Friday, September 21

विकास र गरिबीको जाल शनिबार-०५ साउन २०७५-जगन कार्की

  • विकासका पूर्वाधारहरु बनेसँगै गरिविको रेखामुनी  रहेका जनताहरु झन्-झन् गरिव हुँदै जाने अवस्थालाई गरिवीको दुस्चक्र अर्थात् गरिवी जाल भनिन्छ।  समाजशास्त्रीय दृष्टिकोण अनुसार गरिवी  जाल (Poverty Trap) विकास र पूँजीवादको चरम विकाससंगै देखापर्ने एउटा स्वनिर्मित अवस्था हो। यस अवस्थामा विकासका पूर्वाधारहरुको विकास जस्तै : बाटो-घाटो , बिजुली , संचार र शहरीकरणको विकाससंगै जनताहरुको अवस्था झन्-झन् दयनीय बन्दै जाने अर्थात्  अविकासको विकास सृजना हुने गर्दछ।
  • कुनै पनि देश वा कुनै निश्चित  भौगोलिक क्षेत्र गरिव बन्नुमा तिनको भाग्य , अर्थात् त्यहाँका स्थानीय वासिन्दाको आफ्नो कर्मको दोष  भन्दा पनि  नीति निर्माताहरुले उनीहरुलाई गरेको भेदभाव तथा अन्य  विकसित भनिएको व्यवस्थाले पारेको असरको रुपमा गरिवी जाललाई लिने गरिन्छ। 
  • विभिन्न खोज र अनुसन्धानहरुले गरिव जालका कारक  तत्वहरु मध्ये गरिव जनताका लागी  ऋण अभाव तथा बित्तिय असमावेशिता, रोग-ब्याधीयुक्त वातावरण, कमजोर स्वास्थ्य सेवा, प्रचुर वातावरणीय विनास , युद्ध , कमजोर भौतिक पूर्वाधार , कमजोर शिक्षा तथा  चेतनाको अवस्था इत्यादीलाई लिएको पाइन्छ।
  • गत २०१७ को  नोभेम्बर महिनामा राष्ट्रिय योजना आयोगले तयार पारेको  बहुआयामिक गरिवी सम्बन्धि प्रतिवेदन अनुसार नेपालमा अझै पनि एक तिहाइ जनता गरिवीको रेखामुनि रहेका छन्। स्वास्थ्य , शिक्षा , पोषण र चेतनाको स्तरको आधारमा २८.६ प्रतिशत जनता गरिवीको रेखामुनी रहेको उक्त तथ्यांकले बताउँछ भने  अझ दुर दराजका गाउँहरुमा यसको संख्या र अवस्था दयनीय रहेको छ। प्रदेश ६ र २ को हकमा ५० प्रतिशत जनता गरिविको रेखामा रहेको २१ औँ  शताब्दिको अत्यन्त दयनीय अवस्था  उक्त तथ्याँकले बताउँछ। सामान्य खानेपानी र स्वास्थ्य अनी शिक्षाको पहुँचबाट पनि बन्चित छन् यी गरिविको रेखामुनी रहेका जनता। त्यस्तै गरेर सोहि प्रतिवेदनमा प्रदेश ५ मा ३० प्रतिशत रहेको जनाइएको छ भने ३ , १ र ४ मा १५ प्रतिशतको हाराहारीमा गरिवी विद्यमान रहेको बताएको छ।
  •  कुनै पनि देश वा कुनै निश्चित  भौगोलिक क्षेत्र गरिव बन्नुमा तिनको भाग्य , अर्थात् त्यहाँका स्थानीय वासिन्दाको आफ्नो कर्मको दोष  भन्दा पनि  नीति निर्माताहरुले उनीहरुलाई गरेको भेदभाव तथा अन्य  विकसित भनिएको व्यवस्थाले पारेको असरको रुपमा गरिवी जाललाई लिने गरिन्छ। 
  • प्रति व्यक्ति आय २७०० डलर रहेकोमा यो आय सबै धनी गरिव जनसंख्या मिलाइएको औसत रहेको र गणना गर्ने बिधि नै त्रुटीपूर्ण रहेको केहि बिज्ञहरुको आफ्नै राय रहेको छ। जे हुन्  यी तथ्यहरु  पक्कै पनि गरिवीको स्पष्ट संकेत दिने तथ्यांकहरु हुन्।
  • नेपालको परिपेक्षमा  धेरै वादहरु  फेरीए, तिब्र राजनीतिक परिवर्तन आयो तर गरिवीको रेखा मुनि रहेका जनताको अवस्थामा  खास परिवर्तन आउन सकेको छैन। यस अर्थमा यहाँको गरिवी, अशिक्षा र विकासको अवस्था र कारकलाई राजनीतिको जाल पनि  भन्न सकिएला ? यसै परिपेक्षमा केहि बिज्ञहरु त योजना , नीति नियम भन्दा पुरातन विचार , त्यहि स्कुलिङ्गमा हुर्किएका यथास्थितिवादी नेताहरुलाइ विकास र सम्वृद्धिका कारक र  बाधकका रुपमा  जिम्मेवार ठान्ने गर्दछन्।
  • विश्वमा रेमिटेन्समा भरपर्ने मुलुकहरुमा हाल तेस्रो अवस्थामा नेपाल रहेको छ। मुलुकको  कुल अर्थतन्त्रको ३१ प्रतिशत भर रेमिटान्सको छ, यति ठूलो हिस्साको रेमिटान्स भित्र्याउन सहयोग गर्ने ५० औं  लाख जनता वैदेशिक रोजगारिका लागि दिनहुँ १४-१५०० को हाराहारीमा उड्नु पक्कै पनि सम्वृद्धिको सूचक हैन। त्यस्तै गरी   खाद्यान्न आयातका कुरा धान-चमाल, तरकारी सम्म आयात हुन थालेको दयनीय अवस्थाको त चर्चा  नै नगरौं।
  • भूकम्प र नाकाबन्दिको मार थेगेको मुलुकमा एक बर्षसम्म लगातार चुनावहरु भए दिर्घकालिन रुपमा सकारात्मक नै भए पनि राष्ट्रिय ढुकुटी रित्याउने काममा पक्कै भूमिका छ  त्यस्तै गरि  गणतन्त्रको १० बर्षको यात्रामा १० सरकार परिवर्तन हुनु झन्  आर्थिक सम्वृद्धि र विकासका लागि निरासाजनक घटनाहरु नै  थिए।
