Thursday, November 15

कर्मचारी समायोजनको सहजीकरण-प्रा.डा. भीमदेव भट्ट

  • सङ्घीयता कार्यान्वयनका सिलसिलामा प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको व्यवस्था गर्न संविधानको धारा ३०२ (२) मा सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारको कानुन बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सक्ने उल्लेख छ । उक्त दफा अनुसार नेपाल सरकारले असोज २९, २०७४ मा कर्मचारी समायोजन ऐन र फागुन २८, २०७४ मा कर्मचारी समायोजन नियमावली पारित गरेको छ । यसै सन्दर्भमा १३ चैत २०७४ मा स्थानीय तहमा एक वर्षका लागि प्राविधिक कर्मचारी करारमा लिनसक्ने कार्यविधि समेत पारित गरिएको छ । 
  • सङ्घ, प्रदेश र स्थानीय तहमा के कति कर्मचारी आवश्यक पर्ने भन्ने बारे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक गृहकार्य गरी संख्या एकीन गरेको छ । तद्अनुरूप मन्त्रालयले कर्मचारीहरू प्रदेश र स्थानीय तहमा खटाउने कार्य प्रारम्भ गरे पनि यसले पूर्णता पाउन सकेको छैन । कर्मचारीको अभावमा सेवाग्राहीलाई सेवा पुर्‍याउन नसकिएको गुनासो प्रदेश र स्थानीय तहबाट निरन्तर आइरहेको छ । यो समस्या निराकरणका लागि सरकार कर्मचारी समायोजन अध्यादेश पारित गराउने निर्णयमा पुगेको बुझिएको छ । 
विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार मान्दा सरकारले कर्मचारी समायोजन सम्बन्धी तयार गरेको अध्यादेशको कार्यान्वयन पनि त्यति सहज देखिन्न । देहायमा प्रस्तुतीले यस कथनको पुष्टि गर्नेछ– 
  • १. अध्यादेशमा प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका आयोग, समिति, प्रतिष्ठान वा संस्थाका स्थायी कर्मचारीलाई त्यसरी सेवा हस्तान्तरण भएको प्रदेश वा स्थानीय तहको प्रदेश निजामती सेवा वा स्थानीय सेवामा निजको शैक्षिक योग्यताका आधारमा मिल्दो सेवा, समूह र तहमा समायोजन गरिने प्रावधान छ । यो निर्णय त्यति सान्दर्भिक देखिन्न । निजामती सेवालाई सोलोडोलो रूपमा अरु सेवासित मिसाउँदा भविष्यमा यसले थप समस्या सृजना गर्न सक्ने भएकाले यस्तो निर्णय लिनु राम्रो होइन ।  
  • २. समायोजन गरेर प्रदेश र स्थानीय तहमा पठाइने कर्मचारीलाई तोकिएको सेवा वर्षका आधारमा पदोन्नति दिने निर्णयले ठूलो विवाद सृजना गर्न सक्दछ । चार वर्षभन्दा कम, चारदेखि सात वर्षभन्दा कम र सात वा सो भन्दा बढी अवधि सेवा पूरा गरेका कर्मचारीलाई दिइने पदोन्नतिको सुविधामा एकरूपता पाइँदैन । यस प्रकारले समूहिकृत गर्दा कर्मचारीमा विभेद सृजना हुने देखिन्छ । पदोन्नति दिँदा श्रेणीबाट तहमा लगिने निर्णय झनै असान्दर्भिक छ । सङ्घमा श्रेणी पद्धति र प्रदेश र स्थानीय तहमा तहगत पद्धति सञ्चालनमा ल्याउँदा भोलिका दिनमा यसले थप समस्या निम्त्याउनेछ । 
  • ३. अध्यादेशको मस्यौदामा कर्मचारी समायोजन भैसकेपछि खटाइएको स्थान प्रदेश र स्थानीय तहको कार्यालयमा कति वर्ष अनिवार्य सेवा गर्ने भन्ने बारे कहिँ उल्लेख गरिएको पाइँदैन । समायोजन भएका कर्मचारी अनिवार्य रूपमा खटाइएको ठाउँमा जानु पर्ने, नगए सरकारले अवकाश दिन सक्ने व्यवस्था गरिए पनि कर्मचारीले पदोन्नति लिनका लागि सो कार्य गरी छोटो अवधिमा राजीनामा नदेलान भन्न सकिन्न । यस्तो निर्णयले कर्मचारीको स्वार्थपूर्ति गरे पनि संस्थाको स्वार्थ पूर्ति नगर्न सक्दछ । 
  • ४. कर्मचारीले आफ्नो निर्णय अनुरूप तोकिएको जिल्लामा गई सेवा गर्ने इच्छा जाहेर गरेर सरुवा लिन सक्ने प्रावधान अध्यादेशमा भए तापनि प्रदेश निजामती सेवा वा स्थानीय सेवामा खटिएका कर्मचारीलाई प्रदेश सरकारले प्रदेश भित्रको एक निकायबाट अर्काे निकायमा स्थानान्तरण गर्न सक्ने अधिकार सुरक्षित गरेकाले कर्मचारीले आफ्नो इच्छाएको ठाउँमा सेवा गर्न नपाउने सम्भावना पनि उत्तिकै देखिन्छ । कुनै कार्यालयमा जान धेरै कर्मचारीको उम्मेदवारी पर्ने र अन्य कुनै कार्यालयमा उम्मेदवारी नपरेमा र प्रदेश सरकारले आफू अनुकूल कर्मचारी पदस्थापना गरेमा सामायोजन कार्यले पूर्णता नपाउन सक्दछ । 
  • ५. प्रदेश निजामती सेवा र स्थानीय सेवामा समायोजन भई खटिने कर्मचारी बाहेक अन्य बाँकी रहेका कर्मचारीहरू सङ्घीय सेवाका कर्मचारी मानिने छन् । यस प्रावधानले कर्मचारी खटाउँदा स्वइच्छाले जाने बाहेक अन्य कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउन बाध्य तुल्याउँदैन । नेपालको निजामती सेवामा भनसुन, आस्था, नातागोता प्रकरणले विगतदेखि बलियो पकड जमाउँदै आएकाले प्रस्तुत अध्यादेशले पहुँच नभएका निरिह कर्मचारीलाई मात्र प्रदेश र स्थानीय तहमा समायोजन गराउँछ कि भन्ने आशंका समेत उत्पन्न गराएको छ । 
  • ६. कर्मचारी समायोजन ऐन, २०७४ पारित गर्दा कर्मचारीलाई एक तह पदोन्नति दिने व्यवस्था गरेको थियो । यस प्रावधानको चर्काे आलोचना भएपछि यही सरकारले सो दफा कार्यान्वयन नगर्ने प्रतिबद्धता जाहेर गर्‍यो । वर्तमान अध्यादेशमा घुमिफिरी पदोन्नति दिने निर्णय गरिएको छ । यस निर्णयले सरकार कर्मचारी युनियनका सामू निरीह साबित भएको छ । कर्मचारी पनि संस्था र राष्ट्रको भन्दा आफ्नो स्वार्थ पूरा गर्न सफल भएका छन् । यो प्रवृत्ति गलत हो । 
  • ७. कर्मचारीको विवरण तयार गर्ने सन्दर्भमा जिल्ला समन्वय समितिका साथै समिति, आयोग, प्रतिष्ठान वा संस्थाका कर्मचारीको विवरण मन्त्रालयले तयार गरी अध्यादेश जारी भएको तीस दिन भित्र मन्त्रालयमा पठाउनु पर्ने उल्लेख छ । यो कार्य समन्वय गर्ने कार्यालयको कुनै उल्लेख पाइँदैन । 
अब के गर्ने ? 


