Saturday, November 3

मिटुको हलचल-साजना लामा

  • सामाजिक परिवर्तन लामो प्रक्रिया हो । कतिपय अवस्थामा शताब्दी नै लाग्न सक्छ । जसरी आज महिलाले पुरुष सरहको सामाजिक भूमिका खोजिरहेका छन्, हाम्रोजस्तो समाजमा त्यो परिवर्तन सजिलै प्राप्त हुने देखिँंदैन । यद्यपि कुनै–कुनै अभियान क्रान्तिजस्ता हुन्छन् । छोटो समयमा प्रशस्त विचार–विमर्श हुन्छन् र चुरोमै पुग्छन् ।
  • महिलाले आफूमाथि भएका गलत व्यवहारलाई प्रतिवाद गरिरहँदा यसले महिलाको सशक्तीकरणलाई बल पुर्‍याउँछ । 
  • महिलाको तितो अनुभवलाई प्रमाण चाहिन्छ भन्दै विषय बंग्याउने प्रयास हुनसक्छ । मिटु अभियान कानुनीभन्दा पनि नैतिकताको धरातलमा उभिएको छ । मिटुले लैंगिक समानता र सामाजिक न्यायको सन्दर्भमा बहस निम्ताएको छ । महिलालाई हेर्ने असमान सामाजिक संरचनाको परिभाषा बदल्न दबाब हुनसक्छ, यो अभियान । 
https://www.kantipurdaily.com/bibidha/2018/10/31/1540951232951896.html

