Sunday, November 11

सजिलो छैन कार्यान्वयन - गोपीनाथ मैनाली

राष्ट्रसंघीय महासभाबाट २५ सेप्टेम्बर २०१५ मा अनुमोदित दिगो विकासको लक्ष्य समृद्ध, शिक्षित र सुरक्षित मानव सभ्यताका लागि विश्वका साढे सात अर्ब मानिसको साझ संकल्प हो ।
दिगो विकासका लागि विकासका सबै आयाम (आर्थिक, सामाजिक, शासकीय र वातावरणीय) लाई सम्बोधन गरिनुपर्ने मान्यताका साथ विश्व विकासको मार्गचित्रका रूपमा दिगो विकास लक्ष्य जारी गरिएको हो । यसले सन् २०३० सम्मका लागि राष्ट्रिय सरकारका नीति कार्यक्रम र विकास साझेदारहरूको व्यवहारलाई निर्दिष्ट गरेको छ । यसको ध्येय मानव समृद्धि हो भने मानव समृद्धिका लागि उसको आश्रय पृथ्वीको संरक्षण पूर्व शर्त हो । त्यसैले दिगो विकास लक्ष्यलाई मानिस, समृद्धि र पृथ्वीको कार्यसूची र यसको माध्यम शान्ति र सहकार्य भनिएको छ ।
दिगो विकास लक्ष्यका पाँच रणनीतिक स्तम्भ छन्ः पहिलो– पृथ्वीमा रहेका प्राकृतिक साधन स्रोत र वातावरण भावी पुस्ताका लागि समेत संरक्षण, दोस्रो– सबै प्रकारका गरीबी र भोकमरीको अन्त्य गरी मानव मर्यादा एवम् समानता कायम, तेस्रो– प्रकृतिसँग सामञ्जस्य कायम गर्दै समृद्ध र समुन्नत जीवनको सुनिश्चितता, चोथौ– शान्त, न्यायपूर्ण र समावेशी समाज निर्माण र पाँचौं– सशक्त विश्वव्यापी साझ्ेदारीद्वारा दिगो विकासको अजेण्डा कार्यान्वयन ।
सबै आयामलाई सम्बोधन गर्ने भएकाले सहस्राब्दी विकास लक्ष्यका तुलनामा यसका लक्ष्य र सहायक लक्ष्यहरू पनि धेरै छन् । दिगो विकासका १७ लक्ष्य, १६९ सहायक लक्ष्य र करीब ३०० मापनयोग्य सूचक निर्धारण गरिएका छन् ।
नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगले सरोकारवाला तथा विषयविज्ञ समूहसँगको छलफलपछि तयार गरेको प्रतिवेदनमा प्रत्येक लक्ष्यका समयबद्ध सूचकहरू निर्धारण गरिएका छन् । र, चालू चौधौं योजनादेखि यसको कार्यान्वयन थालिएको छ । प्रत्येक आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा आयोजनाको विश्लेषण गर्ने संयन्त्रका रूपमा पनि दिगो विकास लक्ष्य सूचक अभ्यासमा ल्याइएको छ ।
विकासका लक्ष्यहरू त्यसै कार्यान्वयन हुँदैनन् । लक्ष्यमा पुग्नका लागि उपयुक्त रणनीति, कार्यक्रम, स्रोत परिचालन, संस्थागत व्यवस्था, क्रियाकलाप सञ्चालन र प्रभावकारी अनुगमन पूर्वशर्त हुन् । नेपालले दिगो विकास लक्ष्यलाई समयवद्ध रूपमा कार्यान्वयन गर्ने रणनीति बनाएको छ । दिगो विकास लक्ष्य दीर्घकालीन विकास गन्तव्य भएकोले यसलाई राष्ट्रिय, प्रादेशिक एवम् स्थानीय योजना र क्षेत्रगत कार्यक्रममा समाहित नगरी कार्यान्वयनमा ल्याउन सकिंदैन ।
