Wednesday, January 9

लोकसेवा आयोगलाई कमजोर बनाउने खेल-प्रा. कृष्ण पोखरेल

मुलुक संघीय शासनमा गएको र प्रदेशैपिच्छे प्रदेश लोकसेवा आयोगको व्यवस्था भएकाले यस ऐनलाई समयसापेक्ष परिमार्जन गर्नु त अपेक्षित नै हो । 
लोकसेवा आयोगका बहालवाला सदस्य अशोककुमार झाको चिन्तायुक्त टिप्पणी, जसमा भनिएको थियो– ‘यो विडम्बना नै हो कि संघीय गणतान्त्रिक परिवेशमा पनि लोकसेवा आयोग आफ्नो स्वायत्त संवैधानिक हैसियत जोगाउन संघर्षरत छ । यसलाई कार्यकारिणीको प्रभुत्वबाट उद्धार गर्न जे सक्नुहुन्छ, गर्नुहोस् ।’
मुलुकका अन्य अधिकांश सार्वजनिक संस्थाले आफ्नो गरिमा र साख गुमाएका वेला पनि जनताको विश्वास जित्न सफल इनेगिनेका सार्वजनिक संस्थामध्ये एक हो, लोकसेवा आयोग । 
आफ्नो वृत्तिको प्रारम्भ र अन्त्य नै लोकसेवा आयोगमा गर्ने आधा दर्जनभन्दा कम कर्मचारी हुन्छन् भने बाँकी सबै नेपाल सरकारबाट समय–समयमा सरुवा भई आउने–जाने निजामती कर्मचारी नै हुन् । 
यो अवस्थामा आयोगको गरिमा र साख बचाइराख्ने भनेकै  यसले  वर्षौं लगाएर बनाएका एवं विकसित गरेका ती पद्धति र प्रक्रिया हुन्, जसले यसको गोपनीयता, तटस्थता, कार्यकुशलता, निष्पक्षता र स्वच्छतालाई प्रत्याभूत गर्छन् । होइन भने भागबन्डामा नियुक्त हुने त्यस्तै पदाधिकारी अन्य कतिपय संवैधानिक निकायमा चाहिंँ विवादित हुन्छन् भने यहाँचाहिँ किन मर्यादित हुन्छन् र अन्यत्र दागी वा गन्हाएका मानिने तिनै निजामती कर्मचारी पनि लोकसेवा आयोगमा आउनासाथ कसरी अचानक दूधले नुहाएजस्ता हुन्छन् ? प्रश्न उठ्छ, यससँग त्यस्तो कुन जादुको छडी छ र यो चमत्कार सम्भव हुन्छ ? वस्तुतः यसले समयको अन्तरालमा विकसित गरेका ती पद्धति र प्रक्रियामै त्यो बल निहित छ, जसको अक्षरशः पालनले यसको विश्वसनीयता कायम छ ।
पुरानो ऐनमा आयोगमा कार्यरत कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिनुपर्ने व्यवस्था थियो । तर, प्रस्तावित ऐनको मस्यौदामा यो प्रावधान हटाइएको छ । अहिले प्रचलनमा रहेको यो प्रावधानको सम्बन्ध आयोगको कार्यकुशलता र स्वायत्ततासँग जोडिएको छ । आयोगमा बसेर काम सिकेको कर्मचारी आयोगको कार्यकुशलताको मेरुदण्ड हुन्छ । आयोगको कुनै संवेदनशील काम गरिरहेको त्यस्तो कर्मचारी हठात् सरुवा हुनु भनेको भइरहेको काममा बाधा पुग्नु र उसको कार्यतालिका बिग्रनु हो । आयोगको संज्ञानबेगर कुनै कर्मचारीको सरुवा हुनु भनेको आयोगको स्वायत्ततामा आँच पु-याउनु हो । फेरि त्यस्ता कर्मचारीको अनुभव र संस्थागत स्मृति नयाँ आउने कर्मचारीमा हस्तान्तरण गर्ने अवस्थाबाट समेत आयोग वञ्चित हुन्छ । 
