवाद अनि साम्यवादतिरको यात्रा तय भइहाल्ने महाअल्पदृष्टि यो सन्धिकालको अवधारणाले सकार्दैन।

चौथो, माथि लामो चर्चा गरेजस्तै हामीले दैनिक बिताउने तात्कालिक समय। नितान्त वर्तमान। हामी यसलाई वर्तमानवाद पनि भन्न सक्छौं। अर्थात् वर्तमान आफैंमा पूर्ण छ। वर्तमान आदि र अन्त्य दुवै हो। माथि भन्न खोजेझैं यो दृष्टिकोण नितान्त गैर-ऐतिहासिक छ।

अब स्थानिक, अझ व्यक्तिगत पाटोलाई हेर्ने समाजशास्त्रीय दृष्टिकोणले चिर्न खोजौं।

नितान्त व्यक्तिगत गुण वा प्रकृतिमा चरित्र, धारणा, इच्छा, संवेग इत्यादि हुन्छ कि हुँदैन? वा यी गुण, प्रकृति, चरित्र, धारणा, इच्छा, संवेग आदि मूलतः समाज र इतिहासजनित हुन्?

यी विशिष्ट अवस्था व्यक्तिविशेष मार्फत प्रकट हुन्छन् तर यिनको जरा विशिष्ट समाज र इतिहासको नाभीमा गएर जोडिन्छ। वास्तवमा सामाजिक शास्त्रको ठूलो मर्म र चेत नै यही हो कि नितान्त व्यक्तिगत केही हुँदैन। हामी सबै र हामी हरेकका सारा गुण-दोष, कर्म-कुकर्म, मित्रभाव-वैरभाव, जाँगर-आलस्य आदि सबैमा इतिहास र समाजको विशिष्ट चरित्रको व्यापक र गहिरो छाप परेको हुन्छ। सीमित दायराभित्र व्यक्ति आफैं पूर्ण छ र आफैं कर्ता पनि हो। तर व्यक्ति र व्यक्तिको गुण, अवस्था आदि स्वनिर्मित हुँदैनन्। तिनको निर्माण ऐतिहासिक र सामाजिक किसिमले हुन्छ।

माथि नै भनियो, व्यक्तिको प्रकृति वा अरू प्रकृतिहरू समाज अर्थात् परिवार, समुदाय, वर्ण, जात, लिंग र अन्ततोगत्वा विश्व-ऐतिहासिक संरचना र प्रवृत्तिकै उपज हुन्।

फेरि एकपटक समाजशास्त्री चार्ल्स राइट मिल्सतिर फर्कौं।

उनी सोध्छन्, 'कुनै व्यक्ति बेरोजगार छ वा अन्य समस्यामा फसेको छ भने त्यो के कारणले हो? त्यो व्यक्तिको आफ्नै कारणले हो वा अर्थतन्त्रमा आएको गिरावट, राष्ट्रिय र विश्वतहको उत्पादन शक्तिमा विद्यमान असमानता, ज्ञान र सीप प्रदान गर्ने विद्यालयहरूमा आएको स्खलन आदिले हो? अर्कोतिर कोही व्यक्ति सम्पन्न छ भने त्यो सम्पन्नताको वाहक त्यो व्यक्ति आफैं मात्रै हो वा ऐतिहासिक वा नवीन विश्व-व्यवस्था अन्तर्गत बदलिँदो समाज हो?'

यहाँ काल मार्क्सको यो उक्ति पनि मननीय छ — बदलिँदो समाजले नवीन मानवको सिर्जना गर्छ।

समाज बदलिने तर व्यक्ति भने पुरानै रहनु असम्भव छ र स्वभावतः नवीन मानवका गुण, इच्छा-आकांक्षा, आस-त्रास आदि सबै नवीन हुने नै भए।

चार्ल्स राइट मिल्स थप्छन्, 'समाजशास्त्रीय दृष्टिकोण भनेको सोचको त्यस्तो कोण हो जसले इतिहास र समाजको बहाव र व्यक्तिको आत्मकथाबीच सन्धि गराउँछ। अर्थात् कुनै पनि देश वा वंश वा वर्गको इतिहासमा एउटा व्यक्ति कसरी भित्र छिर्छ र व्यक्ति र समाज, वर्ग, देश आदिको सन्धि कसरी हुन्छ भनेर पत्ता लगाउने दृष्टिकोण समाजशास्त्रीय दृष्टिकोण हो।'

यति कुरा भनिसकेपछि, अब कुनै पनि देशको उन्नति वा अवनतिको प्रश्नमा प्रवेश गरौं।

समाजशास्त्री तथा इतिहासविद इमानुअल वालरस्टिनले रोचक र अत्यन्त महत्त्वपूर्ण विचार राखेका छन्।

वालरस्टिन अमेरिकामा पढे। विद्यावारिधि गरेपछि काम गर्ने क्रममा अफ्रिकी देशहरू पुगे। अरू ठाउँमा जस्तै त्यहाँ पनि छुट्टाछुट्टै देशको विकास नहुनुमा छुट्टाछुट्टै कारणहरू दर्शाइएको पढे। केही कालसम्म उनी त्यसकै पछि लागे। र, फलानो देश नबन्नुमा फलानो कारण छ भन्दै देशविशेषका छुट्टाछुट्टै कारणहरू पस्किन थाले।

