Tuesday, May 9

अहिले नै हो कर प्रणाली सुधार गर्ने उपयुक्त समय-रूप खड्का

नेपालले सन् १९९० दशकमा व्यापक कर सुधार कार्यक्रम लागू गरेपछि यहाँ दक्षिण एसियाकै राम्रो कर प्रणाली स्थापित भएको थियो। यसले विगत दुई दशकमा वार्षिक औसत १८ प्रतिशत हाराहारी राजस्व वृद्धि हुनुका साथै कर राजस्व र कुल गार्हस्थ्य उत्पादनको अनुपात पनि राम्रो रह्यो।

तर केही वर्षयता हाम्रो कर नीतिमा विचलन आएको छ। राजस्व प्रशासनका महत्वपूर्ण पदमा बारम्बार हुने परिवर्तनको असर बिस्तारै राजस्व संकलनमा देखिन थालेको छ। कर व्यवस्था तथा कर प्रशासनमा उल्लेखनीय सुधार गरिएन भने राजस्व वृद्धिको विगतको प्रवृत्तिले निरन्तरता पाउने सम्भावना क्षीण भएको छ। त्यसैले आगामी दिनमा राजस्व बढाउन कर व्यवस्था तथा कर प्रशासनको सुधार आवश्यक छ।

मुलुकको वर्तमान वित्त अवस्था खराब स्थितिमा छ। नेपाल सरकारको कुल आयको करिब दुईतिहाइ मात्र राजस्व प्राप्त हुने गरेको छ। यो चालू खर्च पूर्ति गर्न पनि पर्याप्त छैन। चालू खर्चका लागि समेत ऋण लिनुपर्ने अवस्था स्वस्थ वित्त व्यवस्थाको परिचायक होइन। यस्तो प्रवृति बढ्दै गए मुलुकले ठूलो आर्थिक संकट सामना गर्नुपर्ने स्थिति आउन सक्छ।

यसमा सुधार ल्याउन एकातिर साधारण खर्चमा हदैसम्म मितव्ययी हुनु जरूरी छ भने अर्कातर्फ व्यापक कर सुधार लागू गरेर राजस्व परिचालन बढाउन आवश्यक छ। मुलुकको आर्थिक समृद्धि बढाउने हिसाबले कर सुधार गर्नु आजको आवश्यकता हो।

त्यसो भए कर सुधार गर्न उपयुक्त समय कहिले हो त?

कर सुधार गर्न राजनीतिक अनुकूलता र प्रतिबद्धतालाई महत्वपूर्ण तत्वका रूपमा लिइन्छ। मुलुकमा केही महिनाअघि मात्र संसदीय चुनाव भएको छ र अर्को चुनाव हुन अझै पाँच वर्ष बाँकी छ। सामान्यतया चुनाव नजिकिँदै गएपछि उल्लेख्य कर सुधार कार्यक्रम लागू गर्न गाह्रो हुन्छ। त्यसैले राजनीतिक हिसाबले यो वर्ष र आउँदा दुई वर्ष सस्तो राजनीतिक लोकप्रियताभन्दा मुलुकको दीर्घकालीन हित विचार गरेर उल्लेख्य कर सुधार गर्न उपयुक्त समय हुनेछ।

मुलुकमा अहिले विभिन्न राजनीतिक दल सम्मिलित गठबन्धनको सरकार छ र नयाँ उल्लेख्य कार्य गर्न सरकार राजनीतिक हिसाबले सहज अवस्थामा छ। यसै पनि कर लगाउने सन्दर्भमा नेपालमा राजनीतिक दलहरूबीच कहिले पनि ठूलो विमति भएको पाइँदैन। मूल्य अभिवृद्धि कर लगाउने तयारी गर्दा र यसको कार्यान्वयन गर्दा नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्र्रिय प्रजातन्त्र पार्टीले पटकपटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका थिए। मूल्य अभिवृद्धि करप्रति सबैले प्रतिबद्धता देखाएका थिए। यसैगरी अन्य राजनीतिक दलहरूबाट पनि विरोध भएको थिएन। यही स्थिति आयकर ऐन २०५८ लागू गर्दा देखा परेको थियो।

कर सुधार गर्न आवश्यक अर्को महत्वपूर्ण तत्व प्राविधिक हिसाबले उच्चकोटीको कर सुधारसम्बन्धी प्याकेजको तर्जुमा हो। यसका लागि कर प्रणालीको सूक्ष्म विश्लेषण गरेर मुलुकको आर्थिक विकास गतिलाई तीव्रता दिन लगानी तथा व्यापरमैत्री कर प्रणाली स्थापना गरी प्रभावकारी रूपमा लागू गर्ने राष्ट्र्रिय सहमति कायम गरिनुपर्छ।
छिमेकी तथा प्रतिस्पर्धी मुलुकको तुलनामा बढी कर नलगाउने, करका दरमा हचुवाका आधारमा बराबर परिवर्तन नगर्ने, मूल्य अभिवृद्धि करको वर्तमान दरलाई कम्तिमा आगामी पाँच वर्ष परिवर्तन नगर्ने, करसम्बन्धी नयाँ कानुनी व्यवस्था तथा प्रक्रिया लागू गर्दा निजी क्षेत्र लगायत सबै सरोकारवालासँग अनिवार्य रूपमा छलफल गर्नेजस्ता विषयमा राष्ट्र्रिय सहमति कायम गरिनुपर्छ।

तेस्रो महत्वपूर्ण पक्ष कर सुधारसम्बन्धी प्रस्तावलाई सही तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने प्रशासनको विकास हो। नेपालको राजस्व प्रशासनलाई बढी व्यावसायिक बनाउन राजस्व सेवा वा भारत, पाकिस्तान तथा बंगलादेशमा झै राजस्व बोर्डको व्यवस्था गरिनुपर्छ र यस प्रशासनमा कार्यरत कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्छ।

कर सुधार प्याकेज तर्जुमासम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन

कर प्रणालीलाई राजस्व उत्पादक, सरल, सहज, सक्षम, समान र पारदर्शी बनाउन विभिन्न मुलुकले विभिन्न समयमा कर सुधार गरेको पाइन्छ। यस्तो सुधार मुलुकको वित्तीय स्वास्थ्य स्वस्थ र अस्वस्थ दुवै भएको अवस्थामा गरिन्छ। यस्तो सुधार अल्पकालमा बढी राजस्व परिचालन गर्नेभन्दा दीर्घकालीन रूपमा राजस्वको दीगो स्रोत स्थापित गर्न लागू गरिएको हुन्छ।

उदाहरणका लागि, सिंगापुरले सन् १९९० दशकको सुरूमा वस्तु तथा सेवा करका नामले मूल्य अभिवृद्धि कर लगाउने सन्दर्भमा व्यापक कर सुधार गरेको थियो।

यसको कारण के भने, सन् १९८० दशकको मध्यान्तरपछि अमेरिका लगायतका विभिन्न मुलुकमा व्यक्तिगत तथा संस्थागत आयकर दरको संख्या र तहमा भारी कटौती गरिएको थियो। सिंगापुरले पनि भविष्यमा आफ्नो आयकरमाथिको राजस्व निर्भरता घटाएर वैकल्पिक स्रोत प्रयोग गर्न आवश्यक हुन सक्छ भन्ठान्यो। सिंगापुरका जनतालाई वस्तु तथा सेवामा आधारित कर तिर्ने बानी बसाल्न सन् १९९४ मा ३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गरिएको थियो।

त्यसताका सिंगापुरको वित्तीय अवस्था राम्रो थियो। बजेट बचत थियो। कर सुधारबाट राजस्व वृद्धिको अपेक्षा गरिएको थिएन। त्यसैले यो कर लगाउने सन्दर्भमा सिंगापुरले १९९४ मा व्यक्तिगत आयकर छुटको सीमा बढाएर दर घटाएको थियो। संस्थागत आयकर र सम्पत्ति करको दर घटाइएको थियो भने घर बहालमा पनि केही सहुलियत दिइएको थियो।

यस किसिमको सुधार प्याकेजबाट करको आधार विस्तार गर्ने, कर प्रणाली सरल बनाउने, सिंगापुरको अर्थतन्त्र बढी प्रतिस्पर्धात्मक बनाउने, बचत, लगानी तथा काम गर्न प्रोत्साहित गर्ने र उच्च आर्थिक विकास दर हासिल गर्नेजस्ता उद्देश्य प्राप्त गर्न खोजिएको थियो।

कतिपय मध्यपूर्वी देशले पनि पेट्रोलियम पदार्थबाट प्राप्त हुने राजस्व भविष्यमा सुक्न सक्ने सम्भावना विचार गरेर वित्तीय अवस्था राम्रो भएकै बेला आफ्ना नागरिकलाई करप्रति अभ्यस्त गर्न न्यून दरका कर लगाउन सुरू गरेका छन्। साउदी अरेबिया र युनाइटेड अरब इमरेट्सले सन् २०१८ मा, बहाराइनले २०१९ मा र ओमानले २०२१ मा ५ प्रशित मूल्य अभिवृद्धि कर लगाउन सुरू गरेका थिए। साउदी अरेबिया, युनाइटेड अरब इमरेट्स र बहाराइनले २०१७ मा र ओमान तथा कतारले २०१९ बाट सीमित वस्तुमा अन्तःशुल्क लगाउन सुरू गरेका छन्।

कतिपय मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन हुँदा पनि कर सुधार गरिएको पाइन्छ। केही मुलुकमा सरकार फेरबदल भएपछि कर सुधार भएका छन्। यसैगरी कतिपय मुलुकमा सरोकारवाला वा अन्तर्राष्ट्र्रिय संस्थाहरूको दबाबका कारण पनि कर सुधार गरिएका छन्।

धेरैजसो कर सुधार युद्ध, प्राकृतिक प्रकोप तथा यस्तै अन्य कारणले सार्वजनिक वित्त स्थिति बिग्रेको समयमा लागू गरिएका उदाहरण छन्। जस्तो- बेलायतले आयकरको सुरूआत फ्रान्ससँगको युद्धका लागि आवश्यक वित्तीय स्रोत जुटाउन गरेको थियो भने युरोपका फ्रान्स, जर्मनी लगायतका देशले प्रथम विश्वयुद्ध सञ्चालन निम्ति स्रोत जुटाउन बहुस्तरीय बिक्रीकर लगाउन सुरू गरेका थिए।

बहुस्तरीय बिक्रीकरबाट आर्थिक जगतमा अनेक विकृति तथा विसंगति उब्जिएपछि त्यसको निराकरण गर्न मूल्य अभिवृद्धि कर लगाउन थालिएको थियो। यसैगरी कतिपय मुलुकले अन्य विभिन्न कारणले सिर्जना भएका आर्थिक तथा वित्तीय संकट सुधार्न पनि कर सुधार गरेका थिए।

कर सुधार प्याकेजको तर्जुमा विभिन्न मुलुकमा विभिन्न समयमा विभिन्न किसिमले हुने गरेको छ। सामान्यतया कर सुधारको थालनी सार्वजनिक वित्तको जिम्मेवारी बोक्ने सरकारी निकाय अर्थ मन्त्रालयबाट हुन्छ। यस मन्त्रालयमा कर नीति शाखा व्यवस्था गरिएको हुन्छ। त्यस शाखाले मुलुकको आर्थिक अवस्था, विश्व अर्थतन्त्रको स्थिति, कर व्यवस्थामा देखापरेका विकास तथा समसामयिक कर सुधारसम्बन्धी अन्तर्राष्ट्र्रिय असल अभ्यास विचार गरेर कर सुधार प्याकेज तर्जुमा गर्छ। कर सुधारका लागि कर प्रशासनले पनि अर्थ मन्त्रालयलाई खुराक प्रदान गर्छ।

कर सुधार गर्न कतिपय मुलुकमा आयोग गठन गर्ने प्रचलन छ। यस्तो आयोग स्वदेशी वा विदेशी विज्ञको अध्यक्षतामा गठन गरिन्छ। उदाहरणका लागि, छिमेकी मुलुक भारतमा भारतीय विद्वानहरू सम्मिलित विभिन्न आयोगमा जोन मथाईको अध्यक्षतामा गठित कर सुधार आयोग १९५३-५४, न्यायाधीश वान्चुको अध्यक्षतामा गठित प्रत्यक्ष कर सुधार आयोग १९७१, एलके झाको अध्यक्षतामा गठित अप्रत्यक्ष कर सुधार आयोग १९७८, प्राध्यापक राजा जे चेलियाको अध्यक्षतामा गठित कर सुधार आयोग १९९१ र विजय केलकरको अध्यक्षतामा गठित प्रत्यक्ष कर आयोग २००२ प्रमुख छन्।

