Wednesday, November 21

विद्युतीय सवारी देखाउने कि बढाउने ?-- विजयराज खनाल

  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग अहिले विद्युतीय सवारी साधन छ । ६ कात्तिकमा एसियाली विकास बैंकले दिएका दुइटा साझा यातायात बस उद्घाटनमा प्रधानमन्त्री केपी ओली नै प्रमुख अतिथि बने । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्ना लागि मगाएको विद्युतीय सवारी १९ कात्तिकमा हेटौँडा पुगिसकेको छ ।  पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारीहरूले केही संख्यामा विद्युतीय गाडी प्रयोग गरिरहेका छन् । 
  • सरकार विद्युतीय सवारीको प्रवद्र्धनमा सक्रिय त देखिन्छ तर तयारी भने कछुवा गतिमा अगाडि बढिरहेको छ । वातावरणमैत्री सवारी तथा यातायात नीति, ०७१ ले ०७७ सम्म समग्र सवारी तथा यातायात साधनको कम्तीमा २० प्रतिशत वातावरणमैत्री हुने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार मुलुकभर ३२ लाख २१ हजार ४२ वटा सवारी साधन दर्ता भएका छन् । यसमध्ये २६ हजार ४ सय ६६ वटा ई–रिक्सा छन् । अन्यमा विद्युतीय सवारी साधन छुट्याइएको छैन ।

लक्ष्यमै तोडमोड 
सरकारले लक्ष्यअनुसार तोकिएको मितिमा वातावरणमैत्री सवारी साधन सञ्चालन गरिए ६ लाख ४४ हजारको संख्यामा यस्ता साधन प्रयोग भएको हुनुपर्नेछ । तर, पूरा नहुने देखेरै सरकारले सन् ०१५ मा पेरिसमा भएको वातावरण सम्मेलनमा लक्ष्य संशोधन गर्‍यो । पेरिस सम्झौतामा सरकारले ०७७ सम्म वातावरणमैत्री सवारीको हिस्सा २० प्रतिशत बढाउने घुमाउरो परिमार्जन गर्‍यो । “यो सम्झौतामा सन् ०१० लाई आधार वर्ष लिइएको छ,” वातावरणविद् भूषण तुलाधर भन्छन्, “तर त्यतिखेर कति संख्यामा विद्युतीय सवारी थिए भन्ने पनि कहीँ–कतै अभिलेख छैन ।”
विभागको विवरणमा ३ वर्षयताको मात्रै ई–रिक्साको अभिलेख छ । यातायात नीति, ०७१ मा समेत विगतमा ६ सय वटा सफा टेम्पो र विसं ०३२ मा २२ वटा ट्रलिबस रहेको उल्लेख छ । अहिले विद्युतीय सवारी कति छन् भन्ने सरकारी तथ्यांकले भन्दा पनि बिक्रीकर्ता र यस क्षेत्रमा सक्रिय रहेकाहरूको आँकडालाई मान्नुपर्ने अवस्था छ ।
व्यवसायीका अनुसार अहिले ई–रिक्साबाहेक करिब ४ हजार ६ सय ९० वटा विद्युतीय सवारी छन् । त्यसमध्ये चारपांग्रे सवारीको संख्या ४ सय ४०, सफा टेम्पोको संख्या ७ सय ५० र दुईपांग्रेको संख्या ३५ सय हाराहारी छ । साझाले पाएका दुईसहित अन्य तीन वटा बस आउने क्रममा छन् । यसरी ई–रिक्साको संख्यासमेत जोड्दा पनि कुल विद्युतीय सवारी संख्या ५ हजार कट्दैन ।
सरकारले यातायात नीति, ०७१ खारेज नगरेकाले लक्ष्य पनि खारेज नभएको विद्युतीय सवारी संघका अध्यक्ष उमेशराज श्रेष्ठ बताउँछन् । भन्छन्, “नीति खारेज भएको छैन, त्यसैले लक्ष्य पनि खारेज नहुनु पर्ने हो । यद्यपि, सरकारले यसमा कुनै काम अगाडि बढाउन सकेको छैन ।” श्रेष्ठ नीतिपछि बनेको कार्यसमितिमा सदस्यसमेत थिए । पाँच वर्ष पूरा हुन लाग्दा पनि ठोस काम केही हुन सकेको छैन ।
सरकारले विद्युतीय सवारीलाई कत्तिको प्राथमिकतामा राखेको छ भन्ने उदाहरण भूकम्पपीडितका लागि वितरण गरेको ट्याक्सी र २० वर्षे पुराना सवारीमा लिएको नीतिबाटै प्रस्ट हुन्छ । ०७२ को भूकम्पपीडितका लागि सरकारले १५ सय ट्याक्सी वितरण गर्‍यो । त्यसमा कुनै पनि ट्याक्सी विद्युतीय थिएनन् । त्यस्तै, सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भइसकेका डिजेल वा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय मोटरबाट सञ्चालन हुने गरी बनाउँदा यस्ता उद्योग वा सवारीधनीले पैठारी गर्ने उपकरणमा भन्सार महसुल १ प्रतिशत तिरे पुग्ने सुविधा दिएको छ । तर, परिवर्तन गर्न भने दिइएको छैन ।
“सरकारी नीति र व्यवहार फरक छ, दिएको भए २० वर्षे पुराना गाडी विद्युतीय सवारीमा परिणत गर्न सकिन्थ्यो, तर त्यसो भएन,” विद्युतीय सवारी उत्पादक संघ अध्यक्ष विजयमान शेरचन भन्छन् ।
अर्को समस्या रुट परमिटको हो । सरकारले मौखिक रूपमा विद्युतीय सवारीका लागि रुट खुला भने पनि नपाइएको गुनासो व्यवसायीको छ । यही कारण देशमा भएका विद्युतीय सवारी उत्पादक कम्पनी अहिले करिब बन्द अवस्थामा छन् । शेरचनका अनुसार उनको सहित करिब तीन वटा कम्पनीले विदेशबाट सामान ल्याएर विद्युतीय सवारी ‘एसेम्बल’ गरिरहेका थिए ।
सरकारले ठूला र चौडा बाटामा ठूला विद्युतीय बस र भित्री सहायक मार्गमा साना विद्युतीय बस सञ्चालन गर्न सक्ने व्यवसायीको भनाइ छ । ठूला निर्माणमा प्रयोग हुनेबाहेक अन्य सबै सवारी विद्युतीय बनाउन सकिनेमा पनि उनीहरू विश्वस्त छन् ।
यात्रुवाहकबाहेकका अन्य व्यक्तिगत सवारी साधनलाई चार्जिङ स्टेसनको समेत ठूलो समस्या देखिँदैन । हाल यस्ता सवारी प्रयोगकर्ताले घरमै आफ्ना सवारी चार्ज गरिरहेका छन् । विद्युतीय सवारी एकपटक चार्ज गरेपछि विशेषताअनुसार १ सय ५० किलोमिटरदेखि ४/५ सय किमिसम्म गुड्ने भएकाले पनि समस्या नहुने देखिएको छ । हाल २५ स्थानमा रहेका चार्जिङ स्टेसन देशभर विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण रणनीति बनाएर अगाडि बढिरहेको छ ।
अर्थतन्त्र र स्वास्थ्यलाई लाभ
सरकारी राजस्वको मुख्य हिस्सा रहने भन्सारमा सवारी साधनबाट उठ्ने राजस्व पनि उच्च हुने गर्छ । विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएको छ । विद्युतीय सवारीमा मूल्य अभिवृद्धि कर १३ प्रतिशतसहित २३ प्रतिशत कर लाग्ने गरेको छ । यसै वर्षबाट मूल्य अभिवृद्धि कर थपिएको हो । तर, अन्य सवारीमा ३० देखि ८० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गर्छ । गत आव ०७४/७५ मा सवारी साधन (पार्टपुर्जाबाहेक) को आयातमा मात्रै ५० अर्ब राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
केही सार्वजनिक यात्रुवाहक सवारीबाहेक अन्यमा मूल्यको ३५ देखि शतप्रतिशत अन्त:शुल्क लाग्छ । त्यसैले राजस्व लक्ष्य पूरा गर्ने माध्यमका रूपमा यस्ता सवारी रहेकाले सरकारले बढ्दो आयात नियन्त्रणमा कठोर नीति अवलम्बन गर्न नसकेको हो ।
सवारी आयातमा लाग्ने लागत घटाउन नसकिए पनि वातावरणमैत्री यस्ता सवारीलाई प्रोत्साहन गर्न सकिए पेट्रोलियम आयातमा राज्यले बेहोर्नुपर्ने भार घटाउन सकिनेछ । हाल वार्षिक १ खर्ब ७० अर्ब रुपैयाँको पेट्रोलियम आयात भइरहेको छ । विद्युतीय सवारीमा तुलनात्मक रूपमा कम पार्टपुर्जा लाग्ने भएकाले आयातमा समेत कमी हुन सक्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा भारतबाट मात्रै १ खर्ब ५ अर्ब रुपैयाँको सवारी साधन तथा त्यसका पार्टपुर्जा आयात भए । यद्यपि, अहिले नेपालमा १ हजार ७३ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ५ सय मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्नु परिरहेको छ । मुलुकमा ४३ हजार मेगावाट विद्युत् फाइदाजनक अवस्थामा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । देशमा केही वर्षमै उत्पादन वृद्धि हुने र विदेशमा समेत बिक्री गर्न कठिन हुनेसम्मका विश्लेषण अहिले नै गर्न थालिएको छ । तर, सन् ०२० मा नीतिगत हस्तक्षेप गर्दा ६ हजार ८ सय मेगावाट र यस्तो हस्तक्षेप नगर्दा पनि अधिकतम ३ हजार ७ सय ९४ मेगावाट विद्युत् खपत हुन सक्ने प्रक्षेपण ऊर्जा मन्त्रालयको छ । नीतिगत हस्तक्षेप गरिए ०२० सम्ममा सहरी क्षेत्रमा शतप्रतिशत र ग्रामीण भेगमा खाना पकाउन ७ प्रतिशत विद्युत् प्रयोग हुने अपेक्षा छ । सन् ०२५ सम्म विद्युतीय कार प्रयोगले करिब १८ प्रतिशत सवारीको माग पूरा हुने र ७ प्रतिशत यस्तो माग विद्युतीय मेट्रोले पूरा हुने अपेक्षा छ ।
हुन त, सफा टेम्पो सञ्चालनमा आएको केही वर्ष नबित्दै केही हल्ला पनि चलाइए । विद्युतीय टेम्पोमा प्रयोग हुने ब्याट्रीमा लिड एसिड प्रयोग हुने र यसले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भएकाले झिनो विरोधका आवाज सुनिए । तर, यस्ता ब्याट्रीमा ९९ प्रतिशत रिसाइकल गर्न सकिने र यसका लागि काम नलाग्ने ब्याट्री बिक्री गर्दा ३ हजार रुपैयाँसम्म पाइने हुँदा समस्या नरहेको श्रेष्ठ जिकिर गर्छन् । “यस्ता ब्याट्रीमा हुने हानिकारक वस्तु बन्द बट्टामा रहेको हुन्छ, जसको उचित तरिकाले नवीकरण गर्न सकिन्छ,” श्रेष्ठ भन्छन्, “तर पेट्रोलियम प्रयोग गर्ने गाडीबाट निस्कने धूँवाले पार्ने क्षति त रोक्न सकिँदैन ।”
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हावाको गुणस्तर पार्टिकुलर म्याटर (पीएम) २.५, २४ घन्टाको अवधिमा २५ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ भने पीएम १०, ५० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । नेपालमा भने पीएम २.५ का लागि ४० र पीएम १०, १ सय २० तोकिएको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल बताउँछन् । तर, काठमाडौँबाहेक नेपालगन्ज, चितवनजस्ता क्षेत्रमा समेत यो मापदण्डभन्दा दोब्बर हुने गरेको छ ।
पछिल्लो समय यस्ता सवारीमा प्रयोग हुने ब्याट्रीमा सुधार भइरहेको छ । मानव स्वास्थ्यमा असर नगर्ने जेल ब्याट्री/लिथियम प्रयोग भएका ब्याट्री पनि प्रयोग हुन थालेका छन् ।
विद्युतीय सवारीलाई सहुलियत
  • नेपालमा विद्युतीय रिक्सा उत्पादन गर्ने उद्देश्यले दर्ता भएका उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने विद्युतीय रिक्साका पार्टपुर्जा र सहायक सामग्रीमा मूल्य अभिवृद्धि कर छूट, पैठारी गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट
  • स्वदेशी उद्योगबाट उत्पादन हुने विद्युतीय सवारीमा प्रयोग हुने डिप साइकल लिड एसिड ब्याट्रीमा शून्य दरमा कर
  • यातायात व्यवस्था कार्यालयमा दर्ता भइसकेका डिजेल वा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय मोटरबाट सञ्चालन हुने गरी बनाउँदा यस्ता उद्योग वा सवारीधनीले पैठारी गर्ने उपकरणमा भन्सार महसुल १ प्रतिशत
  • विद्युतीय सवारी साधनको ब्याट्री उत्पादन गर्न आवश्यक एन्टिमोनियल लिड, ब्याट्री बक्स, सेपेरेटरलगायतमा १ प्रतिशत भन्सार महसुल
  • डिजेल वा अर्धडिजेलले चल्ने र धक्का दिने विद्युतीय मोटर दुवै भएका, स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी पैठारी गर्दा दरबन्दीबमोजिम लाग्ने भन्सार महसुलमा २५ प्रतिशत छूट
  • व्यक्तिगत विद्युतीय सवारीका लागि बैंकबाट कर्जा लिँदा २० प्रतिशत रकम मात्र हाले पुग्ने, सार्वजनिक सवारीमा सीमा लागू छैन
  • नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक सवारी साधनका लागि दिइने कर्जालाई समेत प्राथमिकताप्राप्त क्षेत्रमा गएको कर्जा मानिने ।
प्रकाशित: मंसिर ३, २०७५