कर्मचारी समायोजनबारे देहायको विकल्पमा ध्यान जानु पर्दछ । 
  • १. सर्वप्रथम सङ्घ प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने । वर्तमान समयमा सङ्घमा करिब ४६ हजार, प्रदेशमा करिब २१ हजार र स्थानीय तहमा ५८ हजार कर्मचारीको स्वीकृत दरबन्दी तयार गरिएको छ । यस संख्यामा कुनै थपघट गर्नु पर्ने भए प्रदेश र स्थानीय तहको सहमतिमा सो कार्य गर्ने । 
  • २. दरबन्दी एकीन भैसकेपछि स्वइच्छाले समायोजन हुन चाहने कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने । उनीहरूलाई पदोन्नति नदिई थप सुविधा, ग्रेड भत्ता मात्र दिने । 
  • ३. प्रदेश र स्थानीय तहमा खाली रहेका दरबन्दी सम्बन्धित ठाउँबाटै सङ्घीय लोक सेवा आयोग मार्फत आपूर्ति गर्ने । यो कार्य आयोगले केही छोटो समयमा सम्पन्न गर्ने व्यवस्था मिलाउने । 
  • ४. प्रदेश लोक सेवा निर्माणका लागि आवश्यक पर्ने मार्गनिर्देश सङ्घीय लोक सेवा आयोगले तयार गरी यो कार्य अघि बढाउने । सङ्घीय लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको जनशक्ति भर्ना कार्यलाई अर्काे निर्णय नभएसम्म निरन्तरता दिने । 
  • ५. संविधानको धारा २३४ मा व्यवस्था गरिएको अन्तर प्रदेश परिषद्को बैठक नियमित गरी प्रदेश एवं स्थानीय तहले भोगेका समस्या निरूपणका लागि पहल गर्ने । 
  • ६. प्रदेश र स्थानीय तहमा सञ्चालन गरिने विकास निर्माणका कार्यमा सहयोग पुर्‍याउन सम्बन्धित विषयका उच्च कार्यकारीहरू केन्द्रले तत् तत् ठाउँमा छोटो समयका लागि काजमा पठाउने । 
  • ७. श्रेणी र तहको विवाद उठाई नयाँ ‘पाण्डोरा बक्स’ खोल्ने धृष्ठता गर्दै नगर्ने । 

प्रशासन सञ्चालनमा बजेट, भौतिक पूर्वाधारका साथै जनशक्तिको महत्व स्वतः स्पष्ट छ । यसमध्ये पनि जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । जनशक्तिको गैरउपस्थितिमा कुनै पनि संगठनले सुशासन निर्माण गर्न सक्दैन । यस मर्मलाई आत्मसात् गरी कर्मचारी समायोजनको कार्य प्राथमिकतामा सम्पन्न गर्न सके सङ्घीयताको कार्यान्वयनले दिशा निर्देश गर्नेछ ।

कर्मचारी अभाव वा उत्प्रेरणाको खाँचो-हरिप्रसाद भट्टराई

  • काम वा सेवा प्रभावकारी पार्न उपयुक्त नीति, निर्देशनसँगै काम गर्नेहरूको उचित परिचालन र उनीहरूको त्यस कामका प्रति उचित लगाव चाहिन्छ । काममा लगाव हुन सन्तुष्टि मूल विषय हो । 
  • कुनै पनि सेवा प्रभावकारी बनाउन सरकारको निर्देशनले मात्र पुग्दैन, नीतिले मात्र पनि हुँदैन । सन्तुष्टिविनाको सेवा वा कामले झाराटराइ काम त होला तर खोजेको अथवा हामीले चाहेजस्तो मन छुने प्रभावकारी सेवा त्यहाँ भेटिँदैन । 
  • कर्मचारी वर्गको उचित व्यवस्थापन र उनीहरूको कामप्रतिको सन्तुष्टिविना विकास निर्माणले गति लिन सक्दैन ।  
  • खटिएका कर्मचारीहरूले किन सामान्य काम पनि गर्न सकेनन् वा सामान्य जोखिम किन उठाएनन् भन्ने हो । 
  • कर्मचारीतन्त्रमा विचलन आउने तथा ‘व्युरोक्र्याट सिष्टम’ मै असर पर्नेगरी एकैचोटि दुई तहसम्मको बढुवा हुनेगरी कर्मचारीहरूको समायोजन हुन सक्ने भन्ने हल्लाले पनि यस सन्दर्भमा झन् अन्योल सिर्जना भएको स्थिति छ । उक्त प्रावधान ऐनमै व्यवस्था भए प्रशासनिक विचलन स्वाभाविक छ । त्यसैले एकैचोटि दुई तहसम्मको बढुवा प्रावधान किमार्थ उचित मान्न सकिँदैन । 
http://gorkhapatraonline.com/news/61962

