Saturday, November 24

बसाइँ-सराइमा मधेस-चन्द्रकिशोर

  • आफू बसेको ठाउँ परित्याग गरी नयाँ ठाउँ गएर बसोबास गर्ने प्रक्रियालाई बसाइँ–सराइ भनिन्छ । यसरी बसाइँ सर्ने अनेक कारण छन् ।
  • पहाडबाट अन्यत्र बसाइँ सर्ने क्रम रहेजस्तै मधेसी समाजमा त्यो प्रवृत्तिको पुरानो परम्परा भेटिँंदैन । मधेसका भाषाहरूमा ‘बसाइँ–सराइ’को अर्थ सम्प्रेषित गर्ने ठ्याक्कै शब्द भेटिंँदैन । यस क्षेत्रको भाषा भकारीमा बसाइँ–सराइ जनाउने शब्द नहुनुले यसको आम प्रवृत्तिको इतिहास नरहेको देखिन्छ । बरु यहाँ ‘डिह’ (निवास स्थल) शब्द छ र डिहको पुरानो बासिन्दालाई डिही भन्ने गरिन्छ । डिहीको विपरीतार्थक नवघरिया हुन्छ । अर्थात् यस्तो व्यक्ति जो अर्को ठाउँबाट बास सरेर आएका छन् । पश्चिमी तराईमा ‘पाही’ शब्द पनि छ । यसले मधेसी समाजको बनोट, अर्थ–राजनीतिक संरचना र सामूहिक काल्पनिकीलाई खोतल्न सहयोग गर्छ । मधेसमा ‘घराडी’ (बासभूमि) प्रतिको मोह यति गहिरो हुन्छ कि हत्तपत्त कोही त्यो छाडेर अन्यत्र जान चाहँदैन । मधेसका गाउँटोलमा केही दशक अघिसम्म समथर भूमि भएर पनि गुजमुल्टिएर घरहरू बन्नुको एउटा कारण साविक घराडीप्रतिको मोह हो । परिवार संख्या थपिँंदै र बँटवारा हुँदै जाँदा सानो टुक्रा जग्गामै बस्ने गरिन्थ्यो ।
  • डिहीहरू आफूलाई स्थानीय शक्ति संरचनामा अब्बल ठान्ने र नवघरियालाई अलि हेय दृष्टिले हेर्ने गर्थे । ग्रामान्तरण गरेर आउनेहरू प्राय: ती हुन्थे, जसको ‘नवासा’ सम्पत्ति हुन्थ्यो । ५ दशक अघिसम्म मधेसको उत्तरी भागमा अत्यन्त थोरै बस्ती थियो । तर दक्षिणी क्षेत्रमा घना बस्तीहरू थिए ।
  • त्यतिखेर जिल्लाहरूको जनसांख्यिक बनोटमा उत्तरबाट दक्षिणतर्फ क्रमश: जनघनत्व बढी थियो । दक्षिणी क्षेत्र तुलनात्मक रूपमा सम्पन्न र विकसित थियो । दक्षिणी क्षेत्रका बासिन्दाहरू उत्तरतिर गएर बास बस्न चाहँदैन थिए । यही कारण हो कि पूर्व–पश्चिम राजमार्ग बनेपछि त्यसको वरिपरि विकसित भएका बस्तीहरूमा तराईका दक्षिणी क्षेत्रका पुराना बासिन्दाहरू थोरै बसाइँ–सराइ गरेर पुगे ।
  • ‘तजी देबै सब सुख–आराम हम मिथिलेमे रहबै/ सागपात तोडी दिवस गमेवै, हे हम मिथिलेमे रहबै’ लोकगीतिको यस पंक्तिमा दु:खसुख गरेर भए पनि आफ्नै थातथलोमै बस्छु भन्ने अवधारणा पाइन्छ । यो अवधारणा लोकगीतमार्फत कम्तीमा १ हजार वर्षदेखि सार्वजनिक सम्झनामा अभिव्यक्त भइरहेको छ । यो मूलत: आफ्नो डिहप्रतिको आकर्षण र समर्पण हो । जसले बसाइँ–सराइनिम्ति बढेका पाइतालालाई फेरि डिहकै किलोमा अल्झाउन लाउँथ्यो । नेपाली सरहदभित्र पहाडबाट व्यापक रूपमा बसाइँ–सराइ भइरहेका बखत मधेसको मूल प्रवाहले त्यसबाट आफूलाई अछुतो राख्यो । कारण, डिहप्रतिको भावनात्मक लगावमात्र होइन, आर्थिक सुनिश्चितता पनि थियो होला ।
