Sunday, July 11

विधिको शासन कि शासकको विधि ?-सम्वृद्ध घिमिरे

  • कानुन समाज नियन्त्रणको एक उपकरण हो, जुन सार्वभौम नागरिकद्वारा स्वीकृत भएका कारण सर्वमान्य हुन्छ ।
  • पीडितलाई न्याय प्रदान गर्न मात्र प्रयोग नभई उत्पीडनलाई जायज ठहर्‍याउन पनि कानुनकै प्रयोग गर्न सकिन्छ ।
  • म्पूर्ण सार्वभौम नागरिकद्वारा समर्थित तथा स्वीकृत कुनै पनि कानुन केही आदर्श वा न्यायका सिद्धान्तद्वारा नियन्त्रित हुने गर्छ । जुन राज्य यस किसिमको कानुनद्वारा सञ्चालित हुन्छ, त्यसलाई विधिको शासनबाट शासित राज्य भन्न सकिन्छ । प्रत्येक राज्य विधिको शासनबाटै शासित हुनुपर्ने हो ।
  • राणाशासन र पञ्चायतीराजका दौरान कानुनलाई राजनीतिक दमनको औजारका रूपमा प्रयोग गरियो । कानुनमार्फत देशमा असमानता लागू गरियो अनि शासक वर्ग र प्रजाका लागि भिन्न–भिन्न नियम बनाइयो । यो एउटा यस्तो संयन्त्र थियो, जो ‘विधिको शासन’भन्दा ‘विधिमार्फत शासन’ तथा ‘शासकको विधि’का रूपमा प्रख्यात थियो, जसको मुख्य लक्ष्य नेपाली जनतालाई नियन्त्रण गरी उनीहरूमाथि शासन गर्नु थियो ।
  • कानुनी सकारात्मकतावादको परिप्रेक्ष्यमा विधिको शासनका धेरै अवधारणा विकसित भएका छन् । वर्तमानमा यी चारवटा सिद्धान्ततर्फ ध्यानाकर्षण गर्नु उपयुक्त
  1. कानुन स्पष्ट र सुलभ हुनुपर्छ : प्रत्येक नागरिकले कम्तीमा कानुनहरू के र कसो हुन् या छन् भनेर थाहा पाउनुपर्छ । कुनै पनि कानुन गोप्य हुन सक्दैन । किनकि कानुनहरू समाजका लागि हुन् । यस सिद्धान्तको अर्को प्रभाव यो हो कि तिनीहरू सरल र स्पष्ट शब्दमा परिभाषित हुनुपर्छ ।
  2. कानुनअघि समानता : कानुनअघि समानताको एक महत्वपूर्ण पक्ष न्यायमा समान पहुँच हो । यदि कमजोर वर्ग आफ्नो गरिबी, अशिक्षा वा अन्य कुनै प्रकारको कमजोरीका कारण आफ्नो अधिकार उपभोग गर्न अक्षम भए भने त्यहाँ समान न्यायको यो प्रत्याभूति निरर्थक हुन जान्छ । महिलाको कानुनी सशक्तीकरणले उनीहरूलाई समाजमा आफ्नो अधिकार र आवश्यकताको वकालत गर्न मात्र सक्षम नबनाई कानुनी सुधार प्रक्रियामा समेत उनीहरूको सहभागिता बढाउँछ । र, व्यवहारतः समाजका हरेक तह र तप्कामा महिलाको समान सहभागितालाई पनि यसले बढावा दिन्छ । पूर्वाग्रहले अन्यायतर्फ अग्रसर गराउँछ, खासगरी जब यो अल्पसंख्यक, उत्पीडित वर्ग र वर्णसँग सम्बन्धित हुन्छ । 
  3. कानुन निर्माण र संशोधनमा भाग लिने अधिकार : लोकतन्त्रको सार नै यो हो कि यसमा नागरिकको प्रत्यक्ष या अप्रत्यक्ष रूपले जनता स्वयंलाई नियन्त्रित गर्ने देशका कानुन निर्माण र संशोधनमा महत्वपूर्ण भूमिका हुने गर्छ । हाम्रो संविधानमा यस्तो अभ्यास चुनावमार्फत गर्ने व्यवस्था छ, जहाँ जनताले आफ्नो सार्वभौमिक मताधिकार प्रयोग गरेर आफ्ना प्रतिनिधिलाई संसद्को हिस्सा बनाउँछन् र संसद्ले कानुन बनाउँछ । हालसम्म सम्पन्न सातवटा आमचुनावमा जनताले ६ पटक सत्तापक्ष वा सत्ता चलाउने दल परिवर्तन