  • नेपालको सन्दर्भमा ४६ साल अघि र त्यस पछि आजको दिनसम्म आइपुग्दाको विकासको रुप र अवधारणालाई तुलना गर्दा मात्र पनि अब हामीले अवलम्बन गर्नुपर्ने विकासको रुप र खाका स्पष्ट रुपमा देखिन्छ । जनतालाई असमानता, दमन र चरम विभेदको सिकार बनाएर लादिएको ४६ साल अघिको विकास र केवल अधिकार र समानताको लडाई भन्दै चलाईएका आन्दोलन र आवाजसंग पुरानै शैलीमा लाद्न खोजिएको विकासले  न कुनै अर्थ राख्यो न प्रभाव नै छोड्न सक्यो। इतिहासको सन्दर्भमा धेरै अगाडिसम्म नगएर  यी २ अवस्थालाई मात्र नियाल्ने हो भने भावी दिनमा  विकास र सम्वृद्धिका लागि कस्तो रणनीति लिएर अघि बढ्न सकिन्छ भन्ने प्रष्ट खाका देख्न सकिन्छ।
  • संघीय सरकारदेखि स्थानीय तहसम्म देखिएको सुविधा तथा प्रचारमुखी शैली पक्कै दिगो विकास र सम्वृद्धिकोलागि सकारात्मक सूचक हैन। डोजर चलाएर सर्वसाधारण हरुलाई खाल्डोमा खसाल्दै ठेकेदार र डनहरुका आडमा गरिने विकास र सम्वृद्धिका उद्घाटन हुन् वा विकासका संकेतहरु तिनले  पटक्कै दिगोपनको संकेत गर्दैनन्।
  • राष्ट्र संघद्वारा तयार परिएको मानव विकास सूचांक १४४ औँ स्थानमा रहनु अनि  सबै भन्दा ठूलो असमानताको खाडल शिक्षा र स्वास्थ्यको पहुँचमा  देखिनुले  वाम नामको सरकारलाई कहाँ कसरि समानता र समतापूर्ण विकासका योजना तर्जुमा गर्ने भन्ने कुरो खुट्याउन ठूलो कसरत गर्न नपर्ने हो तर एकोहोरो विकास र सम्वृद्धिका नाराले ओझेलमा परेको गरिवी, असमानता अनि पहिचानका सवालहरुले फेरी पनि निम्त्याउने उही पंचायती शैलीको बुर्जुवा विकास न हो?
  • नयाँ सरकारले  सार्वजनिक गरेको बजेटमा  शिक्षामा विज्ञानप्रविधि सहित १०.२ % र स्वास्थ्यमा ४.३% मात्र बिनियोजन हुनुले गलत ठाउँमा प्राथमिकता पाएको प्रष्ट छ अर्थात् भनौं भोका, नांगा र रोगि जनतालाई जम्बो   विकास र सम्वृद्धि उही यहाँ उठाउन खोजिएको गरिवी जालको जस्तो अवस्था।
  • सीमान्तकृत जनताको जीवन स्तरमा उलेख्य सुधार नगरी सिर्जना गरिने विकासका पूर्वाधारले दिगो पन नलिने बरु त्यस्ता विकासका पूर्वाधारहरुले  गरिवीको दुस्चक्र सृजना गरि गरिव जनतालाइ झनझन गरिवीको रेखामा रहि रहन र अझ दयनिय अवस्था सृजना गर्ने विकसित देशमा सिर्जना हुने गरिवीको दुस्चक्र सम्बन्धि अध्ययन हरुले बारम्बार देखाउंदै आएका छन्।  खाली पेटलाई  रेल , तेल र बिजुलीको महत्व तव हुने छ जव उसको पेट भरिएको हुन्छ , खल्तीमा ति सम्पूर्ण सेवा सुविधा उपभोग गर्ने  क्रय शक्ति हुन्छ।
  • दुर दराजमा हुने विकासको गतिले त्यहाँको स्थानीय जनताको जीवनस्तर उकास्न सकेन भने , कर्णालीको जनताले आफैले खनेको बाटोमा आफ्नै सवारी चलाउने ताकत राख्न सकेन भने हाल सम्म देखिएका विकासका आयामहरु जस्तै  गरिवीका जालहरु बिछ्याउने काम मात्र हुनेकुरा जिम्मेवारीमा बसेका समाजवादी बिल्ला भिरेका साशक वर्गले राम्रोसंग हेक्का राख्न जरुरि छ।  
  •  गरिवीजाल सृजना गर्ने अर्को तत्व भनेको एकातर्फ आधुनिक प्रविधि गाउँघरमा भित्रिनु अर्कातिर तिनलाई बुझ्ने , प्रयोग गर्ने र सदुपयोग गर्ने जनशक्ति र चेतनाको स्तर नहुनुलाई पनि मानिन्छ।
  • अफ्रीकाको सब सहारा देशहरुमा संयुक्त राष्ट्र संघको एक अध्ययनले गरिवी जाल सृजना हुनुमा ५ वटा कुराहरु मुख्य रहेको बताएको छ।  बजारको सानो आकार र उच्च यातायातको खर्च ,  खस्किंदो कृषी  उत्पादन ,  स्वास्थ्य अनी रोगको उच्च जोखिम,  खराब भूराजनीतिक अवस्थिति र आधुनिक प्रविधिको विकासमा ढिलोपन जस्ता तत्वहरु रहेको  देखाएको छ। नेपालको परिपेक्षमा यी पाँचै पक्षसंग हाम्रा गुणहरु थोर बहुत मिल्दा जुल्दा नै देखिन्छन।  अझ एउटा अद्ययनले त समुन्द्र संगको भरपर्दो यातायात जोड़िएर रहन नसक्नु र भू परिबेस्टित अवस्थालाई पनि गरिवीजालको एउटा कारकको रुपमा चित्रित गरेको पाइन्छ भने प्राकृतिक प्रकोपहरुलाई अर्को एक तत्वको रुपमा अर्थ्याएको पाइन्छ।
