Showing posts with label आफैलाई माझ्ने वा खार्ने खुराकहरु. Show all posts
Showing posts with label आफैलाई माझ्ने वा खार्ने खुराकहरु. Show all posts

Tuesday, October 27

संवैधानिक अराजकताका चुनौती-श्रीहरि अर्याल

सुशासन र सदाचारका हिसाबले सरकार असफलताको बाटोतर्फ उन्मुख हुँदैछ। संविधानको कसीमा यो सरकारले गरेका केही महत्वपूर्ण तर संविधानको मर्मविपरीतका कामका विषय यहाँ उठाउन खोजिएको छ।
झुट बोल्नु सपथविपरीत
सपथ खानेले सत्य र निष्ठाका साथ कर्तव्य निर्वाह गर्ने प्रण गर्छन्। देशहितसँग सम्बन्धित अति संवेदनशील विषयमा बाहेक सत्तामा बस्ने जोकोहीलाई औपचारिक र अनौपचारिक रूपमा समेत जनतासामु झुट बोल्ने सुविधा हुँदैन। 
पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदसम्बन्धी विवादमा संसदीय समितिमा उभिएर आफ्नो बचाउ गर्दै महालेखा परीक्षकसँग सल्लाह गरेर रुपैयाँ भुक्तानी दिएको बताए। त्यसलगत्तै महालेखा परीक्षकले आधिकारिक रूपमा त्यसको खण्डन गरे। 
सामान्य मानिसले त झुट बोल्नु हुँदैन भने पद र गोपनीयताको सपथ खाएकोे मन्त्रीजस्तो राज्यको उच्च पदासीन सार्वजनिक पदधारण गरेको व्यक्तिले झुट बोल्नु सपथविपरीत हुन्छ।
प्रधानमन्त्रीले चाहे यी प्रश्नको उत्तर दिन सक्छन् मन्त्री अधिकारीलाई पदबाट बर्खास्त गरेर। पद्धतिसामु व्यक्ति केही होइन भन्ने सिद्धान्तको हेक्का छ भने प्रधानमन्त्रीले यस्तो कदम चाल्न सक्छन्। 
मन्त्री उत्तरदायी छैनन्
हाम्रो संघीय कार्यपालिका प्रधानमन्त्रीय प्रणालीमा आधारित छ। मन्त्री प्रधानमन्त्रीप्रति उत्तरदायी हुने व्यवस्था संविधानले गरेको छ। तर, कतिपय मन्त्रीले यसअघि पनि गलत तथ्यमा आधारित अभिव्यक्ति दिएर ठाडै झुट बोल्ने गरेका छन्। क्षेत्राधिकारभित्र नपर्ने निर्मला हत्याकाण्डका विषयमा रक्षामन्त्री ईश्वर पोखरेलले बोलेको बोलीले गृहमन्त्रालयको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्‍यो। यस विषयमा गृहमन्त्रीले कुनै प्र्रतिक्रिया जनाएनन्। 
शक्तिसन्तुलन खलबलियो
माथि उल्लिखित पृष्ठभूमिमा चौधरीलाई अदालतको आदेश उल्लंघन हुनेगरी कारागारबाट संसद् भवनमा लगेर सपथग्रहण गराइयो। यस घटनाले भर्खरै आएको संविधान घाइते भएको छ। संविधानअनुसार देशका प्रमुख खम्बा मानिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई मरक्क मर्काइएको छ। तीन अंगबीचको शक्तिसन्तुलन खलबलिएको छ। संवैधानिक व्यवस्थामाथि गहिरो चोट पुर्‍याइएको छ। तल उल्लिखित केही बुँदाले यसको थप पुष्टि गर्छ।
१. न्यायिक हिरासतमा रहेको थुनुवा अपराधी होइन तर मुद्दा किनारा नलागेसम्मका लागि अदालतको आदेशमा थुनिएको व्यक्ति हो। कारागार गृह मन्त्रालयअन्तर्गत भएपनि अदालतको आदेशले न्यायिक हिरासतमा राख्न पठाइएको थुनुवाको हैसियत अन्य बन्दीजस्तो होइन। अदालतको आफ्नो कारागार नहुने भएकै कारण चौधरीजस्ता थुनुवालाई सरकारी कारागारमा राखिएको हो।
 यस्तो थुनुवालाई अदालतको आदेशबिना सपथ ग्रहण गर्ने÷गराउने कृयाले अदालतको आदेशपालनामा सभामुख कृष्णबहादुर महरा चुकेका छन्। न्यायपालिका सत्तारुढ दल र संसद्को पेलाइमा परेको स्पष्ट हुन्छ। यस्तो संवेदनशील विषयमा न्यायपालिकाले अहिलेसम्म चुँसम्म नबोल्नु स्वतन्त्र न्यायपालिकाको अस्तित्वमाथि उत्पन्न भएको खतराको संकेत होइन र ?
. संसद् कानुन निर्माण गर्ने मूल थलो हो। सार्वभौभ जनताको सर्वोच्च प्रतिनिधि संस्थाका हैसियतले सरकारी कामकारबाहीको नियमनकारी भूमिका खेल्नुपर्ने प्रतिनिधिसभाका सभामुखले थुनामा राखेको त्यस्तो व्यक्तिलाई अनधिकृत रूपमा सपथ दिलाउनु संसद्कै अपमान हो। अदालतको मानमर्दन गर्नु हो। प्रधानमन्त्रीको निर्देशनअनुसार आफूले चौधरीलाई सपथ गराएको भन्ने सभामुखको सार्वजनिक अभिव्यक्तिबाट उनी पनि प्रधानमन्त्रीका लाचार छाया रहेछन् भन्ने पुष्टि हुन्छ। सभामुखको यस्तो व्यवहार कायम रहिरहे सदनको गरिमा धान्न उनी कति सक्षम होलान् ? प्रतिपक्षको साथ र सहयोग लिएर चलाउनुपर्ने सदन कसरी सुचारु हुन सक्ला?
दक्षिण एसियाली मुलुकमा जुनसुकै दल हुन् सत्तामा पुगेपछि जनतासँग टाढिने र सत्ताको मातमा प्रतिपक्षलाई विश्वासमा लिनुको साटो पेलेर जाने अपसंस्कृति बढेको परिपे्रक्ष्यमा सभामुखको भूमिका कति र कुन हदसम्म भरोसायोग्य होला ? लोकतन्त्रको भविष्य कसरी उज्ज्वल होला ?
. प्रधानमन्त्री संविधानको दायराभित्र रहेर मुलुक हाँक्ने कार्यकारी प्रमुख हुन्। चौधरी उनकै सरकारअन्तर्गत रहेको कारागारमा अदालतको आदेशबाट थुनामा रहेका व्यक्ति हुन्। चौधरीको थुनाको आधार र स्थितिका बारेमा प्रधानमन्त्री अनभिज्ञ छैनन्, उनले आफू अनभिज्ञ छु भन्न पनि पाउँदैनन्। प्रधानमन्त्रीको निर्देशनबाट थुनुवा चौधरीलाई सपथ गराउन लागेको भन्ने सभामुख महराको सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्रीले संसद्को गरिमामाथि हस्तक्षेप गरेको ठहर्छ। 
न्यायिक हिरासतमा रहेका व्यक्तिलाई सभामुखसमक्ष सपथग्रहण गराउन लगेको विषय पछि मात्र प्रधानमन्त्रीको जानकारीमा आएको भन्ने विषय गैरजिम्मेवारी अभिव्यक्तिभित्र पर्छ। यी र यस्ता गतिविधि हेर्दा प्रधानमन्त्रीबाट शक्तिको चरम दुरुपयोग भइरहेको प्रमाणित हुन्छ। प्रधानमन्त्रीबाट सभामुखको अधिकारमाथि हस्तक्षेप मात्र भएको छैन कारागारका हाकिमसम्मलाई पनि कारबाही नगरेका कारण उनले स्वतन्त्र न्यायपालिकाको आदेशको खिल्लीसमेत उडाएका छन्।
माथिका विवेचनाबाट के सिद्ध हुन्छ भने रेशम चौधरी सपथप्रकरणले शक्ति पृथकीकरणको सिद्धान्त थिलथिलो भएको छ। कानुनी राज्यप्रणालीमा आएको यो भूकम्पले हाम्रो शासन पद्धतिमाथि गहिरो चोट पुर्‍याएको छ।
अन्त्यमा, संवैधानिक निकायमा सत्तारुढ दल र सरकारको नकारात्मक प्रभाव देखापर्न थालेको छ। लोकसेवा आयोगको अधिकार कटौती गरी त्यसले अभ्यास गर्दै आएको कामलाई संकुचित बनाइँदैछ भन्ने खबर पनि सार्वजनिक भएको छ। महालेखा परीक्षकलाई वाइडबडी विमानप्रकरणमा झुटो बोलेर पर्यटनमन्त्रीले संसद्अन्तर्गतको बैठकबाट विवादमा तान्नु, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारका बीच हिमचिम बढ्दै गएको भन्ने आसयसहित आउने गरेका खबर लोकतन्त्रको सुखद् भविष्यका द्योतक हुन सक्दैनन्। 
यो सरकारको पालामा निर्वाचन हुने अवस्था नभएकाले निर्वाचन आयोग सरकारी छायामा परेको छ/छैन भन्नेतर्फ टीकाटिप्पणी गर्नु परेन। न्यायपालिकामा राजनीतिक छाया परे/नपरेको भन्ने कुरा यसपटकको संसदीय समितिमा प्रधानन्यायाधीशका लागि सिफारिस माननीय न्याधाधीशको प्रस्तुति र समितिका माननीय सांसदहरूका बीच भएका सवालजवाफबाटै प्रष्ट भइसकेको छ। दुईतिहाइ बहुमतको सरकारको छाया संवैधानिक निकायलगायत यत्रतत्र सर्वत्र पर्न थालिसकेको छ। लोकतन्त्रको पहरेदारी गर्ने जिम्मेवारी नागरिक समाजको काँधमा आइसकेको छ।

Wednesday, January 9

लोकसेवा आयोगलाई कमजोर बनाउने खेल-प्रा. कृष्ण पोखरेल

मुलुक संघीय शासनमा गएको र प्रदेशैपिच्छे प्रदेश लोकसेवा आयोगको व्यवस्था भएकाले यस ऐनलाई समयसापेक्ष परिमार्जन गर्नु त अपेक्षित नै हो । 
लोकसेवा आयोगका बहालवाला सदस्य अशोककुमार झाको चिन्तायुक्त टिप्पणी, जसमा भनिएको थियो– ‘यो विडम्बना नै हो कि संघीय गणतान्त्रिक परिवेशमा पनि लोकसेवा आयोग आफ्नो स्वायत्त संवैधानिक हैसियत जोगाउन संघर्षरत छ । यसलाई कार्यकारिणीको प्रभुत्वबाट उद्धार गर्न जे सक्नुहुन्छ, गर्नुहोस् ।’
मुलुकका अन्य अधिकांश सार्वजनिक संस्थाले आफ्नो गरिमा र साख गुमाएका वेला पनि जनताको विश्वास जित्न सफल इनेगिनेका सार्वजनिक संस्थामध्ये एक हो, लोकसेवा आयोग । 
आफ्नो वृत्तिको प्रारम्भ र अन्त्य नै लोकसेवा आयोगमा गर्ने आधा दर्जनभन्दा कम कर्मचारी हुन्छन् भने बाँकी सबै नेपाल सरकारबाट समय–समयमा सरुवा भई आउने–जाने निजामती कर्मचारी नै हुन् । 
यो अवस्थामा आयोगको गरिमा र साख बचाइराख्ने भनेकै  यसले  वर्षौं लगाएर बनाएका एवं विकसित गरेका ती पद्धति र प्रक्रिया हुन्, जसले यसको गोपनीयता, तटस्थता, कार्यकुशलता, निष्पक्षता र स्वच्छतालाई प्रत्याभूत गर्छन् । होइन भने भागबन्डामा नियुक्त हुने त्यस्तै पदाधिकारी अन्य कतिपय संवैधानिक निकायमा चाहिंँ विवादित हुन्छन् भने यहाँचाहिँ किन मर्यादित हुन्छन् र अन्यत्र दागी वा गन्हाएका मानिने तिनै निजामती कर्मचारी पनि लोकसेवा आयोगमा आउनासाथ कसरी अचानक दूधले नुहाएजस्ता हुन्छन् ? प्रश्न उठ्छ, यससँग त्यस्तो कुन जादुको छडी छ र यो चमत्कार सम्भव हुन्छ ? वस्तुतः यसले समयको अन्तरालमा विकसित गरेका ती पद्धति र प्रक्रियामै त्यो बल निहित छ, जसको अक्षरशः पालनले यसको विश्वसनीयता कायम छ ।
पुरानो ऐनमा आयोगमा कार्यरत कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिनुपर्ने व्यवस्था थियो । तर, प्रस्तावित ऐनको मस्यौदामा यो प्रावधान हटाइएको छ । अहिले प्रचलनमा रहेको यो प्रावधानको सम्बन्ध आयोगको कार्यकुशलता र स्वायत्ततासँग जोडिएको छ । आयोगमा बसेर काम सिकेको कर्मचारी आयोगको कार्यकुशलताको मेरुदण्ड हुन्छ । आयोगको कुनै संवेदनशील काम गरिरहेको त्यस्तो कर्मचारी हठात् सरुवा हुनु भनेको भइरहेको काममा बाधा पुग्नु र उसको कार्यतालिका बिग्रनु हो । आयोगको संज्ञानबेगर कुनै कर्मचारीको सरुवा हुनु भनेको आयोगको स्वायत्ततामा आँच पु-याउनु हो । फेरि त्यस्ता कर्मचारीको अनुभव र संस्थागत स्मृति नयाँ आउने कर्मचारीमा हस्तान्तरण गर्ने अवस्थाबाट समेत आयोग वञ्चित हुन्छ । 
अहिले प्रचलनमा रहेको पुरानो ऐनको दफा ८ मा स्वीकृति लिनु नपर्ने प्रावधानअन्तर्गत नेपाल सरकारले आयोगका लागि बजेटमा छुट्याएका विविध शीर्षकअन्तर्गतको रकम खर्च गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछैन र आयोगले त्यस्तो रकम प्रचलित कानुनबमोजिम खर्च गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । यस्तो विशेष व्यवस्था राख्नुको सम्बन्ध आयोगको कामको गोपनीयतासँग जोडिएको छ ।
वस्तुतः यस शीर्षकअन्तर्गतको रकम आयोगले दक्ष विज्ञलाई प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका जाँच्ने र सीप परीक्षणको काम लगाएबापत खर्च गर्छ । फेरि यसो गर्दा कामको शीघ्रताका लागि आयोगले समय–समयमा निर्णय गरेर पारिश्रमिक र सुविधा निर्धारण गर्न पाउने व्यवस्था राखिएको हुन्छ । कुन काम कुन विज्ञलाई  लगाइयो, त्यो नितान्त गोप्य राख्नुपर्ने विषय हो । यदि यो विषय सार्वजनिक भयो भने काम गर्नेलाई त दबाब पर्छ नै, स्वयं आयोगको गोपनीयता र विश्वसनीयतामा समेत गम्भीर असर पर्छ । परिणामस्वरूप यो खर्चका लागि अब आयोगले पटक–पटक अर्थ मन्त्रालयको स्वीकृतिको निगाहमा बस्नुपर्ने हुन्छ र कुन दक्ष विज्ञलाई के काम लगाइयो, त्यो पनि असमयमै सार्वजनिक हुने खतरा हुन्छ । 
पुरानो ऐनको दफा २१ मा थप सुविधा दिन सक्ने व्यवस्था रहेको छ । यो प्रावधानको प्रयोजन कार्यालय समयबाहेक आयोगका सदस्य, कर्मचारी वा अन्य व्यक्तिलाई काममा लगाउनुपर्दा आयोगले निर्णय गरेर थप सुविधामार्फत आयोगको कामलाई तीव्रता दिने कुरासँग जोडिएको छ ।  आयोगको काम छिटो छरितो गर्न साँझ–बिहान वा सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई काम लगाउने र आफूले निर्धारित गरेबमोजिमको कार्यतालिकाअनुसार समयमै काम  फत्ते गर्न यो प्रावधान राखिएको हो । 
कर्मचारीतन्त्रभित्र निजामती सेवामा कार्यरत वा सिफारिस भएका नयाँ कर्मचारी आयोगमा सरुवा वा पोष्टिङ भयो भने तिम्रो कुनै सोर्स थिएन र आयोगमा फ्याँकियौ भनेर टिप्पणी हुने गर्छ । यस्तो हतोत्साही हुनुपर्ने परिवेशमा  पुरस्कारको व्यवस्थाले पनि ठूलो प्रोत्साहन र उत्प्रेरक भूमिका खेल्छ । यसबाट आयोगका कर्मचारीमा ठूलो नकारात्मक प्रभाव पर्ने र तिनको कार्यकुशलतामा समेत असर पर्ने निश्चितै छ ।
हेर्दा सानातिनाजस्ता लाग्ने पुरानो ऐनमा भएका यी प्रावधानमाथिको यस्ता छेडछाड, लापरबाही वा चुकको सोझो सम्बन्ध आयोगको संवैधानिक स्वायत्ततासँग जोडिएको छ । वस्तुतः यसबाट आयोग कार्यकारिणीको प्रभुत्व वा निगाहमा रहनुपर्ने अवस्था आउँछ, जुन समय क्रममा साह्रै प्रत्युत्पादक हुने निश्चित छ । 

