Saturday, October 10

गणतन्त्रको एक युग-उमेशप्रसाद मैनाली

  • ईश्वरको सृष्टिमा न्याय र समानताको दृष्टिमा कोही पनि अरूभन्दा निकृष्ट छैन, त्यसैले कानुनका नजरमा सबै समान छन् भन्ने मान्यता नै गणतन्त्र स्थापनाको प्रेरकतत्त्व हो।
  • राजाहरूको शासकीय कुशलता त विरासतमा नै प्राप्त हुन्छ, तर त्यो ‘हृदयविहीन कुशलता (सोललेस् इफिसियन्सी)’ ले जनकल्याण गर्दैन भन्ने मान्यताले नै गणतन्त्रको मागलाई प्रेरित गरेको हो।
  • कुनै पनि सरकारको स्वरूप वा राजनीतिक व्यवस्था साधन मात्र हो र साध्य बृहत्तर मानवीय हित हो। साध्यलाई गौण मानेर साधनलाई प्रमुख मान्ने हो भने यसको विकल्प पनि जनताले खोज्नु स्वाभाविक हुन्छ। जनता परिवर्तनकामी हुन्छन्, तर यो आकांक्षामा कुठाराघात भएको महसुस भयो भने जनता ज्यादै निर्दयी हुने गरेको इतिहास छ।
  • अहिले १३५ देशले औपचारिक रूपमा गणतन्त्र लेख्ने गरेका छन्। यसमा सैनिक शासनलगायत विविध भेषका तानाशाही सरकार भएका देशहरूसमेत पर्छन्। वंशानुगत राजा नहुनुलाई गणतन्त्र भनिए पनि यो गणतन्त्रवाद अनुकूल हुँदैन।
  • गणतन्त्रवादको विचारधारा रोमन गणतन्त्रको संस्थापक लुसियस् जुनियस र रोमुलसले विकसित गरेको मानिन्छ। गणतन्त्रवाद समाज र राज्यको शासन गर्ने यस्तो विचारधारा हो, जहाँ राज्य प्रमुख सार्वभौमसत्तासम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधि हुने गर्छ, राज्यप्रमुख वंशानुगत नभई निर्वाचनद्वारा नियुक्त हुन्छ।
  • उपयोगितावादका प्रवर्तक जर्मी बेन्थमले ‘यो दुष्ट दुनियाँलाई गणतन्त्रको आवरणमा सुधार गर्न सकिन्छ’ भनेका छन्। तर, धेरै देशमा गणतन्त्रलाई विविध बहानामा अन्त्य गरिएको इतिहास पनि छ।
  • भिक्टर ह्युगोको तर्क छ, ‘समाज आफैं गणतान्त्रिक छ, कुनै व्यक्ति अरूभन्दा माथि देखिन थाल्यो भने समाजले नै उसलाई तल झारिदिन्छ।’
  •  ‘जनरेसन वाई’ र ‘मिल्लेनियल जनरेसन’ मा पर्ने युवाहरू ‘डरलाग्दो चयनकर्ता (टेरिवल चुजर)’ हुन्छन् भनिन्छ। यिनीहरू न सामान्य कामबाट सन्तुष्ट हुन्छन् न त सामान्य सुधारलाई राम्रो भन्छन्। उनीहरूले चाहेको उथलपुथलपूर्ण परिवर्तन हो, जसका लागि शासकीय व्यवस्थापनका पात्रहरूदेखि समाजका सबै प्रतिबद्ध हुन जरुरी हुन्छ।
  • हाम्रो गणतन्त्र ‘लोकतान्त्रिक गणतन्त्र’ हो। हुन त गणतन्त्रमा ‘लोकतान्त्रिक’ वा ‘जनतान्त्रिक’ कुनै विशेषणको आवश्यकता नै हुँदैन। यो ल्याटिन शब्द ‘रेस् रिपब्लिका’ बाट आएको यसको अर्थ नै सार्वजनिक वस्तु वा सार्वजनिक कार्य भन्ने हुन्छ। उत्तर कोरियाले ‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक आफ कोरिया’ भनेर देशको राष्ट्रिय नाम राख्नु र दक्षिण कोरियाले देशको नाम ‘गणतन्त्र कोरिया’ मात्र राखेको छ। तर, कुन कोरिया गणतन्त्रवाद र लोकतन्त्रको आदर्शको नजिक छ बुझ्न सकिन्छ। नेपालको संविधानका प्रावधान हेर्दा यसले साँच्चै उत्कृष्ट गणतन्त्रको परिकल्पना गरेको देखिन्छ।
