Thursday, October 25

धर्मनिरपेक्षता, राज्य र राजनेताहरू-रोशन जनकपुरी

  • देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र राज्यसत्ताका विविध अंगहरू धार्मिक उत्सवहरूमा हार्दिकतापूर्वक सरकारीस्तरमा भाग लिन थालेपछि संविधानमा घोषित धर्मनिरपेक्षता खोक्रो हुनजान्छ । 
  • संविधानमा धर्मनिरपेक्षताको व्यवस्था एउटा औपचारिकता मात्र देखिन्छ र यसमा थप विकासको आवश्यकता छ । नेपालको संविधान–२०७२ ले धर्मनिरपेक्षताको स्पष्टीकरणमा भनेको छ – “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणलगायत धार्मिक स्वतन्त्रता सम्झनुपर्दछ । तर, ‘सनातनदेखि चलिआएको धर्मसंस्कृति’ के हो भन्ने कतै लेखिएको छैन । प्रवृत्तिको आधारमा भन्नुपर्दा यसको आशय राज्यले पारम्परिक रूपमा अभ्यास गर्दै आएको धार्मिक–सांस्कृतिक अभ्यासको निरन्तरता हो भन्ने बुझ्नु उचित देखिन्छ ।
  • ००७ सालदेखि ०६२ सम्मको राजनीतिक आन्दोलनहरूमा धर्मनिरपेक्षता कुनै न कुनै रूपमा राजनीतिक मागका लागि उपस्थित रहेको देखिन्छ । यसको उद्देश्य राज्यसत्ता वा कानुनको नजरमा कुनै एकल धर्मको श्रेष्ठता नहुनु र सबैसित समान व्यवहार हुनु हो । बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय चरित्रको नेपालजस्तो देशमा कुनै एकल धर्मको श्रेष्ठता वा वर्चस्व न्यायपूर्ण हुन सक्दैन । राज्यसत्ताका निम्ति सबै समुदाय समान हुन्छन्, राज्यको धर्म हुँंदैन, जनताप्रति समर्पित कर्तव्य मात्र हुन्छ भन्ने विकसित भाव नै धर्मनिरपेक्षता हो । धर्मनिरपेक्ष राज्यसत्ताले धर्मलाई व्यक्तिको निजी आस्था र विचारको विषय मान्दछ र धर्म मान्ने वा नमान्ने अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्दैन ।
  • बिपी कोइरालाले लोकतान्त्रिक राज्यका निम्ति धर्मनिरपेक्षतालाई अनिवार्य तत्व भनेका थिए । गान्धीले लेखेका छन् – ‘मेरा निम्ति व्यक्तिगत रूपमा धर्मबाट अलग रहने स्थितिको कल्पना गर्न पनि गाह्रो छ, तर जहाँंसम्म राज्यको प्रश्न छ, धर्म र राजनीति दुई फरक विषयहरू हुन्, एक–अर्कामा मिसाएपछि अन्योल र अलग राख्दा जीवन सरल र सुन्दर हुन्छ ।’
  • वर्तमान गणतन्त्रलाई वास्तविक अर्थमा जनताको गणतन्त्र बनाउने अधिकांश कार्यभार बाँंकी रहे पनि प्राप्त उपलब्धिमध्ये धर्मनिरपेक्षता पनि एउटा हो । विविध धर्मबीचको द्वन्द्व र राज्यमाथि वर्चस्वको विरोधमा युरोपमा विकसित आधुनिक धर्मनिरपेक्ष राज्यको अवधारणालाई दोस्रो विश्वयुद्धपछि लोकतान्त्रिक देशहरूले लोकतन्त्रको अनिवार्य तत्वको रूपमा स्वीकार गरे । विश्वमा धर्मनिरपेक्षताका प्रायः चारवटा अभ्यास देखिएका छन् । पहिलो, अमेरिकी शैलीको धार्मिक स्वतन्त्रताको धर्मनिरपेक्षता, जहाँं संविधानले राज्यमाथि धर्म थोपर्ने, प्रोत्साहित गर्ने र धार्मिक विश्वासको आधारमा राज्यमाथि नियन्त्रण गर्ने कार्यलाई दुरुत्साहित गर्दछ । यद्यपि, अनधिकृतरूपमा अमेरिकामा संकीर्ण गोरा क्रिस्चियनिटी हावी देखिन्छ र डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वकालमा काला अमेरिकीप्रति झन् बढी असहिष्णु र आक्रामक हुँंदै गएको देखिन्छ । दोस्रो हो, फ्रान्सेली शैलीको सामाजिक नियन्त्रणको सिद्धान्त, जसले संवैधानिक रूपमा धर्म मान्नु वा नमान्नुलाई वैयक्तिक मान्दछ र धर्मलाई संगठित रूपमा समाजमाथि नियन्त्रण गर्ने वा प्रभावित गर्ने अधिकार दिँंदैन ।
