Showing posts with label लोकसेवा आयोग. Show all posts
Showing posts with label लोकसेवा आयोग. Show all posts

Wednesday, January 9

लोकसेवा आयोगलाई कमजोर बनाउने खेल-प्रा. कृष्ण पोखरेल

मुलुक संघीय शासनमा गएको र प्रदेशैपिच्छे प्रदेश लोकसेवा आयोगको व्यवस्था भएकाले यस ऐनलाई समयसापेक्ष परिमार्जन गर्नु त अपेक्षित नै हो । 
लोकसेवा आयोगका बहालवाला सदस्य अशोककुमार झाको चिन्तायुक्त टिप्पणी, जसमा भनिएको थियो– ‘यो विडम्बना नै हो कि संघीय गणतान्त्रिक परिवेशमा पनि लोकसेवा आयोग आफ्नो स्वायत्त संवैधानिक हैसियत जोगाउन संघर्षरत छ । यसलाई कार्यकारिणीको प्रभुत्वबाट उद्धार गर्न जे सक्नुहुन्छ, गर्नुहोस् ।’
मुलुकका अन्य अधिकांश सार्वजनिक संस्थाले आफ्नो गरिमा र साख गुमाएका वेला पनि जनताको विश्वास जित्न सफल इनेगिनेका सार्वजनिक संस्थामध्ये एक हो, लोकसेवा आयोग । 
आफ्नो वृत्तिको प्रारम्भ र अन्त्य नै लोकसेवा आयोगमा गर्ने आधा दर्जनभन्दा कम कर्मचारी हुन्छन् भने बाँकी सबै नेपाल सरकारबाट समय–समयमा सरुवा भई आउने–जाने निजामती कर्मचारी नै हुन् । 
यो अवस्थामा आयोगको गरिमा र साख बचाइराख्ने भनेकै  यसले  वर्षौं लगाएर बनाएका एवं विकसित गरेका ती पद्धति र प्रक्रिया हुन्, जसले यसको गोपनीयता, तटस्थता, कार्यकुशलता, निष्पक्षता र स्वच्छतालाई प्रत्याभूत गर्छन् । होइन भने भागबन्डामा नियुक्त हुने त्यस्तै पदाधिकारी अन्य कतिपय संवैधानिक निकायमा चाहिंँ विवादित हुन्छन् भने यहाँचाहिँ किन मर्यादित हुन्छन् र अन्यत्र दागी वा गन्हाएका मानिने तिनै निजामती कर्मचारी पनि लोकसेवा आयोगमा आउनासाथ कसरी अचानक दूधले नुहाएजस्ता हुन्छन् ? प्रश्न उठ्छ, यससँग त्यस्तो कुन जादुको छडी छ र यो चमत्कार सम्भव हुन्छ ? वस्तुतः यसले समयको अन्तरालमा विकसित गरेका ती पद्धति र प्रक्रियामै त्यो बल निहित छ, जसको अक्षरशः पालनले यसको विश्वसनीयता कायम छ ।
पुरानो ऐनमा आयोगमा कार्यरत कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिनुपर्ने व्यवस्था थियो । तर, प्रस्तावित ऐनको मस्यौदामा यो प्रावधान हटाइएको छ । अहिले प्रचलनमा रहेको यो प्रावधानको सम्बन्ध आयोगको कार्यकुशलता र स्वायत्ततासँग जोडिएको छ । आयोगमा बसेर काम सिकेको कर्मचारी आयोगको कार्यकुशलताको मेरुदण्ड हुन्छ । आयोगको कुनै संवेदनशील काम गरिरहेको त्यस्तो कर्मचारी हठात् सरुवा हुनु भनेको भइरहेको काममा बाधा पुग्नु र उसको कार्यतालिका बिग्रनु हो । आयोगको संज्ञानबेगर कुनै कर्मचारीको सरुवा हुनु भनेको आयोगको स्वायत्ततामा आँच पु-याउनु हो । फेरि त्यस्ता कर्मचारीको अनुभव र संस्थागत स्मृति नयाँ आउने कर्मचारीमा हस्तान्तरण गर्ने अवस्थाबाट समेत आयोग वञ्चित हुन्छ । 
अहिले प्रचलनमा रहेको पुरानो ऐनको दफा ८ मा स्वीकृति लिनु नपर्ने प्रावधानअन्तर्गत नेपाल सरकारले आयोगका लागि बजेटमा छुट्याएका विविध शीर्षकअन्तर्गतको रकम खर्च गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछैन र आयोगले त्यस्तो रकम प्रचलित कानुनबमोजिम खर्च गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । यस्तो विशेष व्यवस्था राख्नुको सम्बन्ध आयोगको कामको गोपनीयतासँग जोडिएको छ ।
वस्तुतः यस शीर्षकअन्तर्गतको रकम आयोगले दक्ष विज्ञलाई प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका जाँच्ने र सीप परीक्षणको काम लगाएबापत खर्च गर्छ । फेरि यसो गर्दा कामको शीघ्रताका लागि आयोगले समय–समयमा निर्णय गरेर पारिश्रमिक र सुविधा निर्धारण गर्न पाउने व्यवस्था राखिएको हुन्छ । कुन काम कुन विज्ञलाई  लगाइयो, त्यो नितान्त गोप्य राख्नुपर्ने विषय हो । यदि यो विषय सार्वजनिक भयो भने काम गर्नेलाई त दबाब पर्छ नै, स्वयं आयोगको गोपनीयता र विश्वसनीयतामा समेत गम्भीर असर पर्छ । परिणामस्वरूप यो खर्चका लागि अब आयोगले पटक–पटक अर्थ मन्त्रालयको स्वीकृतिको निगाहमा बस्नुपर्ने हुन्छ र कुन दक्ष विज्ञलाई के काम लगाइयो, त्यो पनि असमयमै सार्वजनिक हुने खतरा हुन्छ । 
पुरानो ऐनको दफा २१ मा थप सुविधा दिन सक्ने व्यवस्था रहेको छ । यो प्रावधानको प्रयोजन कार्यालय समयबाहेक आयोगका सदस्य, कर्मचारी वा अन्य व्यक्तिलाई काममा लगाउनुपर्दा आयोगले निर्णय गरेर थप सुविधामार्फत आयोगको कामलाई तीव्रता दिने कुरासँग जोडिएको छ ।  आयोगको काम छिटो छरितो गर्न साँझ–बिहान वा सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई काम लगाउने र आफूले निर्धारित गरेबमोजिमको कार्यतालिकाअनुसार समयमै काम  फत्ते गर्न यो प्रावधान राखिएको हो । 
कर्मचारीतन्त्रभित्र निजामती सेवामा कार्यरत वा सिफारिस भएका नयाँ कर्मचारी आयोगमा सरुवा वा पोष्टिङ भयो भने तिम्रो कुनै सोर्स थिएन र आयोगमा फ्याँकियौ भनेर टिप्पणी हुने गर्छ । यस्तो हतोत्साही हुनुपर्ने परिवेशमा  पुरस्कारको व्यवस्थाले पनि ठूलो प्रोत्साहन र उत्प्रेरक भूमिका खेल्छ । यसबाट आयोगका कर्मचारीमा ठूलो नकारात्मक प्रभाव पर्ने र तिनको कार्यकुशलतामा समेत असर पर्ने निश्चितै छ ।
हेर्दा सानातिनाजस्ता लाग्ने पुरानो ऐनमा भएका यी प्रावधानमाथिको यस्ता छेडछाड, लापरबाही वा चुकको सोझो सम्बन्ध आयोगको संवैधानिक स्वायत्ततासँग जोडिएको छ । वस्तुतः यसबाट आयोग कार्यकारिणीको प्रभुत्व वा निगाहमा रहनुपर्ने अवस्था आउँछ, जुन समय क्रममा साह्रै प्रत्युत्पादक हुने निश्चित छ । 

