Sunday, August 10

याङ्गो दाजु

याङ्गो दाजु
-----------

सोध्दै गयो वा बुझ्न खो्ज्यो भने जतै कथा छन् । जतै संघर्ष छन् । कतै लोभलाग्दा । कतै अचम्मलाग्दा । कतै विरक्तलाग्दा । कतै चाखलाग्दा ।

यसपाली उतारचढाव र संघर्षको कथा सुनेँ/भेटेँ ।

अँचेल पठाओ र इन्ड्राईभ भन्दा याङ्गो चल्तिमा वा प्राथमिकतामा छ ।

कारण :  यात्रुलाई जुन सेवा प्रदायकले कम र प्रतिस्पर्धी मुल्यमा सेवा प्राप्त हुन्छ स्वाभाविक रुपमा त्यही छनौट बन्छ ।
अर्को सेवा लिईरहेकालाई आफ्नो सेवा प्रयोग गर्न सक्ने बनाउनु वा सेवाग्राहीलाई आकर्षित गर्नु, सन्तुष्ट बनाईरहनु र बदिलएको परिवेश र आवश्यकतानुसार सेवा परिमार्जन वा अद्यावधिक गरिरहनु व्यवसायको धर्म हो ।

यस अर्थमा यो ग्राहक वा सेवाग्राही एवं सेवा प्रदायक वा व्यवसायी दुवैको हितमा छ ।

निकै बेरको कुराई/पर्खाईपछी इन्ड्राभ रु १०३५ मा एसेप्ट भयो । फोन सम्पर्क पनि भयो । पिक अपका लागि त्यति इच्छुक भाव थिएन । आईपुग्न निक्कै समय लिएपछी गरेको २-३ मेसेजको रेस्पोन्स पनि भएन ।

मैले सँगसँगै याङ्गो ट्राई गरेँ । भेटियो रु ६३३ मा । उसै पनि आईपुग्न समय लगाईरहेको झोँकमा यता एसेप्ट र उता क्यान्सिल भो । जहाँ शुरुको लोकेसन देखाईरहेको थियो त्यसबाट मुभमेन्ट नदेखेपछी उसैपनी विकल्प हेर्नै पर्‍यो । सेवा समयमा दिन ल्याङ्ग ल्याङ्ग गर्नेले पाठ पनि सिक्नै पर्छ भन्ने पनि लागो ।

ट्याक्सी नं २३६७ आइपुग्यो । २ मिनेट जति यात्रा भैसकेपछी याङ्गोको प्रतिस्पर्धी मुल्यलाई मोबाईलको स्क्रिनमा श्रीमती/बुढीलाई देखाउँदै थिएँ । हात फर्काएर आफुतिर ल्याउँदै गर्दा राईड क्यान्सिल भयो । ड्राईभर दाजुले राईड स्टार्ट गरेका थिएनन् वा याङ्गो एपमा क्यान्सिल पूर्व कन्फर्मेसन मेसेज नआउदै क्यान्सिल भो । म पुरै कन्फ्यूज र पजल भएँ ।

राईड क्यान्सिल भएपछी लगभग आधामा पाईएको अफरमा पुरै ट्विस्ट आयो ।

क्यान्सिल भएपछी आफ्नो कमिसन नआउने र सो को क्षतिपुर्ति गुरुजीले खोजेँ । चढिसकेपछी फेरी अर्को खोज्ने झन्झटमा म लाग्न चाहिँन । पुन रिक्वेष्ट गर्दा उनकोमा आफ्नो रिक्वेष्ट देखाएन । डेटाको समस्या वा एपको समस्या भगवान जानुन ।

खैर मोबाईल स्क्रिन टच र क्यान्सिल हुँदा रु ८०० मा नेगोशिएसन भो । थप रु १६७ ठाउँको ठाउँ हिडो । त्यति हुँदापनी अझै पनि रु २३५ बचत भो ।

सरल देखिएका ड्राईभरसँग त्यसपछी भलाकुसारी शुरुँ गरेँ । उसो त म सबैसँग सधैजसो धेरै कुराकानीमा उत्रिन्न तर आज मुड चलो र शुरु गरेँ ।

घर कता हो त दाजु ? मैले सोधेँ ।

म यतै काठमाडौँको उनले भने ।

बोलीको लवज र रुप रंग बनावटबाट अनुमान गर्दै मैले मातातिर्थ ढाक्सी तिर हो घर? भनेर सोँधे ।