कृषिमा आत्मनिर्भर छौं, एक दशकमा दुई तिहाइ कृषक विस्थापित गर्छौं : अर्थमन्त्री युवराज खतिवडा

  • कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको छ । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ 
  • मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात गरेर खानु परेको अवस्था छ । 
  • कृषिको सन्दर्भमा हामीमा अलि बढी नै निराशा छ । म केही आशावादी कुरा गर्न चाहन्छु । कृषियोग्य जमिन घट्दै छ । शहरीकरण, भूक्षय, नदी कटान वा अन्य कारणले गर्दा कृषियोग्य जमिन घटेको हो । खाली भएको जमिन बाँझो छ । कृषिप्रति लगाव छैन । आकर्षण छैन । कृषि अपहेलित पेशा भयो ।
  • हाम्रो खाद्य प्रवृत्तिले पनि समस्यामा पार्छ । कुनै कृषि उत्पादन हामीले खान जान्दैनौं विदेशमा बेच्छौं अनि त्यो भन्दा कमशल चीज आयात गरेर खान्छौं । यो प्रवृत्तिले पनि असन्तुलन पैदा गरेको छ ।
  • आधारभूत वस्तुमा आत्मनिर्भर हुने हो । उपलब्ध वस्तु खाने बानी विकास गर्ने हो । आलु उपलब्ध छ आलु खानु पर्‍यो, गहुँ उपलब्ध छ भने गहुँ खाने बानीको विकास गर्नुपर्‍यो । खाने बानी कस्तो बनाउने भन्ने विषयलाई पनि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्नु जरुरी छ ।
  • एग्रिकल्चरलाई मैले ‘एग्रो’ र ‘कल्चर’ अलग अलग गरेर हेर्दा संस्कृति जस्तो कृषिलाई व्यावसायिक कृषि बनाउनु हाम्रो मुख्य चुनौती हो, त्यसतर्फ जानका लागि यान्त्रिकरणतर्फ जानुपर्छ ।
  • युवाहरूलाई कृषिबाट बाहिर निकाल्नु पनि छ । यान्त्रिकरणले विस्थापित गर्छ पनि । दुई तिहाइ मान्छे कृषिमा रहुन्जेल आधुनिक र २१ औं शताब्दीको अर्थतन्त्र बनाउनै सक्दैनौं ।  
  • हामीसँग भएको प्रविधि हाम्रो प्रयोगशालामा सीमित छ । सरकारी र निजी प्रयासबाट भएका प्रविधि किसानको घरदैलोमा पुग्न सकेको छैन । त्यसलाई कसरी प्रसार गर्ने, किसानलाई कसरी लाभ दिने र किसानमैत्री कर्मचारी कसरी तयार गर्ने भन्नेतर्फ सोच्नु जरुरी छ । 
  • २०६१ सालमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन गर्दा लाग्ने करमा १० प्रतिशत छुट दिन शुरु भएपिछ अहिले त्यो छुट २५ प्रतिशत पुगेको छ । तथ्यांकहरूमा २७–२८ प्रतिशत देखिए पनि शहरी क्षेत्रमा एक तिहाइ घरजग्गाको स्वामित्व महिलाको नाममा आइसकेको छ । 
  • माध्यमिक शिक्षासम्ममा लैंगिक समानता भइसकेको छ । केही वर्षभित्रमा उच्च शिक्षामा पनि समानता हुन्छ । 
  • महिलालाई हेर्ने समाजको दृष्टिकोण, विवाहबारेको धारणा, विवाहपछिको घरायसी जिम्मेवारीलाई परिवर्तन गर्दै लगिएन भने शिक्षाको समानताले मात्रै सम्पूर्ण अवसर दिँदैन ।
https://www.onlinekhabar.com/2018/11/721200