राज्य ढुकुटीको दोहन (सम्पादकीय)

  • निर्वाचित भइसकेपछि सबभन्दा पहिले धेरैजसो जनप्रतिनिधिको ध्यान जनताभन्दा आफ्नो सुविधामा गएको पाइन्छ । स्थानीय तहमा होस् वा प्रदेश र सङ्घीय संसद्मा निर्वाचित भएका प्रतिनिधिहरू हुन्, सबैजसोले आफ्नो तलब भत्ता र सुविधा सुनिश्चित गर्नेतर्फ चासो देखाए । 
  • जनताको सेवाका लागि जनप्रतिनिधिहरूलाई सुविधा आवश्यक पर्छ तर त्यस्तो सुविधा राज्यको ढुकुटी र जनताको अवस्थालाई हेरेर मितव्ययी ढङ्गले उपयोग गरिनुपर्नेतर्फ भने पर्याप्त ध्यान गएको पाइँदैन । 
  • पछिल्लोपटक सङ्घीय सांसदका विषयगत समितिका सभापति निर्वाचित भइसकेपछि आफूलाई दिइएको गाडी पुरानो भयो भन्ने गुनासो आयो । अरु पदाधिकारीले पनि आफूलाई उपलब्ध गराइएको गाडीप्रति चित्त बुझाउनुभएन । केही पदाधिकारीले एकभन्दा बढी गाडी पाउनुपर्ने माग गर्नुभयो । यही गुनासोलाई सम्बोधन गर्न २३ वटा नयाँ गाडी खरिद गर्ने निर्णयसमेत भयो । संसद् सचिवालयसँग भएका ९३ वटा गाडीमध्ये दुईचारवटा बाहेक सबै उच्च पदाधिकारीले नै प्रयोग गरिरहनुभएको छ । अहिले राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा समितिका सभापति र दलका प्रमुख सचेतकलाई दिने गरी खरिद गर्न लागिएका ती गाडीका लागि संसद् सचिवालयले अर्थ मन्त्रालयसँग प्रतिगोटा ७० लाख रुपियाँका दरले पौने दुई अर्ब रुपियाँ माग गरेको छ । पर्याप्त अनि सामान्य मर्मतसम्भार गर्दा चल्ने सवारी साधन हुँदाहुँदै नयाँ विलासी गाडी किन्न राज्य ढुकुटीबाट ठूलो रकम खर्च गर्नु आवश्यक छ, छैन त्यसको विश्लेषण हुनुपर्छ । 
  • संसद्का पदाधिकारीले दुईजना सवारी चालक पाउने नियमबमोजिम दुबै जनाको पारिश्रमिक बुझ्ने तर एउटै सवारी चालकबाट काम चलाउने काम पनि दुरुपयोग नै मान्नुपर्छ । 
  • अहिले प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ६० सदस्य छन् । मुलुक सङ्घीय शासन प्रणालीमा रहेकाले प्रदेश सरकार र सभा छन् । सातवटा प्रदेशसभामा कुल ५५० सदस्य छन् । विभिन्न तहका सरकार, संसद्का पदाधिकारीहरूसहित विशिष्ट व्यक्तिहरूको निकै लामो सूची छ । यसबाहेक पनि स्थानीय तहमा ३६ हजार निर्वाचित जनप्रतिनिधि छन् । सबैलाई राज्यकै ढुकुटीबाट पारिश्रमिक, भक्तालगायतका सुविधाहरूको व्यवस्था गरिएको छ । 
  • राज्यको ढुकुटीमा रहेको स्रोत विशिष्ट व्यक्ति र पदाधिकारीकै सुविधा अनि कर्मचारीकै लागि मात्रै खर्च गर्ने हो भने जनताका लागि बाँकी रहँदैन । 
  • जिम्मेवारीलाई प्रभावकारी रूपमा बहन गर्न सुविधा आवश्यक पर्ने कुरामा दुईमत राख्न सकिन्न तर पाएसम्म कुम्ल्याउने प्रवृत्ति लोकतन्त्र र सुशासनसँग मेल खाँदैन । 
  • त्यसै पनि सङ्घीयता महँगो व्यवस्था हो र यसलाई हाम्रो जस्तो गरिब मुलुकले धान्न नसक्ने मत राख्नेहरूको कमी छैन । वास्तवमा यो महँगो र खर्चालु व्यवस्था त होइन, तर यो शासनप्रणाली सञ्चालनको अभिभारा बोकेका व्यक्तिहरूको खर्चालु प्रवृत्तिले यो तर्क सत्य हुने दिशातर्फ उन्मुख छ । यसले जनताको र मुलुकको भलाइ गर्दैन । 
  • हाम्रो खर्चालु र सुविधाभोगी मनोवृत्ति, सान, सौकात र शक्तिप्रतिको आशक्तिले लोकतन्त्रलाई गलत दिशामा लगिरहेको कुरालाई हामीले समयमै ध्यान दिनसकेनौँ भने त्यसले दुर्घटना निम्त्याउने निश्चित छ । सर्वसाधारण नागरिक सँधै दुःख, पीडा र अभावमा बाँच्नुपर्ने तर राज्य शक्ति र स्रोतमा पहुँच हुने व्यक्तिहरूले जनताको पीडामा नुनचुक लगाउँदै दम्भ प्रदर्शन गर्ने प्रवृत्तिले न त मुलुकलाई समृद्धितर्फ अग्रसार गराउँछ, न जनविश्वास नै प्राप्त गर्नसक्छ । 
  • जनता र मुलुकको अवस्थालाई हेरेर न्यूनतम सुविधा लिएर राज्यको ढुकुटी बलियो पार्ने र पहिले जनता अनि आफू भन्ने धारणा विकास गर्नुपर्छ । सबैले मितव्ययी ढङ्गले अगाडि बढ्नु आवश्यक छ ।
http://gorkhapatraonline.com/news/61926

