Friday, December 18

ठेकेदार मात्र दोषी हुन् त ?-रामराज शर्मा

  • घुस काण्ड हुन कम्तीमा दुई पक्ष हुन जरुरी छ र प्रायः ससाना घुस काण्डमा निर्माण व्यवसायी र इन्जिनियरबीचमै यस्तो कार्य हुने देखिएको छ भने ठूला आयोजनाहरूको ठेक्का प्रक्रियामा सरकारमा रहेका मन्त्रीलगायत ठूला सरकारी कर्मचारी संलग्न रहेको देखिन्छ। त्यसो भए के सबै अनियमितता, कमसल निर्माण र ढिलासुस्तीमा निर्माण व्यवसायी वा ठेकेदारको मात्र दोष होला त ? ठेक्का हत्याउन ठेकेदारहरू मात्र जिम्मेवार हुन् त ?
  • काम कमसल हुनुमा, ढिलाइ हुनुमा वा गोलमाल हुनुमा कुन पक्षको कमजोरी हो भन्ने बुझ्न आवश्यक छ। संरचना निर्माणमा खासगरी तीन पक्ष संलग्न हुन्छन्। लगानीकर्ता, परामर्शदाता वा इन्जिनियर र निर्माणकर्ता वा ठेकेदार। यीमध्ये कुनै एक पक्षले प्रभावकारी रूपमा काम नगरिदिँदा निर्माणमा ढिलाइ हुन्छ भने परामर्शदाता वा निर्माण कम्पनीको बेइमानीका कारण गुणस्तर खस्किन पुग्छ। 
  • कतिपय ससाना निर्माण कार्य उपभोक्ता समितिमार्फत गर्ने चलन पनि छ। उपभोक्ता समितिका पदाधिकारी बेइमान भइदिँदा काममा ढिलाइ र कमसल निर्माण हुने पनि गरेको छ।
  • मेलम्ची २८ वर्षदेखि निर्माणाधीन छ। उपल्लो तामाकोशी २०७२ मै सकिनुपर्ने अझै सम्पन्न भएको छैन। चमेलिया जलविद्युत् आयोजना, कुलेखानी तेस्रो, सान्जेनका जलविद्युत् आयोजना, निकै अघि सम्पन्न हुनुपर्ने। भैरहवाको विमानस्थल, द्रूतमार्ग, निर्माण भइरहेको रेलमार्गलगायत धेरै आयोजनाले ढिलाइमा कीर्तिमान नै राखेका छन्। 
  • भद्रगोल निर्माणमा ठेकेदारभन्दा पनि सरकारी व्यवस्थापनको कमजोरी हो।

किन हुन्छ ढिलाइ ?

  • आयोजना निर्माण व्यवस्थापन राम्रोसँग गर्न नसक्दा वा खल्बलिन पुग्दा काममा ढिलाइ हुने गर्छ। यस्ता कमजोरी प्राविधिक, आर्थिक, सामाजिक कारण  वा नियतवश हुने गरेको देखिन्छ। 
  • ठूला आयोजनाहरू निश्चित वर्क सेड्युअल बनाएर सोहीअनुरूप निर्माण हुने गर्छन्। सेड्युल गरेको कुनै काममा वाधा पुग्दा सम्पूर्ण आयोजना नै ढिलाइ हुन पुग्छ। इन्जिनियरले डिजाइनमा राखेका प्यारामिटरहरू सधैं मिल्छन् भन्ने छैन। जस्तै– जमिनमुनिको भूगोल खन्दै जाँदा नसोचेको कमजोर जमिन फेला पर्न सक्छ। टनेल खन्दै जाँदा भित्रको भूगोल डिजाइनमा राखेको भन्दा भिन्न हुन सक्छ। यस्तो अवस्थामा डिजाइनमा व्यापक परिवर्तन गर्नुपर्ने हुँदा निर्माणमा ढिलाइ हुन पुग्छ, जसमा ठेकेदारको कुनै दोष हुँदैन। अर्कातर्फ इन्जिनियरले समयमा आवश्यक नक्सा दिन नसक्दा वा आवश्यक निर्देशन नदिँदा पनि काममा विलम्ब हुने गरेको देखिन्छ।
  • सरकारी आयोजनामा बजेट विनियोजन आवश्यक मात्रमा नहुँदा खरिद र भुक्तानी गर्न नसकी आयोजना कैयन् वर्ष तन्किएका छन्। ठूला आयोजनाहरू खासगरी सरकारको यही रबैयाका कारण ढिला हुन्छन्। ठेकेदारलाई समयमा भुक्तानी दिनुपर्ने नियम नै छ तर त्यस्तो हुन नसक्दा ठेकेदारले काम छाडेर हिँडिदिन्छन् अनि हामी गाली सरकारी निकायलाई होइन, निर्माणकर्तालाई गर्छौं।

