Saturday, November 17

के हो लोकतन्त्र, के होइन-श्रीकृष्ण अनिरुद्ध गौतम

  • साँच्चै लोकतन्त्रकै बारेमा विमर्श गर्ने हो भने यस पद्धतिमा एउटै मान्छे दोहोर्‍याइ, तेहोर्‍याइ सत्तामा बसिरहन मिल्दैन, हुँदैन । नत दलको सत्तामा न राज्यको । न प्रदेशको न स्थानीयको । राज्यसत्ता एउटै, एकैथरी मान्छेले ओगटेर बसिरहन पाइँदैन । मानिस फेरिइरहनुपर्छ, नित्य नवीनता, नवज्ञान र नवजीवन लोकतन्त्रका आत्मगुणहरू हुन् ।
  • जेलाई आज लोकतन्त्र भनिन्छ अथवा भनिँदै र भनाइँदैछ, त्यो केवल निर्वाचनद्वारा शासक चुन्ने अभ्यासमा सीमित भएको छ । खास–खास मान्छेले जसरी–तसरी चुनाव जित्ने, रजगज गर्ने कलकलाउँदो जवानीमा राजनीतिमा पसेको मान्छे नब्बे कट्दा पनि प्रधानमन्त्री कि राष्ट्रपति भएर मर्न खोज्ने । यही पट्यारलाग्दो प्रथालाई नै लोकतन्त्र हो भनेर चिनाइएको छ, गलत हो यो । 
  • धेरै देश आज लोकतन्त्र भन्दाभन्दै आचरणमा चाहिंँ निर्वाचित तानाशाही (इलेक्टोरल डिक्टेटरसिप) बन्न पुगेका छन्, जहाँ राज्य सञ्चालकहरू शक्ति केन्द्रित गर्दै आफ्ना वरिपरि अभेद्य किल्ला खडा गरिरहेका छन् । 
  • लोकतन्त्रको आत्मा हो, वाणी स्वतन्त्रता, यही स्वतन्त्रता अहिले अर्घेलो भइरहेको छ । 
  • लोकतन्त्रमा सरकार बाँधिएको हुन्छ । यसमा सरकार कडा नियन्त्रण र अनुशासनमा रहनुपर्छ, ऊ आलोचना सहन र जवाफ दिन बाध्य हुन्छ । उत्तरदायी हुनुपर्छ, जनतालाई पाइपाइको हिसाब बुझाउनुपर्छ । किनभने सरकारले आफ्नो होइन, जनताको धनको प्रयोग गरिरहेको हुन्छ ।  त्यसैले सार्वजनिक पदधारण गर्नेको स्वतन्त्रता नागरिकका हातमा बन्धक हुन्छ । लोकतन्त्रमा सरकार नोकर हो, तलब खाने नोकर । नागरिक राज्यको मालिक हो, त्यसैले उसको वाणी स्वतन्त्रता निर्वाध हुन्छ ।
  • लोकतन्त्रमा कुनै खास राजनीतिक वर्ग हुनुहुँदैन । एकथरीले शासन गरिरहने शेष अरूचाहिँ शासित भइरहने प्रथालाई लोकतन्त्र भनिँदैन । वास्तवमा अरूले पालै नपाउने प्रथालाई रुढ, कर्मकाण्डी जडता भन्नुपर्नेमा लोकतन्त्र भनेर बदनाम गरिँदैछ । 
  • नेतृत्वबाट चाहिएको त प्रवचन होइन, भिजन हो, राजसी प्रस्तुति होइन, कार्यसूची हो, आसपास लस्कर होइन, कार्यक्रमको कार्यान्वयन हो । 
  • शासक र शासित एकैखाले मानिस नहुने प्रथा धेरै समय टिक्दैन । लोकतन्त्रमा शासितले शासकमा आफ्नो 
  • प्रतिविम्ब देख्नुपर्छ । लोकतन्त्रमा शासित, शासितै रहिरहने हुँदैन । शासक शासितका स्थानमा तथा शासित शासक बन्ने मार्ग खुला हुनुपर्छ । हाम्रोमा वास्तवमा लोकतन्त्र नभएर चुनावी दंगल अर्थात् कुस्तीजस्तो मात्र भएर रहेको छ ।

No comments:

Post a Comment