यसैगरी श्रीलंकामा एचएस वानासिंगेको अध्यक्षतामा गठित कर सुधार आयोग १९९१ र बंगलादेशमा एम मुस्ताफिजुर रहमानको अध्यक्षतामा गठित राजस्व सुधार आयोग २००३ पनि पर्छन्।

स्वदेशी विशेषज्ञहरू सम्मिलित प्रसिद्ध अन्य आयोगमा क्यानाडाको करसम्बन्धी शाही आयोग (कार्टर आयोग) १९६६, बेलायतको प्राध्यापक जेइ मिडको अध्यक्षतामा गठित आयोग १९७७ र अस्ट्रेलियाको राल्फ कमिटी १९९९ छन्।

विदेशी विद्वानहरूको संयोजकत्वमा गठित आयोगमा जापानको शुप आयोग १९४९, भेनेजुयलाको शुप आयोग १९५९, कोलम्बियाको मस्ग्रेभ आयोग १९६९, बोलिभियाको मस्ग्रेभ आयोग १९७७, कोलम्बियाको इन्टर-गभरमेन्टल फाइनान्स मिसन १९८१ र जमैकाको वाल आयोग १९८८ प्रमुख छन्।

कर सुधारसम्बन्धी अन्य प्रतिवेदनमा प्राध्यापक निकोलस काल्डरले भारतको कर सुधारका लागि १९५३ मा तयार गरेको प्रतिवेदन र संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले १९८४ मा तयार गरेको ब्लुप्रिन्ट फर बेसिक ट्याक्स रिफर्म पर्छन्।

केही मुलुकमा कर प्रस्ताव तयार गर्न स्थायी संयन्त्र व्यवस्था गरिएको पाइन्छ। जापानमा सन् १९५३ मा स्थापना भएको स्थायी कर आयोगले करसम्बन्धी विविध पक्षबारे अध्ययन, अनुसन्धान, विश्लेषण, छलफल गरेर कर प्रस्ताव तयार गर्दै आएको छ। भारतमा न्यासनल इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड पोलिसीले करबारे निरन्तर अध्ययन, अनुसन्धान, विश्लेषण आदि गरेर भारतको विभिन्न तहका सरकारलाई कर सुधारसम्बन्धी सुझाव दिँदै आएको छ। यस आधारमा कतिपय कर प्रस्ताव तयार हुने गर्छन्।

यसैगरी कर सुधार प्रस्ताव तयार गर्न विभिन्न मुलुकमा विदेशी दाताहरूद्वारा सञ्चालित परियोजनाहरूले सहयोग गर्ने गरेको पाइन्छ।

नेपालमा कर सुधार तर्जुमासम्बन्धी अभ्यास

नेपालमा कर सुधार प्याकेज तयार गर्न अनेक अभ्यास भएका छन्। भन्सार महसुल सुधारबारे सुझाव पेस गर्न २००८ सालपछि प्राय: बर्सेनि एउटा केन्द्रीय ट्यारिफ बोर्ड गठन गर्ने प्रचलन थियो। मुलुकमा अन्य करहरू लागू भएपछि यस बोर्डले भन्सारका साथै अन्य करसम्बन्धी सुझाव पनि दिने गरेको थियो।

तर यो बोर्ड दुई-तीन महिनाका लागि मात्र गठन गरिन्थ्यो। त्यसका लागि अर्थ मन्त्रालयको राजस्व महाशाखाले सचिवालयका रूपमा काम गरे पनि राजस्व बोर्डसम्बन्धी पूर्ण समय काम गर्ने कर्मचारी थिएन। विभिन्न निकायका प्रमुख नै बोर्डका पदेन सदस्य थिए। सम्बन्धित क्षेत्रका विज्ञको अभाव रहेकाले बोर्डको काम केही छलफल कार्यक्रममा कर छुट तथा सुविधाबारे छलफल गरेर प्रतिवेदन पेस गर्नेबाहेक राजस्वसम्बन्धी गम्भीर प्रकृतिको अध्ययन तथा अनुसन्धान गर्ने सम्भावना नै थिएन।

यस पृष्ठभूमिमा करका विभिन्न पक्षमा निरन्तर अध्ययन तथा अनुसन्धान, नयाँ कर पद्धतिको खोजी, तिनको कार्यान्वयनका लागि चाहिने पूर्वाधार विकास, विद्यमान कर तथा गैरकर प्रणालीको नियमित अनुगमन गरी आवश्यक सुधार एवं समायोजन, कर प्रणालीबाट अर्थतन्त्रका विविध पक्षमाथि पर्न गएको असर अनुमान, उद्योग वाणिज्य क्षेत्रमा कर प्रणालीबाट पर्न गएका असुविधा निराकरणको उपाय खोजी, राजस्वसम्बन्धी तथ्यांक संकलन तथा प्रकाशन, राजस्व प्रक्षेपण आदिका लागि एक उच्चस्तरीय स्थायी राजस्व बोर्ड गठन गर्नु आवश्यक भएको व्यहोरा २०४७-४८ तिर मैले तत्कालीन अर्थमन्त्रीलाई प्रस्ताव गरेको थिएँ।

त्यसमा उहाँको सहमतिपछि मैले बोर्डको उद्देश्य, कार्य, संगठन आदि समेटेर प्रस्ताव पेस गरेको थिएँ। त्यसै आधारमा अर्थ मन्त्रालयमा टिप्पणी उठाउने क्रममा बोर्डको अवधारणा अवमूल्यन भई अर्थ मन्त्रालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व भएको राजस्व अनुगमन समिति जन्मिएको थियो। उक्त समितिले केही महिना काम गरेर विभिन्न प्रतिवेदन तयार गरे पनि निरन्तरता पाउन सकेन।

त्यसपछि नेपाल सरकारले २०५६ साउनमा एक स्थायी राजस्व परामर्श समिति गठन गरेको थियो। सुरूमा यस समितिको अध्यक्ष अर्थ मन्त्रालयका विशेष सचिव रहने व्यवस्था भएकोमा २०५७ असारदेखि अर्थ मन्त्रालयको राजस्व महशाखाका सहसचिव रहने व्यवस्था गरिएको थियो। समितिमा सरकारी तथा निजी क्षेत्रको प्रतिनिधित्व हुनुका साथै स्वतन्त्र विज्ञहरू पनि सदस्य थिए।

राजस्व परामर्श समिति स्थायी भएकाले यसले करका विभिन्न पक्षबारे निरन्तर छलफल गर्ने अवस्था सिर्जना गरेको भए पनि यसका संरचना तथा कार्य प्रणालीमा थुप्रै सीमितता थिए। यसका अधिकांश सदस्य योग्यता, दक्षता वा अनुभवभन्दा पदेन सदस्य भएकाले तिनीहरूले मुलुकको वृहंगम हितभन्दा आफूले प्रतिनिधित्व गर्ने संस्थाको हितमा बढी ध्यान दिने अवस्था थियो।

यसैगरी समितिको छुट्टै सचिवालय र त्यसमा पूर्ण रूपमा काम गर्ने विज्ञ तथा कर्मचारी र आवश्यक साधनको व्यवस्था गरिएको थिएन। त्यसैले उक्त समितिले पनि कर सुधारसम्बन्धी सैद्धान्तिक मान्यता, अन्तर्राष्ट्र्रिय असल अभ्यास तथा मुलुकको आवश्यकताका आधारमा कर सुधारमा निरन्तर अध्ययन, अनुसन्धान तथा छलफल गरेर उपयुक्त प्याकेज ल्याउन त्यति सफल भएन।

यस सन्दर्भमा नेपाल सरकारले २०७७ मा स्थायी नेपाल राजस्व परामर्श समिति गठन गरेको थियो। यो समितिले पनि विगतको राजस्वसम्बन्धी परम्परागत किसिमको प्रतिवेदन पेस गर्नेबाहेक करसम्बन्धी वृहंगम अध्ययन, अनुसन्धान तथा विश्लेषण गरेर कर प्रणालीमा आमूल सुधार गर्ने किसिमको प्रतिवेदन दिन सकेन। सरकाले समितिलाई प्रभावकारी बनाउने उपाय अवलम्बन गर्नुको साटो २०७९ असोजमा नेपाल राजस्व परामर्श समिति नै खारेज गर्‍यो।

कर सुधारसम्बन्धी सुझाव दिन विभिन्न समयमा आयोग, समिति तथा कार्यदलहरू पनि गठन गरिएका थिए। त्यसमध्ये २०३६ सालमा गठित आर्थिक आयोग, २०४७ मा गठित राजस्व समिति, २०४८ मा गठित आर्थिक नीतिको सुधार कार्यदल, २०५१ मा गठित कर प्रणाली पुनरावलोकन कार्यदल र २०७१ मा मेरै अध्यक्षतामा गठित उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग पर्छन्।

आगामी दिनमा गर्नुपर्ने कर सुधारका सन्दर्भमा अर्थ मन्त्रालयले करका विविध पक्षबारे विस्तृत अध्ययन गरेर विभिन्न विकल्प तयार गर्नुपर्छ। प्रस्ताव तयार गर्दा करका दर बढाएर नभई आधार बढाएर थप राजस्व परिचालन गर्ने, नेपालको अर्थतन्त्र बढी प्रतिस्पर्धात्मक बनाउने, बचत, लगानी तथा काम गर्न प्रोत्साहित गर्ने, उच्च आर्थिक विकास दर हासिल गर्ने, कर कानुनमा भएका छिद्र टाल्ने र कर प्रणालीलाई सरल, सहज तथा पारदर्शी बनाई करबाट सिर्जना हुने आर्थिक, अनुपालन तथा संकलन लागत घटाउनमा जोड दिनुपर्छ।

कर सुधार प्याकेजको कार्यान्वयन

कर सुधार प्रस्तावका आधारमा कानुन तय भएपछि नियमावली, निर्देशिका, ब्रोसर्स लगायतका करदाता शिक्षासम्बन्धी सामग्री तयार गरेर कर प्रशासकलाई प्रशिक्षण तथा करदातालाई करदाता शिक्षा दिएर मात्र नयाँ व्यवस्था लागू गरिनुपर्छ।

नयाँ व्यवस्थासम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू गर्नुको सट्टा विभिन्न तयारी सम्पन्न गरिसकेपछि मात्र लागू गरिनुपर्छ। यस्तो परम्परा मूल्य अभिवृद्धि कर ऐनबाट सुरू गरिएको थियो र अन्य ऐन-नियमका हकमा पनि यसलाई लागू गर्दै जानुपर्छ।

ऐन संसदबाट पास भए पनि सरकारले तोकेको मितिदेखि लागू गर्ने प्रचलन विश्वका विभिन्न देशमा कायम छ। न्युजिल्यान्डमा त ऐन पारित गरेको निकैपछि मात्र लागू गरिन्छ। त्यस मुलुकमा करको दरमा हुने परिवर्तन पनि कम्तिमा परिवर्तन भएको मितिले दुई महिनापछि मात्र प्रभावकारी हुने व्यवस्था छ। यो सुशासनको एउटा राम्रो उदाहरण हो।

हामीकहाँ पनि हाल सुशासनको चर्चा चल्ने गरेको छ। त्यसका लागि सरकारले उपयुक्त तौरतरिका अपनाउनुपर्छ। नयाँ ऐन लागू गर्दा वा विद्यमान ऐनमा संशोधन हुँदा त्यसबारे सम्बन्धित क्षेत्रलाई जानकारी गराउने विभिन्न उपाय अपनाउनुपर्छ। हाम्रोजस्तो सूचनाको अभाव र करसम्बन्धी चेतना कम भएको मुलुकमा त यसको झन् आवश्यकता पर्छ। नयाँ कानुन राजपत्रमा प्रकाशित भएपछि नागरिकले थाहा पाउनैपर्छ भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ। नेपालमा राजपत्र प्राप्त गर्ने त के, यसबारे थाहासम्म पाउनेको संख्या नगन्य होला। फेरि राजपत्र वितरण व्यवस्थाका सीमितता आफ्नै ठाउँमा छन्।