अहिले प्रचलनमा रहेको पुरानो ऐनको दफा ८ मा स्वीकृति लिनु नपर्ने प्रावधानअन्तर्गत नेपाल सरकारले आयोगका लागि बजेटमा छुट्याएका विविध शीर्षकअन्तर्गतको रकम खर्च गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछैन र आयोगले त्यस्तो रकम प्रचलित कानुनबमोजिम खर्च गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । यस्तो विशेष व्यवस्था राख्नुको सम्बन्ध आयोगको कामको गोपनीयतासँग जोडिएको छ ।
वस्तुतः यस शीर्षकअन्तर्गतको रकम आयोगले दक्ष विज्ञलाई प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका जाँच्ने र सीप परीक्षणको काम लगाएबापत खर्च गर्छ । फेरि यसो गर्दा कामको शीघ्रताका लागि आयोगले समय–समयमा निर्णय गरेर पारिश्रमिक र सुविधा निर्धारण गर्न पाउने व्यवस्था राखिएको हुन्छ । कुन काम कुन विज्ञलाई  लगाइयो, त्यो नितान्त गोप्य राख्नुपर्ने विषय हो । यदि यो विषय सार्वजनिक भयो भने काम गर्नेलाई त दबाब पर्छ नै, स्वयं आयोगको गोपनीयता र विश्वसनीयतामा समेत गम्भीर असर पर्छ । परिणामस्वरूप यो खर्चका लागि अब आयोगले पटक–पटक अर्थ मन्त्रालयको स्वीकृतिको निगाहमा बस्नुपर्ने हुन्छ र कुन दक्ष विज्ञलाई के काम लगाइयो, त्यो पनि असमयमै सार्वजनिक हुने खतरा हुन्छ । 
पुरानो ऐनको दफा २१ मा थप सुविधा दिन सक्ने व्यवस्था रहेको छ । यो प्रावधानको प्रयोजन कार्यालय समयबाहेक आयोगका सदस्य, कर्मचारी वा अन्य व्यक्तिलाई काममा लगाउनुपर्दा आयोगले निर्णय गरेर थप सुविधामार्फत आयोगको कामलाई तीव्रता दिने कुरासँग जोडिएको छ ।  आयोगको काम छिटो छरितो गर्न साँझ–बिहान वा सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई काम लगाउने र आफूले निर्धारित गरेबमोजिमको कार्यतालिकाअनुसार समयमै काम  फत्ते गर्न यो प्रावधान राखिएको हो । 
कर्मचारीतन्त्रभित्र निजामती सेवामा कार्यरत वा सिफारिस भएका नयाँ कर्मचारी आयोगमा सरुवा वा पोष्टिङ भयो भने तिम्रो कुनै सोर्स थिएन र आयोगमा फ्याँकियौ भनेर टिप्पणी हुने गर्छ । यस्तो हतोत्साही हुनुपर्ने परिवेशमा  पुरस्कारको व्यवस्थाले पनि ठूलो प्रोत्साहन र उत्प्रेरक भूमिका खेल्छ । यसबाट आयोगका कर्मचारीमा ठूलो नकारात्मक प्रभाव पर्ने र तिनको कार्यकुशलतामा समेत असर पर्ने निश्चितै छ ।
हेर्दा सानातिनाजस्ता लाग्ने पुरानो ऐनमा भएका यी प्रावधानमाथिको यस्ता छेडछाड, लापरबाही वा चुकको सोझो सम्बन्ध आयोगको संवैधानिक स्वायत्ततासँग जोडिएको छ । वस्तुतः यसबाट आयोग कार्यकारिणीको प्रभुत्व वा निगाहमा रहनुपर्ने अवस्था आउँछ, जुन समय क्रममा साह्रै प्रत्युत्पादक हुने निश्चित छ । 

सरकारी सिफारिसको भारी-विशाल भारद्वाज

  • सिफारिसको सेवा लिँदा लाग्ने केही सय रुपैयाँसँगै त्यसका लागि सेवाग्राहीले लगाउनुपर्ने समयलगायत समग्र लागतमा ध्यान जानुपर्छ ।
  • स्थानीय निकायमा हटाउन मिल्ने सेवा धेरै हुन सक्छन् । तिनलाई खोजी–खोजी हटाएर सेवाग्राहीलाई राहत दिनुपर्छ । यसले सम्बन्धित निकायको सञ्चालन खर्चको बोझसमेत घटाउँछ ।
