Saturday, November 20

गाउँ–गाउँमा सिंहदरबार होइन, भ्रष्टाचार पुगेको छ-डा. भीमार्जुन आचार्य

  • आजसम्म २ सय देशमा संविधान लेखिएको छ । संविधान लेख्न मूलतः दुई विधि प्रयोग भएका छन् । एउटा विज्ञहरूले संविधान बनाउने प्रक्रिया जसलाई एक्सपर्ट कन्स्टिच्युसन मेकिङ भन्छौँ । विज्ञहरू सम्मिलित आयोग गठन गरेर त्यसले संविधान बनाउने र संविधान जारी गर्ने गरिन्छ ।
  • अर्को जनताको सहभागितामा संविधान बनाउने प्रक्रिया हो, जसलाई अङ्ग्रेजीमा ‘पार्टिसिपेटरी कन्स्टिच्युसन मेकिङ’ भनिन्छ । संविधानसभा भनेको दोस्रो विधिको प्रक्रिया भनिन्छ । त्यसैले सैद्धान्तिकरूपमा यसमा जनताले संविधान बनाउँछन्, जनताले आफूले बनाएको संविधानमा आफ्नो स्वामित्व हुन्छ भनी विश्वास गरिन्छ ।
  • दुई पटकको आठ वर्षको संविधान सभाको विधिमा छ सय अर्ब जति पैसा खर्च भएको छ । यो गरिब मुलुकमा यति खर्च गरेर ३०८ को संविधान बनाउनुको एउटै तर्क थियो, यसरी संविधान बनाउँदा जनताको स्वामित्व हुन्छ । सीमान्तकृत वर्ग समुदायले पनि संविधानलाई आफ्नो ठान्नेछ । जनताले त्यसैलाई मानेका थिए । नेताहरूले पनि हामीलाई त्यस्तै कुरा गरेका थिए ।
  • संविधानलाई हामी नागरिकको आस्थाको दस्तावेज भनी पढ्छौँ । देशको घोषणापत्रको काम संविधानले गर्छ । त्यसकारण संविधानलाई ‘ल अफ द ल्यान्ड’ अथवा ‘सर्वोच्च कानुन’ भनिएको हो । यसको अर्थ वा दर्शन के हो भने नागरिकले संविधानलाई आफ्नो दस्तावेज मान्ने भएकाले स्वतःस्फुर्त सम्मान त्यसप्रति व्यक्त हुन्छ भन्ने हो ।
  • आलोचनात्मकरूपमा हेर्दा यो संविधान अलि अनौठो खालको दस्तावेज पनि छ । संविधान बन्दा संविधानसभामा राष्ट्रवादी शक्तिको उपस्थिति थियो । तथापि तीन वटा दल–एमाले, माओवादी र नेपाली काङ्ग्रेसको वर्चस्व थियो । उहाँहरूले संविधानमा यति कुरा काङ्ग्रेसको र यति कुरा कम्युनिष्टको राखेर संविधानलाई उँट जस्तो बनाउनुभयो । संविधानको प्रस्तावनामा ‘समाजवादमा आधारित समाज’ भन्ने शब्दावली प्रयोग भएको छ । संविधानको धारा–४ मा ‘समाजवादउन्मुख’ भन्ने शब्द उल्लेख छ । ‘समाजवादउन्मुख’ र ‘समाजवादमा आधारित’ भनेका फरक कुरा हुन् । संविधानमा लेखिने एउटा अल्पविराम र पूर्णविरामको पनि अर्थ हुन्छ । संविधान जारी भएपछि कम्प्युटरमा यस्तो गल्ती भयो, मानवीय त्रुटि भयो भन्न पाउन हुन्न । त्यसमा जे लेखियो, त्यो प्रावधान मानिनेछ । त्यसलाई बाध्यकारी मानिन्छ । समाजवादमा आधारित, समाजवादउन्मुख हुँदै धारा ५० उपधारा ३ मा नेपाली समाज समाजवादउन्मुख हुने तर स्वतन्त्र र खुला हुने भनी लेखिएको छ । खुला र स्वतन्त्र भन्ने शब्द काङ्गे्रसको लागि राखियो अनि कम्युनिस्टको लागि समाजवाद राखियो । यस्ता खालका परस्परविरोधी कुरा संविधानमा अनगिन्ती छन् ।
  • आज सिंहदरबारको अधिकार गाउँगाउँमा होइन, सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा गइरहेको छ । सम्पूर्णरूपमा शक्तिको विकेन्द्रीकरण होइन, सम्पूर्णरूपमा भ्रष्टाचारको विकेन्द्रीकरण भइरहेको छ । देशलाई माया गर्ने इमानदार जनप्रतिनिधि भएका केही अपवादबाहेक सिंहदरबारलाई गाउँगाउँमा पुर्‍याउने भनिएकोमा भ्रष्टाचार घर घरमा पुर्‍याइएको छ, वडा वडामा पुर्‍याइएको छ ।
