Thursday, January 6

किन क्षयीकरण हुँदैछ मुख्य सचिवको भूमिका?-गोबिन्द लुईटेल

  • निजामति प्रशासनको अभिभावक मानिने मुख्य सचिवको भूमिका नै देखिन छाडेको छ । कानुनतः मुख्य सचिवलाई धेरै अधिकार दिइएको छ, त्योे अधिकार प्रयोग गर्ने त कता हो कता पद पाएर त्यसै मख्ख छन् । आफ्नो अधिकार प्रयोग गर्न आँट र इच्छाशक्ति नहुँदा चुपचाप छन् ।
  • पछिल्लो समय सरकारको कारिन्दा बन्यो मुख्य सचिव । पद पाउन चाकडी गरिहने र गलत कुरामा चुप लाग्ने प्रवृत्तिले निजामति कर्मचारी प्रशासनले नेतृत्व पाउन नसकेको, सरकारसँग सम्बन्ध विग्रने डर वा असमझदारी बढाउन मुख्य सचिवले नचाहने प्रवृत्तिले निजामति संगठन नेतृत्वहीन अवस्थामा पुगेको-पूर्वसचिव द्वारिकानाथ ढुङगेल
  • दास्रो जनआन्दोलन पछि मुख्य सचिवको भूमिका र नेतृत्वमा क्षयीकरण भएको पूर्व सचिव गोपीनाथ मैनाली बताउँछन् । मुख्य सचिव पद लिनकै लागि राजनीतिक नेतृत्वलाई रिझाउने र बहाल छँदै अति महत्वाकांक्षाले भोलीका वृत्ति विकास तथा लाभका पदमा लोभिने प्रवृत्तिले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन् ।
  • विगत केही समय यता मुख्य सचिवको नेतृत्व हात पार्ने नाउँमा लोभ र स्वार्थले संगठन पूरै ओरालो लागेको र पदको गरिमा राख्नै नसकेको प्रशासनविद्हरुको भनाइ छ ।
  • नेपालमा वरिष्ठ सचिवको नामबाट डम्बर शमशेर थापा र सरदार गुञ्जमान सिंहको पालादेखि मुख्य सचिव पद सुरुको हो । तर कुनै बेला मुख्य सचिवको पद लोप पनि भएकोे इतिहास छ । तर वि. सं. २०२२ देखि निजामती सेवामा निरन्तर कायम छ । भारतको निजामती सेवा सदस्य गोविन्द नारायण वि.सं.२००८ साल कार्तिकमा राजा त्रिभुवनको सचिव तथा लोकसेवा आयोगको सल्लाहकारको जिम्मेवारी निभाउन नेपाल आएका थिए । नेपालको निजामति सेवामा हाल वहालवाला मुख्य सचिव ३१ औँ सूचीमा पर्दछन् । विगतमा क्षमतावान्, इज्जत कमाएका, नेतृत्व लिन सक्ने र पेशागत निष्ठा भएका व्यक्ति मुख्य सचिवमा छनोट हुन्थे ।
  • मुख्य सचिव कसरी आए भन्ने कुराले पनि शक्तिशाली र उत्तरयायीको भूमिका कति निर्वाह गर्न सक्दछन् भन्नेमा निर्भर हुने गर्दछ । सरकारले आफ्नो गोजीबाट अनुकूलको मान्छे ल्याउने र राजनीतिक पहुँचको भरमा नियुक्ति दिने क्रमले मुख्य सचिव पद कमजोर बन्दै गएको हो ।
  • सरकारको प्रशासकीय र कानुनी सल्लाहाकार पनि मुख्य सचिव हो, यति महत्वपूर्ण भूमिकामा मुख्य सचिव निस्क्रिय बसिरहेका छन् । बेरुजू फस्र्याेट गर्ने, वित्तीय उत्तरदायी बनाइ अनुशासन कायम गराउने विषयमा पाइलै चलाउन सकेका छैनन् ।