समायोजनको सकस - विशाल भारद्वाज

निजामती सेवामा करीब एक दशकको अनुभवले भन्छ, हाम्रो सार्वजनिक प्रशासनको खस्कँदो गुणस्तर र जनतामा उर्लंदो आकांक्षाबीच कत्ति पनि तालमेल छैन । धेरै खालका कमजोरी व्याप्त निजामती सेवाले राजनीतिक आश्वासनको प्रभावकारी कार्यान्वयन गर्न सकिरहेको छैन । कर्मचारीतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राजनीतिज्ञहरूकै हो । तर, जो प्रभावित हुने हो उसलाई थाहै नदिई कर्मचारी समायोजन सम्बन्धी कानून ल्याइनुले कर्मचारीतन्त्रप्रति राजनीतिक नेतृत्वको दृष्टिकोण स्पष्ट पारेको छ ।
कर्मचारीतन्त्र स्थायी सरकार पनि हो । यसमा आउने विचलनले राज्य संयन्त्रमा दीर्घकालीन प्रभाव पर्छ ।
मुलुकको भविष्य निर्माणका लागि जिम्मेवार संयन्त्रलाई सुदृढ नबनाउने हो भने नेतृत्वले दिने गरेको परिवर्तनको आश्वासन सधैं उधारो नै रहनेछ । 
आधारभूत चरित्र
तीव्र राजनीतिक परिवर्तनका बावजूद जनताले सुधारको अनुभूति गर्न नपाएको यथार्थ हो । राजनीतिक तहबाट कर्मचारीले सहयोग नगरेको, परिवर्तन र जनआकांक्षालाई आत्मसात् गर्न नसकेको जस्ता कारणले मुलुकको रूपान्तरण हुन नसकेको आरोप लाग्ने गरेको छ, जुन आंशिक सत्य हो । सँगै यो पनि सत्य हो कि, राजनीतिक तहबाट असीमित आश्वासन, कर्मचारीतन्त्रको अति राजनीतीकरण, अस्तव्यस्त स्रोत परिचालन र दण्डहीनताका माझ् संसारको कुनै कर्मचारीतन्त्रले जनअपेक्षा पूर्ति गर्न सक्दैन ।
लामो समयको संक्रमणकाल र तीव्र राजनीतिक परिवर्तनमाझ् कर्मचारीहरूले निर्वाह गरेको भूमिकाका कारण नेपालको निजामती सेवालाई संक्रमण व्यवस्थापनमा अब्बल नै मान्नुपर्छ । तर, अझै पनि संक्रमणकालीन चरित्रको वर्चस्व रहिरहनु भने उचित होइन । कानून भन्दा संक्रमणकालीन व्यवस्थाहरूको प्रयोग धेरै गर्नुपर्ने, निश्चित शासकीय पद्धति र प्रणालीभन्दा राजनीतिक निर्णयको आधारमा चल्नुपर्ने, कानूनलाई महत्व नदिने जस्ता संक्रमणकालीन अभ्यास अद्यापि कायमै छ । राजनीतीकरण झङ्गिएकै छ, दण्डहीनता घटेको छैन । यसमाथि अस्वाभाविक र मनगढन्ते राजनीतिक आश्वासनको चाङमा निजामती सेवा थिचिएको छ । प्रणालीमाथि व्यक्ति हावी हुने संस्कृतिले नेपालको निजामती सेवा कसरी व्यावसायिक हुनसकोस् ! कैयौं पटक राजनीतिक नेता/कार्यकर्ताबाट कर्मचारी कुटिंदा कानूनी प्रक्रियामा नगई मिलाउनतर्फ लाग्ने प्रवृत्तिले कर्मचारीमा उत्पन्न असुरक्षा अनुभूतिका कारण जिम्मेवारीबाट तर्कने स्वभाव विकास भएको देखिन्छ । यसबाट राजनीतिक ‘दादागिरी’ लाई प्रोत्साहन पुगेको छ ।
राजनीतीकरण मात्र समस्याको कारण चाहिं होइन, राजनीतिक हस्तक्षेप नहुने क्षेत्रको कार्यसम्पादन हेर्दा पनि निजामती सेवाको कार्यक्षमताको स्तर प्रष्ट हुन्छ । राजनीति संरक्षित निजामती कर्मचारी तथा दलालबीचको अदृश्य सम्बन्धले प्रशासन सुधारको प्रयास निष्प्रभावी देखिन्छ ।
यद्यपि नेपालको निजामती सेवाप्रति आकर्षण भने कायम नै छ । यसको मुख्य आकर्षण वृत्ति–विकास, पेन्सन र सेवा–सुरक्षा नै हो । त्यही सुरक्षा अर्थात् जागिर हत्तपत्त जाँदैन भन्ने भावनाले दण्डहीनता बढाएको मान्ने पनि कम छैनन् । 
अस्पष्ट अध्यादेश
प्रदेश र स्थानीय तहमा जिम्मेवारी र स्रोत पुगे पनि आवश्यक कर्मचारी नहुँदा सीमित कर्मचारीबाट अपेक्षित रूपमा सेवा प्रवाह हुनसकेको छैन । त्यसमाथि दुर्गम र विशेष गरी प्रदेश–२ का भारतसँग सीमा नाका जोडिएका स्थानीय तहमा कर्मचारी निकै कम छन् ।
अनुकूल कार्य वातावरण नभएको क्षेत्रमा कर्मचारी जान नमान्नु स्वाभाविक हो । तर, आवश्यक भएको जुनसुकै ठाउँमा पनि राष्ट्रसेवक कर्मचारी पुग्नै पर्छ  ।
अर्कोतिर कोही कर्मचारी सधैं असहज लागेका ठाउँमा खटिनुपर्ने कोहीले भने रोजेको र सुविधाजनक ठाउँ पाइरहने अवस्थाले राजनीतिज्ञ वा उच्च प्रशासकलाई रिझएर जागिर खानुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ आएको छ । यो अध्यादेशको स्वीकार्यता न्यून देखिएको छ । कर्मचारीहरू आन्दोलित भएका छन् र, आधिकारिक ट्रेड यूनियन समेतले अध्यादेशमा तत्काल सुधारको माग राखेको छ । अध्यादेशका प्रावधानहरूले उच्च प्रशासकको आम कर्मचारीप्रति संवेदनहीन मनोवृत्ति र कर्मचारीलाई जे गरे पनि हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच छर्लङ्ग पारेको छ । कर्मचारी समायोजनको आवश्यकतामा दुईमत नहोला तर; मूल विषय सुधार, सुशासन र समृद्धि हो जसबाट समायोजन अध्यादेश विचलित हुनुहुँदैन ।
‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ निजामती सेवा ऐनमा भएका वृत्ति–विकासका अवसरलाई संकुचित पार्ने गरी आएको छ । स्थानीय वा प्रदेशमा समायोजन भएका कर्मचारीलाई भोलिका दिनमा संघीय वा अन्य तहका सेवाका पदहरूमा आउने बाटो रहन्छ भनिए पनि अहिलेसम्म कुनै पनि सेवा गठनको कानून नबनेकोले पत्याउन सहज छैन । प्रदेशको माथिल्लो पद र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघबाट तोकिने व्यवस्था भएबाट प्रदेश तथा स्थानीय तहले आफ्नो प्रशासनयन्त्र निर्माणको व्यवस्था कसरी कार्यान्वयन गर्ने भन्ने अन्योल छ ।
अहिलेसम्म न त प्रदेश सेवा गठन भएको छ न स्थानीय नै । समायोजन गरेर पठाउने भनिएको सेवा र त्यसको शर्त तय नहुँदै कर्मचारी समायोजन गर्दा उनीहरूको सेवासुरक्षा, नियन्त्रण, अनुशासन र परिचालन कसरी हुने स्पष्टता छैन । अर्कोतर्फ हिजो कतिपय स्थानीय तहमा खटाइएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाएका उदाहरण छन्, जुन दोहोरिने सम्भावना छ । समायोजन भइहाले पनि दुर्गमका स्थानीय तह कसैले पनि नरोज्ने सम्भावना रहन्छ । यस्तो अवस्था आएमा ती स्थानीय तहहरूमा सेवा प्रवाह कसरी सुनिश्चित होला भन्ने अन्योल कायमै छ । संघले तयार गरेको संगठन र पद वर्गीकरणमा प्रदेशको चित्त नबुझेमा के हुने स्पष्ट छैन ।
निजामती सेवामा प्रवेश गर्दा कुनै पनि कर्मचारीले व्यावसायिक सेवा र सुरक्षाको सुनिश्चिततासँगै उपल्लो पदमा पुगेर अवकाश हुने सपना देखेको हुन्छ । विगतको कानूनी प्रावधान र अभ्यासलाई हेर्दा विशेष कारण बाहेक कुनै पनि कर्मचारीले त्यो अवसर प्राप्त गरेकै छ । तर अहिले जारी भएको समायोजन अध्यादेशले माथिल्लो पदका कर्मचारी समायोजन भएर जानु नपर्ने, संघमा समायोजन हुने कर्मचारीहरूले मात्र बढुवाको लागि अवसर प्राप्त गर्ने अवस्था देखिएको छ । प्रदेश तथा स्थानीय तहमा काम गर्ने कर्मचारीले हाल जुन पदमा समायोजन भएको हो सेवा अवधिभर त्यही पदमा रही अवकाश पाउने अवस्था छ । वृत्ति–विकासको अवसर प्राप्त भए पनि दरबन्दी र कार्यक्षेत्रको सीमितताको कारणले गर्दा त्यो अवसर पाउनु भन्दा अघि नै निवृत्त हुने सम्भावना छ ।
सम्भावित प्रभाव
समायोजन अध्यादेशले राजनीतिक नेतृत्वमा र प्रशासनिक नेतृत्वको आम कर्मचारीप्रति गहिरो अविश्वास र ईख समेत पैदा भएको देखाएको छ । अध्यादेश ल्याउँदा कर्मचारीसँग छलफल नगरेर कानून तर्जुमाको सामान्य सिद्धान्त पालना नगर्नु त्यसकै उदाहरण हो । यो अध्यादेश अनुसार पेलेरै कर्मचारी समायोजन गरिए समग्र प्रणालीगत उत्पादनमा ह्रास हुनेछ भने समायोजन विफल भए दण्डहीनता बढ्ने निश्चित छ । जसरी पनि घाटा लाग्ने गरी अध्यादेश आउनु दुःखद हो । 
अध्यादेश कार्यान्वयन गरिंदा पर्ने प्रभाव
  • ‘समृद्ध नेपाल सुखी नेपाली’ को सोच सफल पार्न खटिनुपर्ने कर्मचारी आन्दोलनमा उत्रनु पक्कै राम्रो होइन । ५८ वर्षसम्मको योजना बनाएर आएको व्यक्तिलाई भविष्यको चिन्ताले सताउनु समग्र सेवा उपभोगकर्ता र राजनीतिज्ञका लागि समेत सुखद होइन । समायोजन अध्यादेश र यसका अस्पष्ट व्यवस्था अन्योलको मुख्य स्रोत भएको छ । अन्योलले लागत बढाउँछ । केही समयदेखि स्थानीय तहमा सेवा प्रवाह हुनसकेको छैन भने सिंहदरबारमा पनि कर्मचारीहरू काममा लाग्न सकिरहेका छैनन् ।
  • अहिले कर्मचारीको संख्या अपर्याप्त छ । समायोजनमा छनोटको अवसर दिंदा स्वाभाविक रूपमा सुगम र सुविधा भएको स्थानीय तह वा प्रदेशमा चाप पर्नेछ । अहिले दुर्गममा खटिएका कर्मचारी सुगमतर्फ आउने छन् । सेवासम्बन्धी ऐन आइनसकेको र प्रदेश लोकसेवा गठन भइनसकेको हुँदा दुर्गममा रिक्त दरबन्दीहरू तत्काल पूरा हुने देखिन्न जसले लामो समयसम्म सेवा अवरोध हुने देखिन्छ ।
  • एकै दिन सेवा प्रवेश गरेका कर्मचारीहरूबीचमा संघ, प्रदेश वा स्थानीयको नाममा विभेद सृजना हुनेछ । बढुवा भएर माथिल्लो पदमा पुग्ने क्षमता भएको कर्मचारी त्यही पदमा खुम्चनुपर्नेछ भने बढुवा हुन नसक्ने सँगैको साथी संघको सचिव हुने अवस्था आउनेछ ।
  • कर्मचारीतन्त्रमा जोखिम लिन नचाहने प्रवृत्ति प्रमुख चुनौतीका रूपमा देखिएको छ । हिजो राजनीतिज्ञहरूबाट कुटाई खाँदा कानूनी उपचारमा नगई मेलमिलापको नाममा कर्मचारीको मनोबल घटाउने काम भएकै हो । अहिले पूँजीगत खर्च कम हुनुको एउटा मुख्य कारण ‘परेको वेला कसैले हेर्दैन किन जोखिम लिने’ भन्ने कर्मचारीको प्रवृत्ति भएको उदाहरण हाम्रासामु छ ।
  • समायोजन अध्यादेश जसरी ल्याइयो त्यो अवस्थाले आम कर्मचारीमाझ् भोलि ‘पेन्सन पाइँदैन’ भन्ने कानून पनि आउने हो कि भन्ने जस्तो आशंका जन्माएको छ । यस्तो प्रवृत्तिले कर्मचारीलाई संरक्षणमुखी बनाउँछ र परिणामस्वरुप प्रशासन सुधारका नीतिलाई नकार्ने र परिवर्तनमा अवरोध गर्ने प्रवृत्ति विकास हुन्छ ।
  • समायोजन भई नै हाले पनि यसले नतिजा राम्रो ल्याउने देखिंदैन । संघले मलाई पेलेर अन्यत्र पठायो भन्ने भावना विकास भयो भने संघ र अन्य दुई तहबीचको सहकार्यात्मक सम्बन्धमा निश्चित रूपले प्रभाव पर्नेछ, चाहे हीनताबोधले होस् वा ईखले । २५–३० वर्ष उमेरका अधिकृत र ३०–३५ वर्षका उपसचिव धेरै छन् जो आफ्नो जीवन यसै सेवामा समर्पण गर्न आएका हुन् । उनीहरूको वृत्ति–विकासमा अवरोध पुग्दा ३० वर्षे सेवा अवधिभर उनीहरूले उत्साहप्रद व्यवहार देखाउलान् ?
  • अध्यादेशको प्रावधानले संघको कर्मचारी जहाँ गए पनि प्रशासनिक नेतृत्वकर्ता हुने अवस्थाले यो प्रणालीले भोलिको दिनमा जटिलता ल्याउनेछ । स्थानीय तह गठनदेखि नै प्रमुख प्रशासकीय अधिकृतको विषय जटिल रहेको छ, जुन हालको समायोजन अध्यादेशले समाधान गर्न सकेको देखिंदैन । जान्ने र अनुभवी जति संघमा र भर्खरका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुनुपर्ने अवस्थाले क्षमता र अनुभवको वितरण राम्रो हुने देखिंदैन । पछि गएर संघका कर्मचारीहरू स्थानीय सवालसँग जानकार हुनै छाड्ने अवस्था आई संवेदनहीन हुन सक्छन् ।
  • नेपालमा ‍औपचारिक समन्वय प्रणाली अत्यन्त कमजोर छ । हिजो शाखा कार्यालय हुँदा त काम गराउन सहज थिएन भने अब संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच समन्वय झन् जटिल हुनेछ । संघीय जिम्मेवारीमा पर्ने तर स्थानीय तहबाट सेवा प्रवाह गरिदिनुपर्ने वा एकीकृत प्रतिवेदन प्रणालीबाट समग्र देशको प्रगतिको विश्लेषण गर्नुपर्ने जस्ता विषयमा काम गर्न सहज हुने छैन । नेपालमा संघ, प्रदेश र स्थानीय तहलाई ज्ञान, सीप, क्षमता, भावना र विकास संस्कारले जोड्ने भनेको अब कर्मचारीतन्त्रले नै हो । संघ बुझेको कर्मचारी प्रदेशमा, प्रदेश बुझेको कर्मचारी संघमा चाहिन्छ । तर प्रत्येक तहको एकाङ्गी कर्मचारीतन्त्रले पृथकीकृत हुने, समन्वयमा कमी आउने देखिन्छ ।
  • स्थानीयस्तरमा काम गरेको तथा प्रदेशको व्यवस्थापनमा सहभागी कर्मचारीले नै हो संघको कार्यजिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने । विगतमा जस्तै स्थानीयस्तरमा काम नगरेका सचिवहरूको कार्यसम्पादन राम्रो भएन भन्ने गुनासोलाई ध्यान दिने हो भने त विविध भूगोल र परिवेश बुझेको कर्मचारी नै राम्रो हुनुपर्ने हो तर, हालको अध्यादेशले एउटा तहमा काम गरेको व्यक्तिलाई अर्कोमा प्रवेश निषेध गर्ने देखिन्छ ।
अबको बाटो
संघीयताको कार्यान्वयनको बेलामा कर्मचारी समायोजन नै सकसको विषय बन्नु किमार्थ उचित होइन । समायोजन भनेको कर्मचारीको शारीरिक उपस्थिति मात्र नभएर उसको मनोबल, क्रियाशीलता र सृजनशीलताको उपस्थिति पनि हो । कार्यान्वयनलाई सही दिशातिर लैजाने हो भने योग्यता, क्षमता र अनुभवको न्यायोचित वितरण हुने गरी प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गर्नुपर्छ ।
तसर्थ संघ, प्रदेश र स्थानीय तह गठन भएको अवस्थामा नयाँ कानून बनाई कानूनबमोजिम पदपूर्ति भएका कर्मचारीहरूलाई तत्तत् निकायमा मात्र सरुवा, बढुवा साथै अवसरको ढोका खुला गरिदिने तर, विद्यमान कर्मचारीहरूको लागि नयाँ भर्ना बन्द गरी समायोजन गर्दै जाने र निश्चित अवधि सेवा गरेपछि जहाँ पनि सरुवा हुने, वृत्ति–विकासका लागि सबैलाई समान अवसर दिने कानून बनाई समायोजन शुरू गर्नु उचित हुन्छ ।
समायोजन निजामती सेवाबाट कुन सेवामा हुने भन्ने स्पष्ट हुनुपर्छ । तीन वटै तहका सेवाको गठन भएपछि मात्र समायोजनको समय आउँछ । तत्कालका लागि संघीय मन्त्रालय र कार्यालयको आकार व्यापक कटौती गरी कर्मचारीलाई निश्चित अवधिका लागि साविककै सेवासुविधा र वृत्ति–विकासका अवसर कायम राख्दै प्रदेशमा पठाउने गरी समायोजन गराउँदा प्रदेश र स्थानीय तहमा जान धेरैले इच्छा देखाउने छन् ।
हाल भएका कर्मचारीले आंशिक आवश्यकता मात्र पूर्ति गर्ने हुँदा प्रदेश लोकसेवा गठनतर्फ पहल गर्नु आवश्यक देखिन्छ । सरुवा र बढुवा समायोजनको विषयभन्दा सेवा सञ्चालन गर्ने ऐनबाट सम्बोधन गरिनुपर्दछ ।
जसरी कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न पाउँदैन सरकारले पनि गुपचुप कानून बनाउन र कर्मचारीको आत्मसम्मानमा आँच आउने काम गर्नुहुँदैन । तर, ‘कर्मचारी विवेकशून्य हुन्छन्’ भन्ने मान्यता राखेर ल्याइने विभेदयुक्त कानून कार्यान्वयनबाट आखिरमा दुःख जनताले नै पाउने छन् । तसर्थ अबको बाटो भनेको निश्चितता, जिम्मेवार र उच्च उत्पादकत्व भएको कर्मचारीतन्त्र निर्माणको हुनुपर्छ ।