सामाजिक समस्या 

  • सडक चाहिने तर आफ्नो जग्गा एक हात छाड्न तयार नहुने सबै जग्ग्गा घडेरी हुनुपर्ने हाम्रो मानसिकता छ। बिजुली चाहिने लोडसेडिङ त हुनै नहुने तर बिजुलीको प्रसारण लाइन बनाउन जग्गा अधिग्रहण गर्नै नदिने। जलविद्युत् आयोजना चाहिने तर आवश्यक जग्गा सरकार वा लगानीकर्ताले किन्छु भन्दा चलेको मूल्यभन्दा पाँच गुणा धेरै मूल्य चाहिने। यस्तो सोचाइ हामीमा व्याप्त छ। निर्माणकर्ता उपकरण लिएर निर्माण कार्य गर्न आउँदा बाटोमा सुतेर डोजर रोकिन्छ अनि कसरी आयोजनाहरू समयमा निर्माण हुन्छन् ? अन्त्यमा फेरि सामाजिक सञ्जालमा ठेकेदारलाई नै गाली बर्साउने गरिन्छ काम गरेन, गर्न सकेन भनेर।
  • प्राकृतिक प्रकोपका कारण धेरै आयोजना थला परेका छन्। हाम्रोजस्तो भूकम्पीय जोखिम भएको देशमा अधिकांश आयोजनाको डिजाइनमै कमजोरी देखिन्छ। भौगोलिक विकटताका कारण पहुँच सडक बारम्बार पहिरोको चपेटामा पर्दा निर्माण सामग्री ढुवानी जटिल छ। जलविद्युत् वा सिँचाइका आयोजना नदीहरूमा आउने अनपेक्षित बाढीका कारण ढिलाइ हुन पुगिरहेका छन्। हिमाली क्षेत्रमा हिमपातका कारण निर्माण कार्य निश्चित समयमा मात्र गर्न सकिन्छ। तर यी सबै प्राकृतिक कारणको दोष पनि ठेकेदारलाई नै दिने गरेका छौं।
  • अर्को प्रमुख कारण हो– खराब नियत । लगानीकर्ता वा सरकारका कर्मचारी, परामर्शदाता जसले आयोजनाको सुपरिवेक्षण गरी बिल पास गर्ने काम गर्छन् र निर्माणकर्ता सबैको लक्ष्य गुणस्तर काम गरी समयमै निर्माण सम्पन्न गर्नुको सट्टा मौकामा चौका हानिहालौं भन्ने मानसिकता हाबी छ। ठेकेदार छनोट प्रक्रिया सुरुदेखि बिल पास गर्ने पाइलापाइलामा घुसखोरी हुने गरेको देखिन्छ। कमसल काम पास गरेर परामर्शदाताले निर्माणकर्तासँग पिसी लिन्छन् सय फाइदा गरेर ५० अरूलाई दिने गरी ठेकेदारले काम गर्छन्। यस्तो गोलमाल सरकारी अधिकारीलाई थाहा हुने भए पनि उनीहरू पनि मिलेकै हुन्छन्। पिसीमा कुरो मिलेन भने ठेकेदारले निकै दुःख पाउँछ। गुणस्तरीय काम गरे पनि बिल पास गर्दैनन्। परिणाममा समेत घटबढ गरी घोटाला गरिन्छ। यदाकदा कुनै पक्ष पिसीमा सहमत भएन भने काममा ढिलाइ हुने गर्छ। कतिपय अवस्थामा आयोजना नै ठप्प हुने गर्छ। यो खराब नियत ठूलै चुनौतीका रूपमा देखिएको छ।
  • अन्य कारण जस्तै– नाकाबन्दी, विश्वबजारमा आएको संकट, अहिलेको जस्तो कोभिड वा कुनै रोगको महामारीजस्ता कुराले पनि आयोजना ढिलाइ हुने गर्छ। निर्माण क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिन नसक्नु, राजनीतिक दल र स्थानीय डनहरूको चन्दा आतंकलगायतले पनि निर्माणकर्तालाई सहज काम गर्न व्यवधान भइरहेको छ। जतिसुकै चुस्त व्यवस्थापन गरे पनि यस्ता कारणबाट हुने ढिलाइलाई केही गर्न सकिँदैन।

व्यावसायिक छन् त ठेकेदार ?