Tuesday, November 20

निजामती सेवामा आरक्षण र यसको प्रभाव-ललितकुमार वस्नेत

आरक्षणको अर्थ 
– राजनीतिक, आर्थिक, सामाजिकरूपले पिछडिएको समुदायलाई राज्यको नीति निर्माण लगायत राज्य संरचनाका सबै तहमा अर्थपूर्ण सहभागिताको अवसर प्रदान गर्न अवलम्बन गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण भनिन्छ । यो सकारात्मक विभेदको एक विशेष कार्यक्रम हो र यसमा निम्नानुसारका विशेषताहरु हुन्छन्:
  • निश्चित कोटा छुट्टाइन्छ ।
  • वञ्चित वर्ग (आरक्षित वर्ग)बीच मात्र प्रतिस्पर्धा गराइन्छ ।
  • यो अल्पकालीन उपाय हो ।
  • यो बाध्यकारी हुन्छ ।
  • आर्थिक, जातीय, लैंगिक तथा भौगोलिक लगायतका आधार हुनसक्ने ।
सकारात्मक विभेद र आरक्षणमा भिन्नता 
समावेशीकरणका दुई प्रमुख साधन सकारात्मक विभेद र आरक्षण हुन् । आरक्षण भनेको सकारात्मक विभेदका विभिन्न साधनहरूमध्येको एक प्रमुख साधन हो । तसर्थ, समावेशीकरणको सन्दर्भमा यी दुवैलाई सँगसँगै प्रयोग गरिने भएकाले एक-अर्काको पर्यायका रूपमा पनि प्रयोग गरिन्छन् । तथापि यी दुईबीच केही भिन्नता भने अवश्य छन् । प्रमुख भिन्नताहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।


सकारात्क विभेद
आरक्षण
आरक्षणभन्दा सकारात्मक विभेदको अवधारण बृहत हुन्छ ।
आरक्षण सकारात्मक विभेदकै एक विशेष साधन हो । तसर्थ सकारात्मक विभेदको तुलनामा यो संकुचित अवधारणा हो ।
सकारात्मक विभेदले सक्षमता तथा प्रतिनिधित्व दुवै बढाउनमा जोड दिन्छ ।
आरक्षणले प्रतिनिधित्व बढाउनमा मात्र जोड दिन्छ ।
यसले गुणात्मक समावेशीकरणमा जोड दिन्छ ।
यसले संख्यात्मक समावेशीकरणमा मात्र जोड दिन्छ ।
सकारात्मक विभेद बाध्यात्मक नहुने भएकोले प्रतिनिधित्व सुनिश्चित हुँदैन ।
आरक्षण बाध्यात्मक हुने भएकोले प्रतिनिधित्व सुनिश्चित हुन्छ ।
सकारात्मक विभेद दीर्घकालको लागि ठीक हुन्छ ।
आरक्षण अल्पकालको लागि ठीक हुन्छ ।
सकारात्मक विभेदको लक्ष्य समानता कायम गर्नु हो ।
आरक्षणको लक्ष्य समता कायम गर्नु हो ।
सकारात्मक विभेद आयुर्वेदिक औषधिजस्तै विस्तारै असर गर्ने तर साइड इफेक्ट कम गर्ने हुन्छ ।
आरक्षण एलोपेथिक औषधि जस्तै छिटो असर गर्ने तर साइड इफेक्ट गर्ने हुन्छ ।
सकारात्मक विभेदले योग्यता प्रणालीमा असर गर्दैन ।
आरक्षणले योग्यता प्रणालीमा असर गर्न सक्छ ।
सकारात्मक विभेद विकसित/अविकसित सबैतिर प्रयोग गरिन्छ ।
आरक्षण मुख्यरूपमा अविकसित देशमा प्रयोग गरिन्छ ।

निजामती सेवामा आरक्षणको प्रभाव 

  • स्थायी सरकारको रूपमा रहेको निजामती सेवालाई समावेशी बनाउन नेपालमा पहिलो पटक २०६४ सालमा निजामती सेवा ऐन, २०४९ मा दोस्रो संशोधन गर्दै निजामती सेवाको पदपूर्तिमा आरक्षणको प्रावधान राखिएको हो । यस व्यवस्थालाई स्पष्ट गर्दै निजामती सेवा ऐनको दफा ७ को उपदफा ७ मा भनिएको छ, ‘ निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारबीच मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ।’