Saturday, November 24

प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?-लक्ष्मी विलास कोइराला

लोकसेवा आयोगः शासक र जनताको सम्बन्ध सेतू  
  • राज्यको सुत्रपातसँगै प्रशासनको स्थापना र विकास भएको हो । प्रशासनले सरकारका निर्णयहरु कार्यान्वयन गर्ने मात्र नभएर आजकल प्रशासनले सरकारको वकालतसमेत गर्ने गर्छ । प्रशासन शासन, शासक र जनताको सम्बन्ध कायम गर्ने एउटा सेतू हो ।
  • प्रशासनको शुन्यतामा सरकारले माखो मार्न पनि सक्दैन । प्रशासन संयन्त्रमा कर्मचारीको गहन र अहम भूमिका रहेको हुन्छ । सरकारी कर्मचारी भर्ना मनोमानीढंग र विधि गरी दुई आधारमा गर्ने गरिन्छ । मनोमानी ढंगले कर्मचारी भर्ना गर्ने प्रक्रियालाई लुटतन्त्र (स्प्वायल सिस्टम) भनिन्छ । जहाँ कर्मचारी शासकको इच्छानुसार नातागोताका, राजनैतिक दलका कार्यकर्ता तथा चिनजानका मान्छेहरु मध्येबाट मात्र भर्ना गरिन्छ ।
  • लुटतन्त्रमा राम्रो पढ्ने, भनसुन गर्ने कोही नभएको र गरिब जनताको सरकारी जागिर खाने कुनै सम्भावना नै हुँदैन । लुटतन्त्रको खारेजी गर्दै सरकारी कर्मचारी भर्ना गर्न मेरिट प्रणालीको प्रारम्भ भयो । मेरिट प्रणालीमा व्यक्ति गुण (मेरिट) अर्थात ज्ञान क्षमताको आधारमा सरकारी जागिरमा प्रवेश गर्दछ । मेरिट प्रणाली भनेको क्षमताले खाने हो कसैलाई भन्नु पर्दैन । मेरिट प्रणाली विधिअनुरुप चल्छ । मेरिट प्रणाली पनि सरकारले सञ्चालन गरेको खण्डमा सरकारले भेदभाव गर्न सक्छ भनेर देशको संविधानमा एउटा छुट्टै संवैधानिक निकाय खडा गरिएको हुन्छ । त्यस निकायलाई लोक सेवा आयोग भनिन्छ ।
  • नेपालको संवैधानिक इतिहासमा लोकसेवा आयोगको व्यवस्था शुरुको संविधानदेखि नै गरिएको छ र स्थापनाकालदेखि नै लोक सेवा आयोगले सरकारका लागि योग्यता प्रणालीको सिद्धान्त र निश्चित परीक्षण विधिका आधारमा निष्पक्ष एवं तटस्थरुपमा जनशक्ति छनौटको भूमिका निर्वाह गर्दै आइरहेको छ । लोक सेवा आयोगको निष्पक्षताको कारण गाउँले, गरिब, राजनैतिक शक्तिमा पहुँच नभएका र सामान्य जनताका छोराछोरीले सरकारी जागिरमा प्रवेश गर्न र आफनो वृत्ति विकास गर्न सकेका छन् ।
  • नेपालको संविधानले देशमा संघीय शासन प्रणालीको सुत्रपात गरेको छ । सरकारका तीन तहहरु राज्यको शासन सञ्चालनमा क्रियाशील भएका छन् । 
  • संघीय शासन प्रणालीमा सरकार जनताको नजिक पुग्ने र जनतालाई शासनमा अत्यधिक संलग्न गराउछ भन्ने विश्वास गरिन्छ । जुनसुकै शासन प्रणाली भए पनि सरकारलाई गतिमान र परिणाममुखी बनाउने कर्मचारीतन्त्रले मात्रै हो । अर्थात, जनसुकै शासकीय प्रणालीमा कर्मचारीतन्त्रबाटै कार्य सम्पादन हुने तथ्य सर्वस्वीकार्य रही आएको छ । यस्ता कर्मचारीहरु जनउत्तरदायी, पारदर्शी, निष्पक्ष, इमान्दार, राजनैतिकरुपले तटस्थ र पदीय दायित्व निर्वाह गर्न सक्षम हुनुपर्ने सर्वव्यापी मान्यता र विश्वास रही आएको छ ।
  • नेपालको वर्तमान संविधानले तीनै तहको सरकारका कार्य सञ्चालनको लागि निजामती कर्मचारी रहने व्यवस्था गरेकोछ । सरकारहरुलाई आवश्यक पर्ने कर्मचारी जथाभावी भर्ना गर्ने अवस्था नआओस् विधि र प्रक्रियाको आधारमा गुणी र सक्षम कर्मचारी भर्ना गर्न सकियोस् भन्ने अभिप्रायले संविधानले लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग गरि फरक अधिकार क्षेत्र र शक्ति भएका तर जिम्मेवारी भने समान प्रकृतिको रहेको दुई निकायहरुको व्यवस्था गरेको छ । लोक सेवा आयोग संवैधानिक निकायको रुपमा रहेको छ ।
  • संविधानमा नै लोक सेवा आयोगको गठन व्यवस्था, आयोगका पदाधिकारीहरुको सेवाको सुरक्षा र पदमुक्तिका निश्चित आधार सम्बन्धी विस्तृत व्यवस्था सहित कार्य सम्पादनमा स्वतन्त्रता दिइएको छ । लोक सेवा आयोगलाई संवैधानिक निकायको रुपमा व्यवस्था गरिएकोले आयोगलाई स्वतन्त्र, स्वच्छ एवं निष्पक्षरुपमा काम गर्न पर्याप्त शक्ति र सुविधा प्राप्त भएको छ । परिणामस्वरुप, लोक सेवा आयोगले सर्वसाधारण जनता, बुद्धिजीवी र सरकारको समेत विश्वास र आस्था आर्जन गर्न सकेको हो ।
  • नेपालको संविधानले प्रदेश लोक सेवा आयोग प्रादेशिक कानूनको आधारमा गठन हुने व्यवस्था गरेको छ । तर, त्यस्तो कानूनको आधार र मापदण्ड संघीय संसदले बनाएको कानून बमोजिम हुने व्यवस्था पनि संविधानमा उल्लेख छ । प्रदेश लोक सेवा आयोगलाई संवैधानिक सुनिश्चितता भने छैन । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच के कस्तो सम्बन्ध कसरी रहने भन्ने व्यवस्था पनि संविधानमा उल्लेख छैन । लोक सेवा आयोगले वर्षौ लगाएर प्राप्त गरेको विज्ञता र ज्ञानको उपयोग कसरी प्रदेश लोक सेवा आयोगले गर्न सक्छ भन्ने विषय पनि स्पष्ट छैन । प्रदेश लोक सेवा आयोग प्रादेशिक कानूनको आधारमा स्थापना हुने कारण प्रदेश लोक सेवा आयोग निष्पक्ष, स्वतन्त्र र तटस्थ रहन सक्दैन कि भन्ने आशंका बौद्धिक क्षेत्रमा चिन्तन र चिन्ताको विषय बनेको छ ।
  • लोक सेवा आयोग स्वच्छ कार्यसम्पादनका लागि दबाब, भय, त्रास, लोभ, प्रभाव र तनावबाट मुक्त हुनुपर्ने महत्वपूर्ण पक्ष हो । लोक सेवा आयोग आफनो कार्यसम्पादनमा स्वतन्त्र छ । लोक सेवा आयोगले सरकारी कर्मचारीहरुको पदपूर्ति प्रक्रियाका हरेक चरणमा उम्मेदवारको परीक्षण गर्न बिषयगत विज्ञता हासिल गरेको छ । खारिएको परीक्षा सम्वन्धी कार्यविधि आयोगसँग छ । लामो कार्यानुभवको आधारमा आयोगले धेरै संख्यामा दक्ष विज्ञ समूहको उपयोग गरी कार्य सम्पादन गराउँदै र दक्षता वृद्धि गर्दै गएको पनि छ । फलस्वरुप, देशभरका दक्ष विज्ञहरु परीक्षा प्रक्रियामा परिचालन गर्दा योग्यतम विज्ञसमूह नै निर्माण भएको छ ।
प्रदेश लोक सेवा आयोगलाई कसरी निष्पक्ष बनाउने ?
प्रदेश लोक सेवा आयोगलाई स्वतन्त्र, निष्पक्ष र सक्षम निकाय बनाउन आवश्यक छ । आयोगका काम कारवाहीमा राजनीतिक नेतृत्व, हीत समूह तथा राजनीतिक दलका कार्यकर्ताहरुले हामीले भनेपछि किन नहुने भन्ने भावनाको विकास हुन दिनु हुँदैन । यसकारण आयोगलाई स्वतन्त्र, निष्पक्ष र सक्षम निकाय बनाउन हस्तक्षेपको शून्यता, स्रोत साधनको उपलब्धता र क्षमता विकासमा जोड दिन देहाय बमोजिमको व्यवस्था गनुपर्ने हुन्छ –
प्रदेश लोक सेवा आयोगको गठनसम्बन्धी व्यवस्था
कानूनबमोजिम गठन हुने हुँदा प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पद संवैधानिक निकायको स्वतन्त्र र सम्मानित पद नभई जागिरे सरहको पद बन्न जाने शङ्का उब्जने यथेष्ट ठाउँ छ । प्रदेश लोक सेवा आयोग तीन सदस्यीयभन्दा ठूलो हुनु हुँदैन । जसमा एक अध्यक्ष र दुईजना सदस्य रहनु पर्दछ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरु सिफारिस गर्न प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाको सभा सभामुख, मुख्य न्यायाधीश, प्रदेश सभामा विपक्षी दलको नेता सदस्य रहने र प्रदेशको प्रमुख सचिव सदस्य सचिव रहने व्यवस्था गर्नुपर्दछ ।
सिफरिस समितिको सिफारिसमा प्रदेश प्रमुखले अध्यक्ष र सदस्यलाई नियुक्ति गर्ने व्यवस्था कानूनमा गर्नुपर्दछ । जसले गर्दा  सक्षम, विज्ञ र प्रशासन सम्वन्धी ज्ञान भएका व्यक्तिहरु आयोगमा आउनेछन् ।
आयोगका पदाधिकारीहरु पदमुक्त हुनेसम्बन्धी व्यवस्था
