Friday, October 9

सरकारी काममा ढिलाइ किन ?-डा. हरिप्रसाद लम्साल

  • हामीलाई जे काम जिम्मा लगाइएको छ, त्यो काम हामीले समयमै गरेका छौँ त ? साना काम निपूणताका साथ सम्पन्न गर्दै गएपछि न ठूला काम देखिने हुन् । यहाँ त कामै नगरी ठूलो परिणामको अपेक्षा गरिन्छ । 
  • घरपरिवार, संगठन, मुलुक जे भने पनि त्यहाँभित्र एउटा दृश्य, अदृश्य सञ्जाल हुन्छ । सबै त्यसमा बाँधिएका हुन्छन् । सञ्जालका साथमा पदसोपान वा पद शृंखला पनि हुन्छ । सञ्जालले जोड्छ भने शृंखलाले सबैलाई काममा लगाइरहेको हुन्छ ।
  • पदसोपान वा पदशृंखलामा रहेका व्यक्तिको बीचमा अनौपचारिक सम्बन्ध हुन सक्छ । यस्तो सम्बन्ध कसैको बीचमा गाढा खालको हुन सक्छ भने कतिका बीच नहुन पनि सक्छ ।
  • काम सम्पन्न हुनका लागि धेरै पक्ष आवश्यक हुन्छन् । प्रणाली चलायमान बनाउने कार्य अत्यन्त महत्वपूर्ण हुन्छ ।
  • संगठनमा विभिन्न तह हुन्छन्, जति–जति तल्लो तहमा जान्छौँ, कामको विशिष्टीकरण हुँदै जान्छ । त्यसैगरी जति–जति माथिल्लो तहमा जान्छौँ, काम नीतिगत स्वरूपको बन्दै जान्छ, नतिजा बदलिन्छ । मुख्य काम समन्वय, अनुगमन र निर्देशन एवम् सहजीकरण गर्नेमा बदलिन्छ । 
  • उच्च नेतृत्वले मन्त्रालय तथा विभागमा गर्नुपर्ने हरेक क्रियाकलाप मलाई सोधेर मात्र गर भन्नु पनि कामलाई अल्झाउनु मात्र हो ।
  • नेतृत्वले सबै काम गर्छु भन्दा दुईवटा अवस्था आउन सक्छन् । पहिले जे काममा ध्यान दिनुपर्ने हो सोका लागि समय कम हुन सक्छ भने दोस्रोमा तल्ला तहको काम माथिल्लो तहले हस्तक्षेप गर्दा जवाफदेहिताको शृंखला खलबलिन सक्छ ।
  • उच्च तहले तल्लो तहको कर्मचारीलाई सोझै काम लगाउँदा व्यक्तिगत र मानवीय सम्बन्धमा त सुधार आउला, तर यसले संगठनभित्रको सम्बन्ध र जवाफदेहितालाई खलबलाउने निश्चित छ । यसबाट संगठनभित्रका सबै संरचना उत्तिकै मात्रामा क्रियाशील बन्न सक्दैनन् । व्यक्ति देखावटी रूपमा काममा संलग्न भएजस्तो गर्छ, तर आन्तरिक रूपमा प्रतिबद्ध भई काम गर्दैन । यसले संगठनको जीवनमा नकारात्मक ढंगले प्रभाव पार्ने निश्चित छ ।
  • मूलभूत मान्यताभन्दा बाहिर गएपछि काम हुन सक्दैन । हरेक कर्मचारीले आफ्नो सुविधा अर्कोसँग तुलना गरिरहेको हुन्छ । जब आफूलाई न्याय नभएको ठान्छ अनि उसले गरिआएको काम पनि छोड्छ । यी र यस्तै कारणले गर्दा कर्मचारीले काम गर्न चाहँदैनन् । समयमै काम सम्पन्न गर्नका लागि समग्र प्रणालीलाई परिचालन गर्नुपर्छ ।
  • मन्त्रालयमा दुई स्वरूपको नेतृत्व हुन्छ । राजनीतिक नेतृत्व जनादेश लिएर आएको हुन्छ । तर, जनादेश छ भन्दैमा जे पनि हुने भन्ने होइन । यसका पनि निश्चित सीमा तथा बन्धन छन् । यसैगरी स्थायी सरकारको रूपमा रहेको प्रशासनिक नेतृत्व सचिवले गरिरहेको हुन्छ । यी राजनीतिक र प्रशासनिक नेतृत्व चाहेर पनि पूर्णरूपमा जोडिन वा छुट्टिन सक्दैनन् । यो अवस्था हुनु भनेको दुवैका लागि अवसर र बाध्यता दुवै हो । प्रशासनिक नेतृत्व कमजोर हुँदा प्रणाली बस्दैन । यसैगरी राजनीतिक नेतृत्व कमजोर हुँदा नीतिगत सुधार हुन सक्दैन ।
  • प्रकृतिमा मानिसलाई सबैभन्दा विवेकी भनिए पनि यो प्राणी सबैभन्दा जटिल छ । 
  • मानिसका कामलाई व्यवस्थित गर्नका लागि नै विधि, पद्धति तथा प्रक्रिया तय गर्ने हो । फेरि यस्ता काम गर्ने वा बनाउने पनि व्यक्ति नै हो । अवस्थामा सुधार ल्याउने पनि व्यक्तिले नै हो । व्यक्तिको स्वभाव फरक–फरक हुन्छ । उसले आफूलाई अरूसँग पनि तुलना गरिरहेको हुन्छ । जब अन्याय महसुस गर्छ, उसको मन बटारिन्छ । कर्मचारीलाई राम्रोसँग परिचालन गर्नका लागि विधि, पद्धति र प्रणालीमा जोड दिनुपर्छ । राजनीतिक नेतृत्वले चाहेको सुधारको गति बढाउनका लागि चाहिने औषधि यही नै हो । यसबाट काम पनि हुन्छ र प्रणाली पनि सबल बन्दै जान्छ ।
  • https://www.nayapatrikadaily.com/news-details/52659/2020-10-08

No comments:

Post a Comment