(क) महिला – ३३ प्रतिशत
(ख) आदिवासी/जनजाति – २७ प्रतिशत
(ग) मधेसी – २२ प्रतिशत
(घ) दलित – ९ प्रतिशत
(ङ) अपांग – ५ प्रतिशत
(च) पिछडिएको क्षेत्र – ४ प्रतिशत
उक्त ऐनको दफा ७ को उपदफा ११ मा हरेक १० वर्षमा उपरोक्त व्यवस्था पुनरावलोकन गरिने कुरा उल्लेख गरिएको छ । यसरी हेर्दा आरक्षणको उपरोक्त व्यवस्था लागू भएको १० वर्ष पूरा भइसकेकोले यस व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी भइसकेको सन्दर्भमा यसका सकारात्मक-नकारात्मक पक्षहरूको विश्लेषण गर्दै अव अवलम्बन गर्नुपर्ने बाटोको सम्बन्धमा संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।
आरक्षणबाट परेको सकारात्मक प्रभाव 
योग्यता त्योसँग हुन्छ, जसले अवसर पाउँछ, अवसर त्योसँग हुन्छ, जसको पहुँच हुन्छ भन्ने मान्यतालाई आरक्षणले आत्मसात गर्छ । नेपालमा आरक्षणको नीति अवलम्बन गरे यता परेको सकारात्मक प्रभावहरुलाई बुँदागतरूपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१. निजामती सेवा समावेशी बन्दै गएको:
  • निजामती सेवा समावेशी भएको छ । आरक्षणको व्यवस्था गर्नु भन्दा पहिले नेपालको निजामती सेवामा ९० प्रतिशत भन्दा बढी पुरुष कर्मचारी भएको र त्यसमा पनि बाहुन, क्षेत्री लगायत केही जातिको मात्र वर्चश्व भएकोमा अहिले स्थिति फेरिएको छ । निजामती सेवा विस्तारै समावेशी बन्दै गएको छ । लोक सेवा आयोगको पछिल्लो प्रतिवेदन हेर्दा आ.व. २०७४।०७५ मात्रमा कुल सिफारिस पदसंख्या ७ हजार ७ सय १८ मा आ.प्र.तर्फको ३ सय ५९ बाहेक ७ हजार ३ सय ५९ मध्ये खुला विज्ञापन र समावेशी विज्ञापन दुवै गरेर ३२% पदमा महिला, २३% पदमा आदिवासी/जनजाति, १९% पदमा मधेसी, ११% पदमा पिछडिएको क्षेत्रका उम्मेदवार, ६% पदमा दलित उम्मेदवार र ३% पदमा अपाङ्ग उम्मेदवार सिफारिस भएको देखिन्छ । यसबाट छिट्टै निजामती सेवामा सबै वर्ग तथा समुदायको पहुँच तथा समानुपाति प्रतिनिधित्व सुनिश्चित हुने देखिएको छ ।
वास्तवमा आरक्षणको व्यवस्थाले आरक्षित समूहमा मात्र लक्षित वर्ग सफल भएका नभएर खुला तथा अन्य समूहमा पनि उल्लेख्य संख्यामा सफलता हात पारेको देखिन्छ । वास्तवमा यो व्यवस्थाको कारण उनीहरुमा लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न ठूलो हौशला प्रदान गरेको छ, उत्प्रेरणा दिएको छ । आ.व. २०६७/६८ देखि आ.व. २०७४/७५ को आठ वर्षमा समावेशी विज्ञापनबाट जम्मा १६ हजार ९ सय ३९ जना उम्मेदवार सिफारिस भएको देखिन्छ भने खुला विज्ञापनहरू तर्फ सोही अवधिमा कुल २४ हजार १ सय २९ उम्मेदवारहरू सिफारिस भएका छन् ।
२. निजामती सेवाप्रति अभूतपूर्व आकर्षण देखिएको: 
  • निजामती सेवामा सबै बर्ग, समुदाय र खासगरी सीमान्तकृत वर्गको आकर्षण अभूतपूर्व रुपमा बढेको छ । आ.व. २०७४/७५ को अवधिमा आन्तरिक प्रतियोगिता तथा खुला विज्ञापनतर्फ अनलाईन दरखास्त प्रणालीमा ५ लाख ६७ हजार ८ सय ५३ गरी कुल ५ लाख ७१ हजार ३ सय २२ दरखास्त प्राप्त भएका छन् । उक्त दरखास्तमध्ये २ लाख ९६ हजार ७ सय ४ (५२ प्रतिशत) महिला र २ लाख ७१ हजार १ सय ४९ (४८ प्रतिशत) पुरुष रहेका छन् । नेपालका ७७ वटै जिल्लाका उम्मेदवारहरूले दरखास्त दिएका छन् । विगतमा निजामती सेवामा मधेसका जिल्लाको चासो कम हुने गरेकोमा दृश्य फेरिएको छ । अघिल्लो वर्ष सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा सप्तरी, धनुषा, सिराहा, सर्लाही र महोत्तरी रहेका छन् । विगतमा पहाडका सीमित जिल्ला र जातिको आधिपत्य रहने निजामती सेवामा अहिले सबैको चासो बढ्दै गएको देखिन्छ ।
३. विविधतायुक्त जनशक्ति उपलब्धता: 
  • आरक्षणको माध्यमले निजामती सेवामा विविधतायुक्त जनशक्तिको आपूर्ति भएको छ । अहिले निजामती सेवामा महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र, अपांगता हरेक वर्गका जनशक्तिको प्रतिनिधित्व भएको छ । खास क्षेत्र, समुदाय र वर्गको समस्याको पहिचान र निराकरण गर्न उक्त क्षेत्र, समुदाय र वर्गकै जनशक्तिलाई परिचालन गर्न सक्ने अवस्थाको सृजना भएको छ ।
४.राष्ट्रिय एकता तथा अखण्डतालाई सुदृढ बनाएको: 
  • निजामती सेवामा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुन गई समावेशी राज्य प्रणालीको अभ्यास मात्र भएको छैन, यसबाट राष्ट्रिय एकता तथा अखण्डतालाई सुदृढ बनाउन समेत महत्वपूर्ण योगदान पुगेको छ ।
५. जवाफदेही तथा उत्तरदायी प्रशासन यन्त्र निर्माणमा सहयोग: 
  • आरक्षणको माध्यमले विविधतापूर्ण जनशक्तिको आपूर्ति हुँदा निजामती प्रशासनलाई जवाफदेही तथा उत्तरदायी बनाउन सहयोग गरेको छ ।
६. ऐतिहासिक अन्यायको क्षतिपूति: 
  • विगत लामो समयदेखि विभिन्न वर्ग, क्षेत्रका जनतालाई हुन गएको विभेद एवं ऐतिहासिक अन्यायको क्षतिपूर्ति दिलाएको छ ।
७. सबैलाई मूल प्रवाहमा समाहित गरेको:
  • योग्यता प्रणालीले ‘विजेताले सबै लान्छ’को अवस्था मात्र सिर्जना गर्ने र हार्नेले कुनै स्थान नपाई विद्रोहमा जानसक्ने भएकोले जित्ने र हार्नेबीचमा सम्बन्ध, सम्पर्क र सह अस्थित्व कायम राख्न दुवैलाई मूल प्रवाहमा समावेश गर्ने काम गरेको छ ।
आरक्षणबाट परेको नकारात्मक प्रभाव 
१. उद्देश्य अनुरुप काम हुन नसकेको र टाठाबाठाले कब्जा जमाएको(Elite Capturing):
  • नेपालको संविधानमा मौलिक हक अन्तर्गत सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक रुपमा पछाडि परेको वर्गलाई मात्र समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका निकायहरुमा सहभागिताको हक हुने कुरा उल्लेख भएकोमा आरक्षणको नाममा सम्बन्धित वर्गका टाठावाठा (इलाइट) ले सुविधामा कब्जा जमाएका छन् । महिलाको कोटामा बाहुन, क्षेत्रीकै आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रमा उच्च स्थान हाशिल गरेका महिलाले अवशर लिएका छन्, जनजातिका नाममा नेवार, थकाली, गुरुङ्, राई लगायतका जातिले फाइदा लिएका छन् भने मधेसीको कोटामा पनि सदियौं देखि मधेसमा शासन गर्दै आएका झा, यादव, महतो, त्रिपाटीले अवसरमा कब्जा जमाएका छन् । दलित, अपांग, पि.क्षे. तर्फका कोटामा पनि आर्थिक सामाजिक रुपमा पछि परेको वर्गभन्दा उक्त समूहका टाठावाठाले नै अवसरमा कब्जा जमाएका छन् । पिछडिएको क्षेत्रको कोटा, अपांगता भएका व्यक्तिको कोटामा त झन व्यापक दुरुपयोग भइरहेको आरोप आउने गरेको छ । खासगरी काठमाडौंमा बसाइसराई गरिसकेका व्यक्तिहरूले पिछडिएको जिल्लाबाट नागरिकता प्राप्त गर्ने, शरीरमा सामान्य कैफियत देखिएका व्यक्तिहरूले समेत अपांगता परिचय बनाएर आरक्षणको सुविधा लिएकोले खास सुविधा पाउनु पर्ने वर्गले अपेक्षा अनुसार यो सुविधा लिन सकेको छैन ।
२. बढ्दो नैराश्यता र प्रतिभा पलायन: 