  • यसले धार्मिक प्रतिकहरूको प्रदर्शनलाई निषेध गर्दछ र आवश्यकतानुसार धार्मिक संगठनमाथि नियन्त्रण गर्ने अधिकार राज्यलाई दिन्छ । केही वर्षपहिले इस्लामिक चरमपन्थीहरूले फ्रान्सको स्वतन्त्र र अनिश्वरवादी मिडियाहरूमाथि गरेको हमलालाई लोकतान्त्रिक अभिव्यक्तिमाथिको हमला मान्दै फ्रान्सेली सरकारले सुरक्षालाई केन्द्रमा राखेर मुस्लिम महिलाहरूले लगाउने बुर्काको प्रयोग निषेध गरेको प्रसंग सान्दर्भिक छ । तेस्रो, भारतीय संविधानले अपनाएको धार्मिक स्वायत्तताको सिद्धान्त हो । यो धार्मिक स्वतन्त्रताको सिद्धान्तजस्तै छ । फरक कति छ भने यस अवधारणामा राज्य स्वयंले जनतालाई आधिकारिक रूपमा धार्मिक समूहमा विभाजित गर्दछ, विभिन्न धार्मिक व्यक्तिगत कानुन (पर्सनल ल’ बिल वा कोड) निर्माण गर्दछ । यस अवधारणाले विभिन्न धार्मिक सम्प्रदायलाई कानुनी शक्ति प्रदान गर्दछ ।
  • चौथो, हाल इतिहास भइसकेको सोभियत संघ र साम्यवादी विचारधाराका देशहरूले अँंगालेको अनिश्वरवादी राज्यहरूमा धर्मनिरपेक्षताको सिद्धान्त हो । यस अवधारणाले धर्मलाई स्वतन्त्र र विवेकशील पूर्णमानवको विकासमा अवरोध मान्दछ र समाजलाई कुनै पनि धर्मबाट प्रभावित हुने वैचारिक र सामाजिक स्रोतहरूलाई विकसित हुने छुट दिँंदैन । यसले धर्मलाई वैयक्तिक आस्थाको विषय स्विकार गर्दछ, तर धर्मको संगठित रूपलाई पूर्णरूपमा निषेध गर्दछ ।
  • अमेरिका, टर्की, भारतजस्ता लोकतान्त्रिक र धर्मनिरपेक्ष भनिने देशहरूले आफ्नो धार्मिक, सांस्कृतिक र राजनीतिक वर्चस्वको अनुकूलतामा धर्मनिरपेक्षताको व्याख्या गर्न थालेका छन् ।
  • अरेबियाली देशहरूमा धर्मनिरपेक्षताको तुलनामा इस्लामी धार्मिक तानाशाही झन् बलियो हुँंदै गएको देखिन्छ ।
  • नेपाली समाज मुख्यतः हिन्दू, बौद्ध, किराँत, मुसलमान, जैन आदि मिश्रित बहुधार्मिक समाज हो । केही चतुर हिन्दू अगुवाहरूले ओमकार परिवारका रूपमा बौद्ध र किराँतलाई समेत हिन्दू धर्मअन्तर्गत तान्ने कोसिस गरे पनि दार्शनिक र पारम्परिक रीतिथितिका रूपमा बौद्ध र किराँत हिन्दूभन्दा भिन्न धार्मिक समुदायहरू हुन् । महायानी बौद्धहरूको अवतारवाद वैष्णवी पौराणिकतानजिक भए पनि उनीहरूले पनि स्वतन्त्र अस्तित्वको दावी गर्दै आएका छन् ।
  • आदिवासी जनजातिहरूमा प्रचलित हिनयानी बौद्धमत प्रकृतिधर्मी बोन्बो र किराँत मन्धुमसँग हार्दिक देखिन्छ । समग्रमा बौद्धधर्म दार्शनिक रूपमा अनिश्वरवादी दर्शनको नजिक छ भने हिन्दू ईश्वरवादी आध्यात्मिक मान्यतामा आधारित छ । त्यस्तै, जैनको व्यावहारिक पक्ष धार्मिक देखिए पनि दार्शनिकस्तरमा यो पनि अनिश्वरवादी धारणा नै हो । इस्लाम र क्रिस्चियन भिन्नै परम्पराका धर्महरू हुन् । यस्तै, समुदायगत आधारमा हिन्दू नै भए पनि पहाड र तराईका जनसमुदायहरू विशिष्ट परम्परा र चलनहरूमा विकसित फरक राजनीतिक सांस्कृतिक समुदायहरू हुन् ।

No comments:

Post a Comment