Showing posts with label कर्मचारीतन्त्र. Show all posts
Showing posts with label कर्मचारीतन्त्र. Show all posts

Friday, November 23

कर्मचारी समायोजनको सकस र अबको बाटो -केदार कोइराला

  • सरकारी सेवा र अन्य सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रयोजनका लागि २०७४ असोज २९ गते प्रमाणीकरण गरी सोही मितिबाट लागु हुने गरी कर्मचारी समायोजन ऐन, २०७४ जारी भयो । 
  • केही प्रयोजन नभएको दिशाहिन कर्मचारी समायोजन नियमावली, २०७४ जारी भयो । त्यसले विधि, पद्धति र सिद्धान्तमा रहेर ओ एण्ड एम सर्वे गर्न सकेन । कामै नलाग्ने पट्यारलाग्दो सार्वजनिक गर्दा लाज हुने एउटा किताब निकाल्यो । सो किताबले कर्मचारी फजिलमा निकाल्यो जुन कुनै पनि कानुनको विधायिकी मनसाय थिएन, दरबन्दी भद्रगोल बनायो, कर्मचारीको वृत्ति विकास डामाडोल बनायो, पदपूर्ति रोक्ने काम गर्ने हतियार बन्यो तर सचिव पदमा बढुवा गर्न भने कुनै अवरोध सिर्जना गरेन । कर्मचारीतन्त्रको क्षमतालाई पत्तासाफ बनायो । 
  • नीतिहरूको मुलनीति राजनीति हो । राजनीति भन्दा माथि कुनै नीति नै छैन । राजकाज गर्ने र शासन गर्ने फरक विषयहरू हुन् । राजकाज गर्नु भनेको राज्य सञ्चालनको लागि आवश्यक पर्ने नीति तथा कानुनको विवेकशील, समयसापेक्ष तथा गतिशील व्यवस्था गर्नु हो । विश्वव्यापीकरण तथा उदारीकरणले ल्याएका सम्भावनाहरूको पहिचान गरी चुनौतीहरूको सामना गर्न सक्ने संस्था र संयन्त्र तथा प्रणालीको विकास गर्न सक्ने विधि र पद्धतिको निर्माण नै राजकाज हो । प्रशासनले शासन गर्ने गर्दछ । प्रशासकले शासन गर्ने हो । शासन गर्न आवश्यक पर्ने पूर्वाधार राजकाज गर्नेले दिने हो, बनाउने हो । राजकाज गर्ने संयन्त्रले दिएको विधि र विधानको कार्यान्वयन मार्फत प्रशासकले शासन गर्ने गर्दछ । त्यसैले राजनीतिज्ञहरूले राजकाज गर्छन्, शासन गर्दैनन् । कर्मचारी समायोजन ऐन अध्यादेशबाट होइन संसदबाट ल्याउनुपर्छ भन्ने दर्शन यसैमा आधारित छ ।
  • कर्मचारीतन्त्र भनेको नीति ज्ञान(पोलिसि नलेज) बनाउने संयन्त्र हो । नीति ज्ञान भनेको तथ्य र तर्कमा आधारित हुनुपर्छ । कुनै पनि पक्षपात नभई निष्पक्ष हुनुपर्छ । राजनीतिक निर्णय गर्नका लागि राजनीतिक नेतृत्वलाई आवश्यक पर्ने नीति ज्ञान विभिन्न विकल्प सहित दिन सक्ने कर्मचारीतन्त्र नै क्षमतावान् कहलिन्छ। द्वन्दकालमा विकास, नीति र सेवा प्रवाहलाई निरन्तरता दिन सकेको तथा राजनीति दिशाहिन भएको अवस्थामा समेत निर्वाचन गराई देशमा राजनीतिक प्रणाली स्थापित गर्न सक्ने नेपालको निजामती प्रशासन सक्षम थिएन र छैन भनी हाल्नु उपयुक्त हुँदैन । 
  • कर्मचारी समायोजन ऐन जारी भएको एक वर्षसम्म गति लिन नसक्नुको मुख्य बाधकको रूपमा नीतिगत स्पष्टता र अडान नभएको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व जिम्मेवार छ । नीति निर्माण, विकास तथा सेवा प्रवाह गर्ने शासकीय तहको निर्क्यौल गर्ने, प्रदेशलाई विकासको संवाहकको रूपमा विकास गर्ने नीति, स्थानीय तहलाई सेवा केन्द्रको रूपमा विकास गर्ने, संविधानको अनुसूची-९ लाई तीनै तहको शासन व्यवस्थालाई ग्रुपमा राख्ने कडी तथा उत्तरदायित्व बहन गर्न तथा आर्थिक अनुशासन कायम गर्न सक्षम संयन्त्रको निर्माण र विकास गर्ने नीतिका विषयमा स्पष्टता र अडान विना कर्मचारी समायोजन सुरु गर्नु भनेको गन्तव्यमा नपुग्नु हो । यो विषय राजनीतिक हो, शासनमा संलग्नले होइन कि राजकाजमा संलग्न राजनीतिक तहले यसका बारेमा सोच्नुपर्छ ।