प्रदेश सरकारले आफुले भनेझै काम गरेन भनेर प्रदेश लोक सेवा आयोगको अध्यक्ष वा सदस्यलाई हटाउने मनसाय राख्ने ठाउँ दिनु हुँदैन । यसकारण शारीरिक वा मानसिक अस्वस्थता कारण तथा कायदक्षताका अभावको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यलाई प्रदेश सभाको सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको बहुमतले पारित भएको अविश्वासको प्रस्ताव प्रदेश प्रमुखबाट स्वीकृत भएपछि मात्रै पदमुक्त गर्न सकिने व्यवस्था कानूनमा गर्नु पर्दछ । यस्ले गर्दा सरकारले कुनै पनि बेला हटाउन सक्छ भन्ने भय पदाधिकारीमा हुँदैन ।
पदाधिकारीहरुको सेवाका शर्त र सुविधासम्बन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगको नियुक्तिको व्यवस्था, पदावधि, शैक्षिक योग्यता, पुनःनियुक्ति, रिक्त अवस्था, नियुक्तिको योग्यता, पारिश्रमिक र सेवाका शर्तमा परिवर्तन नगरिने पक्ष, काम, कर्तव्य, अधिकार जस्ता विषय, यथेष्ट कर्मचारीको प्रवन्ध र माथि उद्धरण गरिएका सबै पक्ष संविधानमा उल्लेख नभएको कारण प्रदेश लोक सेवा आयोगको निष्पक्षता, स्वतन्त्रता जोगाउन नसकी कार्य सम्पादन जोखिममा पर्नसक्ने अनुमान गर्न सकिन्छ ।
यसकारण प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरुले आफनो सेवाका शर्त र सुविधाका संबन्धमा सरकारसँग मुलाहिजा गर्नुपर्ने अवस्था रहेमा आयोग स्वतन्त्र र निष्पक्ष हुन सक्दैन । यसकारण प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सेवाका शर्त तथा पारिश्रमिक एवं अन्य सुविधाहरु कानूनमा नै सुनिश्चित गरिनु पर्दछ ।
परीक्षा पद्दतिको कार्यविधि बनाउने स्वायत्ततासम्वन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगलाई उम्मेदवारहरुको योग्यता परीक्षण गर्न कस्तो कार्यविधि कस्तो पाठ्यक्रम कस्तो कार्यतालिका बनाउने, विज्ञ कस्लाई बोलाउने, प्रश्नपत्र कसरी बनाउने जस्ता संवेदनशील र महत्वपूर्ण विषयमा कार्यविधि बनाउने स्वायतता कानूनतः दिनु आवश्यक हुन्छ ।
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच रहने सम्बन्ध
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगले सम्पादन गर्ने कार्य एउटै हो । लोक सेवा आयोगसँग सरकारी सेवाको लागि योग्य उम्मेदवार छनोट गर्न परीक्षाहरु सञ्चालन गर्ने तथा परीक्षा सञ्चालनको तयारी गर्ने, उत्तर पुस्तिका परीक्षण गर्ने विषयमा विज्ञता र विशिष्ट अनुभव छ । प्रदेश लोक सेवा आयोगको निष्पक्ष र स्वच्छ कार्य सम्पादनको आधार तय गर्न अन्य प्रदेश लोक सेवा आयोग वा लोक सेवा आयोगबीच समन्वयको संवैधानिक सुनिश्चितता हुनु अनिवार्य देखिएको छ ।
नेपालको संविधान अनुसार लोक सेवा आयोगको काम कर्तव्य र अधिकार विषयको संशोधन र एकीकरण गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक आधार र मापदण्ढ सम्बन्धी विधेयक संघीय संसदमा सँगसँगै छलफल हुने वातावरण तयार भएको घडीमा संघीय सांसदहरुले बुद्धिमत्तापूर्वक दुई आयोगबीचको सम्बन्ध के हुने र कुन मेकानिज्ममा हुने तथा लोक सेवा आयोगले सातवटा प्रदेश लोक सेवा आयोगहरुको कानून तथा कुन-कुन कार्य कस्तो अवस्थामा अनुगमन गर्न र निर्देशन दिन सक्ने हो स्पष्ट हुनुपर्दछ । यस व्यवस्थाले मात्र प्रदेश लोक सेवा आयोग प्रभावकारीरुपमा कार्य सम्पादन गर्न सक्षम हुन्छ र कार्यसम्पादन प्रक्रिया निष्पक्ष हुन पनि बल पुग्दछ  ।
प्रदेश सरकार र प्रदेश लोक सेवा आयोगबीचको सम्बन्ध
प्रदेश लोक सेवा आयोग कर्मचारी प्रशासनका विषय, कर्मचारीलाई कारवाही गर्ने विषय तथा कर्मचारी प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा प्रदेश सरकारको परामर्शदात्री निकायरुपमा पनि कार्य गर्नु पर्ने हुन्छ । यसकारण कर्मचारी प्रशासनका विषयमा प्रदेश सरकारले लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था गरि कर्मचारीको सेवा सुरक्षा गर्नुपर्ने हुन्छ ।
लोक सेवा आयोगको कार्यानुभव विज्ञताको उपयोग सम्वन्ध
प्रदेश लोक सेवा आयोगले लोक सेवा आयोगबाट धेरै विधि र प्रक्रिया तथा अन्य विषयहरुमा विज्ञताको सहयोग लिन सक्नेछ र लिनु पर्नेछ । लोक सेवा आयोगले पदपूर्तिसम्बन्धी कार्यसम्पादनमा निष्पक्षता, योग्यता, तटस्थता, द्वीअन्ध सिद्धान्त, असंलग्नता, गोपनीयता र परिचय-शून्यता जस्ता सिद्धान्तहरु अँगाल्दै आएको छ । यी सिद्धान्तहरुको आडमा आयोगले निष्पक्ष गुणी र स्वच्छ कार्यसम्पादन गरी आएको छ ।
पद र योग्यता अनुसारको पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र सरकारलाई परामर्श दिने संवन्धी लोक सेवा आयोगको आफनै कार्यविधि छ । पदाधिकारी, कर्मचारी, विज्ञको आचार संहिता पनि छ । लिखित परीक्षाका उत्तर पुस्तिका कोडिङदेखि प्रश्नपत्रको निर्माण, प्रश्नपत्रको परिमार्जन, नतिजा प्रकाशन जस्ता संवेदनशील र गोप्य रहनु पर्ने कार्य सम्पादन गर्ने विशिष्ट विज्ञता लोक सेवा आयोगसँग छ जस्ले लोक सेवा आयोगका परीक्षाहरुलाई गोप्य, निष्पक्ष र गुणस्तरीय बनाउन सहयोग गरेको छ ।
यसप्रकारका सबै विज्ञता प्रदेश लोक सेवा आयोगमा हस्तान्तरण हुन जरुरी छ । दुबै आयोगबीच विज्ञताको आदानप्रदान हुन सक्ने र विज्ञताको आदान प्रदान हुने माध्यम संघीय संसदले बनाउने आधार र मापदण्डमा स्पष्ट उल्लेख हुनुपर्छ ।
आयोगको परामर्शका क्षेत्र निर्धारणसम्वन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड संवन्धी कानून तथा संघीय निजामती सेवा ऐनमा प्रदेश सरकारले के कस्ता कर्मचारी प्रशासन संबन्धी विषयहरुमा प्रदेश लोक सेवा आयोगबाट परामर्श लिनुपर्ने हो स्पष्ट गर्नु पर्दछ ।
क्षमता विकासमा लोक सेवा आयोगको भूमिका
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच क्षमता विकास तथा सूचना र अनुभव  तथा विज्ञ आदानप्रदान गर्नुपर्ने स्पष्ट विषय, क्षेत्र र प्रक्रिया प्रशासन व्यवस्थापन सम्वन्धी कानूनमा व्यवस्था गर्नुपर्ने देखिन्छ ।
स्थानीय सेवासम्वन्धी व्यवस्था
संविधानमा नवोलिएको तर आवश्यक विषय हो स्थानीय सरकारका लागि आवश्यक पर्ने कर्मचारी भर्ना गर्दा योग्यताको परीक्षण कस्ले गर्ने भन्ने विषय हो । संघीय निजामती सेवा ऐन, लोक सेवा ऐन, प्रदेश लोक सेवा ऐन तथा स्थानीय सेवा संवन्धी ऐनमा यस विषयमा स्पष्ट व्यवस्था गर्नु पर्ने देखिन्छ ।
वार्षिक प्रतिवेदन प्रस्तुति र छलफलसम्वन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगले बर्षभरि गरेका कार्यहरुको कार्य प्रगति, प्रदेश सरकारलाई दिएका परामर्शहरु, लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीचको अन्तरसम्बन्ध र अन्तरसहयोगका विषयहरु तथा सरकारको आयोगप्रतिको व्यवहार र दृष्टिकोण समेटेर वार्षिक प्रतिवेदन तयार गरि प्रदेश प्रमुखलाई बुझाउने र सो प्रतिवेदनमाथि प्रदेश सभामा छलफल हुने व्यवस्था गर्न आवश्यक हुन्छ ।
उपसंहार
सैद्धान्तिक पक्षको सावधानीले मात्र कुनै पनि उद्देश्य प्राप्त हुँदैन । प्रदेश लोक सेवा आयोगको स्वायतता, निष्पक्षता र सक्षमताको आवश्यकता नेपाली जनताका लागि हो, जो निमुखा छन्, जसको राजनीतिक पहुँच छैन, जो ठूलाबडा मान्छेसँग बोल्न डराउँछन् ।
प्रदेश लोक सेवा आयोगले लोक सेवा आयोगले कमाएको जनताको आस्था र विश्वासमा चोट पुर्‍याउने वा दाग लगाउने कार्य हुन सक्ने सवै पक्षहरुको उपचार कानूनमा गरिनुपर्छ ।
यसकारण संघीय संसद र प्रदेश सभामा संसदका संसदीय समितिहरुमा व्यापक छलफल हुन जरुरी छ । संसदले विषय विज्ञहरुको सहयोगमा समेत छलफल गरी प्रदेश लोक सेवा आयोगलाई एक स्वायत, सक्षम र निष्पक्ष आयोगको रुपमा खडा हुने वातावरण निर्माण गर्नुपर्छ ।