  • सक्षम र क्षमतावान् प्रतिभाशाली व्यक्ति निजामति सेवामा आउनै नचाहने वातावरण बन्यो - पूर्व सचिव केदार न्यौपाने
  • मुख्य सचिवलाई सुशासन कायम राख्ने, वेरुजू फस्र्याेट गर्ने जस्ता अधिकार दिइएको छ । क्याविनेटमा प्रस्तुत हुने विषयको विधि, प्रक्रिया र नियम अनुसार छ छैन हेर्नै र प्रक्रिया नपुगेकोमा पुर्याएर मात्रै सदर गर्ने जस्ता महत्वपूर्ण भूमिका मुख्य सचिवलाई छ । सरकारले अध्यादेश लैजाने विषयमा विचार गर्ने, गलत र दीर्घकालनी असर पर्ने विषय रोक्ने जस्ता कुरा मुख्य सचिवलाई अधिकार छ । राजनीतिक रुपले आएका निर्णयले संगठन र राष्ट्रलाई अहित गर्दछ भने त्यो रोक्न सक्ने अधिकार मुख्य सचिवलाई छ ।
  • संघीयता कार्यान्वयनमा सक्रिय रहेका सोमलाल सुवेदी पदमै रहँदा लियन पद सृजना गरी अन्यत्र काम गर्न गए । मन्त्रिपरिषद्ले उनको पक्षमा तीनपटकसम्म अनुकूल निर्णय गर्यो । पद र अधिकार आफ्नो स्वार्थमा कसरी दुरुपयोग भैरहेको छ भन्ने यो एउटा दृष्टान्त मात्रै हो ।
  • ०६८ साल यता कनिष्टलाई पनि मुख्य सचिव बनाइएको छ । त्यस्ता व्यक्तिहरु आउँदा निजामति कर्मचारी प्रशासनमा अझ नकारात्मक प्रभाव परेको
  • पहिले मुख्य सचिव पदमा विशिष्ट र विज्ञ विशेषज्ञ सल्लाहारको रुपमा रहन्थे। पछिल्लो समय पदका लागि जुनियरहरु राजनीतिज्ञसँग लम्पसार हुने प्रवृत्ति देखिएको छ । पद्धति र जेष्ठता हुन्थ्यो, यो पूरै मिचियो। आफू भन्दा सिनियरहरुलाई निर्देशन दिने तथा व्यवसायीक नेतृत्व दिन नैतिक हिसावले जुनियरले मिल्दैन ।
  • राजनीतिक नेतृत्वको इच्छाशक्तिले मात्रै कर्मचारी प्रशासनलाई निष्पक्ष जवाफदेही र नतिजामुखी बनाउन सक्छ । तर त्यो इच्छाशक्ति देखिएन
  • प्रशासन सुधार कि त कमजोर सरकारको बेलामा हुन्छ कि त सरकार बलियो भएको बखतमा, तर ०४८ पछि यस्तो अवसर सृजना भएपनि केही सुधार भएन । प्रशासन ओरालो लागेको छ । राजनीतिले सुशासन चाहेन र प्रशासकले एक्लै आट्न सकेनन् ।’ पूर्व सचिव शारदा प्रसाद त्रिताल
  • ज्ञानेन्द्र शाहको शासनको बेला विमल कोइराला, लोकतन्त्रपछि लिलामणी पौड्यालले त्यस्ता वेथिति रोक्न प्रयाय भने गरेका थिए ।
मुख्य सचिवको अधिकार के के छन् ?
सुशासन तथा संचालन ऐन २०६४ ले मुख्य सचिवको जिम्मेवारी स्पष्ट गरेको छ । मुख्य सचिवको जिम्मेवारी यी हुन् ।
१)प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय प्रमुखको रुपमा कार्य सम्पादन गर्ने ।