त्यसैले कर सहभागिता बढाउन नयाँ ऐन वा विद्यमान ऐनमा गरिने संशोधन वा अन्य व्यवस्था राजपत्रमा प्रकाशित गरेर मात्र पुग्दैन, त्यसबारे व्यापक प्रचारप्रसार गरिनुपर्छ। यो कुरा हाम्रो अर्थतन्त्रको परम्परागत र आधुनिक दुवै क्षेत्रका लागि उत्तिकै महत्वपूर्ण छ। परम्परागत क्षेत्रका व्यक्तिले नयाँ व्यवस्थापनबारे तुरून्तै थाहा नपाउने हुँदा तिनलाई जानकारी गराउने विभिन्न उपाय अवलम्बन गर्नुपर्छ र त्यसका लागि समय लाग्छ।

परम्परागत क्षेत्रको तुलनमा आधुनिक क्षेत्रका व्यक्तिले नयाँ व्यवस्थाबारे छिटो थाहा पाउन सक्छन्। तर तिनले आफ्नो कारोबारको अभिलेख कम्प्युटर प्रणालीअन्तर्गत राखेको हुन सक्छ। आधुनिक क्षेत्रका कतिपय करदाताले कम्प्युटरअन्तर्गत बिल काट्ने, लेखा राख्ने, अग्रिम कर कट्टी आदि गरेको हुन सक्छ। त्यस्तो अवस्थामा कर व्यवस्थामा गरिएका परिवर्तन लागू गर्न पनि कम्प्युटर प्रोग्राममा परिवर्तन गर्नुपर्ने हुन सक्छ र त्यसका लागि पनि समय लाग्छ।

त्यसैले कर व्यवस्थामा गरिएका परिवर्तन तोकिएको मितिदेखि लागू हुने व्यवस्था भए सम्बन्धित व्यक्तिलाई जानकारी हुने र कार्यान्वयन निम्ति आवश्यक तयारी गर्न सम्भव हुन्छ। हाल करका दरको तह तथा संख्या कटौती भएको र अन्तर्राष्ट्रिय जगतमा आगामी चार-पाँच वर्षका लागि करका दर पहिले नै तोक्ने गरेको प्रचलन बढ्दै गएको सन्दर्भमा हामीकहाँ पनि त्यसैअनुरूपको व्यवस्था लागू गर्दै जानुपर्छ।

करसम्बन्धी नयाँ व्यवस्था विगतको कुनै समयदेखि (ब्याक डेट) लागू गर्ने कुरा कुशासनको नमूना भएकाले यस किसिमको व्यवस्था कुनै पनि करको सन्दर्भमा लागू गरिनु हुँदैन। सुशासन स्थापना गर्ने सन्दर्भमा सरकारी क्षेत्रका गतिविधिले सरकार र निजी क्षेत्रको कार्यबोझ बढाउने होइन, घटाउन सक्नुपर्छ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९, १५:५३:००
https://www.setopati.com/opinion/298051

संस्थागत आयकरमा सुधार किन?-रूप खड्का

काठमाडौं, वैशाख १८
आर्थिक ऐन २०१६ द्वारा सुरू गरिएको संस्थागत आयकर हाल आयकर ऐन २०५८ अन्तर्गत सञ्चालन भइरहेको छ। यो कर २५ प्रतिशतका दरले लगाइएको भए पनि बैंक तथा वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, सूर्तिजन्य वस्तु, मादक पदार्थ लगायतका केही व्यवसायका लागि करको दर ३० प्रतिशत तोकिएको छ। अर्कातर्फ सहकारी संस्थाको आयमा ठाउँअनुसार ५, ७ वा १० प्रतिशतका दरले लाग्ने समानान्तर कर प्रणाली कायम गरिएको छ।

यसैगरी उद्योग व्यवसायको प्रकृति, स्थान, रोजगारीको स्थिति आदिका आधारमा संस्थागत आयकर पूर्ण वा आंशिक रूपमा छुट दिएकाले यो कर विभिन्न क्षेत्रमा विभिन्न प्रकारका प्रभावकारी दरले लागू भइरहेको छ। यसले करलाई आर्थिक दृष्टिकोणले अक्षम र प्रशासनिक हिसाबले जटिल बनाएको छ।

यस करलाई सरल, सक्षम, पारदर्शी तथा समृद्धि उन्मुख बनाउन यसमा दिइएका छुटको समीक्षा गरेर करको आधार विस्तार गर्नुपर्छ र करलाई दीर्घकालमा सबै क्षेत्रको मुनाफामा २० प्रतिशत जतिको समदरले लगाउनेतर्फ विचार गर्नुपर्छ।

संस्थागत आयकर किन?

संस्थागत आयकर कम्पनी, संस्थानजस्ता कानुनी व्यक्तिको मुनाफामा लाग्ने कर हो। कम्पनी कानुनी तथा आर्थिक हिसाबले सेयरधनीबाट भिन्न भएकाले कम्पनीको मुनाफामा छुट्टै कर लगाउने चलन छ। यसका साथै कम्पनीको मुनाफामा कर लगाउन राजनीतिक तथा प्रशासनिक हिसाबले सरल हुने भएकाले पनि संस्थागत आयकर लगाउने गरिन्छ।

यसैगरी विगतमा सरकारले अपनाएको संरक्षणकारी नीतिअन्तर्गत कतिपय संस्थानले एकाधिकार पाएकाले तिनीहरूले आफ्नो आर्थिक क्षमताभन्दा एकाधिकार पाएका कारण ठूलो मुनाफा कमाउने र त्यसको केही अंश सरकारले कर राजस्वका रूपमा लिने उद्देश्यले पनि संस्थानहरूमाथि कर लगाउने गरिएको हो।

अर्कातर्फ कम्पनीको आयका वास्तविक मालिक सेयरधनीहरूको आयमा कर लाग्ने भएकाले कम्पनीको मुनाफामा छुट्टै कर लगाउन नहुने भनेर विगतमा अर्थशास्त्रीहरू प्रश्न उठाउने गर्थे। तर खासगरी बहुराष्ट्र्रिय कम्पनीहरूको विस्तार भएपछि संस्थागत आयकर प्रभावकारी रूपमा लागू गर्नुपर्छ भन्ने मान्यता अन्तर्राष्ट्र्रिय जगतमा बढ्दै गएको छ।

यस सन्दर्भमा हालसालै अन्तर्राष्ट्र्रिय स्तरमा बहुराष्ट्र्रिय कम्पनीहरूको मुनाफामा १५ प्रतिशतको न्यूनतम विश्वव्यापी संस्थागत आयकर लगाउनुपर्ने सहमति कायम भएको छ।
समदर किन?

संस्थागत आयकर सामान्यतया समदरले लगाइन्छ। यो करअन्तर्गत व्यक्तिगत आयकरमा जस्तो न निश्चित रकमसम्मको आयलाई कर छुट दिइन्छ न त माथिल्लो तहको आयमा प्रगतिशील दरले कर लाग्छ। कम्पनीको आयका खास मालिक सेयरधनीहरू हुन्। ठूला, मध्यम तथा साना सबै किसिमका कम्पनीका सेयरधनी उच्च, मध्यम तथा न्यून आय हुने सबैखाले व्यक्ति हुन सक्छन्। त्यसैले व्यक्तिगत आयकरमा जस्तो सामाजिक न्याय कायम गर्ने उद्देश्यले संस्थागत आयकरमा निश्चित रकमसम्मको आयलाई कर छुट दिएर त्यसभन्दा माथिको आयमा प्रगतिशील दरले कर लगाउन वा साना कम्पनीमा न्यून दर र ठूलो कम्पनीमा बढी दरले कर लगाउन आवश्यक नहुने सैद्धान्तिक मान्यता तथा अन्तर्राष्ट्र्रिय असल अभ्यास छ।

नेपालमा संस्थागत आयकरको विकास

नेपालमा संस्थागत आयकरको आरम्भ आर्थिक ऐन २०१६ द्वारा व्यापार मुनाफा तथा पारिश्रमिक करबाट भएको थियो। त्यसपछि यस करलाई व्यापार मुनाफा तथा पारिश्रमिक कर ऐन २०१७ अन्तर्गत लगाइएको थियो।

यस करको प्रयोजनका लागि व्यापार मुनाफा भन्नाले मुनाफा कमाउने उद्देश्यले गरिएको कार्यबाट आर्जन गरिएको वा प्राप्त भएको खुद मुनाफा भनेर परिभाषित गरिएको थियो। संस्थागत आयकर २०१९ सालदेखि आयकर ऐन २०१९ र २०३१ सालदेखि आयकर ऐन २०३१ अन्तर्गत लागू गरिएको थियो।

संस्थागत आयकर २०५८ देखि आयकर ऐन २०५८ अन्तर्गत लागू हुँदै आएको छ। यो ऐन लागू भएसँगै संस्थागत आयकरमा स्वयंकर निर्धारणको सिद्धान्त पूर्ण रूपमा अपनाउने लगायतका अन्तर्राष्ट्र्रिय जगतमा संस्थागत आयकरका क्षेत्रमा विकसित भएका नवीनतम अवधारणा अपनाइएको थियो।

प्रारम्भमा संस्थागत आयकर पनि व्यक्तिगत आयकरझैं प्रगतिशील दरले लगाइएकोमा आर्थिक वर्ष २०४३/४४ देखि सेक्युरिटी खरिदबिक्री केन्द्रमा सूचीकरण भएका कम्पनी तथा सरकारी संस्थानहरूमा ४० प्रतिशतको समदरले संस्थागत आयकर लगाइएको थियो। आव २०४९/५० सम्म प्राइभेट लिमिटेड कम्पनीहरूको मुनाफामा व्यक्तिगत आयकर सरह प्रगतिशील दर लागू गरिएकोमा आव २०५०/५१ मा संस्थान सरह समदरको संस्थागत आयकर लगाइएको थियो भने साझेदारी आयमा आव २०५२/५३ देखि व्यक्तिगत आयकरको सट्टा संस्थागत आयकर लाग्ने व्यवस्था गरिएको थियो।

सन् १९९० दशकमा लागू गरिएको प्रथम पुस्ताको कर सुधार क्रममा संस्थागत आयकरको दर घटाएर २५ प्रतिशत कायम गरिएको थियो। तर बैंक तथा वित्तीय संस्थाका लागि ३० प्रतिशतको दर तोकिएको थियो। अन्य व्यवसाय सरह बैंक तथा वित्तीय संस्थाको दर नघटाउनुको कारण एक त त्यतिखेर बैंक तथा वित्तीय कारोबार त्यति खुला नभएकाले त्यस्ता कम्पनीलाई एक किसिमको एकाधिकार भएकाले तिनीहरूलाई असाधारण मुनाफा हुन सक्ने र त्यसको केही हिस्सा राज्यले पनि राजस्वका रूपमा पाउनुपर्ने मान्यता थियो।

अर्कातर्फ त्यतिखेर संस्थागत आयकरको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरूबाट असुल हुने भएकाले यस क्षेत्रमा पनि अन्य क्षेत्रमा झैं एकैपटक संस्थागत आयकरको दर घटाउँदा राजस्व संकलनमा प्रतिकूल असर पर्न सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाका लागि संस्थागत आयकरको दर केही समयसम्म ३० प्रतिशत कायम गरेर बिस्तारै कम गर्ने नीति लिइएको थियो।

तर केही समयपछि संस्थागत आयकरको ३० प्रतिशत दर घटाउनुको सट्टा यसलाई क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गरिएको थियो। यसले हाल यो दर बैंक तथा वित्तीय संस्थाका अतिरिक्त सामान्य बीमा व्यवसाय, पुँजी बजार, दूरसञ्चार र इन्टरनेट सेवा, सूर्तिजन्य वस्तु, मदिरा तथा पेट्रोलियम व्यवसायको मुनाफामा समेत लगाउने व्यवस्था गरिएको थियो। यो कर सुधार क्रममा आयकरका दरको तह घटाउँदै जानुपर्ने नीतिविपरीत थियो।