योजना कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आधार भनेको वार्षिक बजेट हो । चौधौं योजना र आर्थिक वर्ष २०७३/७४ को वार्षिक विकास कार्यक्रम (बजेट) तर्जुमाको प्रमुख आधार नै दिगो विकासलाई मानिएको थियो भने तर्जुमाको क्रममा रहेको पन्ध्रौं पञ्चवर्षीय योजनाले पनि दिगो विकास लक्ष्यलाई मार्गदर्शक मान्नुको विकल्प छैन । सन् २०३० सम्म कार्यान्वयनमा आउने सबै तहका वार्षिक विकास कार्यक्रमले दिगो विकासका लक्ष्यलाई समेट्नेछन् । साथै गैरसरकारी क्षेत्रबाट कार्यान्वयनमा आउने योजना, क्रियाकलाप सबैले दिगो विकासको मर्मलाई आत्मसात् गर्नुपर्ने हुन्छ । किनकि यो विस्तृत र सबैका लागि मार्गदर्शक छ ।
विभिन्न तहमा भएको छलफल र सहस्राब्दी विकास लक्ष्यको समीक्षाबाट दिगो विकास लक्ष्यलाई कसरी अपेक्षाको सूचीभन्दा माथि र कार्यान्वयनयोग्य बनाउने भन्ने चुनौती देखिएको छ । किनभने योजनाहरूलाई वास्तविकतामा अनुवाद गर्न स्रोत, सामथ्र्य, अठोट र सहकार्य चाहिन्छ । दिगो विकास लक्ष्यले विकासका चुनौतीहरू विषयगत, स्थानगत, देशगत नभएर समष्टिगत हुन्छन् भन्ने दृष्टिकोण स्थापित गरेको छ । यसबाट समन्याय र दिगोपनाका लागि विश्व तहमा छलफल र सहकार्यको आधार दिएको छ भने निर्धारित लक्ष्य प्राप्तिका लागि ‘सबैको प्रयास सबै ठाउँमा’ भन्ने साझ स्वर मुखरित गरेको छ ।
विकासको यो अभियान कार्यान्वयनका लागि विश्वव्यापी तहमा केही प्रश्न र चुनौती छन् । जस्तो कि राष्ट्रिय स्वामित्वका साथ दिगो विकास लक्ष्यको अभियानलाई कसरी उत्साहित पार्ने ? निजी क्षेत्रलाई दिगो विकासको अभियानमा कसरी समाहित गर्ने ? स्थानीय तहको भूमिकालाई कसरी सक्रिय बनाउने ? स्थानीय समुदायलाई कसरी समेट्ने ? प्रति वर्ष आवश्यक हुने करीब रु.२०२५ अर्बको वित्तीय स्रोत व्यवस्थापन कसरी गर्ने ? वित्त, प्रविधि तथा अन्य स्रोतको कसरी प्रभावकारी उपयोग गर्ने ? सबै प्रकारका भूमिका निर्वाहकर्ताको जवाफदेहिताको सुनिश्चितता कसरी गर्ने ?
नेपालले निर्धारण गरेको दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा आन्तरिक रूपमा पनि थुप्रै चुनौती छन् । जसमध्ये केही सहस्राब्दी विकास लक्ष्य कार्यान्वयनका सन्दर्भमा पनि देखिएका थिए भने मौजुदा अवस्थामा ती दोहोरिने संभावना त्यत्तिकै छ । केही नयाँ चुनौती पनि थपिएका छन् ।
चुनौतीका चाङ
राष्ट्रिय प्रतिबद्धतालाई योजना तथा क्षेत्रगत कार्यक्रमले सम्बोधन गरेनन् भने ती बेवारिसे बन्नेछन् । त्यसैले पहिलो चुनौती, दिगो विकास लक्ष्यलाई आवधिक योजना, प्रदेश तथा स्थानीय योजना साथै सबै तहका वार्षिक विकास कार्यक्रममा कसरी समाहित गर्ने भन्ने छ ।
दोस्रो, दिगो विकास लक्ष्यलाई कसरी स्थानीयकरण गर्ने भन्ने हो । किनभने संघीय तह केवल नीति नियामक र उत्प्रेरक मात्र हो, कार्यक्रमहरू स्थानीय तहमै सञ्चालन हुन्छन् । यसर्थ दिगो विकास लक्ष्यको स्थानीयकरण र आन्तरिकीकरण जरूरी छ । उता स्थानीय तह आफैंमा धेरै जिम्मेवारी र थोरै क्षमता भएको तह हो । स्थानीय तहका ती सबै जिम्मेवारीभित्र दिगो विकासलाई समाहित गर्न जरूरी छ ।