२) नेपाल सरकारको सचिव तथा विशिष्ट श्रेष्णीका अधिकृतको सुपरीवेक्षकको हैसियतमा उनीहरुबाट सम्पादन गरेका कार्यको सुपरिवेक्षण गर्ने र आवश्यक निर्देशन दिने ।

३) मन्त्रालयहरु तथा सम्बद्ध निकायहरुको प्रशासनिक कामलाई समन्वय गर्ने र गराउने ।

४)शासकीय सुधारलाई अभिन्न अंगको रुपमा कार्यान्वयन गर्न वा गराउन केन्द्रिय निकायबीच समन्वय गर्ने ।

५)मन्त्रिपरिषद्को सचिवको रुपमा काम गर्ने र सोही हैसियतमा मन्त्रिपरिषद्को निर्णय प्रमाणित गर्ने ।

६)मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्ने गराउने र कार्यान्वयनको सुपरिवेक्षण गर्ने ।

७)प्रशासनतन्त्रलाई चुस्त र फूर्तिलो बनाउन सरकारका सचिव तथा अन्य कर्मचारीलाई उत्प्रेरित गर्ने ।

८)समय– समयमा सचिव बैठक आयोजना गर्ने र बैठकबाट भएका निर्णय कार्यान्वयन स्थितिको सुपरिवेक्षण गर्ने वा गराउने ।

९)नेपाल सरकारको निर्णयको लागि सचिवले पेश गरेको प्रस्तावमा आवश्यक कुराहरु पुगेको वा नपुगेको जाच्ने, उक्त प्रस्तावलाई मन्त्रिपरिषद् समक्ष पेश गर्ने र अंग नपुगेको पाइएमा सम्बन्धित सचिव कहाँ फिर्ता पठाउने वा पठाउन लगाउने ।
  • https://deshsanchar.com/2021/12/26/593987/

सरकारी लेखापरीक्षणको उपयोगिता-नारायण अधिकारी

सार्वजनिक स्रोत साधनको उद्देश्यमूलक उपयोग, वित्तीय उत्तरदायित्व, सुशासन र पारदर्शिताको प्रवद्र्धन तथा जनताले तिरेको करबाट सङ्कलित राजस्वबाट संसद्ले विनियोजन गरेअनुसार स्रोत साधनको अधिकतम र उचित तवरबाट उपयोग गरी सञ्चालन भएको छ छैन भन्ने विषयमा महालेखा परीक्षकको कार्यालयबाट प्रत्येक वर्ष अन्तिम लेखापरीक्षण गरिन्छ । सरोकारवालालाई सार्वजनिक कोषको दक्षतापूर्ण उपयोग सम्बन्धमा आश्वस्त पार्न स्वतन्त्र एवं गुणस्तरीय लेखापरीक्षण सेवा प्रदान गर्न संविधानले नै महालेखा परीक्षकको व्यवस्था गरेको छ ।

लेखा तथा लेखापरीक्षणको व्यवस्था वैदिक कालदेखि नै हुँदै आएको पाइन्छ । महाभारतमा राजा युधिष्ठिरले आफ्नो भाइ नहकुललाई सेनाको हिसाब हेर्नु भन्ने आज्ञा दिएको कुराबाट पनि सो कुराको पुष्टि हुन आउँछ । तत्कालीन समयको लेखा तथा लेखापालन व्यवस्था हालको जस्तो आधुनिक नभए पनि आम्दानी तथा खर्चको हिसाब राख्ने र सोको लेखापरीक्षण गर्ने प्रचलन रहेको र लेखा राख्ने र लेखापरीक्षण गर्ने प्रणालीमा पनि क्रमशः सुधार हुँदै आएको पाइन्छ । कुमारीचोकबाट हुँदै आएको लेखापरीक्षणको कार्य वि.सं. २०१६ देखि संवैधानिक अङ्गको रूपमा रहेको महालेखा परीक्षकबाट हुँदै आएको छ ।

सङ्घीय र प्रदेशका सबै सरकारी कार्यालय, स्थानीय तह तथा कानुनद्वारा तोकिएका अन्य संस्थाको निर्धारित तरिकाबमोजिम नियमितता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताको समेत विचार गरी अन्तिम लेखापरीक्षण गरी सोको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने दायित्व संवैधानिक रूपमा महालेखा परीक्षकलाई तोकेको छ ।

नेपाल सरकारका प्रत्येक कार्यालयको आर्थिक कारोबारको नियमितता, मितव्ययिता, कार्यदक्षताको आधारमा आन्तरिक लेखापरीक्षणको कार्य हुने गरेको र परीक्षण गर्दा सम्बन्धित निकायको उद्देश्य अनुरूपका कार्य सम्पादनसँग सम्बन्धित कारोबारको गणितीय शुद्धता र कानुनको परिपालना एवं नेपाल सरकारले स्वीकृत गरेको लेखा निर्देशिका अनुसार लेखा प्रमाण कागजातका साथै अङ्कको पूर्ण परीक्षण गर्ने गरिन्छ । त्यसैगरी, सार्वजनिक निकायले कार्य सम्पादनको क्रममा परिचालन भएको स्रोतको नतिजामूलक उपयोग एवं प्रभावकारिता सम्बन्धमा जोखिम विश्लेषणमा आधारित भई लेखाजोखा गरी सुझाव गर्ने र अवलम्बन गरिएका आन्तरिक नियन्त्रण प्रणालीलगायतका नीतिगत एवं प्रक्रियागत पक्षहरूको व्यवस्थापकीय अभ्यासका सम्बन्धमा लेखाजोखा गरी सुझाव प्रस्तुत हुने गर्छ ।