  • नेपाल मात्र होइन, प्रायः विकासोन्मुख वा न्यून विकसित देशमा निर्माणकर्ता वा ठेकेदारहरू व्यावसायिक छैनन्। माथि भनेजस्तै नियत खराब भएका निर्माणकर्ताको बाहुल्य छ तर राम्रो काम गर्ने र पूर्ण व्यावसायिक निर्माणकर्ता नभएका होइनन्। 
  • निर्माणकर्ताहरूको सिन्डिकेटले गर्दा राम्रा ठेकेदार कम्पनीहरू माथि आउन सकेका छैनन्। रेलमार्ग ठेक्का प्रक्रियामा प्रायः सबै निर्माण कम्पनी मिलेर बिड गरेको कुरा त सर्वविदितै छ। त्यस्तो अवस्थामा अन्य पक्ष होइन, ठेकेदार नै जिम्मेवार हुन्छन्। हाम्रो ठेकेदार छनोट विधि नै कमजोर छ। छनोट मापदण्ड निर्माणमा समेत कतिपय ठेकेदारको पहुँच पुग्छ। राजनीतिक पहुँचका आधारमा करोडौंका काम हत्याउने हाम्रै ठेकेदार हुन। तर पनि यी खराबका बीचमा गुणस्तरीय काम गर्ने, समयमै काम गर्ने ठेकेदार पनि उत्तिकै छन्। सबैलाई एउटै डोकोमा राखेर हेर्न हुँदैन।
  • हाम्रो खरिद नियमावलीले समयमा काम सम्पन्न नगरेको अवस्थामा ठेकेदारलाई जरिमाना गराउन सक्ने प्रावधान राखेको छ। काम सुरु नै नगर्दा धरौटी रकम जफत हुने गरेको पनि सुनिएकै छ। काम पाएपछि मोबिलाइजेसन लिएर काम सुरु नगर्दा धरौटी जफत हुने कालो सूचीमा पर्ने चाहना कसैको हुँदैन। आफ्नो व्यवसाय नै डुबाउने ठेकेदारको चाहना होइन। त्यसका पछाडि अन्य कारण हुन्छन् तर सधैं दोष ठेकेदारलाई नै दिने गरिन्छ।
  • खरिद ऐनको दफा १२१ मा क्षतिपूर्तिसम्बन्धी व्याख्या गरिएको छ भने ठेकेदारले समयमा काम सम्पन्न नगरेमा हर्जना तिराउन सक्ने व्यवस्था पनि गरेको छ (काबुबाहिरको अवस्थाबाहेक) यस्तै दफा १२६ मा समयावधिभन्दा पहिला काम सम्पन्न गरेमा पुरस्कारको समेत व्यवस्था गरिएको छ। यसैगरी दफा १२८ मा खरिद सम्झौता उल्लंघन गरेमा के कारबाही गर्ने र त्यसको प्रक्रिया के हुने भनेर प्रस्ट लेखिएको छ। 
  • ठेकेदारलाई दण्डित र पुरस्कार गर्ने निश्चित विधि हुन्छ। सडक र सामाजिक सञ्जालमा उठेका आवाजका भरमा कसैलाई दण्डित र पुरस्कृत गर्नु हुँदैन। त्यो न्यायसंगत हुँदैन।

अन्त्यमा,

  • निर्माण कार्य ढिलाइ र कमसल गुणस्तरमा ठेकेदार मात्र दोषी पक्कै छैनन्, सरकारी कर्मचारी र परामर्शदाताको पनि उत्तिकै जिम्मेवारी छ। त्यसैले सबै कामको दोष निर्माण कम्पनीलाई मात्रा दिने नगरौं।

http://annapurnapost.com/news/171360

समान र न्यायोचित मानव विकासका अवसर बिना विद्यमान असमानता कम हुँदैन-पुष्पराज आचार्य |