समतामूलक समृद्घिको बाटो - हरि फुयाल

परिवर्तनकारी कानून
  • नेपालको संविधानमा मौलिक हकको रूपमा रहेका आर्थिक, सामाजिक अधिकारहरूको कार्यान्वयनले राज्यको राजनीतिक र आर्थिक स्वरुपमा परिवर्तन ल्याउनेछ । संभवतः नेपालको संविधानलाई ‘समाजवाद उन्मुख’ उल्लेख गरिएको सन्दर्भमा यस्ता मौलिक हकको कार्यान्वयनले सिर्जना गर्ने सामाजिक र मानवीय सुरक्षा तथा गरीबी निवारणको उद्देश्य एउटा कारण हुनुपर्दछ । यस प्रयोजनको लागि संघीय संसदले शिक्षा सम्बन्धी हक, आवास सम्बन्धी हक, उपभोक्ता संरक्षणको हक, खाद्यान्नको हक, स्वास्थ्य सम्बन्धी हक, रोजगारीको हक, सामाजिक सुरक्षाको हक तथा वातावरण सम्बन्धी हक, सुरक्षित मातृत्व तथा प्रजनन् सम्बन्धी हक, बालबालिकाको हक, दलित समुदायलाई भूमिमा पहुँचको हक, अपाङ्गता भएका व्यक्तिहरूको हक र अपराध पीडितको संरक्षण सम्बन्धी हक कार्यान्वयन गर्न नयाँ ऐन जारी गर्नुका साथै पुराना ऐनहरू संशोधन गरेको छ । यस्ता ऐनले नेपाली राजनीतिक र सामाजिक आन्दोलनका दीर्घकालीन मागलाई केही मात्रामा सम्बोधन गर्न सफल भएको छ । त्यस्तै जारी गरिएका ऐनहरू मौलिक हक कार्यान्वयनका लागि अपुग भएमा सर्वोच्च अदालत मार्फत पुनरावलोकन वा संघीय संसदले संशोधन गरी परिमार्जन गर्ने ढोका पनि खुला भएको छ । यस्ता कानूनहरूको कार्यान्वयन नेपाली समाजलाई थप समतामूलक बनाउने महत्वपूर्ण अवसर हो ।
  • संघीय संसदको पछिल्लो बैठकबाट मौलिक हकहरूको कार्यान्वयनका लागि १५ वटा कानून पारित भएका छन् । यी कानूनले संघीय मन्त्रालय र विभाग मात्र होइन प्रान्तीय र स्थानीय सरकारको पनि दायित्व स्थापना गरेका छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, आवास, खाद्य जस्ता आधारभूत मौलिक हक कार्यान्वयन गर्न स्थानीय तहलाई धेरै जिम्मेवारी दिइएको छ । त्यस्ता हकको प्रचलनमा समस्या आएमा सम्बन्धित स्थानीय तहको न्यायिक समितिलाई उजुरी सुन्ने क्षेत्राधिकार प्रदान गरिएको छ । सरकारले यी नयाँ कानूनको प्रचारप्रसार गरेर मात्र पुग्दैन बरु यस्ता कानूनको अर्थ र कार्यान्वयन गर्ने तरिकाबारे क्षमता विकास अभियान सञ्चालन गर्नु जरूरी छ । मौलिक हक सम्बन्धी यी कानूनहरूको कार्यान्वयनका क्रममा हुनसक्ने दुरुपयोगलाई रोक्न सेवाग्राही र कर्मचारीहरूलाई प्रशिक्षित गराउन पनि जरूरी छ ।
चुनौती र अवसर
  • संघीय संसदबाट जारी भएका नयाँ कानूनहरूले न्यायिक क्षेत्रमा पनि चुनौती र अवसरहरू सिर्जना गरेका छन् । यी कानूनले स्थानीय तहका न्यायिक समितिहरूलाई थप जिम्मेवार बनाएका छन् । न्यायिक समितिका निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने हुँदा जिल्ला तहमा न्यायाधीश, कानून व्यवसायी, सरकारी वकिल र कर्मचारीहरूले आर्थिक, सामाजिक हकहरूको अर्थ र कार्यान्वयन गर्ने तरिकाका बारेमा क्षमता बढाउनुपर्ने देखिन्छ । त्यस्तै, यस्ता कानूनहरू मौलिक हककै विस्तारित रूप भएकाले कानूनको कार्यान्वयनमा देखिने चुनौती वा विमुखीकरण विरुद्ध व्यक्तिगत रूपमा वा नीतिगत समस्या भएमा सार्वजनिक सरोकारका रूपमा उच्च अदालत वा सर्वोच्च अदालतमा रिट निवेदन दिन सकिन्छ ।
  • स्वाभाविक रूपमा नयाँ कानूनहरूले मुद्दाको संख्या मात्र होइन उपचारको तरिकामा पनि परिवर्तन ल्याउने छन् । नागरिक र राजनीतिक हकहरूको कार्यान्वयनमा अदालतले विभिन्न आदेश दिने गरे पनि आर्थिक–सामाजिक हकमा अदालतले अनुगमनकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ । कार्यान्वयनको क्रमिक प्रगति तथा प्रगतिशीलताको मूल्याङ्कन गर्न सम्बन्धित निकायका कागज, तथ्याङ्क तथा विवरणहरू अध्ययन गर्नुपर्ने र निर्देशनात्मक प्रकृतिका आदेशहरू दिनुपर्ने हुन्छ ।
  • हाम्रो न्यायिक प्रणाली यस्ता अधिकारको कार्यान्वयनमा अभ्यस्त छैन । यस्ता कानूनहरूको कार्यान्वयनका लागि कानून व्यवसायी, न्यायाधीश, अदालतका कर्मचारी, सरकारी वकिल, सम्बन्धित मन्त्रालयसँगै प्रान्तीय र स्थानीय तहमा पनि आर्थिक, सामाजिक अधिकारको न्यायिक मान्यताबारे स्पष्ट हुनुपर्छ । अदालत र अन्य न्यायिक क्षेत्रले यस सम्बन्धमा आफ्नो क्षमता विकास गर्न कार्यक्रम तय गर्नुपर्ने र सेवाग्राहीहरूलाई यस्ता कानूनले सिर्जना गरेको हक प्राप्त गर्ने वातावरण बनाउनुपर्ने चुनौती र अवसरको सिर्जना भएको छ ।
  • केन्द्रीय, प्रान्तीय र स्थानीय तहमा यस्ता मौलिक हकको कार्यान्वयन गर्न परिचयपत्र मात्र नभई धेरै कागजात तथा रेकर्डहरू तयार पार्नुपर्ने भएकोले ती सामग्रीहरू उत्पादन र प्रयोग गर्न सक्ने क्षमताको तत्काल विकास गर्नुपर्ने देखिन्छ । मौलिक हक कार्यान्वयनका लागि कानून बनिसकेपछि तिनीहरूको कार्यान्वयनमा ढिलाइ गर्नु वा कुनै प्राविधिक वा नीतिगत समस्याले अधिकारको प्रचलनमा अवरोध आउनु पनि त्यस्तो मौलिक हकको उल्लंघन भएको मानिने हुँदा राज्यले तत्काल कार्यान्वयनको पहल थाल्नु आवश्यक छ ।
  • आर्थिक, सामाजिक हकहरूको कार्यान्वयनमा राज्यले प्रशस्तै लगानी गर्नुपर्दछ । जारी भएका कानूनहरू कार्यान्वयनका लागि खर्च जुटाउने सम्बन्धमा संघीय, प्रान्तीय र स्थानीय सरकारलाई जिम्मा दिइएको छ । यसका लागि मूलतः संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने हुन्छ । विगतमा पनि यस्ता शीर्षकमा बजेट विनियोजन नभएको होइन तर अब आफ्नो बजेटमा यदि मौलिक हक कार्यान्वयन गर्ने ऐनहरूले माग गरे बमोजिम बजेट छुट्याउन सकिएन भने स्वयम् बजेटकै पुनरावलोकन गरिपाउन सर्वोच्च अदालतमा मुद्दा चलाउन सकिने व्यवस्था गरिएको छ । यसभन्दा अघि छुट्याइएको बजेट रकम भन्दा कम गरिएमा पुनरागमन गरिएको मानी अदालतले त्यस्तो कार्यलाई निषेध गर्न सक्दछ । यस अर्थमा मौलिक हक कार्यान्वयन गर्ने ऐनहरूले नेपालको आगामी बजेटको स्वरुपलाई बाध्यात्मक रूपमा परिवर्तन गरेको छ ।
  • बजेट निर्माता अर्थ मन्त्रालयले तत्काल यस विषयमा पहल शुरू गर्नुपर्ने देखिन्छ भने प्रान्तीय र स्थानीय तहका बजेट तर्जुमा र कार्यान्वयनमा सम्बन्धित मन्त्रालय वा प्रमुखहरूले तत्काल यस्ता ऐनहरूले बजेटमा पार्ने प्रभावबारे अध्ययन–विश्लेषण गर्न जरूरी छ ।
  • नेपालको परम्परागत नागरिक समाजमा पनि यस्ता कानूनहरूको अर्थ र कार्यान्वयनको तरिका तथा पैरवीमा परिवर्तन ल्याउन जरूरी छ । यस क्षेत्रमा आलोचनात्मक सोच भन्दा अध्ययन अनुसन्धानपछि गरिने सकारात्मक पहलको खाँचो हुन्छ । सेवाग्राहीको हक मात्र होइन संघीय संरचनामा राज्यको दायित्वको पहिचान हुनु अहिलेको आवश्यकता हो । यस्ता क्षेत्रमा गरिने लगानीले प्रत्यक्ष राजनीतिक लाभ नमिल्ने हुँदा दातृ निकायहरू पनि सहयोगका लागि अग्रसर हुने छैनन् । यस प्रसङ्गमा सामाजिक संस्थाहरूलाई नयाँ नीति मार्फत सञ्चालन गर्न राज्यले विशेष पहल गर्नुपर्छ ।
अरूका लागि उदाहरण
  • आर्थिक सामाजिक हक कसले प्राप्त गर्न सक्दछन् भन्ने सम्बन्धमा संविधानमा ‘आर्थिक रूपले विपन्न’ पारिएका जस्ता केही वाक्यांशहरू उल्लेख गरिएको छ । नयाँ कानूनमा यस्ता शब्दहरू नियममा वा नेपाल सरकारले राजपत्रमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ । वास्तवमा संविधानले आर्थिक रूपले विपन्न को हुन् भन्ने विषयमा संघीय कानूनको परिकल्पना गरेको छ ।
  • आर्थिक, सामाजिक अधिकार हुनेखानेलाई होइन बरु गरीबीको रेखामुनि रहेका, सबैभन्दा विपन्नलाई प्राथमिकताका साथ राष्ट्रिय मूलप्रवाहमा ल्याउने तथा गरीबीबाट निकाल्ने प्रयोजनको लागि उपयोग गरिनुपर्दछ । करीब २५ प्रतिशत नेपाली गरीबीकै कारण नागरिक र राजनीतिक हकको निर्वाध उपयोग गर्न नसक्ने अवस्थामा छन् । तसर्थ नयाँ कानूनले प्रदान गर्ने हकको सीमा र त्यसको दुरुपयोगको संभावनालाई प्रभावकारी रूपमा अनुगमन गरिनुपर्दछ । यस्तो कार्य संघीय, प्रान्तीय र स्थानीय व्यवस्थापिका भित्रबाट थालनी हुनुपर्दछ ।
  • दक्षिणएशियामा मात्र होइन संसारमा धेरै कम राष्ट्रहरूले आर्थिक, सामाजिक हकलाई मौलिक हक बनाएका छन् । त्यसमा पनि निकै थोरै राष्ट्रले कार्यान्वयन गर्ने कानून बनाएका छन् । हामीले संवैधानिक र कानूनी रूपमा इतिहास रचेका छौं । अब प्रभावकारी कार्यान्वयन गर्न सकेमा हामीले स्थापना गरेका मूल्य, मान्यता र प्रक्रिया अन्य देशका लागि अध्ययनको विषय हुन सक्दछ भने हाम्रो गरीबी सम्बोधनको उपाय र समतामूलक समृद्धिको बाटो पनि ।
http://nepalihimal.com/article/16252