एक किसिमको छक्क मिसाएर उनले कसरी मिलाउनु भो ! भने । बुझ्दै र कुरा गर्दै जाँदा थानकोट रहेछ ।

१३ वर्षदेखी निरन्तर ट्याक्सी चालक । २ सन्तानका बाबु उनले मेरो छोरीलाई इंगित गर्दै सन्तुष्ट भावमा भने हजुरको नानीभन्दा मेरो नानी ठुलो छ ।

७ हजार छोरी र ६ हजार छोरोको फीस लाग्छ । खाजा खर्च यताउती गर्दा खर्चले नेटो काट्छ । धान्नै गाह्रो । उनि फुसफुसाए ।

मलेसियामा ग्लोभ्स प्याकिङ्गको काम । ७५ हजार लाग्ने खर्चको साटो आफ्नै आफन्तको बढी भर र विश्वासमा रु १ लाख ८० हजार बुझाएर गएको काममा तलव आउँदाको दिनमा फ्याक्ट्रीको साहु वा सुपरभाईजरको मिलेमतोमा लुटिएको पिडा पनि सुनाए ।

ठुलो घरमा बस्थ्यौ तर पुरै घर घेरेर लुट्थे । प्रतिवाद गर्न सकिएन । जे आरोप लगाएर जेल हालिदिए भने पनि उतै सडिन्थ्यो ।

भैगो भएन भन्ने लागो र फर्केँ ।

यो दोश्रो ट्याक्सी । अहिले त कालो प्लेटकै १० लाख जति पर्छ । ऋण हुँदा अलि ठिक होला भनेर ट्याक्सीको लोन लिएको छु । नत्र त आफ्नै त हो भनेर अल्छी लाग्दो रहेछ । उनले सरल तर गहिरो कुरा गरे ।

उ बेला मेरो बाउ पनि ट्याक्सी ड्राईभर । त्यै कमाउने खाने भन्दा पनि बडो सौखिन । रु १५० पर्ने बियर र रु २१ पर्ने याक चुरोट खानु पर्ने । दुई बिवाह गरेका । म कान्छितर्फको । त्यही सौख र सुरमा १८ रोपनी जग्गा सकिदिएँ बाउले । उ बेला डायरी बोक्ने । के के लेख्ने । अँग्रेजीमा तगडा । तामिल, अंग्रेजी, हिन्दी…. नेवारी सबै बोल्न सक्ने । रक्सी धेर खाएँ । त्यसैले होला पेरालाईसिस भो । गएँ बुढा  ।

हाम्रो बाउ त खत्रा नी उनको मुखमा गजबको चमक र शान थियो ।

श्रीसम्पती सवै बेच्दिएँ भनेतापनी बाउको पराक्रममा छोरा रमाएको देख्दा म दँग परेँ ।

हाम्रो कुराकानी सुनिरहेकी छोरीलाई हाम्रो गफगाफ बोरिङ्ग लागेछ । उनले भनिन बोर लागो । गित बज्दैन ?

बुढीले उ ड्राईभर अंकलले गित गाउनुहुन्छ सुन भनेर झोस्दियो।

गित त हैन । गित गाउँने भए म मादल बजाउँछु । उनले जिँस्कदै भने ।

मुखैले मादलुको ताल निकालेर रमाईलो गर्ने भाईरल दाजुको चर्चा गरेपछी अन्तत उनले गित गाए ।

हजुरबाउको त्यो बिघ्न सम्पत्तीबाउले बेच्दे…… नातीको यो गती

मानविय स्वभाव शायद अझ हामी नेपालीको बानी के हो भनेँ आफ्नो कथा बेथालाई सुनाउँन पाउँदा छुट्टै आनन्द लिन्छौ । उनले आफ्नो कथा सुनाए । मैले आफ्नो सुनाएँ वा शब्दमा उतारेँ ।

प्रसँग अस्तिको थ्यो । शब्दमा उतार्छु लागिरको थियो । हिजो भ्याईन ।

आज प्रयास गरेँ । कस्तो लागो ? मिल्ने भए भन्नुस है ।

-----------------------

बुढानिलकण्ठ टु शितलहाईट । २०८२।४।२३ काठमाडौ भ्याली….. तामाङ्ग दाजु अर्थात Taxi No 2367 सँग यात्रा अनुभव