  • गरिवीजाल सृजना गर्ने अर्को तत्व भनेको एकातर्फ आधुनिक प्रविधि गाउँघरमा भित्रिनु अर्कातिर तिनलाई बुझ्ने , प्रयोग गर्ने र सदुपयोग गर्ने जनशक्ति र चेतनाको स्तर नहुनुलाई पनि मानिन्छ।
  • खुला अर्थतन्त्रको वकालत गर्ने अमेरिका चाइनिज स्टिलहरुको रोक लगाउने र महँगो ट्याक्स लगाउने  व्यापारिक युद्ध छेडेको अवस्था छ भने समाजवादी अर्थतन्त्रको वकालत गर्ने चाइनालाई आफ्ना मास प्रोडक्सन उत्पादनहरु बेच्न बिश्वको खुल्ला पूँजी बजार नभै नहुने अवस्थामा पुगेको छ। अविकसको विकास गर्ने हो कि सामाजिक , संस्कृतिक ,  पर्यावरण सम्बर्धनका संगै आर्थिक गति दिने  चौतर्फी विकासको पूर्वाधार सृजना गर्ने ? भन्ने बिषयमा समाजवादी रुपमा चिनिन चाहने सरकारले हेक्का राख्नु पर्ने देखिन्छ।  
  • विकास केवल पूँजीवादको  बजार बिस्तार मात्र गर्नको लागि मात्र हो वा जनताको जीवन स्तर उकास्नको लागि हो ? स्पष्ट हुनु पर्ने देखिन्छ।
  • एउटा सानो उदाहरणको लागि हेरौं  हाल ९९  प्रतिशत जनताको हातमा पुगेको मोबाइल फोन संचारको सदुपयोग बिलासिताको रुपमा र तिनलाई कंगाल पार्ने रुपमा  तिनका हुँदा ख्नादाको  कुखुरा , बाख्रा बेचेर खानपिनको बजेट काटेर मोबाइलमा ब्यालेन्स हालेर बोल्नु पर्ने स्थिति छ। भैंसी बेचेर आधुनिक मोबाइल सेट किन्नु पर्ने अवस्था छ। मोबाइल  कम्पनिहरु  धनिबने पनि जनताको अवस्थामा झन् दयनीय  बन्दै गएको  देखिन्छ। हामीले यसको प्रयोगको लागि उत्पान तर्फ सोच्न सकेनौं।
  • गाउँ घरमा फलेका कोदो फापर , जडीबुटी पूँजीवादको साहुलाई बेचेर चाउचाउ र पाउरोटी खाने संस्कारले जनताको स्वास्थ्य , मानसिकता  र आर्थतन्त्रमा लुट मच्चाएको छ।
  • विकास र सम्वृद्धिका नाराले तिनलाई सम्बोधन गर्ने कि नगर्ने ?  स्थानीय भाषा संस्कृति अनि पहिचानलाइ सम्बर्धन गर्न त्यहाँको पर्यावरणलाइ जोगाउँदै दिगो  र चौतर्फी विकासका आधारसिला तयार गर्न लाग्ने कि नलाग्ने ?  गम्भीर प्रश्न जन्माएको छ।
  • सामाजिक र आर्थिक लोकतन्त्र बिनाको राजनीतिक लोकतन्त्र खोक्रो ढर्राको लोकतन्त्र हुने अम्बेडकरका तर्कहरु वास्तवमा नै हाम्रो जस्तो मुलुकमा अनुकरणीय हुन्।  यहि कुरालाई 'व्हाई द नेसन फेल' भन्ने पुस्तकमा पनि विकसित देशको सरकार र राजनीतिक शक्तिको तल्लो स्तरका जनता सम्म प्रत्यायोजनको जगले बलिया बनेका र गरिव देशहरू लोकतन्त्रका नाममा नेताहरुको ग़ैर ज़िम्मेवारिपन  र नीतिगत भ्रष्टाचारलाई बढ़ावा दिएर झन गरिव बनेका यथेष्ठ प्रमाणहरुको फेहरिस्त पेस गरिएको छ।
  • गरिवी जालको भूमिकामा बित्तिय भेदभाव र असमावेशीताको अर्को महत्वपूर्ण पक्ष रहेको देखिन्छ। शहरमुखी बैंकहरु धनि र प्रसस्त सम्पत्ति हुनेहरुलाई पत्याउने अरबौं ऋण र प्रत्याभुती हुने  तर गरिखाने बर्गलाई पटक्कै बिश्वास नगर्ने तिनलाई न पूँजी, ऋण न बिमा केहि पनि उपलब्ध गाउन तयार नभएको बित्तिय व्यवस्था र प्रणालीले  सिर्जना गर्ने सम्वृद्धिको आधार कस्तो हुने भन्ने कुरा घाम जस्तै छर्लंग भएको अवस्था छ।  
  • प्रसिद्ध जेफ्री स्याचले गरिवीको जालबाट मुक्तिका लागी नीतिगत सुधार र विकसित मुलुक तथा केन्द्रहरुको पहल नै मुख्य रहने बताएका छन्  भने गरिवी र पछौटेपनले ब्याप्त समाजलाई विभिन्न अन्तराष्ट्रिय सरोकारवाला संस्थाहरु तथा गैरसरकारी संघसंस्थाहरुले  प्रत्यक्ष आर्थिक तथा भौतिक सेवा सुविधा प्रदान गरेर भोकालाई  माछा दिने  भन्दा माछा मार्न सिकाउनु पर्ने अर्थात् सिप , ज्ञान तथा दिगो निकासका योजना प्रदान गर्नु पर्नेकुरामा जोड दिन्छन। 
  • सदियौंदेखि राज्य चरित्रको शोषण र उत्पीडनमा परेको समूहलाई समेटेर समावेसी चरित्रको विकासको अवधारणा अवलम्बन गर्नु  एकतर्फी चुनौती छ भने अर्को तर्फ विकाश र सम्वृद्धिका नाराहरु फलाक्दै गर्दा सामान्य  गास, बास र कपासको समस्या झेलीरहेको जनताको स्तरलाई  साथसाथै माथि  उकास्दै चौतर्फी रुपमा समावेसी तथा दिगो विकासको अवधारणा अङ्गीकार गर्नुपर्ने आवयकता  देखिन्छ।
 (कार्कीले विद्यावारिधिका लागि नेपालको वित्तिय असमावेशिता सम्बन्धि विषयमा बेलायतमा अनुसन्धानरत छन्)