Monday, January 7

मानवीय संवेदनामा चुकेको वैदेशिक रोजगार -सन्तोष अधिकारी

आप्रवासन अथवा बसाई सराई एक जटिल प्रक्रिया हो । यो अहिले संसारको सबैभन्दा जल्दो बल्दो मुद्दा बनिरहेको छ । बसाई सराईको सामाजिक, आर्थिक तथा सुरक्षा जस्ता बहुआयामिक प्रभाव हुने भएकोले पनि बसाई सराई व्यवस्थापनका लागि त्यसका सूक्ष्म तत्त्वहरू विश्लेषण आवश्यक हुन्छ ।
मानिसहरू विभिन्न कारणले आफू बसोबास गरिरहेको स्थान छाडेर कहीँ कतै जानुपरेको छ जुन स्थायी वा अस्थायी अनि ऐच्छिक वा बाध्यकारी बसाई सराई हुन सक्दछ। हुन त आप्रवासनको परिभाषामा कस्तो आप्रवासनलाई स्थायी वा अस्थायी र ऐच्छिक वा बाध्यकारी भन्ने विषयमा एकरुपता छैन।
अन्तर्राष्ट्रिय आप्रवासीहरूको सङ्ख्या विभिन्न अध्ययनको अनुमान भन्दा धेरै दरमा बढिरहेको छ। सन् २००३ मा गरिएको संयुक्त राष्ट्रसंघको अध्ययन र अनुमानले सन् २०५० मा अन्तर्राष्ट्रिय आप्रवासीहरूको सङ्ख्या २३ अर्ब हुने प्रक्षेपण गरेको थियो तर विद्यमान बसाई सराई वृद्धिदर प्रक्षेपण भन्दा धेरै भएकोले उक्त सङ्ख्या पहिले नै नाघिसकेको छ। पछिल्लो अन्तर्राष्ट्रिय तथ्याङ्क अनुसार संसारभरिका २४ अर्ब मानिसहरू आफ्नो देशभन्दा बाहिर बसोबास गरेको देखिन्छ, जुन सन् २००० मा करिब १५ अर्ब ५० करोड मात्रै भएको अनुमान गरिएको थियो।

अन्तर्राष्ट्रिय आप्रवासनको गन्तव्य र आकारमा विगतका वर्षहरूमा उतारचढाव आएको देखिएको छ। सामान्यतः: अन्तर्राष्ट्रिय आप्रवासन सँगसँगै विप्रेषण पनि जोडिएको हुन्छ। जसका सकारात्मक र नकारात्मक पाठाहरूका बारेमा अक्सर बहस भइरहेको हुन्छ।

नेपालको सन्दर्भमा श्रमका लागि विदेशिनेको हिस्सा र मुद्दा महत्त्वपूर्ण छ। स्वदेशमा बढ्दो युवा जनसङ्ख्या र बेरोजगारीले गर्दा बैकल्पिक उपायहरूको खोजीका क्रममा धेरैजसो युवाहरूले वैदेशिक रोजगारलाई सजिलो विकल्पको रूपमा स्विकारेको देखिन्छ। नेपाली युवाहरूको वैदेशिक रोजगारीको इतिहास त्यति धेरै पुरानो त छैन तथापि औपचारिक तथ्याङ्क भने खासै भेटिँदैन। करिब २०० वर्ष अघि पन्जाब लाहोरका तत्कालीन महाराजा रनजीत सिंहको सेनामा भर्ती हुनका लागि नेपाली युवाहरू जाने गरेको अवस्था नै सबै भन्दा पुरानो मानिन्छ। साथै सन् १८१६ को सुगौली सन्धि पश्चात् औपचारिक रूपमा नै नेपाली युवाहरू तत्कालीन इष्टइण्डिया कम्पनीमा सैन्य भर्ती हुने गरेको देखिन्छ।

अहिले धेरै नेपाली युवाहरू भारत, सिङ्गापुर र बेलायतमा गुर्खाजका रूपमा काम गरिरहेका छन्। साथै रोजगारीका लागि युवाहरू तिब्बतको भोट जाने कुरा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन काव्यले उजागर गरेको छ। सुगौली सन्धि अनुसार नेपाली र भारतीय नागरिकहरू विना कुनै कागतपत्र वा भिसा एकअर्काको देशमा निर्वाध आवत जावत गर्न पाउने प्रावधानले गर्दा पनि यकिन तथ्याङ्क तथा सूचनाहरू सङ्कलनमा समस्या आएको अनुमान गर्न सकिन्छ। सुगौली सन्धिले सेनामा मात्रै होइन व्यापार, व्यवसाय र रोजगारी गर्ने ढोका खोलिदियो। सन् १९८० को दशक पश्चात् खाडी राष्ट्रहरूको तेल अर्थतन्त्रको व्यापक विस्तार र नेपालमा पनि वैदेशिक रोजगारीलाई सहजीकरण गर्ने गरी वैदेशिक रोजगार ऐन २०४२ लागु हुनु पूर्व नेपाली युवाहरू रोजगारीका लागि भारत जाने प्रचलन थियो। यद्यपि, सन् १९९० को दशक पश्चात् युवाहरूको आकर्षण क्रमशः: भारतबाट अन्य मुलुक तिर सरेको देखिन्छ।
कारण र व्यवस्था जे जसो भए पनि बसाई सराई तथा आप्रवासनको आम्दानीले नेपालका धेरै परिवारको गुजारा चलेको छ। हुन त वर्तमान अवस्थामा कति नेपाली युवाहरू विदेशमा श्रम गरिरहेका छन् भन्ने भरपर्दो तथ्याङ्क सरकारसँग छैन र तथ्याङ्क व्यवस्थापनमा सरकार त्यति सचेत पनि छैन। विभिन्न स्रोतहरूको अनौपचारिक तथ्याङ्क अनुसार खाडी मुलुक, मलेसिया र भारतमा गरी करिब ३५ देखि ४५ लाख युवाहरू बिदेशिएका छन्। साथै ५ देखि १० लाख जति युवाहरू अध्ययन र व्यवसाय गर्न देश बाहिर छन्। साथै सरकारी प्रतिवेदनले पनि कुल जनसङ्ख्याको २० प्रतिशत मानिसहरू आफ्नो घर बाहिर रहेका छन्। अनि कुल युवाहरू मध्ये झन्डै आधा जसो हिस्सा विदेशिएको अवस्था छ। त्यसै गरी तेस्रो जीवनस्तर सर्वेक्षणको प्रतिवेदनले पनि ५६ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्ने गरेको छ। यसरी विदेशिएका युवाहरूबाट प्राप्त विप्रेषणले सम्बन्धितको गुजारा चल्ने मात्र होइन देशकै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएको विभिन्न सरकारी तथा गैरसरकारी अध्ययन प्रतिवेदनहरूमा पढ्न सकिन्छ।
नेपालले वार्षिक रु. ७ खर्ब भन्दा बढी विप्रेषण बापत रकम भित्राइरहेको छ जुन कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ हो। यसरी कुल गार्हस्थ्य उत्पादनको तुलनामा धेरै विप्रेषण प्राप्त गर्ने देशहरू मध्ये नेपाल तेस्रो ठुलो देश हो।

