Monday, September 24

किन चाहिन्छ एकीकृत बस्ती ? - डा. जीवराज पोखरेल

नेपाल पुनर्निर्माण प्राधिकरणले १२ वैशाख, ०७२ को भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, काभ्रे तथा रामेछापका पाँच स्थानमा एकीकृत बस्ती विकास गर्ने घोषणा गरेको छ । ०४५ मा उदयपुुर केन्द्र भएर गएको भूूकम्पमा परी सात सय २१ को निधन भएको थियो ।
त्यसयता ७८ प्रतिशतजति भूकम्पप्रतिरोधक भवन निर्माण भए पनि एकीकृत बस्तीको परिकल्पनासम्म भएको थिएन । तर, ०७२ को भूूकम्पपछि यस्तो अवधारणा विकास हुुनुु सह्रानीय कदम हो ।
नेपालमा एकीकृत विकासको विगत :
नेपालमा एकीकृत विकास अवधारणा नयाँ होइन । पञ्चायतकालमै सन् १९७० को दशकमा २३ जिल्लामा एकीकृत ग्रामीण विकास परियोजनाको स्विट्जरल्यान्ड, संयुक्त राष्ट्र सहयोग तथा संयुक्त राष्ट्र विकास परियोजनाको सहायतामा आरम्भ गरिएको थियो ।
यसको उद्देश्य मुुख्यतः खाद्य उत्पादन तथा गैरकृषि रोजगारी वृद्धि गरी मानिसको जीवनस्तर उकास्नुु थियो । पारिस्थितिकीय सन्तुुलनलाई पुुनःस्थापना गर्नुु यसको अर्काे अभिप्रायः थियो । यसलाई बस्ती विकास, यसको सबलीकरण तथा अन्ततः दाताको बहिर्गमनजस्ता तीन चरणमा कार्यान्वयन गर्ने योजना थियो ।
पछि ९० को दशकमा नेपालको भूगोल धेरैजसो पहाडी भएको र यहाँका बस्तीका घर छरिएकाले ढल निकास, खानेपानी, तथा बिजुलीजस्ता सुविधा प्रदान गर्न असहज भएकाले सबै घरलाई एउटै स्थानमा निर्माण गर्नुपर्ने तथ्यलाई महसुस गरेर राष्ट्रिय योजना आयोगले यस विषयमा अध्ययन गराएर एक पुस्तिका पनि प्रकाशन गरेको थियो । तर, यसले मूर्त रूप लिन सकेन ।
एकीकृत विकासका अवयव :
अहिले फेरि एकीकृत बस्तीसम्बन्धी कार्यक्रम आरम्भ भएको छ । एकीकृत बस्ती विकासको मेरु भनेको दिगोपन हो । यो अहिलेको दिगो विकास लक्ष्यको दशकमा सान्दर्भिक पनि छ । यो अवधारणाको विकास मुख्यतः ब्राजिलमा सन् १९९२ मा एजेन्डा २१ र टर्कीमा सन् १९९६ मा आयोजना गरिएको ह्याबिटाट इन्टरनेसनल नामक विश्व सम्मेलनबाट भएको हो ।
एकीकृत विकासले पर्यावरणलाई प्रतिकूल प्रभाव नपर्ने गरी समुदायको आर्थिक तथा सामाजिक विकास गर्छ । यसका पाँच अवयव हुन्छन् । ती हुन् आवासको उपलब्धता, सामाजिक विकास, आर्थिक विकास, पर्यावरणीय व्यवस्थापन तथा सुशासन ।
एकीकृत बस्तीका आवास विभिन्न आय वर्गका आर्थिक हैसियतअनुसार हुनुपर्छ । कमजोर, निम्न, मध्यम तथा उच्च आय भएका सबै खालका मानिसलाई यस्ता बस्तीमा आवास उपलब्ध हुनुपर्छ । उदाहरणका लागि भारतमा निम्न आयका लागि २८ देखि ३८ वर्गमिटर, मध्यमका लागि ५६ वर्गमिटर र उच्च आय भएकाहरूका लागि ११६ वर्गमिटरका घरको व्यवस्था गरिएको हुन्छ ।
त्यसैगरी, कुनैकुनै आवास परिसरमा ७० प्रतिशत निर्बल समूहलाई, २५ प्रतिशत निम्न आय वर्गलाई, ३ प्रतिशत मध्यम र २ प्रतिशत उच्च आय वर्गलाई उपलब्ध गराइएकोे हुन्छ । यस्ता बस्तीमा ढल, खानेपानी, सरसफाइ तथा बिजुलीजस्ता आधारभूत सेवा प्राप्त हुन्छन् ।