Thursday, September 20

सरकारमा प्राविधिज्ञको खाँचो-डा. घनश्याम भट्ट - ०४ असोज २०७५ -अन्नपूर्ण पोष्ट

  • सन् १९३० को दशकमा पश्चिममा ‘टेक्नोक्रेसी’ शब्दको प्रार्दुभाव भयो र यो लोकप्रिय पनि भयो। टेक्नोक्रेसीको शाब्दिक अर्थ प्राविधिज्ञको शासन हो तर उच्च प्रशासन विज्ञ र प्राविधिज्ञहरूको नेतृत्वमा हुनुपर्ने मान्यतालाई टेक्नोक्रेसी भन्न खोजिएको छ। त्यस्ता विज्ञ र प्राविधिज्ञलाई यहाँ टेक्नोक्रेट भनिएको छ।
  • संघीयता विज्ञहरूको राय नलिइएको एक राजनीतिक निर्णय थियो। 

कर्मचारी समायाेजनकाे अर्थशास्त्र -डा. मीनबहादुर श्रेष्ठ -नयाँ पत्रिका

  • नेपालको नयाँ सविधानअनुसार तीन तहको शासन प्रणाली लागू गर्दा सार्वजनिक सेवा प्रवाह र विकास–निर्माणको डेलिभरी गर्ने कार्यमा सबैभन्दा अहम् महत्व राख्ने कर्मचारी संयन्त्रमा आवश्यक रूपान्तरण नगरी हुँदैनथ्यो । 
  • कर्मचारी समायोजनसम्बन्धी दृष्टिकोणमा अस्पष्टता, एकाध व्यक्तिको बुझाइ र लहडका आधारमा समायोजनजस्तो गम्भीर कार्य अघि बढाउने प्रयास र समयको आर्थिक मूल्यप्रतिको बेवास्ता वा अज्ञानताका कारण मुलुकले ठूलो व्यवधान भोग्नुपरेको छ ।
  • ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा गरेकालाई स्वैच्छिक अवकाशमा जान विकल्प दिने व्यवस्था बमोजिम  अवकाशमा जाने कर्मचारीले सात वर्षको पेन्सन बराबरको थप रकम पाउने भए । यसको निमित्त सरकारले ५०–६० अर्बको थप व्ययभार बोक्नुपर्ने भयो भनेर भ्रम सिर्जना गरियो । जवकि अवकाश पाउनेले मासिक रूपमा पाउने पेन्सन अग्रिम रूपमा एकमुष्ट पाउने मात्र व्यवस्था गरिएको हो । यसो गर्दा नयाँ व्ययभार थपिने नभई पछिको व्ययभार अगाडि सर्ने मात्र हो । अहिले नै सात वर्षको पेन्सन एकमुष्ट बुझ्नेलाई अर्को सात वर्षसम्म पेन्सन दिनुपर्दैन । ‘टाइम भ्यालु अफ मनी’अनुसार अग्रिम रूपमा भुक्तानी दिँदा सरकारलाई सामान्य भार मात्र पर्ने हो ।
  • यसबाट अवकाश रोज्ने कर्मचारीलाई ठूलो राहत हुन्छ भने अर्थतन्त्रलाई पनि लाभ हुन्छ । मासिक पेन्सनले अवकाशप्राप्त कर्मचारीले मुस्किलले गुजारा मात्र चलाउन सक्छ भने एकमुष्ट रकम पाएर निस्कनेले केही लगानी र व्यवसाय गर्न सक्छ, जसबाट मुलुकको आर्थिक क्रियाकलापमा प्रत्यक्ष सहयोग पुग्छ ।
  • कर्मचारीको अवकाश उमेरहदलाई सरदर आयुमा मात्र आधारित बनाउनु हुँदैन, मुलुकको आवश्यकताका आधारमा तय गर्नुपर्छ । जुन मुलुकमा युवाले रोजगारी नपाएकाले ५०–६० लाखको संख्यामा विदेशमा श्रम गरिरहेका छन्, प्रतिदिन १२–१५ सयजना रोजगारीका लागि बिदेसिनुपरिरहेको छ, पदपुर्तिका लागि सरकारी र अन्य संगठित संस्थाले विज्ञापन निकाल्दा आवश्यक पद संख्याभन्दा कैयौँ गुणा बढी आवेदन पर्ने गरेका छन् ।त्यस्तो देशमा राज्यले थप रोजगारी सिर्जना गर्नुपर्नेमा उल्टै साबिकको सेवा अवधिको हद बढाएर नियमित रूपमा खाली हुने स्थान पनि खाली नहुने बनाउनु भनेको गम्भीर त्रुटि हो । 
  • नियमित रूपमा सिर्जना हुन सक्ने रोजगारीको अवसर घटाएर बेरोजगारको संख्या बढाउने अनि बेरोजगारलाई भत्ता उपलब्ध गराउने भनेको ‘गलत अर्थशास्त्र’ हो ।
  • विश्वका विभिन्न मुुलुकको अनुभवले  ठूलो राजनीतिक परिवर्तनपछि कर्मचारी संयन्त्रलगायत डेलिभरी सिस्टममा वेलैमा रूपान्तरण गर्न नसकिएमा राजनीतिक परिवर्तन दिगो नहुने वा त्यस्तो परिवर्तनबाट अपेक्षित लाभ लिन नसक्ने अवस्था आउँछ ।
  • राजनीतिक परिवर्तनपछि लिइएको समृद्धिको लक्ष्य हासिल गर्न डेलिभरी सिस्टमलाई अनुकूल नबनाई सम्भव हुँदैन, जसअन्तर्गत प्रमुख रूपमा कर्मचारीतन्त्र र विधि तथा प्रक्रियाको रूपान्तरण गर्ने कार्य पर्छन् ।
  • कर्मचारीतन्त्रलाई रूपान्तरण गर्न केही पुराना कर्मचारीलाई अवकाश दिएर नयाँ कर्मचारी भर्ना गर्ने, तलब–सुविधामा उल्लेखनीय वृद्धि गर्ने, सार्वजनिक सेवामा उच्च प्रविधिको प्रयोग बढाउने, प्रभावकारी तालिमको व्यवस्था गर्ने र कर्मचारीलाई प्रक्रियामुखी हुनेबाट नतिजामुखी हुने प्रणाली लागू गर्नेतर्फ गम्भीर कदम चाल्नु जरुरी छ ।
  • मुलुकलार्ई आफूले सक्दो योगदान दिएका कर्मचारीलाई अपमानित गरेर होइन, ससम्मान बिदा गर्नु पनि राज्यको दायित्व हो ।
  • विश्वमा पूरा जीवनकाल एकै संस्थामा काम गर्ने परिपाटी कम हुँदै गएर करारमा काम गर्ने र छिटोछिटो ‘करिअर’मा फड्को मार्ने प्रवृत्ति बढ्दो छ । यसबाट सरकार र संगठित संस्थाहरूले पनि आवश्यकताअनुसार जनशक्ति छानीछानी आपूर्ति गरी लाभ लिइरहेका छन् ।
  • नेपालमा पनि निजामती सेवामा न्यून संख्यामा मात्र स्थायी कर्मचारी भर्ना गरी खासगरी प्राविधिक, विज्ञतासँग सम्बन्धित र उच्च तहका कर्मचारी करारमा मात्र भर्ना गर्ने मोडेलमा जानु आवश्यक छ ।
  • समायोजनको नाममा अझै पनि अनिच्छुक कर्मचारीलाई बलजफ्ती पठाउन खोज्ने हो भने त्यस्तो कर्मचारी वेलामा हाजिर हुन नजाने, गए पनि पूर्ण जोस र जाँगरसाथ काम नगर्ने, उल्टै कार्यालयमा कामको वातावरण खल्बल्याउने अवस्था आउन सक्छ । तत्कालको आवश्यकता पूरा गर्न प्रदेश र स्थानीय तह आफैँले प्रतिस्पर्धाका आधारमा नयाँ कर्मचारी भर्ना गर्ने व्यवस्था गर्नुपर्छ ।