  • संस्थाहरू, प्रक्रिया र प्रणालीको समष्टिबाटै एउटा ‘रिजिम’ को निर्माण हुन्छ, जसले जनतामा खुसी र समृद्धिको वितरण गर्छ। नेपालमा देखिएको कमजोरी के छ भने १२ वर्षसम्म पनि संस्था र प्रणाली प्रभावकारी हुन सकेनन्। 
  • संविधानलाई अझ लोकतान्त्रिक बनाउने हो भने यसभित्र पर्याप्त ‘सेफ्टी भल्भ’ छन्। संविधानलाई राजनीतिक धर्मका रूपमा स्वीकार गरेर, यसको मूल मर्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन सकेमा मात्र यसका लाभ वितरण हुन सक्छन्।
  • विड्रो विल्सनको तर्क छ, ‘राजतन्त्रमा भन्दा लोकतन्त्रमा प्रशासनिक व्यवस्थापन कठिन हुने गर्छ, राजतन्त्रमा एक विचार नै एक आदेश (कमान्ड) हुने गर्छ, तर जनता सार्वभौम भएको व्यवस्थामा दर्जनौं फरक खालका आदेश हुने गर्छन्’।
  • सार्वजनिक प्रशासनमा प्रशासकहरूले राजनीतिक नेतृत्वले ‘सोसल कमान्ड’ का रूपमा दिएको आदेश, नीतिको कार्यान्वयन गर्ने हो। तर, लोकतन्त्रमा बहुउत्तरदायित्व केन्द्रहरूप्रति कर्मचारी उत्तरदायी हुनुपर्छ।
  • अहिलेका कर्मचारीले सरकारको आदेश मात्र पालना गरेर पुग्दैन, उनीहरू जनताप्रति, राष्ट्रप्रति, संविधान र कानुनप्रति पनि उत्तिकै उत्तरदायी हुनुपर्छ। यी यस्ता सैद्धान्तिक र व्यावहारिक कारण हुन्, जसले गर्दा अहिलेको लोकतान्त्रिक गणतन्त्रमा ढिलो ‘डेलिभरी’ हुने गर्छ। 
  • राजा (सत्ताधारी) को पक्ष लिनेलाई दुनियाँले द्वेष गर्छन्, जनताका हित गर्नेलाई सत्ताधारीले राम्रो मान्दैनन्, दुवैथरीको चित्त बुझाएर काम गर्न सक्ने कर्मचारी (कार्यकर्ता) पाउन पनि कठिन छ । 
  • विश्व खुसीको प्रतिवेदन (वल्र्ड ह्यापिनेस रिपोर्ट) २०२० मा नेपालको स्थिति पाकिस्तान र भुटानपछि तेस्रोमा छ। सार्कका बाँकी देशहरू नेपालभन्दा निकै पछि परेका छन्। विधिको शासनसम्बन्धी ‘वल्र्ड जस्टिस प्रोजेक्ट’ को पछिल्लो प्रतिवेदनले पनि नेपालको सार्क देशहरूमा राम्रो स्थिति देखाएको छ। अन्य आर्थिक परिसूचकहरूमा सन्तोष गर्ने स्थिति छैन।
  • मानव विकास प्रतिवेदन २०१९ मा नेपाल सार्कमा छैटौं स्थानमा पर्नु, बहुआयामिक गरिबी ३४ प्रतिशत देखिनु, विश्वमा नेपालको स्थान १४७ औं पर्नु राम्रो मान्न सकिँदैन। सुशासन सूचकांकका सबै सूचकमा नेपालको स्थिति राम्रो देखिएको छैन। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा गत वर्षको तुलनामा नेपालको स्थानमा सुधार भए पनि अन्य छिमेकी देशसँगको तुलनामा राम्रो गर्न सकिएको देखिँदैन। 
  • अमेरिकी संविधानका मसौदाकार थोमस जेफर्सनका यी भनाइले यसको पुष्टि गर्छ, ‘जनताको भावना र आचरणले नै गणतन्त्रलाई प्रबलरूपमा संरक्षण गर्छ, यसमा देखिने ह्रास यस्तो घुन कीरा हो, जसले चाँडै संविधान र कानुनको आत्मा नै खाइदिन्छ।’
  • http://annapurnapost.com/news/156896

No comments:

Post a Comment