Friday, November 2

परिवर्तन र संस्कार - मनीष झा

  • गएको सात दशकमा मुलुकमा सात वटा संविधान बने र ६ पटक राजनीतिक व्यवस्था परिवर्तन भयो, यो प्रक्रियाको उद्देश्य परिवर्तन थियो । 
  •  विद्यमान परिस्थितिबाट असन्तुष्ट भएपछि हामीले धेरै पटक पद्धति र प्रक्रिया परिवर्तन त गर्‍यौ, आफ्नै संस्कार परिवर्तन गर्ने प्रयास भने गरेनौं ।
  • हार्वर्ड बिजनेस रिभ्यू मा प्रकाशित एक लेख अनुसार, संस्कारका तीन प्रमुख गुण हुन्छन्ः विधि, व्यवहार र अभ्यास । जबसम्म हामीले विधि, त्योसँग सम्बन्धित व्यवहार र त्यसको अभ्यास परिवर्तन गर्दैनौं, तबसम्म हामी परिवर्तनको लागि तयार छैनौं भन्ने बुझ्न्छि । परिवर्तनका लागि दशकौं समय गुजारिसक्दा पनि हामीले स्पष्ट अनुभूति गर्न सक्ने परिवर्तन अझै आएको छैन ।
  • अहिले तत्कालका लागि व्यवस्थाको विकल्प कसैले खोजेको छैन र लामो राजनीतिक संक्रमण भोगेका जनतालाई सरकारको विकल्प खोज्ने हतारो पनि छैन । थाहै छ, विकल्पमा आउने पनि पुरानो संस्कारधारी नै हुनेछन् । हामीले राजनीतिक परिवर्तनसँगै विधि, व्यवहार र अभ्यासको संस्कार परिवर्तन नगर्ने हो भने कहिल्यै समृद्धि हासिल गर्न सक्ने छैनौं ।
http://nepalihimal.com/article/16250