Wednesday, September 19

संविधान : कर्तव्य बढी, अधिकार कम-सीके लाल ०३ असोज २०७५

संविधान लागू भएको तीन वर्षमा व्यवहारिक रूपमा यसका केही सकारात्मक चिन्ह 
  • पहिलो, यो संविधानलाई एकथरी विचार निर्माता र पढेलेखेकाहरूको ठूलो समर्थन छ।  नेपाली जनताका लागि राम्रो नभए पनि संविधानको आयुको लागि यो एकदम सकारात्मक संकेत हो।
  • दोस्रो, दुनियाँभरि दक्षिणपन्थी बहाव छ। नेपालमा पनि यथास्थितिवादीको पक्षमा समर्थन प्राप्त छ। अन्तर्राष्ट्रिय परिस्थिति पनि संविधानका लागि सकारात्मक छ।
  • तेस्रो, आन्तरिक कमजोरी होस् या डर, वा अन्तर्राष्ट्रिय दबाबले नै किन नहोस्– मधेसबाट आउन सक्ने चुनौती समाप्त भएको छ। मधेसको ठूलो उपेन्द्र यादव समूह  सरकारमै सहभागी भयो। गठबन्धन रूपमा रहेको राजपाले पनि सरकारलाई समर्थन गरेको छ। जनजातिबाट तत्कालका लागि कुनै चुनौती छैन। आन्तरिक परिस्थिति एकदमै सकारात्मक छ।
  • चौथो, संघीय, प्रान्त र स्थानीय चुनाव सफलतापूर्वक सम्पन्न भए।  संविधानको दीर्घजीवनका लागि यो अर्को सकारात्मक पक्ष हो।
संविधानले केही चुनौती 
  • पहिलो, संघीयताको सीमांकनसँग जोडिएको छ। सिद्धान्ततः संविधान संशोधन गरेर त्यसलाई सच्याउन सम्भव छ तर व्यवहारिक रूपमा त्यो असम्भव छ। असम्भव किन छ भने यसका लागि संघीय संसदको दुई तिहाईले संशोधन गरेर कानुन बनाएर मात्र पुग्दैन। सम्बन्धित दुई प्रान्तको संसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्छ। कसैको काटिने र कसैमा थपिने कुरा भयो भने प्रतिद्वन्द्वी राज्यको संसद्बीच सहमति हुने सम्भावना अत्यन्त न्यून हुन्छ। यसैले सैद्धान्तिक रूपमा संविधान संशोधन सम्भव भनिए पनि व्यवहारिक रूपमा सम्भव छैन।
  • दोस्रो, सिद्धान्ततः नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषा भनिएको छ। व्यवहारमा भने प्रदेश र संघीय सरकारको अनि प्रदेश–प्रदेशबीचको कामकाजको भाषा खसआर्यको मातृभाषा अर्थात् नेपाली भाषा नै छ। व्यवहारिक रूपमा बहुभाषिकता पनि सम्भव भएन।
  • तेस्रो कुरा, उपल्लो सदनमा जनसंख्या अनुपातमा प्रतिनिधित्व भएन। राष्ट्रपतीय प्रणाली भएको देशमा जनसंख्याको अनुपात हुँदैन भन्ने तर्क गरियो। हामीले राष्ट्रपतीय नभएर संसदीय प्रणाली अपनाएका हौँ। कन्सोसनियल प्रणाली अपनाएका हौँ भने सांस्कृतिक समूहको आधारमा प्रतिनिधित्व हुनुपर्‍यो। उदारवादी व्यवस्थै हो भने जनसंख्याका आधारमा हुनुपर्‍यो।
  • राज्यको सबै अंगमा समानुपातिक उपस्थिति भनिएको छ तर जसको उपस्थिति ८०–८५ प्रतिशत छँदैछ, तिनैलाई आरक्षण दिने भनियो। ५ प्रतिशतभन्दा कम सहभागीलाई पनि आरक्षण दिने भनिएको छ। दुवैलाई आरक्षण दिने भनिसकेपछि कुन युगमा गएर समानुपातिक उपस्थिति होला ? यो सम्भव छैन। यसमा संशोधन गर्न सम्भव छैन। एकपटक पाइसकेको अधिकार खोस्न सजिलो छैन। राजाकै अधिकार खोस्न त क्रान्ति गर्नुपर्दोरहेछ भने सामान्यजनको अधिकार खोस्न कसरी सजिलो हुन्छ ? 
  • व्यवहारिक रूपमा यो संविधान लगभग असंशोधनीय भएको छ। जुन वस्तु असंशोधनीय छ, त्यो फुट्छ। 
  • वर्गीय र सांस्कृतिक मुद्दालाई संविधानले मिसमास गरेको छ। दलित, जनजाति, मधेसी र गरिब खसआर्यका लागि आरक्षण भनिएको छ। गरिबी निवारण आर्थिक मुद्दा हो। आरक्षण सांस्कृतिक रूपमा बहिष्करणमा परेका वा सीमान्तकृतका लागि  हो। यी दुईलाई एकै ठाउँमा मिसाइएको छ। 
  • रथको पांग्रामा बसेको झिंगालाई लाग्छ, रथ मैले नै दौडाएको छु। सरकारमा हुनेहरूको मनोवृत्ति त्यस्तै होला। नेपालमा दशदश वर्षमा नयाँनयाँ संविधान लेख्ने त परम्परै छ।
  • संविधानसम्बन्धी परम्परागत धारणाले तीन चारवटा कुरा निर्दिष्ट गर्छ। यसको उद्देश्य, शासन प्रणाली, शक्ति बाँडफाँट र शक्ति दुरूपयोग, जनताका गुनासाहरूको सुनुवाइ तथा सहभागिता, संशोधन प्रक्रिया निर्धारण भएपछि मात्रै परम्परागत संविधान भनिन्छ। तर सबै संविधान परम्परागत हुँदैनन्। कुनै संविधानले क्रान्तिमार्फत् नयाँ बाटो लिन्छन्। कुनै संविधान पुरानै व्यवस्था फर्काउन प्रतिक्रान्तिद्वारा ल्याइएको हुन्छ। क्रान्तिले अघि बढ्ने संविधान बनाउँछ, प्रतिक्रान्तिले पछि फर्काउने। परम्परागत संविधानले चाहिँ यथास्थितिमा सामान्य परिवर्तनको प्रक्रिया सुनिश्चित गर्छ। यस दृष्टिबाट हेर्ने हो भने हाम्रो संविधान मूलतः यथास्थितिवादी हो। त्यसैले यसका लाभ, हानी र जोखिम पनि सामान्यतया यथास्थितिको संविधानमा जे जे हुन्छ, त्यही हुने हो।
  • नेपालको संविधानले समाजमा समरूपता छ भन्ने कल्पना गरेको छ। संविधानको सुरुमै लेखिएको छ, ‘नेपाली जनताको नाममा’। त्यहाँ नेपाली नागरिक भनिएको छैन। यसको अर्थ के हो भने नेपाली नागरिक हुँदैमा कोही नेपाली जनता हुँदैन। किनभने नेपाली त एउटा संस्कृति पनि छ, सांस्कृतिक पहिचान छ। त्यो समरूपता वा एकरूपताको मान्यता लिएर हिंडेकाले यसले बहुलता भएको समाजमा अन्यलाई समेट्न सक्दैन।
  • त्यसैले नै सहकार्य सहितको सहमतिमूलक संविधानवादको अवधारणा आएको हो अर्थात् सबैलाई समेटेर बनाउने संविधान। जित्ने–हार्ने वा पक्ष–विपक्षको होइन, सहकार्य सहितको सहमतिमूलक (consolidation) संविधान। सहमति त जबर्जस्ती पनि हुन सक्छ।
  • संविधानमा कर्तव्य लेख्ने तर अधिकारको सुरक्षा नहुने भयो भने त्यसले संकट निम्त्याउँछ।  संविधानले राज्यलाई निरंकुश हुन उत्प्रेरित गरेको छ।
  • यो संविधान शब्दमा भन्दा मनशायमा गलत छ। मनशाय नै गलत भयो भने संविधानको व्याख्या गर्ने निकाय अदालत हो। अदालत न निर्वाचित निकाय हो, न लोकतान्त्रिक निकाय नै। त्यहाँ सत्ताधारीहरूकै चाकडीको बलमा न्यायाधीश नियुक्त हुन्छन्। त्यसपछि सम्पूर्ण सत्ता एउटै समूहको हातमा पुग्छ। त्यो अल्पतन्त्र हो। हिजो राजाको एकतन्त्र थियो, आज केही व्यक्तिको अल्पतन्त्र आयो। संविधान पनि अल्पतन्त्र उन्मुख हुने गरी बनाइएको छ।
  • अन्नपूर्ण पोष्ट