सार्वजनिक भएको सन् २०२० को नेपाल मानव विकास प्रतिवेदन (नेपाल ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२०) को लेखन समूहको नेतृत्व वरिष्ठ अर्थशास्त्री डा. डिल्लीराज खनालले गरेका हुन् । नेपालमा सन् १९९० देखि मानव विकास प्रतिवेदन प्रकाशन सुरु भएको हो । सन् २०२० को प्रतिवेदन २०१९ सम्मको तथ्यांकका आधारमा तयार पारिएको हो । यसपटकको मानव विकास प्रतिवेदनमा शिक्षा, औसत आयु, प्रतिव्यक्ति कुल राष्ट्रिय आय जस्तै लैंगिक विकासलाई पनि समावेश गरिएको छ । सन् १९९० मा पहिलोपटक मानव विकास सूचकांक मूल्य ०.३८ थियो । सन् १९९० मा औसत आयु ५४ वर्ष, विद्यालय शिक्षा ८ कक्षाभन्दा तल (औसत) र प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय १ हजार १ सय ९२ अमेरिकी डलर थियो । मानव विकास प्रतिवेदन, २०२० अनुसार नेपालीहरूको औसत आयु ७०.५ वर्ष, विद्यालय शिक्षा १२.२ कक्षा (औसत) र प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय २,७४८ अमेरिकी डलर रहेको छ । एचडीआई भ्यालुमा १ अंकले सबैभन्दा राम्रो र शून्यले सबैभन्दा कमजोर अवस्था जनाउँछ । यस हिसाबले नेपाल मानव विकास सूचकांकमा मझधारमा छ । दक्षिण एसियामा मानव विकासका हिसाबले श्रीलंका सबैभन्दा अघि छ । त्यसपछि मालदिभ्स, भारत, भुटान र बंगलादेश, नेपाल, पाकिस्तान र अफगानिस्तान रहेका छन् । विश्वव्यापी मानव विकास प्रतिवेदन भने आज (डिसेम्बर १५मा) सार्वजनिक हुँदैछ । नेपाल मानव विकास प्रतिवेदन २०२० मा केन्द्रित रहेर डा. खनालसँग इकागजका पुष्पराज आचार्यले गरेको कुराकानी : 

मानव विकास सूचकांकले नेपाल मझधारबाट अलिक अगाडि बढेको देखिन्छ । सन् १९९० देखि २०१९ सम्मको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
यसबीचमा समग्र रूपमा शिक्षा र स्वास्थ्यमा उल्लेख्य प्रगति भएको छ । सापेक्ष रूपमा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको वृ्ध्दि सुरुआतदेखि नै कमजोर भए पनि पछिल्लो तीन-चार वर्षमा केही बढेको थियो । तर फेरि कोभिड-१९ महामारीका कारण आयमा असर पर्ने देखिन्छ । 

अघिल्लो वर्षको तुलनामा शैक्षिक स्तरोन्‍नतिले मानव विकास सूचकांक मूल्य सामान्य बढेको देखाइएको छ, अरू सबै सूचकहरू यथावत् देखिन्छन् ?
नेपाल संघीय संरचनामा प्रवेश गरिसकेपछिको पहिलो प्रतिवेदन भएको हुनाले हामीले प्रदेशगत मानव विकास सूचकांक पनि समावेश गरेका छौं ।  यसले मानव विकासमा प्रदेशहरूको बीचमा ठूलो अन्तर देखाउँछ । बागमती प्रदेश अलिक अगाडि छ भने कर्णाली सबैभन्दा पछाडि छ । शैक्षिक हिसाबले हेर्ने हो भने त प्रदेश नं. २ पिछडिएको देखिन्छ । औसतमा अर्थात् समग्रतामा मानव विकास सूचकांक बढेको भए पनि प्रदेशगत रूपमा विश्लेषण गर्दा प्रदेशहरूबीचमा पनि र प्रदेशभित्रै पनि मानव विकासको असमान अवस्था रहेको छ । समान र न्यायोचित मानव विकासका अवसर बिना विद्यमान असमानता कम हुँदैन । दिगो विकास र समृध्दिका हिसाबले हामी चुनौतीपूर्ण अवस्थामा छौं ।