  • नेपालमा सिफारिसको प्रचलन व्यवस्थित तथा एकीकृत लगत व्यवस्थापनको अभावलाई पूरा गर्न आएको हो । सूचना प्रविधि अभावमा व्यक्तिगत र अन्य विवरणमा स्थानीय स्तरबाट जानकारी लिँदा उपयुक्त हुने सोचसँंगै विभिन्न सिफारिस लिने व्यवस्था बनाइयो, जुन हालसम्म छ । यस्ता कागजी प्रक्रिया शुल्क लिई सञ्चालन गर्नेगरी स्थानीय स्वशासन सम्बन्धी कानुनमै व्यवस्था गरियो । तर त्यसलाई परिमार्जन र नयाँ प्रणालीले प्रतिस्थापन गर्ने विषय छायामा परेको छ ।
  • स्थानीय स्तरमा उपलब्ध हुने विवरणलाई सूचना प्रविधिको प्रयोगले प्रणालीमा राख्न र सबैले चाहेको बेला हेर्ने व्यवस्था गर्न सकिन्छ । जस्तो– व्यक्तिगत घटना दर्ता भएको व्यक्तिको विवरण अन्य निकायले हेर्ने व्यवस्था गर्न सकिन्छ । यसबाट विभिन्न सेवाका लागि चाहिने सिफारिस र प्रमाणपत्र जुटाउन व्यक्तिलाई स्थानीय तह धाउने तथा शुल्क तिर्ने अवस्थाबाट छुटकारा दिन सकिन्छ । विद्युतीय रूपमा उपलब्ध निर्वाचन परिचयपत्र, नागरिकता, जग्गाधनीको लगतजस्ता विवरण प्रयोगले सेवा प्रवाह छिटी–छरितो र सहज बन्न सक्छ ।
  • सूचना प्रणाली स्थापना गर्ने तर अरू सरकारी निकायलाई प्रयोग गर्न नदिनु भनेको जनताको सेवा र सार्वजनिक खर्चप्रति संवेदनशील नहुनु हो । शुल्क लियो भन्नुभन्दा सम्बन्धित सरकारी निकायले यसलाई कार्यान्वयन गर्न दबाब दिनु आम जनताको वास्तविक समस्यातर्फको सम्बोधन हुनसक्छ । यस्तो एकीकृत र पारस्परिक संयन्त्रको व्यवस्था जग्गा व्यवस्थापन, पारिवारिक तथा ठेगानाको लगत व्यवस्थापनमा लागू गर्ने हो भने करिब आधा सिफारिस चाहिँदैन ।
  • स्थानीय तहको खर्च, जनताको हैरानी तथा सेवाको लागतसमेत घट्छ । तर यसका लागि नागरिकले व्यक्तिगत घटना लगायत केही विषय घटेको निश्चित समय अवधिमा अनिवार्य जानकारी गराउने र त्यसलाई स्थानीय तहले एकीकृत प्रणाली प्रविष्ठ गरी निस्सा दिने व्यवस्था लागू गर्नुपर्छ ।
  • सेवा दिने नागरिक एउटै भएकाले सबै तहका लागि व्यक्तिसँंग सम्बन्धित आधारभूत विवरण एकीकृत गर्ने प्रणाली निर्माण व्यवस्थापन संघले र त्यसको उपयोग सबै तह र निकायले गर्नेगरी व्यवस्थित गर्न सक्नुपर्छ । यसरी संयन्त्र निर्माण गर्न केही लगानी गर्नुपर्ने भए पनि नागरिकले तिर्ने सेवा शुल्क र व्यहोर्ने झन्झटको तुलनामा धेरै कम हुन्छ । यो शान्ति सुरक्षा र तथ्याङ्क प्राप्तिको हिसाबले अधिक लाभप्रद हुन्छ ।
  • कहीं कतै उल्लेख नभएको सिफारिस मागेर जनतालाई झन्झट र लागत दिने अवस्था अन्त्य गर्नुपर्छ । अनावश्यक रूपमा मागिएको कागज बनाइदिएर स्थानीय तह र तिनका वडा कार्यालयहरूले गलत प्रवृत्तिलाई प्रोत्साहन गरिरहेका पनि हुन सक्छन् । कसैले माग्यो भनेकै भरमा सिफारिस बनाइदिने प्रचलनले अनावश्यक कागजको चाप बढ्ने मात्र होइन, जनता र स्थानीय तहलाई भारसमेत बढ्छ ।