  • आरक्षण नपाउने वर्गमा नैराश्यता उत्पन्न भई प्रतिभा पलायनमा योगदान गरेको छ । आरक्षणको कारण तुलनात्मक रूपमा कम क्षमतावान जनशक्ति निजामती सेवामा भित्रिएको छ भने प्रतिस्पर्धी एवं क्षमतावान जनशक्ति यस सेवामा प्रवेश गर्न नसकी निराश भई विदेशिने प्रवृत्ति बढ्दै गएको छ । आरक्षित समूहमा पर्ने व्यक्तिहरु एकैजनाले एकैचोटी खुला लगायत धेरै समूहमा प्रतिस्पर्धा गर्न पाउने र कुनै न कुनै समूहमा सफल हुने संभावना बढी भएकोले त्यस्ता समूहका व्यक्तिहरुको लोक सेवाका परीक्षाप्रतिको आकर्षण त बढेको छ तर आरक्षणको कुनै पनि समूहमा नपरेको व्यक्तिहरुको अवसर सीमित हुने भएकोले जोखिम धेरै हुने र सफलताको संभावना न्यून हुने अवस्था देखिएको छ । ७० प्रतिशत बढी ल्याउने यहाँ असफल हुने तर मात्र ४० प्रतिशत ल्याउने सफल भएबाट ७० प्रतिशत बढी ल्याउनेको मनोवलमा नराम्रो असर परी देशैबाट पलायन हुने अवस्था सृजना हुँदैछ । भारतको कैयौं प्रान्तमा चरम निराशा बढी आत्महत्या समेत हुन थालेजस्तै घटना नेपालमा पनि नदोहोरियलान् भन्न सकिदैन ।
३. योग्यता प्रणालीमा असर: 
  • अरु देशको तुलनामा हाम्रो प्रशासन त्यसै पनि सुदृढ, क्षमतावान, प्रतिस्पर्धी एवं गतिशील नभएको भनी गुनासो आइरहेकोमा आरक्षणले गर्दा यसलाई झन कमजोर बनाउँदै गएको छ । विशिष्ट श्रेणी ल्याउने जनशक्ति बाहिरीने र थर्ड डिभिजन ल्याउने जनशक्ति भित्रदै जाँदा हाम्रो प्रशासन यन्त्र झन कमजोर बन्ने र संगठनको प्रभावकारिता घट्दै जाने संभावना प्रवल देखिएको छ ।
४. द्वन्द्व सृजना:
  • निजामती सेवामा आरक्षणबाट आएको र खुला प्रतिस्पर्धाबाट आएको गरी दुई वर्ग सृजना गरेको छ । यसले संगठनमा अदृश्यरूपमा द्वन्द्व सृजना गरेको छ ।
५. प्रतिस्पर्धात्मक क्षमतामा ह्रास: 
  • आरक्षण प्राप्त गर्ने कतिपय लक्षित वर्ग सधैं आरक्षणमा भर पर्ने भएकाले प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको छ ।
६. हिनतावोध र कमजोर मनोवल: 
  • आरक्षणको कारण कतिपय आरक्षित वर्गमा हिन भावनाको विकास गराएको छ र आरक्षित वर्गले आफूलाई अन्य वर्गको तुलनामा कमजोर ठानेको देखिएको छ ।
७. उल्टा विभेद सृजना: 
  • आरक्षणको प्रयोगले समावेशीकरणका अन्य तरिकाहरूलाई निष्प्रभावी बनाएको छ । यसले समानतामूलक प्रणालीको विकास गर्नुको सट्टा उल्टो विभेद सृजना गरेको छ । कोही अमुक जात, वर्ग र क्षेत्र भएकै आधारमा तिनका पुर्खाले अवसर लिइसकेको भनी तिनका सन्तानलाई विभेद गरिएबाट समानतामूलक समाज स्थापना गर्न सकिदैन । यसले त पालै पालो एकले अर्कोलाई विभेद गर्ने अवस्था सृजना गर्दै जाने देखिन्छ ।
८. पदपूर्तिमा समस्या: 
  • आ.व. २०७४।७५ मा प्रकाशित विज्ञापनमध्ये १ सय १४ वटा विज्ञापन (कूल १ सय ९३ पद) का लागि सञ्चालित परीक्षामा कुनैपनि उम्मेदवार उत्तीर्ण हुन सकेनन् । त्यस्तै २ सय ७२ पदका लागि भएका विभिन्न ४० वटा विज्ञापनमा माग भएभन्दा न्यून संख्यामा (१ सय ३८ जना) मात्र उम्मेद्वार उत्तीर्ण भएका छन् । यसरी कुनै पनि उम्मेदवार उत्तीर्ण नहुने तथा न्यून संख्यामा उत्तीर्ण हुने धेरै विज्ञापनहरु आरक्षणतर्फका भएकोले पदपूर्तिमा कठिनाई सृजना गरेको छ र खर्च समेत बृद्धि गराएको छ ।
९. निरन्तरता दिनुपर्ने बाध्यता:
  • यो अल्पकालको लागि ल्याइने भए तापनि लामो समयसम्म निरन्तरताको लागि दबाब पर्ने गरेको छ । जस्तो भारतमा सुरुमा २० वर्षको लागि सूचीकृत जाति तथा समुदायको लागि आरक्षणको व्यवस्था गरिएकोमा हाल उक्त अवधि बढाउदै गई ७० वर्ष पुर्‍याइएको छ । नेपालमा हरेक १० वर्षमा यसमा पुनरावलोकनको कुरा उल्लेख गरिएता पनि यो सुविधा लिइरहेको वर्गलाई हटाउने कार्य निकै चुनौतिपूर्ण छ ।
अवको बाटो 
वास्तवमा आरक्षण दुईतिर धार भएको हतियार हो । यसको सही प्रयोग गर्न सकिएमा धेरै फाइदाहरू पाउन सकिन्छ भने यसको सही किसिमले प्रयोग गर्न नसकेमा थुप्रै दुष्परिणामहरू भोग्नुपर्ने हुन्छ । नेपालले समावेशीकरण नीति अवलम्बन गर्दै आएको भए तापनि अझै पनि नेपालमा निजामती सेवालगायत राज्यका विभिन्न क्षेत्र र पदमा निश्चित जाति र वर्गको प्रभुत्व रहेको र वञ्चितीकरणमा परेको वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने आरक्षणबाहेक अन्य कुनै भरपर्दो उपाय नदेखिएकाले आरक्षणमा देखिएका नकारात्मक असरहरूलाई हटाउँदै र घटाउँदै यसको अवलम्बन गर्नु जरुरी देखिएको छ । यस सन्दर्भमा निम्न कुरामा विशेष ध्यान दिई आरक्षणलाई अवलम्बन गर्नुपर्दछ ।
१) संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपमा पछि परेको वर्ग, समूहसम्म पुग्नुपर्छ । यसको लागि दोहरो वञ्चितीको सिद्धान्तको नीति अवलम्बन गर्नुपर्छ । एक प्रमुख आधार निरपेक्ष गरीबीको अवस्थालाई बनाइनुपर्छ ।
२) कुनै पनि व्यक्तिलाई आरक्षणको सुविधा एकपटक मात्र उपलब्ध गराइनुपर्छ । खरिदारदेखि सहसचिवसम्म एउटै व्यक्तिले आरक्षणको सुविधा लिइरहेको वर्तमान विडम्बनापूर्ण अवस्थाको शीघ्र अन्त्य गरिनुपर्छ ।
(३) आरक्षणले योग्यता प्रणालीमा असर पु-याउनु हुँदैन । यहाँ योग्यता प्रणाली भन्नाले कुनै पनि कार्य प्रभावकारी ढंगले गर्नसक्ने गुण हो । जस्तो: तामाङ बस्तीमा नागरिकता वितरण गर्न संस्कृत विषयमा पिएचडी गरेको बाहुन तथा क्षेत्रीभन्दा बिए मात्र गरेको तामाङको छोरा योग्य हुनसक्छ । सेवा प्रवेश गरिसकेपछि कार्यसम्पादनमा कुनै असर पर्न नदिन र मनोवैज्ञानिक असर समेत निराकरण गर्न सघन तालिम, प्रशिक्षणको व्यवस्था गरिनुपर्छ ।
४. सामाजिक, आर्थिक, शैक्षिक रुपमा राष्ट्रिय औसत भन्दा माथि भएको वर्ग, समूह तथा जनसंख्याको अनुपातमा प्रतिनिधित्व भइसकेको वर्गलाई आरक्षणबाट हटाउँदै उक्त प्रतिशत खुलातर्फ थप गर्दै जानु पर्दछ ।
(५) नागरिक शिक्षा आरक्षण पाउने र नपाउनेलाई सँगसँगै लैजान व्यापक नागरिक शिक्षा प्रदान गर्नुपर्छ ।
६) अपांगताको कोटा र पिछडिएको कोटाको व्यापक दुरुपयोग भएको देखिएकोले यसमा विस्तृत अध्ययन गरी पुन परिभाषित गरिनुपर्दछ ।
७) समावेशीकरणको लागि आरक्षण अल्पकालीन साधन मात्र भएकोले सबै सरोकारवालाहरूको सहमतिमा आरक्षणको प्रतिशत क्रमिक रुपमा घटाउँदै र हटाउँदै जानुपर्छ । कुन वर्ग, समूहको जनसंख्याको अनुपातमा प्रतिनिधित्व कहिलेसम्म पुर्याउने हो त्यसको स्पष्ट मार्गचित्र (रोड म्याप ) बनाई सोही अनुसार अघि बढ्नुपर्दछ ।
प्रशासन डटकमबाट

भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ: डा. महत

  • सरकारले बजेट बनाउने बेलामा आवश्यक सरसल्लाह लिन राजस्व परामर्श समिति गठन गर्छ । समितिले राजस्व संकलन, कुन वस्तुमा कति कर, कुन वस्तुमा के कति छुट लगायतका विषयमा परामर्श दिन्छ । कपडा उद्योगलाई परामर्श समितिकै सिफारिसमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने निर्णय गरिएको हो ।
  • स्वदेशी उद्योगीलाई विदेश उत्पादनसँग प्रतिस्पर्धा गर्न सजिलोहोस् भनेर कच्चा पदार्थ आयातमा पनि छुट दिने निर्णय भएको थियो । सुती कपडाको कच्चा पदार्थमा १०० प्रतिशत र पोलिस्टर लगायतका अन्य कपडाको कच्चा पदार्थमा ७०–७५ प्रतिशत भ्याट छुट दिने व्यवस्था गरिएको थियो ।
  • धरासायी अवस्थाका उद्योगहरुलाई सशक्त बनाउने उद्धेश्यले भ्याट छुट दिने निर्णय गरिएको हो । अन्य उपाय भन्दा भ्याट छुटको व्यवस्था सरल र सहज छ । यो निर्णयको सकारात्मक प्रभाव देखिन थालेको पनि थियो ।
  • कर संकलनका विभिन्न प्रणाली छन्, तीमध्ये भ्याट एउटा हो । भ्याटमा सबैलाई एउटै दर लागु हुन्छ । हाम्रोमा १३ प्रतिशत भ्याट संकलन गरिन्छ ।
  • राज्यले संरक्षण गर्नुपर्ने कतिपय वस्तु वा सेवालाई भने भ्याट छुट दिने गरिन्छ । पहिले सरकारले कानून बनाएर लागु गरेको यो व्यवस्थालाई गैरकानूनी भन्नु गलत हो ।

समानुपातिक प्रतिनिधित्व प्रणाली-केदार खतिवडा

समानुपातिक प्रतिनिधित्व समावेशिकरणको औजार हो । यसले कुनै पनि मुलुकभित्र बसोबास गर्ने जनसंख्या र शासन सञ्चालनमा उनीहरूको प्रतिनिधित्वको विषयमा वकालत गर्दछ । राज्यको बनोट जस्तो छ शासनको बनोट पनि त्यस्तै हुनुपर्छ भन्ने मान्यता यसले राख्दछ । संख्याको आधारमा प्रतिनिधित्वको वकालत गर्ने समानुपातिक प्रतिनिधित्वको मूल मर्म शासन सञ्चालनमा सम्पूर्ण वर्ग क्षेत्र तथा समुदायका नागरिक हरूको सहभागिता सुनिश्चित गर्नु हो ।
समानुपातिक प्रतिनिधित्व राजनीतिक प्रणाली अझ विषेशगरी निर्वाचन प्रणालीसँग सम्बन्धित छ । राज्य सञ्चालनका क्रममा अवसरहरूको प्रयोगको सिलसिलामा बञ्चितिकरणमा परी सीमान्तकृत हुन पुगेका वर्ग, क्षेत्र तथा समुदायका नागरिक हरूलाई राज्यको मूलधार, नीति निर्माण तहसम्म ल्याउन राजनीतिक प्रणाली अन्तर्गत निर्वाचन प्रक्रियामा समानुपातिक प्रतिनिधित्व अवलम्बन गरिन्छ ।
यो प्रणाली अन्तर्गत सम्पूर्ण मुलुकलाई एउटा निर्वाचन क्षेत्र मानी राजनीतिक दलले प्राप्त गरेको मत प्रतिशतको आधारमा उनीहरूले प्रस्तुत गरेका उम्मेदवारहरूको सुचीबाट उम्मेदवार छनोट गरिन्छ ।
बहुमतिय प्रणालीमा मत खेर जाने र अल्पमतको कदर नहुने हुँदा अल्पमतलाई पनि शासन सञ्चालनमा सँगै लैजान समानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्बन गरिन्छ । मुलुकको विविधताको सम्बोधन र व्यवस्थापन मार्फत इन्द्रेणी राज्य स्थापना गर्न यो साह्रै नै उपयोगी हतियार हो ।
समानुपातिक प्रतिनिधित्व प्रणालीको अवधारणकारका रूपमा जे.एस.मिल लाई लिइन्छ । नेपालमा पनि लामो समयको केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाको कारण सीमान्तकृत हुन पुगेका नागरिकहरूलाई शासन सञ्चालनको तहसम्म ल्याई उनीहरूलाई आफ्नो मालिक आफैँ बनाउन लोकतान्त्रिक आन्दोलन २०६२/६३ पश्चात् निर्माण भएको संविधानबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्बन गरिएको छ । नेपालनको संविधान २०७२ मा प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये ११० सदस्य समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित हुने व्यवस्था गरिएको छ भने प्रदेश र स्थानीय तहसम्म समानुपातिक प्रतिनिधित्व प्रणालीलाई विभिन्न रूपमा अवलम्बन गरिएको छ ।
समानुपातिक प्रतिनिधित्वका लागि पुर्वासर्त के हुनु पर्छ त ?
  • बहुदलीय प्रतिश्पर्धात्मक राजनीतिक प्रणाली
  • आवधिक निर्वाचन
  • बालिग मताधिकार
  • संविधानवादमा अभ्यस्त राजनीतिक संस्कार
  • मानवअधिकार र नागरिकका मौलिक हकको सम्मान
  • एकताको भावनामा आधारित स्वस्थ राजनीति
  • पृथकताको सम्मान र विविधता व्यवस्थापन ।
समानुपातिक प्रतिनिधित्व प्रणालीको फाइदा
  • राज्य सञ्चालन तहमा उपेक्षित तथा उत्पीडित वर्गको प्रतिनिधित्व
  • अल्पमतको कदर -मत खेर नजाने पद्धति
  • एकदलीय निरंकुशताको सम्भावना नरहने
  • निर्वाचन क्षेत्रको विवाद नरहने,
  • सरकार गठनमा सहमति को भावना विकास
  • निर्वाचन खर्चिलो नहुने ।
http://www.prasashan.com/2018/11/20/90728/