यी व्यवसायहरूमा बढी दरले संस्थागत आयकर लगाउनुपर्ने राजस्वबाहेक अन्य ठोस आधार देखिँदैन। यदि सूर्तिजन्य वस्तु, मदिरा तथा पेट्रोलियम पदार्थले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने, उपभोक्ताबाहेक अरूमाथि पनि नकारात्मक प्रभाव पार्ने, वातावरण बिगार्ने र सामाजिक लागत बढाउने हुनाले त्यस्ता वस्तुको माग घटाउन कर लगाउने हो भने त्यसका लागि उपयुक्त हतियार अन्तःशुल्क हो, संस्थागत आयकर होइन।

संस्थागत आयकरसम्बन्धी समकालीन सोच

सन् १९८० दशकको पूर्वार्द्धसम्म संस्थागत आयकरलाई राजस्व संकलनका अतिरिक्त आर्थिक विकास गर्ने हतियारका रूपमा व्यापक प्रयोग गरिएको थियो। यस सन्दर्भमा आर्थिक विकास गर्ने हेतुले संस्थागत आयकरमा कर छुट (इकजम्सन), कर छुट्टी (ट्याक्स होलिड), कर दायित्व पर सार्ने (ट्याक्स डिफरल), करको दरमा कटौती (रिड्युस्ड रेट) तथा कर कट्टी (ट्याक्स क्रेडिट) जस्ता विभिन्न प्रकारका छुट तथा सुविधा दिने चलन थियो। यसले करको आधार साँघुरो भएको थियो र आवश्यक राजस्व परिचालन गर्न कर लाग्ने क्षेत्रमा संस्थागत आयकरको उच्च दर लगाइएको थियो। यस किसिमको व्यापक कर छुट तथा करका उच्च दरले संस्थागत आयकरलाई आर्थिक तथा प्रशासनिक हिसाबले अक्षम बनाएको थियो।

कर छुटले विभिन्न मुलुकको अर्थतन्त्रमा विभिन्न किसिमका विकृति तथा विसंगति पनि सिर्जना गरेको थियो। उदाहरणका लागि, नयाँ कम्पनीलाई लक्ष्य गरेर दिइएका सुविधा उपयोग गर्न भइरहेका कम्पनीहरू नयाँ कम्पनीका रूपमा देखापर्ने, साना उद्योग व्यवसायका लागि दिइने सुविधा उपयोग गर्न ठूला व्यवसाय टुक्रिएर स–साना व्यवसायमा परिणत हुने र कर छुट नभएका व्यवसायको आयकर छुट भएको व्यवसायको आय भनेर देखाउनेजस्ता प्रवृत्ति देखापरेका थिए। निश्चित अवधिका लागि कर छुट दिने व्यवस्था (ट्याक्स होलिडे) अन्तर्गत छुट अवधि सकिएपछि उद्योग बन्द गर्ने र नयाँ कर छुट अवधिको सुविधा प्राप्त गर्न नयाँ उद्योग खडा गर्ने जस्ता प्रवृत्ति पनि यदाकदा देखापरेका थिए।

यसैगरी वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले विदेशी कम्पनीलाई मात्र प्रदान गरिएको कर छुटले विभिन्न मुलुकमा राउन्ड ट्रिपिंगको समस्या सिर्जना गरेको थियो। यसअनुसार कर छुट दिने मुलुकको साधन विभिन्न नाममा विदेश गई विदेशबाट वैदेशिक लगानीका नाममा त्यस देशमा भित्रिने भएकाले कर छुट दिने मुलुकलाई वास्तवमा थप लगानी प्राप्त भएको थिएन। देशभित्रको साधन विदेश गई वैदेशिक लगानीका रूपमा भित्रिँदा त्यस्तो लगानीलाई दिएको कर छुटबाट थप राजस्व प्राप्त नहुने मात्र होइन, त्यस्तो लगानी स्वदेशमै उपयोग भएको भए त्यसबाट प्राप्त हुने राजस्व पनि गुम्ने स्थिति उत्पन्न भएको थियो।

अर्कातर्फ संस्थागत आयकरका उच्च दरले लगानी तथा आर्थिक विकासलाई निरूत्साहित गर्ने र व्यापार व्यवसायलाई अनौपचारिक क्षेत्रमा धकेल्ने स्थिति देखापर्‍यो। यसैगरी उच्च दरले केही करदातालाई कर छल्न प्रेरित गरे त्यसबाट राजस्व संकलनमा प्रतिकूल असर पर्ने मात्र नभई कर छल्न नचाहने वा नसक्ने र कर छल्नेबीच अस्वस्थ प्रतिस्पर्धा हुने स्थिति देखापर्‍यो।

विभिन्न मुलुकमा कर छुट तथा उच्च दरले करदातामा कर नतिर्न वा कम तिर्न कानुनमा रहेका छिद्र पत्ता लगाउन ठूलो रकम फजुल खर्च गरेर सल्लाहकार नियुक्त गर्ने प्रवृत्ति पनि देखापरेको थियो। यसरी संस्थागत आयकरअन्तर्गत दिइएका विभिन्न छुट तथा उच्च दरले यस करबाट सिर्जना हुने लागत बढाएर आर्थिक विकासमा प्रतिकूल असर पारेको थियो। आर्थिक सहयोग तथा विकास संगठन (वाइसिडी) ले ६३ देशको तथ्यांक विश्लेषण गरेको एक अध्ययनले आर्थिक विकासमा सबभन्दा बढी प्रतिकूल असर पार्ने कर संस्थागत आयकर हो भन्ने निष्कर्ष निकालेको थियो।

उक्त परिप्रेक्ष्यमा सन् १९८० दशकदेखि संस्थागत आयकरअन्तर्गत दिइएका विभिन्न किसिमका छुट तथा सुविधा खारेज गरेर करको आधार विस्तार गर्ने र करको न्यून तहको दर लागू गर्ने नीति अपनाइयो। यस सन्दर्भमा संयुक्त राज्य अमेरिकाले सन् १९८६ मा सबै किसिमको आयलाई करको दायरामा ल्याएर आधार विस्तार गरेको र संस्थागत आयकरको दरलाई ५० बाट ३५ प्रतिशतमा झारेको थियो। त्यसपछि संस्थागत आयकरको आधार विस्तार गर्ने र दर घटाउने प्रचलन विश्वभर फैलिएको थियो।

त्यसको परिणामस्वरूप विश्वका विभिन्न देशमा संस्थागत आयकर विस्तृत आधारमा सामान्यतया २० प्रतिशत हाराहारी लगाइएको छ। यो कर तुर्कमेनिस्तान, वारवेडस तथा हंगेरीजस्ता सीमित मुलुकमा १० प्रतिशतभन्दा कम दरले र अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, माल्टा, मोजाम्बिक, नामिबिया, पोर्चुगल, सुडान र भेनेजुयलाजस्ता मुलुकमा ३० प्रतिशतभन्दा बढी दरले लगाइएको छ। डेनमार्क र नर्वेले २२ प्रतिशत र स्वीडेनले २०.६ प्रतिशतको संस्थागत आयकर दर कायम गरेका छन् भने यस्तो दर संयुक्त अधिराज्यले १९ र संयुक्त राज्य अमेरिकाले २५.८ प्रतिशत लगाएको छ।

दक्षिण एसियाली मुलुकहरूमा संस्थागत आयकरको दर अफगानिस्तानमा २० प्रतिशत, माल्दिभ्समा १५ र २५ प्रतिशत र श्रीलंकामा २४ प्रतिशत छ भने नेपाल, भारत र भुटानमा २५ र ३० प्रतिशत छ। अर्कातर्फ यो करको दर पाकिस्तानमा ३० र ३५ प्रतिशत र बंगलादेशमा १५, २०, २२.५, २७.५, ३७.५, ४०, र ४५ प्रतिशत छ।

संस्थागत आयकरमा सुधार

हाल बैंक तथा वित्तीय संस्था, सामान्य बीमा, दूरसञ्चार, मदिरा, सूर्तिजन्य पदार्थ र पेट्रोलियम लगायतका केही व्यवसायको आयमा संस्थागत आयकर ३० प्रतिशत र अन्य आयमा २५ प्रतिशत लाग्छ। सहकारी संस्थाको आयमा स्थानअनुसार ५ देखि १० प्रतिशतसम्म र सार्वजानिक गुठीअन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको आयमा २० प्रतिशत संस्थागत आयकर लगाउने व्यवस्था छ।

यसका साथै विभिन्न प्रकारका उद्योग व्यवसायको प्रकृति, स्थान, रोजगारीको स्थिति आदिका आधारमा संस्थागत आयकरमा विभिन्न प्रकारका छुट दिइएकाले विभिन्न क्षेत्र, उद्योग तथा व्यवसायमा संस्थागत आयकर विभिन्न दरले लाग्ने गरेको छ। यसले यो कर आर्थिक तथा प्रशासनिक हिसाबले अक्षम भएको छ।

नेपालको आर्थिक विकासका लागि कृषि, उद्योग, पर्यटन, विद्युत, सहकारी आदि सबै क्षेत्रको विकास हुनु उत्तिकै जरूरी छ। सबै क्षेत्रबाट प्राप्त हुने मुनाफा करको हिसाबले उत्तिकै महत्वपूर्ण छ र करको हिसाबले सवै क्षेत्रको समान व्यवहार हुनुपर्छ। यस सन्दर्भमा खोजिएको उद्देश्य हासिल गर्न प्रभावकारी हुने कर छुट तथा सुविधा मात्र कायम गरेर अन्य छुट खारेज गरी संस्थागत आयकरको आधार विस्तार गरिनुपर्छ र सबै क्षेत्रको मुनाफामा हाल सामान्यतया अन्तर्राष्ट्र्रिय जगतमा प्रचलित २० प्रतिशतजतिको समदरको कर लगाउनेतर्फ विचार गर्नुपर्छ।

संस्थागत आयकरलाई लगानीमैत्री तथा आर्थिक विकास उन्मुख बनाउन खर्च कट्टी, ह्रास कट्टी तथा घाटा समायोजन गर्ने व्यवस्थालाई उदार बनाइनुपर्छ। उत्पादन, उत्पादकत्व तथा रोजगारी बढाउन उद्योगी व्यवसायीले नयाँ मिल, मेसिनरी, उपकरण तथा प्रविधिमा लगानी बढाउनुपर्ने हुन्छ, विद्यमान क्रियाकलाप विस्तार गर्नुपर्ने हुन्छ र नयाँ कामदार नियुक्ति गरेर प्रशिक्षण दिनुपर्ने हुन्छ। उद्योगी व्यापारीले गरेको लगानी असुल गर्न सामान्य व्यावसायिक खर्चहरू तुरून्त कटाउन पाइन्छ। प्रशिक्षण, अनुसन्धान तथा विकासमा गरिने लगानीले प्राविधिक अन्वेषण तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यस्तो लगानी पनि तुरून्त पूर्ण रूपमा कटाउन पाउने व्यवस्था हुनुपर्छ।

पुँजीगत सामानमा गरिएको खर्च त्यस्तो खर्च गरिएकै वर्ष कटाउन नपाई ह्रासकट्टीका माध्यमले सम्पत्तिको आयुका आधारमा कटाउन पाइन्छ। यस्तो खर्च मुद्रास्फीतिसँग आबद्ध नगरिएको अवस्थामा ह्रासकट्टीका माध्यमले लामो समयसम्म कटाउनुपर्ने रकम वास्तविक मूल्यमा सुरूमा गरिएको लगानीभन्दा कम हुन जान्छ। यसले लगानीलाई दुरूत्साहित गर्छ, जसले उत्पादकत्व, उत्पादन र रोजगारी घटाउँछ।

तोकिएको क्षेत्रमा लगानी आकर्षित गर्न विशेष उद्योग, सहकारी, विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने, सडक, पुल, सुरूङ मार्ग, टनेल, रेल्वे, विमानस्थल निर्माण गरी सञ्चालन गर्ने निकायलाई द्रुत ह्रासकट्टीको व्यवस्था गरिएको छ। यसअन्तर्गत यी निकायलाई ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एकतिहाइले थप ह्रासकट्टी गर्न पाउने व्यवस्था छ।

