Sunday, November 4

अबको भविष्य आर्थिक परिवर्तनको - सिमाेन जाेन्साेन

  • आर्थिक बृद्धि अर्थात् उत्पादकत्वमा स्थायी वृद्घि, ‘कुल तत्व उत्पादकत्व’ अर्थात् पुँजी र श्रमिकलाई कसरी व्यवस्थित गर्ने भन्ने अर्थ दिन्छ । 
  • १८औँ शताब्दीको अन्त्यतिर सुरु भएको आधुनिक आर्थिक वृद्घिमा भौतिक पुँजी (भवन, मेसिन र पूर्वाधार)को निर्माण, शैक्षिक स्तरमा वृद्घि र यी सबैलाई एकसाथ ल्याउँदा उत्पादकत्व बढाउँछ भन्ने कुरा समावेश छ । 
  • सरकारी भूमिकामा बढी निर्भर भएर (सिंगापुरमा जस्तै) वा निजी क्षेत्रमा बढी निर्भर भएर (हङकङमा जस्तै) बृद्धि हासिल गर्न सकिन्छ ।
  • धनि राष्ट्र (पश्चिम युरोप, अमेरिका, क्यानाडा र अस्ट्रेलिया) स्थायी रूपमा अगाडि बढिरहेका छन् भने गरिब राष्ट्रले केही आर्थिक वृद्घि हासिल त गरेका छन् । तर, उनीहरू विकसित देशको उत्पादकत्व र आम्दानीको स्तरको छेउछाउ पनि पुग्न सकेका छैनन् ।
  • सस्तो वस्तुको निर्यात गरेर तीनको गुणस्तर सुधार गर्दै थप राम्रो वस्तु उत्पादन गर्ने विकास मोडल अपनाएका एसियाली राष्ट्रले विगत ५० वर्षमा सकारात्मक वृद्घि हासिल गर्दै विश्वलाई आश्चर्यमा पारेका छन् । सम्भवतः यो विकासपथ अपनाउने जापान पहिलो गैरयुरोपेली राष्ट्र हो भने कोरिया, सिंगापुर र हङकङलगायतका केही राष्ट्रले यसलाई पछ्याएका छन् ।
  • चीनको प्रदर्शन प्रभाव आकर्षक हुन सक्छ र यसले सत्तामा बसिरहेर पनि आर्थिक वृद्घिका लागि आवश्यक सुधार गर्न सकिन्छ भन्ने शिक्षा पनि दिन्छ । यो सुन्दा अपत्यारिलो लागे पनि कम्तीमा विश्वमा रहेको गरिबी निवारण गर्ने परिदृश्यका आधारमा सकारात्मक सन्देश हो ।
  • हाल रहेको बहुपक्षीय संस्था (अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठन आदि)को संरचना र व्यापक मापदण्ड सेट गर्ने र आमसहमति निर्माण गर्ने संस्थाको उपस्थितिमा विश्वव्यापी प्रणालीको प्रभाव सोचेभन्दा थोरै हुन सक्छ । नयाँ नियम र कानुन निर्माण गर्न कठिन छ ।
  • जबसम्म डलर विश्वको प्रमुख सञ्चित मुद्रा र लगानीको सुरक्षित छनोट बन्छ तबसम्म आर्थिक उत्पादनका आधारमा अमेरिका दोस्रो वा भनौँ तेस्रो स्थानमा आए पनि उसलाई खासै फरक पर्दैन । 
  • अमेरिकी समृद्धिको सम्भावना घट्नु उसकै राजनीतिक निर्णयहरूको परिणाम हो । अस्थिर वित्तीय घाटा, शंकास्पद व्यापार नीति, उच्च असमानता, कमजोर पूर्वाधार, महँगो स्वास्थ्य सेवा र कमजोर विद्यालय प्रशासन सबै आन्तरिक द्वन्द्वका परिणाम हुन् । 