काम गर्दै जाँदा पछि उनलाई खुल्यो — छुट्टाछुट्टै देशहरूको विकास हुनु वा नहुनुका छुट्टाछुट्टै कारणहरू हुँदैनन्। आन्तरिक कारण मात्र पनि हुँदैन। कुनै पनि देश आफ्नो आन्तरिक कारणले मात्र विकास हुने वा नहुने भन्ने पनि होइन। यसमा बृहत् र दीर्घकालीन कारण हुन्छ। संसारभरि र अन्य मुलुकमा के भइरहेको छ भन्ने तथ्यले अन्य देशलाई पनि प्रभाव पार्छ। इतिहासको यो दौडमा देशहरू सिंगो विश्वका अंगहरू न हुन्! संसारमा विकास नभएका धेरै देशहरू छन्। ती धेरै देशहरूको विकास किन भएन भनेर सुरूमै प्रत्येक देशका लागि विशिष्ट कारण खोज्नु जायज होइन। सुरूमा सबैको वा क्षेत्र वा समूहविशेषको अविकासका समग्र कारणहरू खोज्नुपर्छ अनि मात्र विशिष्ट कारणहरू खोजिनुपर्छ।

यसरी समाजशास्त्री वालरस्टिनले विशिष्ट र आन्तरिक कारणभन्दा पहिले समग्र विश्व-ऐतिहासिक कारणमा जोड दिएका छन्। र, बाह्य र आन्तरिक कारण छुट्टाछुट्टै नभएर एकआपसमा उनिएका हुन्छन्।

विश्वका सबै ठाउँका सबै मान्छे र सबै प्रणाली एकै सूत्रमा, विश्व-पुँजीवादको सूत्रमा उनिएका छन्। तर योभित्र विविधता छ, उबडखावड छ, उतारचढाव छ। तैपनि श्रम, संरचना र लगानीका हिसाबले सबै एउटै मालामा उनिएका छन्। त्यसैले कुनै पनि देशको विकासलाई बृहत् र दीर्घकालीन खाकामा राखेर आकलन गर्नुपर्छ। विस्तारित दृष्टिकोण अवलम्बन गरेर आफ्नो मुलुक सुधार्ने प्रयत्न गर्नुपर्छ।

आफ्नो मुलुक भनेपछि अब नेपालको कुरा गरौं।

नेपाललाई हामीले कसरी बुझ्ने? नेपालको विकासलाई कसरी बुझ्ने? नेपाल कति बन्यो वा बनेन भनेर कसरी आकलन गर्ने?

सुरूमा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको कुरा गरौं।

नेपाल अलग र स्वतन्त्र, आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्ने, सार्वभौम मुलुक भनेर बुझ्ने हो कि वर्तमान विश्व-व्यवस्थाको एउटा अंग भनेर बुझ्ने? वा कुनै अर्को किसिमले बुझ्ने?

पारम्परिक किसिमले सार्वभौम भनेको आफ्नै छुट्टै अर्थतन्त्र, आफ्नै विकासको प्रक्रिया, आफ्नै वर्ग, राजनीति आदि भएको र यो प्रक्रियालाई आफैंले निर्धारण गर्न सक्ने प्राधिकार हो। तर आजका दिनमा के नेपाल वा कुनै पनि मुलुकले यी सबै अधिकार एक्लै नै उपभोग र पुनर्उत्पादन गर्न सक्छ? कि अरूसँग जोडिएर, अरूको साथ लिएर हामीले गर्न सक्ने कामको निर्धारण हुन्छ?

यसको सही जवाफ हामीले खोजेर लागू गर्नुपर्छ।

हरेक देश विश्व-ऐतिहासिक प्रवाह र संरचनाको एउटा अंग हो। वैश्विक संरचनाको जगमा टेकेर कुनै पनि देश उभिएको र हुर्केको हुन्छ। यो वैश्विक संरचनामा टेकेर नेपाल बन्ने र बिग्रिने क्रम धेरै अगाडिदेखि चलेको हो। संसारका अरू राज्यजस्तै नेपाल पनि कहिले सानो हुने त कहिले ठूलो हुने र कहिले बिग्रिने र कहिले बन्ने क्रम चलिरहेकै हो। खासगरी दक्षिण एसियाका अरू देशहरूमा जस्तै नेपालमा पनि सुधार र बिगारको प्रक्रिया चलिरह्यो।

यो विश्व-ऐतिहासिक संरचना र प्रवाह भनेको मूलतः के हो? अनि नेपाल यो संरचनाको अंग हो भन्नुको मूल आसय के हो?

अन्तर्राष्ट्रिय युद्ध, विदेश नीति, कूटनीतिक सम्बन्ध, सन्धि-सम्झौता आदि यसका भाग हुन्। तर यी संरचनाको मूल तत्व भने होइनन्।

हालको यो संरचनाको मेरूदण्ड पुँजीवाद हो। पुँजीवाद हाल विश्वव्यापी छ। भनेको, छुट्टाछुट्टै मुलुकमा छुट्टाछुट्टै पुँजीवाद छैन, विश्व पुँजीवाद विश्वराष्ट्रमै एकीकृत छ। मुलुक-मुलुकको पुँजीवाद त्यो विश्व-पुँजीवादका केही किसिमले विशिष्ट तर अधिकांशतः एकीकृत अंग हुन्।

विश्व-पुँजीवादभित्र प्रशस्त र झन् झन् बढ्दै गरेको असमानता छ।

उदाहरणका लागि, नेपालको सिकर्मी र अमेरिकाको सिकर्मीले गर्ने काम उही हो। तर ज्यालामा आकाश-जमिनको अन्तर छ। किन छ? किनकि यस्तै प्रणालीहरूबाट नाफा र पुँजी छिटोछिटो बढाउन सकिन्छ। हामीले पहिले सिकाएको जस्तो मुलुक-मुलकुपिच्छे छुट्टाछुट्टै वर्गीय संरचना पनि छैन। वर्ग पनि विश्वतहमा एकीकृत छ। मुलुक-मुलुकका वर्गीय संरचना विश्व-वर्गीय संरचनाका अंग हुन्।

पुँजीवादी विश्व-संरचनाभित्र देश नै वर्ग पनि हो। देशले वर्गको प्रतिनिधित्व गर्छ। जस्तो कि नेपाल र नेपालजस्ता मुलुकहरू निम्नस्तरका कामदारको वर्ग र देश हो।