अपरिहार्य राजस्व सेवा - डा. शान्तराज सुवेदी

दक्ष, व्यावसायिक र काममा समर्पित राजस्व प्रशासनबाट मात्र आन्तरिक स्रोतको उच्चतम परिचालन सम्भव हुन्छ । राजस्व प्रशासन अर्ध–प्राविधिक किसिमको संगठन भएकोले शैक्षिक योग्यता र अनुभवको पृष्ठभूमि मिल्ने हुनुपर्छ । यसलाई ध्यानमा राखेर नै अधिकांश मुलुकले राजस्व प्रशासनलाई छुट्टै विशेषज्ञ सेवाको रूपमा विकास गरेको पाइन्छ । नेपालमा पनि सार्वजनिक प्रशासनलाई व्यावसायिक र विशेषज्ञ सेवाको रूपमा विकास गर्न २०४८ सालमा प्रशासन सेवाभित्र राजस्व समूह गठन गरिएको थियो । कार्य विशिष्टीकरणको आधारमा परराष्ट्र, लेखा र हुलाक समूह त्यसअघि नै थिए । राजस्व, परराष्ट्र, लेखा र हुलाक समूहमा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) देखि राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सम्मका पदहरूलाई समूहीकृत गरी तिनलाई विशेषज्ञ सेवाको रूपमा विकास गर्ने प्रयास गरिएको थियो ।
तर समूह गठनको समयदेखि नै राजस्व समूहमा अन्य सेवा समूहबाट प्रवेश गर्न चाहने र हुलाक समूहबाट बाहिर निस्कन चाहने कर्मचारीका कारण यी दुई समूह खारेज गर्न चर्को दबाब पर्‍यो । बारम्बारको प्रयत्नपछि राजस्व, हुलाक र लेखा समूहबाट सहसचिवको पदलाई २०५७ सालमा समूह बाहिर राखियो भने २०६१ सालमा हुलाक समूह नै खारेज भयो । यसबाट क्रमशः विशेषज्ञ सेवाको रूपमा विकास हुँदै गएको हुलाकको सेवा झ्न् खस्किन गयो भने राजस्व समूह खारेज गर्नुपर्ने दबाब अद्यापि छँदैछ ।
यसबीचमा, परराष्ट्र समूहलाई छुट्टै सेवा बनाई अझ् विशिष्टीकृत सेवाको रूपमा विकास गरिएको छ । तर, राजस्व प्रशासन विशिष्टीकृत र विशेषज्ञ सेवाको रूपमा विकास हुनसकेको छैन । विभिन्न कार्यदल र विज्ञ समितिले अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा समेत स्वायत्त राजस्व प्राधिकरण वा अर्धस्वायत्त राजस्व बोर्ड मार्फत राजस्व प्रशासन संचालन गर्न दिएको सुझाव पनि कार्यान्वयन भएको छैन ।
छुट्टै राजस्व सेवा
संघीय वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन सके मात्र संघीय शासन प्रणाली सफल हुन्छ । यसको लागि आन्तरिक स्रोतको अधिकतम परिचालन हुनुपर्छ । राजस्वको समुचित परिचालन आफैंमा चुनौतीपूर्ण छ । संघीयता कार्यान्वयनपछि राजस्वका कतिपय महत्वपूर्ण स्रोत प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका छन् भने शिक्षा, स्वास्थ्य जस्ता करहरू खारेज गरिएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न संकलन गरिने एक प्रतिशत सामाजिक सुरक्षा करको पनि विकल्प खोज्नुपर्ने अवस्था छ । प्रदेश र स्थानीय तहले मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कको ३० प्रतिशत राजस्व बाँडफाँड न्यून भएको गुनासो गर्दै आएका छन् ।
अर्कातिर, सुरक्षा, ऋणको साँवाब्याज भुक्तानी, सरकारी कर्मचारीहरूको तलबभत्ता र निवृत्तिभरण, दैनन्दिन प्रशासनको संचालन खर्च तथा विकास परियोजनाहरूका लागि आवश्यक स्रोतको जोहो गर्न नेपाल सरकारमाथि अत्यधिक चाप परिरहेको छ । त्यसैले पनि, आन्तरिक स्रोतको उच्च परिचालनको लागि राजस्व प्रशासन दक्ष र व्यावसायिक हुनु अपरिहार्य छ ।
राजस्व प्रशासनका कर्मचारीहरूमा कर, भन्सार, लेखा परीक्षण विषयका सैद्धान्तिक, व्यावहारिक र कानूनी पक्षमा ज्ञान एवं राजस्व चुहावटका नियन्त्रणका लागि खास दक्षता चाहिन्छ । राजस्व सम्बन्धी कानून कार्यान्वयन, सम्बन्धित कागजपत्र छानबिन, अनुसन्धान, आर्थिक, मौद्रिक तथा राजस्व सम्बन्धी नीति तर्जुमा लगायतका कार्य गर्नुपर्ने हुँदा राजस्व प्रशासनको काम जटिल र अन्य सेवा समूहको भन्दा फरक छ ।
तर, नेपालमा यसको महत्वलाई उपेक्षा गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गत रहँदै आएको राजस्व अनुसन्धान विभागलाई अहिले प्रधानमन्त्री कार्यालय अन्तर्गत राखेर सामान्य प्रशासन समूहका कर्मचारीहरूको नेतृत्वमा संचालन गरिएको छ । कार्यालय प्रमुखहरू राजस्व समूहका साटो प्रशासनतर्फका राखिनुले पनि राजस्व चुहावट नियन्त्रणको कामको दक्षता र चुस्ततामा प्रश्न उठेको छ । राजस्व प्रशासनको अनुभव नभएका कर्मचारीबाट राजस्व चुहावट नियन्त्रण हुन सक्दैन । यसै पनि, पछिल्ला वर्षहरूमा अनौपचारिक अर्थतन्त्रको आकार बढिरहेको छ । राजस्व चुहावटका नयाँ–नयाँ प्रविधि र तरिका अभ्यासमा आएका छन् । यस्तो अवस्थामा अर्थ मन्त्रालय आफैंले योग्य, दक्ष र व्यावसायिक कर्मचारीहरूको इकाइ बनाएर विभागीय काम–कारबाहीको निगरानी र चुहावट नियन्त्रण सम्बन्धी काम गर्नु जरूरी छ । राजस्व प्रशासनका अनुभवी र दक्ष जनशक्तिको छिटो सरुवा र अनुभवविहीन व्यक्तिलाई राजस्व प्रशासनको महत्वपूर्ण कार्यालयमा पदस्थापनाले स्रोत परिचालनमा गम्भीर विचलन ल्याउन सक्छ । त्यसैले निजामती सेवाभित्र राजस्व प्रशासनलाई छुट्टै विशेषज्ञ सेवाको रूपमा विकास गर्न कन्जुस्याईं गर्नुहुँदैन ।