  • कर्मचारीतन्त्रको क्षमता नै राजनीतिक प्रणालीको पनि क्षमता हो । 
  • कर्मचारी समायोजनमा बटम अप हैन टप डाउन उपागम अपनाई अलि निर्मम तथा विवेकशील निर्णय गर्न सक्नुपर्छ ।
  • सार्वजनिक प्रशासन सुधारको शुरुवात माथिबाट गर्नुपर्छ । कर्मचारीतन्त्रको आधारभूत संरचना पदसोपानमा आधारित हुन्छ। पदसोपान भनेको भर्याङ्ग हो । भर्याङ्ग सफा गर्न सिरानको खुड्किलोबाट गर्नुपर्छ । पुछारको खुड्किलोबाट सफा गर्न थाल्नु भनेको कहिल्यै सफा नहुनु हो । 
  • कर्मचारी समायोजन भनेको कर्मचारी प्रशासनको पुनर्संरचना सहितको सुधार हो । 
कर्मचारी समायोजन गर्नका लागि आवश्यक पर्ने चारवटा आधार (फोर वेसिक फाउन्डेसन) तयार गर्नुपर्छ । 
  • (१) वृत्ति विकासको पूर्वानुमानयोग्य खाका र त्यसका लागि आवश्यक पर्ने आधारहरू 
  • (२) सेवाका शर्तहरुको स्पष्टता र सेवाको सुरक्षा 
  • (३) पर्याप्त सेवा सुविधा 
  • (४) सहज र सरल कार्य वातावरण 
(१) आवश्यक कानुनी पूर्वाधार तयार गर्नुपर्छ ।
  • चारवटा आधारहरू प्रत्याभूति गर्ने गरी संघीय निजामती सेवा ऐन जारी गर्नुपर्छ । सो ऐन नेपालको कर्मचारी प्रशासनको मार्गदर्शक ऐन हुनेछ । प्रदेश निजामती सेवा ऐन तथा स्थानीय तह कर्मचारी प्रशासन सम्बन्धी ऐन जारी गर्नुपर्छ । नयाँ लोकसेवा आयोग ऐन जारी गर्नुपर्छ । प्रदेश लोक सेवा आयोगले अपनाउनुपर्ने सामान्य सिद्धान्त सो ऐनले दिन्छ । सेवा समूह परिवर्तन गर्दा वा संघीय निजामती सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय तहमा कर्मचारी पठाउँदा लोक सेवा आयोगले निर्वाह गर्नुपर्ने संवैधानिक भूमिकाको बारेमा ऐनले स्पष्ट पार्छ । सबै कर्मचारीहरूले आफूले चाहेका आधार संघ, प्रदेश वा स्थानीय तहको कर्मचारी प्रशासन सम्बन्धी कानुनमा भेट्ने वातावरण बन्छ । आफूलाई जुन तहमा फिट हुने आधार पाउँछन् सोही तहमा समायोजन भएर जाने वातावरण बन्छ र जान्छन् ।
(२) सरकारको तहगत कार्यविवरणमा स्पष्ट हुनुपर्छ ।
  • संघीय सरकार नीति निर्माण गर्ने तथा रणनीतिक महत्त्व भएका राष्ट्रिय आयोजना तथा परियोजना कार्यान्वयन गर्ने तहको रूपमा, प्रदेश सरकार विकासको संवाहकको रूपमा तथा स्थानीय सरकार सेवा प्रवाह गर्ने विन्दुको रूपमा विकास गर्नुपर्छ । संविधानले परिकल्पना गरेको गन्तव्य सुनिश्चित गर्नको लागी आवश्यक पर्ने रणनीतिक नीतिहरू बनाउने काम संघीय सरकारले गर्ने प्रबन्ध आवश्यक छ । संघीय सरकारले बनाएको यस्ता नीतिहरूको कार्यान्वयन गर्ने काम प्रदेश सरकारले गर्नुपर्छ । स्थानीय सरकारले नागरिकहरूलाई दैनिक आवश्यक पर्ने सेवा प्रवाह गर्ने तथा नागरिकका आवश्यकताहरूको बारेमा माथिल्लो सरकारलाई सूचना तथा तथ्याङ्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यस्तो व्यवस्थाले संघीय इकाइहरु जिम्मेवार बन्छन् । संघीय शासन प्रणाली सफल हुन्छ । संवैधानिक आयोग तथा कार्यकारी आदेशबाट गठन हुने आयोग, समिति लगायतमा सचिव पद राख्नु हुँदैन । संघमा बढीमा १० वटा मन्त्रालय र दुई दर्जनको हाराहारीमा विभाग बाहेक नेपाल सरकार(कार्य विभाजन) नियमावली अन्तर्गत रहने निकायको आवश्यकता देखिँदैन । विकास निर्माणमा संलग्न सबै विभागहरू प्रदेश सरकारको मातहतमा लैजानुपर्छ । कुल बजेटको ७० प्रतिशत रकम प्रदेश र स्थानीय तहबाट खर्च हुन सक्ने प्रशासनिक संरचना बनाउनुपर्छ ।