विश्व-पुँजीवादमा उल्लेख्य उतारचढाव पनि छ। कहिले अर्थतन्त्र अलि सुक्छ कहिले फुक्छ। फुकेका बेला हाम्रा मान्छेहरूले विदेशमा अलि बढी काम पाउँछन्। विप्रेषण (रेमिटेन्स) को मात्रा अलि बढ्छ। सुकेका बेला काम सुक्छ र विप्रेषण घट्छ।

विश्व-पुँजीवादको संरचना चलायमान पनि छ। पुँजीवादको केन्द्रमा, मध्य भागमा र सीमान्तमा रहेका मुलुकहरूबीच यही फेरबदल भइरहन्छ। ५० वर्षअघि जापानबाहेक पूर्वी एसियाका सबै जसो मुलुकहरू विश्व-पुँजीवादको पुच्छरको श्रेणीमा थिए। अहिले कोही केन्द्रमै पुगिसके भने कुनै मध्य भागमा छन् वा त्यहाँ चढ्दै छन्।

विश्व-पुँजीवादको सबभन्दा मुख्य अंग बन्द-व्यापार, आयात-निर्यात, पुँजीको वैध र अवैध प्रवाह, अप्रशोधित वस्तुहरूको निकासी, मुलुकभित्रको स्रोतमाथि अन्य मुलुकको हैकम, जस्तो भारतले नेपालको बिजुली र नदीहरूमाथि जमाउँदै गरेको एकाधिकार आदि हुन्। यो प्रक्रिया चक्र कहिल्यै नथामिने गरी झन् झन् छिटो, चौबीसै घन्टा र ३६५ दिन नै घुमिरहन्छ। हाम्रा जस्ता मुलुकहरूको आर्थिक सबलता र अधिकांश भाग यो बाटोबाट चुहिँदै जान्छ।

श्रम बेचविखन पनि हाम्रो बगेर जाने स्रोतमध्ये एक हो। हाल नबेचे आम्दानी हुँदैन। झन्डै ६० प्रतिशत परिवारहरूले विप्रेषणबाट लाभ पाउँछन्। यो नभए अहिले घर-व्यवहार गर्न अत्यन्त कठिन हुन्थ्यो। तर सोचौं, यसबाट मुख्य फाइदा कसलाई भइरहेको छ? हाम्रा र हाम्राजस्ता अरू श्रमिकहरूको कामले नाफा र पुँजी कहाँ लगातार केन्द्रित भइरहेको छ? अर्थात् विश्व-पुँजीवादको पुच्छरमा बसेर हामीले, हाम्रा श्रमिकले विश्व-पुँजीवादको केन्द्र र मध्य भागमा रहेका मुलुक र वर्गको हित गरिरहेका छन्।

यदि त्यस्तो काम यहीँ पाइने बन्दोबस्त गर्न थालियो भने ज्याला, खर्च, बचत लगायत नाफा वा पुँजी अधिकांशतः यहीँ एक हातबाट अर्को हातमा जान्थ्यो। र, काम अझ राम्रो हुन थालेमा विदेशी पुँजी र श्रमिक समेत यहीँ केन्द्रित हुने सम्भावना बढ्थ्यो। विश्व-पुँजीवादको श्रेणीमा नेपाल अलि माथि उक्लिन्थ्यो वा नेपालीहरू अलि बढी सम्पन्न हुन्थे!

विश्व-पुँजीवाद अमर छैन। तर यो रहुन्जेल कुनै काल्पनिक वादको पछि लाग्नु चिलले कान लग्यो भनेर चिलको पछिपछि दौडिनेभन्दा पृथक छैन। यो रहुन्जेल यसैमा श्रेष्ठता हासिल गर्न खोज्नु र सक्नु बुद्धिमानी हो।

आधुनिक नेपालको जन्म पृथ्वीनारायण शाहसँगै भएको हो। गोरखामा उनको शासनकाल चलिरहेका बेला पूरा नेपालमा परिवर्तनले धार समातेको थियो। त्यो बेला संसारमा पनि अत्यन्त व्यापक र दूरगामी ऐतिहासिक परिवर्तन हुँदै थियो।

आधुनिक नेपालको जन्म र त्यो विश्वव्यापी र क्षेत्रीय परिवर्तन एकापसमा जेलिएको थियो। अथवा भनौं, आधुनिक नेपालको जन्म नितान्त आन्तरिक नभएर त्यस बेला विश्वव्यापी र क्षेत्रीय तहमा उर्लिरहेको ऐतिहासिक छालको एउटा विशिष्ट उपज थियो। यो परिवर्तनको सुरूको लहर सन् १५०० भन्दा अगाडि नै उर्लेको थियो। इतिहासको त्यो कालखण्डलाई आन्द्रे गन्डर फ्र्यांकले 'द एसियन एज' नाम दिएका छन्।

द एसियन एज (एसियाली युग) किन भनिएको भने सन् १७०० सम्मै विश्वभरिमा, अरू कुनै पनि क्षेत्र वा महादेशहरूमध्ये एसिया समृद्ध थियो। चीन र भारत आर्थिक हिसाबमा बलिया देश थिए।

प्रसिद्ध अर्थशास्त्री एंगस मेडिसनले पाँच सय वर्षको लामो कालखण्डमा (सन् १५०० यता) विश्व-अर्थतन्त्रमा कसरी र कति परिवर्तन भयो भनेर ऐतिहासिक-तुलनात्मक अध्ययन गरेका छन्। सन् १५०० मा चीन र भारतको अर्थतन्त्र विश्वमै पहिलो र दोस्रो नम्बरमा थिए। सन् २०१५ को डलरको मूल्यमा समायोजन गरेर भन्नुपर्दा चीन र भारत दुवै सन् १५०० मा सय अर्ब डलरका अर्थतन्त्र थिए। तेस्रोमा फ्रान्स थियो भने चौथो र पाँचौंमा क्रमशः इटाली र जर्मनी थिए। बेलायत दसौंमा थियो। त्यो बेला एक किसिमले अमेरिका भन्ने देश नै थिएन।