अन्यत्रको अभ्यास र विगतका सुझव
विभिन्न मुलुकमा राजस्व प्रशासनका फरक–फरक अभ्यास छन् । तर, कुनै पनि मुलुकमा राजस्व प्रशासनमा काम गर्ने कर्मचारीलाई अन्य सेवा समूहमा सरुवा गर्ने चलन छैन । भारतमा केन्द्रीय सेवाको रूपमा छुट्टै राजस्व सेवा गठन गरिएको छ, जसमा प्रत्यक्ष कर र भन्सार तथा अन्तःशुल्क प्रशासन संचालन गर्न छुट्टाछुट्टै राजस्व बोर्ड र समूह राखिएका छन् । राजस्व बोर्डमा राजस्व सेवाकै विशिष्ट श्रेणीका कर्मचारी रहन्छन् । बाङ्लादेश र पाकिस्तानले पनि यसकै सिको गरेका छन् । श्रीलंका, अफगानिस्तान, चीन जस्ता मुलुकहरूमा निजामती सेवाभित्र छुट्टै राजस्व सेवा गठन गरिएको छ । सिंगापुर, पेरु तथा तान्जानिया, युगाण्डा लगायतका अधिकांश अफ्रिकी र केही युरोपियन मुलुकहरूमा छुट्टै ऐनद्वारा स्वायत्त राजस्व प्राधिकरण नै गठन गरिएको छ । अन्य धेरै मुलुकमा केहीमा राजस्व बोर्ड र अधिकांशमा छुट्टै राजस्व सेवा मार्फत राजस्व प्रशासन संचालन गरिएको पाइन्छ ।
नेपालको राजस्व प्रशासनलाई छुट्टै व्यावसायिक र विशेषज्ञ सेवाको रूपमा विकास गर्न विभिन्न अध्ययन गरिएका छन् । वेदानन्द झ आयोगको २०२६ सालको मध्यावधि प्रतिवेदनमा प्रशासन सेवा अन्तर्गत छुट्टै राजस्व समूह गठन गर्न सुझाव दिइएको थियो । त्यसैगरी, २०३८ सालमा डा. यादवप्रसाद पन्तको अध्यक्षतामा गठित आर्थिक आयोगले पनि राजस्व प्रशासनलाई चुस्त बनाउन राजस्व समूह गठन गर्न सुझएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले राजस्व प्रशासनलाई स्वायत्त संस्थाको रूपमा विकास गर्न नेपाल सरकारलाई पटक–पटक सुझाव दिंदै आएको छ । यसका साथै, कर प्रणाली पुनरावलोकन कार्यदल २०५२, राजस्व प्रशासन संगठनात्मक संरचना सुधार सुझव कार्यदल २०६३ र राजस्व परामर्श समितिले समेत राजस्व बोर्ड गठन गर्न पटक–पटक सुझाव दिएका छन् ।
केन्द्रीय राजस्व बोर्ड गठन सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल, २०६६ ले त राजस्व बोर्ड ऐनको मस्यौदा नै तयार गरी सरकारलाई बुझएको थियो । विभिन्न आर्थिक वर्षका बजेट वक्तव्यहरूमा राजस्व प्रशासनको संगठनात्मक संरचनामा पुनरावलोकन एवं स्वायत्त राजस्व बोर्ड गठनको थालनी गरिने प्रतिबद्धता जनाइएको छ । अर्थ मन्त्रालयले केन्द्रीय राजस्व बोर्ड विधेयकको मस्यौदा नै तयार गरी कानून आयोगसँग गएको वर्ष नै परामर्श गरेको थियो ।
अब के गर्ने ?
यसअघि गरिएका अध्ययन तथा विज्ञ कार्यदलहरूले छुट्टै राजस्व सेवा वा बोर्डको खाँचो औंल्याउनुले यसतर्फ नीतिगत निर्णय लिन बल दिएको छ । तर, विज्ञ कार्यदल, विश्व ब्यांक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय संस्था एवं राजस्व प्रशासनका अनुभवीहरूले दिएको सुझावलाई उपेक्षा गरेर स्वार्थप्रेरित निर्णय गर्ने प्रवृत्ति अहिले पनि प्रशासन संयन्त्रभित्र कायम छ । अमूक व्यक्तिले गर्न सक्ने काम मैले किन नसक्ने ? राजस्व प्रशासनमा निश्चित कर्मचारीहरू मात्र किन ? जस्ता गलत र विकृत सोचाइका कारण राजस्व समूहलाई विशेषज्ञ सेवा बन्न रोकिरहेको छ ।
राजस्व समूहमा प्रवेश गर्न खास विषयहरू अध्ययन गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता फेरेर अहिले जुनसुकै विषयको शैक्षिक उपाधि हासिल गरे पनि हुने व्यवस्था गरिएको छ । यसले राजस्व प्रशासन कमजोर र अव्यावसायिक बन्दै गएको छ । तर, नीतिनिर्माताहरूले यसतर्फ ध्यान पुर्‍याएका छैनन् । विज्ञहरूको आधारयुक्त सुझावका बाबजूद संघीय निजामती सेवा ऐनको विधेयकमा छुट्टै राजस्व सेवा प्रस्ताव नगर्नु तर विशेषज्ञ सेवाको रूपमा रहेका प्राविधिक प्रकृतिका शिक्षा तथा विविध सेवालाई समेत प्रशासन सेवामा समाहित गर्न चाहनुले निजामती सेवामा भद्रगोल र अव्यावसायिकता निम्त्याउन खोजिएको देखिन्छ ।
प्रस्तावित व्यवस्था सहितको ऐन आए सिंगो निजामती सेवा र कार्यरत सम्पूर्ण कर्मचारीका लागि प्रत्युत्पादक हुन सक्छ । संघीय निजामती सेवा विधेयकमा छुट्टै राजस्व सेवा राखेर यस अन्तर्गत आन्तरिक राजस्व, भन्सार र राजस्व अनुसन्धान समूह गठन गर्नु जरूरी छ । अन्यथा, संघीय वित्त परिचालनको संभावित चुनौती थेग्न र जोखिम व्यवस्थापन गर्न कठिन पर्न सक्छ ।