विदेशिने युवाहरू र तिनीहरूले पठाउने जनसङ्ख्याको महत्त्वपूर्ण हिस्सा भएको हुनाले अक्सर राजनीतिक वृत्तमा पनि चर्को बहसहरू हुने गर्दछ कि बसाइ सराइ व्यवस्थापन तथा विप्रेषणको प्रभावकारी लगानी सम्बन्धमा नीति निर्माण हुनुपर्दछ। सन् १९९० को दशकमा ऐन बने पनि विदेशिने क्रममा भने सन् २००० पछि अझ खास गरी सन् २००७ मा गणतन्त्रको स्थापना पश्चात् बढेको तथ्याङ्कले देखाउँछ।

सूचना तथा सचेतना

नेपाली कामदार तथा युवाहरूलाई वैदेशिक रोजगारीसम्बन्धी सीमित ज्ञान मात्र छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी निकायहरू तथा कामदार पठाउने निजी म्यानपावर कम्पनीहरू सम्भावित कामदारहरूलाई आवश्यक पर्ने आधारभूत सूचनाहरू दिने र आम जनतामा सचेतना जगाउने जस्ता क्रियाकलापमा पर्याप्त रूपमा सक्रिय देखिँदैन जसले गर्दा उनीहरू भन्ने गर्दछन् फलानो त भाग्यमानी रैछ राम्रो कम्पनीमा काम पायो अनि प्रमोसन पनि हुँदो रहेछ वा फलानो को त भाग्य नै खोटो। वास्तवमा वैदेशिक रोजगार ऐन बनेको तीन दशक बितिसक्दा पनि सम्बन्धित कामदारहरूलाई पर्याप्त सूचना नहुनु र सचेत नहुनु चैँ देशकै विडम्बना हो।

पर्याप्त सूचना र सचेतनाको अभावमा कामदारहरू विभिन्न एजेन्ट र म्यानपावर को भरोसामा बस्नु परेका छन् भने धेरै एजेन्ट र म्यानपावर कम्पनीहरू सेवा भन्दा पनि व्यापारमूलक भएकाले सबै सूचना कामदारलाई बताउँदैन र कामदारको शोषणको सिलसिला त्यैबाट सुरु हुन्छ। कतिपय कम्पनीहरूले त अनौपचारिक बाटोबाट कामदारलाई विदेश पठाइ मानव तस्करीसमेत गरिरहेको समाचार हाम्रो सामु धेरै देख्न सकिन्छ।

नीतिगत व्यवस्था

वैदेशिक रोजगार तथा आप्रवासनलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन २०४५ मा नै लागू भएको हो र यसलाई समय सापेक्ष बनाउन वैदेशिक रोजगार ऐन २०६४ ले प्रतिस्थापन गरेको छ। सरकारले निजी क्षेत्रलाई वैदेशिक रोजगारमा प्रोत्साहन गर्न वैदेशिक रोजगार ऐन २०६४ दफा ५ बमोजिम विभिन्न म्यानपावर कम्पनीहरूले कामदार छनौट र पठाउने इजाजतपत्र प्राप्त गर्न सक्ने प्रावधान बनाएको छ। साथै, नेपाल सरकारले सोही ऐनको परिच्छेद ७ बमोजिम नियमन तथा अनुगमन गर्ने र परिच्छेद ९ बमोजिम दण्ड सजायको ब्यहोरा उल्लेख भएको छ। यद्यपि, हालसम्म विभिन्न म्यानपावर कम्पनीहरूले ऐन बमोजिम काम नगर्दा पनि उनीहरूलाई दण्ड सजाय भएको विरलै सुन्न पाइन्छ।
त्यसै गरी नेपाल सरकारले वैदेशिक रोजगार प्रवर्द्धन गर्ने वा दुरुत्साहित गर्ने सरकारी नीतिमा पनि स्पष्टता छैन। उदाहरणका लागि आ.ब. २०७५/७६ को नेपाल सरकारको नीति तथा कार्यक्रम (बजेट वक्तव्य) को बुँदा नं. २२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी रोजगारीका लागि विदेशिनु नपर्ने व्यवस्था गर्ने नीतिको कुरा भएको छ भने सोही बजेट वक्तव्यको बुँद नं. २७ मा प्रत्येक प्रदेशमा वैदेशिक रोजगार सेवा स्थापना गर्ने नीति उल्लेख छ। त्यसै गरी चौधौँ योजनाले विप्रेषणको आम्दानीले वैदेशिक शोधान्तर व्यवस्थापन तथा गरिबी र मानव विकास सूचाकाङ्कहरुमा सुधार ल्याएको भनी प्रशंसा गरेको छ भने आर्थिक सर्वेक्षणले बढ्दो विप्रेषणले उपभोगमा वृद्धि भई आयात बढेको भनी आलोचना गरेको छ।
नेपाल सरकारले संस्थागत रूपमा जान चाहनेका लागि ११० वटा देशहरू तथा व्यक्तिगत प्रयास समेत गरी १६७ देशहरूमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ। तर कुन देशमा कस्तो जनशक्ति आवश्यक पर्दछ वा कस्तो जनशक्तिलाई रोजगारीका लागि पठाउने भन्नेमा ठोस नीति सरकारले बनाउन सकेको छैन।
संरचनागत व्यवस्था र कार्य जिम्मेवारी

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अनि वैदेशिक रोजगार विभाग स्थापना भएको छ जसले वैदेशिक रोजगारीसँग सम्बन्धी विभिन्न कृयाकलापहरु गर्ने जिम्मेवारी पाएको छ। नेपाल सरकार कार्य विभाजन नियमावलीले श्रम तथा रोजगार, अर्थ, परराष्ट्र, युवा तथा खेलकुद, गृह र शिक्षा र स्वास्थ्य तथा जनसाख्या मन्त्रालय गरी सात वटा मन्त्रालयहरू युवाहरू र रोजगार सम्बन्धी प्रत्यक्ष जिम्मेवारी भएको उल्लेख गरेको छ भने यी बाहेक कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग मन्त्रालयले पनि युवाहरूका लागि रोजगार व्यवस्थापन सम्बन्धी काम गरिरहेको देखिन्छ भने कतिपय कृयाकलापहरु दोहोरोपना आएको देखिन्छ।

विदेशिएका युवाहरूले विदेश तथा स्वदेशमा पाएको सास्ती र पाउनुपर्ने सेवा सुविधाका सम्बन्धमा सम्बन्धित निकायको ध्यान कम पुगेको देखिन्छ। बरु हरेक दिन औसतमा ३–५ वटा लासहरू स्वदेश भित्रिरहेको छ भने कार्यस्थलमा भएका श्रम शोषण, यौन शोषण, भेदभाव जस्ता अवस्थामा सरकारी पहल अपर्याप्त देखिएको छ। जसले गर्दा कामदारहरू सरकारी संयन्त्र र पहल सम्बन्धमा आम नैराश्यता देखिन्छ। कतिपय अवस्थामा कुन निकाय प्रमुख जिम्मेवार हो प्रस्ट हुँदैन वा एकापसमा समन्वय हुनुपर्नेमा नहुँदा सम्बन्धित कामदारले समस्या भोगिरहेका छन्।

सरकारका निकायहरू पनि त्यति सक्रिय देखिँदैनन् जुन हिसाबले ती कामदारले देशका लागि प्रत्यक्ष परोक्ष योगदान गरेका छन्। वैदेशिक रोजगारीसम्बन्धमा विद्यमान विभिन्न नीतिहरूमा पनि आर्थिक पाटोमात्र ध्यान दिन खोजेको जस्तो देखिन्छ। साथै, वैदेशिक रोजगारीलाई एउटा व्यवसायको रूपमा विस्तार गर्न खोज्दा कतिपय मानवीय संवेदनामा नीति नियमहरू चुकेको छ। नीति नियमले वैदेशिक रोजगारीको मुद्दालाई व्यक्तिगत रूपमा सम्बोधन गर्न सकेको छैन।

अन्तर्राष्ट्रिय श्रम बजार खुला प्रतिस्पर्धामा आधारित हुन्छ। अनि, हरेक मानिस अझै धेरै केही गरौँ र कमाऔँ भन्ने मानसिकतामा हुन्छन्। त्यसैले उनीहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा जानलाई रोक लगाउनु हुँदैन। जसका लागि नेपाल सरकार र सम्बन्धित निकायहरू सबैभन्दा पहिले आम मानिसमा वैदेशिक रोजगारीका विभिन्न विषयमा पर्याप्त सचेत गराउन गृहकार्य गर्नु आवश्यक छ। कामदारहरूको दक्षता अनुसार आम्दानी तथा अन्य सेवा सुविधा निर्धारण हुने भएकोले भाषा तथा तालिममा अभ्यस्त बनाउन पर्ने हुन्छ। विभिन्न देशहरूमा कस्ता खालका जनशक्ति आवश्यक पर्दछ सोही बमोजिम नेपालका कामदारहरूलाई तालिम प्राप्त बनाइ श्रम सम्झौता सके देशले अनि सम्बन्धित कामदारको परिवार लाभान्वित हुने थिए।

वैदेशिक रोजगारबाट सिकेको सीप र पुँजीलाई स्वदेशमा लगानी गरी स्वरोजगारका अवसरहरू सृजना गर्न सके अल्पकालिक लागि बढ्दो बेरोजगारी र व्यापार घाटा कम गर्न सघाउ पुग्ने थियो।