(३) तहगत रूपमा आवश्यक पर्ने कर्मचारीहरू यकिन गर्नुपर्छ ।
  • संघीय सरकार नीति निर्माणमा मात्रै रहने हुनाले यसलाई उच्च तहका विशेषज्ञ कर्मचारीहरूको आवश्यकता पर्छ । प्रत्येक मन्त्रालयमा एक सचिव, सहसचिव, उपसचिव तथा शाखा अधिकृतको अनुपात १:३:९:२७ रहने व्यवस्था गर्नुपर्छ । मन्त्रालय छरितो र कार्यात्मक बन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयमा १/१ जना सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव, सचिव ३ जना, १० मन्त्रालयमा प्रति मन्त्रालय १ सचिवका दरले १० जना सचिव, सर्वोच्च अदालतमा १ विशिष्ट श्रेणी तथा व्यवस्थापिका संसदमा १ जना विशिष्ट श्रेणीको कर्मचारी गरी जम्मा विशिष्ट श्रेणीको गरी जम्मा १८ जना विशिष्ट श्रेणीको पद संघमा रहने व्यवस्था गर्नुपर्छ । प्रदेशमा ७×७=४९ मन्त्रालय तथा प्रदेश प्रमुखको कार्यालय ७×१=७ गरी ५६ जना विशिष्ट श्रेणीको पद रहनुपर्छ । काठमाडौँ महानगरपालिकामा १ जना विशिष्ट श्रेणीको पद रहनु उपयुक्त देखिन्छ । निजामती सेवामा १५ हजार भन्दा बढी कर्मचारी रहने व्यवस्था गर्नुहुँदैन ।
(४) समायोजन माथिल्लो पदबाट शुरु गर्नुपर्छ ।

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटमा हेर्दा ७० जना विशिष्ट श्रेणीका कर्मचारीहरूको दरबन्दी रहेको देखिन्छ । १८ जना विशिष्ट श्रेणीका कर्मचारीहरू संघमा, ५६ जना विशिष्ट श्रेणीका कर्मचारी प्रदेशमा, १ जना विशिष्ट श्रेणीको कर्मचारी काठमाडौँ महानगरपालिकामा समायोजन गर्नुपर्छ । अपुग हुने ५ वटा विशिष्ट श्रेणीको दरबन्दी सिर्जना गरी बढुवाका सम्भाव्य उम्मेदवारहरूबाट पूर्ति गर्नुपर्छ । सोही अनुपात र आधारमा अन्य कर्मचारीहरूको समायोजन गर्नुपर्छ । समायोजन गर्ने प्रयोजनका लागि ज्येष्ठ कर्मचारीहरूका दरबन्दी क्रमशः स्थानीय, प्रदेश तथा संघमा रहने व्यवस्था गर्नुपर्छ । जुनसुकै तहमा कार्यरत रहँदा अवकाश भए पनि निजको दरबन्दी रहेको तहमा दरबन्दी रिक्त हुने र संघीय वा प्रदेश लोकसेवा आयोग जसको क्षेत्र हो उसैले पदपूर्ति गर्ने व्यवस्था गर्नुपर्छ ।
(५) पदपूर्ति र बढुवाको व्यवस्था यकिन गर्नुपर्छ ।
  • लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग भन्दा अन्य निकाय र व्यवस्थाबाट सरकारी सेवामा कर्मचारीको पदपूर्ति गर्ने व्यवस्था गर्नु हुँदैन । प्रदेश लोक सेवा आयोगले स्थानीय तह र प्रदेशलाई आवश्यक पर्ने राजपत्रांकित तृतीय श्रेणी सम्मका कर्मचारी गर्न तथा लोक सेवा आयोगले तीनै तहका लागि आवश्यक पर्ने राजत्रांकित द्वितीय श्रेणी र प्रथम श्रेणीका कर्मचारी छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न आन्तरिक तथा खुला प्रतिस्पर्धात्मक परीक्षाका सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ । समायोजन भएर स्थानीय तह तथा प्रदेशमा जाने कर्मचारीहरूको बढुवा सम्बन्धमा विशेष व्यवस्था गर्नुपर्छ । स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूको बढुवा प्रदेश हुँदै संघमा हुने तथा प्रदेशमा समायोजन भएर गएका कर्मचारीहरूको बढुवा संघमा हुने व्यवस्था गर्नुपर्छ । समायोजन पश्चात् लोक सेवा आयोग तथा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारीहरूको बढुवा तत् तत् तहका कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन बमोजिम हुने व्यवस्था हुनुपर्छ ।
निष्कर्ष: 
  • राजकाज गर्ने र शासन गर्ने फरक विषयहरू हुन् । शासन गर्न आवश्यक पर्ने कर्मचारी व्यवस्थापनको लागि आवश्यक गतिशील संयन्त्र संसद्‍बाट गर्नुपर्छ । संसद्ले कानुन बनाउँदा तथ्य र तर्कको आधारमा बृहत् विश्लेषण गरी बनाउनुपर्छ । यसरी बनाएको कर्मचारी व्यवस्थापन सम्बन्धी कानुनले मात्रै कर्मचारी समायोजन सहज हुने देखिन्छ ।

कर्मचारी समायोजन : सकस र निकास-डा.लोकनाथ भुसाल

  • सार्वजनिक सेवा प्रवाहमार्फत लोकतन्त्रका लाभ वितरण गर्न स्थायी सरकारको रूपमा रहने कर्मचारी संयन्त्रको प्रभावकारी व्यवस्थापन नगरी समृद्धिको नाराले साकार रूप नपाउने निश्चित छ । 
  • स‌ंवैधानिक व्यवस्थाअनुसार कर्मचारी व्यवस्थापनमा लोकसेवा आयोगको पराशर्म नैतिक रूपले मात्र बाध्यकारी मानिन्छ । 
समायोजन सम्बन्धमा विचार गरिनुपर्ने केही आधारभूत पक्षलाई औंल्याइएको छ ।
  • पहिलो, समायोजनले सबै कर्मचारीलाई उत्प्रेरित गर्नुपर्छ । यो सङ्घीयता कार्यान्वयनको मानवीय पक्ष हो । संविधानको धारा ३०२ को उपधारा (२) मा उल्लिखित समायोजन शब्दले नै धेरै कर्मचारीलाई उत्प्रेरित नगरेको अवस्था छ । सङ्घका लागि दरखास्त दिएर सेवा प्रवेश गरेको कर्मचारी समायोजन भएर प्रदेश वा स्थानीय तहमा जाने कुरा इच्छाधीन हुनुपर्छ, न कि अनिवार्य । यो आधारभूत विषयलाई मनन गरेर संविधानमा समायोजन होइन, व्यवस्थापन मात्र भन्नुपर्थ्यो । 
  • स्मरण रहोस्, यो देश मानवीय संवेदना नबुझी बनाइएका धेरै कानून कागजमै सीमित रहेको लामो इतिहास बोकेको देश हो ।
  • दोस्रो, प्रस्तावित समायोजन ऐनले गरेको उत्प्रेरणात्मक व्यवस्था आकर्षक छैन । एक तह बढुवा गरी समायोजन ऐच्छिक बनाउन खोजिएको भए पनि यसले धेरै कर्मचारीलाई आकर्षित नगर्ने देखिन्छ । 
  • तेस्रो, ऐनले हालको पदको ज्येष्ठतालाई समायोजनको मुख्य आधार तोकेको छ । यसबाट ज्येष्ठ कर्मचारी सङ्घमा मात्र तथा प्रदेश र स्थानीय तहमा कनिष्ठहरू समायोजन हुने स्पष्ट छ । 
  • चौथो, ‘सही व्यक्तिलाई सही ठाउँमा’ काममा लगाउनु नै कर्मचारी व्यवस्थापनको सबैले स्वीकार गरेको सिद्धान्त हो । कनिष्ठ र स्थानीय तहको अनुभव नभएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्नु ‘गलत व्यक्तिलाई गलत ठाउँमा’ काममा लगाउनुबराबर हुने भएकाले कर्मचारी व्यवस्थापनको आधारभूत सिद्धान्तविपरीतको काम हुनेछ ।
  • सार्वजनिक प्रशासनलाई राज्यको चौथो अङ्ग भनिनुले नै निजामती कर्मचारीतन्त्रको भूमिका स्पष्ट हुन्छ । तर, कर्मचारीतन्त्र राजनीतिक प्रणालीको उपप्रणाली मात्र हो । यो जनताको नोकर हो । कर्मचारी समायोजन मालिकको सेवाका लागि हुनुपर्दछ । 