प्रदेशगत जस्तै यसपटक लैंगिक आधारमा पनि मानव विकासको अवस्था विश्लेषण गरिएको छ । लैंगिक हिसाबले मानव विकासको अवस्थालाई कसरी विश्लेषण गर्न सकिन्छ ?
लैंगिक हिसाबले पुरुष भर्सेस महिलाको मानव विकासको अवस्था अलिक कमजोर छ । सन् २०१७-१८ को नेपाल श्रमशक्ति सर्वेक्षणले पनि आर्थिक रूपमा सक्रिय वा लेबर फोर्स पार्टीसिपेसन (श्रम शक्ति सहभागिता)मा महिलाहरूको सहभागिता कम रहेको देखाउँछ । एक त आर्थिक रूपमा सक्रिय जनसंख्या घटेर गएको छ । त्यसमा पनि महिलाहरूको सहभागिता त झनै घटेको छ । जसले ज्याला, आय वा लाभमूलक रोजगारीको काम गर्दैन त्यसलाई आर्थिक रूपले सक्रिय मानिँदैन । सन् २००८ को श्रम शक्ति सर्वेक्षणमा आयआर्जनमूलक रोजगारी गरुन् या नगरुन् उनीहरूलाई श्रमशक्तिमा सहभागी गरिएको थियो । यसले दक्षिण एसियामै नेपालमा महिलाहरूको श्रम शक्ति सहभागिता सबैभन्दा उच्च थियो । अहिले त्यसलाई थप परिस्कृत गरिएको छ । आयआर्जनमूलक रोजगारी हुनेलाई मात्र समावेश गरेकाले लैंगिक आधारमा मानव विकासमा महिलाको अवस्था समग्रमा कमजोर देखिएको हो । लैंगिक आधारले हेर्ने हो भने पुरुषको एचडीआई भ्यालु ०.६१२ छ भने महिलाको ०.५४९ छ । त्यस्तै, औसत आयु पुरुषको ६९ छ भने महिलाको ७१.९ वर्ष छ । शैक्षिक हिसाबले विद्यालयमा छात्राहरूले विद्यालय छाड्ने दर (ड्रप आउट रेट) उच्च छ । आयका साबले प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय पुरुषको ३,५१० अमेरिकी डलर छ भने महिलाको २,११३ डलर रहेको छ । 

