Saturday, November 20

अक्षमहरूको आश्रयस्थल होइन निजामती-उमेशप्रसाद मैनाली

  • २०७८ को निजामती सेवा दिवसले तय गरेको पञ्चवर्षीय नारा हो— व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन । नारा आकर्षक छ र यसले शासन–सुशासनका सबै पक्ष समेटेको छ । नाराको अघिल्लो भाग अहिले सेवाभित्र सबभन्दा खड्किएको विषय हो भने पछिल्लो अंश यसको अन्तिम साध्य वा आदर्श लक्ष्य ।
  • निजामती सेवाभित्र व्यावसायिकता मर्दै गएको तथ्य जगजाहेरै छ । राजनीति राजनीतिज्ञहरूको क्षेत्र हो भने प्रशासन व्यावसायिक समूहहरूको खेलमैदान । राजनीतिक रेफ्रीको अनुशासनभित्र रहेर कर्मचारीहरूले आआफ्ना व्यावसायिक क्षमताबमोजिम काम गरेमा शासन–सुशासन ठीक हुने हो । यसैका लागि निष्पक्ष र तटस्थ निजामती सेवाको व्यवस्था गरिएको हो । ताकि यसको स्थायित्व, निरन्तरता, विश्वसनीयता र यसबाट विकास हुने व्यावसायिकताको लाभ लिन सकियोस् । 
  • मन्त्रीहरूको खुला र ताजा दिमाग तथा कर्मचारीहरूको विशेषज्ञता र अनुभवले प्रशासन प्रभावकारी हुन्छ । व्यावसायिकताको प्रवर्द्धन गर्न विशेष योग्यता भएका कर्मचारीहरूको संख्यात्मक वृद्धि हुनुपर्छ । कर्मचारीहरू विज्ञ हुनुभन्दा ‘स्विस नाइफ’ जस्तो जेमा पनि काम गर्ने अर्थात् सर्वज्ञानसम्पन्न हुन खोज्ने र राजनीतिक नेतृत्वले सल्लाहकार, परामर्शदाता आदिका नाममा आफ्ना आसेपासेहरूलाई राजनीतिक नियुक्ति दिएर निजामती सेवालाई ‘अव्यावसायीकरण’ गर्ने खेल जारी छ ।
  • निजामती सेवालाई विशिष्टताका आधारमा सेवा, समूहभित्र आबद्ध गराउने प्रयासलाई कर्मचारीहरूकै मिलेमतोमा कमजोर पार्दै लगियो । सेवा, समूह सञ्चालनसम्बन्धी नियमहरूमा भएका संशोधनको अध्ययन गर्ने हो भने स्वार्थहरूको खेल स्पष्ट बुझ्न सकिन्छ । ‘पद वर्गीकरण योजना–२०२७’ तत्कालीन मुख्य सचिवकै अध्यक्षताको समितिले तयार पारे पनि त्यत्तिकै दराजमा थन्क्याइयो । निजामती सेवा ऐन–२०४९ ले तहगत प्रणालीमा रूपान्तरण गरी एकीकृत निजामती सेवामा लैजान गरेको व्यवस्था किन लागू भएन ? कानुनले गरेको व्यवस्था लागू नगर्ने अनि त्यही नारा दिनाले ‘व्यावसायिकता’ शब्दमाथि नै ठट्टा हुन गएको छ ।
  • व्यावसायिक कर्मचारीहरू आफ्नो विज्ञता उपयोग गरी राजनीतिक विचारधाराभन्दा माथि उठेर नीति द्विविधा (पोलिसी डिलेमा) को सही समाधान दिन्छन् र निर्धारित नीतिको निष्पक्ष कार्यान्वयन गर्छन् भन्ने मान्यता छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा समेत यो विषयले बहसको रूप लिएको देखिन्छ । क्लिन्टन र ओबामाले ‘वन्करी’ अर्थात् शासनमा सक्षमता, विज्ञता र विशेषज्ञतामा जोड दिएका थिए भने स्यान्डर्सले विज्ञहरूले अवसर पाइसकेकाले अब नैतिकतावान् र आमूल परिवर्तनकामी (र्‍याडिकल) हरूको आवश्यकता छ भनेका थिए । जे होस्, अमेरिकाजस्तो लामो समय ‘लुट प्रणाली’ मा प्रशासन चलाएको देशले समेत व्यावसायिकतामा जोड दिएको देखिन्छ । निजामती सेवालाई ‘विविध व्यावसायिकहरूको समग्र रूप’ भन्ने गरिन्छ । राज्य सञ्चालनका जटिल कामहरू कुशलतापूर्वक गर्न विभिन्न योग्यता, सीप र ज्ञानको आवश्यकता पर्छ ।