  • उत्प्रेरित नभएको कर्मचारीले निरन्तर सेवा प्रदान गर्न सक्दैन । सेवाविनाको सङ्घीयता सफल हुँदैन । 

Monday, November 19

लोक सेवा आयोगको छनोट प्रक्रियामा सुधार गर्नुपर्छ-सुरेश अधिकारी

  • पछिल्लो समय सरकारी सेवामा आकर्षण बढ्दो छ । मुलुकभरका जुनसुकै क्षेत्रमा पनि लोक सेवा परीक्षामा दरखास्त दिने उम्मेदवारको भीडले पनि यो पुष्टि गर्छ । 
  • नेपालमा लोक सेवा आयोग एउटा विश्वासिलो संस्थाको रूपमा रहेको छ । सक्षम मान्छेहरूको लागि लोक सेवा आयोग सरकारी सेवामा प्रवेश गर्न एउटा निर्विकल्प माध्यम बनेको छ । लोक सेवा आयोगप्रतिको विश्वास नेपालमा अत्याधिक छ ।
  • निजामती सेवा भनेको बृहत सेवा हो । देशभित्रै पनि सबै जिल्लामा गएर जहाँ पनि काम गर्न पाइने अवसर भएको स्थायी सेवा हो यो ।
  • ५८ वर्ष नपुगेसम्म जागिर खान पाइने कसैले नहटाउने असाध्यै सुरक्षा भएको सेवा हो । अलिकति राम्रो गर्छु भन्नेलाई करियर डेभलपमेन्टको अवसर छ । देश विदेश घुम्न जान पाउने अवसर छ । अझ परराष्ट्र सेवामै जागिर भयो भने अझ बढी अपरच्युनिटी होला । त्यसले गर्दा यो एट्रयाक्टिभ नै हो ।
  • तलब सुविधाहरू प्राइभेट सेक्टर तथा अरु संस्थाको भन्दा केही कम छ । तर, निरन्तर छ । त्यो तलब सुविधा कहीँबाट हड्पिने, कहीँबाट नपाइएला कि भन्ने कहीँ डर छैन । अर्को सोसल सेक्युरिटी छ । जागिर छोडेपछि पनि पेन्सन पाइन्छ । कर्मचारीको मृत्युपछि परिवारलेसम्म पनि पेन्सन पाउने सुन्दर किसिमको सेवा छ यो । वास्तवमा यो सहज किसिमको सेवा हो । धेरै जटिलताहरु छैनन् निजामती सेवामा । खाली अलिकति राम्रो काम गर्ने, अलिकति क्रिएटिभ भएको, अलिकति डेडिकेटेड भएर जनसेवा गर्छु भन्नेका लागि यसमा अवसर छ । त्यसैले यसप्रतिको क्रेज बढेको हो ।
  • पहिलो कुरा त म लेखनमा आइटी भन्ने गर्छु । इन्फरमेसन प्लस टेक्निक चाहिन्छ । अर्को हो, लेखाइमा टेक्निक । यसमा प्रश्नको नम्बर अनुसार लेखाई हुनुपर्छ । टाइम अनुसारको लेखाई हुनुपर्छ । लोक सेवा परीक्षामा लेखाइको टेक्निक आवश्यक पर्छ । अर्काे कुरा, लेख्दा लामो प्याराग्राफ लेख्यो भने पनि एट्रयाक्टिभ देखिँदैन ।
  • परीक्षार्थीमा विश्लेषण गर्ने क्षमता पनि हुनुपर्छ । कुनै समस्यालाई समाधान गर्न सक्ने क्षमता कस्तो छ । 
  • कतिपय प्रश्नहरू ओपन किसिमका हुन्छन् । धेरै लेख्न सकिने किसिमका नेपालको विपद् व्यवस्थापनबारे चर्चा गर्दै भन्यो भने धेरै लेख्न सकिन्छ । तर, कतिपय एकदमै क्लोज किसिमको प्रश्नहरू हुन्छन् । नेपालको विकास प्रक्रिया नै ठिक छैन भन्ने भनाई छ, तपाईँको धारणा के छ ? एकदमै क्लोज भयो नि त्यहाँनिर । त्यसैले ओपन र क्लोज किसिमका प्रश्नहरूमा कसरी लेख्नेबारे टेक्निक हुन्छ । त्यसलाई फलो गर्नुपर्छ ।
  • कहिलेकाहीँ समावेशीकरणलाई पनि एब्सल्युट रूपबाट हेर्नु हुँदैन । एउटा निश्चित तहमा आइसकेपछि यो पछाडि परेको पनि भन्न नमिल्ला । अरुसँग पनि कम्पिटिसन गर्नुपर्ने हुन्छ । सधै समावेशी लाभ मात्रै प्राप्त गर्न खोज्यो भने कम्पिटेन्सी कमजोर हुन्छ । 
  • उमेर बढ्दैमा राम्रो सेवा दिने भन्ने हुँदैन ।
