Saturday, November 10

अमेरिकामा ह्यारीको विजय र नेपालमा समावेशीताको प्रश्न-डम्बर खतिवडा

  • विविधता र समावेशीताले बहुआयामिक विकासमा मद्दत गर्छ ।
  • नेपालमा समृद्धिको एउटा आधार नै समावेशीता हो । समावेशीताले समृद्धिलाई जोड मात्र दिँदैन, गुणन गर्छ । समावेशी विकास सामान्य आर्थिक विकासभन्दा फरक अवधारण हो । त्यसका लागि त्यसको राम्रो उदाहरण दक्षिण अफ्रिका, क्यानाडा, अष्टे«लिया र सिंगापुरमा देख्न सकिन्छ ।
  • सिंगापुर केवल आर्थिक र भौतिक विकास गरेको मुलुक मात्र हैन, उत्तिकै समावेशी मुलुृक पनि हो । मलेसियन, चाइनिज र इन्डियन त्यहाँको आन्तरिक समावेशीताको कम्पोनेन्ट थिए । त्यसपछि अमेरिकीलगायत सम्पूर्ण बाँकी विश्वलाई पनि उनीहरुले आफूमा समावेश गरे ।
  • नेपालको आधुनिक, सभ्य र लोकतान्त्रिक भनिएको संविधानले अंगीकृत नागरिकताको सवालमा महिला र पुरुषबीच सिधै विभेद गरेको छ । नेपाली पुरुषसँग विवाह गरेकी महिलाले विवाह गर्नेवित्तिकै नेपालको नागरिकता पाउँछे । महिलाले विवाह गरेको विदेशी पुरुषले १५ वर्ष पाउँदैन ।
  • संविधान भनेको राज्य र नागरिक बीचको सामाजिक सम्झौता हो । त्यो महिला र पुरुषले राज्यसँग गर्ने फरक–फरक सम्झौता हैन । नागरिक भन्नेवित्तिकै महिला, पुरुष र तेस्रो लिंगी सबै पर्दछन् ।
  • जनसंख्या सानो र समरुप हुँदा मात्रै अर्थतन्त्रको विकास हुने भए सम्भवतः नेपालमा सबैभन्दा बढी विकास कर्णालीमा हुनुपथ्र्यो । सबैभन्दा थोरै जनसंख्या कर्णालीमा छ । सबैभन्दा ठूलो भूभाग कर्णालीमा छ । जातीय तथा भाषिक विविधिता कर्णालीमा कम छ । सबैभन्दा बढी समरुप समाज कर्णालीमा छ । सबैभन्दा बढी प्राकृतिक स्रोतसाधन कर्णालीमा छ । तर, किन कर्णाली नै विकासमा सबैभन्दा कमजोर छ ?
  • विविधता र समावेशीतालाई हामी झर्कोका रुपमा लिन्छौं । तर, त्यो त मानव जातिका उत्कृष्टताहरुको संकेन्द्रण हो ।
  • समावेशीताले समाजलाई विस्तार गर्ने हो । मानव जीवनलाई समृद्ध पार्र्ने हो । मान्छेको सोच्ने तरिकालाई फराकिलो बनाउने हो । फरक–फरक भाषा, संस्कृति, स्वाभाव र परिस्थितिसँग अन्तरक्रिया गराउने हो । मान्छेको सोच जति फराकिलो हुन्छ, त्यति नै समृद्धि सम्भव हुन्छ ।
  • नेपालमा कर्णाली र प्रदेश २ किन मानवीय विकास सूचकांकमा पछाडि छन् ? किनकि त्यहाँ सबैभन्दा बढी समरुप समाज र समावेशीता कम छ । प्रदेश ३, ४ र १ किन बढी विकसित छन् ? किनकि त्यहाँ सबैभन्दा बढी असमरुप समाज छ । असमरुप समाजमा विविधिकृत ट्यालेन्ट हुन्छ । त्यहाँ प्रतिस्पर्धा र सिर्जना हावी हुन्छ । समरुप समाजमा संस्कृति हावी हुन्छ । त्यहाँ रुढीवाद र एकलकाँटे सोचले स्पेश पाउँछ । धरान, इटहरी, बुटवल, पोखरा र काठमाण्डौंमा सम्भवतः सबैभन्दा बढी विविधिकृत बस्ती छ । विकास र अर्थतन्त्र पनि यही छ । यो कुरा सबै प्रदेश र शहरहरुले सिक्नुपर्छ ।
  • भाषिक हिसाबले पनि प्रतिस्पर्धामा आउन ४-५ भाषा जान्नैपर्ने अन्यथा व्यक्तिगत जीवन सहज नहुने परिस्थिति आउँदैछ । भाषिक समावेशीता उत्तिकै आवश्यक हुँदै गएको छ । एउटा नेपालीले नै राम्ररी जिन्दगी चलाउन कम्तिमा ४ भाषा जान्नैपर्ने भएको छ ।
