Friday, September 6

भ्रमहरूको आँखीझ्यालबाट चियाउँदा-केशव दाहाल

  • कुनै समय निष्ठा र मूल्यमान्यताको उदाहरण बनेको व्यक्ति अर्को दिन त्यही निष्ठाको सिँढीबाट ढुनमुनिँदै झर्छ कसरी ? पर भीडमा हेर्दा भगवान् जस्तो देखिने कुनै मान्छे यथार्थमा भ्रष्ट, ठग र पतीत हुन्छ कसरी ?
  • मान्छेको व्यक्तित्व बन्छ कसरी ? भनिन्छ— मान्छेको व्यक्तित्व निर्माणमा तीन चिज सबैभन्दा प्रभावकारी हुन्छन् । पहिलो, व्यक्तिले आफ्ना पुर्खाबाट प्राप्त गरेको आनुवंशिक चरित्र । दोस्रो, भौतिक संसारसँग उसले गर्ने संसर्ग । तेस्रो, व्यक्तिले आर्जन गरेको ज्ञान, चेतना, भावधारा र विवेक । आनुवंशिकी मान्छेको व्यक्तित्वमा आउने पितृहरूको प्रसाद हो । तर त्यतिले मात्र मान्छे पूर्ण हुँदैन । त्यसपछि, मान्छेको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण हुन आउँछ, व्यक्तिको सामाजिकीकरणको प्रक्रिया ।
  • अर्थात्, उसको भौतिक संसार । उसको संगत । घरपरिवार, साथीभाइ । स्कुल, कलेज । उसले चढेका सुख र दुःखका पहाड । त्यसपछि आउँछ, लौकिक संसारले दिएको अनुभव, ज्ञान र त्यसको लहरबाट निर्मित भावधारा । भनिन्छ— मान्छेको व्यक्तित्व निर्माणको प्रमुख तत्त्व हो आत्मचेतना । अथवा, मान्छेले आफूलाई चिन्न र बुझ्न आफैंभित्र निर्माण गरेको प्रकाश । संसारलाई हेर्ने र बुझ्ने संवेगात्मक दृष्टि । आत्मसंयमता र आत्मपरख गर्ने सामर्थ्य । आन्तरिक संघर्ष, प्रतिबद्धता र विवेक । यिनै अनेकौं भावधारा, अनेकौं रङ र सुगन्धको संयोजनबाट बन्ने एक अद्भुत चिज हो— मान्छेको व्यक्तित्व ।
  • मान्छेभित्र दोहोरो व्यक्तित्व र विरोधाभास बन्छ कसरी ? मान्छे यस्तो बेकामे, पत्रु र दोग्ला बन्छ कसरी ?
  • भनिन्छ— मान्छेको व्यक्तित्व स्वयंभित्रका विरोधाभासहरूको अन्तरविरोध र एकताबाट निर्माण हुन्छ । यहाँ ‘विरोधाभास’ भनेको मान्छेको व्यक्तित्वमा आउने सकारात्मक र नकारात्मक प्रवृत्तिको ‘सम्बोधन’ हो । जो मान्छे संसारिक जीवन सँगसँगै जन्मन्छन् र हुर्कंदै जान्छन् । जस्तो, मान्छेसँग दैनिक जीवन संघर्षमा ठोकिन आउने अनेकौं घटनाले ऊभित्र माया, प्रेम, सद्भाव अदि सद्गुण मात्र निर्माण गर्दैन, रिस, आवेग, प्रतिशोध, लालसा, तिर्सना र अतृप्ति पनि निर्माण गरिरहेको हुन्छ । जस्तो, एउटा किसान मालिकको ज्यादतीका विरुद्ध लडिरहँदा, ऊभित्र मुक्तिको चाहना त प्रबल हुन्छ नै, ‘म मालिक भएँ भने’ भन्ने प्रतिशोधी भावना पनि सँगै हुर्किरहेको हुन सक्छ ।
