Saturday, October 10

‘डिग्रोथ’ को दुरूह बाटो -उज्ज्वल प्रसाई

  • संसारभरका हजारभन्दा बढी व्यक्ति एवं संस्थाको हस्ताक्षरसहित करिब पाँच महिनाअघि सार्वजनिक गरिएको एक अनौठो खुलापत्रको आह्वान थियो, ‘अब आर्थिक वृद्धि होइन, यो अवधारणा खारेज गर्न (डिग्रोथ) तिर लागौं ।’
  • प्राकृतिक स्रोतको दोहनमार्फत हासिल गरिने आर्थिक वृद्धि विनाशकारी भएको ठहर गर्दै, ‘डिग्रोथ’ को आह्वान गरिएको सो पत्र एकाध वैकल्पिक पत्रिकामा बाहेक अन्यत्र प्रकाशित भएन । ‘डिग्रोथ’ अभियान चल्न थालेको केही वर्ष बितिसके पनि यो अवधारणा विमर्शको सीमान्तमै छ ।
  • ‘डिग्रोथ’ अभियन्ताहरूले यथास्थिति बदल्न पाँच उपाय सुझाएका 
  • पहिलो, आर्थिक व्यवस्थाको केन्द्रमा वृद्धि होइन, जीवन हुनुपर्ने । फोसिल फ्युल उत्पादन र सैन्यशक्तिमा लगानी तुरुन्तै बन्द गर्दै स्वास्थ्य, शिक्षा र पर्यावरणमैत्री कृषिलाई प्राथमिकता दिनुपर्ने । 
  • दोस्रो, असल जीवनका लागि अत्यावश्यक कामको पहिचान गर्ने । मूलतः काम गर्न नसक्ने र अवसरबाट वञ्चितका लागि उचित व्यवस्थापन गर्नुपर्ने, संकटका बेलासमेत जोखिमपूर्ण काम गरेकाहरूको उच्च मूल्यांकन हुनुपर्ने र श्रमको उचित बाँडफाँटको व्यवस्था मिलाउनुपर्ने । 
  • तेस्रो, ‘युनिभर्सल बेसिक सर्भिस’ र ‘युनिभर्सल बेसिक इन्कम’ जस्ता प्रावधानको कार्यान्वयन गरेर अत्यावश्यकीय वस्तु र सेवाको पहुँच सबैमा विस्तार गर्ने । खाना, नाना, छाना र इज्जतिलो जीवनको पहुँचबाट कोही पनि वञ्चित हुनु नपर्ने अवस्थाको निर्माण गर्ने । साथै, न्यूनतम र अधिक आयको लोकतान्त्रिक व्याख्या गरिनुपर्ने । 
  • चौथो, ठूला व्यापारिक घराना एवं मल्टिनेसनल कर्पोरेटहरूको दबदबा अन्त्य हुनुपर्ने । पर्यावरणीय आन्दोलन तथा नारीवादी विमर्शले उठाएका सवाललाई सम्बोधन गर्दै समग्र समाजको लोकतन्त्रीकरण गर्नुपर्ने । 
  • पाँचौं, पुनर्वितरण एवं न्यायका लागि भिन्न पुस्ताबीच, भिन्न मुलुकहरूबीच र भिन्न समूहहरूबीच सहकार्यका मञ्चहरू बन्नुपर्ने ।
  • आर्थिक वृद्धिको उदारवादी खाका बोकेका राजनीतिक पार्टी र बुद्धिजीवी होऊन् वा पुँजीवाद हुर्काउँदै समाजवादतर्फ जाने मार्क्सवादी ब्लुप्रिन्ट छापिरहेका वामपन्थी, दुवै थरीले ‘डिग्रोथ’ को आह्वानलाई फजुल ठहर्‍याउने सम्भावना प्रबल छ ।
  • प्रचलनमा रहेका दक्षिणपन्थी, वामपन्थी र मध्यपन्थी सबैलाई एउटै धरातलमा उभ्याइदिने विचारधारा पनि विकास नै हो । पुँजीवाद, उपभोक्तावाद, नवउदारवाद असाध्यै सरलीकृत एवं प्रश्न गर्नै नपर्ने सामान्य ज्ञानका रूपमा आम मान्छेका दिमागमा छापिदिएको पनि विकासले नै हो ।