एकीकृत बस्तीको नेपालमा सम्भावना :
भूूकम्पपछिको एकीकृत बस्ती विकास चीनमा उल्लेखनीय रूपमा गरिएको छ । सन् २००८ मा गएको सिचुवान प्रान्तको भूकम्पपश्चात् यो अभ्यास सियांग्रोङ, किन्जियाङ, सिकियो र लुचिमो एकीकृत योजना तथा एकीकृत निर्माण नामक दुुई शैलीको अनुसरण गरेर कार्यान्वयन गरिएको थियो ।
यसअनुुरूप सरकारले भवन निर्माण गर्ने र ती भवन पीडितको भवनसित साटासाट गरेर वितरण गरेको थियो । यसरी भूकम्पपीडितले मोटो रकम जम्मा गर्नुनपर्ने अथवा ऋण लिनुनपर्ने गरी सहजतासाथ भूूकम्पबाट प्रभावित भवनको साटो नयाँ भूूकम्पप्रतिरोधी भवन प्राप्त गरेका थिए ।
नेपालमा पनि यो अभ्यासलाई आफ्नो धरातलीय यथार्थअनुुरूप अलिकति परिवर्तन गरेर कार्यान्वयन गर्न सकिन्छ । हाम्रो देशको पहाडी भूभागमा शिरमा लेक, बीचमा कछाड र पुुछारमा बेसी रहेका छन् । कछाड जाडोमा न्यानो तथा गर्मीमा शीतल हुुने भएकाले परापूर्वकालदेखि हाम्रा पुर्खाले बीचको भाग अथवा कछाडमा बस्ती बसाएका थिए ।
जाडोमा बेसीमा चौपायालाई लैजाने र गर्मीमा लेकमा लैजाने चलन अहिले पनि विद्यमान छ । पहाडी भागमा बस्ती विकास गर्दा भूकम्प प्रभावित भवनको संख्यामा कछाडमा बस्ती विकास गरी भूूकम्पपीडितका भवनको साटोमा आदानप्रदान गर्न सकिन्छ ।
बस्ती विकास तथा रोजगारी :
बस्ती विकास गर्दा युुनेस्कोको सुझाबलाई ध्यान दिनु उपयुक्त हुन्छ । यस विश्व संस्थाले विकासका काम गर्दा संस्कृतिसम्मत हुनुपर्ने बताएको छ । बस्तीमा जुन संस्कृतिको प्राधान्य छ, त्यसैअनुुसार निर्माण गर्न सकिन्छ । उदाहरणका लागि बौद्ध संस्कृतिको प्राधान्य भए चार सुरमा चारवटा चैत्य अथवा स्तूूप निर्माण गरेर बस्ती विकास गर्नु उचित हुन्छ ।
पाटनमा यस किसिमको बस्ती प्राचीनकालमा विकास गरिएको थियो । लगनखेल, शंखमूल, पुुलचोक तथा ग्वार्काेमा चारवटा स्तूूप अहिले पनि विद्यमान नै छन् । त्यसैगरी हिन्दू संस्कृतिको बाहुल्य भएमा बस्तीको परिधिका आठ स्थानमा अष्टमातृका स्थापना गरी बस्ती विकास गर्न सकिन्छ । काठमाडौं, भक्तपुुर तथा पाटनमा यस्तो परिदृश्य अझै देखिन्छ ।
भूकम्प प्रभावित भवनको पुुरानै शैलीमा पुनःनिर्माण गरेर ती भवनमा कृषिमा आधारित मझौला उद्योग खोल्न सकिन्छ । पशुुपालन केन्द्र पनि स्थापना गर्न सकिन्छ । यस्ता केन्द्रमा भूकम्पपीडितले रोजगारी पाउन सक्छन् ।
पीडितका चौपायाबराबरको सेयर रहने गरी उद्योग सञ्चालन गरेमा उनीहरूमा अपनत्व जाग्छ । यस्तो बस्तीमा घर आवास कार्यक्रम सञ्चालन गरे पर्यटन पेसा पनि फस्टाउन सक्छ । विपद्ले विनाश गर्छ, तर विकासको ढोका पनि खोलेको हुन्छ । 
आयातीत सामग्री तथा विदेशी शैलीको अनुसरण गरेर बस्ती विकास गरियो भने यसले नेपालको परापूर्वकालदेखि विकास भएको आफ्नो पनलाई निमिट्यान्न पारिदिने भयावह दृश्य सिर्जना हुन सक्छ ।

No comments:

Post a Comment