महालेखा परीक्षकको कार्यालयले अन्तिम लेखापरीक्षण गर्दा आन्तरिक लेखापरीक्षणको प्रतिवेदनलाई समेत आधार लिई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता समेतको आधारमा स्रेस्ताको परीक्षण गरी सुझावसहितको प्रतिवेदन सार्वजनिक निकायलाई उपलब्ध गराउँदै आएको छ ।

लेखापरीक्षण गर्ने विषयमा आन्तरिक लेखापरीक्षक तथा अन्तिम लेखापरीक्षक दुवैलाई विशेषतः सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावली, विनियोजन ऐन, लेखापरीक्षण ऐनलगायत विभिन्न समयमा जारी भएका निर्देशिका, परिपत्र आदिले निर्देशित गरेको हुन्छ ।

दुवै किसिमका लेखापरीक्षणको मुख्य उद्देश्य सार्वजनिक कोषको दक्षतापूर्ण उपयोग भएको छ, छैन सो कुरामा सरोकारवालालाई विश्वस्त बनाउनु हो । कोषको उपयोग गर्दा विभिन्न ऐन, नियम, नीति, निर्देशिका, परिपत्रले गरेको व्यवस्थाअनुरूप कुशल, मितव्ययी र पारदर्शी ढङ्गबाट गरेको छ, छैन ? स्वीकृत कार्यक्रम निर्धारित समयभित्र सम्पादन गरेको छ, छैन ? खर्च अनुरूपको प्रतिफल यथेष्ठ छ छैन ? वैदेशिक ऋणको परिचालन सही ढङ्गबाट भएको छ, छैन ? सार्वजनिक सम्पत्तिको सुरक्षा र परिचालन यथेष्ट छ, छैन ? यावत कुराहरूको सूक्ष्म ढङ्गबाट परीक्षण गरी प्रतिवेदन तयार पारी महालेखापरीक्षकले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिबाट सो प्रतिवेदन जनप्रतिनिधिको थलो संसद्मा पेस गरी छलफल गर्ने संवैधानिक एवं कानुनी व्यवस्था छ । यसले गर्दा सार्वजनिक कोषको उपयोगको अवस्थाको जानकारी जनताका प्रतिनिधिले पाउँछन् ।

आन्तरिक लेखापरीक्षण प्रभावकारी नभएको प्रसङ्ग वर्षौ पहिलेदेखि उठिरहेको अवस्थामा लेखापालन र लेखापरीक्षणको काम अलग अलग व्यक्तिबाट हुने व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले गरेको छ । सोहीबमोजिम यसको व्यवस्थापन महालेखा नियन्त्रकको कार्यालयले मिलाउँदै छ । यो व्यवस्थाले आन्तरिक लेखापरीक्षण प्रभावकारी हुने कुरामा विश्वस्त हुन सकिन्छ । यसले गर्दा अन्तिम लेखापरीक्षकलाई गणितीय शद्धता र नियमितताको विषयमा धेरै समय व्यतित नगरी खर्चको औचित्यताको विषयमा आफ्नो ध्यान केन्द्रित गर्न मद्दत पुग्नेमा आशावादी हुन सकिन्छ । लेखापालन तथा लेखापरीक्षण गर्ने व्यक्ति एउटै समूहको हुँदा लेखापरीक्षणमा त्यति ध्यान पुग्न सकेको थिएन ताकि आन्तरिक लेखापरीक्षणले नियमितता र गणितीय शुद्धताको विषयलाई समेत सूक्ष्म परीक्षण नगर्दा धेरै आलोचित हुनुपरेको थियो ।

जनताले तिरेको करबाट सङ्कलित राजस्वको सही सदुपयोग नगरी ठूलो धनराशि हिनामिना गरेको व्यहोरा महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष तयार पार्ने वार्षिक प्रतिवेदनमा समेत उल्लेख हुने गरेको छ । आर्थिक कारोबारमा भएको अनियमितता, हिनामिना पत्ता लगाउने गहन जिम्मेवारी कोष तथा लेखा नियन्त्रकको कार्यालय तथा महालेखा परीक्षकको कार्यालयले प्राप्त गरेको छ ।