अर्थतन्त्र र व्यापारको मूल आधार कृषि रहुन्जेल, औपनिवेशिक संरचना सुरू नहुँदासम्म र पछिल्लोपटक विश्वव्यापी असर राख्ने युरोप केन्द्रित औद्योगिक क्रान्ति सुरू हुनुअघिसम्म विश्व अर्थतन्त्रमा चीन र भारतको वर्चश्व थियो। सन् १८२० सम्म पनि विश्वमा चीन पहिलो र भारत दोस्रो ठूलो अर्थतन्त्र थिए। बेलायत तेस्रो र फ्रान्स चौथो ठूला अर्थतन्त्र थिए। सन् १८९० मा आएर मात्र अमेरिका पहिलो अर्थतन्त्र बन्यो। चीन, भारत र बेलायत क्रमशः दोस्रो, तेस्रो र चौथो ठूलो अर्थतन्त्रमा झरे। पहिलोपटक जापान पाँचौं ठूलो अर्थतन्त्रका रूपमा उदायो।

अहिले आएर फेरि विश्व-ऐतिहासिक चक्र घुम्दै गरेको देखिन्छ। चीनको पुनरोदयको समय आएको छ। भारत पनि अघि बढ्दै छ। औद्योगिकीकरण र प्रविधिको पूर्ण लाभ चीन र भारतले उठाउन थालेका छन्। त्यसमा दक्ष जनशक्ति मिसिँदा यी मुलुकहरूको आर्थिक वृद्धिदर विश्वभरिमै तीव्र बनेको छ। यी दुवै अर्थतन्त्र थप वर्चश्वशाली हुने क्रममा छन्। यसको आर्थिक र राजनीतिक प्रभाव नेपालमा पनि पर्नेछ, परिरहेको छ। यो प्रभाव झन् झन् सघन बन्नेछ। यो सघनताबाट कसरी फाइदा लिने, बेफाइदा कसरी नबोक्ने, वर्तमान विश्व-ऐतिहासिक अवधिको, स्थानको र समयको प्रश्न यति मात्र हो।

योभन्दा निकै अघि यस्तो प्रश्न उठाउनु नाजायज हुन्थ्यो। यो विश्व-ऐतिहासिक क्षणमा भने यो प्रश्न नउठाउनु पूर्णतया नाजायज हुन्छ। अहिले नउक्लिने हो भने नेपालका लागि भर्‍याङले कुरेर बस्दैन। त्यस अवस्थामा अहिलेको नेपाल खोज्दै हिँड्नुपर्ने हुन्छ। अर्थात्—  कुनै पनि अवस्था तात्कालिक वा स्थानिक मात्र हुँदैन। यसको दीर्घकालीन र व्यापक प्रभाव हुन्छ। त्यसैले हाम्रा छिमेकी देशहरू आर्थिक रूपमा समृद्ध हुँदा यसको प्रत्यक्ष प्रभाव हामीलाई पर्छ। हामी पनि त्यसबाट लाभ लिन सक्छौं, हामी पनि सम्पन्नतातर्फ अघि बढ्न सक्छौं। सँगै, यो आत्मसात गर्नु आवश्यक छ कि त्यसबाट हामीलाई घातक नोक्सानी समेत हुन सक्छ।

एसियाको पुनर्उत्थान र समृद्धि भएका बेला नेपाल एक्लै तन्नम राज्य भएर टिकिरहन सक्दैन। कि उँभो लाग्छ कि अहिलेको भन्दा छिमेकी र अन्यमाथि धेरै बढी आश्रित भएर जाने वा नामेट हुनेसम्मको दिशातर्फ अघि बढ्छ।

नेपालमा हाल देखिन थालेको भारत, चीन, अमेरिका आदिको 'कूटनीतिक' चापाचाप त्यसको द्योतक हो। यो चापाचापले भविष्यमा अझै च्याप्दै लग्ने निश्चित छ। अहिलेको राजनीतिको मुख्य चुनौती यही हो। अर्कातिर यहाँका नालायक सरकार र दलहरूमार्फत यो भार थामिने सम्भावना झन् झन् क्षीण हुँदै गएको छ।

वा, एसिया तन्नम भएका बेला नेपाल मात्र धनी बन्न सक्ने थिएन।

विश्व र क्षेत्रीय अर्थतन्त्रमा जतिखेर चीन र भारत हाबी थिए, त्यो बेला काठमाडौं उपत्यका र वरिपरि मल्लकाल (सन् १२०१-१७७९) थियो। नेपालको इतिहासमा मल्लकालको सम्पन्नता, श्रमको मिहिन विभाजन, कौशल, सार्वजनिक वैभव- कुलो, सडक, धारा, ढल, मन्दिर, पाटीपौवाको नवप्रवर्तन र व्यवस्थापनको चर्चा हाल समेत छ। त्यो बेला नेपाल धनी थियो। राज्यसँग अतिरिक्त आम्दानी थियो। जनतामा शिक्षा, सीप र कौशल थियो। काठमाडौं उपत्यकाका अरनिको चीन गएकाले नेपालको इतिहासमा उनको चर्चा छ। गौरवगाथा छ। किम्बदन्ती जस्तो गरेर स्कुलमा पढाइने इतिहासमा भनेजस्तो अरनिको एक्ला होइनन्। अरनिकोको जस्तो कौशल र नेतृत्व उत्पादन गर्ने काठमाडौंमा कारखाना नै थियो भन्न हिचकिचाउनुपर्ने पक्कै छैन। सयौंमध्येका एक हुनुपर्छ अरनिको।

त्यही बेलाको त्यो आम्दानी खर्चेर आज नेपालको वैभवका रूपमा स्थापित मठ-मन्दिर र दरबारहरू बनेका थिए। काठमाडौं, भक्तपुर र पाटन दरबार क्षेत्र त्यही बेला बनेका हुन्। कला र संस्कृतिको विकास त्यही बेला भएको हो।