Sunday, January 6

यसरी गर्न सकिन्छ बैदेशिक रोजगारको व्यवस्थापन-साविर अन्सारी

  • गरिबी, स्वदेश भित्रै पर्याप्त रोजगारीको अभाव तथा कृषिजन्य उत्पादनमा खस्किँदो वातावरणलगायतका कारणहरुले नेपाली युवा जमात बैदेशिक रोजगारका निम्ति विदेशिने गरेको देखिन्छ। हाम्रो देशको आर्थिक तथा सामाजिक जीवनको एक अहम् हिस्सा बैदेशिक रोजगार बनिसकेको कुरामा अब दुईमत नहोला।
  • बैदेशिक रोजगारीकै योगदानको कारणले हाम्रो देशको गरिबी उल्लेख्य रुपमा घट्न थालेको छ। बिप्रेषणको अधिकतम् प्रवाहले गर्दा नै गाउँघरका अधिकांश परिवारमा स्वास्थ्य-शिक्षा जस्ता आधारभूत आवश्यकताको परिपूर्ति सजिलै हुँदै गएको प्रष्ट रुपले देख्न सकिन्छ।  
  • मुलुकभित्र रोजगारीका अवसर पर्याप्त मात्रामा सिर्जना हुन नसक्दा नेपाली युवा कामका लागि बिदेशिन बाध्य छन्। बर्षेनि साढे पाँच लाख जति युवा श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा आधाभन्दा बढी रोजगारीका लागि बिदेशिन्छन्। यसका साथैं गत वर्ष बैदेशिक रोजगारीबाट विप्रेषणका रूपमा करीब सात खर्ब रुपियाँ भन्दा बढी रकम भित्रिएकोबाट पनि बैदेशिक रोजगारीका महत्व आफैं स्पष्ट हुन जान्छ।
  • विश्व बजारको मानचित्रमा नेपाल एक सस्तो तथा अदक्ष कामदार उत्पादन गरी सप्लाई गर्ने देशको रुपमा परिचित रहेको छ।  नेपाली कामदार जस्तो सुकै पनि जोखिमयुक्त काम गर्नका निम्ति तयार भएकै कारणले गर्दा खाडी मुलुकमा नेपाली कामदारलाई प्राथमिकता दिएकोसमेत देखिन्छ।
  • देशकै एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एउटा द्वारबाट दैनिक १५ सयका दरले नेपाली युवाहरू बैदेशिक रोजगारका निम्ति उड्ने गरेका छन् भने अर्को द्वारबाट तिनै कामदारका दैनिक ४ वटा लाश बाकसमा बन्द भएर आउने गरेको तथ्याङ्कले पनि बैदेशिक रोजगारी कति सुरक्षित छ भन्ने कुरा बुझ्न गाह्रो छैन।
  • परदेशबाट घरायसी खर्चहरुको व्यवस्थापन गर्दा गर्दै बाँकी वर्षहरु बित्छन् र‌ आधा दशकपछि ने‌पाल फर्किँदा के‌ गर्ने‌ भन्ने‌ समस्या विकरालका रुपमा दे‌खिएको‌ हुन्छ।
संविधान तथा कानूनमा बैदेशिक रोजगार
  • हाम्रो देशको संविधानले प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ। बैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने कुरा संविधानमा उल्लेख छ। यसका साथैं बैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने कुरा संविधानको श्रम र रोजगार सम्बन्धी नीतिमा उल्लेख गरिएको छ।
  • यसका साथैं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा केही महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। ऐनले संविधानको श्रम र रोजगार सम्बन्धी नीतिद्वारा निर्देशित तथा अधिकारको सूचीको विस्तार गर्दै सुरक्षित बैदेशिक रोजगारी र बैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन, रोजगार सूचना केन्द्र व्यवस्थापन तथा सञ्चालन, बैदेशिक रोजगारीमा जाने श्रमशक्तिका लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन, बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सामाजिक पुन: एकीकरण, बैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोगजस्ता महत्त्वपूर्ण काम, कर्तव्य र अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ।
  • बैदेशिक रोजगारीले मुलुकको आर्थिक स्तरलाई मजबुत बनाए पनि प्रभावकारी व्यवस्थापन नगरे गम्भीर समस्या पर्ने देखिन्छ। हाम्रो देशको कूल ग्राहस्थ उत्पादनको करीब ३० प्रतिशत बैदेशिक रोजगारीले योगदान दिए पनि त्यस अनुसारको यो क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन राज्य तथा अन्य सरोकारवालाहरूको ध्यान त्यतातर्फ जान सकेको देखिंदैन।
  • शुरुवातदेखि नैं बैदेशिक रोजगारको क्षेत्र सुशासनका दृष्टिले सकारात्मक प्रभाव पार्नमा असफल रहेको देखिन्छ। यसको सकारात्मक प्रभाव ठगी, शोषण, मानव बेचबिखन जस्ता घटनाबाट ओझेलमा परेको देखिन्छ। त्यसैको परिणाम स्वरुप राज्यको तर्फबाटै बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित हुनुपर्ने अपेक्षा गर्नेको संख्या बढ्दो छ।
  • यसका सकरात्मक स्थिति नदेखेरै होला केही महिना अगाडि राष्ट्रिय मानवअधिकार आयोगले बैदेशिक रोजगारीमा जाने व्यक्तिको अधिकारलाई संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुका साथैं बैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउन, विदेशमा अलपत्र परेकालाई स्वदेश फर्काउन, गन्तव्य मुलुकमा स्वास्थोपचार सम्भव नभएको अवस्थामा सुरक्षित रूपमा स्वदेश फिर्तिको व्यवस्था मिलाउन र उनीहरूलाई प्रभावकारी स्वास्थोपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिएको थियो। यसका साथैं बैदेशिक रोजगारीसँग विभिन्न ऐन, कानुनको समयानुकूल संशोधन तथा श्रमिक भर्ना गर्ने एजेन्सी र एजेन्टका क्रियाकलापको पनि अनुगमन र नियमन गर्न समेत भनेको छ।
व्यवस्थापनको बाटो
  • बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले केही सकारात्मक प्रयास गरेको पनि देखिन्छ। तीन वर्ष अघिदेखि फ्री भिसा तथा फ्री टिकटको व्यवस्था गरेता पनि पूर्ण रूपमा लागू नभएकाले यसलाई व्यवस्थित बनाउन प्रयास गरिरहेको देखिन्छ। नेपाली कामदारको मुख्य गन्तव्य मुलुकका रूपमा रहेको मलेसियाको सरकारसँग श्रम सम्बन्धी भएको सम्झौताले पनि यसले सबैमा सकारात्मक भाव बढेर गएको छ। यसका साथैं कतारसँग पनि शून्य लागतमा कामदार पठाउने छलफल भईरहेको तथा युएईसँग श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको देखिन्छ। सँग-सँगै बैदेशिक रोजगारीका क्रममा देखिएको समस्या समाधान गर्न परराष्ट्र, गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बीच सहकार्य आवश्यक रहेको धारणा समेत बाहिर आएको छ।
  • तीनै तहका सरकारले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखे पनि कामका लागि बिदेशिनु नेपाली युवाको बाध्यता हो। देशबाट परदेशमा गएका नेपाली युवाले भोग्नु पर्ने समस्यातर्फ सरकारले पर्याप्त ध्यान दिनु आवश्यक छ। यसका लागि सरकारले विप्रेषण पठाउने आफ्ना नागरिकका हितका निम्ति गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने र श्रम सम्झौता भइसकेका मुलुकसँग पुनरावलोकन गरी समयानुकूल बनाउनु आवश्यक छ। यति काम गर्न सकियो भने नेपाली कामदारको सुरक्षा, मर्यादा तथा व्यवस्थापनमा ति देशले काम गर्ने छन्। सरकार–सरकारबीच मात्र कामदार नियुक्ति भए हालसम्म देखिएको निजी क्षेत्रहरुको शोषण पनि अन्त्य हुनेछ। यसका साथैं आफ्ना नागरिकलाई सीप सिकाएर‌ मात्र बैदेशिक रोजगार‌का निम्ति पठाउने नियम बनाउने भए अधिकांश समस्या स्वत् समाधान हुने थिए।
  • बैदेशिक रोजगारीसँग सम्बन्धित समस्याहरू स्थानीय तहबाटै सम्बोधन गर्ने व्यवस्था मिलाउन आवश्यक रहेकोसमेत देखिन्छ। बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित मर्यदित बनाउनका निम्ति स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। बैदेशिक रोजगार व्यक्तिको स्वेच्छिक निर्णयको विषय भएकोले सके स्वदेशभित्रै रोजगारीको अवसर प्रदान गर्ने र त्यो नभए जानेर, बुझेर, सीप सिकेर मात्र बैदेशिक रोजगारमा जानुपर्छ भन्ने कुरा स्थानीय सरकारले बुझाउन पर्छ। त्यस्तै, बैदेशिक रोजगारीका क्रममा हुने मानव बेचविखन, ओसारपसार तथा सबै प्रकारका शोषणजस्ता फौजदारी प्रकृतिका घटनालाई दण्डनीय कसुर बनाई त्यस्ता घटनाको छानबिन र अनुसन्धानको अधिकार स्थानीय प्रहरीको हुने गरी बैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न आवश्यक देखिन्छ।
  • यसका साथैं बैदेशिक रो‌जगार‌का निम्ति जाने प्रत्येक व्यक्त्तिको बैंक खाता स्वदेशमै हुनुपर्ने तथा विदेशमा गई सकेपछि आफूलाई चाहेको रकम बाहेक सम्बन्धित कम्पनीले पनि स्वदेशमा रहेको सोही बैंकमा जम्मा गर्ने व्यवस्था भयो भने गै‌र‌कानुनी रुपमा पै‌सा पठाउने‌ र‌ हुण्डीको समस्या‌ एकै‌पटक समाधान हुने‌ अवस्था बन्न सक्ने देखिन्छ। जसको परिणाम बैदेशिक रोजगारीका लागि जाने‌ कामदार‌हरु ठगिने धन्धाबाट पूर्ण रुपले जोगिएर व्यवस्थित हुनेछ।

Wednesday, December 5

सामाजिक सुरक्षामा नर्दिक नमुना-डोरनाथ अर्याल

  • संयुक्त राष्ट्रसंघका महासचिव संरक्षक रहेको दिगो विकास समाधान सञ्जालको प्रतिवेदनअनुसार संसारमा धेरै खुसी हुनेमा नर्दिक देशहरू अर्थात् डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेन सधैं अग्रस्थानमा छन् ।
  • सञ्जालको सन् २०१८ को प्रतिवेदनअनुसार फिनल्यान्ड सबैभन्दा बढी खुसी हुुने देश हो । उक्त प्रतिवेदनअनुसार खुसीको सूचकहरूमा सामाजिक सुरक्षा, आय, औसत आयु, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित समाज, विश्वास र उदारता आदि पर्छन् ।
  • यस वर्षको प्रतिवेदनमा बसाइँसराइलाई समेटिएको छ । हामी विकास र खुसीको सूचकांकमा पछाडि पर्नुको मुख्य कारण सधैंआफ्नो र परिवारका सदस्यहरूको भविष्यको स्वास्थ्य र शिक्षाको चिन्ता लिनु हो । भविष्यको जोहो गर्दागर्दै फुर्सद हुँदैन र पैसा पनि कहिल्यै पुग्दैन ।
  • अर्थशास्त्रको सिद्धान्तअनुसार देशले आम्दानी गर्न खर्च गर्नुपर्छ । खर्च भएपछि मात्र अर्थतन्त्र चलायमान हुन्छ । खर्च गर्नुभन्दा पनि भविष्यका लागि भन्दै जग्गाजमिन खरिद, बैंक ब्यालेन्स बढाउने कुरामा धेरै व्यक्तिको ध्यान गएको देखिन्छ । सत्तरीदेखि असी प्रतिशत कमाइ सन्ततिका लागि कमाएर आफू मरेर जाने चलन छ ।
  • डेनमार्कको एक प्रतिवेदनअनुसार साठी प्रतिशत मानिसले रकम सञ्चय गरेर राख्दैनन् । आफ्नो कमाइ मन फुकाएर खर्च गर्छन् । घुमफिर गर्छन् । समाज सेवामा खर्च गर्छन् । नर्दिक देशका कर्मचारी, नेता तथा अन्य सबै जनता बिदा मनाउँछन् । अनिवार्य बिदा लिनुपर्ने व्यवस्था छ । बिदाको दिन परिवारका सदस्यहरूसँग रमाइलो गर्छन् । त्यस दिन कुनै बैठक, सार्वजनिक समारोह तथा अन्य कार्यक्रम विरलै हुन्छन् । कार्यालय समय अघिपछि पनि काम गर्दैनन् ।
  • खुसीका विभिन्न सूचक भए पनि मेरो बुझाइमा सबैभन्दा महत्त्वपूर्ण सूचक भरपर्दो सामाजिक सुरक्षा हो । भविष्यको चिन्ता नभएपछि खर्च बढ्ने भयो । अनि आय, आयु बढ्ने, भ्रष्टाचार नहुने आदि स्वत: हुने भयो । यी देशमा भ्रष्टाचार अत्यन्त न्यून अर्थात् शून्यतुल्य छ । जनता इमानदारीसाथ, निष्फिक्री भएर राज्यलाई कर तिर्छन् । त्यही करको रकमबाट राज्यले भरपर्दो सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । अनि भविष्यलाई भन्दै किन थुपार्दै राख्नुपर्‍यो !
  • सामाजिक सुरक्षाको व्यवस्थापछि नै नर्दिक देशहरूले विकासमा फड्को मारेको देखिन्छ । डेनमार्कले सन् १८९१ मा वृद्धावस्थामा आर्थिक सहयोग दिने कानुनी व्यवस्था गरेको थियो । आइसल्यान्डले सन् १९०९, स्वीडेनले सन् १९१३, नर्वेले सन् १९३६ र फिनल्यान्डले सन् १९३९ बाट वृद्ध भत्ता, बिमा आदि व्यवस्था गरेर सामाजिक सुरक्षा व्यवस्था सुरु गरे । त्यसपछि यी देशले व्यापक आर्थिक तथा सामाजिक विकास गरे ।
  • नेपालमा सामाजिक सुरक्षाको व्यवस्था लागू गर्नु महत्त्वपूर्ण कदम हो । सबै व्यक्ति समुदायको हित हुने हुनाले यसको कार्यान्वयनमा सबैको साथ हुने देखिन्छ । योगदानमा पक्कै व्यापक सहभागिता हुन्छ । आम्दानी धेरै हुनेलाई कठिन हुने भएन, थोरै हुनेलाई यसले बढी फाइदा दिन्छ । जस्तो– दुर्घटना हुँदा, गम्भीर रोग लाग्दा वा अशक्त हुँदा जति लगानी गरे पनि प्राय: सबैले समान सुविधा पाउने प्रावधान हुन्छ ।
  • सधैं निवृत्तिभरणवाला सरकारी जागिरको पछि लाग्ने, लोक सेवाको तयारी गरेर बसिरहने युवायुवती पनि उद्योगधन्दा तथा अन्य निजी संस्था र अनौपचारिक क्षेत्रतिर विस्तारै आकर्षित हुनेछन् । सरकारी जागिरको मुख्य आकर्षण भनेको निवृत्तिभरण हो । योभन्दा बढी र भरपर्दो सुविधा अन्य निजी क्षेत्रमा काम गरे पनि आउने भएपछि सरकारी सेवाकै पछि लाग्ने जनशक्ति कम हुन्छ ।
  • यसबाट स्वदेशमै रोजगारी प्रवद्र्धन गर्न र नेपालको व्यापार, लगानी र पर्यटनमा समेत टेवा पुग्छ । सक्षम जनशक्ति आउँदा निजी क्षेत्रलाई पनि लाभ हुन्छ । सञ्चयकोषमा रकम जम्मा गर्ने वा निवृत्तिभरण पाउने कर्मचारीलाई पनि स्वैच्छिक रूपमा निश्चित रकम तोकेर सामाजिक सुरक्षा कोषमा सारी वा त्यही रकमलाई कोषको रकम मानी वा अन्य कुनै तरिकाले एकसाथ सामाजिक सुरक्षा व्यवस्थामा लान सकिन्छ । नर्दिक देशहरूमा जस्तै समानताका आधारमा घरमा काम गर्ने कामदारलगायत अनौपचारिक क्षेत्रमा कार्यरत सबै नागरिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा आबद्ध गरिनुपर्छ ।
  • योगदान गरिसकेपछि सरकारबाट दिइने सुविधा सरल, छिटो, निष्पक्ष, सुरक्षित र भरपर्दो गराउने संस्थागत र प्रशासनिक व्यवस्था गर्नु अत्यावश्यक छ । लगानी गरेका व्यक्तिहरूलाई सेवा लिन झन्झटिलो हुनु हुँदैन । प्राय: नर्दिक देशहरूमा पारिश्रमिक दिँदा करका रूपमा रकम काटिन्छ र त्यही रकमबाटै सामाजिक सेवा प्रदान गरिन्छ ।
  • यी देशमा व्यक्तिगत नम्बर पेस गर्नासाथ सुविधा लिन कठिन छैन । नेपालमा राष्ट्रिय परिचयपत्रसँग पनि यो सामाजिक सुरक्षाको व्यवस्थालाई आबद्ध गर्न सकिन्छ । सम्बन्धित संस्थाले सरकारलाई आनाकानी गरे कर्मचारी आफू स्वयंले सम्बन्धित संस्थामार्फत आवश्यक तथ्यांक उपलब्ध गराई आफू आबद्ध हुन र सामाजिक सुरक्षाको व्यवस्था भएका कम्पनीमा मात्र काम गर्न प्रेरित गर्नुपर्छ ।
  • डेनमार्कमा लागू गरिएको व्यवस्था हाम्रोमा जस्तै योगदानमा आधारित हो । यहाँ काम गर्नासाथ करमार्फत अनिवार्य योगदान गर्नुपर्छ । डेनमार्कमा सीपीआर नम्बर अर्थात् व्यक्तिगत नम्बर नभएसम्म उपचार गर्न वा कुनै पनि काम गर्न सकिँदैन । कसैले यो व्यक्तिगत परिचयपत्र नभई काम गरे वा काममा लगाए दुवै पक्षलाई निकै ठूलो जरिवानाको व्यवस्था गरिएको छ ।
  • यस परिचयपत्रलाई हेल्थ कार्ड वा पहेंलो कार्डका रूपमा पनि चिनिन्छ । अन्य नर्दिक देशमा पनि यस्तै खालको व्यवस्था छ । समृद्ध नेपाल, खुसी नेपालीको नारालाई साकार पार्न जनतालाई कसरी खुसी बनाउने भन्नेतर्फ पनि सरकारको ध्यान जानुपर्छ । जनता खुसी भए स्वस्थ पनि हुन्छन् । स्वस्थ जनशक्ति राज्यको खुसी हो र सरकारको दायित्व कमी हुनु पनि हो ।
  • https://www.kantipurdaily.com/opinion/2018/12/03/154380284176892482.html

