Friday, November 9

लोकतन्त्र २.० -मिलन पाण्डे

  • युनिभर्सिटी अफ एम्सटरड्यामका प्राध्यापक मार्लियस ग्लासियस र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्राध्यापक ‘आर्मिन इसकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे– एथेन्स, कायरो, लन्डन र मस्कोका अगुवा नागरिक किन आफूले चुनेकै सरकार विरुद्ध सडकमा आइरहेका छन् ? अध्ययनको निष्कर्ष आयो, ती नागरिकले चुनेका प्रतिनिधिले उनीहरूलाई प्रतिनिधित्व नगरेको महसुस गरेका रहेछन् । उनीहरू नीति निर्माणमा आफ्नो केही भूमिका खोजिरहेका थिए ।
  • अहिले लोकतन्त्र होइन, दलतन्त्र चलिरहेको छ । आम नागरिक आजित हुँदैछन् ।  
  • जब निर्वाचित प्रतिनिधिले आम नागरिकको भावना समेट्न सक्दैनन्, तब मतदातासँगको दूरी बढ्छ । नागरिकले मतदान केन्द्रमा मात्र होइन, दुई चुनावबीच पनि आफ्नो भूमिका खोजिरहेका छन् । जसलाई प्रतिनिधिमूलक लोकतन्त्रले मात्र पुरा गर्न सक्दैन । प्रतिनिधिमूलक लोकतन्त्रको उन्नत रूप सहभागितामूलक लोकतन्त्र हो ।
  • यसले नागरिकलाई सार्वभौम र सर्वशक्तिमान बनाउँछ । नागरिकको भूमिका नेतृत्व चयनमा मात्र सीमित राख्दैन । नीति अनि कार्यक्रमसँगै मुद्दा उठान, मुद्दा सम्बोधन, नेतृत्व चयन, कार्यसम्पादन र अनुगमनमा उनीहरूको भूमिका हुन्छ । विविधतायुक्त नेपालको परिप्रेक्ष्यमा लोकतन्त्रको सहभागितामूलक मोडल सबैभन्दा उपयुक्त हुन्छ । 
  • संविधानले नै विभिन्न जात, वर्ग, धर्म, लिङ्ग, समुदाय, भाषी, आदिलाई समेट्दै समतामूलक समाजको परिकल्पना गरेको छ । समावेशितालाई सहभागिताले मात्र संस्थागत गर्न सक्छ ।
  • हामीले लोकतन्त्रलाई निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । लोकतन्त्रको साँचो जग दुईवटा निर्वाचन बीचको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु नागरिक दायित्व हो, पुरै लोकतन्त्र होइन । सहभागितामूलक लोकतन्त्रको अभ्याससँगै नागरिक क्षमतावान बन्छन् । सहभागितासँगै उनीहरू नतिजामुखी, समाधानमुखी, राजनीतिक रूपमा सकारात्मक बन्छन् । जसले समाज अझ सन्तुलित अनि समावेशी बन्छ । यस्तो लोकतन्त्रले नागरिकलाई एकअर्कासँग जोड्छ । नीति तथा कार्यक्रममा अपनत्व दिलाउँछ । वैधता समेत दिन्छ ।
  • लोकतन्त्रको ठूलो समस्या अपनत्व हो ।  नागरिकले मत घोषणापत्र हेरेर हाल्छन् । प्रतिनिधिलाई जिताउँछन् । तर प्रतिनिधिले ठिक उल्टो काम गर्छन् ।  
  • यसका लागि व्यवस्था परिवर्तनको जरुरी छैन । हाम्रो अभ्यास र व्यवहार परिवर्तन गरे पुग्छ । यसका लागि सचेत नागरिक अनि शिक्षित समाज चाहिन्छ । हाम्रो समाज साक्षर बन्दैछ । देश युवामय छ । ८५ प्रतिशत नेपाली ४५ वर्ष मुनिका छन् । आधा २२ वर्ष मुनिका । यो अवस्थामा हामीले उनीहरूलाई लोकतन्त्रको हिस्सेदार बनाउन सक्छौं ।
  • लोकतन्त्रलाई झन् मजबुत गर्न हामीले मतपत्रमा ‘राइट टु रिजेक्ट’ अनि ‘राइट टु रिकल’को अभ्यास थाल्नुपर्छ । विदेशमा रहेका नेपालीलाई समेत मतदानमा सहभागी गराइनुपर्छ । दलको उम्मेदवार पनि नेताको खल्तीबाट होइन, सम्बन्धित भूगोलमा ‘प्रारम्भिक निर्वाचन’ गरी ल्याइनुपर्छ ।

No comments:

Post a Comment