Monday, November 19

लोक सेवा आयोगको छनोट प्रक्रियामा सुधार गर्नुपर्छ-सुरेश अधिकारी

  • पछिल्लो समय सरकारी सेवामा आकर्षण बढ्दो छ । मुलुकभरका जुनसुकै क्षेत्रमा पनि लोक सेवा परीक्षामा दरखास्त दिने उम्मेदवारको भीडले पनि यो पुष्टि गर्छ । 
  • नेपालमा लोक सेवा आयोग एउटा विश्वासिलो संस्थाको रूपमा रहेको छ । सक्षम मान्छेहरूको लागि लोक सेवा आयोग सरकारी सेवामा प्रवेश गर्न एउटा निर्विकल्प माध्यम बनेको छ । लोक सेवा आयोगप्रतिको विश्वास नेपालमा अत्याधिक छ ।
  • निजामती सेवा भनेको बृहत सेवा हो । देशभित्रै पनि सबै जिल्लामा गएर जहाँ पनि काम गर्न पाइने अवसर भएको स्थायी सेवा हो यो ।
  • ५८ वर्ष नपुगेसम्म जागिर खान पाइने कसैले नहटाउने असाध्यै सुरक्षा भएको सेवा हो । अलिकति राम्रो गर्छु भन्नेलाई करियर डेभलपमेन्टको अवसर छ । देश विदेश घुम्न जान पाउने अवसर छ । अझ परराष्ट्र सेवामै जागिर भयो भने अझ बढी अपरच्युनिटी होला । त्यसले गर्दा यो एट्रयाक्टिभ नै हो ।
  • तलब सुविधाहरू प्राइभेट सेक्टर तथा अरु संस्थाको भन्दा केही कम छ । तर, निरन्तर छ । त्यो तलब सुविधा कहीँबाट हड्पिने, कहीँबाट नपाइएला कि भन्ने कहीँ डर छैन । अर्को सोसल सेक्युरिटी छ । जागिर छोडेपछि पनि पेन्सन पाइन्छ । कर्मचारीको मृत्युपछि परिवारलेसम्म पनि पेन्सन पाउने सुन्दर किसिमको सेवा छ यो । वास्तवमा यो सहज किसिमको सेवा हो । धेरै जटिलताहरु छैनन् निजामती सेवामा । खाली अलिकति राम्रो काम गर्ने, अलिकति क्रिएटिभ भएको, अलिकति डेडिकेटेड भएर जनसेवा गर्छु भन्नेका लागि यसमा अवसर छ । त्यसैले यसप्रतिको क्रेज बढेको हो ।
  • पहिलो कुरा त म लेखनमा आइटी भन्ने गर्छु । इन्फरमेसन प्लस टेक्निक चाहिन्छ । अर्को हो, लेखाइमा टेक्निक । यसमा प्रश्नको नम्बर अनुसार लेखाई हुनुपर्छ । टाइम अनुसारको लेखाई हुनुपर्छ । लोक सेवा परीक्षामा लेखाइको टेक्निक आवश्यक पर्छ । अर्काे कुरा, लेख्दा लामो प्याराग्राफ लेख्यो भने पनि एट्रयाक्टिभ देखिँदैन ।
  • परीक्षार्थीमा विश्लेषण गर्ने क्षमता पनि हुनुपर्छ । कुनै समस्यालाई समाधान गर्न सक्ने क्षमता कस्तो छ । 
  • कतिपय प्रश्नहरू ओपन किसिमका हुन्छन् । धेरै लेख्न सकिने किसिमका नेपालको विपद् व्यवस्थापनबारे चर्चा गर्दै भन्यो भने धेरै लेख्न सकिन्छ । तर, कतिपय एकदमै क्लोज किसिमको प्रश्नहरू हुन्छन् । नेपालको विकास प्रक्रिया नै ठिक छैन भन्ने भनाई छ, तपाईँको धारणा के छ ? एकदमै क्लोज भयो नि त्यहाँनिर । त्यसैले ओपन र क्लोज किसिमका प्रश्नहरूमा कसरी लेख्नेबारे टेक्निक हुन्छ । त्यसलाई फलो गर्नुपर्छ ।
  • कहिलेकाहीँ समावेशीकरणलाई पनि एब्सल्युट रूपबाट हेर्नु हुँदैन । एउटा निश्चित तहमा आइसकेपछि यो पछाडि परेको पनि भन्न नमिल्ला । अरुसँग पनि कम्पिटिसन गर्नुपर्ने हुन्छ । सधै समावेशी लाभ मात्रै प्राप्त गर्न खोज्यो भने कम्पिटेन्सी कमजोर हुन्छ । 
  • उमेर बढ्दैमा राम्रो सेवा दिने भन्ने हुँदैन ।
  • संसारभरि नै राज्यले निरन्तर ढंगबाट सधै पेन्सन दिन सक्दो रहेनछ । धेरै बर्डन हुन्छ, त्यसैले कन्ट्रिब्युटरी फन्ट तयार गर्नुपर्छ र जागिर खाएको प्रत्येक मान्छेले महिनैपिच्छेको तलब लिँदा केही अंश त्यसमा कटौती गर्दै लग्यो भने पछि त्यही कन्ट्रिव्युटेड फन्डबाट नै पेन्सन प्राप्त हुन्छ र राज्यले छुट्टै खर्च गर्नु पर्दैन । अहिले पेन्सनको अंक धेरै नै बढीसकेको अवस्था छ । राज्यलाई धान्न धेरै गाह्रो भयो । त्यसैले यो राम्रो विषय हो । यो धेरै देशहरूले फलो गरेको विषय हो । त्यो अवलम्बन गर्दा ठिकै हुन्छ भन्ने मलाई लाग्छ ।
  • आन्तरिक प्रतियोगिताको लागि अहिले ३० प्रतिशत प्रस्ताव आएको छ । व्यक्तिगत रूपमा म २० प्रतिशतभन्दा बढी हुनुहुँदैन भन्ने ठान्छु । आन्तरिक प्रतिष्पर्धामा पनि ३० प्रतिशत राख्न जरुरी छैन । कर्मचारीलाई पढाउने होइन, काम लगाउने गर्नुपर्छ त्यसको लागि कार्यसम्पादनमा आधारित प्रमोसन सिस्टम नै सबैभन्दा राम्रो किसिमको व्यवस्था हो । 
  • मेरिटमा पछाडि पर्नेहरूले नरोजेको ठाउँमा पर्ने अवस्था हुन्छ । त्यो स्वभाविक हो । यो निजामती सेवा ऐनमा भएको व्यवस्था होइन । लोक सेवा आयोगको आफ्नो कार्यविधि छ । लोक सेवा आयोगको ऐन/नियमावलीमा संशोधन गर्नुपर्ने विषय हो ।  
  • निजामती सेवाको लिमिटेसन छ । आकार सानो छ । रोजगारीको क्षेत्र धेरै बढाउनुपर्ने जरुरी छ । निजामती सेवा पूर्ण रोजगारीको क्षेत्र होइन । यो सरकारलाई केही कर्मचारी आवश्यक परेकाले लिएको मात्रै हो । जतिले एप्रोच गर्नुहुन्छ सबै सक्नुहुन्न ।
  • एउटा प्लेटफर्म हो लोक सेवा भनेको । त्यसले धेरै एभिन्युजहरू क्रिएट गर्छ । अरु धेरै ठाउँमा पनि अवसरहरू पाइरहेका हुन्छन् । एउटातिर पढ्यो अर्कोतिर नाम निस्केको पनि हुन्छ । तर, यहाँले भनेको जस्तो सबैले अवसर पाउँदैनन् । सबैले अवसर नपाउँदा फ्रस्टेसन पनि हुन्छ । फ्रस्टेसन भएको मान्छेले यो त ‘लक सेवा’ रहेछ भन्ने भएको हुन सक्छ । त्यसैले १० प्रतिशत त लक हुन्छ जेमा पनि, ९० प्रतिशत आफ्नो कर्ममा नै भर पर्छ होला ।
  • लोक सेवा आयोगमा सबै प्रश्नको उत्तर जान्नुपर्ने हुन्छ । सानो भनेर कुनै विषयलाई हेर्नु हुँदैन । सबैलाई इक्वाइल भ्यालु दिनुपर्छ । जस्तोसुकै सानो टपिकबाट पनि प्रश्न सोध्न सक्छ । त्यसमा ध्यान दिनुपर्छ ।