Monday, November 19

संसदीय समितिको मर्यादा जोगाऊ-सम्पादकिय

  • संसद् लोकतान्त्रिक शासन व्यवस्थामा सरकारको काम अडिट गर्ने थलो हो। सुशासनको सुनिश्चिततासँगै सरकार र यसका संयन्त्र जनताका कामबाट विमुख नहोऊन् भनेर निगरानी राख्नु संसद्को कर्तव्य हुन्छ। यसलाई विस्तृत र सूक्ष्म ढंगले निगरानी गर्न विषयगत समितिहरू गठन भएका छन्। सरकारको कार्यप्रणालीको संसद्को निरन्तर निगरानीले सरकारलाई जनताप्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरित गर्छ। 
  • संसदीय समितिले छानबिनको दायरामा ल्याएका मुद्दाहरूमा सरकारले छुट्टै अनुसन्धान/अध्ययन समिति गठन गर्ने गरेको छ। यस्ता प्रतिवेदनको निहित उद्देश्य संसदीय समितिका छानबिनलाई निष्प्रभावी तुल्याउनु र सरकारको स्वार्थ रक्षा गर्नु रहेको प्रस्ट हुन्छ। संसदीय समितिले कुनै मुद्दालाई छानबिनको दायरामा ल्याएपछि सरकार अग्रसर भएर मन्त्रीस्तरीय निर्णय या मन्त्रिपरिषद्कै निर्णयबाट यस्ता छानबिन/अध्ययन समिति गठन गर्ने गरिएको छ। सरकारको अध्ययन र संसदीय समितिको छानबिनमा परस्पर विरोधाभासपूर्ण तथ्यहरू उद्घाटित भएका छन्। संसदीय समितिका छानबिनमा सरकारी अध्ययनका यस्ता प्रतिवेदनहरूको कुनै अर्थ छैन।
  • सरकारी अधिकारीहरूले संसदीय समितिले तथ्यहीन भएर, बिनाअनुसन्धान, होडबाजीमा निर्देशन दिने प्रवृत्ति सुरु गरेको भनेर खुलेआम सार्वजनिक अभिव्यक्ति दिइरहेको छन्। अझै एक विभागीय मन्त्रीले त केही समयअघि संसदीय समितिले दिएको निर्देशनलाई पालना गर्न नसकिने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरे। जुन सार्वभौम संसदीय अभ्यासको प्रतिकूल हो। लोकतन्त्रको सौन्दर्य विपरीत हो। तर पनि संसदीय समितिहरूले संसद्मा यसलाई बहसको मुद्दाका रूपमा प्रवेश गराउन नसक्नु विडम्बना हो। संसद्को स्वतन्त्रता खुम्चिनु र संसद्को निर्देशन पालना नहुनु भनेको जनताको लोकतान्त्रिक अधिकारमा संकुचन आउनु हो।
  • संसदीय समितिहरूले अध्ययन र छानबिनका आधारमा निष्कर्ष निकालेर सरकारलाई निर्देशन दिँदा परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ। केही अपरिपक्वता र निर्देशनको होडबाजी तथा समितिहरूबीच कार्यविभाजनको विवाद विगतमा पनि देखिएकै हो। जनप्रतिनिधिहरूले सधैं ध्यानमा राख्नुपर्ने के हो भने जनताको आवाज प्रतिबिम्बित गर्ने, उनीहरूको स्वार्थ रक्षा गर्ने संसद्भन्दा महत्वपूर्ण थलो अर्को छैन। संसदीय समितिहरूले आफ्नो कार्यक्षेत्रभित्र सरकारका कामको निरन्तर अनुगमन, संविधान र जनभावनाअनुरूपका विधेयकहरू निर्माणमा परिपक्वतासाथ अघि बढून्, जसले सार्वभौम संसद्को गरिमा अझै उचाइमा राख्न मद्दत पुर्‍याओस्।