  • संसारभरि नै राज्यले निरन्तर ढंगबाट सधै पेन्सन दिन सक्दो रहेनछ । धेरै बर्डन हुन्छ, त्यसैले कन्ट्रिब्युटरी फन्ट तयार गर्नुपर्छ र जागिर खाएको प्रत्येक मान्छेले महिनैपिच्छेको तलब लिँदा केही अंश त्यसमा कटौती गर्दै लग्यो भने पछि त्यही कन्ट्रिव्युटेड फन्डबाट नै पेन्सन प्राप्त हुन्छ र राज्यले छुट्टै खर्च गर्नु पर्दैन । अहिले पेन्सनको अंक धेरै नै बढीसकेको अवस्था छ । राज्यलाई धान्न धेरै गाह्रो भयो । त्यसैले यो राम्रो विषय हो । यो धेरै देशहरूले फलो गरेको विषय हो । त्यो अवलम्बन गर्दा ठिकै हुन्छ भन्ने मलाई लाग्छ ।
  • आन्तरिक प्रतियोगिताको लागि अहिले ३० प्रतिशत प्रस्ताव आएको छ । व्यक्तिगत रूपमा म २० प्रतिशतभन्दा बढी हुनुहुँदैन भन्ने ठान्छु । आन्तरिक प्रतिष्पर्धामा पनि ३० प्रतिशत राख्न जरुरी छैन । कर्मचारीलाई पढाउने होइन, काम लगाउने गर्नुपर्छ त्यसको लागि कार्यसम्पादनमा आधारित प्रमोसन सिस्टम नै सबैभन्दा राम्रो किसिमको व्यवस्था हो । 
  • मेरिटमा पछाडि पर्नेहरूले नरोजेको ठाउँमा पर्ने अवस्था हुन्छ । त्यो स्वभाविक हो । यो निजामती सेवा ऐनमा भएको व्यवस्था होइन । लोक सेवा आयोगको आफ्नो कार्यविधि छ । लोक सेवा आयोगको ऐन/नियमावलीमा संशोधन गर्नुपर्ने विषय हो ।  
  • निजामती सेवाको लिमिटेसन छ । आकार सानो छ । रोजगारीको क्षेत्र धेरै बढाउनुपर्ने जरुरी छ । निजामती सेवा पूर्ण रोजगारीको क्षेत्र होइन । यो सरकारलाई केही कर्मचारी आवश्यक परेकाले लिएको मात्रै हो । जतिले एप्रोच गर्नुहुन्छ सबै सक्नुहुन्न ।
  • एउटा प्लेटफर्म हो लोक सेवा भनेको । त्यसले धेरै एभिन्युजहरू क्रिएट गर्छ । अरु धेरै ठाउँमा पनि अवसरहरू पाइरहेका हुन्छन् । एउटातिर पढ्यो अर्कोतिर नाम निस्केको पनि हुन्छ । तर, यहाँले भनेको जस्तो सबैले अवसर पाउँदैनन् । सबैले अवसर नपाउँदा फ्रस्टेसन पनि हुन्छ । फ्रस्टेसन भएको मान्छेले यो त ‘लक सेवा’ रहेछ भन्ने भएको हुन सक्छ । त्यसैले १० प्रतिशत त लक हुन्छ जेमा पनि, ९० प्रतिशत आफ्नो कर्ममा नै भर पर्छ होला ।
  • लोक सेवा आयोगमा सबै प्रश्नको उत्तर जान्नुपर्ने हुन्छ । सानो भनेर कुनै विषयलाई हेर्नु हुँदैन । सबैलाई इक्वाइल भ्यालु दिनुपर्छ । जस्तोसुकै सानो टपिकबाट पनि प्रश्न सोध्न सक्छ । त्यसमा ध्यान दिनुपर्छ ।
  • अर्को लोकसेवा आयोगमा लेख्ने टाइमको लिमिटेसन हुन्छ । थोरै समयमा धेरै र महत्वपूर्ण कुरा लेख्नुपर्ने हुन्छ । महत्वपूर्ण कुरालाई नदोहोर्याउने र नछुटाउने दुइटै तरिका अवलम्बन गर्नुपर्ने आवश्यकता रहन्छ । अलिकति कन्सेप्टेबल कुराहरू बुझ्ने र कन्सेप्ट बुझेपछि नेपालसँग कम्पियर गरेर लेख्ने परीक्षार्थी पास हुन्छन् । लेख्ने स्टाइलहरू नहुँदाखेरी समस्या हुन्छ । त्यो बुझिसकेपछि सजिलो छ ।
  • परीक्षार्थी स्तर घटेको छैन, बरु बढेको छ । लोक सेवा आयोगमा के हुन्छ भने सुरुमा जब कोर्स डिजाइन हुन्छ सुरुका वर्षमा सजिलो प्रश्न आइरहेको हुन्छ । जति त्यही कोर्स रहीरहन्छ पछि त्यो कम्प्लिकेटेड हुँदै जान्छ । किनभन्दा यो प्रश्न अघिल्लो वर्ष नै आइसकेको छ भन्ने हुन्छ । अनि अलि अप्ठ्यारो । लोक सेवाको क्वेसन्स बैकमा पनि प्रतिस्पर्धा हुन्छ । मैले बनाएको क्वेसन्स अलिकति बलियो हुन्छ कि भन्ने पनि कसै कसैलाई लाग्छ । बजारमा आएका प्रश्नभन्दा फरक बनाउने होड पनि चल्छ । त्यसले गर्दा लोक सेवा आयोगका प्रश्नहरू अलिकति कम्प्लिकेटेड हुँदै गइराखेको हो जस्तो लाग्छ ।