तेस्रो, कार्यान्वयन स्तरलाई कसरी प्रभावकारी र विस्तृत पार्ने भन्ने चुनौती छ । परम्परागत शैलीबाट मात्र यो प्रतिबद्धता पूरा गर्न सकिंदैन । सम्पादित कामहरू स्तरीय बनाउन नयाँ सोच, शैली र प्रविधि कार्यान्वयन स्थलसम्म पुग्नुपर्छ ।
चौथो, आन्तरिक र बाह्य साधन परिचालनको चुनौती छ । दिगो विकास लक्ष्य आफैंमा नेपाल विकासको पन्ध्रवर्षे मार्गचित्र पनि हो । यसका प्रत्येक लक्ष्य र ती लक्ष्य अन्तर्गत सञ्चालन गरिने क्रियाकलापको एकमुष्ट लागत खर्बौं रुपैयाँको छ । सरकारी बजेटबाट मात्र ती कार्यक्रम पूरा हुने होइनन् । यसका लागि आन्तरिक र बाह्य स्रोत, ऋण र अनुदानका साथै निजी क्षेत्रको स्रोत परिचालन पनि आवश्यक छ । थोरै साधन र न्यून खर्च क्षमता भएको मुलुकमा लक्ष्य प्राप्तिका लागि समुदाय, निजी र बाह्य पूँजी परिचालन गर्न नसके यो केवल अपेक्षाको सूची मात्र बन्नेछ ।
पाँचौं चुनौती निजी तथा सहकारी एवम् सामुदायिक क्षेत्रलाई कसरी परिचालन गर्ने भन्ने छ । क्षमता, स्रोत र क्रियाशीलता निजी क्षेत्र, सहकारी तथा समुदायमा भए पनि प्रोत्साहन गर्न सकिएको छैन । जनस्तरमा फैलिसकेको सहकारी अभियानलाई अभिमुखीकरण गर्न सके मात्र पनि समुदायस्तरको ठूलो स्रोत र प्रयास लक्ष्य पूरा गर्न केन्द्रित हुने निश्चित छ ।
छैटौं, विभिन्न तहमा क्षमता विकास कसरी गर्ने भन्ने हो । हामीसामु भूकम्प तथा बाढीजन्य विपत्को व्यवस्थापन र पुनर्निर्माणलाई सम्बोधन कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ । स्थानीय तह कार्यमूलक सरकार हो । प्रदेश सरकार भने समन्वय, व्यवस्थापन र पूर्वाधारको सहजीकरणमा रहन सक्छ । तर, प्रदेश सरकारमा संरचना र क्षमता विकास भइसकेको छैन । प्रणाली निर्माणका लागि केही समय चाहिए पनि समयले हामीलाई पर्खंदैन । योजनाहरू समयमा कार्यान्वयन भएनन् भने समस्या थपिंदै गएर अतिरिक्ति साधन र प्रयासको माग हुनसक्छ ।
सातौं, राज्यका विभिन्न तहबीचको शासकीय क्षमता विस्तारसँगै समन्वय र सहकार्य कसरी गर्ने भन्ने चुनौती पनि हामीसँग छ । अर्को चुनौती भनेको लक्ष्य सूचकहरूको अनुगमन कसरी गर्ने, यसका लागि विभिन्न तहमा एकीकृत कार्यढाँचा कसरी बनाउने र प्रतिवेदन प्रणाली कसरी अबलम्वन गर्ने भन्नेमा छ ।
आठौं, नागरिक स्तरमा दिगो विकासमूलक सोच र संस्कृति निर्माण कसरी गर्ने भन्ने चुनौती छ । नागरिक नै सबैभन्दा शक्तिशाली पात्र हो र सोच–संस्कृति शक्तिशाली साधन । यसका लागि समुदाय, परिवार, घर र नागरिक तहमा शिक्षाको अभियान चाहिन्छ । प्रबुद्ध वर्ग, सार्वजनिक बौद्धिकहरू, विकास अभियन्ता, सामाजिक अगुवा लगायतबाट यो अभियान स्वयं चल्नुपर्दछ ।
सुरक्षित, स्वस्थ्य र समृद्ध समाज निर्माणका लागि दिगो विकास लक्ष्य आफैंमा एक अवसर पनि हो । दिगो विकासको महान् लक्ष्यलाई सामान्य रूपमा लिने र उल्लिखित चुनौतीलाई सम्बोधन नगर्ने हो भने यो लक्ष्य अपेक्षा मात्र बन्नेछ । र, हामीले चाहे जस्तो समाज साथै विश्व निर्माणको अवसर गुम्नेछ ।