  • अर्कोतर्फ कुनै निकायलाई चाहिने विवरण त्यही निकायले सम्बन्धित वडा वा स्थानीय तहमा सूचना प्रविधि प्रयोग गरी आफै लिने व्यवस्था आवश्यक भएको छ । यसले सेवाग्राहीलाई राहत मिल्छ । अर्कोतर्फ कागज मिलाइदिन आउने दबाब र त्यस्तो कागजबाट हुने किर्ते कारोबारसमेत दुरुत्साहित हुन्छ ।
https://www.kantipurdaily.com/opinion/2018/09/11/153663267089352464.html?author=1

समायोजनको सकस - विशाल भारद्वाज

निजामती सेवामा करीब एक दशकको अनुभवले भन्छ, हाम्रो सार्वजनिक प्रशासनको खस्कँदो गुणस्तर र जनतामा उर्लंदो आकांक्षाबीच कत्ति पनि तालमेल छैन । धेरै खालका कमजोरी व्याप्त निजामती सेवाले राजनीतिक आश्वासनको प्रभावकारी कार्यान्वयन गर्न सकिरहेको छैन । कर्मचारीतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राजनीतिज्ञहरूकै हो । तर, जो प्रभावित हुने हो उसलाई थाहै नदिई कर्मचारी समायोजन सम्बन्धी कानून ल्याइनुले कर्मचारीतन्त्रप्रति राजनीतिक नेतृत्वको दृष्टिकोण स्पष्ट पारेको छ ।
कर्मचारीतन्त्र स्थायी सरकार पनि हो । यसमा आउने विचलनले राज्य संयन्त्रमा दीर्घकालीन प्रभाव पर्छ ।
मुलुकको भविष्य निर्माणका लागि जिम्मेवार संयन्त्रलाई सुदृढ नबनाउने हो भने नेतृत्वले दिने गरेको परिवर्तनको आश्वासन सधैं उधारो नै रहनेछ । 
आधारभूत चरित्र
तीव्र राजनीतिक परिवर्तनका बावजूद जनताले सुधारको अनुभूति गर्न नपाएको यथार्थ हो । राजनीतिक तहबाट कर्मचारीले सहयोग नगरेको, परिवर्तन र जनआकांक्षालाई आत्मसात् गर्न नसकेको जस्ता कारणले मुलुकको रूपान्तरण हुन नसकेको आरोप लाग्ने गरेको छ, जुन आंशिक सत्य हो । सँगै यो पनि सत्य हो कि, राजनीतिक तहबाट असीमित आश्वासन, कर्मचारीतन्त्रको अति राजनीतीकरण, अस्तव्यस्त स्रोत परिचालन र दण्डहीनताका माझ् संसारको कुनै कर्मचारीतन्त्रले जनअपेक्षा पूर्ति गर्न सक्दैन ।
लामो समयको संक्रमणकाल र तीव्र राजनीतिक परिवर्तनमाझ् कर्मचारीहरूले निर्वाह गरेको भूमिकाका कारण नेपालको निजामती सेवालाई संक्रमण व्यवस्थापनमा अब्बल नै मान्नुपर्छ । तर, अझै पनि संक्रमणकालीन चरित्रको वर्चस्व रहिरहनु भने उचित होइन । कानून भन्दा संक्रमणकालीन व्यवस्थाहरूको प्रयोग धेरै गर्नुपर्ने, निश्चित शासकीय पद्धति र प्रणालीभन्दा राजनीतिक निर्णयको आधारमा चल्नुपर्ने, कानूनलाई महत्व नदिने जस्ता संक्रमणकालीन अभ्यास अद्यापि कायमै छ । राजनीतीकरण झङ्गिएकै छ, दण्डहीनता घटेको छैन । यसमाथि अस्वाभाविक र मनगढन्ते राजनीतिक आश्वासनको चाङमा निजामती सेवा थिचिएको छ । प्रणालीमाथि व्यक्ति हावी हुने संस्कृतिले नेपालको निजामती सेवा कसरी व्यावसायिक हुनसकोस् ! कैयौं पटक राजनीतिक नेता/कार्यकर्ताबाट कर्मचारी कुटिंदा कानूनी प्रक्रियामा नगई मिलाउनतर्फ लाग्ने प्रवृत्तिले कर्मचारीमा उत्पन्न असुरक्षा अनुभूतिका कारण जिम्मेवारीबाट तर्कने स्वभाव विकास भएको देखिन्छ । यसबाट राजनीतिक ‘दादागिरी’ लाई प्रोत्साहन पुगेको छ ।