  • अर्को लोकसेवा आयोगमा लेख्ने टाइमको लिमिटेसन हुन्छ । थोरै समयमा धेरै र महत्वपूर्ण कुरा लेख्नुपर्ने हुन्छ । महत्वपूर्ण कुरालाई नदोहोर्याउने र नछुटाउने दुइटै तरिका अवलम्बन गर्नुपर्ने आवश्यकता रहन्छ । अलिकति कन्सेप्टेबल कुराहरू बुझ्ने र कन्सेप्ट बुझेपछि नेपालसँग कम्पियर गरेर लेख्ने परीक्षार्थी पास हुन्छन् । लेख्ने स्टाइलहरू नहुँदाखेरी समस्या हुन्छ । त्यो बुझिसकेपछि सजिलो छ ।
  • परीक्षार्थी स्तर घटेको छैन, बरु बढेको छ । लोक सेवा आयोगमा के हुन्छ भने सुरुमा जब कोर्स डिजाइन हुन्छ सुरुका वर्षमा सजिलो प्रश्न आइरहेको हुन्छ । जति त्यही कोर्स रहीरहन्छ पछि त्यो कम्प्लिकेटेड हुँदै जान्छ । किनभन्दा यो प्रश्न अघिल्लो वर्ष नै आइसकेको छ भन्ने हुन्छ । अनि अलि अप्ठ्यारो । लोक सेवाको क्वेसन्स बैकमा पनि प्रतिस्पर्धा हुन्छ । मैले बनाएको क्वेसन्स अलिकति बलियो हुन्छ कि भन्ने पनि कसै कसैलाई लाग्छ । बजारमा आएका प्रश्नभन्दा फरक बनाउने होड पनि चल्छ । त्यसले गर्दा लोक सेवा आयोगका प्रश्नहरू अलिकति कम्प्लिकेटेड हुँदै गइराखेको हो जस्तो लाग्छ ।
  • विगतमा सहसचिवलाई सोध्ने लेबलको प्रश्न अहिले अफिसरलाई नै सोध्ने गरिएको छ । यस्तै, अफिसरलाई सोधिने प्रश्न खरिदारलाई नै सोध्ने गरिएको छ । यहाँ त खरिदारको उम्मेदवार पनि डिग्री पास गरेको छ । लोक सेवा आयोगले त्यो हेरेको पनि हुन सक्छ । अहिले योग्यता बढिरहेको छ, त्यसैले प्रश्न पनि योग्य नै दिउँ भन्ने हुन सक्छ । तर, जुन लेबलको परीक्षा दिनुपर्ने हो । त्यहि लेबलको प्रश्न भए राम्रो हुन्छ । त्यस्तो गर्दा लोक सेवा आयोगलाई समस्या छ । एसएलसी गर्दा खरिदार भइन्छ । एसएलसी लेबलको सय प्रश्न दियो भने सय ओटै मिलाइदिन्छन् । अनि परीक्षार्थीको टेस्ट कसरी गर्ने ? त्यसले गर्दा लोक सेवालाई अलिकति कम्प्लिकेटेड प्रश्न बनाउनुपर्ने बाध्यता छ ।
  • यो बेला भनेको असाध्यै अवसर भएको समय हो । किनकि नेपालको निजामती सेवाको आकार बढ्दै छ । हिजो ८६ हजार रहेको निजामती सेवा अब एक लाख २३ हजार जति हुँदैछ । त्यसैले निजामती सेवामा अब २० देखि २५ हजार कर्मचारीहरू नयाँ भर्ना हुन्छन् । यो तीन वर्षभित्रमा २५ हजार कर्मचारी भर्ना गर्नैपर्छ । अहिले स्थानीय तह तथा प्रदेशमा धेरै कर्मचारीको खाँचो छ । 
  • नेपालको लोक सेवा आयोग र अरु देशको छनोट प्रक्रियामा कम्पियर त गर्न सकिन्छ । तर, देशको अवस्था अनुसार पनि फरक हुन्छ । बेलायतमा गृह मन्त्रालयलाई कर्मचारी चाहियो भने उसले आफै पनि भर्ना गर्न सक्छ । लोक सेवा आयोगलाई पनि भन्न सक्छ । हाम्रोमा आफ्नै निकायले छनोट गर्ने अवस्था बनिसकेको छैन । त्यसो भयो भने फेयर हुँदैन । त्यसैले हामीले अहिले लोक सेवा आयोग जिन्दावाद नै भन्नुपर्ने हुन्छ ।
  • लोक सेवा आयोगले जे गरिरहेको छ, राम्रै गरिरहेको छ । अब लोक सेवा आयोगको छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । किनभने लोक सेवा आयोगले सिलेबस नै बनाउँदा पनि भोलि गएर त्यो जब रिलेटेड हो कि होइन, त्यो विषय पढेको मान्छेले राम्रो काम गर्न सक्छ कि सक्दैन भनेर । जस्तोः अफिसरमा एप्टिच्युट टेस्ट भन्ने छ, एउटा धर्कोसँग अर्को धर्को मिलेको छ की छैन भन्ने । निजामती सेवाको अफिसर भएपछि कहाँनिर काम लाग्छ त्यो । मैले अहिलेसम्म बुझेको छैन । जब त्यो विषय काम लाग्दैन भने त्यसको टेस्ट गरिराख्नु पर्ने के जरुरी छ ।
  • अहिले नै हेर्ने हो भने धेरै किसिमका विषयवस्तुहरु राखिदिएको छ, जुन आवश्यक छैनन् । त्यसै कारणले निजामती सेवामा सम्बन्धित पदमा गएर उसले जे काम गर्नुपर्ने हो त्यसैसँग रिलेटेड कोर्स डिजाइन गर्नुपर्छ, लोक सेवा आयोगले । 
  • उपसचिव पदको कापी सहसचिवलाई जाँच्न दिइराखेको हुन्छ । सबै सहसचिव पढेर अपडेट छैनन् नि । सबैले बुझिराखेका छैनन् नि । सहसचिव भन्दैमा उ जान्ने छैन नि । त्यसैले पोजिसन होइन । उसँग कति कम्पिटेन्सी छ भन्ने आधारमा कापी जाँच्न दिनुपर्यो । नत्र अन्याय हुन्छ परीक्षार्थीहरूलाई । यद्यपि, रोस्टर हेर्छ, उसको अनुभव हेर्छ । त्यो गरेको छ । तर पोजिसन पनि गरिराख्नुको अर्थ त्यो त्यति राम्रो होइन । त्यस्तो पक्षमा सुधार गर्नुपर्ने हुन्छ ।
  • बाहिरका एक्सपोर्ट ल्याउँदा पनि उसको पृष्ठभूमि, व्यवहारलगायत पक्षबारे ध्यान दिएर एक्सपोर्ट छनोट गर्नुपर्छ इन्टरभ्युमा । त्यो सुधार गर्नुपर्ने हुन्छ । अर्को मार्किङको सिलसिलामा पनि ३० भन्दा कम ६० भन्दा बढी दिन नपाइने भनिराखेको हुन्छ । यो बिचको बाटो अवलम्वन गरिराखेको हुन्छ । एक्स्ट्रा अडिनरी छ भने बढी अंक पनि दिनुपर्यो नि । त्यस्ता पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ । आजभोलि विश्वमा एसएसमेन्ट सेन्ट्रल मेथोडोलोजी भनिएको छ । त्यसले मान्छेको समग्र व्यवहारको टेस्ट गर्छ । जस्तोः मैले इन्टरभ्यु दिए भने विगतमा मेरो कामको पर्फमेन्स, कारवाही, पुरस्कारलगायतको टेस्ट हुन्छ । तर, हाम्रोमा त्यो सिस्टम छैन ।
http://www.prasashan.com/2018/08/12/78046/?fbclid=IwAR3uREX8oVmHmUJOzdP_M3hRE3DF_lSBIvyOmuf_awL-AxqM340cQkpwE2o