कर्मचारी समायोजनको सकस-श्याम मैनाली

  • नेपाल सङ्घीयतामा प्रवेश गरेपश्चात् धेरै प्रकारका व्यवस्थापकीय कमी कमजोरी सतहमा आएका छन् ।  
  • सङ्घीयताको कार्यान्वयन गर्नका लागि सबैभन्दा पहिला कानुनको व्यवस्था गर्न सक्नु पर्दथ्यो । यति लामो अवधिसम्म यस अवस्थामा सरकार रहनुको जवाफदेहिता सबै सरकार त्यसमा पनि सङ्घीय सरकारले लिनु पर्छ । 
सेवा प्रवाहमा प्रत्यक्षतः जुट्ने स्थानीय तहहरूले चारवटा क्षेत्रको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
  • पहिलो हो, आर्थिक व्यवस्थापन । जसमा आर्थिक एवम् वित्तीय क्षेत्र, उद्धोग, वाणिज्य, आपूर्ति, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, सिँचाइ, कृषि, भूमि व्यवस्थापन, वन, पर्यटन समेटिएको हुन्छ । 
  • सामाजिक क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समावेशीकरण, युवा परिचालन, श्रम, रोजगारी, क्षमता विकास, खेलकुद आदि दोस्रो वर्गमा पर्छ । 
  • तेस्रोमा आधारशिलाको निर्माणजस्तै ऊर्जा, खानेपानी, यातायात, सूचना, विज्ञान प्रविधि, सहरी विकास, वातावरण, जलवायु आदि समेटिएको हुन्छ । 
  • चौंथो हो, शासकीय प्रबन्ध । जसको अभावमा यी सबै कार्यको सम्पादन गर्न सकिँदैन । यसमा शान्ति सुरक्षा, रक्षा, आर्थिक कूटनीति, भ्रष्टाचार नियन्त्रण, योजना, पुनर्निर्माण आदिको प्रभावकारी व्यवस्थापन गर्दै अघि बढ्दा मात्र सरकारको उपस्थिति देखिन सक्छ । 
वर्तमान अवस्थामा यी सबै पक्ष अत्यन्त कमजोर र तदर्थतामा आधारित भएकाले केन्द्रले शीघ्र सहयोग गरी सहजीकरण गर्नुपर्छ तर सरकारले जनतासमक्ष आफ्ना कार्यहरूमार्फत् प्रभाव पारिसक्नुपर्ने अवस्थामा अहिलेसम्म कर्मचारीको व्यवस्थासम्म पनि गर्न सकेका छैनन् ।
  • सङ्घीयता अवलम्बन गरेका अन्य देशमा एक लाखदेखि दुई लाखसम्म जनताका बीचमा एउटा सरकारले सेवा पु¥याइराखेका छन् तर नेपालमा करिब चालीस हजार जनसङ्ख्यामा एक सरकारको निर्धारण भई सरकारहरूको सङ्ख्या धेरै भएको छ । 
  • सिद्धान्ततः सबै प्रकारका सरकारले कर्मचारीको व्यवस्था आफैँ गर्न पाउनु पर्छ । सङ्घीयतामा सबै प्रकारका सरकारको आवश्यकता समान हुँदैन । त्यसैले सबै प्रकारका सरकारको आवश्यकता के हो ? त्यस्तो आवश्यकता निर्धारण गर्ने अधिकार अमूक सरकारकै हुन्छ । 
  • कर्मचारीहरूको व्यवस्थापन गर्नुपर्नेमा समायोजन र सरुवा हुन थालेको छ । यस्तो प्रक्रिया एकात्मक शासन प्रणालीमा मात्र उपयुक्त हुन्छ । 
  • केन्द्रले नै सबै सरकारको दरबन्दी निर्धारण गर्दा प्रदेशलगायतका सरकारसँग तालमेल गर्न अप्ठेरो पर्ने अवस्था देखिँदैछ । किनकि सातवटै प्रदेशहरूले जम्मा अठार हजार दरबन्दी आवश्यक परेको भनिरहँदा केन्द्रले भने एक्काइस हजार तीन सयको सङ्ख्यामा दरबन्दी आवश्यक पर्ने निर्णय लिन पुगेको जानकारी हुन आएको छ । यसबाट यी निर्णयहरू उपयुक्त र वैज्ञानिक नभएको प्रष्ट हुन हुन्छ । सङ्घीय सरकारले आफ्ना लागि पैँतालीस हजार नौ सय दरबन्दी आवश्यकपर्ने भनेको छ, जसबाट हालको निजामती कर्मचारीको सङ्ख्यामा आधा सङ्ख्या, करिब बयालीस हजार कर्मचारी बढी हुने देखिन्छ । ती बढी कर्मचारीलाई सङ्घीय सरकारबाहेकका निकायहरूमा खपत गराउनु पर्ने स्थिति छ ।   
  • देशभित्र विभिन्न प्रकारका कर्मचारीको समिश्रण छ । पञ्चायती कालदेखि हालका दिनसम्म आइपुग्दा विभिन्न कालखण्डमा जनप्रतिनिधिको कृपामा सेवा प्रवेश गरेका स्थानीय स्तरकै कर्मचारीको सङ्ख्या पनि सानो छैन । लोक सेवा आयोगको कडा प्रतिस्पर्धाको सामना गरी योग्यता प्रणालीमा अब्बल देखिएका निजामती र कृपापात्र कर्मचारीहरूका बीचमा ठूलो भिन्नता छ । ती कर्मचारीलाई यथोचित र न्यायपूर्ण व्यवस्थापन गर्नुपर्ने हुन्छ । 
  •  निजामतीभन्दा कृपापात्रहरू स्थानीय सरकारका निर्वाचन जनप्रतिनिधिमैत्री हुन्छन् । प्रशासनिक मूल्य र मान्यताको राम्रो ज्ञान भएका निजामती कर्मचारीहरू कृपापात्रहरूको अगाडि मनोवैज्ञानिक रूपमा लघुताभास पालेर काम गर्नुपर्ने स्थितिमा छन् । त्यसैले यस्ता कर्मचारीहरू उत्पादक नहुन सक्छन् । किनकि, मानव संसाधनलाई रोबोटको व्यवहार गर्ने गल्ती गर्न थालिएको देखिँदैछ । 
  • कर्मचारीहरूमाथि सरकारको प्रभावकारी नियन्त्रण देखिएन । यो अत्यधिक राजनीतीकरणको परिणति हो । 
  • सङ्घीय सरकारका कतिपय काम कारबाही अध्ययन गर्दा यसको मनोविज्ञान केन्द्रमुखी छ । निर्वाचन जनप्रतिनिधिले जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्न यो प्रवृत्ति प्रदेश र स्थानीय सरकारहरूका लागि असहज भएको छ । यी सबै कारणले गर्दा सङ्घीय सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसकेको हो । 
  • एउटा पक्ष सत्य हो, सतासी हजार निजामती कर्मचारीमध्ये सङ्घीय सरकारमा खपत नभएका कर्मचारीलाई अवकाश दिन सरकारले सक्दैन । उचित व्यवस्थापन गर्नै पर्छ । यो सङ्घीय सरकारको जिम्मेवारीमा आएकोले अन्य सरकारसँग समन्वय गरी स्वीकार्य हुने तरिकाले काम गर्नुपर्छ । सङ्घीय सरकार कर्मचारी पठाउने नाममा स्वैच्छिक अवकाश, सरुवा, समायोजन, केन्द्रीयबाहेकका सरकारहरूमा काम गर्न जानेहरूलाई एक तह पदोन्नति, विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्ने जस्ता रणनीतिहरू अवलम्बन गर्न लागिराखेकोले यो कार्य जटिल बनाउँदै आफैँ चक्रव्यूहमा फस्दै गएको छ ।  