राजनीतीकरण मात्र समस्याको कारण चाहिं होइन, राजनीतिक हस्तक्षेप नहुने क्षेत्रको कार्यसम्पादन हेर्दा पनि निजामती सेवाको कार्यक्षमताको स्तर प्रष्ट हुन्छ । राजनीति संरक्षित निजामती कर्मचारी तथा दलालबीचको अदृश्य सम्बन्धले प्रशासन सुधारको प्रयास निष्प्रभावी देखिन्छ ।
यद्यपि नेपालको निजामती सेवाप्रति आकर्षण भने कायम नै छ । यसको मुख्य आकर्षण वृत्ति–विकास, पेन्सन र सेवा–सुरक्षा नै हो । त्यही सुरक्षा अर्थात् जागिर हत्तपत्त जाँदैन भन्ने भावनाले दण्डहीनता बढाएको मान्ने पनि कम छैनन् । 
अस्पष्ट अध्यादेश
प्रदेश र स्थानीय तहमा जिम्मेवारी र स्रोत पुगे पनि आवश्यक कर्मचारी नहुँदा सीमित कर्मचारीबाट अपेक्षित रूपमा सेवा प्रवाह हुनसकेको छैन । त्यसमाथि दुर्गम र विशेष गरी प्रदेश–२ का भारतसँग सीमा नाका जोडिएका स्थानीय तहमा कर्मचारी निकै कम छन् ।
अनुकूल कार्य वातावरण नभएको क्षेत्रमा कर्मचारी जान नमान्नु स्वाभाविक हो । तर, आवश्यक भएको जुनसुकै ठाउँमा पनि राष्ट्रसेवक कर्मचारी पुग्नै पर्छ  ।
अर्कोतिर कोही कर्मचारी सधैं असहज लागेका ठाउँमा खटिनुपर्ने कोहीले भने रोजेको र सुविधाजनक ठाउँ पाइरहने अवस्थाले राजनीतिज्ञ वा उच्च प्रशासकलाई रिझएर जागिर खानुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ आएको छ । यो अध्यादेशको स्वीकार्यता न्यून देखिएको छ । कर्मचारीहरू आन्दोलित भएका छन् र, आधिकारिक ट्रेड यूनियन समेतले अध्यादेशमा तत्काल सुधारको माग राखेको छ । अध्यादेशका प्रावधानहरूले उच्च प्रशासकको आम कर्मचारीप्रति संवेदनहीन मनोवृत्ति र कर्मचारीलाई जे गरे पनि हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच छर्लङ्ग पारेको छ । कर्मचारी समायोजनको आवश्यकतामा दुईमत नहोला तर; मूल विषय सुधार, सुशासन र समृद्धि हो जसबाट समायोजन अध्यादेश विचलित हुनुहुँदैन ।
‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ निजामती सेवा ऐनमा भएका वृत्ति–विकासका अवसरलाई संकुचित पार्ने गरी आएको छ । स्थानीय वा प्रदेशमा समायोजन भएका कर्मचारीलाई भोलिका दिनमा संघीय वा अन्य तहका सेवाका पदहरूमा आउने बाटो रहन्छ भनिए पनि अहिलेसम्म कुनै पनि सेवा गठनको कानून नबनेकोले पत्याउन सहज छैन । प्रदेशको माथिल्लो पद र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघबाट तोकिने व्यवस्था भएबाट प्रदेश तथा स्थानीय तहले आफ्नो प्रशासनयन्त्र निर्माणको व्यवस्था कसरी कार्यान्वयन गर्ने भन्ने अन्योल छ ।
