सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितका निमित्त समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्नु व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको मुख्य धर्म हो ।
सरकार, कर्मचारी वा जनताले व्यक्तिगत आर्थिक स्वार्थमा मग्न भइरहेको गलत कुराको आत्मसात् गरेर सत्यको बाटोमा हिँड्नु वर्तमान समयको आवश्यकता भइसकेको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सूचना क्षेत्रमा हुने कार्यको प्रभाव समाजमा लामो समयसम्म रहन्छ । शिक्षामा भइरहेको नीतिगत परिवर्तनले केही सकारात्मक संकेत ल्याए पनि धेरै नकारात्मक पक्ष छन् ।
सरकारले नै शिक्षामा व्यवसायीकरण गर्न चाहेको कुराको प्रमाण सरकारको नीतिले प्रमाणित गरिरहेको छ ।
शिक्षकहरू र विद्यार्थीहरूको अनुपात, शिक्षामा हुने बजेट र विकास बजेटको अनुपात, शिक्षकको तलब र अन्य कर्मचारीको तलबको अनुपातलाई अध्ययन गर्ने हो भन्ने शिक्षा क्षेत्रको विकास नहुनुको कारण स्पष्ट हुन्छन् ।
सरकारले गर्ने नियमित कार्य नगर्नु र कुनै नियमित कार्य गरेमा पोल–पोलमा विज्ञापन गर्नुले सरकारप्रति नकारात्मक सोच हुन पुगेको कुरा सरकारमा बस्ने व्यक्तिमा पुग्नु आवश्यक छ ।
यातायात विकासका लागि सडक मुख्य आधार हो । नेपालका मेधावी विद्यार्थीको सोच सडक विभागमा कार्य गर्नु रहेको हुन्छ । अधिकांश सिभिल इन्जिनियरहरूको पहिलो रोजाइ सडक विभाग नै हुने गरेको छ । तर, नेपालको सडकको गुणस्तरलाई हेर्ने हो भने लाज लाग्ने स्थिति छ ।
नेपालमा अन्य क्षेत्रको विकासको तुलना गर्ने हो भन्ने सूचना क्षेत्रमा विकास राम्रो भएको देखिन्छ ।
No comments:
Post a Comment