स्वेच्छाचारी शासनको रहर-तारानाथ दाहाल

  • लोकतान्त्रिक सरकार हरक्षण जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ र उसका हरेक क्रियाकलाप पारदर्शी हुनुपर्छ ।
  • सरकार पारदर्शी हुन नखोज्नु र आफ्ना निर्णयबारे आमनागरिकप्रति उत्तरदायी बन्न नखोज्नु लोकतन्त्र र हाम्रो नयाँ संविधानले स्थापति गरेका मान्यता एवं नागरिकका मौलिक हकको प्रतिकूल हो । 
  • सहभागितामूलक लोकतन्त्रको मूल अर्थ भनेकै सरकारका निर्णय र ती निर्णयको कार्यान्वयनमा आमजनता सुसूचित भएर त्यसबारे विवेकपूर्ण ढंगले सहभागिता दर्शाउन  पाउने अवसर सुनिश्चित हुनु हो ।
  • निर्णय सार्वजनिक नगर्ने सरकारको यो कदम निश्चय नै प्रतिगामी हो । यसबाट अपारदर्शिता बढ्नेछ । भ्रष्टाचार र गलत क्रियाकलापलाई प्रोत्साहन हुनेछ । र, सक्रिय निगरानी गर्ने मिडियाको भूमिका कमजोर भएकाले शासन प्रणालीलाई गैरजिम्मेवार बनाउनेछ । यो भनेको लोकतन्त्रविरुद्धको विष बराबर हो।
  • सरकारको यो निर्णयले संविधानप्रदत्त सूचनाको हकलाई कुण्ठित पारेको त छँदैछ, समग्रमा सार्वभौम नागरिकको भूमिकालाई खुम्च्याएको छ । स्वतन्त्र प्रेसका लागि यो एउटा गम्भीर चुनौती नै हो । 
https://nagariknews.nagariknetwork.com/news/61920/?fbclid=IwAR2wiCv2jFCrTaQyVlMa-RMS4qZMoJ5pX0AddnGeUAmx4yrLZd6HDy3-yXI