मल्लकालीन वैभवको सिर्जना राज्यको अतिरिक्त आम्दानीले मात्र सम्भव भएको भने होइन। पक्कै पनि निजी क्षेत्र नवप्रवर्तनकारी र बलियो थियो। त्यस्तै, कला, संस्कृतिको उत्थान र वैभव निर्माणमा मानिस चाहिन्छ। त्यो सपना देख्ने मानिस चाहिन्छ, त्यसको व्यवस्थापन गर्ने मानिस चाहिन्छ, त्यो बनाउने कालिगढ र मिस्त्री चाहिन्छ। अनि सीप र कौशल चाहिन्छ। यो सबै नेपालभित्रै स्थानिक रूपमा एकाएक सिर्जना हुने होइन।

सोच्न लायक यो पनि छ कि, यस्तो न योभन्दा लगत्तै पहिले थियो, न लगत्तै पछि नै भयो।

यो यसकारण पनि सम्भव भएको हुनुपर्छ कि मल्लकालमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध थियो। यद्यपि हाम्रा इतिहासकारहरूको ध्यान यसपट्टि छँदै छैन भने हुन्छ। त्यो बेलाका नेपाल र भारतका राजा-रजौटाहरूबीच बिहेवारीको निकै कसिलो सम्बन्ध थियो। त्यसले दुई देशबीच आउजाउ, भरथेग र आर्थिक लेनदेन बढाउने नै भयो। युद्धका क्रममा पनि मल्लकालदेखि नै नेपाल र भारतका राजाहरूबीच आपसी सहयोग र भरथेगको सम्बन्ध देखिन्छ। अझ मुख्यतः उत्पादन र बन्द-व्यापारको सम्बन्ध निकै व्यापक र कसिलो थियो।

नेपाल र भारतका विभिन्न राजा-रजौटाहरूबीच मल्लकालमा मात्र होइन, त्योभन्दा अघि लिच्छविकाल र मल्लकालपछिको शाहकालमा पनि बिहेवारी, आउजाउ, आर्थिक-व्यापारिक र सैन्य सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ। आर्थिक हिसाबले त एउटा खास समय यस्तो थियो, जति बेला नेपालले दुई छिमेकी; भारत र चीनबीच व्यापारिक पुलको पनि काम गर्थ्यो। चीन, भारत र नेपाल झन्डै एउटै अर्थतन्त्रका अंश-अंश थिए।

सन् १८९० ताका अमेरिका विश्वको पहिलो अर्थतन्त्र बन्दासम्म विश्वशक्ति सन्तुलनमा धेरै परिवर्तन आइसकेको थियो। पश्चिमी राष्ट्रहरूको विश्वव्यापी औपनिवेशिक दबदबा र त्यहाँ मौलाएको औद्योगिकीकरण र प्रविधिको विकासअन्तर्गत समेत भारत र चीनमा बढ्दो आन्तरिक कलहले एसियालाई बिस्तारै पछि पार्दै लग्यो।

सन् १९५० सम्म आइपुग्दा चीन र भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) संसारभरिको जिडिपीको क्रमशः ४.५ प्रतिशत र ४.२ प्रतिशतमा झरिसकेको थियो। जाहेर छ, विश्वको यो क्षेत्रभित्र दुई सय वर्षमा आर्थिक अवनति अत्यन्तै गहिरिएको थियो। मानौं, यो क्षेत्र दुई शताब्दी लामो भिरबाट खस्दै खस्दै थियो।

भारतमा विशाल मुगल साम्राज्यको क्रमशः पतन, बेलायती उपनिवेशको उदय र चीनसँग बेलायत र पश्चिमा देशहरूको युद्धले दुवै मुलुकलाई थप कमजोर बनायो। त्यो बेला विश्वमै पश्चिमा औपनिवेशीकरण जसरी फैलिँदै गयो, त्यो एउटा भीषण चक्रवातको समय थियो।

यो सम्झिन लायक छ कि 'इस्ट इन्डिया कम्पनी' कुनै लातलुते वा सामान्य कम्पनी थिएन। यो त्यो बेलाको संसारभरिको ठूलो बहुराष्ट्रिय कम्पनी हो। यो आजकालको निजी कम्पनीजस्तो नभएर मुख्यतया बेलायतको सरकारबाट सञ्चालित पनि थियो। र, यो एउटा फुट्टा कम्पनी मात्र थिएन।

त्यो चक्रवातले संसारभर हुन्डरी ल्यायो र त्यसको प्रभाव लामो समयसम्म रह्यो। राज्यहरू बन्ने र टुक्रिने प्रक्रिया चलिरह्यो। भारत पाँच सयभन्दा बढी राज्यमा टुक्रियो। चीन तहसनहस भयो। राजा र शासकहरू बदलिरहे। दुई सय वर्षसम्म संसारभरको शासन र राज्यहरूको संरचनामा फेरबदल भइरह्यो। नेपालको एकीकरण हुनु पनि यही विश्वव्यापी र क्षेत्रव्यापी प्रक्रियाको परिणाम भनेर बुझ्नुपर्छ।

पृथ्वीनारायण शाह त्यही हुन्डरीको समयमा उदाएका थिए र महत्त्वपूर्ण किसिमले त्यसैका परिणाम थिए।

एकचोटि नेपालको हालको नक्सामा आँखा लगाऔं। नेपाल किन पूर्व-पश्चिम फैलिएको र उत्तर-दक्षिणमा साँघुरो छ? किन नेपाल मूलतः पहाडी इलाकामा छ? यो मुलुक किन उत्तरपट्टि सोलुखुम्बु-ताप्लेजुङबाट सुरू भएर समुद्रसम्म छुनेगरी दक्षिणमा कोलकाता र सुन्दरवनसम्म पुगेन? सन् १८१६ मा गुमेको मध्य र सुदूरपश्चिमको तराई पछि फेरि किन, के कारणले फर्कियो? 'चुच्चे नक्सा' किन गुम भयो, हराएरै बस्यो र अहिले कमसेकम फेरि किन र के बुताले मुलुकको नक्सामा हुलिएको छ?