अहिलेसम्म न त प्रदेश सेवा गठन भएको छ न स्थानीय नै । समायोजन गरेर पठाउने भनिएको सेवा र त्यसको शर्त तय नहुँदै कर्मचारी समायोजन गर्दा उनीहरूको सेवासुरक्षा, नियन्त्रण, अनुशासन र परिचालन कसरी हुने स्पष्टता छैन । अर्कोतर्फ हिजो कतिपय स्थानीय तहमा खटाइएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाएका उदाहरण छन्, जुन दोहोरिने सम्भावना छ । समायोजन भइहाले पनि दुर्गमका स्थानीय तह कसैले पनि नरोज्ने सम्भावना रहन्छ । यस्तो अवस्था आएमा ती स्थानीय तहहरूमा सेवा प्रवाह कसरी सुनिश्चित होला भन्ने अन्योल कायमै छ । संघले तयार गरेको संगठन र पद वर्गीकरणमा प्रदेशको चित्त नबुझेमा के हुने स्पष्ट छैन ।
निजामती सेवामा प्रवेश गर्दा कुनै पनि कर्मचारीले व्यावसायिक सेवा र सुरक्षाको सुनिश्चिततासँगै उपल्लो पदमा पुगेर अवकाश हुने सपना देखेको हुन्छ । विगतको कानूनी प्रावधान र अभ्यासलाई हेर्दा विशेष कारण बाहेक कुनै पनि कर्मचारीले त्यो अवसर प्राप्त गरेकै छ । तर अहिले जारी भएको समायोजन अध्यादेशले माथिल्लो पदका कर्मचारी समायोजन भएर जानु नपर्ने, संघमा समायोजन हुने कर्मचारीहरूले मात्र बढुवाको लागि अवसर प्राप्त गर्ने अवस्था देखिएको छ । प्रदेश तथा स्थानीय तहमा काम गर्ने कर्मचारीले हाल जुन पदमा समायोजन भएको हो सेवा अवधिभर त्यही पदमा रही अवकाश पाउने अवस्था छ । वृत्ति–विकासको अवसर प्राप्त भए पनि दरबन्दी र कार्यक्षेत्रको सीमितताको कारणले गर्दा त्यो अवसर पाउनु भन्दा अघि नै निवृत्त हुने सम्भावना छ ।
सम्भावित प्रभाव
समायोजन अध्यादेशले राजनीतिक नेतृत्वमा र प्रशासनिक नेतृत्वको आम कर्मचारीप्रति गहिरो अविश्वास र ईख समेत पैदा भएको देखाएको छ । अध्यादेश ल्याउँदा कर्मचारीसँग छलफल नगरेर कानून तर्जुमाको सामान्य सिद्धान्त पालना नगर्नु त्यसकै उदाहरण हो । यो अध्यादेश अनुसार पेलेरै कर्मचारी समायोजन गरिए समग्र प्रणालीगत उत्पादनमा ह्रास हुनेछ भने समायोजन विफल भए दण्डहीनता बढ्ने निश्चित छ । जसरी पनि घाटा लाग्ने गरी अध्यादेश आउनु दुःखद हो । 
अध्यादेश कार्यान्वयन गरिंदा पर्ने प्रभाव
  • ‘समृद्ध नेपाल सुखी नेपाली’ को सोच सफल पार्न खटिनुपर्ने कर्मचारी आन्दोलनमा उत्रनु पक्कै राम्रो होइन । ५८ वर्षसम्मको योजना बनाएर आएको व्यक्तिलाई भविष्यको चिन्ताले सताउनु समग्र सेवा उपभोगकर्ता र राजनीतिज्ञका लागि समेत सुखद होइन । समायोजन अध्यादेश र यसका अस्पष्ट व्यवस्था अन्योलको मुख्य स्रोत भएको छ । अन्योलले लागत बढाउँछ । केही समयदेखि स्थानीय तहमा सेवा प्रवाह हुनसकेको छैन भने सिंहदरबारमा पनि कर्मचारीहरू काममा लाग्न सकिरहेका छैनन् ।
  • अहिले कर्मचारीको संख्या अपर्याप्त छ । समायोजनमा छनोटको अवसर दिंदा स्वाभाविक रूपमा सुगम र सुविधा भएको स्थानीय तह वा प्रदेशमा चाप पर्नेछ । अहिले दुर्गममा खटिएका कर्मचारी सुगमतर्फ आउने छन् । सेवासम्बन्धी ऐन आइनसकेको र प्रदेश लोकसेवा गठन भइनसकेको हुँदा दुर्गममा रिक्त दरबन्दीहरू तत्काल पूरा हुने देखिन्न जसले लामो समयसम्म सेवा अवरोध हुने देखिन्छ ।