स्मिथको करका सिद्धान्त र नेपालको कर प्रशासन-प्रकाश शर्मा ढकाल

  • एउटा असल कर प्रणालीका लागि आवश्यक नियम तथा सिद्धान्तहरू नै करका सिद्धान्त हुन् । अर्थशास्त्रका पिता आदम स्मिथले उनको लोकप्रिय पुस्तक ‘वेल्थ अफ नेसन’ मा आदर्श कर प्रणालीमा हुनुपर्ने प्रमुख चार सिद्धान्तका बारेमा वर्णन गरेका छन् । सन् १७७६ मा व्याख्या गरिएका उक्त सिद्धान्तहरू अहिलेको आधुनिक कर प्रणालीमा पनि उत्तिकै महत्व राख्छन् । 
  • एउटा असल कर प्रणालीले करदाताको इच्छा, आकांक्षा र कर प्रशासनका बीच सन्तुलन कायम राख्न सक्नुपर्छ । 
(क) समानताको सिद्धान्त
यो सिद्धान्तको मूल भाव आर्थिक तथा सामाजिक न्याय नै हो । करदेय क्षमताको आधारमा कर लगाउनुपर्छ भन्ने मान्यता यसको रहेको छ । राज्यबाट जति बढी संरक्षण प्राप्त गर्छ उति बढी कर तिर्नुपर्छ । संरक्षण यस अर्थमा कि उसको आय आर्जनमा राज्य संयन्त्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खटिरहेको हुन्छ । कम आय हुनेले कम कर तथा बढी आय हुनेले बढी कर तिर्नुपर्ने भएकाले यसको कार्यान्वयन करको दरमार्फत हुने गर्छ । नेपालको संविधानको धारा २५ को सम्पत्तिको हकअन्तर्गत व्यक्तिको आयमा प्रगतिशील करको मान्यताअनुरूप कर लगाउन सक्ने व्यवस्था गरी करदेय क्षमताको आधारमा कर लागाइने कुराको संवैधानिक प्रत्याभूति गरिएको छ । नेपालको आयकर संरचनामा आयका आधारमा कर छुट तथा करको दर फरक–फरक गरिएको छ । कम आय हुनेहरूका लागि आधारभूत छुट गरिएको छ । व्यक्ति तथा दम्पतीका लागि कर नलाग्ने आयको सीमा पनि फरक–फरक गरिएको छ भने आय बढ्दै जाँदा करको दरमा पनि बढोत्तरी हुँदै गएको छ । करको दर क्रमशः १०, २० र ३० प्रतिशत कायम गरिएको छ । निश्चित आयभन्दा बढी आय भएमा थप अतिरिक्त कर लाग्ने व्यवस्था आयकर ऐन, २०५८ मा गरिएको छ । यसका साथै अपांग, महिलालगायतलाई करमा केही छुटको व्यवस्था पनि रहेको छ ।
(ख) निश्चितताको सिद्धान्त
एउटा असल कर प्रणालीले करदाता तथा कर प्रशासन दुवैलाई करको विविध पक्षबारे पूर्व निश्चितता दिन सक्नुपर्छ, चाहे त्यो करको रकममा होस् वा अन्य विधि र प्रक्रियासँग सम्बन्धित किन नहोस् । कर अवधि, कर तथा विवरणहरू दाखिला गर्ने समय, दाखिला गर्ने कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूका साथै रकम तथा विवरण दाखिला गर्ने विधि र माध्यमसमेत निर्दिष्ट गरिएको हुनुपर्छ । नेपालमा व्यवसायको प्रकृतिका आधारमा करको दर फरक–फरक गरिएको छ भने केही प्रोत्साहित गर्नुपर्ने क्षेत्रमा छुट सुविधा पनि दिइएको छ । भौगोलिक अवस्थिति तथा कारोबार अंकका आधारमा समेत कार्यालयको कार्यक्षेत्र स्पष्ट रहेको छ । यसका लागि ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरू, करदाता सेवा कार्यालयहरू रहेका छन् ।
(ग) सुविधाको सिद्धान्त
करदातालाई कर भुक्तान गर्नका लागि सबैभन्दा सरल विधि प्रयोग गरी कर तिर्ने समय पनि उनीहरूको हितमा हुनुपर्छ भन्ने मान्यता यस सिद्धान्तले राख्छ । उदाहरणका लागि मालपोत कर खेतीपाती भित्र्याउने बेलामा, पारिश्रमिक कर तलब प्राप्त गर्ने समयमा लिइनुपर्छ । नेपालमा करदाताको सुविधाकै हिसाबले कार्यालयहरूको कार्यक्षेत्र स्पष्ट छ । तोकिएको बैंकका आफ्नो अनुकूल पर्ने शाखामा रकम दाखिला गर्न पाउने व्यवस्था छ । विवरणहरू कारोबार स्थलमै बसेर पेस गर्न पाउने गरी सूचना प्रविधिमैत्री बनाइएको छ । कतिपय विवरण करदाता स्वयंले प्रमाणित गर्न समेत पाउने व्यवस्था गरिएको छ । यसले करदाताको कर सहभागिता लागत घटाउँदै गएको छ । अग्रिम कर भुक्तानीको समयमै लिने गरिएको छ । कारखानाबाट बिक्री गर्दा अन्तःशुल्क रकम दाखिला गर्ने गरी व्यवस्था मिलाइएको छ । मूल्य अभिवृद्धि कर बिक्रीमा संकलन गरेपश्चात् मात्र समायोजन गरी तिर्नु पर्ने अवस्था भएमा तिर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
(घ) मितव्ययिताको सिद्धान्त
कर संकलन प्रणाली मितव्ययी हुनुपर्छ; अर्थात् कर संकलन लागत सकेसम्म न्यून हुनुपर्छ । कर संकलनमा ठूलो रकम खर्च हुनु भनेको अन्य अत्यावश्यक कार्यका लागि खर्च गर्ने स्रोतको कमी हुनु पनि हो । नेपालमा करदाता तथा कर प्रशासनको लागत न्यूनीकरणका लागि सूचना–प्रविधिको प्रयोग गरिएको छ । कार्यालयहरू आवश्यकता अनुसार विस्तार गरिएको छ । सूचना प्रविधिको प्रयोगमार्फत करदाता र कर प्रशासनबीचको भौतिक सम्पर्कको दूरी बढाउँदै लगिएको छ । 
  • कर प्रणालीका सिद्धान्तको नाम जे भए पनि वा संख्यात्मक रूपमा जति भए पनि तिनको मुख्य ध्येय भनेको नै कर संकलन तथा कर सहभागिता लागत कम गर्ने, कर प्रशासनको प्रभावकारिता अभिवृद्धि गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक स्रोतको हिस्सा महत्वपूर्ण बनाउने नै हो । 
  • जुनसुकै सिद्धान्त त्यतिबेला प्रभावकारी देखिन्छन् जतिबेला कर प्रणालीका प्रमुख पक्ष कर नीति कानुन, कर प्रशासन र करदाता अनुकूल हुन सक्छन् ।
  • ‘करले कर बढाउनुपर्छ’ भन्ने मान्यता आधुनिक कर प्रणालीको हुन्छ अर्थात् कर प्रणाली त्यस्तो हुनुपर्छ जसले लगानी आकर्षित गरोस्, कर नतिर्न होइन कर तिर्न आम करदातालाई अभिप्रेरित गर्न सकोस् । यसको तात्पर्य भनेको करले करकै सिर्जना गरोस् भन्ने हो । 
  • करको दर बढाउँदैमा राजस्व बढ्छ भन्ने परम्परागत मान्यता औचित्यहीन भइसकेको छ । व्यवसायमैत्री वातावरण निर्माण कुनै पनि राज्यको प्रमुख कर्तव्य हो । व्यावसायिक वातावरण निर्माणका लागि भौतिक पूर्वाधार, अनूकूल श्रमसम्बन्ध, ऊर्जा आपूर्तिमा नियमितता, नीतिगत स्थिरता, शान्ति–सुरक्षा, झन्झटरहित प्रशासनिक संयन्त्र, राजनीतिक स्थिरता, सक्षम वित्तीय क्षेत्रजस्ता समग्र पक्षहरू अनुकूल हुन नितान्त आवश्यक छ । कर प्रणालीको प्रभावकारिताले नै लगानीमैत्री/व्यवसायमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको हुन्छ । 
कर नीति, कानुन करदातामैत्री बनाउँदै लगिएको छ । संरचनाहरू कर सहभागिता एवं संकलन लागत घटाउन सहायक सिद्ध हुने गरी तयार गरिएको छ । कर प्रशासनको क्षमता, दक्षता अभिवृद्धि गर्न मानव संशाधनको विकासका लागि आवश्यक ठानिएका उपायहरू निरन्तर प्रयोग गरिराखिएको छ । करदातामा व्यवसायिक नैतिकता अभिवृद्धि गर्न/गराउन प्रोत्साहित एवं दण्डात्मक दुवै प्रकारका नीति अवलम्बन गरिएको छ ।