नेपालको संवैधानिक विकासक्रम

  • नेपालको संवैधानिक इतिहास २००४ बाट सुरु भएको ।
  •  नेपाल सरकार वैधानिक कानून, २००४ त्यति बेला बने पनि जारी हुन भने सकेन। यो नेपालको संवैधानिक इतिहासमा पहिलो लिखित संविधान हो। राणा प्रधानमन्त्री पद्यम शमशेरले मस्यौदा तयार पारे पनि जारी हुन भने सकेन।
  • राणा शासनको अन्य पछि नेपालमा पहिलो पटक संविधान जारी भएको  ।
  • नेपाल अन्तिरिम शासन विधान, २००७ क्रान्तिपछि राजा त्रिभुवनबाट जारी भएको थियो। यो नै नेपालको पहिलो संविधान हो। ८ वर्षसम्म बहाल रहँदा यो विधान ७ पटक संशोधन भयो। संविधान सभाबाट संविधान बनाउने भनि पनि संविधान सभाको निर्वाचन हुन सकेन। राजा महेन्द्रले २०१४ साल माघ १० गते संविधानको स्रोत संविधानसभा नभई श्री ५ हुने घोषणा गरे। संविधान बनाउन बेलायती संविधानविद् सर आइभर जेनिङस्लाई सल्लाहकार नियुक्त गरियो। २०१५ साल फागुन १ गतेदेखि नेपाल अधिराज्यको संविधान, २०१५ लागु भयो।
  • राजा महेन्द्रले निर्वाचित सरकारलाई कु गरेपछि यो संविधानको अस्तित्व पनि सकियो। २०१७ पुष १ गते राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालालाई जेलमा हाल्दै सत्ता हातमा लिए। पञ्चायती संविधान बनाउनको लागि ऋषिकेश शाहको अध्यक्षतामा संविधान मस्यौदा समिति गठन भयो।
  • महेन्द्रले २०१९ पुस १ मा नेपालको संविधान, २०१९ जारी गरे। पञ्चायति संविधानलाई पनि जनआन्दोलनले परिवर्तन गर्‍यो। २०४६ सालको जनआन्दोलनको उपलब्धिको रुपमा नेपाल अधिराज्यको संविधान २०४७ बन्यो। विश्वनाथ प्रसाद उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय सुझाव आयोगद्वारा मस्यौदा तयार पारिएको यो संविधान २०४७ कात्तिक २३ गते घोषणा भएको थियो।
  • २०५२ मा देशमा माओवादी विद्रोह सुरु भयो। २०६२ सम्म आइपुग्दा माओवादी र संसदवादी दलबीच १२ बुँदे समझदारी भयो। १२ बुँदेको जगमा जनयुद्ध २०६२, ०६३ को जनआन्दोलनले विशाल रुप लियो।जनयुद्ध र २०६२, ०६३ को जनआन्दोलनको उपलब्धिको रुपमा अन्तरिम संविधान, २०६३ जारी भयो। यो सँगै नेपाल अधिराज्यको संविधान २०४७ खारेज भयो। यो अन्तरिम संविधान २०६३ माघ १ गते प्रतिनिधिसभाबाट जारी भयो । 
  • त्यसपछि संविधान सभाको निर्वाचन भयो। पहिलो र दोस्रो संविधान सभाले नेपालको संविधान २०७२ निर्माण गर्यो। २०७२ असोज ३ गते संविधानसभाबाट यो संविधान जारी भयो। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले  घोषणा गरेका थिए। यो संविधानसभाबाट लेखिएको नेपालको पहिलो संविधान हो।

संविधानको जीवन्तता -आश्विन ३, २०७५-कुमार रेग्मी

  • संविधान परिवर्तनको शक्ति कहाँ छ भन्ने ठम्याइबाट देशको राज्यशक्ति कहाँ निहित छ भन्ने पहिचान हुन्छ । संविधानको प्रस्तावनाले यो प्रश्नको जवाफ दिन्छ, प्रस्तावनालाई संविधान भित्रको प्रावधानले संवैधानिक हैसियत प्रदान गर्छ ।
  • संविधान संशोधनको प्रावधानमा कसको निर्णायक भूमिका राखिएको छ, त्यसैमा राज्यशक्तिको वास्तविक स्रोत वा देशको सार्वभौम अधिकार बसेको मान्नुपर्छ ।
  • पद्मशमशेर जबराले २००४ सालमा जारी गरेको नेपालको वैधानिक कानुनबाट संवैधानिक अभ्यास सुरु भएको हो । त्यतिबेला संविधान संशोधनको अन्तिम अख्तियारी तत्कालीन श्री ३ मा थियो । २००७, २०१५ र २०१९ सालको संविधानमा तत्कालीन श्री ५ मा रहेको पाइन्छ । २०४७ सालको संविधानले उक्त अधिकार नेपाली नागरिकका निर्वाचित प्रतिनिधिमा सार्‍यो । धारा ३ ले पहिलोपटक ‘नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहनेछ’ भन्ने व्यवस्थासमेत गर्‍यो । यस अर्थमा २०४६ सालको राजनीतिक परिवर्तनलाई युगान्तकारी मान्दा अन्यथा हुँदैन ।
  • राजाको स्वविवेकीय अधिकार कटौती गरी संविधान संशोधनको अन्तिम निर्णयाधिकार संसदको दुई तिहाइ बहुमतमा राखेकाले २०४७ सालको संविधान लागू भएपछि सार्वभौम अधिकार नेपाली जनताका प्रतिनिधिमा सरेको हो ।
  • एक पटक पनि संशोधन नभई २०४७ सालको संविधान अन्त्य भयो । 
  • २०६३ सालमा जारी अन्तरिम संविधानले जनप्रतिनिधिमा रहेको संविधान संशोधनको अधिकारलाई अझ विस्तारित गर्‍यो । धारा १४८ ले संशोधनको असीमित अधिकार व्यवस्थापिका—संसदलाई दिई संविधानको जुनसुकै प्रावधान संशोधन हुनसक्ने व्यवस्था गरेको थियो । 
नयाँ प्रबन्ध 
  • नेपालको संविधानको धारा २७४ (१) ले ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी यो संविधान संशोधन गर्न सकिने छैन’ भनेको छ । यो व्यवस्थाले नेपाल र नेपाली जनताको पक्षमा संसदको अधिकार नियन्त्रण गरेको छ ।
  • धारा २७५ (१) ले ‘राष्ट्रिय महत्त्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ’ भनिएको छ । संवैधानिक शक्ति व्यवस्थापनका दृष्टिले धारा २७४ (१) र (२) संविधान भित्रका सबैभन्दा शक्तिशाली व्यवस्था हुन् ।
  • संशोधनलाई संविधानको जीवन्ततासंँग व्याख्या गर्ने गरिन्छ । संविधान चिरकालसम्म बाँंच्न भोलिको पुस्ताको परिवर्तित राजनीतिक, सांस्कृतिक, आर्थिक वा शासकीय आकांक्षालाई आत्मसात गर्न सक्नुपर्छ भन्ने मान्यता स्थापित भइसकेको छ । अमेरिकाको संविधान २४० वर्षभन्दा लामो समयदेखि टिक्नुको पछाडि प्रावधानको लचकतालाई प्रमुख कारण मान्ने गरिन्छ ।
  • धारा २७४ (१) ले अपरिवर्तनीय मानेको मूलतत्त्व सार्वभौमसत्ता हो । ‘सार्वभौमसत्ता’ शब्दको व्यापक अर्थ र महत्त्व छ । यसको शक्ति, गहिराइ र संवेदनशीलतालाई समात्नसके मुलुक र जनताको सम्मान र गौरव उठाउन सकिन्छ । कुनै देश र जनताको सार्वभौमसत्ताभित्र देशको भौगोलिक अखण्डता र स्वाधीनता समाहित हुन्छ । यसले कसैबाट (पराई) सञ्चालित नभएको देश सञ्चालन गर्ने आफ्नै सामथ्र्य र शक्ति वा अधिकारलाई जनाउंँछ । यो सर्वोच्च राजनीतिक अधिकार हो । यो राज्यको सर्वोच्च अधिकार हो, जसबाट राज्यका अन्य अंग वा निकायले अधिकार प्राप्त गर्छन् । बाह्य हस्तक्षेप वा निर्देशनबिना देशले आफ्नो आन्तरिक व्यवस्थापन र वैदेशिक सम्बन्धबारे निर्णय लिने अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र र स्वाधीन हैसियत रहन्छ ।
  • नेपाल र नेपाली जनताको सार्वभौम (निर्णायक र शक्तिशाली) हैसियतलाई तलमाथि पार्नेगरी संविधानको कुनै धारा परिवर्तन गर्न सकिँदैन भन्नुको अर्थ संविधानमा रहेको राजनीतिक स्वतन्त्रता, नागरिक स्वतन्त्रता, बालिग मताधिकार, आवधिक निर्वाचन लगायतका विषय अपरिवर्तनीय हुन् । भौगोलिक अखण्डता देशको सार्वभौमिकताभित्र पर्ने हुंँदाहुँदै अलग्गै लेखिनुको अर्थ नेपालको भौगोलिक अखण्डता वा समग्र एकताबद्ध भूभागलाई जतिसुकै ठूलो संसदीय बहुमतले समेत चलाउन, हल्लाउन वा परिवर्तन गर्न नसक्ने भनिएको हो । यो समग्र प्रावधानको निचोड अर्थ संसदका दुबै सदनको दुई तिहाइ बहुमतबाट वा सर्वसम्मतबाट पारित भए पनि नेपाल र नेपालीको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतामा असर पुर्‍याउने कार्यलाई संवैधानिक मानिने छैन ।
-----------------------------
  • हर्क गुरुङले सुझाएझैँ ‘नेपालले अनेकतामा आधारित राष्ट्रियता (पोलिसेन्ट्रिक नेसनालिजम) को अवधारणा आत्मसात् गर्नुपर्ने हुन्छ’, जसले व्यापक राष्ट्रिय एकता अभिवृद्धि गर्छ ।