Thursday, November 1

अख्तियारको इच्छाशक्ति - - सुदर्शन आचार्य

  • चुनाव लड्नुपूर्व इमान बेचेर टिकट किन्नुपर्ने, इमान बेचेरै कार्यकतालाई आर्थिक रूपमा परिचालन गर्नुपर्ने र  मतदातासमेत किन्नुपर्ने थितिले हाम्रो लोकतन्त्र नै बेथितिको व्यवस्था बन्दै गएको छ ।
  • मन्त्रिपरिषद्का नीतिगत निर्णय, न्यायालय, नेपाली सेना र निजी क्षेत्रजस्ता पाटोमा कानुनत: अख्तियारले हात हाल्न नमिल्ने विद्यमान व्यवस्था छ । यिनै क्षेत्रमा नीतिगत र संस्थागत भ्रष्टाचार ठूलै स्केलमा हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । 
  • राजनीतिक तहलाई भ्रष्टाचार गर्ने छिद्र देखाउने कर्मचारी नै हुन् । तर, राजनीतिक तहमै हात हाल्न नसक्दासम्म आयोगको प्रभावकारितामा प्रश्न उठिरहन्छ ।
  • सत्ताको माध्यमद्वारा राजनीतिक शक्तिले राज्यको स्रोतसाधनमाथि प्रभुत्व कायम राख्ने स्वार्थ राख्दासम्म सुशासन सम्भवै छैन । राज्यका निकाय कमजोर तर तिनका सञ्चालक बलिया अनि नागरिक सचेतनाको स्थितिमा सुधार नआएसम्म आयोगलाई मात्र दोष दिएर उम्किन मिल्दैन । आयोगले आत्मविश्वास देखाउन नसक्दा पनि भ्रष्टाचार न्यूनीकरण सम्भव छैन । मुलुकलाई समृद्ध बनाउने आधार शिक्षामा गुणस्तर, सुशासनमैत्री प्रणाली र नेतृत्वमा आवश्यक इच्छाशक्ति नै हो । सँगै, भ्रष्टाचारविरुद्ध लड्न प्रभावकारी कानुन निर्माण पनि अनिवार्य सर्त हो ।
  • नेपाल सन् २०११ बाट भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गर्ने पक्ष राष्ट्र बनेको हो । सार्वजनिक सदाचारविपरीत, कर्तव्यविमुखता, कानुनी शासनको बर्खिलाप गर्नेजस्ता व्यक्तिलाई कानुन र प्रविधि अपनाई कारबाही गर्दै भ्रष्टाचार निर्मूल पार्ने विषयमा महासन्धिले दायित्व निर्धारण गरेको छ । 