  • सिम्रौनगढ राज्य ई.सं. १३२६ मा पतन भयो । त्यतिखेर सिम्रौनगढका उत्तराधिकारीका रूपमा रहेका हरिसिंहदेवलाई दिल्लीका बादशाह गयासुद्दिन तुगलको सेनाले आक्रमण गरी राजधानीलाई ध्वस्त पारेका थिए । त्यसबेला पलायन भई काठमाडौ उपत्यकामा आश्रय लिएको इतिहास छ ।
  • त्यसपछि बितेका ७ शताब्दीमा मधेसबाट अन्यत्र व्यापक बसाइँ–सराइको इतिहास पाइँदैन । हो, मधेसी समाजभित्र आन्तरिक बसाइँ–सराइ भने हुने गरेको छ । त्यसको कारण नदी कटान, निकुञ्ज स्थापना, संरक्षित क्षेत्र घोषणा, तटबन्ध निर्माणले गाउँ सार्नुपर्ने बाध्यता थियो । तर यसरी गाउँ सर्दा समिपकै दूरीमा सथ्र्यो । कस्तोसम्म थियो भने आफ्नै जिल्लाका सदरमुकाममा समेत गाउँबाट बसाइँ सरेर आउने चलन थिएन । तर यो क्रम विस्तारै फेरिंँदै गएको छ । २०३६ सालको जनमत संग्रह, २०४६ सालको परिवर्तनले ल्याएको खुलापन र २०६३ सालले बढाएको सञ्चार सम्पर्कले जुन सामाजिक–आर्थिक बदलाव ल्याइरहेको छ, त्यसले बसाइँ–सराइलाई सामाजिक स्वीकार्यता दिएको छ । यसको प्रत्यक्ष प्रमाण संघीय राजधानी काठमाडौ लगायत पहाडी क्षेत्रमा समेत त्यहाँ बसोबास गरेका मधेसी समुदायले छठ मनाउनु हो । पहिला यस्ता पर्व त्योहारका बेला बाहिर घर बनाए पनि थातथलोमै फर्किन्थे । अब जो जहाँ छन्, त्यहीँ पर्व मनाउँछन् । मुलुक बाहिर पनि आप्रवासी भएर पुगेका मधेसी समुदाय आफ्नो नयाँ पहिचानभित्र आफ्नो अस्तित्व खोजीका लागि तत्पर छन् ।
  • मधेसमा पहाडी समुदाय बसाइँ सर्न बाध्य थिए । राज्यको प्रश्रयमा बसाइँ सर्न स्वीकारेका थिए । यसरी दुई खालका फरक–फरक परिस्थितिले मधेसमा पहाडी समुदायको उपस्थिति भयो । तर यो बसाइँ–सराइ अनियन्त्रित ढङ्गबाट विकास भएको देखिन्छ । चाहे पूर्वका सन्थाल हुन् वा पश्चिमका राना थारु उनीहरू पनि सामुदायिक दबाबका कारण भारततिर कतिपय अवस्थामा बसाइँ–सराइका लागि विवश भए । कतिपय ठाउँमा मधेसी समाजभित्रको सामाजिक–आर्थिक संरचनाले गर्दा पनि कुनै परिवारले गाउँ छाडे, कतै जातीय वर्चस्व, कतै ऋण तिर्न नसकी त कतै सामन्ती शोषणवाट उन्मुक्तिका निम्ति बसाइँ सर्नुपर्‍यो । मधेस आन्दोलनपछि कतिपय ठाउँबाट पहाडी समुदाय पलायन भए । मधेसभित्र कैयौं ठाउँमा नागरिकताको अविरल गंगामा डुबुल्की लगाउँदै ‘नवनागरिक’हरूले नयाँ बस्तीहरू गुलजार गरे । भुइँ सतहमा बदलिँंदै गरेको सामाजिक–राजनीतिक समीकरणले कथित सवर्णहरू विस्तारै सहरमा ओत लाग्न थालेका छन् । यसले बसाइँ–सराइको नयाँ प्रवृत्ति देखाएको छ ।