Saturday, November 10

अमेरिकामा ह्यारीको विजय र नेपालमा समावेशीताको प्रश्न-डम्बर खतिवडा

  • विविधता र समावेशीताले बहुआयामिक विकासमा मद्दत गर्छ ।
  • नेपालमा समृद्धिको एउटा आधार नै समावेशीता हो । समावेशीताले समृद्धिलाई जोड मात्र दिँदैन, गुणन गर्छ । समावेशी विकास सामान्य आर्थिक विकासभन्दा फरक अवधारण हो । त्यसका लागि त्यसको राम्रो उदाहरण दक्षिण अफ्रिका, क्यानाडा, अष्टे«लिया र सिंगापुरमा देख्न सकिन्छ ।
  • सिंगापुर केवल आर्थिक र भौतिक विकास गरेको मुलुक मात्र हैन, उत्तिकै समावेशी मुलुृक पनि हो । मलेसियन, चाइनिज र इन्डियन त्यहाँको आन्तरिक समावेशीताको कम्पोनेन्ट थिए । त्यसपछि अमेरिकीलगायत सम्पूर्ण बाँकी विश्वलाई पनि उनीहरुले आफूमा समावेश गरे ।
  • नेपालको आधुनिक, सभ्य र लोकतान्त्रिक भनिएको संविधानले अंगीकृत नागरिकताको सवालमा महिला र पुरुषबीच सिधै विभेद गरेको छ । नेपाली पुरुषसँग विवाह गरेकी महिलाले विवाह गर्नेवित्तिकै नेपालको नागरिकता पाउँछे । महिलाले विवाह गरेको विदेशी पुरुषले १५ वर्ष पाउँदैन ।
  • संविधान भनेको राज्य र नागरिक बीचको सामाजिक सम्झौता हो । त्यो महिला र पुरुषले राज्यसँग गर्ने फरक–फरक सम्झौता हैन । नागरिक भन्नेवित्तिकै महिला, पुरुष र तेस्रो लिंगी सबै पर्दछन् ।
  • जनसंख्या सानो र समरुप हुँदा मात्रै अर्थतन्त्रको विकास हुने भए सम्भवतः नेपालमा सबैभन्दा बढी विकास कर्णालीमा हुनुपथ्र्यो । सबैभन्दा थोरै जनसंख्या कर्णालीमा छ । सबैभन्दा ठूलो भूभाग कर्णालीमा छ । जातीय तथा भाषिक विविधिता कर्णालीमा कम छ । सबैभन्दा बढी समरुप समाज कर्णालीमा छ । सबैभन्दा बढी प्राकृतिक स्रोतसाधन कर्णालीमा छ । तर, किन कर्णाली नै विकासमा सबैभन्दा कमजोर छ ?
  • विविधता र समावेशीतालाई हामी झर्कोका रुपमा लिन्छौं । तर, त्यो त मानव जातिका उत्कृष्टताहरुको संकेन्द्रण हो ।
  • समावेशीताले समाजलाई विस्तार गर्ने हो । मानव जीवनलाई समृद्ध पार्र्ने हो । मान्छेको सोच्ने तरिकालाई फराकिलो बनाउने हो । फरक–फरक भाषा, संस्कृति, स्वाभाव र परिस्थितिसँग अन्तरक्रिया गराउने हो । मान्छेको सोच जति फराकिलो हुन्छ, त्यति नै समृद्धि सम्भव हुन्छ ।
  • नेपालमा कर्णाली र प्रदेश २ किन मानवीय विकास सूचकांकमा पछाडि छन् ? किनकि त्यहाँ सबैभन्दा बढी समरुप समाज र समावेशीता कम छ । प्रदेश ३, ४ र १ किन बढी विकसित छन् ? किनकि त्यहाँ सबैभन्दा बढी असमरुप समाज छ । असमरुप समाजमा विविधिकृत ट्यालेन्ट हुन्छ । त्यहाँ प्रतिस्पर्धा र सिर्जना हावी हुन्छ । समरुप समाजमा संस्कृति हावी हुन्छ । त्यहाँ रुढीवाद र एकलकाँटे सोचले स्पेश पाउँछ । धरान, इटहरी, बुटवल, पोखरा र काठमाण्डौंमा सम्भवतः सबैभन्दा बढी विविधिकृत बस्ती छ । विकास र अर्थतन्त्र पनि यही छ । यो कुरा सबै प्रदेश र शहरहरुले सिक्नुपर्छ ।
  • भाषिक हिसाबले पनि प्रतिस्पर्धामा आउन ४-५ भाषा जान्नैपर्ने अन्यथा व्यक्तिगत जीवन सहज नहुने परिस्थिति आउँदैछ । भाषिक समावेशीता उत्तिकै आवश्यक हुँदै गएको छ । एउटा नेपालीले नै राम्ररी जिन्दगी चलाउन कम्तिमा ४ भाषा जान्नैपर्ने भएको छ ।