को हुन्, महिला ?-उषाकिरण तिम्सेना

  • मान्छे सक्षम वा असक्षम कस्तो बन्छ, उसको लिंगले होइन, उस/उनलाई दिइने अवसरले निर्धारण गर्ने हो । तर कस्तो र कुन अवसर, बहसको अर्को विषय हो ।
  • ‘महिलाले पुरुषले भन्दा अतिरिक्त श्रम गर्नुपर्छ । गर्भवती हुने, बच्चा जन्माउले, दूध चुसाउने जस्ता काम उक्त श्रमभित्र पर्छ र त्यस काम महिलाले मात्र गर्नुपर्ने कुरा भने विशिष्ट हो ।’ त्यही विशिष्ट विषयलाई पितृसत्तावादले ‘आइमाईको थाङ्ने काम’ भनेर बुझ्छ । 
  • यता उग्र महिलावादीहरूले बच्चा जन्माउनुपरेको, दूध चुसाउनुपरेको कारण वा प्रकृतिले नै महिलालाई ठगेको भन्नेजस्ता कुरा गर्छन् । प्राकृतिक जिम्मेवारीका कारण महिला पछि परेका हुन् भनियो भने त्यसले निष्कर्ष दिँदैन ।
  • यता बच्चाको सरसफाइ, खानपान र हेरविचारको विषय सामाजिक कुरा हो । ती काम महिला वा पुरुष जसले निर्वाह गरे पनि हुन्छ । बराबर जिम्मेवारी बाँड्दा पनि हुन्छ । तर कुनै पनि कामले व्यावसायिकता हासिल नगरेको हाम्रोजस्तो समाजमा घरायसी कामलाई महिलाको निजी कामका रूपमा बुझिन्छ । महिला–पुरुषको शारीरिक भिन्नता प्राकृतिक हो । अन्य भिन्नता भने समाजले निर्माण गर्ने हो । तिनै भिन्नताले महिलाको सामाजिक स्तर निर्धारण गरेको हुन्छ ।
  • आजको मानव समाजले कम्तीमा दस हजार वर्ष गुजारेको छ । हामीले अभ्यास गरिरहेको महिला–पुरुष बीचको असमानतालाई लिंगीय हो भनेर बुझे समाजका अन्य विभेद र शोषक–शासित पनि जन्मजातै हुन् भन्ने निचोडतिर पुगिन्छ । त्यसो मान्ने हो भने महिला माथिको विभेद सामाजिक परिवर्तनको विषय हुन सक्दैन ।
  • बच्चा जन्माउनु उत्पादन र पुनर्उत्पादनको कुरा हो । त्यो शरीर संरचनासँग जोडिन्छ । स्त्री जातिका केही प्राकृतिक जिम्मेवारी तुलनात्मक रूपमा धेरै र सम्वेदनशील भएको सत्य हो । त्यो अनिर्वाय र विकल्परहित हो । 
  • जैविक विशेषताका आधारमै महिलामाथि पुरुष हावी भएको देखिन्छ । महिलाले बच्चा हुर्काउने र घरायसी काम एकैसाथ गरिरहेका हुन्छन्, तर ती कामलाई ‘काम’ ठानिँदैन । आजको पुँजीवादी उत्पादन प्रणालीमा प्रत्यक्ष नाफा आर्जनका लागि गरिने कामलाई मात्र उत्पादन ठानिन्छ ।
  • खास कुरा के हो भने प्रणालीको ‘भालेकरण’ जैविकता होइन, त्यो त मात्र सत्ताभ्यास हो ।’ 
https://www.kantipurdaily.com/opinion/2018/11/28/154337585544517851.html

सरकारी कार्यालय ‘भ्रष्टाचारको अखडा’ -सुनिल सापकाेटा

  • सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मचारीले लिने सपथको बेहोरा – म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु।
  • असोज १६ गते सरकारका मुख्यसचिवको निर्णयबमोजिम जनतालाई सुशासन दिलाउन र प्रशासन संयन्त्रलाई भ्रष्टारमुक्त वातावरणमा सञ्चालन गर्न हरेक दिन कर्मचारीले सपथ लिनुपर्ने व्यवस्था भएको हो।
  • सार्वजनिक सेवा प्रवाह गर्ने काठमाडौं र ललितपुरका १५ वटा सरकारी कार्यालयमा सेवा लिन पुगेका सात सयभन्दा बढी सेवाग्राहीले कर्मचारीमा भ्रष्ट मनोवृति कायमै रहेको बताए। उनीहरूसँग कर्मचारीको कार्यशैली र सेवा प्रवाहबारे सोधिएको थियो।
  • विभिन्न १५ वटा सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सेवा लिन पुगेका ७ सय १५ सेवाग्राहीसँग कुराकानी गर्दा ५ सय ४ जना अर्थात् ७० प्रतिशतले कर्मचारीलाई घुस दिएर मात्र आफ्नो काम गराएको बताए। सेवाग्राहीका अनुसार घुस खानेमा सबैभन्दा अघि नापी कार्यालयका कर्मचारी छन्। कम्पनी रजिष्ट्रारको कार्यालय र मालपोतका कर्मचारी पनि घुस लिने मामिलामा अग्रस्थानमै रहेको पाइएको छ।
  • नापी कार्यालय डिल्लीबजारमा सेवा लिन पुगेका ४५ मध्ये ३८ जना अर्थात् ८४ प्रतिशतले सेवा लिन कर्मचारीलाई घुस दिनुपरेको बताए। कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा सेवा लिन पुगेका ७० मध्ये ५४, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा सेवा लिन पुगेका ५० मध्ये ३८, मालपोत कार्यालय चाबहिलमा सेवा लिन पुगेका ५० मध्ये ३६, मालपोत कार्यालय कलंकीमा सेवा लिन पुगेका ४५ मध्ये ३७ र मालपोत कार्यालय मनमैजुमा सेवा लिन पुगेका ३५ मध्ये १९ जनाले काम गराउँदा कर्मचरीलाई घुस दिएको बताए।
  • ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष श्रीहरि अर्यालले मुलुक र जनताप्रति समर्पणको भाव नरहेसम्म प्रतिज्ञा र सपथ लिएर मात्र भ्रष्टाचार न्यूनीकरण नहुने बताए। उनले कर्मचारी नियुक्त हुँदाका बखत नै सपथ लिएकाले दिनदिनै सपथ रट्नुनपर्ने बताए। उनले लेखेर र प्रतिज्ञा गरेर मात्र घुसखोरी नरोकिने बताउँदै भने, ‘सपथ भनेको दाल भात खाएजस्तो हो र प्रत्येक दिन खानका लागि। पहिला कर्मचारीको आचरण सुधार्नुपर्छ। मुलुक र जनताप्रति समर्पणको भावना हुनुपर्छ। अनि मात्र भ्रष्टाचार रोकिन्छ।’
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत तथा नापी कार्यालायमा बिचौलियालाई सहज पहुँच नदिन निर्णय गरेर सम्बधित कार्यालयलाई परिपत्र जारी गरे पनि ती कार्यालयमा रहेका फाइल बिचौलियाले पल्टाएर हेरिरहेको देखिन्छ। अधिकांश सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा विचौलियाको बिगबिगी छ। 
https://nagariknews.nagariknetwork.com/news/63608/

Friday, November 30

अर्थ न बर्थको सामाजिक सुरक्षा कार्यक्रम-रमेश घिमिरे

  • सरकारले सामाजिक सुरक्षा ऐन, २०७५ अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा मंसिर ११ गते तामझामपूर्वक गरेको छ ।
  • नेपालको सन्दर्भमा ऐन, नियम र कार्यविधि बन्दैमा खुसी हुनु पर्दैन । २०६३ सालमा बनेको ज्येष्ठ नागरिक ऐन र २०६४ सालमा बनेको ज्येष्ठ नागरिक नियमावलीबमोजिमको सुविधा ज्येष्ठ नागरिकले अझैसम्म पाएका छैनन् । सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट र सिट आरक्षणको सुविधा यात्रा गर्ने ज्येष्ठ नागरिकमध्ये करिब १ प्रतिशतले प्राप्त गरेका होलान् ।
  • बालबालिकासम्बन्धी ऐन, २०४८ अनुसार बालअधिकारको संरक्षण अहिलेसम्म हुन सकेको छैन । 
  • अपांगता भएका व्यक्तिहरूको लागि भौतिक संरचना तथा सञ्चार पहुँचसम्बन्धी निर्देशिका, २०६९ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७५ जारी भएका छन् । एसियाली विकास बैंकले निर्माण गरेको काठमाडौंको फुटपाथमा टेकटायल बिछ्याइएको छ । 
  • श्रम ऐन, २०४८ अनुसार अधिकार र सुविधा प्राप्त गर्नबाट धेरै कामदार मजदुर अझै वञ्चित छन् । 
  • योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सिद्धान्ततः राम्रो कार्यक्रम हो । यसका लागि एक दशकदेखि प्रयास हुँदै आएको थियो । हरेक रोजगारकर्मीको मासिक तलबबाट १ प्रतिशत कर कट्टा गरी ५० अर्ब रुपैयाँको सामाजिक सुरक्षा कोष स्थापना भइसकेको छ । त्यो कोषबाट रोजगारकर्मीले सुविधा पाउने घोषणा सरकारले गरेको छ । नयाँ व्यवस्थाअनुसार अब कामदार कर्मचारीले तलबको ११ प्रतिशत र रोजगारदाताले १८.३३ प्रतिशत सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्नेछ ।
  • सरकारले मात्र लगानी गरेर सामाजिक सुरक्षा दिनु राज्यको दायित्व बढाउनु, विकास बजेटलाई खुम्चाउनु र चालू खर्च बढाउनु हो । त्यसैले व्यक्तिले आयआर्जन गर्न सकेको बेला गरेको योगदानबापत आय आर्जन गर्न नसक्ने बेला आर्थिक सुविधा प्रदान गर्नु राम्रो कुरा हो ।
  • विकसित देशमा योगदान गर्न सक्नेका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू छ भने योगदान गर्न नसक्नेका लागि सरकारले अनुदान दिएको छ । नेपालमा सरकारको योगदान छैन । 
  • सामाजिक सुरक्षामा भार बढाउँदा धनी भनिएका देशको अर्थतन्त्र पनि बेलाबेला खलबलिएको छ । नेपालले त्यसरी भार बढाउन सक्ने अवस्था छैन । 
  • सामाजिक सुरक्षामा सरकारको तर्फबाट कतिसम्म योगदान गर्ने भन्ने संवेदनशील विषय हो । नेपालमा संगठित क्षेत्रमा रोजगारीको अवसर पाउनेको संख्या थोरै मात्र छ । ठूलो संख्यामा श्रमशक्ति वैदेशिक श्रम बजार तथा बेरोजगार अवस्थामा छ । सरकारले अहिले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमले त्यो ठूलो समुदायलाई छुँदैन ।
  • नयाँ कानुनी व्यवस्थाले कानुनको पालना गर्ने निजी कम्पनीका लागि कर्मचारी खर्च वृद्धि गरेको छ अर्थात् उत्पादन लागत वृद्धि गरेको छ । कामदार कर्मचारीको सुविधा बढेबापत उत्पादकत्व पनि बढ्ने भए त रोजगारदाताका लागि पनि लाभदायक हुन्छ । नेपालमा श्रमिकको उत्पादकत्व अन्तर्राष्ट्रिय श्रम बजारमा तुलना गर्दा एकदमै कम छ । नेपालमा विदेशी लगानी पनि आकर्षित भएको छैन । लागत मात्र बढ्ने अवस्थाले लगानीलाई अझ विकर्षण गरी भएको रोजगारी पनि कटौती गर्न सक्दछ ।
  • नेपाल वायु सेवा निगम र नेपाल विद्युत् प्राधिकरणको बिजनेस सम्भाव्यता नभएका महँगा परियोजनामा अर्बौं रुपैयाँ जथाभावी ऋण लगानी गरेर आम सञ्चयकर्ता र बचतकर्ताको रकमलाई जोखिममा पार्ने तथा प्रतिफललाई न्यून बनाउने काम भइरहेको छ ।
http://karobardaily.com/news/idea/13257