उता, हालै आएर दिल्लीको संसदमा सबै छिमेकीहरूको समेत इलाका हडपेको भारतको नक्सा किन टाँगिएको छ? नेपालका हालका प्रधानमन्त्रीले दिल्ली पुग्दा समेत त्यसबारे किन चुँसम्म गरेनन्? फर्केर आएपछि पनि त्यसबारे बलियो प्रतिक्रिया नदिई बरू त्वम् शरणम् गर्दैछन्? पहिले एक जना 'आन्तरिक नै प्रधान हो' को मिथ्या गीत गाउने प्रधानमन्त्रीले कसरी पछि अलि बढी सांसारिक शिक्षा प्राप्त गरेपछि 'सन्चो त उहीँ नै (अर्थात् दिल्लीमा) रहेछ' भनेर जप्न थाले, यो शिक्षाप्रद छ।

जाहेर छ, मुलुकको विस्तार, संकुचन आदि विश्व र क्षेत्रका प्रमुख र त्यसमाथि हाम्रो सन्दर्भमा शक्तिशाली छिमेकीहरूसँगको सम्बन्धको प्रकृतिबाट निर्माण हुन्छ। अर्को शब्दमा, नेपालको जन्म र पुनर्जन्म नै ५००-२०० वर्षअघि विश्व-व्यवस्थामा आएको परिवर्तन, खासगरी औपनिवेशिक र त्यसपछि विश्व लगायत क्षेत्रीय राजनीति, वैश्विक र क्षेत्रीय सामरिकताका सम्भावनाहरू आदिसँग गाँसिएको थियो र छ।

यसरी पृथ्वीनारायण शाह विशिष्ट विश्व-ऐतिहासिक परिस्थिति उपज हुन्। नेपाल आफैं त्यस्तै हो। र, हामी हरेक व्यक्ति पनि त्यस्तै हौं। त्यसको अर्थ पृथ्वीनारायण शाह र हामी परिस्थितिका दास हौं भन्ने लाग्दैन। के चाहिँ अर्थ लाग्छ भने, धारणा, इच्छा, मेहनत आदिले मात्रै कार्यसिद्धि हुँदैन। वैचारिक खाका, उदाहरणार्थ- मार्क्सवाद, लेनिनवाद, माओवाद, वैज्ञानिक समाजवाद आदिले मात्र इच्छित कार्य सम्पन्न हुँदैन। सतहको संरचनागत खाका, उदाहरणार्थ- लोकतान्त्रिक संविधान मात्रले पनि कार्य सम्पन्न हुँदैन। विश्व-ऐतिहासिक र यससँग गाँसिएको क्षेत्रीय-ऐतिहासिकलाई समेट्ने गरी राजनीतिक कार्यक्रम वा विधि निर्माण गर्दै दत्तचित्त भएर लाग्नुपर्छ। यसैगरी उतारचढावसहितको र परिवर्तनशील भविष्यको मूर्त र मिहिन खाका व्यावसायिक श्रेष्ठताका साथ लागू गर्दा र क्रमशः गर्दै र सिक्दै जाँदा मात्र कार्यसिद्धि हुन सक्छ।

अर्थात् कर्तामा इच्छाशक्ति र मेहनत अत्यावश्यक छ। तर संरचनाको ऐतिहासिक बहाव र विन्दुको पहिचानबिना कर्ताले कार्यसिद्धि प्राप्त गर्दैन। बरू वरिपरिको समग्र परिस्थिति आकलन गर्दै र आफूलाई त्यो परिस्थितिअनुकूल तुल्याउँदै सो परिस्थितिबाट के फाइदा लिन सकिन्छ र के हानिबाट बच्न सकिन्छ भनेर निर्क्यौल गर्न सक्ने प्रौढ निर्णयकर्ताको भूमिकामा आफूलाई प्रस्तुत गर्न सकेमा कामयाब हुन सकिन्छ।

इतिहास र संरचनाको प्रवाह ट्याप्प पक्डिन सक्दा मात्र मुलुक अगाडि बढ्छ। बदलिँदो विश्व-संरचना र विश्व-इतिहास (र बदलिँदो क्षेत्रीय संरचना र इतिहास) पक्डिने भनेको आफ्नै मुलुकको इतिहास र संरचना पक्डिने भनेको पनि हो। विश्व, क्षेत्र र मुलुकको इतिहास र संरचना छुट्टाछुट्टै छैनन्; ती बेग्लै ग्रह र ब्रह्माण्डमा अवस्थित छैनन्। ती वास्तवमा एकाकार छन्। हो, ती तीनबीच प्रस्टता, असमानता, भेद र फुट छ। तर फेरि पनि यो विन्दुमा विश्व एकीकृत पनि छ। त्यसैले असमानता, भेद र फुट समेतको आकलन आवश्यक छ।

कुनै पनि व्यक्तिका विशिष्ट गुण हुन्छन्। पृथ्वीनारायण शाहका पनि आफ्नै विशिष्ट गुणहरू थिए। उनी हिम्मतिला थिए। महत्वाकांक्षी थिए। इतिहास र समाजको विशिष्ट अवस्थामा हुर्किँदा, रहँदा, बस्दा यी चरित्रहरूको मलजल हुन्छ र यिनले फस्टाउने मौका पाउँछन्। मानव चरित्रको निर्माण 'जीन' वा 'डिएनए' ले होइन, इतिहास र समाजको प्रवाह र प्रकृतिले गर्ने हो।

