Sunday, April 4

सोर्स-फोर्स नचल्ने लोक सेवाको लोक-विश्वास बचाऊँ -रामबन्धु सुवेदी

  • नेतृत्वको दक्षता, निष्ठा, विवेक र समर्पणबाट सार्वजनिक संस्थाहरू निर्माण हुन्छन् अनि तिनले समाज, राष्ट्र र सभ्यताको संस्कृति निर्माण गरेका हुन्छन् । हरेक नागरिकहरूको समस्यालाई सम्बोधन गर्न सक्ने कानुन र विधिको निर्माण, कानुन संविधान र विधिप्रति उच्च कार्यकारीदेखि भुइँ तहसम्मको अन्तरआत्माबाट समान आस्था र श्रद्धाको व्यावहारिक प्रकटीकरण नै हामीले अपेक्षा गरेको सार्वजनिक संस्थाको स्वरूप हो, यो नै समृध्द सभ्यता निर्माणको पूर्वसर्त पनि हो । हो, त्यही श्रद्धा, विश्वास र अपनत्वको एक संस्थागत पद्धतिको नाम हो, लोक सेवा आयोग ।
  • नेतृत्व इमानदार, निष्ठावान र प्रतिबद्ध हुँदा कसरी प्रतिकूलतामा पनि सार्वजनिक संस्था निर्माण सम्भव छ भन्‍ने दरिलो उदाहरण हाम्रो लोक सेवा आयोग हो । विगतका नेतृत्वहरूको निष्ठाको विरासत र त्यसको निरन्तरता र सुदृढीकरण नै वर्तमान संस्था हो जुन एक दिनमा निर्माण भएको होइन ।
  • संस्थाहरू निर्माण हुने र मृत हुने क्रम निरन्तर चलिरहन्छन् । यदि संस्थाहरूले समयानुकूल आफूलाई रूपान्तरण गर्ने गतिशीलता र नवप्रवर्तनशीलता प्रदर्शन गर्न सकेनन् भने तिनको मृत्यु अवश्यम्भावी नै हुन्छ । एउटै पद्धतिले सबै समयमा सही नतिजा दिन सक्दैन किनकि पात्रहरूको स्वरूप, स्वभाव, क्षमता र प्राथमिकता निरन्तर परिवर्तन भइरहन्छन् । सो अनुकूल आफूलाई रूपान्तरण गर्न सक्ने संस्थाहरू नै दीर्घकालसम्म जीवित रहन्छन् ।
  • अन्य संगठनहरूले समस्या आएपश्चात् त्यसको प्रतिक्रियात्मक उपचार गर्ने गर्दछन् तर लोक सेवा आयोग जस्ता संस्थाहरूले सम्भावित खतराहरूको पूर्वानुमान गरी पूर्वसक्रिय भए आफैँ कारबाही गरी सार्वजनिक गर्ने गर्दछन् । यो गतिशीलतालाई ग्रहण गर्ने संज्ञानात्मक क्षमताको कमीले गर्दा कतिपयले यस संस्थाको विश्वसनीयतामाथि नै प्रश्नचिह्न उठाएको पाइन्छ, जुन सत्य होइन ।
  • लोक सेवा आयोग वर्तमान समयमा दुईवटा ठूला चुनौतीसामु उभिएको छ । पहिलो, कोभिड-१९ को प्रभाव तथा पदाधिकारी रिक्त भएको कारण तोकिएको वार्षिक कार्ययोजनाबमोजिम कार्यसम्पादन हुन सकेको छैन, यो अझै अनिश्चित छ भने यही शून्यताबीच योग्यताप्रणालीले अर्कै मोड पो लिने हो कि भन्‍ने संशय । दोस्रो, चुनौतीमा यसको राष्ट्रियता सातै प्रदेशमा विभाजित भएको अवस्था छ ।
  • सार्वजनिक पदाधिकारीहरूको नेतृत्व क्षमताको मापन गर्ने र सोहीबमोजिम नेतृत्वदायी पदहरूमा जिम्मेवारी प्रदान गर्ने लिडरसिप एसेसमेन्ट पद्धतिलाई लोक सेवा आयोगको प्राविधिक जिम्मेवारीभित्र समावेश गर्न गराउन बहस-पैरवीको जरुरत देखिन्छ ।
  • लोक सेवा एक पद्धति, विश्वास र नागरिक अपेक्षाको संयुक्त स्वरूप हो । संकटपूर्ण अवस्थामा पनि शासनको वैधताको रक्षा गरिरहने र विश्वास टिकाइरहने पहरेदार पनि हो । शासकीय रूपान्तरणको दियो हो । https://ekagaj.com/article/thought/10122

No comments:

Post a Comment