Wednesday, November 28

गरिबीको मापन र मिथ्यांक-रमेश घिमिरे

  • अहिले गरिबी २१ प्रतिशत रहेको सरकारी अनुमान छ । ३० वर्षअघि गरिबी ४९ प्रतिशत रहेको थियो । नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ, तर सरकारले अहिलेसम्म कुन–कुन व्यक्ति गरिब हुन् भनेर परिचयपत्र दिन सकेको छैन ।
  • सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ । जीवनस्तर सर्वेक्षण लामो अन्तरालमा हुने हुँदा अन्य वर्षमा द्वितीय तथ्यांकका आधारमा गरिबीको अनुमान गरिन्छ । नेपालमा पछिल्लो जीवनस्तर सर्भे २०६८ सालमा सम्पन्न हुँदा गरिबी २५.२ प्रतिशत थियो । त्यसयताको तथ्यांक अन्य आर्थिक तथ्यांकका आधारमा विश्लेषण गरेर अनुमान गरिएको हो ।
  • तेस्रो जीवनस्तर सर्वेक्षण ७ हजार २० घरधुरीमा गरिएको थियो । सो सर्वेक्षणका आधारमा नेपालको कुल घरधुरी ५४ लाख २७ हजार ३ सय २ मा रहेको जनसंख्याको गरिबी अनुमान गरिएको हो । केन्द्रीय तथ्यांक विभागले पहिलो पटक २०५३ सालमा जीवनस्तर सर्वेक्षण गर्दा गरिबको जनसंख्या ४२ प्रतिशत थियो । त्यसभन्दा पहिले २०४५ सालमा नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा गरिबी ४९ प्रतिशत देखिएको थियो ।
  • नेपालमा भने ०.५ डलरभन्दा कम आम्दानी हुनेलाई गरिब मान्ने गरिएको छ । नेपालको पर्चेचिङ पावर प्यारिटी (पीपीपी) को आधारमा दैनिक ५३ रुपैयाँलाई मानिएको हो ।
  • विकसित मुलुकमा जस्तो जवान भएका छोराछोरीले नेपालमा अभिभावकबाट स्वतन्त्र जीवनयापन गर्दैनन् । नेपालको सन्दर्भमा कुनै परिवारमा एक जनाको आम्दानीमा सबै जनाको हक हुन्छ भने कुनै परिवारमा हुँदैन । 
  • पारिवारिक र सामाजिक संरचनाले पनि गरिबको गणना कसरी गर्ने भन्ने समस्या पर्छ । यस्ता समस्यालाई गरिबी मापनमा सम्बोधन गरिएको छैन ।
  • गरिब केलाई मान्ने भन्ने यकिन गर्न नै कठिन छ । गरिबको मापदण्ड निर्माण गरेपछि गणना गर्न कठिन छ । ठाउँ, परिवेश, देश र समयअनुसार गरिबीको मापदण्ड र मापन विधि फरक हुने गरेका छन्, जसले गर्दा नेपालमा अहिले कायम गरिबको तथ्यांक र विगतका तथ्यांकबीच तुलना गर्नु कति उचित हुन्छ भन्ने प्रश्न उठ्छ । त्यस्तै, नेपालको गरिबीलाई अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्न पनि कठिन छ । 
  • समग्रमा हेर्दा, सुखपूर्वक जीवनयापनबाट वञ्चित हुनु गरिबी हो । परम्परागत रूपमा हेर्दा सुख भनेको वस्तुहरूमाथिको अधिकार हो । त्यसैले जोसँग न्यूनतम थ्रेसहोल्डभन्दा माथिको उपभोग गर्ने क्षमता वा आयआर्जन छैन, त्यसलाई गरिब भनिन्छ । यस दृष्टिकोणले गरिबीलाई मौद्रिक रूपमा हेर्छ । 
  • गरिबीलाई उपभोगका प्रकार विशेषका आधारमा पनि परिभाषित गर्न सकिन्छ । जस्तो कि कोही आवास, कोही खाद्य वा कोही स्वास्थ्यको गरिब हुन सक्छ । गरिबीका यी आयाम प्रत्यक्ष मापन गर्न सकिन्छ । जस्तो कि कुपोषण वा साक्षरता दरबाट मापन गर्न सकिन्छ । 
  • अझ वृहद रूपमा हेर्दा, सुखीपन समाजमा क्रियाकलाप गर्ने व्यक्तिगत क्षमतामा केन्द्रित हुन्छ । एउटा गरिबसँग प्रमुख क्षमताहरूको अभाव हुन्छ, अपर्याप्त आय हुन सक्छ वा खराब स्वास्थ्य अवस्थामा हुन सक्छ वा शक्तिहीन महसुस गरेको हुन सक्छ वा राजनीतिक स्वतन्त्रताको अभाव हुन सक्छ । 
  • मुख्यत: गरिबभन्दा तल भनिएको थे्रसहोल्डसँग कसैको व्यक्तिगत आय वा उपभोग तुलना गरेर गरिबी मापन गरिन्छ । व्यक्तिसँग पर्याप्त खाना, बास, स्वास्थ्य सेवा वा शिक्षा छ ? भनेर हेरिन्छ । पोषण गरिबीको मापन बच्चाको शारीरिक विकास हेरेर गरिन्छ । शिक्षाको गरिबी कोही निरक्षर छ कि छैन भनेर हेरिन्छ वा उनीहरूले प्राप्त गरेको औपचारिक शिक्षाको आधारमा हेरिन्छ । 
  • अमत्र्य सेनले सन् १९८७ मा मानिसहरूमा सुख समाजमा क्रियाकलाप गर्ने क्षमताबाट आउँछ भने । मानिसहरूसँग मुख्य क्षमताहरूको कमी भएपछि अपर्याप्त आर्जन वा शिक्षा वा कमजोर स्वास्थ्य वा असुरक्षा वा कमजोर आत्मविश्वास वा शक्तिहीनताको अनुभव वा अभिव्यक्ति स्वतन्त्रताजस्ता अधिकारबाट वञ्चितीकरण हुन्छ । यसरी हेर्दा गरिबी बहुआयामिक परिवेश हो । 
  • गरिबको अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेबारे स्पष्ट र व्यवस्थित ढंगले सोच्न र नतिजामूलक कार्य गर्न विश्व बैंकले गरिबी न्यूनीकरण रणनीतिपत्र (पीआरएसपी) प्रक्रियालाई प्रोत्साहन गर्यो । त्यसलाई अंगिकार गर्दै नेपालले २०५४ सालमा दसौं पञ्चवर्षीय योजनालाई पीआरएसपीकै रूपमा तयार गर्यो । 
  • पीआरएसपीमार्फत राष्ट्रहरूले घरेलु गरिबी मापन गर्ने र गरिबी न्यूनीकरण गर्ने क्रियाकलापको सञ्चालन र पहिचान गर्ने अपेक्षा विश्व बैंकले गरेको थियो । पीआरएसपी प्रक्रियालाई बलियो प्राविधिक सहयोग आवश्यक पर्दछ । विश्लेषणात्मक सीपहरू र प्राविधिक ज्ञान दिने कार्यमा गरिब मुलुकहरूलाई विश्व बैंकले सहयोग गरिरहेको छ । 
  • गरिबी निवारणको सन्दर्भमा आर्थिक वृद्धिलाई पहिलेदेखि नै महत्व दिइँदै आएको छ । उच्च औसत आयले गरिबी कम गर्न पक्कै सहयोग गर्छ, यसले गरिबलाई सशक्तीकरण गर्न सहयोग हुन सक्छ वा जोखिमविरुद्ध उनीहरूलाई सुनिश्चितता प्रदान गर्न सक्छ अथवा विशेष कमजोरीहरूलाई सम्बोधन गर्न सक्छ । 
  • गरिबी असमनाता वा जोखिमयुक्तता (भलनेराबिलिटी) सँग सम्बन्धित हो तर फरक हो । असमनाता भनेको स्रोतको असमान वितरण हो । भलनेराबिलिटी भविष्यमा गरिबीमा पर्न सक्ने जोखिम हो । यदि मानिस अहिले गरिब छैन भने पनि खडेरी, कृषि मूल्यको ह्रास, वित्तीय संकटजस्ता पीडाहरूबाट प्रभावित हुन सक्छ । त्यस्तो मानिस पछि गरिब बन्न सक्छ । जोखिमयुक्तता सुखीपनको एउटा मुख्य आयाम हो । यसले लगानी, उत्पादन प्रकरण, व्यवस्थापन रणनीतिको सन्दर्भमा प्रभाव पार्छ । 
  • गरिबी मापन गर्न समय, मेहनत र पैसा लाग्छ । घरधूरीबाट प्रत्यक्ष तथ्यांक सर्भे गरेर मात्र यसको सही मापन हुन सक्दछ । गरिबी मापन गर्नुपर्ने चार उपयुक्त कारण छन् । रेभालियनले १९९८ मा भनेका छन्, एउटा विश्वासिलो गरिबी मापन गरिबको जीवन अवस्थामा नीति निर्माताको ध्यान आकर्षित गर्ने शक्तिशाली हतियार हुन सक्छ । गरिबहरू तथ्यांकीय रूपमा अदृश्य छन् भने गरिबलाई बेवास्ता गर्न सकिन्छ । यसर्थ गरिबी मापन आर्थिक र राजनीतिक एजेन्डाका रूपमा देखिनलाई आवश्यक पर्छन् । 
  • दोस्रो कारण, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हस्तक्षेप गर्न हो । गरिब को हुन् भन्ने पहिचान नभई कसैले गरिबलाई सहयोग गर्न सक्दैन । गरिबी प्रोफाइलले क्षेत्र, ग्रामीण सहरी, तराई, पहाड भूगोलका आधारमा गरिबीको भिन्नता थाहा पाउन आवश्यक पर्छ । त्यस्तै, सामुदायिक चरित्रहरू जस्तै : एउटा स्कुल भएको र अर्को नभएको समुदाय र घरधुरी चरित्रहरू जस्तै : घरमूलीको शिक्षा, घरधूरीको आकार पत्ता लगाउन गरिबी प्रोफाइल आवश्यक पर्छ । 
  • गरिबी प्रोफाइल गरिब क्षेत्रलाई विकास स्रोत लक्षित गर्ने प्रयासलाई समर्थन गर्न सबैभन्दा महत्वपूर्ण प्रयोग हुन्छ । जस्तो कि कृषि क्षेत्रमा आर्जन सिर्जना क्षमता बढाउनुपर्छ भन्ने यसैबाट थाहा हुन्छ । गरिबी र शिक्षाको सम्बन्ध विशेष महत्वपूर्ण हुन्छ । किनकि गरिबी घटाउन र आर्थिक वृद्धि बढाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । राम्रो शिक्षितको राम्रो आय हुन्छ र उनीहरू गरिब हुने सम्भावना न्यून हुन्छ ।
http://karobardaily.com/news/idea/12954

उद्योग दिवसको सान्दर्भिकता र विद्यमान औद्योगिक समस्या -कृष्ण रिजाल

  • नेपालमा प्रथमपटक उद्योग परिषद्को स्थापना भएको मिति ९ मंसिर १९९२ लाई आधार मानी हरेक वर्ष ९ मंसिरलाई उद्योग दिवस मनाउने घोषणा गरिएको हो । उद्योग दिवसलाई केबल कर्मकाण्डी मात्रै बनाइँदै आएको छ । 
  • उद्योग क्षेत्रमा नीतिगत र कानुनी जटिलता छ । बौद्धिक सम्पत्ति, कालाबजारी, आयात–निर्यात व्यापारलगायत सम्बन्धी कानुन तीन–चार दशक पुराना छन् । भएका नीति र कानुनको पनि कार्यान्वयन भएको छैन । औद्योगिक व्यवसाय ऐनले विभिन्न छुट दिएको छ, तर उद्योगले पाउन सकेका छैनन् । यसर्थ, उद्योग प्रवद्र्धनका लागि नीति र कानुनी सुधार आवश्यक छ ।
  • अहिले उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो छ । त्यसैले कतिपय उद्योग छाडेर व्यापारमा पनि गइरहेका छन् । यसलाई रोक्नुपर्छ । उद्योग सञ्चालनलाई सहज बनाउनुपर्छ । उद्योग भनेको दीर्घकालीन रूपमा कर तिर्ने क्षेत्र पनि हो ।  
  • उद्योग स्थापना, सञ्चालन र खारेजीसम्मका प्रक्रियालाई सरल बनाइनुपर्छ । पूर्वाधारहरू स्थापना गर्नुपर्छ । यस्ता औद्योगिक प्रवर्द्धनका काम नगरेसम्म उद्योग दिवस बनाएर मात्रै केही हुँदैन ।
  • अहिले उद्योग क्षेत्रमा मुख्य चारवटा समस्या छन् । यसमा विद्युत्, अस्थिर नीति, बैंकमा देखिएको लगानीयोग्य तरलताको अभाव र उच्च ब्याजदर अनि पूर्वाधार अभाव पर्दछन् । 
  • उद्योगमा सरकारको नीति पनि अस्थिर छ । कहिले भ्याट फिर्ता सुविधा दिन्छ, कहिले सुविधा कटौती गरिदिन्छ । सरकारले कहिलेसम्म र के कस्ता छुट सुविधा दिने भनेर स्थिर नीति बनाउनुपर्छ ।  
  • औद्योगिक पूर्वाधार अभाव त उद्योगको दीर्घ रोग नै हो । हामीसँग ठूला र पार्यप्त औद्योगिक क्षेत्र नहुँदा उद्योगहरू खुल्न सकेका छैनन् । खानीमूलक उद्योगमा खानीको उपयोगका बारेमा पनि केही समस्या छन् । 
  • नेपालको इतिहास निर्माण भएदेखि नै देश औद्योगिकीकरणको चरणमा प्रवेश नै गरेको छैन । छिटपुट आफ्नै हिसाबले उद्योग स्थापना हुने, नयाँ आउने पुरानो बन्द हुने क्रम पनि चलिरहेकै छ । तर, व्यापक रूपमा उद्योग स्थापना हुने चरणमा हाामी प्रवेश गरेका छैनौँ । औद्योगिकीकरणमा प्रवेशका लागि सबैभन्दा पहिला हाम्रा उत्पादनको लागत घटाउन तथा उत्पादनलाई प्रतिस्पर्धी बनाउन निश्चित समयसम्मका लागि सरकारले विशेष सहयोग गर्नुपर्छ ।
  • पूर्वाधार निर्माण, भन्सार छुट, कर छुट, प्रविधि हस्तान्तरणमा सहयोग, आत्मबल विकास, वित्तीय पहुँच बढाएर हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।  
  • सबैभन्दा महत्वपूर्ण कुरा अद्यावधिक तथ्यांक हो । हाम्रो सरकारसँग उद्योगका बारेमा तथ्यांक छैन ।
http://www.nayapatrikadaily.com/2018/11/25/117957/