  • एकै दिन सेवा प्रवेश गरेका कर्मचारीहरूबीचमा संघ, प्रदेश वा स्थानीयको नाममा विभेद सृजना हुनेछ । बढुवा भएर माथिल्लो पदमा पुग्ने क्षमता भएको कर्मचारी त्यही पदमा खुम्चनुपर्नेछ भने बढुवा हुन नसक्ने सँगैको साथी संघको सचिव हुने अवस्था आउनेछ ।
  • कर्मचारीतन्त्रमा जोखिम लिन नचाहने प्रवृत्ति प्रमुख चुनौतीका रूपमा देखिएको छ । हिजो राजनीतिज्ञहरूबाट कुटाई खाँदा कानूनी उपचारमा नगई मेलमिलापको नाममा कर्मचारीको मनोबल घटाउने काम भएकै हो । अहिले पूँजीगत खर्च कम हुनुको एउटा मुख्य कारण ‘परेको वेला कसैले हेर्दैन किन जोखिम लिने’ भन्ने कर्मचारीको प्रवृत्ति भएको उदाहरण हाम्रासामु छ ।
  • समायोजन अध्यादेश जसरी ल्याइयो त्यो अवस्थाले आम कर्मचारीमाझ् भोलि ‘पेन्सन पाइँदैन’ भन्ने कानून पनि आउने हो कि भन्ने जस्तो आशंका जन्माएको छ । यस्तो प्रवृत्तिले कर्मचारीलाई संरक्षणमुखी बनाउँछ र परिणामस्वरुप प्रशासन सुधारका नीतिलाई नकार्ने र परिवर्तनमा अवरोध गर्ने प्रवृत्ति विकास हुन्छ ।
  • समायोजन भई नै हाले पनि यसले नतिजा राम्रो ल्याउने देखिंदैन । संघले मलाई पेलेर अन्यत्र पठायो भन्ने भावना विकास भयो भने संघ र अन्य दुई तहबीचको सहकार्यात्मक सम्बन्धमा निश्चित रूपले प्रभाव पर्नेछ, चाहे हीनताबोधले होस् वा ईखले । २५–३० वर्ष उमेरका अधिकृत र ३०–३५ वर्षका उपसचिव धेरै छन् जो आफ्नो जीवन यसै सेवामा समर्पण गर्न आएका हुन् । उनीहरूको वृत्ति–विकासमा अवरोध पुग्दा ३० वर्षे सेवा अवधिभर उनीहरूले उत्साहप्रद व्यवहार देखाउलान् ?
  • अध्यादेशको प्रावधानले संघको कर्मचारी जहाँ गए पनि प्रशासनिक नेतृत्वकर्ता हुने अवस्थाले यो प्रणालीले भोलिको दिनमा जटिलता ल्याउनेछ । स्थानीय तह गठनदेखि नै प्रमुख प्रशासकीय अधिकृतको विषय जटिल रहेको छ, जुन हालको समायोजन अध्यादेशले समाधान गर्न सकेको देखिंदैन । जान्ने र अनुभवी जति संघमा र भर्खरका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुनुपर्ने अवस्थाले क्षमता र अनुभवको वितरण राम्रो हुने देखिंदैन । पछि गएर संघका कर्मचारीहरू स्थानीय सवालसँग जानकार हुनै छाड्ने अवस्था आई संवेदनहीन हुन सक्छन् ।
  • नेपालमा ‍औपचारिक समन्वय प्रणाली अत्यन्त कमजोर छ । हिजो शाखा कार्यालय हुँदा त काम गराउन सहज थिएन भने अब संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच समन्वय झन् जटिल हुनेछ । संघीय जिम्मेवारीमा पर्ने तर स्थानीय तहबाट सेवा प्रवाह गरिदिनुपर्ने वा एकीकृत प्रतिवेदन प्रणालीबाट समग्र देशको प्रगतिको विश्लेषण गर्नुपर्ने जस्ता विषयमा काम गर्न सहज हुने छैन । नेपालमा संघ, प्रदेश र स्थानीय तहलाई ज्ञान, सीप, क्षमता, भावना र विकास संस्कारले जोड्ने भनेको अब कर्मचारीतन्त्रले नै हो । संघ बुझेको कर्मचारी प्रदेशमा, प्रदेश बुझेको कर्मचारी संघमा चाहिन्छ । तर प्रत्येक तहको एकाङ्गी कर्मचारीतन्त्रले पृथकीकृत हुने, समन्वयमा कमी आउने देखिन्छ ।
