Thursday, April 1

गाली र अभिव्यक्ति स्वतन्त्रता-डा. सुरेश आचार्य

  • जसलाई जे मन लाग्यो, त्यही भाषाशैलीमा प्रस्तुत हुनु वा हुन पाउनु अभिव्यक्ति स्वतन्त्रता हो वा नागरिक, समाज र राष्ट्रप्रति जिम्मेवारपूर्ण ढंगमा बोल्न पाउनुचाहिँ अभिव्यक्ति स्वतन्त्रता हो ?
  • भोल्तेयरको एउटा प्रसिद्ध भनाइ छ– म तिम्रो विचारसँग असहमत छु तर तिम्रो विचार व्यक्त गर्ने स्वतन्त्रताका पक्षमा सधैंँ लडिरहने छु।
  • अग्रेजी भाषामा ‘फ्रिडम अफ स्पिच’ र ‘फ्रिडम अफ एक्सप्रेसन’को फरक अर्थ छ। व्यक्तिको बोल्न पाउने स्वतन्त्रतालाई ‘फ्रिडम अफ स्पिच’ भनेर बुझिन्छ। यो बोल्न पाउने स्वतन्त्रता व्यक्तिले आफूलाई लागेको कुरा निर्वाध, कुनै डर, त्रास वा कानुनी बन्देजविना बोल्न पाउने अधिकारको अर्थमा बुझिन्छ। ‘फ्रिडम अफ एक्सप्रेसन’चाहिँ कुनै माध्यम प्रयोग गरेर आफ्ना कुरा अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हो।
  • संयुक्त राष्ट्र संघको घोषणापत्रमा रहेको धारा १९ (आर्टिकल नाइन्टिन) को परिभाषाले हरेक व्यक्तिलाई कसैको हस्तक्षेपविना आफ्नो विचार अभिव्यक्त गर्न पाउने एवं कुनै माध्यमबाट कुनै सीमाको पर्वाह नगरी विचार अभिव्यक्त गर्न तथा सूचना माग्न, पाउन र सम्प्रेषण गर्न पाउने अधिकारका रूपमा व्याख्या गरेको छ। राष्ट्र संघको यो परिभाषा मूलतः सत्रौँ शताव्दीका ब्रिटिस कवि जोन मिल्टनको तर्कमा आधारित छ। उनले बोल्न पाएर मात्र हँुदैन, सूचना माग्न र पाउन पर्छ र त्यसरी प्राप्त सूचना एकअर्कामा कुनै माध्यम प्रयोग गरेर वा नगरेर सम्प्रेषण वा प्रवाह गर्न पाउनुपर्छ भनेका छन्। यो सन्दर्भलाई सूचनाको हकमा लगेर अहिले व्याख्या गरिँदै आएको छ।
  • प्रसिद्ध भनाइ छ– तिम्रो स्वतन्त्रताको सीमा त्यहाँ अन्त्य हुन्छ, जतिबेला तिम्रो हातले अर्काको नाकमा छुन्छ। यो भनाइले अभिव्यक्ति स्वतन्त्रता सीमारहित हँुदैन भन्ने मान्यताको विकास गरेको छ। अर्थात्, अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष स्वतन्त्रता होइन, कानुनी आधारमा यसको सीमा निर्धारण गरिएको हुन्छ। खासगरी अर्काको अधिकार र संरक्षणमा बाधा नपुग्ने गरी स्वतन्त्रताको सीमा निर्धारण गरिन्छ। दुनियाँमा गाली, बेइज्जती, मानहानि, अश्लीलता आदि विषयका कानुन पनि यही सन्दर्भमा तयार भएका हुन्। एकले अर्कालाई कुनै कारण भएर वा नभई पनि गरिने गालीगलौज अभिव्यक्ति स्वतन्त्रता मानिँदैन। आफ्नो प्रशंसा गर्ने छूट त्यसबेलासम्म रहन्छ, जतिबेला अर्काले गालीको अनुभूति गर्दैन।
  • व्यक्तिका सन्दर्भमा पनि सार्वजनिक व्यक्ति र सामान्य व्यक्तिका बीच भेद गरेर सीमा निर्धारण गरिएका हुन्छन्। सार्वजनिक सरोकार नहुने वा सामाजिक असर वा प्रभाव नपर्ने विषयमा कसले के भन्छ वा गर्छ भन्ने कुरालाई गौण मान्ने पनि गरिएको छ। घरभित्र अभिव्यक्त हुने कतिपय विचार वा क्रिया समाजमा त्यही ढंगमा अभिव्यक्त गर्न सकिँदैन वा मिल्दैन। घरभित्र हुने झगडा सार्वजनिक जीवन वा अदालतमा प्रवेश नगरेसम्म अपराध पनि नहुन सक्छ। आन्तरिक असहमतिहरू आन्तरिकरूपमा नै समाधान खोज्ने गरिन्छ।
  • कुम जोडुन्जेल र अंगालो हालुन्जेल सुगन्धित ठानिएका सम्बन्ध स्वार्थ बाँझिनासाथ दुर्गन्धित हुनु आश्चर्य होइन।
  • लोकतन्त्र शासनको एउटा विधि मात्रै हो, शासनको एउटा स्वरूप हो, पद्धति हो। यस अर्थमा लोकतन्त्र राजनीतिक साधन मात्र हो। नागरिकले गर्ने परिवर्तनको अनुभूति साध्यको लक्ष्य हो। राजनीतिक दलका नेताहरूले दिने नीति र कार्यक्रम साध्य हुन्। यस्तो नीति राजनेताहरूले खोज्ने हो। अझ लोकतन्त्रमा राजनीति संस्कार सबैभन्दा बढी अपेक्षा गरिने विषय हो। लोकतन्त्र लिखत कानुन र संविधानका आधारमा मात्र चल्दैन। यसका केही संस्कारजन्य चरित्र हुन्छन्। अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रका गहनाका रूपमा लिइरहँदा यसका सीमा निर्धारण गर्ने काम पनि लोकतन्त्रले नै गर्छ जसले लोकतन्त्रका मूल्य र मान्यतामा अवरोधको कल्पना गर्दैन। ती मूल्य÷मान्यतालाई व्यवहारमा उतार्न सहजीकरणको काम गर्छ।
  • https://nagariknews.nagariknetwork.com/opinion/463241-1613960479.html?click_from=category

No comments:

Post a Comment