गरेका छन् । पञ्चायतका राजा महेन्द्र र ‘पञ्चायतका आमा’ तुलसी गिरीले लोकतन्त्र नेपालका लागि उपयुक्त छैन भन्ने धारणा राखेका थिए । ठूलो मात्रामा असमानता, निरक्षरता, गरिबी र कथित अज्ञानका बाबजुद नेपाली जनताले आफूलाई सबल र सक्षम साबित गरेका छन् । राजा महेन्द्र र पञ्चायतराजका दिग्गजहरूको आकलनविपरीत नेपाली जनताले बारम्बार सत्ताधारी शासकको अधिनायकवादी, स्वेच्छाचारी र अपारदर्शी चरित्रलाई परास्त गरेर आफ्नो जिम्मेवारी वहन गरेका छन् । चाहे त्यो सत्ताधारी दललाई चुनावमा पराजित गरेर होस् वा अन्यायविरुद्ध सडक प्रदर्शन गरेर होस्, जनताले आफ्नो कर्तव्य यथोचित प्रदर्शन गरेको तथ्य जगजाहेर छ । जनताले यस मुलुकमा पटक–पटक आफ्नो कर्तव्य निर्वाह गरेका छन् । 
  4. स्वतन्त्र न्यायपालिका : न्यायपालिका भनेको त्यस्तो प्राथमिक निकाय हो, जसले यो सुनिश्चित गर्छ कि बनाइएका ऐन, कानुन या नियमावली संविधानअनुरूप छन् । न्यायपालिकाको मुख्य काम हो– कानुनको न्यायिक समीक्षा । यसलाई संविधानको आधारभूत संरचनाको अंशका रूपमा राख्नुपर्छ । संसद्ले समेत यसमा हस्तक्षेप गर्न सक्दैन । तर, न्यायपालिकाको महत्वले हामीलाई यो तथ्यबाट विमुख हुने अनुमति दिँदैन कि संवैधानिकताको रक्षा गर्ने जिम्मेवारी अदालतको मात्र होइन । राज्यका तीन अंगहरू, अर्थात् कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संवैधानिक विश्वासका समान अंग हुन् । न्यायपालिकाको भूमिका र न्यायिक कारबाहीको दायरा सीमित छ, किनकि यो यसअघि राखिएको तथ्यसँग मात्र सम्बन्धित छ । यो सीमितताले गर्दा अन्य अंगलाई संवैधानिक मूल्य कायम गर्ने र न्यायिक सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्न आवश्यक छ । न्यायपालिकाले यो महत्वपूर्ण नियन्त्रण र सन्तुलनका रूपमा काम गरिरहेको छ । न्यायपालिकाले सरकारी शक्ति र कार्यमा चेक एन्ड ब्यालेन्सको स्वतन्त्रता पाउनुपर्छ । नियोजित आवाज र बहुमतले केमा विश्वास गर्छ, त्यो न्यायिक निरूपणको आधार बन्न सक्दैन ।
  • रेनेसाका ज्ञानी लियोनार्दो दा भिन्चीले भनेका छन्– एकपटक तपाईंले आकाशको स्वाद चाख्नुभएपछि तपाईं सधैँ त्यतै हेर्नुहुनेछ । 
  • https://www.nayapatrikadaily.com/news-details/66775/2021-07-09

Monday, July 5

हाम्रो कमजोरी- आवेगमा, रिसमा, उत्तेजनामा प्वाक्क बोल्छौँ-प्रदीप गिरि

  • बीपी कोइरालाले सिकाउनुभए अनुसार नै ‘राजाको विरोध नगर्नू र कम्युनिस्टसँग नमिल्नू’ भन्‍ने सिद्धान्तलाई कुल्चेर २०४७ सालमा प्रजातन्त्र आयो । बीपीले भन्‍नुभएको थियो, ‘राजालाई नतर्साउनू, भारतलाई विश्वास नगर्नू अनि कम्युनिस्टसँग नमिल्नू ।’ यी तीनै कुरालाई पदधरण गरेर कांग्रेसले २०४७ सालमा प्रजातन्त्र ल्याएको हो ।
  • चर्चित भारतीय लेखक सर्वेश्वर दयाल सक्सेनाले लेखेका छन्, ‘संविधान नामक एक किताब, कागजका एक पुलिन्दा देश नहीं होता ।’