यतिका व्यवस्था गरिएको भए पनि अर्थात् झट्ट हेर्दा नेपालको कर प्रणाली एकदम राम्रो देखिए पनि कार्यान्वयन पक्षमा देखिएका कमी–कमजोरीका कारण तुलनात्मक रूपमा बढी आलोचित छ । 
  • करका दर सार्कको औसतभन्दा कम भए पनि कर सहभागिता जनाउन करदाताले बिताउनुपर्ने समय र संख्या सार्कको औसतभन्दा बढी रहेको भर्खरै प्रकाशित डुइङ बिजनेश रिपोर्टले औंल्याएको छ । कर कानुन कागजी अक्षरमा राम्रो मानिए जब यो कार्यान्वयन यसको मनोगत व्याख्या हुन थाल्छ तब ती सुनौला अक्षरको स्वाद आमकरदाताले चाख्न पाउँदैनन् भनी आलोचना भइरहेको छ । 
  • कर सहभागिता लागत कर अवज्ञा लागतभन्दा बढी हुने, नियमित करदातालाई मनोवैज्ञानिक असर पर्ने गरी वास्तविक कर सहभागिता नजनाउने, करदाताका लागि राज्यले बारम्बार छुट तथा सुविधाका प्याकेजहरू पस्किने परम्पराले अन्य राम्रा पक्षहरू ओझेलमा पारिदिएको छ । यस्ता नीतिले समानताको सिद्धान्त आत्मसात् गरेको मान्न सकिँदैन ।

सार्वजनिक प्रशासन व्यवस्थापनका वैज्ञानिक आधार -ईश्वरीप्रसाद पोखरेल

  • कर्मचारीहरू केन्द्र, प्रदेश र स्थानीय तहको संरचनामा समायोजन भई जाँदा सरकारका सबै निर्णय प्राकृतिक न्याय तथा सामाजिक न्यायका पक्षमा हुनुपर्छ । सबै सेवा, प्रकृति र योग्यता वा तहका सबै कर्मचारीको खटनपटन प्रक्रिया विधिसम्मत र पारदर्शी हुनुपर्छ । 
  • सेवा सुविधा र पदीय मर्यादामा फरक नपर्ने वा कम नहुने गरी कामकाज गर्न नियुक्त गर्ने पद्धति संवैधानिक बाध्यता हो । 
  • सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता बलियो बनाउन मन्त्रालयगत सेवा प्रणाली लागू गर्नु वैज्ञानिक हुन्छ । नयाँ नियुक्ति वा सरुवा भई आएको कर्मचारीलाई कम्तीमा तीन वर्ष काम गर्न दिने गरी पद्धति बसाल्नुपर्छ र जथाभावी सरुवा हुने प्रचलनलाई समाप्त गरिनु आवश्यक छ । सेवा पद्धतिका लागि आवश्यक ठानिएका र स्थापना गरिएका सबै आवश्यक सेवाका कर्मचारीभित्रैबाट मन्त्रालयको पदसंरचनाअनुसार वृत्ति विकासको अवसर खोल्नु उचित हुन्छ । मन्त्रालयगत सेवाका आधारमा खटिने सबै विषयगत र प्रकृतिका कर्मचारी नेतृत्व प्रदान गर्न सक्षम हुन्छन् भन्ने मान्यता राखिनुपर्छ ।
  • कुनै सेवा समूहमा विभेद नगरी पदसंरचनाको पदसोपान मिलाउने व्यवस्था गरिनुपर्छ । सार्वजनिक सेवाको साख, मर्यादा र आचरणगत शुद्धताका लागि नेपालको सार्वजनिक निजामती सेवाको ‘निजामती’ भन्ने शब्द हटाउनुपर्छ । सार्वजनिक सेवालाई विषयक्षेत्रका आधारमा निम्न चार भागमा वर्गीकृत गर्नुपर्छ ।