  • केटाकेटीलाई ठ्लूो मान्छेले कान निमोठ्दा ऊभित्र निर्माण हुने प्रतिक्रिया हामीले सुनेका छौं– ‘पख म तँलाई ठूलो भएपछि देखाइदिन्छु’ । 
  • मान्छेको जीवन थाहै नपाई पलपल आन्तरिक द्वन्द्व र व्यक्तित्वको टकरावमा गुज्रिरहेको हुन्छ, जो स्वयंलाई पत्तै हुँदैन ।
  • मान्छेको व्यक्तित्वमा देखापर्ने विरोधाभासको अर्को कारण हो, रूप र चरित्रको बेमेल । मान्छेले समाजका अगाडि देखाउनुपर्ने रूप एउटा छ, आफैंभित्र निर्माण भएको चरित्र अर्कै छ । रूप र चरित्रको यो विरोधाभासले मान्छेको व्यक्तित्वलाई भयंकर दोग्ला बनाउँछ ।
  • जस्तो देखिनुपरेको छ भयंकर ज्ञानी, तर ज्ञानको धोक्रो खाली छ । जसले जीवनमा बेइमानीभन्दा धेरै केही गरेनन्, तर देखिनुपरेको छ भयंकर इमानदार । जसले जीवनमा षड्यन्त्रलाई नै राजनीति बनाए, तर गर्नुपरेको छ विचारको कुरा । जसको मन पैसा, सत्ता र शक्तिको लोभ, मोह र तृष्णाले भरिएको छ तर देखिनुपरेको छ इमानदार । जसका वरिपरि बिचौलिया मात्र छन् तर देखिनुपरेको छ भयंकर साधु । दुनियाँका अगाडि क्रान्तिकारी देखिनु छ, तर त्यही क्रान्तिको भारी बोक्न ऊसँग काँध छैन । बोल्दा भयंकर जान्ने देखिनुपरेको छ तर आफ्ना ज्ञानका सीमाले आफैंलाई धोका दिन्छन् । जसले बिहान उठेदेखि मध्यरातसम्म अंकगणित र जालझेल सोच्नुपर्छ र गर्नुपर्छ नैतिकताको भाषण । अर्थात्, मान्छे जब आफ्नै सार्वजनिक छवि र चरित्रको विरोधाभासले थिचिन्छ, निस्कन्छ बडो दोग्ला भएर ।
  • मान्छे बिग्रने अर्को कारण हो, ऊभित्रको सपना र क्षमताको विरोधाभास । जस्तो, जब नेतृत्वको सपना र उसको क्षमताबीच सन्तुलन रहन्छ ऊ जे हो, त्यही देखिन्छ । उसको व्यक्तित्वमा कुनै विरोधाभास हुँदैन । तर व्यक्ति स्वयंका सपना र महत्त्वाकांक्षा पूरा गर्न ऊसँग भएको क्षमताले पुग्दैन, यस्तो बेला नेतृत्व असन्तुलित बन्न पुग्छ । अर्थात्, जब व्यक्तिका सपना र उसका सीमा फरक पर्छन्, व्यक्ति भयंकर दोग्ला, बहुरूपी र खतरनाक बनेर निस्किन्छ । त्यसो त, त्यो बेलासम्म मान्छेको असली अनुहार देखिँदैन, जुन बेलासम्म ऊ दायित्वभन्दा पर बसेर प्रश्नमात्र गरिरहन्छ । जब दायित्वमा आउँछ, त्यो बेला उसको क्षमता प्रकट हुन्छ र देखिन्छन् उसका सीमाहरू ।
  • साधारण मान्छेभित्र निहित विरोधाभास, अन्तरद्वन्द्व, लोभ, मोहको नियन्त्रण सामाजिक मूल्यमान्यता, निष्ठा, अनुशासन र कानुनले गरिरहेका हुन्छन् । 
https://ekantipur.com/opinion/2024/06/21/looking-through-the-window-of-illusions-30-29.html

No comments:

Post a Comment