  • मुलुकको परिचय त त्यहाँको भाषा, संस्कृति, जनजाति, तिनीहरूको आशा तथा आकांक्षासहितको जीवन्त भूगोल हो । देह व्यवसाय गर्ने बादीदेखि कसैले छोएको नखाने ब्राह्मणसम्म देश हुन् । ती सबैका आशा आकांक्षा, स्वतन्त्रता व्यक्त गर्न संविधानमा जे सुकै लेखे पनि जो मुलुकको कार्यकारी पदमा रहन्छ, त्यो संवेदनशील हुनुपर्छ ।
  • यदि राष्ट्रलाई आफ्ना खुट्टामा उभ्याउने र आत्मनिर्भर बनाउने र राष्ट्रलाई साँच्चिकै राष्ट्र बनाउने हो भने एकसाथ धेरै क्षेत्रमा काम गर्नुपर्छ ।
  • न भारत, न अमेरिका, न फ्रान्स, न बेलायत । कसैले पनि प्रजातन्त्रलाई कहीँ पनि सहयोग गर्दैनन् । उनीहरू आफ्नै राष्ट्रिय स्वार्थ अनुसरण गर्छन् । उनीहरूका पनि आफ्ना रणनीतिक समझदारी हुन्छन् । के गर्दा म सुरक्षित हुन्छु, के गर्दा बढी लाभ हुन्छ । भूगोल, नदी, घाटी, जल, पानी, हेरेर उनीहरूले आफ्नो नीति तय गर्छन् ।
  • किसिन्जरले स्पष्ट लेखेका छन्, ‘वी डोन्ट माइन्ड कल्टिभेटिङ डेमोक्रेसी, इनकरिङ डेमोक्रेसी, हेल्पिङ डेमोक्रेसी; इफ इट कोइन्साइड्स विद् आवर फरेन पोलिसी ।’ (हाम्रो विदेश नीतिसँगै मेल खाने हदसम्म प्रजातन्त्रलाई विकसित गर्न, यसलाई दीगो बनाउन, सहयोग गर्न हामीलाई कुनै आपत्ति छैन), भएन भने (विदेश नीतिसँग मेल खाएन भने) त उनीहरूले आफ्नो बाटो छोड्दैनन् ।
  • यति हुँदा पनि हाम्रो समाज कस्तो हो ? हाम्रो क्रियाकलाप हेर्नुस् न ! हामी नागरिकले सत्तामा फेरि उही पुरानै मानिसहरूलाई पुर्‍याइदियौँ । त्यो हो भने क्रान्तिको के मतलब । त्यी पुराना मानिसहरूले केही सबक त लिनुपर्‍यो । त्यो पनि भएन, यो त फ्रान्सेली राज्यक्रान्तिजस्तो भयो । फ्रान्सेली राज्यक्रान्तिपछि फेरि राजतन्त्रको पुनःस्थापना भयो, उही काटिएका महाराजकै वंश- बुर्बान वंशका व्यक्तिलाई ल्याएर राजा बनाइयो । त्यत्रो रक्तपातबाट आएको परिवर्तनपछि त सिक्नुपथ्र्यो नि ! त्यो पनि भएन । इतिहासकारहरूले कति राम्रोसँग लेखेका छन्- उनीहरूले बिर्सेका पनि केही थिएनन्, सिकेको र सम्झेको पनि केही थिएनन् । उस्तै राजकाज, उस्तै श्रीपेच, उस्तै अगाडि-पछाडि बग्गी ।
  • क्रान्तिको काम भनेको गिरिजाप्रसाद कोइराला वा मरीचमान सिंहको ठाउँमा पुष्पकमल दाहाल बसाउने होइन । बहुदलकालमै लोकेन्द्रबहादुर चन्दभन्दा तल रहेर पनि एमालेका वामदेव गौतम जानुभएको थियो नि शासन गर्न, त्यस्तो पनि होइन । क्रान्ति भनेको सोच्ने तरिका, मानसिकता बदल्ने कुरा हो ।
  • त्यसकारण तरिका बदलौँ । व्यवहार बदलौँ र देशलाई एउटा राष्ट्रका रूपमा जीवन्त राख्न आम जनताको आशा, अपेक्षा र आकांक्षालाई सम्बोधन गरौँ । आयातित सोच र सबै विचारधाराका उही आयातित नीति, कार्यक्रम र बजेटले हाम्रो मुलुकको रूपान्तरण सम्भव देखिँदैन ।
  • https://ekagaj.com/article/thirty-thirty/18620/

Friday, July 2

कम पुँजीगत खर्चको सकस-शान्तराज सुवेदी