लोकतन्त्रका चुनौती : ‘पपुलिज्म’ र राष्ट्रवाद-गेजा शर्मा वाग्ले

  • सन् १९९० मा शीतयुद्धको अन्त्य तथा तत्कालीन सोभियत संघमा सात दशक लामो कम्युनिस्ट शासन पतन भई लोकतन्त्र स्थापना भएपछि विश्वबाटै कम्युनिस्टलगायत सबै प्रकृतिका अधिनायकवादी शासन प्रणालीको अन्त्य तथा लोकतान्त्रिक प्रणालीको विजय भएको घोषणा गरिएको थियो। सन् १९८९ मा जर्मनीको बर्लिन पर्खाल भत्किएपछि पश्चिमा राजनीतिशास्त्री तथा उदार लोकतन्त्रप्रति आस्थावान् दलहरूले विश्वव्यापीरूपमा उदार लोकतान्त्रिक प्रणालीको विजय भएको घोषणा गर्दै ठूलो विजयोत्सव मनाएका थिए। अमेरिकी राजनीतिशास्त्री तथा बहुलवादी लोकतन्त्रका प्रवक्ता फ्रान्सिस फुकुयामाले कम्युनिस्ट शासनको पतनलाई इतिहासको अन्त्यसँग तुलना गर्दै सन् १९९२ मा ‘दी एन्ड अफ द हिस्ट्री एन्ड द लास्ट म्यान’ नामक पुस्तक प्रकाशित गरेपछि विश्वव्यापीरूपमै कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा बढी प्रतिरक्षात्मक भएको थियो।
  • अधिनायकवाद र सर्वसत्तावादको अन्त्य भई लोकतन्त्रको विजयोत्सव मनाएको तीन दशक पनि नबित्दै लोकतन्त्र र बहुलवादी समाजको जननी मानिने अमेरिका, युरोपबाटै लोकतान्त्रिक प्रणालीलाई ‘पपुलिज्म’ (दक्षिणपन्थी लोकप्रियतावाद) ले गम्भीर चुनौती दिएपछि लोकतन्त्रको भविष्यबारे नयाँ बहसको प्रारम्भ भएको छ। विशेषगरी उदार लोकतन्त्र र भूमण्डलीकरणविरोधी तथा दक्षिणपन्थी राष्ट्रवादी र लोकप्रियतावादी डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, बेलायतको जनमत संग्रहमा राष्ट्रवादीहरूको विजय तथा अमेरिका र युरोपमा वामपन्थी तथा दक्षिणपन्थी लोकप्रियतावाद हावी हुँदै गएपछि उदार लोकतान्त्रिक सिद्धान्त पनि अहिले प्रतिरक्षात्मक विन्दुमा पुगेको छ। अमेरिका र बेलायतको अप्रत्यासित निर्वाचन परिणामपछि विकसित राजनीतिक परिदृश्य र प्रवृत्तिलाई लिएर लोकतान्त्रिक प्रणालीबारे अध्ययन–अनुसन्धान गर्ने थिंक–ट्यांक, विश्वविद्यालय र राजनीतिशास्त्रीहरूले लोकतन्त्रमाथि अप्रत्यासित संकट उत्पन्न भएको कठोर निष्कर्ष निकालेका छन्।

लोकतन्त्रमा संकट
  • विगत लामो समयदेखि लोकतान्त्रिक प्रणालीको आरोह–अवरोहबारे गहन अध्ययन–अनुसन्धान गर्दै आएका हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरू स्टेभिन लिभित्स्की र डेनियल जिबलटद्वारा लिखित ‘हाउ डेमोक्रेसिस डाइ : ह्वाट हिस्ट्री रिभिल्स अबाउट आवर फ्युचर’ नामक पुस्तकमा लोकतन्त्रका चुनौती र पतनोन्मुख प्रवृत्तिबारे विहंगम विश्लेषण गरिएको छ। सन् २०१८ मा प्रकाशित उक्त पुस्तकमा लेखकद्वयले केवल लोकतन्त्र पतनोन्मुख भएको निष्कर्ष मात्रै निकालेका छैनन्, समयमै उक्त चुनौतीको यथोचित सम्बोधन गरिएन भने लोकतान्त्रिक प्रणाली नै अवसान हुनसक्ने चेतावनीपूर्ण भविष्यवाणीसमेत गरेका छन्।
  • लिभित्स्की र जिबलटले मात्रै होइन, लोकतन्त्रबारे विगत चार दशकदेखि लोकतन्त्र मामिलाका शोधार्थी स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक ल्यारी डाइमन्डले पनि सन् २०१५ मा प्रकासित ‘डेमोक्रेसी इन डिक्लाइन’ नामक पुस्तकमा कसरी लोकतान्त्रिक प्रणाली ह्रासोन्मुख भएको छ भनी तथ्य र तथ्यांकसहित विश्लेषण गरेका छन्। यसैगरी हार्वर्ड विश्वविद्यालयका अर्का प्राध्यापक यस्चा माउन्कले पनि सन् २०१८ मा प्रकाशित ‘द पिपुल भर्सेज डेमोक्रेसी : ह्वाई आवर फ्रिडम इज इन डेन्जर एन्ड हाउ टु सेभ इट’ नामक पुस्तकमा दक्षिणपन्थी लोकप्रियतावाद र अतिवादका कारणले लोकतन्त्र असफलताको दिशातर्फ उन्मुख भएको विश्लेषण गरेका छन्।
  • लोकतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अमेरिकाको वासिंटन डीसीस्थित थिंक–ट्यांक फ्रिडम हाउसको २०१८ को वार्षिक प्रतिवेदनले पनि उदार लोकतन्त्र, बहुलवादी समाज, विधिको शासन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र मानवअधिकारका दृष्टिले जटिल चुनौती सिर्जना भएको तथ्य र तथ्यांकहरू सार्वजनिक गरेको छ। जोहन हप्किन्स विश्वविद्यालयद्वारा प्रकासित ‘जर्नल अफ डेमोक्रेसी’ जर्नलको पछिल्लो अंक (सन् २०१८ अप्रिल) मा ‘उदार लोकतन्त्रको चुनौती लोकप्रियतावाद’ शीर्षकको आलेखमा पनि लेखक विलिएम ए गाल्सटनले राष्ट्रवाद र लोकप्रियतावादको विश्वव्यापी लहर तथा भूमण्डलीकरण र आर्थिक असमानताको कारणले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्नचिह्न खडा भएको विचार व्यक्त गरेका छन्।
  • इतिहासको अन्त्य भएको घोषणा गरेका उनै फुकुयामालगायत उदार लोकतन्त्रवादी राजनीतिशास्त्रीहरूले समेत अहिले अमेरिका, युरोपलगायत विश्वव्यापीरूपमा नै उदार लोकतान्त्रिक प्रणालीमाथि चुनौती सिर्जना भएको वास्तविकर्ता स्वीकार गर्दै उदार लोकतान्त्रिक प्रणालीको परिधिभित्रैबाट उक्त चुनौतीको अविलम्ब सामना गर्न सुझाव दिएका छन्। त्यसैले विश्वव्यापीरूपमा नै लोकतान्त्रिक प्रणालीमाथि अभूतपूर्व संकट उत्पन्न भएको पुष्टि भएको छ।

