Saturday, November 28

महिला सशक्तिकरणको पुनर्व्याख्या किन?-सावित्रा ढकाल

  • अक्सफोर्ड डिक्सनरीले सशक्तिकरणलाई कुनै काम गर्न कसैलाई दिइने अख्तियार वा शक्ति भनेको छ। सशक्तिकरण एक प्रक्रिया हो जसले व्यक्तिलाई बलियो र आत्मविश्वासी बनाउँछ।
  • महिला सशक्तिकरणको शाब्दिक अर्थ महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो भन्ने हुन आउँछ। त्यसो भए महिला सशक्तिकरण नै किन त? पुरुष सशक्तिकरण भनेको त खासै सुनिँदैन। 
  • महिला सशक्तिकरण पितृसत्तात्मक मान्यताले प्रतिपादन गरेको अवधारणा हो, पुरुषलाई यो संरचनाले अख्तियार र शक्ति दुवै दिएको छ। पितृसत्तात्मक अवधारणाले पुरुष कमजोर हुन्छन् भन्ने मान्यता नै राख्दैन। सामाजिक संस्था, पद, मूल्य, मान्यता यसैको आधारमा निर्माण भएका छन् जसबाट हरेक पुरुष लाभान्वित हुन्छन् भन्ने विश्वास छ। 
  • कहिलेकाहीँ मलाई महिला सशक्तिकरण शब्द आफैंमा पूर्वाग्राही लाग्छ। यसले महिलाहरू अशक्त वा कमजोर छन् भन्ने मान्यता बोकेको छ। त्यसकारण महिला सशक्तिकरणलाई पुरुषको अवस्था र हैसियतसँग तुलना गरेर परिभाषित गरिन्छ। त्यसकारण पनि महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रका सम्भावना उजागर गर्नेभन्दा महिलालाई पुरुषसरह बनाउनेमा बढी जोड दिएको देखिन्छ। 
  • समग्रमा महिलाका अधिकार र आवश्यकता पुरुषबाट वा पुरुष केन्द्रित मानसिकताबाट परिभाषित भएका छन्। यसको प्रतिविम्ब भाषा, मूल्य, मान्यता, संरचना हरेक कुरामा झल्किन्छ। 
  • हरेक क्षेत्रमा महिला र पुरुषका लागि मापदण्ड फरक छन्। नेपालको संविधानले यौनिक अल्पसंख्यकलाई अन्यको पहिचान दिएको छ। तर सामाजिक संस्था, मूल्य, मान्यता पूर्ण रूपमा 'हेटेरोसेक्सुअल' छन्।
  • महिला सशक्तिकरण पुनः परिभाषित गर्दा पुरुष केन्द्रित दृष्टिकोणबाट बाहिर निस्किन जरुरी छ। यसका लागि सामाजिक नियम, लैंगिक मूल्य, मान्यतामा परिवर्तन ल्याउनुपर्छ। महिलाद्वेषी भाषा, कथन, भनाइमा पनि परिवर्तन ल्याउन जरुरी देखिन्छ। जवाफदेही राज्य व्यवस्था, महिलामैत्री कानुन निर्माण र त्यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो।
  • एउटै घरभित्र जागिरे श्रीमान र जागिरे श्रीमती, उद्यमी बहिनी र उद्यमी दाजुको हैसियत समान छैन। 
  • महिलाप्रति पूर्वाग्रह राख्ने, विभेद गर्ने र महिलालाई दोषी देखाउने सामाजिक नियम महिला सशक्तिकरणका वाधक हुन्। त्यसकारण महिला सशक्तिकरण फराकिलो रुपमा हेर्न र पुनर्व्याख्या गर्न जरुरी देखिएको हो।
  • हाम्रो भाषा, ज्ञान, कथन, सम्बनन्ध, सामाजिक संस्था, पद, र राज्य व्यवस्था समेत परम्परागत समाजमा आधारित छन्। महिला सशक्तिकरणको अवधारणाको जग पनि यही परम्परागत समाज र राज्य व्यवस्था हो। 
  • महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रको विविधता पूर्ण रूपमा आत्मसात गर्न सकेको छैन। त्यसकारण महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा विगतको समाज होइन वर्तमानको परिवर्तित समाज हेर्न जरुरी छ। 
  • विगतमा महिला सशक्तिकरणका लागि भएका प्रयासले महिलाहरूको शिक्षा, रोजगार, उद्यममा पहुँच बढेको छ। यी महिलाले विभेदकारी मूल्य, मान्यतालाई चुनौती दिएका प्रशस्त उदाहरण छन्।
  • भारतमा पुनम पाण्डेको गिरफ्तारी विरोधमा महिलाको नग्नता अश्लील होइन भन्ने ह्यासट्याग अभियान नै चल्यो। फरक देश, फरक प्रसंगका यस्ता अभियान महिला सशक्तिकरणका लागि किन महत्वपूर्ण छन् भने यो पितृसत्ताको विश्वासमाथि जवाबी हमला हो। यो विभेदकारी सामाजिक नियमविरूद्धको विद्रोह पनि हो।
  • विद्रोह महिला सशक्तिकरणका लागि निकै महत्वपूर्ण चरण हो। 
  • महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा पहिलेभन्दा राम्रो बनाउने दृष्टिकोणले हेर्न जरुरी छ। हरेक उपसमूह (जस्तै दलित महिला, ग्रामिण महिला, किशोरी, समलिंगी) भित्र सशक्त महिला को हो भन्ने उदाहरण निर्धारण गर्न सकियो भने महिलालाई पुरुषसँग तुलना गर्ने परम्परा अन्त्य गर्न सकिन्छ। 
  • महिला सशक्तिकरण भनेको महिलालाई सशक्त बनाउने मात्र होइन, सशक्त महिलासँग परिवार र समाजले कसरी र कस्तो व्यवहार गर्ने भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ। यसले पुरुषको व्यवहार र आचरणमा परिवर्तनको माग गर्छ।
  • पितृसत्ताबाट सबै पुरुष लाभान्वित छन् भन्ने कथन पनि भ्रम हो। पितृसत्ताले पुरुषभित्र पनि तह निर्माण गरेको छ।
  • त्यसकारण महिला सशक्तिकरण र समाज रुपान्तरणका लागि पुरुषमा परिवर्तन ल्याउन जरुरी छ। लैंगिक भूमिका र शक्ति सम्बन्धमा परिवर्तन ल्याउन पुरुषहरू परिवर्तन हुनै पर्छ। यसले सामाजिक रुपान्तरणको यात्रा सहज बनाउँछ। तर आचरण, व्यवहार, आनीबानीमा परिवर्तन नल्याउने हो भने पुरुषलाई परिवर्तित समाजमा समायोजन हुन कठिन छ। 
  • https://www.setopati.com/opinion/221830