- वर्तमान विश्व व्यवस्थाले सिर्जना गरेको असमानतापूर्ण अर्थराजनीतिक सम्बन्धलाई परनिर्भरता सिद्धान्तको दृष्टिकोणबाट विश्लेषण गर्ने फ्रेन्च–इजिप्टियन दार्शनिक प्रोफेसर समिर अमिन
- प्रोफेसर अमिनले आफ्नो जीवनकालमा प्रस्तुत गर्नुभएका अधिकांश मान्यता तथा अर्थराजनीतिक विश्लेषण नेपालजस्तो विकासोन्मुख राष्ट्रका सवालमा सान्दर्भिक देखिन्छ
- विश्वव्यापीकरण, उदारीकरण र निजीकरण जस्ता अवधारणाहरू ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण एसियाजस्ता राष्ट्रहरूको सवालमा झुठको खेती भएकाले उनी यस्ता अवधारणाले केही शक्तिशाली राष्ट्रको सिन्डिकेटले सिर्जना गरेको ‘सोसल ट्रयाजेडी’ अर्थात सामाजिक दु:खान्त हो भन्ने तर्क गर्थे ।
- असीको दशकदेखि संरचनागत समायोजनको नाममा उदारवाद र बजारवादको मन्त्रलाई विकासोन्मुख राष्ट्रहरूले आँखा चिम्लिएर अँगालेको कारण स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक विषयवस्तु बजार नियन्त्रित बन्न गएको हो, उनको धारणा थियो ।
- संरचनागत समायोजन कार्यक्रम भनेको कङ्गोजस्तो गरिब देशले आफ्नो आवश्यकता अनुसार अमेरिकाजस्ता धनी राष्ट्रहरूको स्वार्थलाई समायोजन गर्ने हो भन्ने उनको बुझाइ थियो । उनको विचारमा आर्थिक विश्वव्यापीकरण र उदारीकरण जस्ता अवधारणा ‘नयाँ पुँजीको चरित्रलाई आत्मसात गर, नवउपनिवेशवादलाई स्वीकार, आफ्ना प्राथमिकता दबाएर राख’ भन्दै धनी राष्ट्रले गरिब राष्ट्रलाई लादेका मान्यतामात्र हुन् ।
- अमिनले व्याख्या गर्नुभएको ‘लुम्पेन विकास’ अर्थात टालटुले विकासको अवधारणा नेपाली सन्दर्भमा कम्युनिष्ट सरकारले देखाइरहेको टालटुले समृद्धिसँग पनि स्पष्टै मिलेको देखिन्छ । उनका अनुसार आम मानिसको जीवनस्तर रूपान्तरण गर्न गरिने बृहतर विकासको खाकाभन्दा पनि राजनीतिक स्वीकारोक्तिका लागि गरिबीको व्यवस्थापन गर्ने मोडलहरू लुम्पेन विकासका चरित्रभित्र पर्छ । विशाल जनअपेक्षा रोकथाम गर्दै जनमानसमा ‘केही त भइरहेको छ नि’ भन्ने भ्रम छर्नकै लागि टालटुले विकासका मोडलका हौवा बढी मात्रामा खडा गरिन्छ । जम्मा ३२ घरलाई लाभावान्वित हुने गोबर ग्यास प्रधानमन्त्री आफैं गएर उद्घाटन गरेका कार्यहरू उनले भनेजस्तै टालटुले विकासका राम्रा उदाहरण हुन् ।
- अमिनका अनुसार जनजीविकाका लागि ठूलो कार्य गरेजस्तो देखिने पपुलिष्ट कार्यक्रमले जनतालाई भुलभुलैयामा भुलाइरहन्छ । वर्ग रूपान्तरणको प्रश्न धमिलो बनाउँदै आधारभूत तहमा हस्तक्षेप हुनेगरी सरकारले नीति तथा योजना कार्यान्वयनमा जोड दिँदैन । उनका अनुसार जनअपेक्षाको प्रतिनिधित्व गर्ने प्रगतशील शक्तिले मात्र रूपान्तरणकारी विकासका योजनामा तदारुकता देखाउन सक्छन् । अमिन अमूर्त पुँजीको अघि घुँडा टेकेर प्रगतिशील पार्टीका नेताहरू अमूर्त पुँजी व्यवस्थापन गर्ने कारिन्दामा सीमित भएकाले पुँजीवादको सामना गर्नसक्ने सशक्त जनपक्षीय शक्तिको आवश्यकता अझै देखिन्छ भन्ने तर्क गर्थे । ‘प्रगतिशील’ र ‘क्रान्तिकारी’ पार्टीको नेतृत्व गरेर आएकाको ठेकेदार, नाफाखोर व्यापारी र कालो बजारीहरूसँग अभिन्न मित्रता हुने नेपालजस्तो देशमा अमूर्त पुँजी प्रवाहले जनसरोकारसँग जोडिएका राजनीतिक निर्णयलाई कतिसम्म प्रभाव पार्छ भन्ने यथार्थ मार्सी भोजनको ऐतिहासिकता र मेडिकल कलेजसम्बन्धी दृष्टान्तले नै छर्लंग पारिसकेका छन् ।
- केन्द्रले सिमान्तलाई मात्र होइन, सिमान्तले केन्द्रलाई पनि उत्तिकै प्रभाव पार्ने हुनाले सिमान्तकृत राष्ट्रहरूले आफ्नो चाहना मिल्नेहरूसँग गठबन्धन गरेर केन्द्रले लादेको राजनीतिक सामरिक र आर्थिक चुनौतीसँग लड्नुपर्ने अमिन बताउँथे ।
- वैकल्पिक आवाजको ऐक्यबद्धताका लागि वैकल्पिक विश्व प्लेटफर्म सिर्जना गर्दै प्रतिरोधको संस्कृति निर्माण गरेर पुँजीवादलाई धक्का दिनुपर्ने तर्क अमिनको थियो । यसका लागि उनले डिलिकिङ अर्थात विच्छेदीकरणको रणनीति प्रस्ताव गरेका थिए । यसले विकासोन्मुख राष्ट्रहरूको राजनीतिक तथा व्यापारिक सम्बन्धलाई आफ्नो प्राथमिकता अनुसार अघि सार्ने अवधारणालाई जोड दिन्छ । एकाधिकार पुँजीवादसँग प्रतिरोध गर्न ‘एन्टी क्यापिटालिष्टिक मेसिन’ सिर्जना गर्नुपर्छ भन्दै विश्व सामाजिक फोरमको समेत नेतृत्व गरेका थिए, प्रोफेस अमिनले । तेस्रो विश्वका सिमान्तकृत वर्गले पनि विश्व व्यापारीकरणको फाइदा लिनसक्ने बनाउन जनपक्षीय शक्तिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ भन्थे उनी ।
- आधुनिक औद्योगिक व्यवस्थालाई चुनौती दिनसक्ने आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै विश्व बजारका नियमलाई बेवास्ता गरेर आफ्नै प्राथमिकतालाई मध्यनजर गरिएको सार्वभौम कार्यक्रमको आवश्यकता देख्थे, उनी । यस्तो किसिमको वैकल्पिक औद्योगिक व्यवस्था कृषितन्त्रसँग निर्भर हुँदै बजारमुखीको स्वार्थका लागि अघि सारेको भन्दा फरक हुनुपर्छ भन्ने उनको मान्यता थियो ।