http://nepal.ekantipur.com/news/2018-10-30/20181030172043.html

सरकारलाई हाई-हेलो-कार्तिक १३, २०७५ प्रद्युम्नप्रसाद उपाध्याय

  • सामाजिक सञ्जालमा नागरिकको उपस्थिति हेर्दै राज्यले सार्वजनिक नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई जनमैत्री बनाउन यसको उपयोग गर्न सक्छ ।
  • नागरिकका भावना राज्य संयन्त्रमा बस्नेले बुझ्नु जरुरी छ । राज्यलाई नागरिकसम्म पुग्न यति सजिलो इतिहासमा सायदै कहिल्यै भएको होला र ? जति अहिले सामाजिक सञ्जालले बनाएको छ । 
  • अमेरिकाले भिसा दिँंदा सामाजिक सञ्जालमा निवेदकले पोष्ट गरेका सामग्री हेर्छ । अमेरिकी राष्ट्रपति आफ्ना अधिकांश निर्णय र सूचना आफ्नो ट्विटर खाताबाट सार्वजनिक गर्छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका लागि सामाजिक सञ्जाललाई विशेष स्थान दिन्छन् ।
  • हालै गरिएको एक अन्तर्राष्ट्रिय अध्ययन अनुसार संयुक्त राष्ट्र प्रणालीमा आबद्ध विश्वका १९३ राष्ट्रमध्ये ९७ प्रतिशत राष्ट्रका सरकारहरू ट्विटरमा छन् । उक्त अध्ययन अनुसार विश्वभरि ९५१ वटा सरकारी आधिकारिक ट्विटर खाताहरू सक्रिय छन् । सरकारहरूले रुचाएको दोस्रो लोकप्रिय सञ्जाल फेसबुक बनेको छ, जसमा १७९ देशका सरकार सक्रिय छन् ।
  • सामाजिक सञ्जालमा व्यक्त भएको सार्वजनिक सरोकारको कुनै व्यक्तिको सानो विचार तत्कालै धेरै व्यक्तिसामु पुर्‍याउन सहज छ । उक्त प्रसारित विचारसँंग समान धारणा राख्नेहरू आफ्ना भनाइ थप्दै जान्छन् र विमति राख्नेले विरोध पनि गरिहाल्छन् । विचार सशक्त छ भने सरकारलाई नीतिगत परिमार्जनका लागि दबाब पुग्छ र नीति फेरिन्छन् । सार्वजनिक नीतिको एजेन्डा सेटिङमा एक सामान्य नागरिकले आफ्नो स्थान राख्न थालेको छ । नागरिकका कुरा समूह–स्रोत (क्राउड सोसिङ) वा खुला–स्रोत (ओपन सोर्सिङ) बाट सरकारले ग्रहण गर्छन् । पहिला यस्तो थिएन, केही विशेषज्ञमात्र बसेर नीति निर्णय गर्थे । नागरिक सार्वजनिक सेवाका उपभोक्तामा सीमित रहेनन्, उनीहरू नीति निर्माता र नीति उपभोक्ता दुवै बन्न पाएका छन् ।
  • ह्यासट्याग, मेन्सन विधि प्रयोग गरी नीति संशोधन गर्न सरकारलाई नागरिकले दबाब दिन्छन् । आमसञ्चार र अनलाइन सञ्चार माध्यमले पनि सामाजिक सञ्जाललाई थप साथ दिन्छन् । अर्कोतर्फ सरकारलाई सामाजिक सञ्जाल प्रयोग गर्दा मुख्यत: तीनवटा फाइदा छन् । पहिलो, झन्झट बिना सूचना लगभग शून्य खर्चमा जनसमक्ष पुर्‍याउन सक्छ । मध्यस्थ प्रयोग गर्नु पर्दैन । दोस्रो, सूचना र गुनासा राय तथा सुझावका रूपमा सरकारी संयन्त्र समक्ष शीघ्र पृष्ठपोषणका रूपमा पुग्ने गर्छन् । तेस्रो, जतिबेला चाह्यो, नागरिकसँंग थप प्रत्यक्ष संवाद गर्न सकिन्छ ।
  • सार्वजनिक क्षेत्रमा सामाजिक सञ्जालले तीन विशेषता अँंगालेको छ । पहिलो, परम्परागत आमसञ्चार भन्दा यसको परिधि फराकिलो छ । यो दुईतर्फी हुन्छ । सबैका सबैथरी विचार समेटिन सक्छन् । कुनै द्विविधा छ भने शीघ्र निराकरण हुनसक्छ । दोस्रो, मोबाइलको प्रयोगले आफ्ना विचार माइक्रो ब्लगिङद्वारा सम्प्रेषण गर्न सरल र छरितो भएको छ । मोबाइलमा खिचेका भिडियो, तस्बीर, सन्देशलाई ब्लग गरी क्षणभरमा प्रयोगकर्तासामु पुर्‍याउन सकिन्छ । तेस्रो, परम्परागत सञ्चार माध्यमले कतिपय सामाजिक समस्या ध्यान दिन भ्याएका हुन्नन् वा त्यस्ता विषयसम्म तिनको ध्ष्यान पुगेको हुँदैन, त्यस्ता समस्यालाई उजागर गर्न सामाजिक सञ्जाल प्रभावकारी छन् ।
  • तर केही समस्या पनि छन् । अफवाह तीव्र गतिमा फैलिन्छ र राज्य संयन्त्रको टाउको दुख्छ । राज्यको शक्ति गलत सूचना नियन्त्रण गर्न प्रयोग गर्नुपर्ने हुन्छ । अपराध कार्यमा सामाजिक सञ्जालको प्रयोग बढेको छ । सामाजिक सञ्जाल लतका रूपमा विकास भएकोले मानिसको समय उत्पादक कार्यमा कम लाग्न थालेको छ । तथापि राज्यले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लैजानुको विकल्प देखिन्न ।
  • सरकारले हालसालै सबै सरकारी निकायलाई आफ्ना सूचना जनसमक्ष शीघ्र पुर्‍याउन र जनताका सुझाव र गुनासा सम्बोधन गर्न सामाजिक सञ्जाल कार्यविधि लागु गरेको छ ।
https://www.kantipurdaily.com/opinion/2018/10/30/154086615548465039.html