  • निजामती सेवाभित्र सीमित क्षेत्रमा विशेषज्ञता दिलाउने उद्देश्यले विभिन्न सेवा–समूह गठन गरी उनीहरूको वृत्ति विकास त्यहीँभित्र सुनिश्चित गरिएको हो । यसरी विशिष्टीकरण गरिएकाहरूबाट प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह हुन सक्छ भन्ने विश्वास गरिन्छ । सार्वजनिक सेवामा बढ्दै गएको जटिलताले विशेषज्ञताको माग बढ्दै गएको हो । यो माग प्राविधिक सेवाहरूका लागि मात्र नभएर अप्राविधिक सेवाहरूभित्र पनि निश्चित तहसम्म लागू पनि हुन थालेको छ । त्यसैलाई मध्यनजर गरेर नेपालको निजामती सेवाभित्र पनि विभिन्न सेवा–समूह गठन गर्न थालिएको हो । उच्चस्तरका व्यवस्थापकीय पदहरूमा भने लामो समयसम्म सामान्य (जनरालिस्ट) हरू बढी प्रभावकारी हुन्छन् भन्ने मान्यताले काम गर्‍यो । ब्रिटिस इन्डियामा, पछि ब्रिटेनमा र भारतमा सचिव पदमा प्रशासन सेवामा रहेकाहरूको एकाधिकारजस्तै बन्न गयो । पछि कार्यकारी सेवा गठन गरी यसमा प्रवेश पाउनेहरूलाई सचिव वा स्थायी सचिवमा लैजाने क्रम सुरु भएको देखिन्छ । अहिलेको मान्यता के हो भने, सबभन्दा उच्च तहको सचिवजस्तो पदमा पदोन्नति हुन विशिष्टीकृत सामान्य सेवाको कर्मचारी वा सामान्यीकृत विशेषज्ञ हुनु आवश्यक हुन्छ । यसो भन्नुको अर्थ कोही प्राविधिक विशेषज्ञ छ भने उसले प्रशासकीय अनुभव हासिल गर्नुपर्छ र सामान्य अप्राविधिक छ भने आफ्नो क्षेत्रको कामको विशेषज्ञजस्तै भइसक्नुपर्छ ।
  • अन्य सार्वजनिक सेवाहरूको समेत नियन्त्रक, चालक र समन्वयकर्ताको भूमिका निर्वाह गर्नुपर्ने निजामती सेवा सुस्त र अक्षम (डल एन्ड इनकम्पिटेन्ट) हरूको आश्रयस्थल हुनु हुँदैन । ‘राज्यको सेवा सर्वोत्कृष्टले मात्र गर्नेछ (वन्ली द बेस्ट स्याल सर्भ द स्टेट)’ भन्ने नारा नै योग्यता प्रणालीका समर्थकहरूले लगाएका थिए । विडम्बना, सरकारी सेवाले असाधारण प्रतिभाहरूलाई खास आकर्षित गर्न सकेको देखिँदैन । जेजति प्रतिभाहरू सेवामा प्रवेश गरे, उनीहरूले पनि ‘रुल, रुटिन र रेडटेप’ को भुमरीमा फस्न पुग्दा सृजनशीलता प्रदर्शन गर्न सकेका छैनन् । निजामती सेवा सृजनशील हुन नसक्नुमा सार्वजनिक कोष प्रयोग गर्ने छुट नहुनु पनि हो । नवप्रवर्तनका लागि काम गर्दा असफल भइयो भने सरकारी कोषको अपव्यय भएको मानिन्छ । भूललाई छुट नदिने हो भने कसैले पनि नयाँ प्रयोग गर्ने आँट गर्दैन ।