पृथ्वीनारायण शाहका सपना थिए र राज्य विस्तार गर्नतिर लागे। तर यही कालखण्डमा संसारका अरू देशहरूमा पनि महान र चर्चित कर्ताहरूको जन्म भएको छ। र, धेरै मुलुकमा पृथकीकरण र एकीकरणको काम अघि बढेको छ। नेपालमा पृथ्वीनारायण शाहको उदयलाई पनि त्यही बृहत् प्रक्रियाको अंशका रूपमा लिनुपर्छ। कतिपय ठाउँहरूमा एकीकरण भएन, बरू एकपछि अर्कोचोटि टुक्रिँदै जाने स्थिति बन्यो। त्यो पनि विश्वव्यापी प्रक्रियाको पाटो रह्यो।

सन् १९५० आसपासमा फेरि एसियामा केही मुख्य घटना भए जसले हामीलाई पनि प्रभावित गर्‍यो। बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भयो। त्यसले विश्व-औपनिवेशिक व्यवस्था अन्त्यको सुरूआत गरायो। अर्कोतिर चीनमा कम्युनिस्ट शासन उदय भयो। चीनले तिब्बत आफ्नो हो भन्न थाल्यो र भारतले केही समयपछि सिक्किम आफूमा विलय गरायो। ती घटनाहरूले पनि नेपालको राजनीतिमा ठूलो प्रभाव पारे।

भारत स्वतन्त्र भएको केही समयमा नेपालमा पनि राणा शासनको अन्त्य भयो। राणा शासनको अन्त्य हुनुअघि नेपालले भारतसँग, खास गरेर जनगणतन्त्र चीनको विरूद्ध शान्ति तथा मैत्री सन्धि गरेको थियो। सम्झिनलायक छ कि, भारतले सन् १९४९ र १९५० को दुई वर्षभित्र नेपालसँग मात्र नभएर भुटान र सिक्किमसँग पनि सन्धि गर्‍यो। त्यो सन्धि लगायत अन्य सन्धिसँग वास्तवमा नगाँसिएको तर गाँसिएको भनिएको भिसाबिनाको सीमा वारपार गर्न सक्ने नियमले नेपाललाई थोपरेको बन्देजले यो मुलुकलाई भार परेको पर्‍यै छ।

चीनमा कम्युनिस्टहरू हाबी भएपछि यसले दक्षिण पूर्वी र दक्षिण एसिया सबै लपेट्छ भन्ने डर भारतलाई र अझ धेरै अमेरिकालाई थियो। तिब्बतलाई चीनमा मिसाएपछि राणाहरू पनि झस्किए सायद। चीनमा कम्युनिस्ट शासन विस्तार हुन नदिन र त्यो जोखिमबाट जोगिन जे-जे गर्नुपर्थ्यो, भारतले अमेरिकासँग मिलेमतोमा गर्‍यो। त्यही प्रक्रियाको उपज हो सन् १९५० को सन्धि। भारतले हामीसँग गरेको सन्धिले हाम्रो सीमादेखि नक्सासम्म प्रभाव पर्‍यो। विदेश नीति, व्यापार सुरक्षा, नीति, गोरखा सेना भर्ती, रोटी र बेटीको (रोजगार र बिहे) सम्बन्ध, राजनीतिक, जनसांख्यिक प्रकृति लगायत हाम्रो समाजका सबैजसो आयामलाई नयाँ आकार दियो। त्यही आकार र संरचनाको अस्तित्व हामीकहाँ अहिलेसम्म पनि छ।

उता चीनलाई दुःख दिइरहने अमेरिकाको नीति सन् १९७४ को मुस्ताङमा खम्पा काण्डसँगै झन् प्रस्ट भयो। हाल चलिरहेको अमेरिका र चीनबीचको विशाल र बहुआयामिक द्वन्द्वमा नेपाल जानीनजानी हुलिन सक्ने सम्भावना अब धेरै बढेको छ। यो द्वन्द्वको दौरान भारतले च्याँखे थापिरहने र नेपालले स्वाधीन निर्णय गर्न झन् झन् गाह्रो पर्दै जाने पनि यथेष्ट सम्भावना छ।

विश्व रंगमञ्च र हाम्रै छिमेकमा भएका घटना र तिनले हामीमाथि लामो समयसम्म पारेको यी प्रभावहरू हेर्ने हो भने थाहा हुन्छ, कुनै पनि देश किन बन्यो वा बनेन भन्ने प्रश्नको उत्तर देशभित्रै स्थानिक र तात्कालिक कारणहरू मात्र खोजेर भेटिँदैन। नेपालको अविकासको मूल कारण नेपालभित्र मात्र अटाएको छैन।

'राजा र राणाले शासन गरेको मुलुक', 'पहाडी मुलुक', 'सञ्चार यातायात कठिन भएको मुलुक', 'भूपरिवेष्ठित मुलुक', 'कृषिप्रधान मुलुक', 'धेरै जनसंख्या भएको मुलुक', 'जातपात मान्ने मुलुक', 'धेरै जातिहरू भएको मुलुक', 'हिन्दु मुलुक', 'साक्षरता कम भएको मुलुक', 'भाग्यवादी मुलुक' आदि व्याख्याहरू कि त पूरै गलत छन्, कि तिनले नेपालको अल्पविकासको नाडी छाम्न सक्दैनन्। हालको विश्व-व्यवस्थाभित्र अरू मुलुकसँग सिकेर, उनीहरूको प्रतियोगी बनेर, सल्लाह र वार्ता गरेर, तेस्रो मुलुकको आड लिएर र आवश्यक पर्दा उनीहरूसँग लडेर र नागरिकहरूलाई यही गुण र व्यवहारहरू दिगो तवरले ग्रहण गर्न सक्ने तुल्याएर देश बनाउन सकिन्छ। दिगो बन्दोबस्तीभित्र विधिमा आधारित दह्रो शासन, लोकतन्त्र, समानता लगायत उत्पादन, उत्पादकत्व, सही वितरणको परिपाटी आदि पर्छन् नै। र, नेपालको भविष्यको विकासको सन्दर्भ पनि देशभित्र मात्र खोजेर भेटिने छैन। कुनै पनि देश आफ्नो एक्लो बलबुतामा मात्र उक्सिने वा खस्किने हुँदैन।