Sunday, November 18

उपसचिवको परीक्षामा व्यावहारिक काैशल जाँचिने

  • लोकसेवा आयोगले लिने उपसचिवको परीक्षामा व्यावहारिक कौशल पनि जाँचिने भएको छ। आयोगले परीक्षामा ३० पूर्णांकको ‘इन बास्केट एक्सरसाइज’ पाठ्यक्रम थप्ने निर्णय गरेको हो। यसपछि परीक्षाको कुल पूर्णांक २ सय ३० हुनेछ। पहिले २ सय पूर्णांक थियो।
  • निर्णयअनुसार आयोगले अप्राविधिकतर्फ प्रशासन, परराष्ट्र, न्याय, लेखापरीक्षण तथा संसद् सेवाको उपसचिव वा सोसरह पदका खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा दोस्रो चरणमा परीक्षार्थीको कौशल तथा ल्याकत परीक्षण गर्ने तयारी थालेको छ। यसै वर्ष हुने उपसचिवको परीक्षादेखि नयाँ व्यवस्था लागू हुने आयोगले जनाएको छ।
  • दैनिक व्यवहारमा आइपर्ने काम, समस्या तथा सेवा प्रवाहलाई उम्मेदवारले दिने महत्व र प्राथमिकताको परीक्षण हुने ।
  •  यो निर्णायक मोड हुने र यसमा सफल उम्मेदवारले कामको चाप र समस्या सहजै समाधान गर्न सक्ने विश्वास आयोगले लिएको  आयोगका अनुसार यसअघि नीतिगत तहमा उत्तीर्ण हुने उम्मेदवारमा समस्या समाधान र सेवा प्रभावकारी बनाउन सक्ने कौशल अभाव देखिएको थियो।
  • आयोगले प्रशासनतर्फ सहसचिव वा सोसरह पदको खुला तथा आन्तरिक परीक्षा योजनाअन्तर्गत दोस्रो चरणको मामिला विश्लेषण अभ्यास हटाएको छ। त्यसको साटो केस प्रस्तुति गर्नुपर्ने निर्णय गरेको छ। परीक्षामा ज्ञानको धेरै र व्यवहारको परीक्षण न्यून भएकोमा आयोगले ज्ञान, क्षमता र व्यवहार परीक्षण समावेश गरी पाठ्यक्रम व्यावहारिक र वैज्ञानिक बनाएको आयोगको दावी छ।
  • आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीमा आचरण र नैतिकतासम्बन्धी समस्या रहेको अध्ययनहरूले देखाएका छन्। यो समस्या समाधान गर्न दुई वर्षयता आयोगले सहसचिव स्तरीय परीक्षामा नैतिक परीक्षण गर्ने व्यवस्था गरेको थियो। तर आयोगले लिने सबै तहका परीक्षामा नैतिकता र आचरणसम्बन्धी वास्तविक परीक्षण हुनुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन्।