  • स्थानीयस्तरमा काम गरेको तथा प्रदेशको व्यवस्थापनमा सहभागी कर्मचारीले नै हो संघको कार्यजिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने । विगतमा जस्तै स्थानीयस्तरमा काम नगरेका सचिवहरूको कार्यसम्पादन राम्रो भएन भन्ने गुनासोलाई ध्यान दिने हो भने त विविध भूगोल र परिवेश बुझेको कर्मचारी नै राम्रो हुनुपर्ने हो तर, हालको अध्यादेशले एउटा तहमा काम गरेको व्यक्तिलाई अर्कोमा प्रवेश निषेध गर्ने देखिन्छ ।
अबको बाटो
संघीयताको कार्यान्वयनको बेलामा कर्मचारी समायोजन नै सकसको विषय बन्नु किमार्थ उचित होइन । समायोजन भनेको कर्मचारीको शारीरिक उपस्थिति मात्र नभएर उसको मनोबल, क्रियाशीलता र सृजनशीलताको उपस्थिति पनि हो । कार्यान्वयनलाई सही दिशातिर लैजाने हो भने योग्यता, क्षमता र अनुभवको न्यायोचित वितरण हुने गरी प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गर्नुपर्छ ।
तसर्थ संघ, प्रदेश र स्थानीय तह गठन भएको अवस्थामा नयाँ कानून बनाई कानूनबमोजिम पदपूर्ति भएका कर्मचारीहरूलाई तत्तत् निकायमा मात्र सरुवा, बढुवा साथै अवसरको ढोका खुला गरिदिने तर, विद्यमान कर्मचारीहरूको लागि नयाँ भर्ना बन्द गरी समायोजन गर्दै जाने र निश्चित अवधि सेवा गरेपछि जहाँ पनि सरुवा हुने, वृत्ति–विकासका लागि सबैलाई समान अवसर दिने कानून बनाई समायोजन शुरू गर्नु उचित हुन्छ ।
समायोजन निजामती सेवाबाट कुन सेवामा हुने भन्ने स्पष्ट हुनुपर्छ । तीन वटै तहका सेवाको गठन भएपछि मात्र समायोजनको समय आउँछ । तत्कालका लागि संघीय मन्त्रालय र कार्यालयको आकार व्यापक कटौती गरी कर्मचारीलाई निश्चित अवधिका लागि साविककै सेवासुविधा र वृत्ति–विकासका अवसर कायम राख्दै प्रदेशमा पठाउने गरी समायोजन गराउँदा प्रदेश र स्थानीय तहमा जान धेरैले इच्छा देखाउने छन् ।
हाल भएका कर्मचारीले आंशिक आवश्यकता मात्र पूर्ति गर्ने हुँदा प्रदेश लोकसेवा गठनतर्फ पहल गर्नु आवश्यक देखिन्छ । सरुवा र बढुवा समायोजनको विषयभन्दा सेवा सञ्चालन गर्ने ऐनबाट सम्बोधन गरिनुपर्दछ ।
जसरी कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न पाउँदैन सरकारले पनि गुपचुप कानून बनाउन र कर्मचारीको आत्मसम्मानमा आँच आउने काम गर्नुहुँदैन । तर, ‘कर्मचारी विवेकशून्य हुन्छन्’ भन्ने मान्यता राखेर ल्याइने विभेदयुक्त कानून कार्यान्वयनबाट आखिरमा दुःख जनताले नै पाउने छन् । तसर्थ अबको बाटो भनेको निश्चितता, जिम्मेवार र उच्च उत्पादकत्व भएको कर्मचारीतन्त्र निर्माणको हुनुपर्छ ।