  • बजेट प्रस्ताव गर्दा अत्यन्त महत्त्वाकांक्षी र उत्साहित हुने तर कार्यान्वयनमा उदासीन हुने हाम्रो गैरजिम्मेवार कार्यशैलीले सार्वजनिक स्रोतको उपयोगमा मितव्ययिता, विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनमा समय, गुणस्तर र नतिजालाई सधैं बेवास्ता गरेको देखाउँछ ।
  • विगतमा नेपाल सरकारले सञ्चालन गरेका विकास कार्यक्रम तथा आयोजनाहरू संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीअनुरूप वर्गीकरण गरी बाँडफाँट गर्न २०७६ सालमा नेपाल सरकारले मापदण्ड नै बनायो । तर त्यसअनुरूप विकास कार्यक्रम तथा आयोजना स्रोतसाधनसहित प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएनन् ।
  • यसका अलावा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धी कानुन–२०७७ को दफा ४(१) ले एकल अधिकारको अतिक्रमण नगर्ने र तीनै तहको साझा अधिकारका विषयमा कार्यान्वयन गर्दा राष्ट्रियस्तर वा राष्ट्रिय महत्त्वका वा एकभन्दा बढी प्रदेशमा विस्तार भएको पूर्वाधार संरचनाको निर्माणमा मात्र संघले हात हाल्नुपर्ने व्यवस्था गरेको छ ।
  • सबै क्रियाकलाप हेर्दा बजेट तर्जुमा र कार्यान्वयनमा केन्द्रीकृत मानसिकता अझै त्याग्न नसकेको छर्लङ्ग छ । यो मानसिकता नै संघीय बजेट तथा आयोजना प्रस्तावमा देखिएको आधारभूत र जड समस्या हो ।
  • आर्थिक वर्ष २०७४–७५ मा पुँजीगत खर्च बढाउन धेरै नीतिगत तथा कानुनी परिवर्तन गरिए । बजेट कार्यान्वयन कार्यतालिकादेखि आयोजनाको पूर्वतयारी, डीपीआर निर्माण, कार्यविधि/निर्देशिका तर्जुमा तथा संशोधन एवम् ठेक्का प्रक्रिया र सम्झौता गर्नेसम्मको समय तोकी सचिव, विभागीय प्रमुख र आयोजना प्रमुखलाई बजेट कार्यान्वयनमा जिम्मेवार बनाउने प्रावधानहरू कडाइका साथ लागू गर्ने उद्घोष गरियो ।
  • दोस्रो चौमासिकसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने रकम अर्थ मन्त्रालयमा फिर्ता (समर्पण) गर्नुपर्ने व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानुनको दफा २१ ले गरेको छ । यसको पालना भने पटक्कै भएको छैन ।
  • छानिएका आयोजनाहरूको लागत अनुमान तेस्रो पक्षबाट मूल्यांकन गर्ने, आयोजना सम्पन्न भएको पाँच वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्ने, कार्यान्वयनको प्रगति ९० प्रतिशतभन्दा कम नभएसम्म आयोजना अवधिभर सम्बद्ध प्रमुखलाई सरुवा नगर्ने, राष्ट्रिय सतर्कता केन्द्रबाट आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउनेजस्ता महत्त्वपूर्ण र बजेट कार्यान्वयनमा कोसेढुंगा साबित हुने प्रावधानहरू कार्यान्वयन गर्न कुनै निकायले चासो देखाएन ।