यसैगरी तोकिएको क्षेत्रमा लगानी आकर्षित गर्न मिल, मेसिनरी तथा उपकरणमा गरिएको खर्च छिटो छिटो कटाउन बोनस ह्रासकट्टीको व्यवस्था पनि गरिनुपर्छ। यस किसिमको व्यवस्थाअन्तर्गत बोनस ह्रासकट्टी र साधारण ह्रासकट्टी दुवै सुविधा एकसाथ उपयोग गर्न पाइने हुँदा पुँजीगत खर्च छिटो छिटो कटाउन पाइन्छ। यसले लगानी आकर्षित गर्छ। यस सन्दर्भमा वर्तमान ह्रासकट्टीको दर बढाउने सम्भावनाबारे पनि मन्थन गरिनुपर्छ।

यसैगरी छोटो अवधिका लागि पूरै कर छुट दिनुको सट्टा लामो अवधिका लागि आंशिक छुट दिने नीति (जस्तै- ५ वर्षको पूरै कर छुट दिनुभन्दा १० वर्षका लागि आयकरका दरमा ५० प्रतिशत छुट दिने) अपनाइनुपर्छ। यसका साथै सामान्य किसिमका छुटभन्दा लक्षित-परिभाषित (डिफाइन्ड) छुट (जस्तै- विविधीकरणलाई प्रोत्साहन दिने वा स्थानीय लिंकेजलाई प्रोत्साहित गर्ने खालका छुट) दिने व्यवस्था गर्नुपर्छ। यसैगरी कर तथा लगानी कट्टी प्रकृतिका अन्य लागतमा आधारित कर छुट दिने नीति अवलम्बन गर्नुपर्छ।

यसैगरी सरकारले करदातालाई फिर्ता दिनुपर्ने संस्थागत करको रकम तुरून्त फिर्ता दिने वा अन्य कर दायित्वसँग मिलान गर्न सक्ने र समयमा फिर्ता गर्न नसकिएको रकममा सरकारले व्याज दिनुपर्ने व्यवस्था गरिनुपर्छ।

हाम्रोजस्तो पुँजी अभाव भएको मुलुकमा आर्थिक विकास गर्न वैदेशिक लगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ। वैदेशिक लगानीसँगै प्रविधि तथा सीप हस्तान्तरण हुने, श्रमिकको सीप अभिवृद्धि भई मानव पुँजी निर्माण हुने, उद्यम विकासमा सहयोग हुने र मुलुकको अर्थतन्त्र अन्तर्राष्ट्र्रिय व्यापारसँग आबद्ध भई कारोबार विस्तार हुने भएकाले वैदेशिक लगानी आकर्षित गर्न विभिन्न कर छुट तथा सुविधा दिने नीति पनि अवलम्बन गरिनुपर्छ।

कर छुट तथा सुविधा दिँदैमा वैदेशिक लगानी आकर्षित हुन्छ भन्ने होइन र सबै किसिमका कर छुट तथा सुविधा वैदेशिक लगानी आकर्षित गर्न उत्तिकै प्रभावकारी हुन्छन् भन्ने पनि होइन। उदाहरणका लागि, नेपालले वैदेशिक लगानीमा कुनै निश्चित अवधिका लागि आयकर छुट दिए विदेशी लगानीकर्ताले नेपालमा कर तिर्नु नपर्ने भए पनि नेपालमा आर्जन गरेको आयमा आफू बासिन्दा भएको मुलुकमा कर तिर्नुपर्छ। यसरी नेपालले दिएको कर छुटबाट लगानीकर्तालाई फाइदा हुँदैन। नेपाल सरकारले राजस्व गुमाउँछ भने नेपालमा कर छुट भएको आयमा विदेशी लगानीकर्ता बासिन्दा भएको मुलुकको सरकारले कर लगाउँछ। यसरी नेपालले दिएको कर छुटको फाइदा विदेशी लगानीकर्ताले नभई निज बासिन्दा भएको मुलुकको सरकारले पाउँछ र यस्तो छुटबाट नेपालमा वैदेशिक लगानी आकर्षित हुँदैन।

यस्तो छुटबाट वास्तवमा विदेशी लगानीकर्तालाई फाइदा होस् र त्यसले नेपालमा वैदेशिक लगानी आकर्षित होस् भनेर विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको मुनाफामा कर छुट पाएको रकम निजको देशको सरकारले नेपालमा कर तिरेसरह मानेर विदेशी लगानीकर्तालाई त्यस देशमा लाग्ने करबाट कटाउन दिने व्यवस्था हुनुपर्छ। यसका लागि नेपालले विभिन्न मुलुकसँग गर्ने दोहोरो कर मुक्ति सम्झौतामा ट्याक्स स्पेरिंग प्रावधान राख्न कोसिस गर्नुपर्छ।

वैदेशिक तथा स्वदेशी लगानी आकर्षित गर्न सबभन्दा ठूलो सुविधा भनेको करको न्यून दर हो। यस्तो दर नेपालका छिमेकी तथा अन्य प्रतिस्पर्धी मुलुकहरूको संस्थागत आयकर दरको तुलनमा कम हुनुपर्छ। यस्तो प्रतिस्पर्धी संस्थागत आयकरको दर भए त्यसले करदातालाई कर कम लाग्ने मुलुकमा लगानी वा मुनाफा सार्न र कर छल्न उत्प्रेरित गर्दैन, करको आधार विस्तार गर्छ र संस्थागत आयकर राजस्वमा स्थिरता ल्यान मद्दत गर्छ।

वैदेशिक तथा स्वदेशी लगानी आकर्षित गर्न कर छुट तथा सुविधाभन्दा आर्थिक नीतिमा थप उदारता, स्पष्टता र स्थिरता कायम गरिनुपर्छ। त्यससँग सम्बन्धित कानुनहरूलाई सरल, सहज र स्पष्ट बनाइनुपर्छ। लगानीकर्तालाई सुशासनको प्रत्याभूति दिनुपर्छ। र, सबै किसिमको मुनाफामा छिमेकी तथा प्रतिस्पर्धी मुलुकको संस्थागत आयकर दरको तुलनामा न्यून तहको लगानीमैत्री समदर लागू गर्नुपर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, १७:२०:००

Wednesday, July 6

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीसँग इकागजका विमल आचार्यले गरेको कुराकानी