Friday, November 16

यसरी बस्यो निजामती सेवाको जग -उमेशप्रसाद मैनाली

  • राणाकालसम्म नेपालमा सही अर्थको निजामती प्रशासन नै थिएन । त्यसबेलाको प्रशासन केन्द्रीकृत त थियो नै, सेनाको अधीनमा राणा शासकका भाइहरूबाट सञ्चालित र दौडाहाद्वारा नियन्त्रित थियो ।
  • प्रशासनको मुख्य उद्देश्य राणा शासकहरूको सत्ताको रक्षा गर्ने, उनीहरूका स्वार्थ पूरा गर्ने र सामन्ती शैलीमा समाजमा यथास्थितिमा राख्ने नै थियो। राणाहरूले उदारता देखाउन केही राम्रा काम पनि नगरेका होइनन्, तर यी काम पूर्णत: हुकुमी शैलीमा हुने गर्थे। राणा प्रधानमन्त्रीका प्रथम तीन भाइले कमाण्डिङ जनरलको रूपमा प्रशासन आफ्ना नियन्त्रणमा सञ्चालन गर्थे। चाकडी प्रथाको आधारमा कर्मचारी भर्ना गरिन्थे र ‘पजनी’ प्रथाबाट खोसुवा, सरुवा र बढुवा हुने गर्थे। भारतको ‘मुगल’ प्रशासन र जापानको ‘सोगुनेट’ प्रशासनजस्तै परिवर्तन रोक्ने काम यसको थियो। यो प्रशासनमा वास्तवमा नागरिक वा निजामती प्रशासनका गुण नै थिएनन्। योग्यता, निष्पक्षता, राजनीतिक तटस्थता, व्यावसायिकता, जनमुखी सेवाभाव जस्ता आधुनिक निजामती सेवाका कुनै पनि विशेषता त्यसबेलाको प्रशासनमा थिएन।
  • २००७ सालमा जहानियाँ राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनापश्चात गठन भएको सरकारको ठूलो चुनौती नै राणाकालीन प्रशासनलाई खारेज गरेर आधुनिक प्रशासनको जग बसाल्नु थियो। नेपाल सरकार अन्तरिम शासन विधान, २००७ जारी भएपछि सिंहदरबारमा केन्द्रीय सचिवालय गठन, मन्त्रालयहरूको गठन, प्रशासकीय कार्यविधि जारी गर्ने काम गर्‍यो भने राणाकालमा खडा गरिएका अड्डाहरू खड्ग निसान अड्डा, हाजिरी गोश्वारा, मुलुकी अड्डा, बिन्तीपत्र निक्सारी, कौशल अड्डा आदि खारेज गरिए। यी सुधारका कदमहरू भारतीय आईएएस अफिसर एनएमबुच, श्री नागेश, वृजनारायण र मुर्डेश्वरको सिफारिसमा गरिएका थिए। मन्त्रालय गठनसंँगै सचिवहरूको नियुक्ति गर्न योग्य व्यक्तिहरूको छनोट गर्नु थियो। १३ मंसिर, २००८ को गजेटअनुसार १५ जना सचिव नियुक्ति गरिएको थियो। यसमा राणाको भागमा परेका जति मन्त्रालयमा सेनाका उच्च अधिकृतहरू र त्यसबेलाका नामी हाकिमहरूबाट नियुक्ति गरियो भने कांग्रेसको भागमा परेका मन्त्रालयहरूमा शिक्षित युवाहरूलाई नियुक्ति दिएको थियो। प्रद्युम्नलाल राजभण्डारी, भवनाथ उपाध्याय, प्रेमनरसिंह प्रधान, कुलशेखर शर्मा, हिमालय शमशेर राणा, चन्द्रबहादुर थापा, तिलक शमशेर, शौभाग्यजंग थापा, सरदार रुद्रराज पाण्डे, भीमबहादुर पाण्डे, नरेन्द्रमणि आ.दि., सुब्बा नीर राजभण्डारी, अच्युतराज पण्डित सचिवमा नियुक्ति गरिएका थिए। तत्कालीन अर्थसचिव हिमालय शमशेर जबराले यस स्तम्भकारले राखेको जिज्ञासामा अर्थमन्त्रीले आफू लगायत तीनजना एमए पास गरेका युवालाई केही दिन काम लगाई राम्रो कामको आधारमा आफूलाई सचिवमा छानेको बताउनुभएको थियो। यसबाट योग्य कर्मचारी छान्ने त्यसबेला पनि आफ्नै खालको प्रक्रिया रहेको देखिन्छ।
  • सचिवहरूको नियुक्ति भए पनि योग्य र सक्षम कर्मचारीहरूको अभाव थियो। राणाकालीन कर्मचारीहरू चार पास र एघार पास गरी चाकडीबाट भर्ना भएकाले आधुनिक शैलीको प्रशासन उनीहरूबाट सम्भव देखिएन। त्यसैले २००९ सालको प्रारम्भतिर प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पत्र लेखी थुप्रै अधिकृत र सहायक कर्मचारीहरू पठाई सहयोग गर्न अनुरोध गरेका थिए। मातृकाप्रसादले आफै लेखेको किताब ‘अ रोल इन रिभोलुसन’मा उल्लेख गरिएको पत्रबाट त्यसबखतको नेपालको प्रशासनिक अवस्था बुझ्न सकिन्छ। त्यसमा अफिसर, सुपरिटेन्डेन्ट अफ पुलिसदेखि स्टेनोग्राफर, असिस्टेन्ट, क्लर्क, टेलिफोन अप्रेटरसम्म खटाइदिन माग गरेको देखिन्छ। यसको जवाफमा नेहरूले २३ अप्रिल, १९५२ मा पत्र लेख्दै भारतबाट तत्कालका लागि ४ देखि ५ अफिसर खटाउने जसले यस विषयमा नेपाल सरकारसँंग छलफल गर्ने कुरा उल्लेख गरेका थिए भन्ने कुरा उक्त किताबमै समावेश गरिएको पत्रको प्रतिलिपिबाट ज्ञात हुन्छ। यस अनुरुप नेपालको केन्द्रीय र जिल्ला प्रशासनिक संगठनको अध्ययन गर्न एक आयोग गठन भयो, जसमा एनएम बुचको नेतृत्वमा केपी मथ्रानी र एसके आनन्द सदस्य थिए। नेपालको तर्फबाट २ जना राख्ने सहमति भएअनुरुप अर्थसचिव हिमालय शमशेर र कानुन सचिव तिलक शमशेर यसमा संलग्न हुनुभएको थियो। नेपालको प्रशासन सुधारको इतिहासमा यही ‘बुच कमिसन’ पहिलो अभ्यास थियो। नेपालमा नागरिक प्रशासनको स्थापना गरी आधुनिक कर्मचारीतन्त्रको स्थापना गर्न यस कमिसनको महत्त्वपूर्ण भूमिका रहेको छ। यस प्रतिवेदन अनुरुप नै मन्त्रालय, विभागहरूको पुनर्गठन, अर्थ र लेखासम्बन्धी विशेष संरचना, प्रहरी र जेल संगठन, भ्रष्टाचार नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको देखिन्छ।
  • सरकारी सेवामा योग्यताका आधारमा मात्र भर्ना गर्न र चाकरी प्रथा अन्त्य गर्न २००८ असार १ गते ‘पब्लिक सर्भिस कमिसन’ गठन गरियो। नेपाल अन्तरिम शासन विधान, २००७ को भाग ५ धारा ६४ अनुसार यस कमिसनको काम, कर्तव्य र अधिकारमा नेपाल सरकारका सबै जागिरदारमा भर्नाको लागि जांँच गर्नु र निजामती दर्जा र नोकरीमा भर्ना गर्ने तरिका सम्बन्धी विषय, निजामती पदहरूमा नियुक्ति गर्ने, सरुवा, बढुवा गर्ने सिद्धान्तका विषयमा सल्लाह दिनु आदि विषयहरू समेटिएको थियो। यस अतिरिक्त नेपाल सरकारको निजामती जागिरदारको अनुशासन सम्बन्धी सबै विषय र यस सम्बन्धी स्मृतिपत्र, बिन्तीपत्र, उजुरी वा निवेदन पत्रसमेत सबै विषय र श्री ५ बाट सल्लाह मागिबक्सेको जुनसुकै विषयमा सल्लाह दिने काम पब्लिक सर्भिस कमिसनको हुनेछ, तर श्री ५ बाट यस विषयमा साधारण तवरसँग वा विशेषत: अमूक परिस्थितिमा कमिसनसँंग सल्लाह लिन आवश्यक छैन भनी नियमद्वारा तोकिबक्सेमा सोही बमोजिम हुनेछ भन्ने प्रावधान राखिएको थियो।
  • २००८ असार १ गते तत्कालीन मुन्सीखानाका हाकिम सरदार नगेन्द्रमानसिंह प्रधान प्रेसिडेन्ट तथा केशरबहादुर केसी र देवनाथप्रसाद वर्मा दुई मेम्बरसहित तीन सदस्यीय पब्लिक सर्भिस कमिसन गठन गरियो। कमिसनले भदौ १८, २००८ मा पहिलोपटक ६ पदका लागि विज्ञापन गरेर आफ्नो काम सुरु गरेको देखिन्छ। यसले २०१२ सालमा ‘पोष्ट ग्रयाजुयट अफिसर’ र ‘ग्रयाजुयट अफिसर’को परीक्षा सञ्चालन गरेको थियो। त्यसबेला परीक्षामा सम्मिलित भएर सफल भएका समाजसेवी भैरव रिसालले जानकारी दिए अनुसार ‘पोष्ट ग्रयाजुयट अफिसर’मा पास हुनेमा विश्वनाथ उपाध्याय, मंगलकृष्ण श्रेष्ठ, बबरप्रसाद सिंह, गोविन्दप्रसाद लोहनी, अनन्तनाथ पौडेलसहित ८ जना थिए भने ‘ग्रयाजुयट अफिसर’तर्फ पास हुने ६ जनामा भैरव रिसाल र दाताराम शर्मा लगायत थिए। त्यसबखत पास हुने विश्वनाथ उपाध्याय चर्चित प्रधानन्यायाधीश हुनुभयो। अर्का बबरप्रसाद सिंह सर्वोच्च अदालतको न्यायाधीश हुनुभयो। गोविन्दप्रसाद लोहनी योजना आयोगको सदस्य, अनन्तनाथ पौडेल (कविशिरोमणि लेखनाथ पौडेलका सुपुत्र) तत्कालीन राष्ट्रिय पञ्चायत सचिवालयका महासचिव र मंगलकृष्ण श्रेष्ठ नेपाल सरकारका नामी सचिव हुनुभयो।
