Friday, November 23

खेर गएको मानव पुँजी -रत्न प्रजापति

  • सुदृढ अर्थतन्त्रका लागि विविध आर्थिक क्षेत्रमा लगानी प्रवद्र्धन गर्दागर्दै पनि मानव पुँजीमा लगानी प्रवद्र्धन नगरेसम्म विश्व अर्थतन्त्रमा सशक्त प्रतिस्पर्धा गर्न नसकिने अवधारणाले महत्व पाउन थालेको छ। 
  • स्वस्थ, शिक्षित, सीपयुक्त र लचकदार जनशक्तिबिना कुनै पनि मुलुकले विश्वअर्थतन्त्रमा सशक्त प्रतिस्पर्धा गर्न सक्दैन भन्ने मान्यताको पनि विकास भएको छ। 
  • मानिसको स्वास्थ्य, शिक्षा, सीप र लचकतालाई मानव पुँजीको रूपमा हेर्ने गरिएको छ। स्वास्थ्य, शिक्षा, सीप र लचकतामा सुधार गरी मानव पुँजीलाई अझ बढी उत्पादनशील, लचकदार र नवप्रवर्तनीय बनाउन सकिने विश्लेषण हुँदै आएको छ। 
  • प्रविधिमा भइरहेको तीव्र विकासले गर्दा कामको प्रकृतिमा पनि परिवर्तन भइरहेको छ। जसले गर्दा श्रमबजारमा स्वास्थ्य, शिक्षा, सीप र सामाजिक व्यवहारयुक्त उच्च दक्ष मानव पुँजीको माग दिनानुदिन बढिरहेको छ। 
  • दिगो विकास र गरिबी निवारणको मुख्य आधारका रूपमा पनि दक्ष मानव पुँजीलाई लिने गरिएको छ। 
  • मानव पुँजीमा गरिएको लगानीबाट लामो समयपछि मात्रै लाभ प्राप्त हुने हुँदा लोकप्रियताको लालची सरकारले मानव पुँजीमा भन्दा सडक, पुल र बिजुलीमा लगानी गरी छिटो विकास हासिल गर्न चाहेको देख्न पाइन्छ। 
  • गरिबी निवारणको प्रयासले अपेक्षित सफलता हासिल गर्न नसक्नुको एउटा मुख्य कारण पनि मानव पुँजीमाथि कम लगानी हुनु हो। मानव पुँजी कमजोर भएको र बदलिँदो समयमा कामको परिवर्तित स्वरूप र अवसरअनुरूप आफूलाई सक्षम र योग्य बनाउन नसक्दा धेरै मानव पुँजी निष्क्रिय रहनुपरेको अवस्था पनि छ। 
  • बढ्दो बेरोजगारी, अर्धबेरोजगारी र आंशिक बेरोजगारी मानव पुँजीको विकासमा कम लगानी हुनुको परिणाम हो। त्यसैले भौतिक विकाससँगसँगै मानव पुँजीमा पनि प्राथमिकतासाथ लगानी गर्नुपर्दछ।
  • मानव पुँजीको विकासमा लगानी प्रवद्र्धन गरेका मुलुकहरू आर्थिक विकास र समृद्धिको पथमा अगाडि देखिएका छन्। 
  • विश्व बैंकले हालै प्रकाशित गरेको ‘मानव पुँजी सूचकांक २०१८’ अनुसार सिंगापुर सबैभन्दा अगाडि रहेको छ। प्रधानमन्त्री ली क्वान यूको ३० वर्षे शासनकालमा उनकै नेतृत्वमा सिँगापुरले चमत्कारिक विकास गरेको र आर्थिक समृद्धि हासिल गरेको हो। उनकै नेतृत्वमा सिंगापुर एकै पुस्तामा तेस्रो विश्वबाट पहिलो विश्वमा रूपान्तरण भएको व्याख्या पनि हुँदै आएको छ। सूचकांकको दोस्रोदेखि दशौँ स्थानमा क्रमशः गणतन्त्र कोरिया, जापान, चीन, फिनल्यान्ड, आयरल्यान्ड, अस्ट्रेलिया, स्वीडेन, नेदरल्यान्ड र क्यानाडा रहेका छन्।
  • मानव पुँजी सूचकांकमा समेटिएका १५७ मुलुकमध्ये नेपाल १०२औँ स्थानमा रहेको छ। सूचकांकमा बंगलादेश १०६औँ, भारत ११५औँ र पाकिस्तान १३४औँ स्थानमा रहेको छ भने बंगलादेशचाहिँ नेपालभन्दा अगाडि ७४औँ स्थानमा रहेको छ। यो सूचकांकअनुसार दक्षिण एसियाली मुलुकहरूमा बंगालदेशपछि नेपालको मानव पुँजी राम्रो रहेको देखिन्छ।
  • वर्तमान युगमा शिक्षा र स्वास्थ्य मानवको आधारभूत आवश्यकता नै हो। कमजोर शिक्षाका कारण विश्वका ७५ करोड मानिसको जीवनभरको उत्पादकत्व गम्भीररूपमा घटेको विश्व बैंकले जनाएको छ। शिक्षा मानव पुँजीको आधार मात्रै होइन, समग्र आर्थिक–सामाजिक रूपान्तरणको संवाहक पनि हो। 

No comments:

Post a Comment