  • हिजो सबै गरिब नेपालीको लागि आफ्नो गाउँमा एउटा वडा थियो । शासक दलहरूले जान्ने भएर ठूला ठूला गाविस मिलाएर एउटा वडा बनाएका छन् । पहाड–हिमालतिर वडा कार्यालय पुग्न दुई तीन दिन हिँड्नुपर्ने अवस्था छ । के सिंहदरबार गाउँमा पुग्ने भनेको यही हो ? नागरिक दोहोरो तेहोरो करबाट पिल्सिएका छन्, मारमा परेका छन् । हामीले बुझाएको कर विकासको लागि होइन, उनीहरूको तलब र लुटको लागि भएको छ ।
  • जनताले तलब खुवाउनुपर्ने ८८५ त सांसदमात्र छन् । अरू आसेपासेको त कुरै भएन ।
  • सरकारले सङ्घीय व्यवस्था सञ्चालनको भनी तीन वटा देशबाट तीन अर्बभन्दा बढी ऋण लिएको छ । संसारमा राज्य व्यवस्था नै सञ्चालन गर्न भनी कुनै देशले ऋण लिएको तपाईलाई थाहा छ ? पुल बाटोको लागि ऋण लिन सकिन्छ । तर, राज्य व्यवस्था सञ्चालनकै लागि भनेर विदेशबाट ऋण लिएपछि त्यो देशको सार्वभौमिकता बाँकी रहन्छ ? त्यो देशको निर्णय क्षमता रहन्छ ? ऋण दिने साहुले बिनाकारण ऋण दिन्छ ? राष्ट्रको स्वाधीनता र सार्वभौमिकतामाथि खेलबाड भइरहेको छ ।
  • देशको एक जना सक्षम नागरिकले यदि ठूला दलसँग लसपस छैन भने उसको क्षमताले यहाँ कुनै अवसर पाउँदैन । शासक दलले सम्पूर्णरूपमा नागरिकको अवहेलना गरिरहेको छ ।
  • के यो देश शासक दलको निजी देश हो ? हाम्रो देश होइन यो ? नागरिकको देश होइन यो ? नागरिक भएर देशमा बाँच्न पाउँदैन ? सबभन्दा ठूलो स्थान भनेको नागरिक हुनु हो । मेरो सबभन्दा ठूलो सम्मानको पद भनेको नागरिक हुनु हो । भिन्न मतप्रति सरकारलाई त्रास छ, डर छ ।
  • अहिलेको संविधानमा ३१ वटा मौलिक अधिकार उल्लेख गरिएको छ । नेपालको संवैधानिक इतिहासमा नेपाली जनतालाई यति धेरै अधिकार कहिल्यै पनि दिइएको थिएन । नेपालमात्र होइन, संसारकै संविधान अध्ययन गर्दा धेरै अधिकार दिने संविधानमा नेपालको संविधान दोस्रोमा पर्दछ । अधिकार दिनु छैन, त्यसकारण पृथ्वीमा सुनेका सबै अधिकार संविधानमा समावेश गरिएको छ ।
  • संविधानमा कुनै कुरा सजावटको लागि लेखिंदैन, कार्यान्वयनको लागि लेखिन्छ । मौलिक अधिकार भनेको त सुनिश्चित गरिएको अधिकार भनिन्छ । जुन समय संविधान घोषणा हुन्छ, त्यही समयदेखि नै त्यो अधिकार सुनिश्चित गरिएको हुन्छ ।
  • संविधानको आयु भनेको जनताको आस्थामा निर्भर रहन्छ । संविधान बनाउँदा विधिको महत्व हुन्छ । बनिसकेपछि कुन विधिले बन्यो, त्यसको महत्व हुँदैन । संविधानको कार्यान्वयन भयो वा भएन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
  • अहिलेको संविधानमा चार कुराबाहेक सबै कुरा संशोधनीय छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधीनता र जनताको सार्वभौम अधिकारबाहेक सबै कुरा संशोधन गर्न सकिन्छ ।
https://onlinemajdoor.com/?p=39289

No comments:

Post a Comment