  • राणाकालीन चाकरी प्रथाको विरासतमा ल्याइएको प्रशासनिक संयन्त्रमा योग्यता प्रणालीलाई स्थापित गराउने काम आफैमा नौलो त थियो नै, त्यसभन्दा पनि अप्ठेरो पक्ष संक्रमणकालीन राजनीति देखियो। हरेक परिवर्तनपछि प्रशासनिक पुनर्गठनको नाममा कर्मचारी खोसुवा, भर्ना र जगेडामा राख्ने क्रम सुरु हुन्थ्यो। निजामती सेवाका उच्च पदहरूमा समेत कमिसनको परामर्श बेगर सिधै नियुक्ति दिइन्थ्यो। प्रशासन पुनर्गठन योजना जो प्रधानमन्त्री टंकप्रसाद आचार्यकै अध्यक्षतामा बनेको थियो, त्यसैको सिफारिसमा ‘विकास समिति ऐन, २०१३’ जारी भएको थियो। विकास कार्यक्रमहरू सुचारु हुन सकुन् र यसका लागि सरल प्रक्रियामा शीघ्र निर्णय हुनसकोस् भन्ने पवित्र उद्देश्यले यो ऐन लागू भए पनि यसको मूल मर्म विपरीत यसको आडमा आफ्ना मानिसहरू बर्को भित्रबाट (ब्ल्याङकेटिङ इन) छिराउने छिद्र यही ऐनले दिएको देखिन्छ। पहिले विकासका कर्मचारीको नाममा लोकसेवा आयोगको परीक्षा बेगर भर्ना गर्ने र पछि विकासकालाई साधारणमा ल्याउने क्रम सुरु भयो, जुन २०२८ पछिमात्र कम हुँदै गएको देखिन्छ। यही ऐनलाई टेकेर ‘ब्लक डेभलपमेन्ट अफिसर’ ७५ जना भर्ना गरिएको थियो। पछि ७५ ब्लक डेभलपमेन्ट अफिसरको दरबन्दी साधारणतर्फ सरुवा गरी मूलधारमा मिलान गरियो। दरबन्दी मिलानमा पर्नेहरूमध्ये वीरेन्द्र खुजेली, विष्णुप्रताप शाह, भक्तबहादुर कोइराला, श्यामप्रसाद अधिकारी आदि थिए। पछि अञ्चल पञ्चायत अधिकृतको समूहबाट दामोदर गौतम लगायतका व्यक्तिहरू साधारणतर्फ ल्याइएका थिए। यी व्यक्तिहरू जो पछि प्रशासनिक समाजमा इज्जतपूर्वक लिइने नाम बने, यसको आधारमा यो विकासे नियुक्तिलाई सही भन्न सकिंँदैन। यही ऐनको आवरणमा पञ्चायतकाल र अहिलेसम्म पनि आफ्ना मानिस भर्ती गर्न राजनीतिक नेतृत्व सफल हुँदै आएको छ।
  • २०१३ साल भदौमा निजामती ऐन र सोही साल पुसमा निजामती सेवा नियमावली जारी भएपछि मात्र विस्तारै भर्ना र प्रमोसनमा पब्लिक सर्भिस कमिसनलाई सरिक गराउन थालिएको देखिन्छ। टंकप्रसाद आचार्यको सरकारले २०१३ सालमा राणाकालीन कर्मचारीहरूको ‘स्क्रिनिङ टेस्ट’ उच्च तहका लागि आफ्नै अध्यक्षताको समितिबाट र अन्यको लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा गर्न सुरु गरे, तर यसमा पब्लिक सर्भिस कमिसनको परामर्श आवश्यक ठानिएन। उक्त समितिले जब अन्तिम रिजल्ट तयार पार्‍यो, आचार्य सरकारलाई बर्खास्त गरियो। अझ रोचक कुरा त के देखियो भने असफल हुने कर्मचारीहरूलाई कायममात्र राखिएन, केहीलाई बढुवासमेत गरियो। योग्यता प्रणालीलाई छल्ने नियतले राजनीतिक नियुक्ति दिने क्रम पनि बढ्न थाल्यो। शाही परामर्श समितिबाट १९५५ अगस्टमा बडाहाकिम पदलाई निजामती पदबाट अलग गरियो। २३ अगस्ट, १९५५ मा १६ बडाहाकिम बर्खास्त गरिए र शाह एवं राणाहरूबाट नियुक्ति गरियो। २०१५ बैसाख ३१ गते कर्मचारी पुनर्गठन गरियो। यसमा १३ जनाको जागिर खोसियो भने १२ जनालाई नियुक्ति गरियो। यस घटनामा पनि पब्लिक सर्भिस कमिसनको परामर्श आवश्यक ठानिएन। यी सन्दर्भहरूको विश्लेषण गर्दा त्यसबेलाका सरकार र राजा सबै नै योग्यता प्रणालीलाई भत्काएर प्रशासन संयन्त्रमा आफ्ना मानिस भित्र्याउन लागेको देखिन्छ।
  • २०१५ फागुन १ मा नेपाल अधिराज्यको संविधान जारी गरियो। घतलाग्दो कुरा त यो संविधान निर्वाचनको एक हप्ता अघिमात्र जारी भएको थियो। यस संविधानमा ‘पब्लिक सर्भिस कमिसनको’ सट्टा लोकसेवा आयोग र ‘प्रेसिडेन्टको’ सट्टा अध्यक्ष नामकरण गरियो। यस संविधानको धारा ५९ मा ‘एक लोकसेवा आयोग रहनेछ, जसमा श्री ५ बाट तोकिबक्से बमोजिम सदस्यहरू रहनेछन् र तोकिबक्सेको एक सदस्य अध्यक्ष हुनेछ’ भन्ने प्रावधान रहेको थियो। आयोगको कमसेकम एक तिहाइ सदस्य बहाल हुनुभन्दा ५ वर्ष अघिसम्म सरकारी नोकरीमा नरहेको व्यक्ति हुनेछ भन्ने प्रावधान राखिएको थियो। संसद सदस्य आयोगको सदस्य हुन नपाउने तर महासभाको सदस्य भने नियुक्त हुनपाउने प्रावधान राखियो। यही प्रावधानलाई टेकेर साहेबज्यू शिवेन्द्रविक्रम शाह (जो नेपाली कांग्रेसका सक्रिय सदस्य थिए) लाई सदस्यमा नियुक्त गरिएको थियो। सदस्यहरू ५ वर्ष आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था थियो। लोकसेवा आयोगको सदस्य भइसकेको व्यक्ति उक्त पदमा नरहेपछि अन्य सरकारी सेवाका लागि ग्राह्य नहुने व्यवस्था थियो। आयोगको प्रमुख कार्यमा सरकारी सेवाका लागि कर्मचारी छनोट गर्नु, निजामती सेवाका सर्तसम्बन्धी विषयमा, निजामती सेवा वा पदमा नियुक्ति वा बढुवा गर्दा अँगाल्नुपर्ने सामान्य सिद्धान्तका विषयमा, निजामती कर्मचारीहरूलाई दण्ड दिने विषयमा परामर्श दिनु आदि थियो। आयोगले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन श्री ५ मा पेस गर्नुपर्ने व्यवस्था गरियो, जुन पहिलेको संविधानमा थिएन। यस आयोगको गरिमा अति नै उच्च राख्न खोजेको तथ्य त्यसबेला गरिएको नियुक्तिलाई हेरेर बुझ्न सकिन्छ। संविधान जारी भएपछि आयोगका तत्कालीन सभापति भगपतिप्रसाद सिंहले प्रधानन्यायाधीश पदमा नियुक्ति पाए भने सर्वोच्च अदालतका प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहले लोकसेवा आयोगको अध्यक्षमा २०१६ असार १६ गते नियुक्ति पाएको देखिन्छ।
  • जनताबाट निर्वाचित सरकारबाट संवैधानिक निकायको स्वतन्त्र भूमिकाको रक्षा होला भन्ने सोचाइ राख्नु स्वाभाविकै थियो। तर सुरुका दिनहरूमा आयोग र सरकारबीच केही असमझदारीको वातावरण बन्न पुग्यो। निर्वाचित सरकारले २७ जुलाई १९५९ मा ११ सचिवको नियुक्ति गरेको थियो। जसमा शौभाग्यजंग थापा क्यबिनेट र रक्षा, नरप्रताप शाह परराष्ट्र, कुलनाथ लोहनी योजना र विकास, रामप्रसाद जोशी अर्थ, प्रेमनरसिंह प्रधान गृह, योगप्रसाद उपाध्याय निर्माण, सञ्चार र सिंचाइ, भवनाथ शर्मा खाद्य, कृषि तथा वन, प्रद्युम्नलाल राजभण्डारी शिक्षा, स्वास्थ्य, तारकबहादुर शाह ग्रामीण विकास, विश्वशंकर शुक्ला उद्योग वाणिज्य, शम्भुप्रसाद ज्ञवाली कानुन र संसदीय व्यवस्था मन्त्रालयका सचिवमा नियुक्ति गरिएका थिए। जननिर्वाचित सरकारले पनि २०१६ साउन १० देखि प्रशासनिक पुनर्गठन सुरु गरेको थियो र यसमा नातावाद, कृपावाद हावी भएको भनी व्यापक टिकाटिप्पणी भएको थियो। 
  • प्रशासन सेवा पुनर्गठन गर्दा लोकसेवा आयोगको परामर्शविना नयांँ नियुक्ति, प्रमोसन गरेको पाइएपछि आयोगले आफ्नो पहिलो प्रतिवेदन, २०१६ मा आपत्ति जनाउँंदै भनेको थियो, ‘उपयुक्त जांँचको आधारमा योग्य उम्मेदवार छानबिन र संविधानमा तोकिएका कुरामा परामर्श दिनु आयोगको कार्यक्षेत्र संविधानद्वारा निर्धारित गरिएको छ। आयोगको परामर्श बेगर कुनै काम गर्नु वा सरकारको सेवा वा पदमा भर्नाको निम्ति उम्मेदवारहरूको छानबिन गर्नु आयोगको कार्यक्षेत्रमा सरकारद्वारा अतिक्रमण हो भन्ने कुरा सरकारले बुझ्नुपर्ने हो’। सोही प्रतिवेदन अनुसार पछि सरकार र आयोगबीच सहमति भई आयोगलाई परीक्षा लिन पठाइएकोमा पहिले सरकारले छनोट गरेका ग्याजेटेट द्वितीय श्रेणीका ७ मा २ र तृतीय श्रेणीका २५ मा ११ मात्र सफल भएका थिए। प्रजातन्त्रमा विश्वास गर्ने निर्वाचित सरकारले कमसेकम संवैधानिक आयोगको सम्मान गरेको यो सन्दर्भ प्रशंसनीय देखिन्छ।
  • यसरी नेपालमा निजामती प्रशासनको जग बसाल्नुमा लोकसेवा आयोगको निरन्तर प्रयासलाई पहिलो श्रेय जान्छ भने यस सेवालाई कानुनी आधार दिएर संस्थागत गर्न सुरुवात गर्ने टंकप्रसाद आचार्यको प्रयास स्मरणीय छ। तर निजामती सेवाको जग बसे पनि यसलाई अस्थिर बनाएर राजनीतीकरण गर्ने प्रयास २०१७ सालको राजा महेन्द्रको ‘कालो पजनी’देखि अहिलेको गणतान्त्रिक व्यवस्थासम्म जारी नै छ।
https://www.kantipurdaily.com/opinion/2017/09/20/20170920072438.html?author=1