  • विगतमा सहसचिवलाई सोध्ने लेबलको प्रश्न अहिले अफिसरलाई नै सोध्ने गरिएको छ । यस्तै, अफिसरलाई सोधिने प्रश्न खरिदारलाई नै सोध्ने गरिएको छ । यहाँ त खरिदारको उम्मेदवार पनि डिग्री पास गरेको छ । लोक सेवा आयोगले त्यो हेरेको पनि हुन सक्छ । अहिले योग्यता बढिरहेको छ, त्यसैले प्रश्न पनि योग्य नै दिउँ भन्ने हुन सक्छ । तर, जुन लेबलको परीक्षा दिनुपर्ने हो । त्यहि लेबलको प्रश्न भए राम्रो हुन्छ । त्यस्तो गर्दा लोक सेवा आयोगलाई समस्या छ । एसएलसी गर्दा खरिदार भइन्छ । एसएलसी लेबलको सय प्रश्न दियो भने सय ओटै मिलाइदिन्छन् । अनि परीक्षार्थीको टेस्ट कसरी गर्ने ? त्यसले गर्दा लोक सेवालाई अलिकति कम्प्लिकेटेड प्रश्न बनाउनुपर्ने बाध्यता छ ।
  • यो बेला भनेको असाध्यै अवसर भएको समय हो । किनकि नेपालको निजामती सेवाको आकार बढ्दै छ । हिजो ८६ हजार रहेको निजामती सेवा अब एक लाख २३ हजार जति हुँदैछ । त्यसैले निजामती सेवामा अब २० देखि २५ हजार कर्मचारीहरू नयाँ भर्ना हुन्छन् । यो तीन वर्षभित्रमा २५ हजार कर्मचारी भर्ना गर्नैपर्छ । अहिले स्थानीय तह तथा प्रदेशमा धेरै कर्मचारीको खाँचो छ । 
  • नेपालको लोक सेवा आयोग र अरु देशको छनोट प्रक्रियामा कम्पियर त गर्न सकिन्छ । तर, देशको अवस्था अनुसार पनि फरक हुन्छ । बेलायतमा गृह मन्त्रालयलाई कर्मचारी चाहियो भने उसले आफै पनि भर्ना गर्न सक्छ । लोक सेवा आयोगलाई पनि भन्न सक्छ । हाम्रोमा आफ्नै निकायले छनोट गर्ने अवस्था बनिसकेको छैन । त्यसो भयो भने फेयर हुँदैन । त्यसैले हामीले अहिले लोक सेवा आयोग जिन्दावाद नै भन्नुपर्ने हुन्छ ।
  • लोक सेवा आयोगले जे गरिरहेको छ, राम्रै गरिरहेको छ । अब लोक सेवा आयोगको छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । किनभने लोक सेवा आयोगले सिलेबस नै बनाउँदा पनि भोलि गएर त्यो जब रिलेटेड हो कि होइन, त्यो विषय पढेको मान्छेले राम्रो काम गर्न सक्छ कि सक्दैन भनेर । जस्तोः अफिसरमा एप्टिच्युट टेस्ट भन्ने छ, एउटा धर्कोसँग अर्को धर्को मिलेको छ की छैन भन्ने । निजामती सेवाको अफिसर भएपछि कहाँनिर काम लाग्छ त्यो । मैले अहिलेसम्म बुझेको छैन । जब त्यो विषय काम लाग्दैन भने त्यसको टेस्ट गरिराख्नु पर्ने के जरुरी छ ।
  • अहिले नै हेर्ने हो भने धेरै किसिमका विषयवस्तुहरु राखिदिएको छ, जुन आवश्यक छैनन् । त्यसै कारणले निजामती सेवामा सम्बन्धित पदमा गएर उसले जे काम गर्नुपर्ने हो त्यसैसँग रिलेटेड कोर्स डिजाइन गर्नुपर्छ, लोक सेवा आयोगले । 
  • उपसचिव पदको कापी सहसचिवलाई जाँच्न दिइराखेको हुन्छ । सबै सहसचिव पढेर अपडेट छैनन् नि । सबैले बुझिराखेका छैनन् नि । सहसचिव भन्दैमा उ जान्ने छैन नि । त्यसैले पोजिसन होइन । उसँग कति कम्पिटेन्सी छ भन्ने आधारमा कापी जाँच्न दिनुपर्यो । नत्र अन्याय हुन्छ परीक्षार्थीहरूलाई । यद्यपि, रोस्टर हेर्छ, उसको अनुभव हेर्छ । त्यो गरेको छ । तर पोजिसन पनि गरिराख्नुको अर्थ त्यो त्यति राम्रो होइन । त्यस्तो पक्षमा सुधार गर्नुपर्ने हुन्छ ।