किन संवैधानिक आयोगहरु गठन हुन सकेन ? कार्तिक १३, २०७५ -साविर अन्सारी

  • संविधान भनेको मुलुक सञ्चालनका निम्ति चाहिने दुरदृष्टिको एक महत्वपूर्ण मार्गचित्र हो ।
  • संविधान तथा कानून निर्माण गर्ने जिम्मा लिएका राजनैतिक दलहरुले संविधानलाई गतिशील र सर्वस्वीकार्य दस्तावेज बनाउन सोही अनुरूपको व्यवहारका साथैं संस्कार हुनुपर्दछ । 
  • संविधानमा लेखिएका व्यवस्था आफैँ सक्रिय वा चलायमान हुने गर्दैन किनभने त्यसलाई सक्रिय तथा गतिशील बनाउने कार्य राजनीति गर्नेहरूको मुख्य कर्म तथा धर्म पनि हो। यसका साथैं संविधानमा केही विरोधाभाषपूर्ण व्यवस्था रहेछन् भने पनि त्यसको सकारात्मक र निकास योग्य व्याख्या गर्नु संवैधानिक विधिशास्त्रको एक मान्य सिद्धान्त विश्वभरि नै रहेको छ।
  • संवैधानिक अंग आफैंमा राज्य सञ्चालनका निम्ति सरकार तथा नागरिकका निम्ति एक अभिन्न अंगको रुपमा स्थापित रहेको छ। संवैधानिक निकायहरू राज्यको नियन्त्रण तथा सन्तुलनका सूत्रका रुपमा एक अहम् भूमिका खेल्ने अंगको रुपमा समेत रहेका छन्।
  • राज्यका संरचनाहरू बुद्धिमत्ता पूर्वक व्यवस्थित नगरिएमा नागरिकका अधिकार र अपेक्षाहरु पूरा हुने सम्भावना ज्यादै नै न्यून हुन जान्छ । यस्ता कारण तथा सम्भावनाहरुले गर्दा लोकतान्त्रिक मुलुकहरूमा गरिएका युगान्तकारी खोजहरूमध्ये संवैधानिक निकायहरू आफैंमा एक विशिष्ट उपलब्धि बनेको देखा परेको छ।
  • लोकतान्त्रिक मूल्य मान्यता स्वीकार्ने मुलुकमा संवैधानिक अंगको रुपरेखा आफैंमा एक स्वतन्त्र, स्वायत्त, तटस्थ एवं निष्पक्ष हुने गर्दछ। सरकारको कामकारवाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका हक अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुन सक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शीता ल्याउन तथा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नका निम्ति नै संवैधानिक अंगको आवश्यक्ता एकदमै महत्वपूर्ण तथा योगदानमूलक छ। यस्ता निकाय राज्य तथा नागरिकका निम्ति मानिसको मुटु झैं महत्वपूर्ण तथा नभई नहुने अंगको रुपमा समेत रहेको प्रमाणित भएको छ।
  • कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका अन्य निकायहरुलाई संवैधानिक अंग भनिन्छ जसको मुख्य काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको संख्या, नियुक्ति एवं बर्खास्तीको सम्पूर्ण व्यवस्था पनि संविधानमा नै स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ।
  • दुनियाँका ईतिहासका पाना पल्टाउँदै जाँदा संवैधानिक निकायहरुको व्यवस्था खास गरी सरकारका संरचनाहरूलार्ई जवाफदेही, कार्य चुस्तता, पारदर्शी, सन्तुलित एवं निष्पक्ष पार्नका निम्ति निर्माण गरिएका संयन्त्र हुन्। स्पष्ट रुपमा भन्ने हो भने यसको निर्माणकारी अवधारणा भनेको सरकारका अधिकारलार्ई केही मात्रामा भए पनि सीमित पार्ने तथा उत्तरदायी बनाउने रहेको छ।
  • नेपालको संवैधानिक विकास क्रममा २००७ को अन्तरिम संविधानदेखि यस्ता निकायहरूको व्यवस्था गर्ने क्रम सुरु भएको हो र अन्तरिम संविधान, २०६३ सम्म आइपुग्दा यस्ता निकायको कार्यक्षेत्र र संख्या पनि बढेका थिए। अन्तरिम संविधानले महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र महान्यायाधिवक्ता गरी सात संवैधानिक निकायको व्यवस्था गरेको थियो।
  • साथैं वर्तमान संविधान २०७२ को भाग धारा ३०६ को परिभाषा र व्याख्या अनुसार “संवैधानिक निकाय” भन्नाले यस संविधान बमोजिम गठन गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ। त्यसमा कुल १३ वटा संवैधानिक निकाय रहेका छन्।
  • यी निकाय सार्वभौम जनताका मार्गदर्शक हुन्, जसको क्रियाशीलतामा जनभावना अधिक मात्रामा कार्यान्वयन हुने गरेको देखिन्छ। जस्तो कि लोकसेवा आयोगको क्रियाशीलतामा सार्वजनिक पदहरूमा योग्यता प्रणाली र समान अवसर सुनिश्चतता भई सुशासनमा सहयोग पुग्दछ भने निर्वाचन आयोगबाट निष्पक्ष चुनाव मार्फत राज्य प्रणालीमा जनमत संस्थागत हुन्छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्रियाशीलतामा सदाचारी र नैतिक कार्यप्रणाली कायम गर्न सहयोग पुग्दछ भने मानवअधिकार आयोगले नागरिक अधिकारको कार्यान्वयन र महालेखा परीक्षकले स्रोत साधनको बैधानिकता कायम गर्न सघाउँछन्। यी सबै निकायले राज्य प्रणाली माथि नियन्त्रण र सन्तुलन समेत गर्ने कार्य गर्दछन्।
  • संविधानमै १३ वटा आयोग रहने संवैधानिक व्यवस्था रहे पनि उक्त्त संविधान जारी भएको तीन वर्षसम्म पनि अधिकांश आयोग अस्तित्वमा नआएका हुन्। थारु, समावेशी, आदिवासी जनजाति, मधेश र वित्त आयोग नयाँ संवैधानिक आयोगको रूपमा गठन गर्नुपर्ने व्यवस्था छ भने दलित, मुस्लिम र महिला आयोग यसअघि स्थापना भए पनि नयाँ संविधानले संवैधानिक आयोगमा रुपान्तरण गरेको थियो। संविधानमा उल्लेख भएका आयोग गठन गर्नुको साटो सरकारले कार्यान्वयनको पक्षलाई एकदमै फितलो बनाएको देखिन्छ।
  • संविधान घोषणा भएको मितिले दश वर्षमा पुनरावलोकन हुने गरी बन्न लागेका सात संवैधानिक आयोग गठनबारे कुनै छलफल सुरु नभएको अवस्था रहेको छ। 
  • विभिन्न वर्ग र समुदायका अधिकार र सशक्तिकरणका लागि संविधानले व्यवस्था गरेका आयोग गठनमा विलम्ब हुनु भनेको तिनका अधिकारबाट वञ्चित पारिनु बराबर हो।
  • संवैधानिक आयोगहरु सरकारको ‘वाचडग’ को रुपमा उपस्थित हुने गरेकाले पनि आफ्ना कमजोरी लुकाउन सरकारले आयोग गठनमा बदनियत देखाइरहेको बुझ्न त्यति गाह्रो नहोला।
  • आर्थिक तथा सामाजिकलगायत अन्य विभिन्न कारणहरुले पछाडि परेकालाई समान रुपमा लोकतन्त्रको लाभ दिन संवैधानिक आयोग गठनमा ढिलाइ गर्नु हुँदैन । 
https://www.kantipurdaily.com/bibidha/2018/10/30/15408890312814376.html