  • त्यसैले निजी क्षेत्रले चामत्कारिक प्रवर्तन गर्दा पनि सरकारी क्षेत्र यथास्थितिमै रमाइरहेको देखिन्छ । सिलिकन भ्यालीमा असफलताका लागि नै उत्सव मनाइन्छ । असफलताबाट पनि ठूलो शिक्षा लिन सकिन्छ । त्यसैले त्यहाँ दुइटा सन्देश दिने गरिन्छ— पहिलो, ‘फेल फरवार्ड’ अर्थात् तिमी असफल भयौ र भविष्यमा असफल हुने सम्भावना घटायौ । दोस्रो, ‘फेल फास्ट’ अर्थात् असफल हुने सम्भावना देख्यौ भने तत्काल प्रक्रिया रोक्ने । सरकारी सेवा प्रक्रियामुखी हुनुले पनि सृजनशीलता रोक्छ । त्यसैले अति आवश्यक प्रक्रिया मात्र केन्द्रले तोकिदिएर अन्य प्रक्रिया ‘डिफल्ट रुल्स’ बाट तय गर्न सक्ने व्यवस्था गरिएमा यसमा सुधार ल्याउन सकिन्छ । कर्मचारीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न ‘ब्लड सर्कुलेसन’ भनिने अभियान केही देशमा चलाइएको छ । यसमा सरकारी कर्मचारीहरूलाई उच्च अध्ययनका लागि आर्थिक सहयोग दिने, निजी र गैरसरकारी क्षेत्रमा काम गर्न ‘सेकन्डमेन्ट’ मा खटाउने, तलबी बिदा दिने, जिम्मेवारी हेरफेर गर्ने जस्ता औजारहरू प्रयोगमा ल्याइएको देखिन्छ ।
  • साउदी अरेबियाले सरकारी अधिकारीहरू र व्यापारिक, प्राज्ञिक, परामर्शदात्री संस्थाका सयौं विशेषज्ञको नेटवर्क नै बनाएको छ । अहिले नयाँ अवधारणा पनि विकास भइरहेको छ— प्रवर्तनचालित सरकार (आईडीजी) । अब सरकार सहयोगीको भूमिकाबाट प्रवर्तनको अगुवा हुनुपर्छ भन्ने यसको मान्यता छ । यसका लागि केही विशिष्ट संस्थाहरू गठन गरेर सरकारी प्रक्रिया र व्यवहारबारे अध्ययन गर्ने जिम्मेवारी दिइन्छ । यदि अब पनि नवप्रवर्तक हुन सकेन भने हाम्रो सरकार क्रिप्टोकरेन्सी, आर्टिफिसियल इन्टेलिजेन्स, चालकविहीन कार, साइबर क्राइमजस्ता तीव्र रूपमा विकास भइरहेका क्रियाकलापलाई नियमन गर्नसमेत असमर्थ हुनेछ । हाम्रो निजामती सेवाले ब्रिटिस ‘ह्वाइटहल मोडल’ को योग्यता प्रणाली, तहगत सोपानजस्ता गुणहरू नक्कल गरेको देखिन्छ । यस मोडलको आलोचना सुस्त र प्रक्रियामुखी व्यवहारले भएको छ । अमेरिकी पूर्वराष्ट्रपति विल्सनले भनेका थिए, ‘कर्मचारीहरू पुरानो युद्ध लड्न तयार पारिएका सेनाजस्ता छन् न कि नयाँ युद्ध लड्न ।’
  • यी उदाहरणहरू हाम्रो निजामती सेवाको सुधारका लागि अनुकरणीय हुन सक्छन् । जुन देशले आफैं नवप्रवर्तन र आविष्कार पनि गर्न सक्दैन र अरूबाट पनि सिक्दैन, त्यो देशको प्रशासन असफल हुने निश्चित छ । हामी निजामती सेवा दिवस मनाउँदै छौ । दिवस मनाउनुको अर्थ हुन्छ संस्थाको गौरवपूर्ण अतीतबाट प्रेरणा लिन, विगतका कमजोरीबाट सिक्न र भविष्यप्रति आशा जगाउन ‘ग्य्रान्ड’ सुरुआत गर्नु । यस देशका नागरिकहरूप्रतिको जवाफदेही कति निर्वाह हुन सक्यो ? जनताको ‘डार्लिङ’ हुन किन सकिएन ? किन समाजका सबै वर्ग निजामती सेवाप्रति सकारात्मक देखिँदैनन् ? के लोकतान्त्रिक गणतन्त्रअनुरूप संस्थाले आफूलाई रूपान्तरित गर्न सकेको छ ? यी र यस्तै आत्मालोचनाबाट भविष्यको राम्रो मार्गचित्र बनाउन सक्नुपर्छ । जनतासँगको सम्पर्क कडी सरकारी निकायहरूमा जनताको पहुँच बढाउन ‘र्‍याम्प’ बनाउने, उनीहरूलाई सरकारी निकायहरूमा संस्थागत र प्रक्रियागत रूपमा संलग्न गराउने व्यवस्था गरिनुपर्छ ।