महालेखा परीक्षकको ५८औँ प्रतिवेदनमा उल्लेख भएबमोजिम आ.व. २०७७/०७८ को लेखापरीक्षणको सन्दर्भमा सङ्घीय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्थासमेतको रु. २७ खर्ब ७२ अर्ब ७८ करोडको लेखापरीक्षण सम्पन्न भएको मध्ये तीन हजार ७९ सङ्घीय सरकारी निकाय र कार्यालयको रु. १५ खर्ब ५५ अर्ब ८१ करोडको लेखापरीक्षण गर्दा ४४ अर्ब ३९ करोड अर्थात् २.८६ प्रतिशत बेरुजु देखिएको छ । त्यसैगरी, प्रदेश निकाय र कार्यालयमा एक हजार १९ निकायको रु. दुई खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट रु. छ अर्ब ५० करोड अर्थात् २.७४ प्रतिशत बेरुजु देखिएको छ । ५८४ समिति तथा अन्य संस्थाको रु. एक खर्ब ६३ अर्ब ५७ करोडको लेखा परीक्षणबाट रु. १२ अर्ब ६६ करोड अर्थात् ७.७४ प्रतिशत र ६९९ स्थानीय तहको रु. आठ खर्ब १५ अर्ब ९९ करोडको लेखा परीक्षणबाट रु. ४० अर्ब ८३ करोड अर्थात् ५ प्रतिशत बेरुजु देखिएको छ । आ.व २०७६/०७७ को लेखापरीक्षण गर्दा औँल्याइएको असुलउपर गर्ने बेरुजुमध्ये रु. छ अर्ब १७ करोड आ.व. २०७७/०७८ मा असुलउपर समेत भएको छ ।

लेखापरीक्षणको माध्यमबाट आर्थिक कारोबार, विकास निर्माण र सेवा प्रवाहको क्रममा भएका कमीकमजोरी र सार्वजनिक नीतिको कार्यान्वयन पक्षको मूल्याङ्कन गरी सजग गराउँछ । फलस्वरूप राज्यको स्रोत साधनको अपव्यय, दुरुपयोग, हानिनोक्सानी, चुहावट रोकथाम, एवं स्रोत साधनको उपयोगबाट उच्चतम प्रतिफल प्राप्त गर्न सहयोग पुगेको छ । लेखापरीक्षणबाट औँल्याइएका विषयहरूको सम्बोधनबाट सरकारी रकम असुल भई सञ्चित कोषमा जम्मा भएको तथा ऐन, नियम, नीति, सङ्गठनात्मक सुधारको कारणबाट समेत राज्यलाई थप राजस्व प्राप्त भएको छ । राजस्व छुट तथा फिर्ता दिने व्यवस्थाको पुनरावलोकन पश्चात् राजस्व सङ्कलनमा वृद्धि हुने अवस्था सिर्जना भएको छ । सार्वजनिक खर्चमा मितव्ययिता, कार्यदक्षता र जनतालाई प्रवाह हुने सेवामा प्रभावकारिता आएको छ । तसर्थ, आर्थिक अनुशासन कायम गर्न, सुशासन र पारदर्शिता प्रवद्र्धन गर्न एवं जनताले तिरेको कर रकमको सही ठाउँमा उपयोग भए नभएको विषयमा सरोकारवालालाई आश्वस्त पार्न लेखापरीक्षणको योगदान रहेको कुरामा कुनै सन्देह रहँदैन ।

लेखापरीक्षणको प्रतिवेदनले सरकारी खर्चमा भएको आर्थिक अनुशासन र कमजोरी औँल्याउँछ । यसको नियन्त्रण गर्ने काम सरकारी निकायको हो । जबसम्म सरकारी संयन्त्र अनुशासित र जवाफदेही बन्दैन, तबसम्म आर्थिक अनुशासनमा सुधार आउँदैन । प्रत्येक वर्ष दोहोरिरहने अनियमितताले सरकारी निकाय यसप्रति गम्भीर नरहेको प्रष्ट हुन्छ । भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि शून्य सहनशीलताको नीति कार्यान्वयन गर्नुपर्छ । यसको नियन्त्रणका लागि अनियमित तरिकाले खर्च गर्ने अधिकारी र संलग्न कर्मचारीलाई कानुनको कठघरामा उभ्याइ जिम्मेवार र जवाफदेही बनाउनुपर्छ ।
https://gorkhapatraonline.com/opinion/2022-01-05-54617