  • नेपालमा समावेशीताको सम्म कुरा गर्दा मानिसहरु ठीकै मान्छन्, जब पहिचानको कुरा आउँछ, धेरैलाई ज्वरो आउन थाल्छ । यो पनि ठीक उल्टो सोचको परिणाम हो । जसरी समावेशीताले स्वयं समावेश गर्ने व्यक्ति, समाज र देशलाई फाइदा हुन्छ, पहिचानले त्यही गर्छ । तर, हामीलाई राजनीतिक पूर्वाग्रहका कारण गलत अर्थ बुझाइएको छ । अन्यथा पहिचान र समावेशीता एकअर्काका परिपूरक हुन् ।
  • समावेशीताले समाजको अन्तर्घुलनको माग गर्छ । अन्तघुर्लन भनेकै विविध पहिचानहरुको अन्तर्घुलन हो । पहिचान भनेको विविधताको संरक्षण हो । जब विविधता हुन्छ अनि समावेशीता हुन्छ, जब विविधता नै छैन, विविधता नै समाप्त भएर गयो, केको समावेशीता गर्ने ? तसर्थ विविधतालाई रक्षा गर्न पहिचान चाहिने हो । कुनै भाषा नै हरायो, कुनै संस्कृति नै हरायो, कुनै जातीय समुदाय नै हरायो भने के समावेश गर्ने ? के–केबीच अन्तर्घुलन गर्ने ?
  • मावेशीताका लागि विविधताको संरक्षण चाहिन्छ । विविधताको संरक्षणका लागि पहिचान चाहिन्छ । अमेरिका संघीय मुलुक हो । पहिचानप्रति संवेदनशील मुलुक हो । नेपालीहरुले त्यहाँ गएर अमेरिकन नागरिकता लिने हुन । राजनीतिक, आर्थिक, सामाजिक, साँसकृतिक अधिकार पाउँने हुन । सबै हिसाबले अमेरिकन हुने हैनन् ।
  • उनीहरुले आफूलाई ‘नेपलिज अमेरिकन’ भन्न पाउँछन् । नेपालकै चाडवाड र संस्कारहरु मान्न पाउँछन् । नेपालीमै पत्रपत्रिका निकाल्न र बोल्न पाउँछन् । मान्छेको सार्वभौम स्वभावका हिसाबले ती नेपाली नै रहन्छन्, तर राजनीतिक अधिकारका हिसाबले मात्र अमेरिकन हुन्छन् ।
  • नेपालमा समावेशीता, पहिचान र संघीयताको मुद्दा बरालिनुको कारण यिनै सरल सत्यहरु नबुझ्नु हो । ह्यारीले अमेरिकामा चुनाब जित्नुलाई हामी राम्रो मान्छौं । राजेन्द्र महतोले जनकपुरमा चुनाव जितेको हामीलाई भित्रभित्रै मन परिरहेको हुँदैन । यो हाम्रो मनमा गडेर बसेको, हामीले राम्ररी नियालेर नहेरेको हाम्रो द्धैध चरित्र हो । राजेन्द्र महतोको जित नेपालको स्ट्रेन्थ हो ।
  • नेपालका धेरै भाषा, संस्कृति र जातीय समूहहरु लोपोन्मुख छन् । त्यसको घाटा नेपाललाई नै हुन्छ । शेर्पा भन्ने जाति नै नासिएर गयो भने सगरमाथामा यति धेरै रेकर्ड नेपालको नाममा बन्ने छैन । नत नाम्चे र लुक्लामा पर्यटन व्यवसाय व्यवस्थापन गर्न सहज हुन्थ्यो । कुनै भाषा हराउँदा कुनै भाषा मात्र हराउँदैन, हज्जारौं हजार वर्षको मानवीय इतिहास, सम्पदा, संस्कृति, ज्ञान र सीपहरु हराएर जान्छन् । त्यो घाटा नेपाललाई नै हो । तसर्थ मौलिकताहरुको रक्षा पनि गर्नु पर्छ । अन्तर्घुलन र समावेशीता पनि हुनुपर्छ । यी दुई चिजबीच गतिशील सन्तुलन हुनुपर्छ ।
  • खानामा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । प्रविधिमा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । पोशाकमा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । संस्कृति, भाषा र राजनीतिमा पहिचान र समावेशीता स्वीकार गर्न किन गाह्रो हुने ? नेपालको डिस्कोर्समा बुझ्न नसकिएको कुरा यही हो ।
https://www.onlinekhabar.com/2018/11/718699