  • सरकारी कार्यालयमा काम पर्यो भनेपछि आम नागरिकलाई जानै नपरोस् जस्तो लाग्छ, किन ? 
  • योग्य भनेर कर्मचारी छान्‍नुहुन्छ, तुरुन्तै करोडौँ भ्रष्टाचार गर्छ, कसरी योग्य ? 
  • नयाँ संविधानअनुसार संस्थानहरूको जाँच पनि लोकसेवाले लिन्छ तर शिक्षण र प्राध्यापनको किन लोकसेवाअन्तर्गत हुन सकेन ? 
  • लोक सेवा आयोगमा अनलाइन प्रविधिबाटै फर्म भर्न, शुल्क बुझाउन मिल्ने अनि त्यही सेवा आयोग पास गरेको कर्मचारी किन आफ्नो कार्यालयमा लाइन र झ्याल सेवा बन्द गर्न सक्दैन ? 
  • पासपोर्ट, लाइसेन्सको पाँच वर्षीय प्रतीक्षा अनि अहिले मतदाता नामावलीको लाइन कम गर्न कर्मचारी किन सक्दैन ? जनताको करबाट तलब खाने निजामती कर्मचारीले किन आफूलाई विशिष्ट नागरिक ठान्छ ? 
  • नीतिगत भ्रष्टाचारमा कर्मचारी नमिली मन्त्री आफैँले अनियमितता गर्न सक्छ ? 
  • लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीसँग इकागजका विमल आचार्यले लामै कुराकानी गरेका छन् । उनले मैनालीलाई तपाईं लोकसेवा आयोगको अध्यक्ष हुँदा किन दोहोरो पेन्सन लिनुभयो भनेर पनि सोधेका छन् । पढ्‍नुहोस् संवादको सारांश :
  • एउटा उमेर क्रस गरेपछि सार्वजनिक पदमा नबसेर अभिभावकीय सल्लाहकार भूमिकामा बसेको राम्रो हुन्छ । उमेर चार चिजमा मात्र काम लाग्छ । पुरानो रक्सी पिउन, पुरानो दाउरा बाल्न, पुरानो साथीलाई विश्वास गर्न, पुरानो लेखक पढ्न । यीबाहेक पुरानो/उमेर कुनैमा काम छैन ।
  • उमेरलाई मात्र मानक मान्‍न त मिल्दैन । तर, सार्वजनिक सेवामा जस्तै उमेर पुगेपछि राजनीतिज्ञहरूले आराम लिँदा आफूलाई र राष्ट्रलाई पनि राम्रो हुन्छ । स्मरण नहुने, बोलेको ठेगान नहुने, अवस्थामा मानिस पदमा रह्यो भने त्यो दुर्घटना हुन्छ ।
  • आत्मकथा आत्मश्लाघाबाट प्रेरित हुन्छ । त्यहाँ आत्मप्रशंसा हुन्छ । मैले यहाँ गल्ती गरेँ, म माफी माग्छु कसैले भनेको हुँदैन । गल्ती त सबैको हुन्छ नि । हामी एउटा पूर्वप्रशासक, पूर्वमन्त्री भएको भरमा आत्मकथा लेख्न थाल्यौँ भने त्यो आत्मश्लाघा हुन्छ । मानिसहरूले हाम्रो कथा किन पढ्ने ? म महात्मा गान्धी त होइन, बीपी वा कृष्णप्रसाद भट्टाई त होइन । केही स्मरण र घटना, परिघटना भए पढ्नलाई पनि रमाइलो हुन्छ, ज्ञान हुन्छ । आत्मकथामा मलाई सोख छैन ।
  • मैले उहाँलाई सोधेँ- जागिर भनेको के हो ? मरिच मेरो हातमा हालिदिएर यही हो भन्‍नुभयो । पिरो भयो । वास्तवमा जागिर पिरै रहेछ के । मेरो सानो बुवा शशिकान्त मैनाली जागिरमा । हामी काठमाडौँ आयौँ पढ्न । मेरो गाउँ कानपुरबाट हाइस्कुल भेट्न धुलिखेल आउनुपर्थ्यो, एक दिन पूरा हिँडेर त्यो भन्दा यहीँ पद्मोदयमा पढ्न आइयो ।
  • आफैँले परीक्षा लिएर, योग्य भनेर पठाएको कर्मचारीले करोडौँ भ्रष्टाचार गरेको समाचार आउँदा मेरो शीर निहुरिन्छ ।
  • सानोबुवासहित हामी चार जना त सचिव भयौँ । भाइहरूमै पनि एक जना डीभी परेर अमेरिका गयो । अरु हामी सबै जागिरमै छौँ । मेरी छोरी पनि परराष्ट्र सेवामा छ । डेन्टल सर्जन थिई । उसलाई निजामतीमा आउन मन लाग्यो । अहिले भियनामा कार्यवाहक राजदूतका रूपमा कार्यरत छिन् । छोरा यता प्रवेश गर्न मानेन । ऊ प्लास्टिक सर्जन छ ।
  • नयाँ पुस्तालाई सरकारी जागिरमा उति रुचि छैन । उनीहरू सीमित तलब मन पराउँदैन । उचाइ मार्न चाहन्छन् । रुल्स र रटिन यस्तो रुचाउँदैनन्, अहिले । सुदूर गाउँका मेहनती, जो अरु अवसर देखेका छैनन्, उनीहरूले राम्रो गरेका छन् । जो राम्रो उच्च शिक्षाको डिग्री लिएका छन् । ती यता उति आउँदैनन् ।
  • पाठ्यक्रममा सहरी पढेलेखेका तान्‍ने विचारले पाठ्यक्रम बदलियो । अंग्रेजीमै लेखन मिल्न पनि बनाइयो । तर, खासै आउनुभएन । ऊ योग्य व्यक्ति छ भने २०/२२ वर्षमा सचिव हुन्छ । तलबले नाप्‍न मिल्दैन यसको सेवा । तलब खाएर राष्ट्रका लागि योगदान दिने सबैभन्दा सुन्दर क्षेत्र यही हो । हामीले राम्ररी बुझाउन नसक्दा योग्य युवा पलायन भएका छन् ।
  • लोक सेवाको प्रणाली पुरानो हो । गोपनीयता, डबल कोड, एकले गरेको काम अर्कोले हेर्ने, रिजल्टको दिन डिकोड गर्ने । यो व्यवस्थित छ । लोक सेवा पूर्णतः निष्पक्ष छ । म अध्यक्ष भएर जाँदा फर्म बुझाउने, पैसा बुझाउनेको भीड । मेरो अध्यक्षतामा पहिलो निर्णय नै अनलाइनका जाने निर्णय गर्‍यौँ । मोबाइल एप्स बनायौँ । अनलाइन पेमेन्ट हुन्छ । हामीले उम्मेदवारलाई परीक्षा केन्द्रमा मात्र देख्छौँ । अध्यक्षले साइन गरेपछि मोबाइलमा बधाइ भनेर जान्छ । आईसीटी अवार्ड २०१९ लोकसेवाले पायो । नेतृत्वमा चाहना भयो भने परिवर्तन हुन्छ ।
  • आजकै मितिमा लाइसेन्स, पासपोर्ट, यहीँनेर मतदाता नामावलीको लाइन छ । लाइन दश ठाउँ गर्न सकिन्छ । मेसिन १० वटा थप्न सकिन्छ । यसमा खर्च छैन भन्‍नु पन्छिने कुरा हो । नवीन प्रविधि भित्र्याउन धेरै संघर्ष गर्नुपर्छ । लगातार लाग्‍नुपर्छ । कन्सल्टेन्ट राखेर ल्यायौँ भने उसले मेन ‘कि’ नै दिँदैन । पछि हराउँछ । नयाँ प्रविधि मनै नपराउने कर्मचारी धेरै छन् । आफू नयाँ प्रविधि जानेको छैन, आफू असुरक्षित महसुस गर्छ अनि प्रविधिमा जानै दिँदैन । पुरातन विचारकालाई तालिम दिने, अभिमुखीकरण गर्ने गर्नुपर्छ । प्रविधिमा केही सिक्नुस्, नभए पनि विरोध नगर्नुस् भन्‍नुपर्छ ।
  • सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । अरु शीर्ष नेता, दोस्रो तहका नेता पनि हुनुहुन्थ्यो । मैले बालुवाटारमा लिखित पनि दिएँ र आधी घण्टा बोलेँ । लोकसेवा आयोगमा फेयर परीक्षा हुन्छ भनेँ । कोही जनताको करबाट तलब खान्छ भने त्यो लोक सेवाबाटै आउनुपर्छ भने । पछि संविधानमा आउँदा विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगबाहेक भनियो । यो मैले संविधानपछि मात्र थाहा पाएँ ।
  • सेना, प्रहरी, गुप्तचार, सबै संस्थान, समिति, एकेडेमी, निगममा लोकसेवाले पदपूर्ति गर्छ । लोकसेवा आएपछि संस्थानहरूमा सोर्सफोर्स बन्द भयो । सुरुमा त यसको जग बसाउन गाह्रो थियो । सबैभन्दा उपदेश र आदर्शका कुरा लेख्ने/बोल्ने नेपाल प्रज्ञा–प्रतिष्ठान, रेडियो प्रसार सेवा विकास समिति, गोरखापत्र संस्थानले लोकसेवालाई अटेर गरे, छल्न खोजे । यो मैले पहिला भनिसकेको छु । तर, अहिले सिस्टम बसेको छ । विश्वविद्यालय सेवा आयोगमा निष्पक्षता छैन भन्‍ने प्रस्टै छ । पूर्णतः मेरिटोक्रेसीमा जानै दिँदैनन्, उनीहरू ।
  • शिक्षामा राजनीति रोक्नुपर्‍यो । स्वतः स्थायी हुने भन्‍ने पनि कहीँ हुन्छ र ? सामान्य परीक्षा पनि फेस गर्न नसक्ने टिचर हुन्छ र ? शिक्षामा योग्यलाई खुला प्रवेश नै छैन । करार, अस्थायीहरू स्वतः स्थायी हुने कुरा हुन्छ । त्रिविको सिनेटबाटै यही प्रस्ताव पास हुन्छ । यो शिक्षालाई फेल बनाउने निर्णय हो । शिक्षालाई फेल बनाउनु हर क्षेत्रलाई फेल बनाउनु हो ।
  • भनसुनमा छिरेका करार र अस्थायीलाई स्थायी गर्न यसअघि दुई चोटि परीक्षा लिँदा पनि फेल भएका । तिनीहरूबीच नै प्रतिस्पर्धा फेरि, बाहिरियासँग होइन । अब जाँचै नदिई स्थायी हुनुपर्‍यो रे । यसमा प्रधानमन्त्री, सबै पदाधिकारीको सहमति । अलिकति फेयर गर्न खोज्यो कि सबै फेल । यो दुःखको कुरा छ ।
  • हाम्रो शिक्षा प्रणाली पनि फेलै हो । उम्मेदवार छनौटमै परेनन्, शिक्षा फेल भयो । विश्वविद्यालयमा छिर्ने विचार गरेको योग्य मान्छेले राजनीति देखेर देशै छोडिदिन्छ । बीचबीचको योग्य कर्मचारी हुन आउँछ । अझ तलको शिक्षण, प्राध्यापनमा आउँछ । शिक्षा अझ खस्किन्छ ।
  • सचिव र प्राध्यापक, सहसचिव र सहप्राध्यापक, उपसचिव र उपप्राध्यापक यी बराबर तहका पद हुुन् । एन्जेला मर्केलले शिक्षकको तलब व्यापक बढाइन् । आकर्षक तलब दिनुपर्छ भनिन् । शिक्षकलाई मयार्दाक्रममा राखिएन । तलब पनि मासिक दिइँदैन । शिक्षकहरू जिन्दगीभर विदेश टेक्न पाउँदैनन्, छट्टु कर्मचारी विदेश गएको गयै हुन्छ ।
  • शिक्षण पवित्र पेसा हो । यिनमा तलब–सुविधा बढी हुनैपर्छ । शिक्षा देशरुपी गाडी चल्ने इन्धन हो । शिक्षा मूल कुरा हो । शिक्षा प्रणाली राम्रो नभईकनै कुनै क्षेत्र राम्रो हुँदैन । पहिलो आकर्षण शिक्षण, प्राध्यापनमा हुनुपथ्र्यो । प्राध्यापक भनेको ख्यालठट्टाको पद हैन । उसले सधैँ नामअघि प्राध्यापक लेख्‍न पाउँछ । निजामतीको पारिश्रमिक, मर्यादाभन्दा शिक्षक–प्राध्यापकलाई माथि राख्नुपर्छ । प्लेटो, एरिस्टोटल, चाणक्य पनि शिक्षक । कति मर्यादा छ । उहाँहरूसँग शक्ति छ ।
  • शिक्षक, प्राध्यापकहरूले पनि प्राज्ञिक स्वतन्त्रता छ भनेर पढाउनै छोडेर राजनीति गर्नुहुन्छ । श्रद्धेय गुरुहरूले राजनीति छोडिदिनुपर्‍यो । आफ्नो गरिमा, मयार्दा आफैँ ख्याल गर्नुपर्‍यो । उहाँहरू लोक सेवा जस्तो विश्वसनीय संस्थाबाट छिर्नुभएको भए हीनताबोध पालेर पनि बस्नुपर्दैनथ्यो होला । सोर्सफोर्सबाट जागिर खाएकाले सम्मान पनि पाउँदैनन् नि । उहाँहरूले आफ्नो मर्यादाका लागि पनि लोकसेवा जस्तो निष्पक्ष सेवा आयोग चाहिन्छ भनेर आवाज उठाउनुपर्छ ।
  • कर्मचारीमा पनि राजनीति गर्ने प्रवृत्ति बढेको छ । यसले धेरै बिगार्दै छ । विश्वास गुमाउँदै छ । पार्टीको गुण्डालाई दलको प्रभावका कारण समाउन सकेका छैनन्, प्रजिअहरूले । राज गर्नुपर्नेमा शासन गर्न थाल्नुभयो, नेताहरूले । नेताले त कर्मचारीलाई लगाम लगाउने हो । ऐननियम फेर्ने कर्मचारीले हैन । कर्मचारी सरुवामा रुचि राख्ने नेताहरू भए ।
  • नेताले कर्मचारीलाई, कर्मचारीले नेतालाई दोष दिएर जनतालाई बेफकुफ बनाउने ? नीतिगत भ्रष्टाचारमा कर्मचारीको पनि मिलिभगत छ, हुन्छ । उसले रोक्न सक्छ, यसले समाजमा खलल पुर्‍याउँछ भनी देवेन्द्रराज पाण्डे, रामेश्वर खनालले त राजीनामा गरेको हैन र ? तर अहिले नैतिक कर्मचारी भेट्‍याउन गाह्रो भइसेको सुन्दा मलाई दु:ख लाग्‍छ । ओम्नीमा लेखाको अधिकृतले रोकिदिएको हैन र ?
  • कर्मचारीले मन्त्रीलाई स्पष्ट भन्‍नुपर्छ– यो हुँदैन, हामी गर्दैनौँ, सामूहिक रूपमा भन्‍नुपर्छ । यो त हद भयो । प्रतिरोध नगर्ने कर्मचारी ठीक भएनन् । आफैँले परीक्षा लिएर, योग्य भनेर पठाएको कर्मचारीले करोडौँ भ्रष्टाचार गरेको समाचार आउँदा मेरो शिर निहुरिन्छ । सांसद प्रेम सुवालले मलाई सोध्नुभएको थियो- घुस्याहा कर्मचारी किन पठाउनुहुन्छ ?
  • तपाईं चित्त नदुखाउनुहोला, यो पुस्ता द्रव्यमुखी भइरहेको छ । नयाँ आउने पुस्ता राम्रो छ भन्‍ने अध्ययनले देखाएको छ । एउटै कोट, एउटै पुरानो साइकल चढेको देख्थ्यौँ, हाम्रा उहिलेका हाकिम । तर, अहिले लोभ धेरै छ । भ्रष्टाचार नगर भन्दा दुर्घटना हुन्छ भनेर बस नै नचढ्ने भन्छन्, यस्तो छ ताल । नेता बिग्रेर मात्र कर्मचारीतन्त्र जोगिएको छ । नेता सुध्रिने बित्तिकै सबै आक्रोश कर्मचारीमा आउँछ आउँछ ।
  • लोकसेवा आयोगको अध्यक्ष हुँदा मैले पनि निवृत्तिभरण लिएँ । नलिने मै एक जना थिएँ । मैले निवृत्तिभरण व्यवस्थापन कार्यालयमा म यो लिनेछैन भनेर लेखेँ । त्यसपछि अदालतले फैसला गर्‍यो, यो दुवै सुविधा लिन मिल्छ भनेर । टिकादत्त निरौलाको रिट थियो । र, यदि लिन नमिल्ने हो भने सरकारले संवैधानिक अंगका पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनमा लेख भनियो । पछि सबैले लिए । नलिँदा आफैँ बेवकुफ भए जस्तो भयो । भ्रष्टाचार गरेको हैन, त्यही भएर सर्वाेच्चको फैसलाअनुसार लिएको हुँ ।
  • सरकारी कार्यालयमा पाइला टेक्न नपरे हुन्थ्यो जस्तो लाग्‍न थालिसक्यो भन्‍ने सही हो । हाम्रो रुखो व्यवहार, रकमी भाषा छ । स्पष्ट जवाफ नदिने चलन छ । आँखा र टाउको हल्लाउने भाषा छ । जनताको करबाट तलब खाएका छौँ, जनताको सेवा गर्नुपर्छ भन्‍ने सेवाभावभन्दा हाकिमी प्रवृत्ति छ । म सर्वसाधारणभन्दा माथि ठूलो हुँ, विशेष वर्ग हुँ भन्‍ने भाव छ । राजनीतिक क्रान्ति भयो, प्रशासनमा सुधारसम्म हुन सकेन ।
  • गाउँका व्यक्ति मेहनती हुन्छन् । अवसर नपाएर मात्र पछि परेका हुन् । हाम्रो इच्छा, त्यो वर्ग बाहिर नहोस् भन्‍ने हो । कम्प्युटर परीक्षामा सामुदायिक विद्यालयबाट आउनेलाई, गाउँबाट आउनेलाई गाह्रो भएको छ । यो कसरी सुधार्ने भन्‍ने चिन्ता छ ।
  • एकपटक आरक्षण पाएर सेवा प्रवेश गरेकोलाई फेरि आरक्षण दिनुहुँदैन । यसमा गडबडी भएको छ । जनजातिमा चारवटा थर, महिलामा बाहुन क्षेत्रीहरू बढी छन् । यसमा सुधार र पुनरवालोकन जरुरी छ ।