  • नेपालमा समावेशीताको सम्म कुरा गर्दा मानिसहरु ठीकै मान्छन्, जब पहिचानको कुरा आउँछ, धेरैलाई ज्वरो आउन थाल्छ । यो पनि ठीक उल्टो सोचको परिणाम हो । जसरी समावेशीताले स्वयं समावेश गर्ने व्यक्ति, समाज र देशलाई फाइदा हुन्छ, पहिचानले त्यही गर्छ । तर, हामीलाई राजनीतिक पूर्वाग्रहका कारण गलत अर्थ बुझाइएको छ । अन्यथा पहिचान र समावेशीता एकअर्काका परिपूरक हुन् ।
  • समावेशीताले समाजको अन्तर्घुलनको माग गर्छ । अन्तघुर्लन भनेकै विविध पहिचानहरुको अन्तर्घुलन हो । पहिचान भनेको विविधताको संरक्षण हो । जब विविधता हुन्छ अनि समावेशीता हुन्छ, जब विविधता नै छैन, विविधता नै समाप्त भएर गयो, केको समावेशीता गर्ने ? तसर्थ विविधतालाई रक्षा गर्न पहिचान चाहिने हो । कुनै भाषा नै हरायो, कुनै संस्कृति नै हरायो, कुनै जातीय समुदाय नै हरायो भने के समावेश गर्ने ? के–केबीच अन्तर्घुलन गर्ने ?
  • मावेशीताका लागि विविधताको संरक्षण चाहिन्छ । विविधताको संरक्षणका लागि पहिचान चाहिन्छ । अमेरिका संघीय मुलुक हो । पहिचानप्रति संवेदनशील मुलुक हो । नेपालीहरुले त्यहाँ गएर अमेरिकन नागरिकता लिने हुन । राजनीतिक, आर्थिक, सामाजिक, साँसकृतिक अधिकार पाउँने हुन । सबै हिसाबले अमेरिकन हुने हैनन् ।
  • उनीहरुले आफूलाई ‘नेपलिज अमेरिकन’ भन्न पाउँछन् । नेपालकै चाडवाड र संस्कारहरु मान्न पाउँछन् । नेपालीमै पत्रपत्रिका निकाल्न र बोल्न पाउँछन् । मान्छेको सार्वभौम स्वभावका हिसाबले ती नेपाली नै रहन्छन्, तर राजनीतिक अधिकारका हिसाबले मात्र अमेरिकन हुन्छन् ।
  • नेपालमा समावेशीता, पहिचान र संघीयताको मुद्दा बरालिनुको कारण यिनै सरल सत्यहरु नबुझ्नु हो । ह्यारीले अमेरिकामा चुनाब जित्नुलाई हामी राम्रो मान्छौं । राजेन्द्र महतोले जनकपुरमा चुनाव जितेको हामीलाई भित्रभित्रै मन परिरहेको हुँदैन । यो हाम्रो मनमा गडेर बसेको, हामीले राम्ररी नियालेर नहेरेको हाम्रो द्धैध चरित्र हो । राजेन्द्र महतोको जित नेपालको स्ट्रेन्थ हो ।
  • नेपालका धेरै भाषा, संस्कृति र जातीय समूहहरु लोपोन्मुख छन् । त्यसको घाटा नेपाललाई नै हुन्छ । शेर्पा भन्ने जाति नै नासिएर गयो भने सगरमाथामा यति धेरै रेकर्ड नेपालको नाममा बन्ने छैन । नत नाम्चे र लुक्लामा पर्यटन व्यवसाय व्यवस्थापन गर्न सहज हुन्थ्यो । कुनै भाषा हराउँदा कुनै भाषा मात्र हराउँदैन, हज्जारौं हजार वर्षको मानवीय इतिहास, सम्पदा, संस्कृति, ज्ञान र सीपहरु हराएर जान्छन् । त्यो घाटा नेपाललाई नै हो । तसर्थ मौलिकताहरुको रक्षा पनि गर्नु पर्छ । अन्तर्घुलन र समावेशीता पनि हुनुपर्छ । यी दुई चिजबीच गतिशील सन्तुलन हुनुपर्छ ।
  • खानामा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । प्रविधिमा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । पोशाकमा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । संस्कृति, भाषा र राजनीतिमा पहिचान र समावेशीता स्वीकार गर्न किन गाह्रो हुने ? नेपालको डिस्कोर्समा बुझ्न नसकिएको कुरा यही हो ।
https://www.onlinekhabar.com/2018/11/718699