विद्यमान सबै सार्वजनिक सेवाका पदलाई केन्द्र तथा प्रदेश तहमा समायोजन गर्दा एकीकृत ढाँचामा जम्मा चारवटा सेवा बनाउनु उचित हुन्छ । ती सेवाभित्र १५ देखि २० समूह र ३० देखि ४० उपसमूहमा विभाजन गरी कार्यान्वयनमा ल्याउनुपर्छ । स्थानीय तहको वर्गीकरणअनुसार महानगर, उपमहानगरमा विभाग, ५० हजारमाथि जनसंख्या भएका नगरपालिकामा महाशाखा र ५० हजारभन्दा कम जनसंख्या भएका नगरपालिका र गाउँपालिकामा शाखा तथा १५ हजारभन्दा कम जनसंख्या हुने स्थानीय तहमा प्रशासकीय प्रमुख शाखा अधिकृत तोकी विषयगत एकाइको व्यवस्था मिलाएर कर्मचारी समायोजनको आधारको वर्गीकरण हुनु आवश्यक छ ।
क) सार्वजनिक प्रशासन तथा व्यवस्थापन सेवा :
१. आर्थिक योजना, राजस्व संकलन, आन्तरिक लेखा प्रशासन तथा व्यवस्थापन, २. राष्ट्रिय योजना, तथ्यांक, सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन,३. आन्तरिक सुरक्षा, राष्ट्रिय अभिलेख व्यवस्थापन र प्रशासन, ४. परराष्ट्र तथा अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्य, समन्वय र सम्बन्ध, ५. शिक्षा योजना, प्रशासन व्यवस्थापन, प्रशिक्षण, मूल्यांकन तथा सुपरिवेक्षण, ६. संसद्, व्यवस्थापिका संसद् सञ्चालन, प्रशासन तथा अभिलेख व्यवस्थापन, ७. भूमि व्यवस्था, श्रम, उद्योग, पर्यटनजस्ता राज्यका सबै निकायको अभिलेख व्यवस्थापन र प्रशासन तथा आन्तरिक सेवा समन्वय र सहकार्य एवम् सामान्य प्रशासन सञ्चालन ।
ख) सार्वजनिक प्राविधिक सेवा :
१. राष्ट्रिय कृषि तथा पशुपक्षी योजना, प्रशिक्षण, मूल्यांकन, सुपरिवेक्षण तथा अनुसन्धान प्रशासन तथा व्यवस्थापन । २. राष्ट्रिय वन तथा प्राकृतिक सम्पदा योजना, प्रशिक्षण, मूल्यांकन, सुपरिवेक्षण तथा अनुसन्धान, प्रशासन तथा व्यवस्थापन । ३. राष्ट्रिय भौतिक विकास तथा इन्जिनियरिङ पूर्वाधार योजना, प्राविधिक प्रशासन तथा व्यवस्थापन, प्रशिक्षण, अनुसन्धान, अनुगमन, मूल्यांकन तथा निरीक्षण, सुपरिवेक्षण । ४. राष्ट्रिय जलस्रोत विकास योजना तथा इन्जिनियरिङ पूर्वाधार निर्माण योजना, प्राविधिक प्रशासन तथा व्यवस्थापन, प्रशिक्षण, अनुसन्धान, अनुगमन, मूल्यांकन तथा निरीक्षण, सुपरिवेक्षण । ५. राष्ट्रिय स्वास्थ्य योजना तथा पूर्वाधार विकास र प्राविधिक सेवा प्रशासन तथा व्यवस्थापन, प्रशिक्षण, अनुसन्धान, अनुगमन, मूल्यांकन तथा निरीक्षण, सुपरिवेक्षण ।
ग) सार्वजनिक न्याय सेवा :
१) कानुन, न्याय योजना तथा प्रशासन, अभिलेख व्यवस्थापन । २) सरकारी महान्यायाधिवक्ता प्रशासन तथा व्यवस्थापन । ३) अदालत सेवा प्रशासन तथा व्यवस्थापन ।
घ) संवैधानिक निकाय सेवा : 
राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखापरीक्षकको कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग, आदिवासी आयोग, मधेसी आयोग र थारू आयोग ।
उल्लिखित सेवा पद्धतिलाई निजामती कर्मचारी समायोजनको आधार बनाएर केन्द्र, प्रदेश र स्थानीय तहमा छनोट गराएपछि मात्र देशको प्रशासन व्यवस्थापनमा देखिएको समस्याको सही निकास दिन सकिन्छ । सर्वप्रथमतः हाल ११ सेवामा रहेका सबै कर्मचारीलाई यहाँ उल्लेख गरिएका चार सेवामा समायोजन गर्नु आवश्यक छ । दोस्रो चरणमा सेवामा समायोजन भएका सबै विषयगत कर्मचारीलाई निश्चित विधि, प्रक्रिया र मापदण्डका आधारमा केन्द्र, प्रदेश र स्थानीय तहको वर्गीकरणअनुसार निर्धारित गरिएका पदमा खटाउनुपर्छ ।
मेरो टिप्पणी : उपरोक्त ४ वर्गलाई १ थपेर यसो गर्दा उत्तम होला अझ 
  1. प्रशासन र व्यवस्थापन सेवा (Administration and Management Service)
  2. विशेषज्ञ सेवा (Specialized Service)
  3. कानून सेवा (Law Service)
  4. संवैधानिक सेवा(Constitutional Service )
  5. आकस्मिक सेवा (Emergency Service )