  • जेठ र असारको खर्च हेर्दा बजेटको औसत ५० प्रतिशत आर्थिक वर्षका अन्तिम दुई महिनामा खर्च हुने गरेको छ । दस–एघार महिना कुम्भकर्णलाई माथ गर्ने गरी शीतनिद्रामा लीन हुने र असारमा आएर प्रगति देखाउनकै लागि हतारहतार काम गर्दा एकातिर कामको गुणस्तरमा बारम्बार प्रश्नचिह्न उठ्ने गरेको छ भने, अर्कातिर आर्थिक अनुशासनसमेत उल्लंघन भएका घटना बारम्बार बाहिरिने गरेका छन् । यसरी प्रगति देखाउनकै लागि हतारमा गरिने असारे विकास पनि आवश्यक ठाउँमा नपुगी सुगम र छिटो खर्च गर्न सकिने ठाउँमा केन्द्रित भएको तथ्य उपत्यकालगायतका सहरी क्षेत्रहरूमा पिच सडकमाथि पुनः पिच थप्ने कार्यले पुष्टि गरेको छ ।
  • बजेटको कहिल्यै निको नहुने अर्को रोग रकमान्तरप्रतिको मोह हो । बजेट खर्च नहुने आयोजनामा मन फुकाएर रकम विनियोजन गर्ने अनि सहज रूपमा कार्यान्वयन हुने र खर्च गर्न सकिने आयोजनामा न्यून बजेट विनियोजन गर्ने, आफ्नो सहजता र अनुकूलताका आयोजनामा वर्षको अन्त्यतिर रकमान्तर गरी खर्च गर्ने परिपाटीले प्रत्येक वर्ष बजेटको ठूलो हिस्सा प्रस्तावित आयोजना तथा कार्यक्रमबाट अन्यत्र रकमान्तर गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा पुँजीगत बजेट औसत ३५.७ प्रतिशत रकमान्तर गरिएको छ भने, कुल बजेट खर्चमा यो हिस्सा २३.८ प्रतिशत छ । राष्ट्रिय नीतिअनुरूप आयोजनाको प्राथमिकता निर्धारण गरी पहिलो प्राथमिकतामा मुलुकको आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा उल्लेख्य योगदान पुर्‍याउने र छिटो सम्पन्न गर्न सकिने थोरै आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सबैलाई भाग पुर्‍याउने गरी बजेट छर्ने परिपाटीले ९१ प्रतिशत आयोजना पहिलो प्राथमिकतामा राखिएका छन् भने दोस्रोमा ९ प्रतिशत मात्र ।
  • आयोजना कार्यान्वयनको जिम्मा लिने निर्माण व्यवसायीले ठेक्का हात पार्न आपसमा मिलेमतो गर्ने र काम सम्पन्न गर्नेभन्दा आयोजना ओगटेर धेरैतिर हात हाल्ने प्रवृत्ति मौलाएको छ । समयमा कार्य थालनी नगर्ने, विभिन्न बहानामा आयोजनाको लागत बढाउने भेरिएसनमा जोड दिने र यसलाई सरकारी पक्षबाटै मलजल हुनुले औंलामा गन्न सकिने निकै कमबाहेक सबैजसो आयोजना समयमा सम्पन्न भएका छैनन् । गुणस्तरमा बेवास्ता गर्दा टेकुमा बनिसकेको र बानेश्वर–कोटेश्वर जोड्ने वाग्मती पुलमा निर्माण थालिएको पक्की पुलको हालत हाम्रा अगाडि नै छ ।
  • समय थप गर्ने र भेरिएसनका माध्यमबाट आयोजनाको लागत वृद्धि गर्ने रोग जलविद्युत्, सडक, सिँचाइ, खानेपानीलगायत प्रायः आयोजनामा जटिल बन्दै छ । कार्यार्देशअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गर्नुको सट्टा उनीहरूकै जोडबलमा २०७३ मा दुई पटक र २०७६ सालमा एक वर्षमै चार पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले काम नगर्ने अटेरी प्रवृत्तिलाई प्रोत्साहन गरेको जगजाहेर नै छ । एकातिर निर्माण व्यवसायीको वित्तीय र प्राविधिक परीक्षणबिना ठूला ठेक्का दिने, अर्कातिर समयमा काम नगर्ने, मोबिलाइजेसन पेस्की लिएर चम्पट ठोक्ने र अन्तिम समयमा आएर विभिन्न बहाना बनाई जोगिन खोज्नेलाई संरक्षण र प्रोत्साहन हुनु एवं त्यस्ता कार्य दण्डनीय नहुनुले आगामी दिनमा आयोजना कार्यान्वयनमा थप समस्या बढ्दै जाने निश्चित छ  ।