'ओरिजिन अफ डिक्टेटरसिप एन्ड डेमोक्रेसी' भन्ने किताबमा ब्यारिङटन मूरले लेखेका छन्, 'सीमान्त मुलुकहरूको प्रजातन्त्र आउने र जाने कुरा भनेको त्यही देशभित्रको भन्दा बाहिरको, विशेषगरी छेउछाउको मुलुकको कारणले हुन्छ।'

प्रजातन्त्र र राजनीति मात्र त्यस्तो होइन, अर्थतन्त्र पनि त्यस्तै हो।

अहिलेको परिदृश्यमा हेर्दा चीन र भारत अगाडि बढे भने नेपाल पनि अगाडि बढ्ने बलियो आधार खडा हुन्छ भन्न सकिन्छ। यसबीच हाम्रा इतिहास र संरचनाजन्य गुणहरू विकास र विस्तार गर्नुपर्छ। अरूको विकास हुँदा हाम्रो स्वतः विकास भइहाल्छ नि भनेर केही नगरी हात बाँधेर बस्यौं भने आशा गरेको नतिजा निस्किँदैन। यो अर्को सत्य त हुँदै हो।

यहाँ यो दोहोर्‍याउनु उपयुक्त होला कि हाल चालु विश्व-ऐतिहासिक युगमा 'आन्तरिक' र 'बाह्य' छुट्टाछुट्टै छैनन्। आन्तरिकको निर्माणमा बाह्य वा अन्तर्राष्ट्रिय वा क्षेत्रीय वा वैश्विकको व्यापक र गहिरो प्रभाव रहन्छ। त्यसै गरी मुलुकको राजनीतिक, सैनिक, आर्थिक, सांस्कृतिक संरचना र नीतिले बाह्यमा प्रभाव जमाउँछ। कति प्रभाव जमाउँछ, त्यो चाहिँ तत् क्षेत्रहरूमा मुलुक कति शक्तिशाली छ, सोअनुसार हुन्छ।

अहिलेको नेपालमा खास गरेर चीन र भारतको पुनरोदयबाट हामीले कसरी लाभ लिने भन्ने फराकिलो दृष्टिकोणबाट हेर्न र बुझ्न जरूरी छ। समृद्धि र सम्पन्नताका लागि कसरी अगाडि बढ्ने, यसमा हामी कहाँ, कसरी जोडिने, कसरी हाम्रो भाग सुनिश्चित गर्ने भन्ने महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्नुपर्ने हुन्छ। हालका लागि हाम्रो सबैभन्दा ठूलो चुनौती यही हो। यसलाई नै अर्जुनदृष्टि दिएर हामीले हाम्रा अरू सबै कामहरू पुनर्गठित गर्नुपर्छ।

हाम्रोमा विदेशसँगको सम्बन्ध र विदेश नीतिका बारेमा उत्ताउलोपन छ। विदेशीलाई गाली गरेर राष्ट्रवादी बन्ने चलन छ। विदेश नीतिका बारेमा, छिमेकी देशहरूसँगको सम्बन्धका बारेमा सन्तुलित धारणा र व्यवहार बनाउन नसक्ने हो भने फेरि पनि हामीले मार खान्छौं। 

यो सबैको अर्थ सबै मुलुकले सधैंजसो नेपालको हित गर्छन् भन्ने लाग्दैन। खास गरेर छिमेकी मुलुकहरूबाट नेपाललाई मध्यकालीन र दीर्घकालीन अहितहरूबारे गम्भीर भएर पाइला चाल्नुपर्छ। छिमेकी जति सम्पन्न र शक्तिशाली भयो, उसले हामीबाट अझ बढी खोज्छ। दिन सक्ने दिऔं, नसक्ने नदिऔं। दिँदा के लिनुपर्ने हो, त्यो चाहिँ नछोडौं।

देश कति सप्रियो वा बिग्रियो भन्ने आन्तरिक र विशिष्ट कारणले मात्र नभएर बाह्य र दीर्घकालीन कारणहरूले पनि निर्धारण गर्छन्। त्यसैले हामीले एसिया र विशेष गरी चीन र भारतमा भइरहेका परिवर्तनहरूलाई राम्ररी पर्गेल्नुपर्छ। दुवै मुलुकको आर्थिक पुनरोदयबाट लाभ लिनुपर्छ।

यी बृहत् र दीर्घकालीन परिवर्तनहरूलाई नबुझी, तिनको प्रभावलाई नठम्याई कुनै एक व्यक्ति वा दलले देश बनाउन सक्छ भनेर विश्वास गर्नु हुँदैन। पदलाभ, शक्तिलाभ अनि व्यक्तिगत लाभ हाबी भएको हालको किसिमको व्यवस्था र नेतृत्व व्यवस्थाले कोल्टे नफेरी मुलुक हितको बाटोमा हिँड्ला भनेर विश्वास गर्ने पनि ठाउँ छैन।

देश एकदिन कोही एक जना 'हिरो' जन्मिएर सुधार्न सक्ने वा अर्को एक जना 'भिलेन' ले ध्वस्त पार्न सक्ने इन्टिटी (एकाइ) होइन। देशको संरचनामै परिवर्तन ल्याउने गरी राष्ट्रिय लगायत क्षेत्रीय विशिष्टता अटाउने विश्व-ऐतिहासिक प्रवाह पक्डिने मिहिन खाकामा हामीले काम नगरून्जेल कुनै एक दल वा व्यक्तिको बलबुतामा मुलुकमा ठूलो परिवर्तन हुँदैन भन्ने हामीले बुझ्नुपर्छ।
https://www.setopati.com/cover-story/setopati-debate/306562

No comments:

Post a Comment