Friday, November 9

विकासको भोक आइतबार-सुबोधराज प्याकुरेल

  • बहुदलीय व्यवस्थाको पुनरागमन भएको झन्डै तीन दशकसम्म कुनै पनि सरकार एक वर्ष पनि टिकेनन् । अनि सबैलाई लाग्यो कि स्थिर सरकार नै विकासको आधार हो । 
  • विकासको अर्थ हुन्छ, नागरिकमा स्वामित्व भाव र सन्तुष्टिको आर्जन । उदाहरणका लागि अस्ट्रेलिया स्वतन्त्र भएयता एकाधबाहेक कुनै पनि सरकार एक वर्ष टिकेको छैन । धेरै विकसित भनिएका डेनमार्क, फिनल्यान्ड इजरायल लगायतका दर्जनौँ देशमा अल्पमतको सरकारले शासन गरेको दशकौँ भइसक्यो । 
  • सुरक्षा भन्नासाथ पुलिसलाई र विकास भन्नासाथ भौतिक विकासलाई सम्झने हाम्रो संस्कारमा आमूल परिवर्तन नआउन्जेल विकासले बाटो लिन सक्नेवाला छैन । सरकार वा राज्यका अंग भनेको जनताको विकासको क्रियालाई सहजीकरणसम्म गरिदिने निकाय हुन् । 
  • हामीले विकास भन्नासाथ अरूले हाम्रा लागि गरिदिने विकास भन्ठानेका छौँ । यो नै हाम्रो अविकास र अवनतिको लक्षण हो । 
  • विकासको आवश्यकतालाई चिनेर त्यसका लागि प्रतिबद्ध हुनु विकासको पहिलो आवश्यकता हो । त्यस्तो विकासको काममा सहजीकरण गर्नसक्ने पात्र पहिल्याउन सक्नु पहिलो क्षमता हो । विकासका काममा संलग्न हुनु अर्थात् योगदान गर्न तत्पर हुनु पहिलो सर्त हो । र, आफ्नो विकासका लागि निर्मित कामको रेखदेख–सम्भारप्रति चनाखो रहेर सामेल हुनु पहिलो दायित्व हो । अर्थात् प्रतिबद्धता, पात्र, योगदान र सामेली विकासका चार पूर्वसर्त हुन् । 
  • संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकास लक्ष्य सन् २०३० सम्ममा अर्थात् अबको १२ वर्षमा हासिल गर्नुपर्ने छ । उक्त लक्ष्यको १७ वटा बुँदा छन् जसमा गरिबीको अन्त्य, भोकमरीको अन्त्य, आरोग्यता, गुणस्तरीय शिक्षा, लैंगिक समानता, सफा पानी र सरसफाइ, स्वच्छ ऊर्जा, मर्यादित काम र आर्थिक वृद्धि, उद्यम, नवीन खोज र पूर्वाधार, असमानताको न्यूनीकरण, दिगो बस्ती, जिम्मेवारीपूर्ण उपभोग र उत्पादन, जलवायुको शुद्धता, नदीनाला र पानीका स्रोतको संरक्षण, वातावरण र वन, शान्ति र न्यायका लागि सशक्त संस्थागत विकास तथा उल्लिखित लक्ष्यका लागि साझेदारी तोकिएको छ । अन्तिम अर्थात् सत्रौँ बुँदाले घोषित गरेको कुरा के हो भने आम नागरिकको योगदान र साझेदारीबेगर यी लक्ष्य प्राप्त गर्न असम्भव छ । 
  • नागरिक समाज, नागरिक र अनेकन् क्षेत्रमा संगठित व्यक्तिहरूको साथ–सहयोग मात्र होइन कि नेतृत्वबेगर दिगो आर्थिक विकासको लक्ष्य प्राप्त गर्न असम्भव हुनेछ । 
  • आवश्यकताको पहिचान गर्न, त्यसका लागि आफ्नो तर्फबाट हुनसक्ने योगदानका लागि तत्परता व्यक्त गर्न र राज्यका सम्बन्धित अंगलाई परिचालित गरेर सहजीकरण उपलब्ध गर्नसक्ने समाजले नै विकासको लक्ष्य हासिल गर्न सक्छ । सोच, सुनुवाइ र लगनशीलता नै विकासका तीन आधारस्तम्भ हुन् भनेर त्यसैले भनिएको हो । यदि विकासलाई चाहनाका रूपमा मात्र बुझियो र विकासका चार पूर्वसर्त र तीन आधार स्तम्भलाई वास्ता गरिएन भने विकासको भोक भोक मात्र रहनेछ । भोक शान्त हुन कठिन छ । 
  • विकासको भोक लाग्नु राम्रो तर भोक निवारणको दिगो उपाय नजान्नु नराम्रो।
https://nagariknews.nagariknetwork.com/news/60733/x