  • बजेट कार्यान्वयन विभागीय मन्त्रीको प्राथमिकतामा नपरेको तथ्यलाई मनन गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन–२०७६ ले आफ्नो मन्त्रालयको बजेट कार्यान्वयनको त्रैमासिक रूपमा अनुगमन तथा मूल्यांकन मन्त्रीले गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । बजेट प्रस्तावदेखि कार्यान्वयन, अनुगमन र मूल्यांकनसम्मको वित्तीय उत्तरदायित्व विभागीय मन्त्रीले वहन गर्नुपर्ने, मातहतका जिम्मेवार अधिकारीको कार्यसम्पादनको नियमित निगरानी गर्नुपर्ने र विभागीय मन्त्रीको निगरानी प्रधानमन्त्रीबाट हुने थप व्यवस्था पनि यस ऐनले गरेको छ ।
  • प्रत्येक मन्त्रालयमा अनुगमन तथा मूल्यांकन महाशाखा/शाखा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति छन्, जसले मातहतका विकास आयोजना कार्यान्वयनमा देखिएका समस्या छलफल गरी निकास दिनुपर्छ र मन्त्रालयस्तरमा समाधान गर्न नसकिने भएमा प्रधानमन्त्रीको अध्यक्षतामा सबै विभागीय मन्त्री सदस्य रहेको राष्ट्रिय विकास समस्या समाधान समितिमा पुर्‍याई समस्या समाधान गर्नुपर्छ । तर, यी दुवै निकायले चौमासिक समीक्षामा रमाउनेबाहेक केही निकास दिन सकेका छैनन् ।
  • दस वर्षदेखि विकास आयोजनामा देखिएका साझा समस्याका रूपमा प्रत्येक समीक्षामा जग्गा अधिग्रहण र मुआब्जा, वन तथा निकुन्ज क्षेत्र, स्रोत व्यवस्थापन, आयोजनाको मोडालिटी, ठेक्का व्यवस्थापन, साइट क्लियरेन्स, निर्माण सामग्री आपूर्ति, जनशक्ति आपूर्ति तथा व्यवस्थापन, निकायगत समन्वय र ठेकेदारबाट समयमा काम नहुनुजस्ता विषयबारे निरन्तर छलफल मात्रै भइरहेका छन् ।
  • राष्ट्रिय गौरवका र प्राथमिकताप्राप्त आयोजना कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने घोषणा पटकपटक गरियो तर २०७५ सालमै सरकारकै अनुरोधमा नेपाल कानुन आयोगले तयार गरेको ‘राष्ट्रिय प्रथामिकताप्राप्त केही आयोजनाहरूको द्रुततर निर्माण तथा विकाससम्बन्धी ऐन–२०७५’ को मस्यौदा कुन निकायको दराजमा थन्किएको छ, कसैलाई थाहा छैन ।
  • योजना आयोग, प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयहरूले पनि संयुक्त र छुट्टाछुट्टै गर्ने अनुगमनको प्रतिवेदन समयमै पेस नहुने, अनुगमनबाट देखिएका कैफियत समयमा सम्बोधन नहुने र गलत गर्ने जिम्मेवार पदाधिकारीहरूलाई कारबाही नहुनेजस्ता कार्यले अनुगमनप्रतिको विश्वसनीयता क्रमशः घट्दै गएको छ । वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको अनुगमन र मूल्यांकनमा अत्यधिक रूपमा परामर्शदाताको भर पर्ने तर अनुगमनकर्ता दातृ निकायप्रति नै उत्तरदायी हुने परिपाटीले पनि आयोजना कार्यान्वयनमा समस्या देखिएको छ ।
  • वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वयनमा विकास साझेदारका कामकारबाहीले गर्दा पनि ढिलो हुने गरेको छ । खासगरी खरिद प्रक्रियाका प्रत्येक तहमा स्वीकृति लिनुपर्ने, स्थानीय मिसनहरूमा पर्याप्त अधिकारको अभावमा मुख्य कार्यालयबाट स्वीकृति लिँदा लामो समय लाग्ने, सानातिना समस्या र प्रक्रियामा समेत चासो राख्ने, शोधभर्ना र निकासा प्रक्रियामा समय लाग्नेजस्ता समस्या विकास साझेदारका तर्फबाट देखिएका छन् । वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन तयारीमा समय लाग्ने, त्यसको प्रतिवेदनबिना थप रकम निकासा नदिने, सार्वजनिक खरिदमा दाताको छुट्टै कार्यविधि अवलम्बन गर्नुपर्ने, कतिपय अवस्थामा आयोजना छनोटकै चरणमा अनावश्यक रूपमा राष्ट्रिय नीतिविपरीत स्थानीय जनताको अधिकार, स्वामित्व, मानव अधिकारजस्ता विषयहरूसँग जोडी समस्या उत्पन्न गराउनसमेत प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सघाउने गरेको पनि देखिएको छ । यी र यस्तै समस्या र कारणहरूले पनि वैदेशिक सहायतामा सञ्चालित आयोजनामा पुँजीगत खर्च वृद्धि हुन सकेको छैन ।
  • बजेट कार्यान्वयनमा देखिएका उल्लिखित जटिलतालाई हाम्रो समग्र शासकीय प्रणाली र सुशासन एवम् कानुन कार्यान्वयनको पक्षसँग जोडेर हेर्नुपर्ने अवस्था छ । विकासमा राजनीति, कानुन कार्यान्वयनमा उदासीनता र पक्षपात एवं गलत काम गर्नेलाई संरक्षण र प्रोत्साहन रहिरहेसम्म एउटा क्षेत्रमा गरिने सुधारको कुनै औचित्य रहँदैन । आयोजना छनोटदेखि नै राजनीति सुरु हुने, जग्गाप्राप्ति, क्षतिपूर्ति, मुआब्जा निर्धारण र वितरणमा पृष्ठभूमिमा बसेर जनता उचाल्ने प्रवृत्ति तत्काल बन्द गरी यस्ता कार्यलाई राजनीतिक दलहरू र तिनका भ्रातृ संगठनले प्रोत्साहन गरेमा बिनामोलाहिजा तत्काल कारबाही गर्नुपर्छ ।
  • संसदीय समिति, खासगरी सार्वजनिक लेखा समिति, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निगरानी गर्ने निकाय (ओभरसाइट एजेन्सी) ले पनि काम सुरु नगर्दै वा कार्यान्वयनको चरणमा रहेका बेलामै फाइल झिकाउनुभन्दा काम सकिएपछि विस्तृत छानबिन गर्दा कार्यान्वयनमा बाधा पुग्दैन । नतिजामूलक अनुगमन प्रणाली अवलम्बन गरी समय, लागत र गुणस्तरलाई ध्यानमा राखी राम्रो काम गर्ने ठेकेदार तथा आयोजना प्रमुख र अन्य जिम्मेवार कर्मचारीलाई पुरस्कृत एवं काम नगर्ने, दायित्वबाट पन्छिने तथा जिम्मेवारी नलिने ठेकेदार र कर्मचारीलाई प्रचलित कानुनबमोजिम समयमै कारबाही गर्नु अर्को महत्त्वपूर्ण अस्त्र हो ।
  • उपलब्ध स्रोतसाधनका आधारमा वस्तुगत सूचकमा आधारित कार्यसम्पादन करार, रकमान्तरलाई निरुत्साहन, तोकिएको समयमा बजेट समर्पण नगर्ने–नगराउनेलाई कारबाही, निकायगत समन्वय, कार्यसम्पादनमा पारदर्शिता एवम् आफूले सम्पादन गरेको कामको जवाफदेह हुने संस्कृतिको विकास गर्नैपर्छ । यी कार्यका अतिरिक्त केन्द्रीकृत मानसिकता त्यागी संघीय शासन प्रणालीअनुरूप सोच र व्यवहार देखाउन सकेमा मात्र आगामी दिनमा पुँजीगत खर्च वृद्धि हुने मात्र होइन, मुलुकमा सुशासन नै कायम हुनेछ ।
  • https://ekantipur.com/opinion/2021/07/02/162519075540051341.html