Friday, July 3

गजल

हेरी राख एक दिन तूफान भएर आउनेछु ।
तिम्ले जीवन जिउने उपदान भएर आउनेछु ।

समय हो सधै उस्तै रहन्न देखिहाल्यौ
जबर्जस्त फेरीएको राष्ट्रगान भएर आउनेछु ।

ढुंगा होइनौ तिमी बरोबर जान्दछु म
निर्लज्ज औ नग्न जानाजान भएर आउनेछु ।

गोल गोल नै त छ यो दुनियाँ आखिर
समयसँगै सान्दर्भको उठान भएर आउनेछु ।

यादै यादले सताउँदा नी पुगेनछ भने
निद हराम गर्ने परेशान भएर आउनेछु ।

रोक्ने हरेक प्रयास गर सके जती गर
बेनाम त्यो यौवनको पहिचान भएर आउनेछु ।

हजार बार भएपनी केरकार तिम्रोबारे
जित्छौ भने झुठो बयान भएर आउनेछु ।

तन भन्दा मन ठूलो भन्छन जान्नेहरु
याद सारा समेटेर जवान भएर आउनेछु ।

नजानेका बिग्रिएका सुत्रहरु जानिसके
पुरै हिसाव चट्ट मिलान भएर आउनेछु ।

च्याती च्याती हेरुन हेर्ने आँखाहरु सबै
ढाक्नै नसक्ने खुला मैदान भएर आउनेछु ।

ए सारा बैरी हो पुर्व सूचना छ तिमिलाई
झस्काउने नौलो मनोविज्ञान भएर आउनेछु ।

-सान्निध्य
२०६६।३।१६
मंगलबार

No comments:

Post a Comment