प्रशासनको पुनर्जागरण -डा. टाेकराज पाण्डे


  • युरोपको सामाजिक जनजीवनमा चौधौँ र पन्ध्रौँ शताब्दीमा भएको परिवर्तनलाई पुनर्जागरण भनिन्छ । इटालीबाट सुरु भएको पुनर्जागरणले युरोपको साहित्य, सभ्यता, कला, राजनीति र प्रशासनमा आमूल परिवर्तन ल्यायो । इटालीबाट सुरु भएको पुनर्जागरणको फलस्वरूप युरोप सोच, खोज र प्राप्तिको उत्कर्षमा पुग्यो । युरोप सोच र खोजमा रहँदा हामी भोग र मोजमा थियौँ । त्यसैले अहिले युरोप विकास, सन्तुष्टि र सभ्यताको उत्कर्षमा छ । हामी विवाद, द्वन्द्व र असमझदारीमा रुमल्लिइरहेका छौँ ।
  • प्रशासनको परिवर्तनको अभावमा नाममा फेरबदल देखिए पनि नागरिक सेवा, विकास र परिवर्तनको आकांक्षा सम्बोधन हुन सकेन । 
प्रस्तुत आलेखमा प्रशासनको पुनर्जागरणको पक्षमा सुझाइएको छ ।
  • नीतिमा पुनर्जागरण : व्यवहार सञ्चालनको गाइडलाइन नीति हो । नीतिले नेतृत्वलाई दिशानिर्देश गर्छ । त्यसैले नीति व्यापक, परिवर्तनशील, समस्या सम्बोधन गर्ने र आवश्यकतालाई परिपूर्ति गर्ने खालको हुनुपर्छ । 
  • सार्वजनिक प्रशासन सञ्चालनका लागि ल्याइएका सुशासन, सूचनाको हक र निजामती सेवा ऐनजस्ता नीति सेवाग्राहीमैत्री भएनन् । निजामती सेवा ऐन त कर्मचारीको सेवा सर्तसम्बन्धी दस्ताबेज मात्र बन्यो । यसलाई यतिसम्म पंगु बनाइयो कि सेवा, सर्त र समूह व्यक्तिगत स्वार्थका लागि परिवर्तन गरिए । कार्यविधि सरल र सेवाग्राहीमैत्रीभन्दा कर्मचारीको स्वार्थमैत्री भए । सरोकारवाला सेवाग्राहीको सहभागिताविना बनाइएका त्यस्ता कार्यविधिले सेवाप्रवाहलाई सरल होइन, झन्झटिला बनाए ।
थितिमा पुनर्जागरण :

  • प्रशासन रीति, थिति, विधि र पद्धतिअनुसार चल्नुपर्छ । यसो भन्दैमा परम्परागत सोच, शैली र व्यवहारलाई बोकिराख्नुपर्दैन । प्रशासन थितिमुखी भयो, नतिजामुखी भएन । त्यसैले प्रशासनमा रोल मोडल संस्कारको विकास, सामाजिक अन्तर्घुलन र नागरिकको नजिकको सहयोगी स्वरूप देखिएन । यसका लागि व्यावहारिक रूपान्तरणसहितको पुनर्जागरण आजको आवश्यकता हो । 
  • परम्परागत फाइल प्रणाली, बहुतहगत टिप्पणी प्रथा, नवीनतालाई नकार्ने सोच र यथास्थितिमै रमाउने स्वभावले नयाँ थिति बस्न सकेन । यसको सुरुवात अरू कसैबाट हुने नभई यसभित्रैबाट आउनुपर्छ । सीमित राजनीतिज्ञबाहेक सबैको चिन्ता कर्मचारीतन्त्रले सिध्यायो, सुधारेन भन्ने नै छ ।
  • प्रशासनिक समायोजन र निजामती सेवाको पुनर्संरचना यसको गतिलो अवसर हो । यही वेलामा थिति बसाउन सकियो भने सधैँ गाली गर्नुको साटो यसको परखबाट फाइदा लिन सकिन्छ । देशको कायापलट हुन्छ, सधैँ राजनीति असफल हुने जोखिम अन्त्य हुन्छ । प्रशासन नागरिकको नजरमा सहयोगी ठहर्छ । सेवाग्राहीको विश्वास बढ्छ र व्यवहारमा नेपालको रूपान्तरण सम्भव हुन्छ ।