सन् २०२२ मा हामी विकासशील राष्ट्रमा स्तरोन्‍नति हुँदैछौं । मानव विकासका हिसाबले हामी स्तरोन्‍नतिका लागि योग्य छौं कि अझै त्यो जोखिम उच्च नै छ ? 
सन् २०२१ मा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्ले समीक्षा गरेर योग्य ठहर्‍याएमा नेपाल स्तरोन्नति हुन्छ । प्रतिव्यक्ति आयको मापदण्डबाहेक मानव विकास सूचकांक र आर्थिक जोखिमसम्बन्धी मापदण्ड नेपालले यसअघि नै पूरा गरेको हो । यद्यपि कोभिड-१९ ले आर्थिक जोखिमयुक्त जनसंख्या पनि उच्च बनाएको छ । यसअघि सन् १०१८ मा समीक्षा गर्दा हामीले प्रारम्भिक तथ्यांकका आधारमा स्तरोन्नति मापदण्ड पूरा हुन्छ या हुँदैन भनेर विश्लेषण गरेका थियौं । कोभिड-१९ पछिको सन्दर्भमा हामीले सामाजिक-आर्थिक जोखिमहरूलाई अझै मिहिन ढंगले विश्लेषण गरेर निर्णय लिनुपर्छ । स्तरोन्‍नति हुने मापदण्ड पुग्यो भने पनि हामीलाई अन्तरिम अवधिका लागि रणनीति चाहिन्छ । सन् २०२२ देखि २०२४ सम्म संक्रमणकालीन अवधि रहन्छ भने त्यसपछि हामी विकासशील राष्ट्रको रूपमा मान्यता पाउँछौं । नेपाल मानव विकास प्रतिवेदन, २०२० को मूल भाव नै ‘यिबोन्ड ग्र्याजुएसनः प्रडक्टिभ ट्रान्सफर्मेसन एन्ड प्रोस्पेरिटी’ राखेका छौं । सन् २०२२ देखि २०२४ को अन्तरिम अवधिमा हामीले दिगो विकास र समृद्धि कसरी हासिल गर्ने भन्ने रणनीतिक योजनाभित्र रहेर काम गर्नुपर्छ । प्रतिस्पर्धी क्षमता बढाएर कसरी उत्पादनमूलक रूपान्तरण गर्ने यसका लागि कस्ता नीति, योजना र संस्थाहरू चाहिन्छन् भन्नेमा ध्यान दिनुपर्छ । स्तरोन्नति भइसकेपछि हामीले तीन वटा पक्षमा ध्यान दिनुपर्छ । पहिलो, हामीले अति कम विकसित राष्ट्रका रूपमा पाइरहेका सुविधाहरू क्रमशः कटौती हुनेछन् । व्यापार सुविधा, बौध्दिक सम्पत्तिसम्बन्धी व्यवस्थामा लचकता, बाह्य सहायता परिचालनमा प्रतिकूल प्रभाव पर्ने भएकाले हामी ज्यादै प्रतिस्पर्धी हुनुपर्नेछ । यसले हाम्रो समग्र औद्योगिकीकरणमै नयाँ जोखिम बढाउन सक्छ । बहुपक्षीय सहायतामा ठूलो असर नपर्ला किनकि उनीहरूले अल्पविकसितभन्दा पनि न्यून र मध्यम आयको वर्गीकरणका आधारमा सहायता परिचालन गर्छन् । तर हामीलाई सहयोग गरिरहेका अमेरिका, चीन, भारत, जापान, जर्मनी, दक्षिण कोरियालगायतले दिने द्विपक्षीय सहायतामा भने सोझै असर पर्छ । विकासशील मुलुकमा स्तरोन्‍नति भएपछि त्यो उपलब्धिलाई उल्टन दिनु भएन बरु यसलाई दिगो बनाउनेतर्फ लाग्नुपर्छ । त्यसकारण अहिले प्रदेशगत रूपमा देखिएका असमानताहरूलाई समेत कम गर्दै विकासलाई अझै सन्तुलित र न्यायोचित बनाउनुपर्ने हुन्छ । विकास सन्तुलित र न्यायोचित भएन भने आर्थिक जोखिम बढ्ने डर सधैं रहिरहन्छ । 

यसमा कोभिड-१९ ले स्तरोन्‍नतिमा कस्तो प्रभाव पार्ला ? 
कोभिड-१९ ले हाम्रो शिक्षा, स्वास्थ्य, श्रम, लैंगिक विकासमा असर पारेको छ । अन्ततः यसले गरिबी बढाउँछ भन्‍ने हाम्रो आकलन छ । सन् २०२१ को प्रतिवेदनमा हाम्रो मानव विकासको अवस्थामा अहिलेसम्म प्राप्त उपलब्धिहरू कमजोर देखिनेछन् । यसले समग्रतामा स्तरोन्‍नतिकै मापदण्डमा पनि आर्थिक जोखिम (इकोनोमिक भल्नराबिलिटी) बढाउँछ । कोभिड-१९ का कारण नकारात्मक असर पार्ने क्षेत्रहरूलाई सम्बोधन गर्न धेरै देशहरूले प्रोत्साहन प्याकेजलगायत विविध योजनाहरू कार्यान्वयनमा ल्याइरहेका छन् । कोभिड-१९ ले हाम्रो आयमा प्रत्यक्ष प्रभाव पार्छ । यसलाई समेत मध्यनजर गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने अवधि २०३० सम्म बजार सुविधा, न्यून आय हुने मुलुकले पाउने छुट सुविधा, वैदेशिक सहयोगलाई निरन्तरता देऊ भनेर विकास साझेदारहरूसँग पहल गर्न सक्छौं । अन्तरिम (संक्रमणकालीन) अवधिमा हामीले द्विपक्षीय, बहुपक्षीय दातृसंस्था र व्यापारका लागि बजार पहुँच दिने मुख्य व्यापार साझेदारहरूसँग सहमति कायम गर्नुपर्छ । 

https://ekagaj.com/article/interview/2604