  • लोकतन्त्रमा जनताको स्वामित्व नभएका संस्थाहरू काम लाग्दैनन् । त्यसैले ‘नागरिक कचहरी’, ‘सिटिजन जुरी’, ‘नागरिक परामर्श समिति’, ‘प्रबुद्ध सिनेट’ आदि जे नाममा भए पनि नागरिकहरूको संलग्नता बढाउनतिर प्रयास हुनुपर्छ । निजामती कर्मचारीहरूले आफ्ना कामकारबाही पारदर्शी बनाएमा जनविश्वास आर्जन हुन्छ । नागरिकहरूसँग अन्तरक्रिया र सम्बन्ध स्थापित गर्ने मञ्च र क्षेत्रहरूको व्यापक विस्तार गर्न थाल्नुपर्छ । कर्मचारीहरूको मूल्यांकनमा उनीहरूको केही भूमिका हुनुपर्छ । अहिले ७२० डिग्रीको मूल्यांकन प्रणाली लागू भएका उदाहरण छन् । सबभन्दा महत्त्वपूर्ण कुरा, पुरानो संस्कृति परिवर्तन गर्नु हो । शासकीय शैलीमा सेवा दिने होइन कि सेवा दिएर शासन गर्न सिकाउने कर्मचारीतन्त्र अहिलेको आवश्यकता हो । सेवाग्राही नागरिकसँगै बसेर सेवाको ‘डिजाइन डेलिभरी’ मा सह–उत्पादन गर्ने काम सामुदायिक प्रहरी र सामुदायिक वनमा सुरु गरिएकै हो । यसलाई व्यापक बनाउँदै लैजानुपर्छ । सरकारी कार्यालयहरूलाई ‘नैतिक संगठन’ का रूपमा विकास गर्न नैतिक पूर्वाधारको तयारीमा लागिहाल्नुपर्छ । यी पूर्वाधारबेगर नैतिक संगठनको नाराको औचित्य हुन्न ।
  • नेपालका अधिकांश निजामती कर्मचारीले जागिरे जीवनभर एक पटक पनि तालिम लिएका हुँदैनन्, जबकि केही देशमा निश्चित अवधिमा तालिम पाउनु कर्मचारीको हकका रूपमा ऐनमै व्यवस्था गरिएको देखिन्छ । जर्मनी र फ्रान्समा त तीन वर्षभन्दा बढी अवधिको तालिमपश्चात् मात्र काममा खटाउने गरिन्छ । नेपालमा पनि सेवा प्रवेशबाहेक प्रत्येक तीन वर्षमा तालिम दिनैपर्ने प्रावधान निजामती सेवा ऐनमै राखियोस् । नयाँ प्रयोग र अन्वेषण गर्नेहरूका लागि निजामती सेवा दिवसको सन्दर्भ पारेर ‘नवीन प्रयोगको प्रदर्शनी’ को आयोजना गरी यसमा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने परम्पराको थालनी गर्न सकिन्छ । सार्वजनिक सेवामा सुधारका लागि निरन्तर अन्वेषण र अनुसन्धान गर्न सार्वजनिक सेवा प्रवर्तन केन्द्रको स्थापना गरेर पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्छ । निजामती सेवा नागरिक सेवा भएकाले यसको प्रभावकारिताबेगर हाम्रो लोकतन्त्रका मूल्यहरूको वितरण हुन सक्दैन । त्यसैले त यसलाई राज्यको चौथो शाखा (फोर्थ ब्रान्च) भनिएको हो । राजनीतिले फड्को मारेको छ र तदनुरूप यस सेवाले लय मिलाउन नसकेकाले समस्या हँदै छ । यसलाई ध्यानमा राखेर संस्था स्वयंले आत्मसुधारमा ध्यान दिन जरुरी छ ।
  • फिलिपिन्समा सेप्टेम्बर महिनाभरि ‘सिभिल सर्भिस डे’ मनाइन्छ, कहिले ‘एन्टी–रेडटेप’ को नारा दिएर त कहिले जनताको मन छुने अन्य नारा दिएर । जापानमा स्प्रिङमा मात्र माग राख्न र आन्दोलन गर्न पाइन्छ, त्यहाँका कर्मचारीले विरोधको ब्यानरसहित एक घण्टा बढी काम गरेर विरोध गरेका थिए । नेपालका निजामती कर्मचारीहरूले आफ्नो दिवस मनाउँदा जनताको सहानुभूति पाइने यस्तै उपायको खोजी किन नगरेका होलान् ? 

  • प्रकाशित : भाद्र २२, २०७८
    ०७:५४https://ekantipur.com/opinion/2021/09/07/163097999114019269.html?author=1

No comments:

Post a Comment