https://ekagaj.com/article/interview/106254/

Tuesday, June 21

विकासका काममा वातावरणका कुरा-सुवोध ढकाल

  • विकासले खराब अवस्थामा पुगेका वातावरणीय पक्षहरूलाई समेत स्वस्थ, सन्तुलित र सफा राख्न सहयोगी भूमिका खेल्न सक्छ ।
  • नेपालमा हुने वातावरण र विकासबीचको अन्तर्कलह निहित स्वार्थ, सतही विश्लेषण, राजनीतिक लेनदेन तथा विधागत अहंसँग सम्बन्धित देखिन्छ ।
  • वातावरणका मुद्दाहरू विकासका आयोजनाभन्दा बाहिरका विषय हुँदै होइनन् । कुनै पनि विकास आयोजनामा वातावरणीय पक्ष एउटा महत्त्वपूर्ण अंग हुन्छ नै, जसरी भौगर्भिक, प्राविधिक, सामाजिक, खर्च र फाइदाको अनुपात लगायतका पक्षहरू यस्ता आयोजनाका अभिन्न पाटा हुने गर्छन् । यहाँ भनिएका विभिन्न विधाका विज्ञहरूको समूहले आ–आफ्नो क्षेत्रको सही आकलन, मूल्यांकन, विश्लेषण प्रयोग गर्ने हो भने प्रायः आयोजनामा ठूला विवाद पक्कै पनि आउँदैनन् ।
  • प्रमाणित र संसारमा चलेका ‘डिसिजन मेकिङ टुल’ हरूको प्रयोग नगरी परम्परागत तरिकाबाट आयोजनाहरूबारे निर्णय लिने गरिएको हो भने यस्ता आयोजनामा पक्कै पनि प्रश्नहरू उठिरहन्छन् ।
  • हाम्रा विकासका काममा संलग्न हुने विभिन्न पक्ष र विज्ञहरूको कार्यकुशलता, कार्यशैली र विज्ञतामा सधैं प्रश्न उठिरहने अनि विकासका काममा भविष्यमा पनि अदालतले नै निर्णय दिनुपर्ने जोखिमलाई बढाइदिएको छ ।
https://ekantipur.com/opinion/2022/06/05/165439358690055824.html

राष्ट्र बनाउने र बचाउने चुनौती- प्रकाशचन्द्र लोहनी

  • राष्ट्रनिर्माणका क्रममा हामीले दक्षिण र उत्तर दुवैसँग युद्ध गरेका छौं । अब परिस्थिति बदलिएको छ । उत्तर र दक्षिण दुवै राष्ट्रका आपसी प्रतिस्पर्धा, संघर्ष र सहकार्य हाम्रा लागि सम्भावना र चुनौती हुन् ।
  • आर्थिक दृष्टिमा, सन् १९८० सम्म चीन र भारतको प्रतिव्यक्ति आम्दानीमा धेरै ठूलो फरक थिएन । १९८० मा चीनको अर्थतन्त्रको आकार ३०९ अर्ब अमेरिकी डलर थियो भने २०१९ सम्म १४० खर्ब डलरमाथि पुग्यो । यसको अर्थ विगत ४० वर्षमा चीनको आर्थिक वृद्धिदर वार्षिक १० प्रतिशतले बढ्यो जुन आजसम्मको मानव इतिहासमा कहिल्यै भएको थिएन । साथै यसै अवधिमा भारतको राष्ट्रिय उत्पादन १८९ अर्ब डलरबाट २९ खर्ब डलर पुग्यो । यसको अर्थ, भारतको आर्थिक वृद्धिदर सालाखाला ७ प्रतिशत थियो ।
  • सन् १९८० मा चिनियाँ सैनिकको संख्या १ करोड १६ लाख थियो । २०२० मा यो ३३ लाख छ तर सैनिक संख्या घटे पनि सैन्य तालिम, प्रविधि र अत्याधुनिक हतियारको हिसाबले चीन धेरै बलियो बन्दै गएको छ र अमेरिकालाई नै आफ्नो प्रतिस्पर्धी देख्न थालेको छ ।
  • आर्थिक र सामरिक दृष्टिले भारत चीनभन्दा निकै कमजोर छ ।
  • आउँदा दिनहरूमा नेपालले अस्तित्व बचाउने प्रथम कदम भनेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमा परनिर्भरताबाट मुक्ति पाई आत्मनिर्भर हुनु हो । राष्ट्रिय अर्थतन्त्रको हरेक अंगमा परनिर्भर हुँदै जाने र युवा शक्तिको निर्यात आर्थिक मेरुदण्ड हुने संरचनामा आज देश जकडिएको छ । यो स्थिति कायम राखेर वर्तमान विश्वशक्ति सन्तुलनभित्र आफ्नो आत्मसम्मान र स्वतन्त्रता जोगाएर अगाडि बढ्न गाह्रो हुनेछ ।
  • परनिर्भर अर्थतन्त्र र बलियो राज्य व्यवस्था सँगसँगै जान सक्तैनन् । नेपालको बजेट निर्माण र कार्यान्वयन हेर्दा यो यथार्थलाई नेपालका सत्ताधारीहरूले बिर्सिएका छन् । देशमा आउन सक्ने संकटलाई नजरअन्दाज गरेका छन् ।
नेपालले अस्तित्व बचाई राष्ट्र जोगाउने बुँदाहरु
  • प्रथम कदम भनेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमा परनिर्भरताबाट मुक्ति पाई आत्मनिर्भर हुनु
  • परनिर्भरताबाट आत्मनिर्भरता र अन्तरनिर्भरतामा आधारित द्रुत आर्थिक वृद्धिदर दुई ढुंगाको तरुल भएर बाँच्ने
  • भारतलाई विश्वासमा लिएर चीनसँग दरिलो मित्रता र चीनलाई विश्वासमा लिएर भारतसँग आत्मीयता कायम गर्न सक्नु
  • कानुनी राज्यको अवधारणालाई मन, वचन र कर्मले लागू गराउन खोज्नु हो । राज्यको कानुनलाई व्यक्तिगत लाभ र दलीय स्वार्थका लागि प्रयोग नगर्ने अठोट नगरेसम्म राज्य बलियो हुँदैन । कमजोर राज्यले राष्ट्र बचाउन सक्तैन ।
https://ekantipur.com/opinion/2022/06/15/165526142805284668.html

Thursday, January 27

दललाई द्रव्यमोहबाट जोगाउन गर्नुपर्ने पाँच काम-केशव सुर्यवंशी

कानूनत: स्थानीय तहका जनप्रतिनिधिहरूले पारिश्रमिक लिने व्यवस्था नभए पनि विधि मिचेर/ प्रक्रिया मिलाएर राज्यस्रोतको दोहन गरिरहँदा यसबारे नागरिक उदासीन र मूकदर्शक देखिन्छन् । बेथिति र बेइमानीप्रति प्रतिक्रियाविहीन नबसी खबरदारीको आवाज बुलन्द गर्नु जरुरी छ।
हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसरी परिपक्व, मितव्ययी र जनउत्तरदायी बनाउने भन्ने सन्दर्भमा निम्न विषयमा हाम्रो ध्यान जानुपर्छः• पूर्ण समानुपातिक निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणालीको साटो पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । यसले प्रत्यक्ष निर्वाचनमा हुने ‘मनी’ र ‘मसल’ को प्रभावलाई निस्तेज गर्नेछ, निर्वाचन मितव्ययी हुनेछ, दल र नेताहरूलाई जवाफदेही पनि बनाउनेछ। जातीय समानुपातिक प्रतिनिधित्व सहितको बन्द सूची प्रणाली अपनाउन सके सुनमा सुगन्ध हुन्छ।
• स्वयंसेवी जनप्रतिनिधिः आज धेरैको लागि राजनीति पेशा /जीविकाको माध्यम र कतिपयका लागि त व्यवसाय जस्तै बनेको छ। राजनीतिलाई शुद्धीकरण गर्न कम्तीमा १०/१५ वर्ष वा देश विकसित राष्ट्रको हैसियतमा नपुग्दासम्म केन्द्रदेखि स्थानीय तहसम्मका सबै जनप्रतिनिधिले अनिवार्य रूपमा ‘स्वयंसेवी जनप्रतिनिधि’ को अवधारणा अनुसार काम गर्ने संवैधानिक /कानूनी व्यवस्था गरिनुपर्छ । यसो गर्न सकिए राजनीति ‘कमाई खाने भाँडो’ को साटो ‘देश र जनताको सेवा गर्ने माध्यम’ मा रूपान्तरण हुँदै जानेछ।
• भ्रष्टाचार विरुद्ध कठोर कदमः भ्रष्टाचार भन्नाले आर्थिक तथा नैतिक अपराध र अख्तियारको दुरुपयोग मात्र हो भन्ने राष्ट्रिय मनोविज्ञान भत्काउन प्रथमत: भ्रष्टाचारीलाई संवैधानिक रूपमै देशद्रोही घोषणा गर्ने, न्यूनतम जन्मकैद र जति ठूलो पद उही अनुपातमा थप सजाय हुने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था हुनुपर्छ। अधिकार सम्पन्न, स्वायत्त अनि शक्तिशाली ‘भ्रष्टाचार उन्मूलन ब्यूरो’ र भ्रष्टाचारको मुद्दा फास्ट ट्रयाकमा हेर्ने छुट्टै अदालत संवैधानिक रूपमै व्यवस्था हुनुपर्छ ।
• दल/नेतालाई जवाफदेही बनाउने विधिः राजनीतिक दलहरूको चुनावी घोषणापत्र / प्रतिबद्धतापत्र अनुसार विजयी दलले काम नगरेको अवस्थामा सोही घोषणापत्रलाई आधार बनाई नागरिकले उक्त दल र दलका नेता विरुद्ध कानूनी कारबाहीको माग गर्न सक्ने (राइट टु कोर्ट) संवैधानिक व्यवस्था आवश्यक छ । यस्तो भएमा जनतालाई दिग्भ्रमित पारी चुनाव जित्ने दलको दर्ता खारेज वा केही समयसम्म निर्वाचन लड्न नपाउने जस्ता कानूनी सजाय हुन सक्नेछ, जसले दल र तिनका नेतालाई जवाफदेही बनाउनेछ । (तीन वर्षसम्म लेखा परीक्षण रिपोर्ट निर्वाचन आयोगलाई नबुझाउने दललाई खारेज गर्ने व्यवस्था त अहिले छदै छ।)
• ‘वर्ष पार्टी पुरस्कार’ को व्यवस्थाः दलको वर्षभरिका गतिविधि, नेताहरूको सार्वजनिक प्रस्तुति, पारदर्शिता, जनपक्षीय कार्यक्रम, लोकतान्त्रिक र स्वच्छ छवि आदिलाई मूल्याङ्कनको मानक बनाएर ‘वर्षको उत्कृष्ट दल’ को उपाधि र पुरस्कार दिने व्यवस्थाको थालनी हुनु आवश्यक छ । यसले दल र तिनका नेतालाई नैतिक दबाब पुग्नुका साथै राम्रो गर्ने प्रेरणा पनि प्राप्त हुनेछ। यसले राम्रो काम गरिरहेका तर विविध कारणले ओझेलमा परेका /पारिएका दलहरूलाई लोकप्रिय हुने अवस्था सिर्जना हुनेछ ।
लोकतन्त्र बलियो, परिपक्व हुँदै जान नागरिक चेतना र तदनुरुपको खबरदारी अनिवार्य छ । विगतमा अन्धस्वार्थ र द्रव्यमोहमा परेर सांसदहरूले भूतपूर्व भएपछि पेन्सन खान पाउने कानून संसद्बाट पारित गरेकै हुन्, जसलाई अदालतमा चुनौती दिएपछि खारेज गरियो । झण्डै दुई तिहाइ बहुमतको वाम सरकारले लाद्न खोजेको विवादास्पद गुठी विधेयक अन्तत: जनबलको दबाबमा फिर्ता भएकै हो। यसको अर्थ, जनता जागे विकतिलाई परास्त गर्न सकिन्छ ।
-हिमालकाे पाठक समीक्षा स्तम्भमा प्रकाशित् ।

Tuesday, January 25

खै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार ?-प्रकाश शर्मा ढकाल

नेपालको संविधानमा रहेको व्यवस्था तथा स्थानीय तहको निर्वाचन सम्बन्धी कानूनमा रहेको व्यवस्था एकापसमा मेल नखाएकोले सबैले आ-आफ्नो अनुकूलताको आधारमा यसको व्याख्या र विश्लेषणका प्रयास भइरहेका छन् । कानूनविद्हरू पनि यस विषयमा दलीय धारणाबाट प्रेरित भई व्याख्या गरिरहेको देखिन्छ । 

बहसहरू हेर्दा, सुन्दा कसैको चासो र सरोकारमा नपरेको देखिन्छ-विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकारको विषय । कुल मतदाताको ठूलो हिस्सा विदेशमा रहेका छन् । उनीहरूलाई मतदानको अधिकार विना वास्तविक रूपमा जनताको प्रतिनिधि छनोट हुनसक्ने देखिंदैन । निर्वाचनकै लागि नेपाल आउने भन्ने विषय व्यावहारिक पनि देखिंदैन । तसर्थ विद्यमान कानूनमा परिमार्जन गरी निर्वाचनमा मताधिकार दिइनु न्यायोचित देखिन्छ ।

किन मताधिकार ?