  • धनी मुलुक बन्ने आम चेष्टालाई सम्बोधन गर्दै हरेक दिन अखबारमा प्रकाशित हुने अर्थशास्त्रीय निबन्धहरू त्यही ढिपीयुक्त शास्त्रार्थ हुन् । 
  • खोज पत्रकारिता केन्द्रले प्रकाशन गरेको खबर अनुसार, पित्तथैलीको शल्यक्रिया गर्न दुई वर्ष कुर्नुपर्ने नियति भोगिरहेका जनता काठमाडौंमै छन्, दुर्गम क्षेत्रको कुरै गर्नुपरेन । 
  • काठमाडौंबाहिरका सहरमा भएका निजी अस्पतालहरू गरिब र निम्न मध्यम वर्गका लागि होइनन् । निजी अस्पतालको सेवा लिने निम्न मध्यम वर्ग र गरिब परिवार प्रायः ऋणमा डुबेका हुन्छन् ।
  • वर्तमान सरकारले देखाएका सबै वायुपंखी सपना साकार नै भएछन् भने बरु समस्याका अरू आयाम थपिनेछन्, असमान वितरणका अन्य रूप सतहमा देखिनेछन् तर हाम्रा समस्या हल हुनेछैनन् । कारण, आर्थिक वृद्धि र विकासका यी योजनाहरूको प्राथमिकतामा बृहत्तर जनताको हित, न्याय, पुनर्वितरण र पर्यावरणमा हुने क्षतिका सवालहरू छैनन् । सामान्य औपचारिकता पूरा गर्न कतै फुटनोट मात्र बनेर यी सवालहरू थन्किएका छन् ।
  • विद्यमान व्यवस्थाप्रति शंका उब्जन थालेका नेपाली युवाहरूका लागि वैकल्पिक विमर्शको विन्दु बन्न सक्छ— ‘डिग्रोथ’ को आह्वान । यद्यपि माथि भनिएका पाँच बुँदालाई सार्वकालिक सत्य वा बदल्नै नहुने ब्लुप्रिन्ट मानेर होइन, ती व्याख्यालाई हाम्रा विशिष्ट यथार्थसँग संवाद गराउँदै नयाँ गोरेटो खोज्न सकिन्छ । यस अभियानसँग मिल्दाजुल्दा अनेक खोज, अध्ययन र अभ्यासहरू भइरहेका छन्, जसको खोजी गर्न सकिन्छ । ‘विकल्प’ शब्दकै फुर्माइसी भइरहेका बेला साँचो विकल्प पत्ता लगाउन विमर्शका स्थापित मानकहरूमाथि नै प्रश्न उठाउने आँट गर्नुपर्छ । मौजुदा राजनीतिक दल, विश्वविद्यालय, अध्ययन प्रतिष्ठान वा स्थापित बौद्धिकहरूले यस्ता प्रश्नलाई नजरअन्दाज गर्ने पक्का छ । सामाजिक भनिने विद्युतीय सञ्जालले समेत यस्ता विषयलाई हलुकै उडाइदिन सक्छन् । सञ्जालमा क्रान्ति सुरु गरेर, विद्युतीय पर्दाका उत्ताल तरंगहरूमा क्रान्तिको उभार हेरेर, केही क्षणमै पटाक्षेप गरिदिने चलन चलेको बेला छ । त्यसैले बाटो अप्ठ्यारो छ, चुनौती ठूलो छ । सजिलो बाटो त ‘कन्फर्मिस्ट’ लाई मात्रै उपलब्ध हुन्छ ।
  • https://ekantipur.com/opinion/2020/10/08/160216578807087664.html

No comments:

Post a Comment