‘लेभियथन’ प्रधानमन्त्री-अच्युत वाग्ले

  • प्रधानमन्त्री केपी ओलीले पद सम्हालेको डेढ महिना नबित्दै महान्यायाधिवक्ता कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका आधा दर्जन राष्ट्रिय महत्त्वका कार्यालयलाई आफ्नो कार्यालय मातहत ल्याउने निर्णय गरे । भर्खरै उनले राष्ट्रिय गौरवका आयेजनाहरू पनि आफ्नै कार्यालय अन्तर्गत ल्याउने आदेश दिएका छन् ।
  • जबकि यस्ता अयोजनाको सर्वेसर्वा प्राधिकार पाएको राष्ट्रिय लगानी बोर्ड उनकै अध्यक्षतामा छ । सारमा उनले अहिले नै असरल्ल प्रधानमन्त्री कार्यालयलाई आकार र शासकीय अधिकारको(अति) प्रयोगका दृष्टिमा दानवीय वा ‘लेभियथन’ स्वरुप दिने अभिष्ट राखेका छन् ।
  • बेलायती दार्शनिक थोमस हब्सले सन् १६५१ मा प्रकाशित कालजयी पुस्तकमार्फत राज्यको ‘लेभियथन’ चरित्रको अवधारणा प्रस्तुत गरेका हुन् । यो अवधारणा अनेकौं फरक कोणबाट अझै सनातन बौद्धिक बहसमा छ । उनले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने शासनलाई राजतन्त्र, कुलीनतन्त्र र लोकतन्त्र तीन वर्गमा बाँडे ।
  • सामाजिक सम्झौता सिद्धान्तका प्रणेता उनले बाह्रवटा शासकीय सूत्र पनि सिफारिस गरेका छन् । ‘लेभियथन’को विम्ब आफैंमा भयावह हो । बाइबलमा यसलाई अत्यन्तै शक्तिशाली समुद्री नागको रूपमा चित्रण गरिएको छ, वैदिक साहित्यमा इन्द्रले वध गरेको ‘वृत्र’ अथवा ‘अही’जस्तै ।
  • खासगरी ‘सबैले सबैसँग’ युद्ध गरिरहेको हब्सको जीवनकालमा भावनात्मक राष्ट्रवादलाई उजागर गरेर सार्वभौमको रक्षाका लागि राज्य ‘लेभियथन’जस्तै शक्तिशाली हुनुपर्ने सैद्धान्तिक विकल्प उनले प्रस्ताव गरे । राज्यका सबै महत्त्वपूर्ण निर्णयको अधिकार, तीनमध्ये जुनसुकै चरित्रको सत्ता भए पनि, मुख्य शासकमा केन्द्रित हुनुपर्छ भन्ने उनको (एउटा) दलिल हो ।
  • भावनात्मक राष्ट्रवादमार्फत शासकीय अधिकारको केन्द्रीकरण गर्ने प्रवृत्तिको अध्ययन सान्दर्भिकता अहिले अझै बढेको देखिंँदैछ । विश्वमा पुनरुदय भएजस्तो देखिएको दक्षिणपन्थी राष्ट्रवाद यही ‘लेभियथनको कृपा’ सिद्धान्तको वरिपरि घुमेको छ ।
  • अमेरिकाका डोनाल्ड ट्रम्प, भारतका नरेन्द्र मोदी, टर्कीका रिचेप एर्दोगान र नेपालका केपी ओली प्रकृतिका शासकका राज्यलाई ‘लेभियथन’ बनाउने र राज्यको सेवालाई जनतामा किस्ताबन्दीमा ‘कृपापूर्ण वितरण गर्ने’ सोच त्यसको उदाहरण हो ।
शासकीय औचित्य
  • प्रधानमनत्री ओलीलाई मुलुकका प्रभावशाली सबै निकायआफ्नै कार्यालय मातहत ल्याएर भीमकाय बनाउने योजना अकारण दोहोरिएर आइरहेको छैन । यो केन्द्रीकरण गर्ने निर्णयको अभिष्ट प्रस्ट्याउने सबभन्दा निकट सैद्धान्तिक चस्मा सायद हब्सको ‘लेभियथन’ नै हो ।
  • सकेसम्म धेरैवटा निर्णायक विभाग र निकायहरू प्रधानमन्त्रीको कार्यालय अन्तर्गत ल्याउने कसरतको परोक्ष अर्थ के निस्किन्छ भने यी बाहेकका अन्य विभाग, निकाय वा कार्यालयहरू निर्वाचित प्रधानमन्त्रीको स्वाभाविक नेतृत्व अन्तर्गत छैनन् । मानौं, गृह मन्त्रालयको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान आदि प्रधानमन्त्रीको क्षेत्राधिकार बाहिर थिए ।
  • अझै मन्त्रीहरूले यस्तो अर्थ पनि निकाल्न सक्छन् : प्रधानमन्त्रीले छानेका ती निकायहरू आफू अन्तर्गत राखिसकेपछि बाँकी सरकारी संरचनामा उनको चासो रहँदैन । अब त्यहाँ जे गर्ने पनि छुट छ ।
  • यो कसरतको प्रतिरक्षामा सुशासन, अनुगमन र विकासमा प्रभावकारी परिणाम दिने तर्क अगाडि सार्न नसकिने होइन । तर व्यावहारिक दृष्टिले हेर्दा केन्द्रीकरणको यो अपरिपक्व कदम कुनै उद्देश्य–लक्षित देखिँंदैन । एक, प्रधानमन्त्री अहिले नै डेढ सयजति संरचना, समिति, विश्वविद्यालय वा संस्थाको (प्राय:) पदेन प्रमुख छन् ।
  • तीमध्ये नब्बे प्रतिशतलाई प्रधानमन्त्रीको ‘लेभियथन’ छायाबाट बाहिर ल्याउनचाहिँ अपरिहार्य भएको लामो समय भइसक्यो । दैनिक प्रशासन नै राम्ररी चलाउन हम्मे परेका प्रधानमन्त्री जसले प्रादेशिक र स्थानीय तहमा कर्मचारी व्यवस्था गर्नसकेका छैनन्, उनी थप बोझ धान्न सक्षम छन् भनेर पत्याउने आधार देखिँदैन ।
  • दोस्रो, प्राविधिक विशेषज्ञता आवश्यक पर्ने राष्ट्रिय गौरवका आयोजना समेतलाई कार्यान्वयन, अनुगमन र निर्णयमा सघाउने संयन्त्र प्रधानमन्त्रीको कार्यालयसँग छैन । तेस्रो, महान्यायाधिवक्ता कार्यालयजस्ता संवैधानिक हैसियतका निकाय (यद्यपि यसको एउटा भूमिका प्रधानमन्त्रीको कानुनी सल्लाहकारकै हो) र छुट्टै ऐन वा गठन आदेशद्वारा अस्तित्वमा रहेका नियकाहरूको वैधानिक हैसियत पुन: परिभाषित नभई कार्यालयहरूको जिम्मेवारीमात्र सार्दा थप अराजकता बाहेक केही हात लाग्दैन ।
  • र यो थप कसरत अनावश्यक किन हो भने राज्यको तत्काल प्राथमिकतामा पर्नुपर्ने तीभन्दा जटिल विषय त्यत्तिकै थाँती छन् । चौथो, कुन संस्थालाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउन सकिन्छ भनेर निरन्तर छामछुम गरिरहने प्रवृत्ति जुन देखिएको छ, त्यसले यो सम्पूर्ण प्रक्रियाकै खराब नियत देखाउँछ ।
  • जस्तै– महान्यायाधिवक्ता कार्यालयले सरकारवादी मुद्दा कसलाई लगाउने वा नलगाउने निर्णय सबुद प्रमाणका आधारमा भन्दा प्रधानमन्त्री कार्यालयको आदेशमा गरोस्, सम्पत्ति शुद्धीकरण आयोगले कसको सम्पत्तिमाथि छानबिन गर्ने वा नगर्ने निर्णय प्रत्यक्षत: प्रधानमन्त्रीको राजनीतिक स्वार्थका आधारमा गरोस् अथवा ठूला अयोजनाहरूको ठेक्का बुढीगण्डकी गेझुवा कम्पनीलाई दिएको शैलीमा निरन्तर रहोस् भन्ने चाहना ती निकायहरूको छनोट प्राथमिकताले देखाउँछ ।
  • यो अनावश्यक सक्रियता समकालीन विश्वका स्थापित शासकीय मान्यता र अभ्यास विपरीत छ । विश्व प्रसिद्ध पुस्तक ‘स्मल इज ब्युटिफुल’का लेखक ई. एफ शुमाखरले भनेका छन् : ‘सधैं अपवादमा शासन गर्ने सरकार नै असल सरकार हो ।
  • अपवादका विषयहरूको अपवाद बाहेक राज्यका मातहतका निकायहरूकलाई तिरस्कारबाट बचाउनु र प्रबद्र्धित गर्नुपर्छ । यसको अर्थ यस्तो अपवादको प्रस्ट र पर्याप्त परिभाषा गरिनुपर्छ, जसले गर्दा दीर्घकालीन उद्देश्यका निकायहरू (क्वासी फर्मस) ले राज्यले चित्तबुझ्दो काम गरिहरेको छ वा छैन भन्ने द्विविधारहित ढंगले जानकारी पाउन् (सन् १९७३, पृ. १७२) ।’
  • यस्ता निकायलाई थप जिम्मेवारी बहन गर्ने बनाउने सन्दर्भमा पनि शुमाखर प्रस्ट छन्, ‘जवाफदेहिताका नाममा धेरै मापदण्डहरू बनाइयो भने मातहतका प्रत्येक इकाइले कुनै प्रावधान पालना गरिरहेको हुँदैन, अपवादको शासनको अवधारणा ठट्टा बन्छ र यस्तो निकाय कसरी चलिरहको छ भन्ने नै निर्णयक आफैंलाई पक्का जानकारी हुँदैन’ (ऐ.) ।
  • यही कारण हो, अहिले भइरहेका नेपाल सरकारका बहुसंख्यक निर्णयबारे निर्णायकहरूलाई नै ठ्याक्कै के भइरहेको छ भन्ने थाहा नहुने अवस्था । प्रधानमन्त्री कार्यालयलाई ‘लेभियथन’को रूप दिने बलजफ्तीको औचित्य पुष्टि गर्न यसका अभियन्ता सक्दैनन् ।
सैद्धान्तिक असंगति
  • हब्सको भावनात्मक राष्ट्रवाद नि:सृत ‘लेभियथन’ शासनप्रति प्रधानमन्त्री ओलीको घातक आकर्षण प्रस्टै छ । तर यस्तो राज्य अब असंगतिपूर्ण भइसकेको छ ।
  • राष्ट्रवादलाई राजनीतिक अस्त्र बनाउने कसरत जुन गतिमा भएको छ, त्यसको विश्वव्यापी आलोचना पनि उत्तिकै कडा छ । थप तार्किक छ । गतसाता मात्रै फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले दर्जनौं राष्ट्रप्रमुखहरूको उपस्थितिमा अमेरिकी राष्ट्रपतिकै अगाडि भने, ‘राष्ट्रभक्ति (प्याट्रियोटिजम) राष्ट्रवाद (न्यासनालिजम) को ठ्याक्कै विपरीत हो । राष्ट्रियताचाहिँ राष्ट्रभक्तिमाथिको विश्वासधात हो ।’
  • उसो त हब्सको ‘लेभियथन’ सिद्धान्त जर्मनीमा नाजी प्रकृतिका अत्याचारी राज्य निर्माणको ऊर्जा बनेको आरोप आठ दशकअघि नै लागेको हो । कार्ल स्मिड्थ (पुस्तक : दी लेभियथन इन दी स्टेट थ्योरी अफ थोमस हब्स : मिनिङ एन्ड फेलियर अफ अ पोलिटिकल सिम्बोल, १९३८) मा जनताको साझेदारीपूर्ण सावभौमसत्ताको अवधारणा अगाडि राखे ।
  • विशेषत: संघीय प्रणलीमाथिको अर्थराजनीतिक अध्ययन फराकिलो र गहिरो हुँदै जाँदा यो ‘लेभियथन’ सिद्धान्त विपरीत ‘स्वशासित’ राज्यहरूको स्थपित हुने क्रम बढेको छ ।
  • अर्थशास्त्रीहरू ज्योफ्री ब्रनान र जेम्स बुकानन (जर्नल अफ पब्लिक इकोनोमिक्स, नं. ८, १९७७) ले मूलत: कर संकलनमा प्रवृत्त ‘लेभियथन’ राज्य स्थापना गरेपछि तिनलाई नियन्त्रण गर्न नसकिने निष्कर्ष अघि सारे ।
  • नेपालको वर्तमान अर्थराजनीतिको सुझबुझका लागि यी निष्कर्षहरू महत्त्वपूर्ण छन् । पहिलो, ओलीको ‘लेभियथन’ मार्ग सामान्य शासकीय अपेक्षाका दृष्टिले पनि सकारात्मक अभ्यास होइन । यसलाई जतिसक्दो चाँडो सच्याउनुपर्छ ।
  • दोस्रो, मुलुकका महत्त्वपूर्ण अर्धन्यायिक प्रकृतिका निकाय समेतलाई प्रधानमन्त्रीको आदेशमा चलाउन केन्द्रीकृत गरिनु नेपालले कार्यान्वयन प्रयास भइरहेको संघीयताको मर्म र आवश्यकता विपरीत हो ।
  • तेस्रो, मुलुकको प्रमुख कार्यकारीको कार्यालयलाई यति बोझिलो बनाएर प्रभावकारी हुन असम्भव छ । त्यसमाथि यसले राजनीतिक आग्रहका साथ मात्र काम गर्‍यो भने त्यो शासनबाट अपेक्षित (आर्थिक) उपलब्धि प्राप्त हुन सक्दैन । र चौथो, अहिले सरकार कर असुलीमा भएको उपलब्धिलाई जसरी गौरवका साथ प्रचार गर्न उद्यत छ, त्यो नै ‘लेभियथन’ चरित्रको वास्तविक अनुहार हो ।
  • के प्रस्ट छ भने यस्ता अनावश्यक र अर्थहीन काममा संघीय सरकारले समय खेर फाल्दा राष्ट्रले अवलम्बन गरेको संघीय शासन प्रणालीमै ठूलो भ्वाँङ पर्दैछ । बढ्दो आयातमा आधारित राजस्व माथिको गौरवले अर्थतन्त्रको जगै भत्कने खतरा बढेको छ । र सिङ्गो समृद्धिको सपनालाई प्रधानमन्त्रीले अँगालेको ‘लेभियथन’ले नै निल्दैछ ।
https://www.kantipurdaily.com/opinion/2018/11/19/154259460390166830.html

Monday, November 26

न्यायिक पद्धतिका विचलन-विनोदमोहन आचार्य

  • भनिन्छ, विधिको शासन लोकतन्त्रको धमनी हो, न्यायिक स्वतन्त्रता लोकतन्त्रको जीवन बुटी हो । संविधान, मौलिक हक वा मानव अधिकारको संरक्षण एवं संवर्द्धनमा न्यायपालिकाको भूमिका अहम् रहन्छ ।
  • त्यसैले न्यायिक स्वतन्त्रतालाई संविधानवादको एक पूर्वसर्तका रूपमा लिइने गरिन्छ । राज्य सञ्चालनका सन्दर्भमा राज्यका तीन महत्त्वपूर्ण अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) को आआफ्नै भूमिका र महत्त्व छ । यी अंगमध्ये न्यायपालिका स्वतन्त्र र सक्षम रहनु उत्तिकै अपरिहार्य मानिन्छ ।  
  • राजनीतिको एउटा कार्यदिशा सुशासन कायम गर्नु हो । राज्यको महत्त्वपूर्ण अंग न्यायापालिकालाई सङ्‍लो, सबल र सक्षम तुल्याउने दायित्व र कर्तव्य सरकार एवं राजनीतिकर्मीको पनि हो ।
  • स्वतन्त्र, सक्षम र प्रभावकारी न्यायपालिकाको स्थापना र न्यायिक सुदृढीकरण अपरिहार्य छ । न्यायपालिकासँग आबद्ध कुनै अवयव असफल हुनु भनेको समग्र न्यायपालिका असफल हुनु हो । न्यायपालिका असफल हुनु हाम्रो न्याय प्रणाली नै हार्नु हो । न्याय प्रणाली हारे अन्ततोगत्वा संविधान फेल खान्छ, लोकतन्त्र धरापमा पर्छ ।
https://www.kantipurdaily.com/opinion/2018/11/25/154311141052247214.html