लोकतान्त्रिक राज्य प्रणालीमा कानूनी शासनको महत्वपूर्ण अर्थ रहेको हुन्छ । कानूनको शासनप्रति प्रतिबद्ध छु भनेर कानूनको शासनको परिपालना हुने विषय होइन । अन्य मूल्य र मान्यताका अलावा यसमा देशको सर्वोच्च न्यायिक निकाय अर्थात् सर्वोच्च अदालतका निर्देशन, फैसला आदेशको परिपालना भएको हुनुपर्दछ । विदेशमा बस्ने नेपाली मतदाताहरूको लागि निर्वाचनमा मतदानको अधिकारको प्रबन्ध मिलाउन निर्देशनात्मक आदेश सर्वोच्च अदालतले दिएको सन्दर्भमा सोको व्यवस्था मिलाउनु राज्यको कर्तव्य हुन आउँछ ।

मतदानको अधिकार मानवअधिकारको पहिलो पुस्ताको अधिकार मानिन्छ । नेपालको संविधानले नागरिकलाई नेपालको भौगोलिक सिमाना भित्र वा बाहिर रहेकै आधारमा कुनै प्रकारको भेदभावको नीति अंगीकार गरेको छैन । संविधानले दिएको अधिकार प्रयोगको वातावरण राज्यले नबनाउने हो भने संवैधानिक अधिकार निरर्थक र प्रयोजनहीन हुने मात्र होइन राज्यप्रति आम नागरिकको नकारात्मक धारणा विकसित हुँदै जान्छ भनिन्छ ।

राज्यले दिने कि नागरिकको अधिकार ?

विश्वभर आवधिक निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रूपमा स्वीकार गरिंदै आएको पाइन्छ । मतदान मार्फत आफ्नो शासक आफैं चुन्ने व्यवस्था अवलम्बन गर्ने देशहरूको संख्या बढ्दो छ । यसलाई मानवअधिकारको पहिलो पुस्ताको अधिकारको रूपमा लिइन्छ । नेपालको संविधानले पनि १८ वर्ष पुगेका नेपाली नागरिकलाई बालिग मताधिकारको अधिकारको प्रत्याभूत गरेको छ ।

सर्वोच्च अदालतले समेत सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । यस हिसाबले यो राज्यले दया-मायाको हिसाबले दिने अधिकारको विषय होइन । अर्थात् राज्यका लागि यो स्वेच्छिक विषय होइन । राज्यले चाहे उपलब्ध गराउने वा हटाउने विषय होइन । प्रत्येक नेपाली नागरिक १८ वर्ष पूरा भएपछि यो हकको उपभोग गर्न पाउनुपर्ने नै देखिन्छ । राज्यले त यो हकको सुनिश्चितता प्रदान गर्नै पर्दछ ।

अपूर्ण लोकतन्त्र

संसारभर अवलम्बन गरिएको लोकतन्त्रको अभ्यासले जनताबाट निर्वाचित सरकारद्वारा शासन सञ्चालन हुने भनी गुणगान गाइने भए पनि यो पद्धति आफैंमा अपूर्ण देखिन्छ । हाम्रो सन्दर्भमा त मतदानको लागि योग्य नागरिकहरूमध्ये एकतिहाइको हाराहारीमा विदेशमा रहेको अनुमान गरिएको छ । यसले कुल मतदाताको संख्या नै वास्तविकताबाट टाढा रहेको देखाउँदछ । मतदाता नामावलीमा नाम रहेका मतदातामध्ये पनि एक तिहाइ मतदाताले निर्वाचनमा भाग नलिएको विगतको अनुभव रहेको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको अनुपात पनि औसतभन्दा माथि नै रहेको छ । सदर मतमध्ये पनि सबैभन्दा बढी मत ल्याउने विजय हुने हुँदा व्यवहारमा सानो संख्यामा मत प्राप्त गर्नेले शासनमा सहभागी हुने अवसर प्राप्त गरिरहेको हुन्छ । यस्तो अभ्यास लोकतन्त्रका लागि चुनौती बनिरहेको छ । यस हिसाबले पनि विदेशमा रहेका नागरिकलाई मताधिकारको औचित्य पुष्टि हुने देखिन्छ ।

अदालतको आदेश

अधिवक्ता प्रेमचन्द्र राईविरुद्ध विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतले २०७४ चैत ४ गते सुनाइएको सर्वोच्च अदालतको फैसलामा भनिएको छ- ‘मतदान गर्ने अधिकार नागरिकको सार्वभौम अधिकार निहित मौलिक एवं प्रजातान्त्रिक अधिकार भएकोले सो अधिकार उपभोग गर्ने/गराउने प्रयोजनार्थ आवश्यक विधि निर्माण गर्ने दायित्व विधायिकाको भएकोले सोको प्रयोजनार्थ जो चाहिने आवश्यक व्यवस्था सहितको कानून निर्माणको लागि अविलम्ब संसद् समक्ष विधायिकी प्रक्रिया पूरा गरी विधेयक प्रस्तुत गर्नको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा आदेश जारी गरिदिएको छ । साथै अब हुने निर्वाचनहरूमा विदेशमा रहेका नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने सार्थक अवस्थाहरू सिर्जना गर्न आवश्यक स्रोत सामग्री, प्रविधि, संरचना तथा व्यवस्थापनको लागि आवश्यक तयारी गरी मतदान गर्न सक्नेसम्मको अवस्थाहरू सुनिश्चितता गर्न आवश्यक र उपयुक्त पहल गर्नु, गराउनू ।’

दलको बेवास्ता रहस्यमय

सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको भए पनि सरकार तथा निर्वाचन आयोगले निर्वाचन कानून निर्माणलाई प्राथमिकतामा राखेको देखिंदैन । विदेशमा रहेका नेपाली मतदाता भनेको राजनीतिक दलका विगतको क्रियाकलाप, घोषणापत्र तथा सम्भावित भावी योजना समेतको राम्रोसँग विश्लेषण गरी उपयुक्त उम्मेदवार छनोट गर्न सक्षम वर्ग हो । उनीहरू कुनै दल वा चुनाव चिहृन भन्दा पनि उम्मेदवार हेरेर मतदान गर्ने वर्ग पनि हो ।

यसरी बाहिर रहेका नेपालीहरू राजनीतिक दलका भ्रातृ संगठनमा आवद्ध नहुनेको संख्या उल्लेख्य रहेको पृष्ठभूमिमा बाहिर रहेका नेपालीको मत आफू अनुकूल नहुन सक्ने भय सबैजसो दलहरूमा रहेको देखिन्छ । आफ्नो जन्मथलो, परिवार छाडेर आधारभूत आवश्यकता परिपूर्तिकै लागि विदेशिनु परेका युवामा राजनीतिक दलप्रतिको वितृष्णाबारे पनि दलहरू जानकार रहेकै छन् ।

सरकार तथा आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्न अग्रसरता देखाउनुपर्ने थियो । विपक्षी दलहरूले सरकार माथि निरन्तर दावा सिर्जना गर्नुपर्ने थियो । वैकल्पिक राजनीतिक शक्तिको रूपमा दावी गर्ने दलहरूले पनि यो विषयलाई महत्व दिएको देखिंदैन । यो आफैंमा विडम्बना हो ।

अन्तिम समयमा त्यति सहज छैन

विदेशमा रहेका आफ्ना नागरिकलाई मतदानको अधिकार दिनुपर्ने विषयमा सैद्धान्तिक रूपमा सबै सहमत भए पनि विकसित मुलुक सबैले यसको व्यवस्था गर्न सकेको अवस्था भने छैन । साथै यो विषय कुनै राष्ट्रले एकलौटी रूपमा निर्णय गरेर मात्र सम्बोधन गर्ने वा हुने विषय पनि होइन । यो त कूटनैतिक रूपमा विदेशी मुलुकसँग समन्वय गरी निरुपण गर्नुपर्ने विषय पो हो ।

नेपाल बाहिर मतदान गर्ने व्यवस्था गर्दा निर्वाचनको सुरक्षा प्रबन्ध, मतदानको गोप्यता, निर्वाचन व्यवस्थापन, निर्वाचनको अनुगमन, विदेशमा हुने मतदान केन्द्रको संख्याको निर्धारण, निर्वाचन खर्च र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको पहुँच जस्ता विषयलाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ । संवैधानिक तथा कानूनी प्रावधान अनुसार निर्वाचन गर्नुपर्ने समय सँघारमा आइसकेको अवस्थामा यो विषयलाई उच्च प्राथमिकता दिन जरूरी छ । कूटनीतिक संवाद, कानून निर्माणलाई द्रुत गतिमा लैजानुपर्ने देखिन्छ ।

अबको कार्यदिशा

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सम्बन्धमा सरकारले राजनीतिक दलहरूसँग छलफल, संवाद गरी नीतिगत निर्णय गर्नु सबैभन्दा महत्वपूर्ण र पहिलो कार्यभार हो । यस निर्णयसँगै यसको व्यवस्थापनका अन्य क्रियाकलापहरूको शुरूआत हुने भएकोले यस प्रकारको निर्णयको सर्वाधिक महत्व रहेको हुन्छ ।

नेपाल बाहिर कति नेपाली छन् भन्ने सम्बन्धमा स्पष्ट तथ्यांकको अभाव देखिन्छ । विश्वभर छरिएर रहेका नेपालीको एकीकृत तथा खण्डीकृत तथ्यांक संकलन गर्नुपर्ने हुन्छ । यसको आधारमा निर्वाचन आयोगले मतदाताको रूपमा नामावली संकलनको कार्य अगाडि बढाउनुपर्ने हुन्छ ।

विदेशमा रहेका नेपाली नागरिक मतदाता मात्र हुने कि उम्मेदवार पनि हुन पाउने, विदेशमा प्रचारप्रसार गर्न पाउने वा नपाउने, पाउने भए के कसरी गर्न दिने ? भन्ने विषयलाई संघीय कानूनले समेट्नुपर्दछ । यस्तो अधिकार प्रत्यक्ष वा समानुपातिक वा दुवैमा भन्ने विषय कानूनमै स्पष्ट हुन जरूरी छ ।

विदेशमा रहेका नेपालीमध्ये कसलाई मतदानको अधिकार दिने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको छ । कानूनी रूपमा इजाजत वा स्वीकृति लिएर गएका नेपालीलाई मात्र दिने कि विविध कारणवश कानूनी मान्यता प्राप्त नगरेका नेपालीलाई पनि दिने भन्ने विषयको निर्क्योल गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा, संवैधानिक तथा कानूनी व्यवस्था अनुसार निर्वाचनको मिति सँघारमा आइसकेको अवस्था, निर्वाचन कानूनमा यस सम्बन्धी विषय समावेश नभए/नरहेको सन्दर्भमा कूटनीतिक संवाद तथा व्यवस्थापकीय पक्षलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । कानूनले अधिकार दिने तर उपयोग गर्न नपाउने अवस्था आउन नदिन सरकार, आयोग तथा राजनीतिक दलहरू विशेष चनाखो हुनुपर्दछ ।

https://www.onlinekhabar.com/2022/01/1069820