Monday, October 19

कसरी गर्ने निजामती सेवाको सुधार ? यी हुन् अनिवार्य शर्त-गोपीनाथ मैनाली

  • सेवा व्यावसायिक भएन, विज्ञता भए पनि कार्यसम्पादनमा त्यो देखिएन, भएको विज्ञता र दक्षतालाई प्रणालीले आफ्नो बनाउन सकेन, निजामती सेवामा पेशागत व्यावसायिकता नभएकाले परिवर्तनको अपेक्षा पूरा भएन, सेवाग्राहीले प्रभावकारी सेवा पाएनन् जस्ता आलोचनाबीच निजामती सेवाले काम गर्दै आएको छ । तर वास्तविकता के हो र व्यावसायिकता कसरी विकास गरिन्छ भन्ने विषयमा भने गहन रूपमा कहिल्यै सोचिएन ।
  • निजामती सेवाको व्यावसायिकता अरु केही नभएर निजामती सेवाका सिद्धान्त र ती सिद्धान्तको कार्यान्वयन गर्ने प्रतिवद्धता हो । निजामती सेवाका सिद्धान्तको व्यावहारिक अभ्यास हो ।
  • राज्यका तर्फबाट आमनागरिकलाई दिइने सेवाको प्रभावकारी व्यवस्थापन, सेवा वितरणको कार्यकुशलता, कार्यसम्पादनमा सार्वजनिक जीवनका आचरणको अवलम्बन, कार्यालय व्यवहारमा पदीय भूमिका निर्वाह, तथ्यपरक निर्णय, सेवाप्रतिको निष्ठा र निष्पक्षता निजामती सेवाका सिद्धान्त हुन् ।
  • नर्थकोट ट्रेभेलियनको प्रतिवेदनमा राजनीतिक रूपमा मूल्यतटस्थ, गैरसैनिक चरित्र, योग्यता प्रणालीमा आधारित वृत्ति अवलम्बन गर्ने विवेकशील प्रणालीलाई नै निजामती सेवा भनी परिभाषा गरिएको थियो । परिभाषाले नै सेवाको सिद्धान्तलाई मार्गदर्शन गरेको छ ।
  • निजामती सेवामा व्यावसायिकताका लागि सिद्धान्त र मूल्यको अभिमुखीकरण पहिलो शर्त हो भने त्यसलाई कार्यरूप दिने क्षमता विकास सहितको कार्यवातावरण दोस्रो शर्त । सारमा भन्दा निजामती सेवा मूल्यमा आधारित हुनु नै निजामती सेवाको पेशागत व्यावसायिकता हो ।
  • प्रशासन सुधार, व्यवस्थापन सुधार, शासकीय सुधार वा अन्य जे भनौं, सबैको केन्द्रविन्दुमा रहने विषय भनेको संस्थागत क्षमता विकासमार्फत नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवा वितरण हो । यी कुरा पात्रको क्षमता, उत्प्रेरणा, इमान्दारिता र आचरण जस्ता पक्षबाट प्राप्त गर्न सकिने हो ।
  • निष्पक्षता, इमान्दारिता र व्यावसायिकता नै निजामती कर्मचारीका धर्म हुन् ।
  • कर्मचारीका काम २ प्रकारका हुन्छन् । पहिलो करारी काम, जुन स्पष्ट देखिन्छ । नियम, कानून, कार्यविवरण र करारबाट सुम्पिएको हुन्छ । व्यावसायिक कर्मचारीहरू करारी दायित्व पूरा गर्न बाध्यात्मक अवस्थामा रहन्छन् । दोस्रो हो, सांकेतिक काम । जुन कानूनहरूमा देखिँदैन तर आचरणबाट अपेक्षा गरिन्छ । किनकि निजामती कर्मचारी समाजको अब्बल प्रतिभा, पढालेखा, योग्यताबाट परीक्षित र अनुभवबाट खारिएको हुनाले उसको व्यवहार, आनीबानी, शीलसौकत पनि उदाहरणीय भइदिएहुन्थ्यो भन्ने सामाजिक अपेक्षा हुन्छ, संस्थाको अपेक्षा हुन्छ । त्यसो गर्नु उसको नैतिक दायित्व पनि हो ।
  • निजामती सेवाको व्यावसायिकता भनेको कानूनी एवं कार्यक्रमिक दायित्व पूरा गर्ने क्षमता र सामाजिक अपेक्षा पूरा गर्ने स्वभावको समष्टि हो । कानूनी र नैतिक दुवै रूपमा उत्तरदायी कर्मचारी नै व्यावसायिक ठहर्छ । 
  • निजामती सेवामा पेशागत व्यावसायिकता विकास गर्नुछ भने त्यसको शुरूआत माथिल्ला पदबाट गरिनुपर्छ । हरेक सुधारको प्रवेशविन्दु उच्च तह हो । उच्च पदाधिकारी उदाहरणीय, नियामक र प्रतिनिधित्वको भूमिकामा रहन्छन् । पेशागत जवाफदेहिता, कार्यसम्पादन, जागरुकता लगायत सबै विषयमा उच्च पदसोपानका पदहरू बढी जिम्मेवारीमा छ
  • न् । सुधार र राम्रा कुराको थालनी माथिबाट तलतिर सर्दै जान्छ, पानीजस्तै । त्यसैले व्यावसायिकता विकास नेतृत्व तहमा पहिला र त्यपछि क्यास्केडिङ गरिनुपर्छ । तर अल्पविकसित मुलुकमा सुधारमा बोटलनेक हुन्छ, ‘वोटलनेक इज अल्वेज दी भेरी टप अफ दी बोटल’ । 
  • निजामती सेवामा व्यावसायिकता विकासको विषय निरपेक्ष हुँदैन, अन्तरसम्बन्धित हुन्छ ।
  • कर्मचारीलाई नीति, विधि र प्रविधि अभ्यासको क्षमता विकासमार्फत परिवेशमा अनुकूलित बनाउँदै लाने व्यवहारोपयोगी तालिम चाहिन्छ ।
  • कर्मचारी निष्ठामा विभाजित र आग्रही देखिनुहुन्न ।
  • कार्यव्यवहारबाट सञ्चार गर्न सक्नुपर्छ कि निजामती सेवा राष्ट्रसेवा र वृत्तिसेवा एकसाथ गर्ने अपूर्व अवसर हो । तब मात्र निजामती सेवा साँच्चै व्यावसायिक बन्ने गर्दछ ।
  • https://lokaantar.com/story/121613/2020/10/18/gopinath-mainali