पूर्वाधार आयोजनामा ‘दृश्य अनुगमन -तिलक पौडेल

  • अहिले भइरहेको स्थितिबाट इच्छा गरिएको स्थितिमा पुग्न योजना चाहिन्छ । योजनाले सम्बन्धित लाभग्राहीलाई सोचेअनुसारको फाइदा पु-याएको हुनुपर्छ । 
  • हामीकहाँ ‘स्वभावीय नभई अभावीय समस्या’का कारण सीमित साधनबाट असीमित चाहना पूरा गर्न असम्भवप्रायः छ । योजनाहरू समावेश गर्न नसकिँदा पहुँचका आधारमा योजनाको छनोट हुने गर्दछ ।
  • हालैको आँकडामा पनि ७५ प्रतिशतभन्दा धेरै आयोजना अलपत्र छन् । यसको प्रमुख कारण कार्यान्वयनको धरातल दह्रो नहुनु हो ।
  • कार्यान्वयनको कसी भनेको स्थलगत अनुगमनको वस्तुगत प्रतिवेदन हो । सिद्धान्ततः यही प्रयोजनका लागि सबै मन्त्रालयमा अनुगमन महाशाखा, शाखाहरू स्थापित छन् । तापनि भनेजसरी कार्यान्वयन हुन नसकिरहेको अवस्था छ । 
  • सिंगापुरमा ‘सिंगापुरका पिता’ मानिएका ली क्वान यूले हरेक बिहान ‘बेड टी’ आफू सुत्ने कोठासँगैको अर्को कोठामा लिन्थे रे । त्यो कोठाको सामुन्ने भित्तामा ठूलो ‘डिस्प्ले बोर्ड’ थियो, जसमा सिंगापुर निर्माणका महत्वपूर्ण योजनाका दैनिक प्रगति सदृश्य हेर्न सकिने व्यवस्था मिलाइएको थियो । चिया सकुन्जेलमा लीले ‘राष्ट्रिय गौरवका योजना’जस्ता महत्वपूर्ण ठूला योजनाको अवस्था सर्सर्ती नियालिसक्थे रे ।
  • जिम्मेवारीहीन बन्ने आयोजना प्रमुख वा ठेकेदारलाई पारदर्शी हिसाबले कारबाही गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमानमा सो आवश्यकता पूरा गर्ने अभियान सञ्चालन गर्ने गृहमन्त्रीलाई आफ्नो क्षेत्राधिकारबाहिर गएर ‘जंगबहादुर’ बन्न खोज्या हो ?’ भन्ने सम्बन्धितको आरोप चर्चित छ । हुन त जिल्ला तहमा अवशिष्ट अधिकार जिल्ला प्रशासन कार्यालयलाई भएजस्तै केन्द्रमा गृह मन्त्रालयमा हुनुपर्ने हो ।
http://www.nayapatrikadaily.com/2018/10/30/109631/

समुदायमा आधारित विकासको सान्दर्भिकता-नहकुल केसी

  • सहकारिताको अभियान र गान्धीले अवलम्बन गरेको ग्रामीण स्वावलम्बनलगायत पाउलो फेरेको अन्याय तथा दबिएका आवाजहरू संगठित भएर आफ्नो उद्देश्य हासिल गर्नुपर्ने धारणासँग समुदायको मागमा आधारित विकासको सिद्धान्तले तादात्म्य राख्छ ।
  • सन् १९५० को दशकको सुरुमा ग्रामीण विकासको नामबाट सामुदायिक विकासको अवधारणा सुरु भएर नेपालमा हाल समुदायमा आधारित विकासले ठूलो फड्को मारिसकेको छ । 
  • पहिलो पञ्चवर्षीय योजनादेखि नै ग्रामीण विकासलाई प्राथमिकता दिएको पाइन्छ । सामुदायिक वन, सिँचाइ समूह, कृषि समूह, आमा समूह, उपभोक्ता समूह र स्थानीयस्तरमा गठन भएका विभिन्न सामुदायिक संस्थाले स्थानीय स्रोत–साधन परिचालन, सामूहिकता तथा जीविकोपार्जनमा ठूलो योगदान पुर्‍याएको देखिन्छ । 
  • सामुदायिक विकासको अर्को महत्वपूर्ण पक्ष दिगोपनको सुनिश्चितता हो । बाह्य सहयोग रहुन्जेल समूहहरू रहने र सहयोग समाप्त भएपछि बिलाएर जाने तितो यथार्थ हामिमाझ छ । 