व्यक्तिमा पुनर्जागरण 

  • शासनको चलायमान संयन्त्र व्यक्ति हो । जीवन्त र सिर्जनशील अंग भएकाले जनशक्तिको प्रभावकारिताविना शासन, सरकार र प्रशासनमा परिवर्तन आउँदैन । न्यूनतम पारिश्रमिक, अवैज्ञानिक सरुवाबढुवा र ‘हाम्रो मान्छे, राम्रो मान्छे’ प्रवृत्तिले नेपालको प्रशासन आफैँमा समस्याको वाहक बनेको छ । यसका अलावा परम्परागत सोच र क्षमता भएका जनशक्ति नेपालको सार्वजनिक प्रशासनको आधारभूत समस्या हो । प्रशासन अधिकारको भोक बोकेर हिँडेको छ । 
  • सिर्जनशीलताको खडेरी छ । परिवर्तन चाहने, खोज्ने, अभ्यास गर्ने र वकालत गर्नेहरूलाई निसाना बनाइन्छ र रिसइबी साँधिन्छ । युवाको हस्तक्षेपकारी भूमिकाविना नेपालको सार्वजनिक प्रशासनमा रूपान्तरण मुस्किल छ । यद्यपि, सार्वजनिक प्रशासनमा बुढाहरूकै रजगज चलेकै छ । न सिकाइ छ न क्षमता छ, न अठोट छ न देशभक्ति छ । तैपनि बुढाहरूले प्रशासन ओगटेर बसेका छन् । 
  • पदीय विज्ञको बाहुल्य छ । नयाँबाट सिक्ने आँट छैन, कसरी हुन्छ परिवर्तन ? त्यसैले पनि अबको नेपालको सार्वजनिक प्रशासनलाई युवामुखी, नवीनतामुखी र सेवाग्राहीमैत्री बनाउन ५० कटेका बुढालाई सल्लाहकारको भूमिकामा सीमित गर्दै युवाको हस्तक्षेपकारी भूमिका बढाउनु आजको आवश्यकता हो । सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न सके साँच्चै नै नेपालको कर्मचारीतन्त्रमा सुधार ल्याउन सकिन्छ ।
व्यवहारमा पुनर्जागरण

  • नतिजाको बेवास्ता गर्दै प्रक्रियाको अवलम्बन भइरहेको नेपालको प्रशासनबाट परिवर्तन असम्भव छ । मसिना कुरामा अल्झिने र महत्वपूर्ण विषयवस्तुबाट पन्छिने चरित्रले परिवर्तन सम्भव छैन । परम्परा र पुरातन सोचलाई कायम गरेर सुधार हुँदैन । 
  • प्रशासनका पत्रव्यवहार, टिप्पणी र प्रस्तावमा पुरातन भाषा, शैली, सोच र व्यवहार फेरिएनन् । अबको पुस्ताले त्यसमा परिवर्तन दिनुपर्छ । टिप्पणी जति सक्यो लामो लेख्नुपर्छ । ता कि भोलि नियमनकारी निकायलाई झुक्याउन सकियोस् भन्ने सोचले लेखाइ मात्र होइन, सेवा प्रवाहसमेत कुरूप हुन्छ । सोचअनुसारको शैली, शैलीअनुसारको काम हुने भएकाले पद्धतिलाई नवीन बनाउनुपर्छ । अन्यथा, सरकारी निकायमा ‘बोली चुस्त, काम सुस्त र कागज दुरुस्त बनाउनुपर्छ’ भन्ने पुरातन सोचाइले नवीन गन्तव्य भेटिँदैन ।
अब कता ? 

  • ‘तैँ रानी मै रानी को भर्ला कुवाको पानी’ भनेर समस्याको निकास निस्किँदैन । यसका लागि प्रत्येकले जिम्मेवारी लिनैपर्छ । सुझाब दिन सिपालु, कार्यान्वयन गर्न अल्छी नेपालीको जन्मजात विशेषता बनेको छ । 
  • तल्लो तह इमानदार भइदिने, माथिल्लो तहले कुशल नेतृत्व लिने र मध्यम तहले राम्रो समन्वय गर्ने हो भने समस्या जरैदेखि उखेलिनेछ । एकपटकको सुधार सधैँका लागि हुनेछ ।

http://www.nayapatrikadaily.com/2018/11/04/111419/

लोकसेवामा कसरी लेख्ने ?

-प्रश्नपत्र पाएपछि प्रश्नले के खोजिरहेको छ भन्ने प्रस्ट हुने ।
-सबैभन्दा पहिला प्रश्नले खोजेको विषयवस्तुको परिचय दिने ।
-परिचयपछि मूलभूत विषयलाई बुँदागत रूपमा लेख्ने । १० नम्बरको प्रश्न हो भने १५ देखि २० वटासम्म मुख्य बुँदा लेख्नुपर्छ ।
-अन्तिममा सारांश लेख्ने । सारांश पढेपछि मात्र प्रश्नपत्र जाँच्नेले नम्बर दिने भएकाले सारांशमा गहन कुरा लेख्नुपर्छ ।
-जुन सारांशले कापी जाँच्ने व्यक्तिको मनोविज्ञानमा सकारात्मक असर परोस् ।