देखिने/नदेखिने विकाश -जीवनाथ धमला

  • लोकतन्त्रीकरण मूलतः वैयक्तिक, सामाजिक एवं बृहत्तर राष्ट्रिय आकांक्षाहरूसँग पारस्परिक रूपमा सहज तादात्म्य राख्न राज्यद्वारा अनुप्रेरित, जनताद्वारा अनुमोदित एवं अवलम्बित व्यावहारिक कार्य प्रणाली हो भन्न सकिन्छ । यसको मूल उद्देश्य सामान्य अवस्थामा सर्वजन हिताय हुनुपर्ने मान्यता स्थापित हुँदै गएको छ । बहुजन हिताय (अधिक जनताको हित हुने) को मान्यताले अल्पसंख्यकको उपेक्षा हुने हुँदा त्यसलाई पनि सम्मानजनक सुनुवाइ गर्दै समाजमा सुख, शान्ति र समृद्धि प्राप्त गर्न सहज अवस्थाको निर्माण गर्नु लोकतन्त्रीकरणको उद्देश्य रहेको बुझिन्छ।
  • लोकतन्त्रको बाह्यरूप राजनीतिक प्रणालीसँग गाँसिएको देखिए तापनि यसमा वैयक्तिक स्वायत्तता वा स्वतन्त्रताको प्रत्याभूति अनिवार्यतः हुनैपर्ने सार्वभौम मान्यता रहँदै आएको छ । समाजको स्वाभाविक सुव्यवस्थापनका लागि एवं उध्र्वगामी गतिशीलताका लागि सहजीकरण गर्ने निकाय भनेको राज्य हो, सरकार हो । राज्यले त्यसकै निम्ति अनुमोदित नीति, नियम वा राष्ट्रिय संहिताहरू (कानुन, संविधान) को निर्माण गर्छ । राज्यका अंगहरू स्वयंले तिनको पालना गर्दै नागरिकलाई पनि कार्यान्वयन गर्न सहजीकरण गर्छन् । आवश्यकताअनुसार राष्ट्रिय संहिताहरूको परिमार्जन वा संशोधन भइरहन्छ । संहिताहरू मूलतः सापेक्षिक रहन्छन्, तिनका निर्माताहरूको बौद्धिकता, परिकल्पना र दार्शनिकताका प्रभाव र सामथ्र्यमा तिनको चिरस्थायी उपादेयता प्रतिविम्बित हुन्छ।
  • लोकतान्त्रिक सरकारले देशमा लोकतान्त्रिक निकाय वा संरचनाहरूको संस्थापन गर्दै समस्त समाजलाई लोकतन्त्रीकरणतर्फ अग्रसर गराउन नेतृत्वदायी भूमिका खेल्छ । यसकै लागि त्यसको आवश्यकता परेको हो । व्यावहारिक रूपमा लोकतन्त्रीकरण भनेको लोकतन्त्रका सामान्य मूल्यमान्यता वा आदर्शहरूलाई सामाजिक हिसाबले आत्मसात् गरिनु हो भन्ने बुझिन्छ । आर्थिक रूपमा विपन्न, सामाजिक रूपमा पिछडिएको अनि परम्परागत रूपमा सामन्तवादी कानुनद्वारा प्रभावित समाजमा लोकतन्त्रीकरणको प्रक्रिया लामो समयसम्म जारी रहिरहन्छ । नेपालमा लोकतन्त्रीकरणको प्रक्रिया २००७ सालको जनक्रान्तिपछि नै प्रारम्भ भएको हो । स्थिर सरकारको आरम्भ त्यसबेला हुन नसकेको हुँदा नेपाली समाज लोकतन्त्रीकरणतर्फ उन्मुख हुन सकेन ।  
  • २०१६ सालमा बनेको जननिर्वाचित सरकारद्वारा थालिएको अल्पसमयमा सामन्ती परम्पराका केही महत्वपूर्ण निशानहरू, जस्तै बिर्ता, राज्य रजौटा, जमिनदारी प्रथा आदि भत्काई वर्गीय विभेदलाई साँघुर्याउने प्रयास थालिएको थियो र प्रशासनिक संरचनाका केही आधारहरू केही निर्माण गरेको थियो । त्यस अल्पकालमा राज्य तहबाट सामाजिक लोकतन्त्रीकरणको प्रारम्भ भएको थियो तर परम्परागत सामन्तवादी संस्कारद्वारा निर्देशित दरबार र त्यसकै प्रभावको स्वीकारोक्तिमा आफ्नो सुरक्षित भविष्य देख्ने राजनीतिक व्यक्तिहरूको सहयोजनमा निर्वाचित सरकार विस्थापित भयो ।  
  • ०३६ सालपछि अभिव्यक्ति स्वतन्त्रताको भयमिश्रित उपयोग सहरी तथा शिक्षित समाजमा अंशतः भयो र त्यसको प्रभावले चेतनागत सचेतना विस्तारमा सहयोग पुर्याउने काम गर्यो । राजनीतिक दलहरूको संघर्ष तथा त्यही सचेतना विस्तारणको प्रभावको पृष्ठभूमिमा ०४६ सालको जनआन्दोलन सफल भयो । जनआन्दोलनको सफलताले राज्य प्रणालीको वैचारिक एवं नीतिगत तहमा परिवर्तन ल्यायो । राजनीतिक रूपमा गाउँदेखि केन्द्रसम्म संरचनागत परिवर्तन गरी राष्ट्रिय स्तरमा प्रजातान्त्रिक अभ्यासका निकायहरू स्थापना गरिए । राजनीतिक तहबाट बहुदलीयताको अभ्यासका खातिर स्थापित संरचनाहरू देशलाई प्रजातन्त्रीकरण गर्न पूर्वाधारका रूपमा रहेका थिए।
  • तीमार्फत आवधिक निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो दलीय उपस्थिति देखाए । जनप्रतिनिधिहरूको सरोकार जनताका विकास निर्माणतर्फका आकांक्षाहरूमा अगुवाइ गर्ने भएकाले त्यसतर्फ न्यूनाधिक अग्रसरता पनि उनीहरूले देखाए । तर बहुदलीय राज्य प्रणालीलाई बलियो पार्न जनताका बाह्य आकांक्षाहरूलाई सम्बोधन गर्नुका अतिरिक्त सामाजिक प्रजातन्त्रीकरणको स्तरलाई पनि बलियो पार्दै जान त्यसअनुसारका कामहरू गर्दै जानुपथ्र्यो, राजनीतिक दलहरू यहीँनेर चुके । आमजनतामा बहुदल आएपछि विकास हुन्छ र विकास भएपछि सुख पाइन्छ, दुःख गर्नुपर्दैन, बहुदल आएपछि त अब दुःखका दिन गए भन्ने नै थियो सर्वसाधारण जनतामा । भनिएको पनि त्यही थियो।
  • राजनीतिक दलहरूका बीच दलीय प्रतिस्पर्धा हुनु स्वाभाविक थियो । नेतृत्वको ध्यान देशको राजनीतिक र संरचनागत प्रजातन्त्रीकरणमा मात्र केन्द्रित भयो । यसको समानान्तर तहमा खासगरी सामाजिक प्रजातन्त्रीकरणतर्फ राजनीतिक अग्रसरता हुन सकेन।     
  • सामाजिक प्रजातन्त्रीकरणको सामान्य अर्थ राजनीतिक बाहेकका संघसंस्था वा गतिविधिहरूमा आमजनताका अधिकार, भूमिका वा सरोकारमा बढोत्तरी गर्दै तीबाट प्राप्त हुने फाइदा, गौरवको प्रत्याभूति, भावनात्मक सन्तुष्टि, वैचारिक स्तरमा वृद्धि, सामाजिक दायित्वप्रति सजगीकरण र सहभागिता, राष्ट्रिय दायित्व वहनप्रति गौरवानुभूति, प्रजातन्त्रका सामान्य मूल्यमान्यताहरूको अभिमुखीकरण आदि पक्षहरूलाई राज्यस्तरबाट त्यति महत्व दिइएन।
  • समाजलाई लोकतन्त्रीकरण गर्ने कार्यको नेतृत्व लिने भनेको प्रथमतः सरकारले नै हो । संविधानतः राजनीतिक संघसंस्थाहरूको भूमिका फेरिएको छ । संरचनाहरू फेरिएका छन् । तुलनात्मक हिसाबले बढी समावेशी पनि देखिएको छ । सतहमा देखिने राजनीतिक सहभागितासम्बन्धी असन्तुष्टिहरू पहिलेझै देखिएका छैनन् । संविधान संशोधन गर्ने कुरा राजनीतिक समझदारीमा हुने कुरा हो।
  • राजनीतिक लोकतन्त्रीकरणका लागि संविधानतः संरचनागत प्रयासको थालनी भएको छ, त्यसको प्रत्यक्ष प्रभाव समाजको सबैभन्दा माथिल्लो तहमा पर्छ । त्यसले समानुपातिक हिसाबले विकास कार्यक्रमहरूलाई व्यवस्थापन गर्दै आर्थिक सुधारको गतिलाई अघि बढाउँछ । यो राजनीतिक सहभागितामूलक हुन्छ । फेरि अर्को निर्वाचन हुन्छ, यस निम्ति नेतृत्व गर्नेहरू फेरिइरहन्छन् । यो एउटा निरन्तरको लोकतान्त्रिक अभ्यास हो । 
  • समाजमा उपेक्षित, अवहेलित, उत्पीडित, शोषित, तिरस्कृत समुदायलाई यथास्थितिबाट माथि उठाएर सामाजिक मूलधारमा ल्याउनु राज्यको प्रथम कर्तव्य हुन आउँछ । यसनिम्ति मिहिन ढंगले काम गर्ने सामाजिक संस्थाहरूलाई सरकारले जिम्मेवारी दिनसक्छ । राजनीतिक, सामाजिक वा आर्थिक तीनै हिसाबले उच्च माध्यम र निम्न वर्गीय विभाजन नेपाली समाजमा अझै व्याप्त नै छ।
  • राजनीतिमा समावेशी पद्धतिले सकारात्मक संकेत दिएको छ सहभागिताका हिसाबले । तर त्यो आफ्नो वर्गको समग्र सामाजिक उत्थानका लागि केही प्रतिनिधिहरूको नीतिगत तहमा भएको सहभागिता समुदायगत लोकतन्त्रीकरणका लागि पर्याप्त हुँदैन । त्यो तत्कालको असन्तुष्टिलाई सम्बोधन गर्ने माध्यम मात्र हो । सम्बद्ध समुदाय भित्रैबाट निर्मित सामाजिक संस्थाहरूको उल्लेख्य सक्रियताबेगर त्यसले लोकतन्त्र आफ्नो लागि पनि रहेछ भन्ने अनुभूत गर्न सक्दैन । निम्न वर्गभित्रको पनि निम्न–निम्न वर्ग सबै जाति समुदायमा सबैभन्दा उपेक्षित छ । निम्न माध्यम वर्ग, निम्न वर्ग, मध्यम–निम्न, मध्यम–मध्यम अनि मध्यम वर्गमा सामाजिक वञ्चितीकरणको समस्या क्रमशः कमकम हुँदै गइरहेको प्रतीत हुन्छ तर त्यसको गति एकदमै मन्द छ । अधिकतम वर्गीय विभेदीकरण, वञ्चितीकरणमा पिल्सिएका जनतालाई राजनीतिक लोकतन्त्रीकरण कुइराको काग बराबर हुन्छ । त्यस समाज र वर्गको लोकतन्त्रीकरण गर्न २÷४ सिट छुट्याएर वा चुनाव जिताएर पुग्ने होइन, स्थायी सामाजिक संस्थाहरूलाई तिनको जिम्मा दिइनु उपयुक्त हुन्छ । सरकारले समावेशी सिटमा २–४ जनालाई रोजगारी दिनु भनेको प्रोत्साहन मात्र हो, स्थायी समाधान होइन । त्यसले दिगो परिवर्तन ल्याउन सक्दैन।
  • सामाजिक संस्थाहरूको निर्माण देशव्यापी रूपमा गरेर विनाहस्तक्षेप काम गर्न पाउने वातावरण बनाइदिने हो भने लोकतन्त्रले जगसम्म पुगेर चिरस्थायित्व प्राप्त गर्न सक्छ । राष्ट्रिय स्तरमै सामाजिक लोकतन्त्रीकरणतर्फ लाग्न राज्यले सचेतता अपनाउनै पर्छ । निम्न वर्ग वा पिछडिएका जनताले उपेक्षित भएको महसुस गरिरहेसम्म देशले लोकतन्त्रको सार्थकता पनि अनुभूत गर्न सक्दैन । सामाजिक लोकतन्त्रीकरण नै सामाजिक परिवर्तनको मूल आधार हो।
  • सामाजिक लोकतन्त्र सतहमा देखिने विषय होइन । यसले आमजनतामा वैयक्तिक जीवनपद्धतिको परिस्कृतीकरण गराउँछ । यसले मानव जीवनपद्धतिलाई परिस्कृत गराउँदै उसका चैतन्य एवं व्यवहारहरूलाई क्रमशः नवीनतातर्फ नित्य उन्मुख गराउँदै संस्कृतीकरणको प्रारम्भ गराउँछ । अन्ततः सांस्कृतिक समाजले जीवनदायी सभ्यताको निर्माण गर्छ । अनि सामाजिक तहमा देखिने अँध्यारा दृश्यहरू मेटिएर जानेछन् । यस्तो समाज निर्माणतर्फको अग्रसरता नै लोकतन्त्रीकरणतर्फको यात्रा हो । 
  • समाजको लोकतन्त्रीकरणलाई चुनाव, जनप्रतिनिधित्व, भौतिक विकास वा अन्य केही तात्कालिक सेवामूलक कार्यहरूतर्फको सक्रियताभन्दा माथि राखेर आमजनताको सांस्कृतिक विकास गर्नका लागि अपरिहार्य दायित्वका रूपमा लिइनु जरुरी देखिएको छ । भौतिक विकासको उपलब्धताले समाजको बाहिरी दृश्यलाई सुन्दर बनाउँछ, सही हो, तर सामाजिक लोकतन्त्रीकरणका माध्यमबाट गरिने सांस्कृतिक परिवर्तनले मानिसको हृदयलाई नै सुन्दर बनाउँछ।
https://nagariknews.nagariknetwork.com/news/62210/