http://www.nayapatrikadaily.com/2018/11/02/110690/

सरकार, आयोजना कार्यान्वयन र बेथिति - सुकदेव भट्टराई खत्री

  • मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन भए पनि नेतृत्व वर्गको चरित्र र कार्यशैलीमा कुनेै परिवर्तन भएको देखिँदैन । नेतृत्व तह हरधडी शक्ति र द्रव्य आर्जनको खेलमा लागेको अनुभूति हुन्छ ।
  • सर्वप्रथम सेनाप्रमुखले आफ्नो संस्थामा भ्रष्टाचार भएको र एक्लो परेको कुरा सार्वजनिक गरेका छन् । सेनामात्र नभई अन्य संवैधानिक निकाय र कार्यकारी निकायहरू सवैमा भ्रष्टाचार व्याप्त छ । 
  • विगतका सरकारले सरकारी खर्च प्रणालीमा सुधार गर्ने नाममा पटकपटक विभिन्न आयोग गठन गर्ने र कार्यान्वयन पक्ष भने कमजोर हुने गथ्र्याे । वर्तमान सरकारले पनि खर्च प्रणालीमा सुधार गर्ने नाममा सार्वजनिक खर्च आयोग गठन त गरेको छ तरयो पनि विगतको पुनरावृत्ति नै हो । बरु तीन तहको सरकार बनेपछि अब खर्च कसरी गर्ने र यसमा आउने समस्या कसरी सम्बोधन गर्ने भन्ने सुझाव दिनेगरी आयोग बनाएको भए बढी प्रभावकारी हुनेथियो।
  • ठेक्कामा जथाभावी किसिमले चलखेल नहोस् भनेर कारबाहीको व्यवस्था गरिएको हो तर प्रशासनमा राजनीतिक हस्तक्षेप र जाति बन्ने परिपाटीले गर्दा कार्यान्वयन पटक्कै हुन नसकी समस्या आएको हो।
  • विगत ७ वर्षदेखि राष्ट्रिय गोैरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना आफ्नै स्रोतमा १० वर्षमा करिव २ खर्ब रकम जुटाउने गरी निर्माण गर्न इन्धनमा पूर्वाधार कर उठाइएकामा हालसम्म २३ अर्ब रकम उठिसकेको छ । 
  • बजेट आफैँ लिदा सांसदलाई विधायिकी भूमिकाबाट विचलित तुल्याएको छ भने यो कार्य संसदीय प्रणालीको मान्यता पनि होइन । 
  • संसारमा कुनै पनि सुशासन भएका मुलुकमा धेरै कानुन हुँदैन । हामीकहाँ सुशासन कानुनदेखि थुप्रै कानुन छन् तर कार्यान्वयन पक्ष कमजोर रहेकाले नै मुलुकमा बेथिति बढ्न गएको हो । 
  • अहिले कदाचार, दूराचार, भ्रष्टाचार, व्यविचार, स्वैराचार जस्ता घातक कुराले समाजमा स्थान पाएको अवस्था छ । 
https://nagariknews.nagariknetwork.com/news/61044/

विकासको बिग्रेको बाटो - सम्पादकीय

  • विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च हुन सक्दैन। सरकारले छुट्याएको बजेट खर्च नभई बस्दा ठूलै बचत त देखिन्छ तर त्यो रकमको मूल्य भने घट्दै जान्छ। 
  • उपभोग्य र नासवान वस्तुमा खर्च धेरै हुँदा त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दैन। 
  • हाम्रा सरकारी निकायले गर्ने खर्च गाडी, घोडा, कुर्सी टेबुल, कम्प्युटर प्रिन्टर वा यस्तै वस्तुमा जान्छ। केही दिनमै यी वस्तु बिग्रन्छन्। खर्च भने यस्तै वस्तुमा बढ्ता गर्ने गरेको देखिन्छ। 
  • अहिले धेरैजसो स्थानीय तहको ध्यान ठूल्ठूला डोजर किन्नपट्टि छ। यसरी डोजर किनेर त्यसैको आम्दानीबाट तलबभत्ता खाने जनप्रतिनिधिले सजिलो बाटोसमेत अपनाउँदै आएको देखिन्छ। 
  • छिमेकी भारतले प्रतिदिन झण्डै ३० किलोमिटर सडक निर्माण गर्दै आएको छ । हाम्रो भने वर्षमा सय किलोमिटर पनि नपुग्ने अवस्था छ। 
https://nagariknews.nagariknetwork.com/news/61045/