  • मधेसबाट छोटो अवधिका लागि अन्यत्र कमाउन जानेहरूको त्यति पुरानो परम्परा छैन । पारिवारिक बसाइँ–सराइको क्रम थोरै, कमाउने उद्देश्यले भएका बसाइँ–सराइ अधिक देखिन्छ । कमाउने उद्देश्यले छोटो अवधिका लागि बाहिरिनेहरू सिङ्गो परिवारका जाने पनि थोरै हुन्छन् । ५ दशक पूर्व आसाम–बंगालतिर जान्थे । त्यसपछि भारतकै हरियाणा, पंजाबतिर जानथाले ।
  • पछिल्लो समय खाडीका मुलुकहरू नयाँ गन्तव्य बनेका छन् । अन्यत्र पनि पुगेका छन् । वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक समस्याले मधेस जेलिँंदैछ । यस परिस्थितिमा वैदेशिक रोजगारीले देखापरेका परिवर्तन र त्यसले सामाजिक जीवनमा पारेका प्रभावबारे गम्भीर विमर्शको माग गरेको छ । यसले मधेसी समाजमा ल्याएको उठापटकको कम्पन दीर्घकालसम्म रहिरहन्छ । कृषि अर्थतन्त्रमा आएको भयानक गिरावट र रेमिटेन्स अर्थतन्त्रले मधेसी समाजको आत्मविश्वासलाई खोक्रो बनाउँदै लगेको छ । गाउँको तुलनामा सहरी क्षेत्रमा विकास र अवसर अधिक हुनाले मानिसको ध्यान खेतीबाट हटेर सहरमा पाइने नगद मजदुरीमाथि केन्द्रित हुँदै गएकोले गाउँबाट सहरमा पलायन तीव्र भएको छ । यसको सबभन्दा बढी असर संयुक्त परिवारमाथि परेको छ ।
  • मधेसमा बसाइँ–सराइको चाप अत्यधिक हुनुको पछाडि विगतमा राज्यले लिएको नीति हो । कहिले जमिनदारी दिन त कहिले कर असुलीका लागि त कहिले व्यापार गर्न बोलाइयो । २००७ सालपछि मधेसको भूभागमा पहाडबाट जनसंख्याको स्थानान्तरण गराउने उद्देश्यले सरल, सुविधा र आकर्षक नीति, नियम, ऐन, कानुन बनाइएका थिए । यसले बसाइँ–सराइलाई ह्वात्तै बढायो । मधेसको जनसांख्यिक बनोटमा रैथाने र बसाइँ–सराइ गरी आएका बीच शक्ति सन्तुलनको नयाँ व्याकरण रच्यो, जसले कालान्तरमा अनेकौं द्वन्द्व खडा गर्‍यो । एक समय जे कुरा राज्यको लागि टिक्न आवश्यक मानियो, त्यही अब व्यवधान हुनपुगेको बुझाइ पनि छ ।
  • मधेसी समाजभित्र बसाइँ–सराइको लामो परम्परा नहुँदा त्यसले यस समाजलाई के असर गर्‍यो, त्यसको समाजशास्त्रीय अध्ययन हुनुपर्छ । अहिलेसम्म मधेसी समाजको डिहप्रतिको मोहको इतिहास र प्रवृत्ति खोतल्ने प्राज्ञिक काम भएको छैन । मधेसीहरूको बसाइँ–सराइ र मधेसमा बसाइँ–सराइ दुई भिन्न कुरा हुन् । जसरी मधेसीजन मुलुकभित्र र बाहिर फैलिँंदै गएका छन् ।
