Wednesday, November 28

उद्योग दिवसको सान्दर्भिकता र विद्यमान औद्योगिक समस्या -कृष्ण रिजाल

  • नेपालमा प्रथमपटक उद्योग परिषद्को स्थापना भएको मिति ९ मंसिर १९९२ लाई आधार मानी हरेक वर्ष ९ मंसिरलाई उद्योग दिवस मनाउने घोषणा गरिएको हो । उद्योग दिवसलाई केबल कर्मकाण्डी मात्रै बनाइँदै आएको छ । 
  • उद्योग क्षेत्रमा नीतिगत र कानुनी जटिलता छ । बौद्धिक सम्पत्ति, कालाबजारी, आयात–निर्यात व्यापारलगायत सम्बन्धी कानुन तीन–चार दशक पुराना छन् । भएका नीति र कानुनको पनि कार्यान्वयन भएको छैन । औद्योगिक व्यवसाय ऐनले विभिन्न छुट दिएको छ, तर उद्योगले पाउन सकेका छैनन् । यसर्थ, उद्योग प्रवद्र्धनका लागि नीति र कानुनी सुधार आवश्यक छ ।
  • अहिले उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो छ । त्यसैले कतिपय उद्योग छाडेर व्यापारमा पनि गइरहेका छन् । यसलाई रोक्नुपर्छ । उद्योग सञ्चालनलाई सहज बनाउनुपर्छ । उद्योग भनेको दीर्घकालीन रूपमा कर तिर्ने क्षेत्र पनि हो ।  
  • उद्योग स्थापना, सञ्चालन र खारेजीसम्मका प्रक्रियालाई सरल बनाइनुपर्छ । पूर्वाधारहरू स्थापना गर्नुपर्छ । यस्ता औद्योगिक प्रवर्द्धनका काम नगरेसम्म उद्योग दिवस बनाएर मात्रै केही हुँदैन ।
  • अहिले उद्योग क्षेत्रमा मुख्य चारवटा समस्या छन् । यसमा विद्युत्, अस्थिर नीति, बैंकमा देखिएको लगानीयोग्य तरलताको अभाव र उच्च ब्याजदर अनि पूर्वाधार अभाव पर्दछन् । 
  • उद्योगमा सरकारको नीति पनि अस्थिर छ । कहिले भ्याट फिर्ता सुविधा दिन्छ, कहिले सुविधा कटौती गरिदिन्छ । सरकारले कहिलेसम्म र के कस्ता छुट सुविधा दिने भनेर स्थिर नीति बनाउनुपर्छ ।  
  • औद्योगिक पूर्वाधार अभाव त उद्योगको दीर्घ रोग नै हो । हामीसँग ठूला र पार्यप्त औद्योगिक क्षेत्र नहुँदा उद्योगहरू खुल्न सकेका छैनन् । खानीमूलक उद्योगमा खानीको उपयोगका बारेमा पनि केही समस्या छन् । 
  • नेपालको इतिहास निर्माण भएदेखि नै देश औद्योगिकीकरणको चरणमा प्रवेश नै गरेको छैन । छिटपुट आफ्नै हिसाबले उद्योग स्थापना हुने, नयाँ आउने पुरानो बन्द हुने क्रम पनि चलिरहेकै छ । तर, व्यापक रूपमा उद्योग स्थापना हुने चरणमा हाामी प्रवेश गरेका छैनौँ । औद्योगिकीकरणमा प्रवेशका लागि सबैभन्दा पहिला हाम्रा उत्पादनको लागत घटाउन तथा उत्पादनलाई प्रतिस्पर्धी बनाउन निश्चित समयसम्मका लागि सरकारले विशेष सहयोग गर्नुपर्छ ।
  • पूर्वाधार निर्माण, भन्सार छुट, कर छुट, प्रविधि हस्तान्तरणमा सहयोग, आत्मबल विकास, वित्तीय पहुँच बढाएर हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।  
  • सबैभन्दा महत्वपूर्ण कुरा अद्यावधिक तथ्यांक हो । हाम्रो सरकारसँग उद्योगका बारेमा तथ्यांक छैन ।
http://www.nayapatrikadaily.com/2018/11/25/117957/

No comments:

Post a Comment