  • बाहिरका एक्सपोर्ट ल्याउँदा पनि उसको पृष्ठभूमि, व्यवहारलगायत पक्षबारे ध्यान दिएर एक्सपोर्ट छनोट गर्नुपर्छ इन्टरभ्युमा । त्यो सुधार गर्नुपर्ने हुन्छ । अर्को मार्किङको सिलसिलामा पनि ३० भन्दा कम ६० भन्दा बढी दिन नपाइने भनिराखेको हुन्छ । यो बिचको बाटो अवलम्वन गरिराखेको हुन्छ । एक्स्ट्रा अडिनरी छ भने बढी अंक पनि दिनुपर्यो नि । त्यस्ता पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ । आजभोलि विश्वमा एसएसमेन्ट सेन्ट्रल मेथोडोलोजी भनिएको छ । त्यसले मान्छेको समग्र व्यवहारको टेस्ट गर्छ । जस्तोः मैले इन्टरभ्यु दिए भने विगतमा मेरो कामको पर्फमेन्स, कारवाही, पुरस्कारलगायतको टेस्ट हुन्छ । तर, हाम्रोमा त्यो सिस्टम छैन ।
http://www.prasashan.com/2018/08/12/78046/?fbclid=IwAR3uREX8oVmHmUJOzdP_M3hRE3DF_lSBIvyOmuf_awL-AxqM340cQkpwE2o

Saturday, November 17

कर्मचारीतन्त्रमा राजनीतिक छाया-रोजिना पोखरेल

  • निजामती सेवा व्यवसाय, दलगत राजनीतिबाट टाढा रही सरकारका नीति, योजना र कार्यक्रम तर्जुमा र तिनको सफल कार्यान्वयन गर्न प्रतिबद्ध रहने मान्यतामा हुन्छ । कानुन बमोजिम प्राप्त गोप्य मतदानको अधिकार बाहेक कर्मचारीमा राजनीतिक गन्ध र पहिचान हुनुहुन्न । तर कानुनले व्यवस्था गरेको ट्रेडयुनियनको हक र व्यवस्था दुरुपयोग गर्दै निजामती कर्मचारीले ठूला राजनीतिक पार्टीका भ्रातृ संगठनको स्पष्ट झल्को दिनेगरी ट्रेड युनियनहरू खडा गरेका छन् । 
  • व्यक्तिगत लाभको लोभले कर्मचारीहरूमा दलगत युनियनप्रति मोह हटेको छैन ।
  •  कर्मचारीतन्त्र राजनीतिक तटस्थताबाट विचलित भएको छ ।
  • निजामती सेवा ऐनले निजामती कर्मचारीले राजनीतिमा भाग लिनु नहुने र कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने साथै अनुशासन र आज्ञापालन गर्नुपर्ने जस्ता आचारण व्यवस्था गरेको छ । प्रजातान्त्रिक पद्धतिलाई आत्मसात गर्दै पेसागत मागका लागि सामाजिक सम्वाद र सामुहिक सौदाबाजी गर्न निजामतीका ट्रेड युनियन स्थापित भएका हुन् ।
  • ट्रेड युनियनको कर्तव्य समस्त कर्मचारीको हकहित संरक्षण एवं सम्बद्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्नु हो । निजामती कर्मचारीको ट्रेड युनियनले भेला, तालिम, प्रशिक्षण, गोष्ठी लगायतका रचनात्मक एवं सिर्जनात्मक कार्य सञ्चालन गर्न सक्छन् ।
  • ट्रेड युनियनको विकास र विस्तार औद्योगिक क्षेत्रबाट भए पनि समयक्रममा पेसागत हकहित रक्षाका लागि व्यस्थापकसँग सौदाबाजी गर्ने व्यवस्थित संयन्त्रका रूपमा रूपान्तरण भएको हो । 
  • कर्मचारीको साझा हितका विषयमा वकालत गर्ने, माग राख्ने, बहस चलाउने र सामुहिक सौदाबाजी गर्ने अधिकार सहितको एकल ट्रेड युनियन भए पुग्छ । यस्तो युनियन राजनीतिक दलको भ्रातृ संगठन हुनुहुँदैन । ट्रेड युनियन अधिकार पाएका निजामती कर्मचारीले मतदान गरी चयन गर्नसक्ने चारवर्षे कार्यकाल भएको आधिकारिक ट्रेड युनियनको मात्र व्यवस्था संघीय निजामती सेवा ऐनमा हुनुपर्छ ।
https://www.kantipurdaily.com/opinion/2018/11/16/1542334471932573.html