  • त्यसले यो समाजभित्र ल्याएको आधुनिकीपन, अस्तित्वबोध र अस्मिताप्रतिको सजगताबारे मन्थन हुन जरुरी छ । आज जुन समुदाय मधेसी पहिचान लिएर खडा भएको छ, त्यसको ठूलो हिस्सा यही माटोपानीको उपज हो । यसले स्थापित गरेको पक्ष के हो भने मधेसीजन यहींका हुन्, विगतमा राज्यका सीमा फेरबदल हुँदै गए । नेपालले अहिलेको सरहद प्राप्त गरेको केही समय पछिदेखि मधेसीजनमा बसाइँ–सराइ संकुचित रह्यो ।
  • बसाइँ–सराइ स्थिर कुरा होइन । यो जटिल छ, गतिशील छ र अपरिमितजस्तो छ । अहिले पनि पहाडबाट मधेस झर्नेहरूको मोहभंग भएको छैन, बरु राज्यले पहाडी जनसंख्यालाई उतै अल्झाइराख्ने अनेकौं यत्न गरिरहेको छ । मधेसभित्र पनि सम्भावना विकसित हुँदैछन् भनी फर्किनेहरू छन् । यसले देखाएको पक्ष के हो भने बसाइँ–सराइको व्याख्या, परिभाषा पनि समयक्रममा आउने परिवर्तनसँंगै परिवर्तित हुँदै गइरहेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेशहरूको जनसांख्यिक सन्तुलन कायम राख्न र बसाइँ–सराइको प्रवृत्तिलाई व्यवस्थापन गर्न अन्तरप्रदेश नीति हुनुपर्छ । जनसांख्यिक भार मधेसमा थेग्रिंँदा त्यसले समग्र नेपाली समाजलाई बहुआयामिक असर पारिराखेको छ । परिस्थिति र कारण जतिसुकै फरक हुन्, अब सकेसम्म जहाँको जनशक्ति जहाँ छ, त्यहींको थातथलोमा अडाउने प्रक्रिया प्रबद्र्धन गर्नुपर्छ ।
  • राज्यले नै विभिन्न निहुँमा खुला रूपमा बसाइँ–सराइलाई प्रोत्साहित गर्ने होइन । बसाइँ–सराइका कारण जेसुकै हुन्, राज्यको अर्थपूर्ण पुन:संरचना, बहुतहका राज्यका अंगहरूको लोकतन्त्रीकरण, सम्पत्ति सम्बन्धको पुन:संरचना र समाजको समताकरणबारे छलफल गर्दा बसाइँ–सराइलाई निषेध होइन, नियमन गर्नुपर्छ । संविधानले नेपाली नागरिक सरहदभित्र जुनसुकै ठाउँमा ओहोर–दोहोर गर्नसक्ने र बसोबास गर्नसक्ने प्रत्याभूति गरेको छ ।
  • तर विकसित सामाजिक–आर्थिक र पर्यावरणीय परिस्थितिमा नयाँ ढङ्गले सोच्नुपर्छ । त्यसैगरी राज्यबाट कुनै कालखण्डमा विदेशबाट विस्थापित भई फर्केका नेपालीभाषीलाई स्वदेश फर्केका रूपमा अथ्र्याउँदै तिनलाई यहाँ बसाइँका लागि आत्मीय परिवेश दिइयो भने स्वयं मधेसीजनमा पनि पारिबाट आएकालाई आफन्त मान्दै अभिनन्दन गरियो । यी दुइटै प्रवृत्तिलाई विराम दिने बेला हो । समग्रमा नेपालको भूमि अब नेपालीहरूकै लागि अपुग हुने स्थिति छ । त्यसैले साँध खुकुलो पार्नुहुन्न ।

No comments:

Post a Comment