राष्ट्रवाद र लोकप्रियतावादको लहर
  • लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित एडोल्फ हिटलरले सत्तामा पुगेपछि लोकतान्त्रिक प्रणालीमाथि गरेको आक्रमणको सविस्तार चर्चा गर्दै निर्वाचित तानाशाह अहिले लोकतान्त्रिक प्रणालीको प्रमुख समस्या भएको निष्कर्ष राजनीतिशास्त्रीहरूले निकालेका छन्। यसैगरी राजदरबारको षड्यन्त्र र राजनीतिक दाउपेचमार्फत सत्तामा पुगेका इटालीका बेनिटो मुसोलिनीको फाँसीवादी शासनको फेहरिस्त पनि प्रस्तुत गर्दै तानाशाही र फाँसीवादी प्रवृत्तिदेखि सचेत रहन सुझाव दिएका छन्।
  • दक्षिण अमेरिकी देश पेरूमा अल्बर्टो फुजिमोरीले लोकप्रियतावादी नारामार्फत सत्तामा पुगेपछि मिडियाको दुरुपयोग गर्दै लोकतन्त्रको चीरहरण गरेको वास्तविकता इतिहासको गर्तमा विलिन भइसकेको भए पनि अहिले नेपालको सन्दर्भमा पनि प्रासंगिक हुन सक्छ। यसैगरी वामपन्थी लोकप्रियतावादी नाराको आधारमा ह्युगो चाभेज भेनेजुएलाका राष्ट्रपति भएपछि लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रता कटौती गर्दै अधिनायकवादी शासन प्रारम्भ गरेको वास्तविकतालाई पनि लोकतन्त्रवादीहरूले गम्भीररूपमा आत्मसात गर्न जरुरी छ।
  • रूस, भेनेजुएला, इजिप्ट, फिलिपिन्स, युक्रेन, जर्जिया, जिम्बाबे, इराक, लिबिया, निकारागुवा, म्यानमारजस्ता तेस्रो विश्वका द्वन्द्वग्रस्त, अविकसित तथा अल्पविकसित देशहरूमा लोकतान्त्रिक प्रणालीमाथि प्रश्नचिह्न खडा हुनु अस्वाभाविक होइन। तर बहुलवाद, उदार लोकतन्त्र, विधिको शासन र मानवअधिकारको जननी मानिने अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत, टर्की, हंगेरी, अस्ट्रिया, नेदरल्यान्डलगायतका देशमा नै लोकतान्त्रिक मूल्य र मान्यता क्षयीकरण भई अधिनायकवादी प्रवृत्ति हावी हुँदै गएको र लोकप्रियतावादी र राष्ट्रवादी लहरले जनता पनि दिग्भ्रमित भएको निष्कर्ष शोधमुलक सामग्रीहरूमा प्रकाशित भएका छन्। यी निष्कर्षबाट लोकतान्त्रिक प्रणाली कल्पनातीत दुर्घटनाको सन्निकट पुगेको प्रतीत हुन्छ।
  • बहुलवादी समाज तथा उदार लोकतन्त्रको जन्मभूमि अमेरिका, युरोपका समृद्ध देशहरूमा नै लोकतान्त्रिक प्रणाली प्रतिरक्षात्मक भएको छ। ती देशमा लोकप्रियतावादी, दक्षिणपन्थी, राष्ट्रवादी र अतिवादीहरूले निर्वाचनमा पाएको अस्वाभाविक सफलता र लोकतन्त्रवादीहरूको असफलताले लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा हुनु स्वाभाविक नै हो। तर लोकतन्त्रप्रतिको चुनौती साम्यवाद, अधिनायकवाद र सैन्य तानाशाहको कारणले होइन, लोकतान्त्रिक प्रणालीमार्फत निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र सरकारकै कारण उत्पन्न हुँदै गएको विश्व चर्चित उक्त पुस्तकहरू र जर्नलका आलेखमा तथ्य र तथ्यांकसहित व्याख्या गरिएका छन्। संवैधानिक प्रक्रियाद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीहरूको सर्वसत्तावादी चरित्रका कारण लोकतान्त्रिक मूल्य–मान्यता अतिक्रमण गर्ने प्रवृत्ति विश्वव्यापीरूपमा नै बढ्दै गइरहेको फेहरिस्तले लोकतन्त्रप्रति नै थप विकर्षण हुने सम्भावना देखिएको छ।
  • ‘डेमोक्रेसी इन डिक्लाइन’ का लेखक डाइमन्ड र ‘दी पिपुल भर्सेज डेमोक्रेसी’ माउन्कहरूको निष्कर्ष छ– अमेरिका र युरोप जस्ता देशहरूमा पनि आवरणमा लोकतान्त्रिक प्रणाली अनुसरण गरिएको छ। तर उक्त प्रणाली क्रमिकरूपमा अनुदार लोकतान्त्रिक दिशातर्फ उन्मुख हुँदै गइरहेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प, टर्कीका राष्ट्रपति रिसेप ताड्ढियप इर्दोगान, अनुदार लोकतन्त्र (इलिबरल डेमोक्रेसी) का प्रवक्ता हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानजस्ता दक्षिणपन्थी राष्ट्रवादीहरूको विजय र युरोपियन युनियनबाट छुट्टिने बेलायतको जनमत संग्रहको आश्चर्यजनक परिणामपछि लोकतन्त्रलाई गम्भीर धक्का लागेको छ।
  • ‘हाउ डेमोक्रेसिस डाई’ का लेखकद्वय लिभित्स्की र जिबलट तथा उदार लोकतन्त्रको चुनौती लोकप्रियतावादका लेखक गाल्सटनको निष्कर्ष पनि डाइमन्ड र माउन्क निकट देखिन्छ। त्यसैले उनीहरू निष्कर्ष छ– शीतयुद्धकालीन साम्यवाद, फाँसीवाद, सैन्य तानाशाह तथा निरंकुश शासन अहिलेको चुनौती होइन। वामपन्थी तथा लोकप्रियतावादी दक्षिणपन्थी राष्ट्रवाद, लोकप्रियतावाद, भूमण्डलीकरणविरुद्ध संरक्षणवाद, जातिवाद र निर्वाचित सर्वसत्तावाद अहिलेका उदार लोकतन्त्रका प्रमुख चुनौती हुन्।

नेपालको सन्दर्भमा लोकप्रियतावाद
  • विश्वव्यापी राजनीतिक, भूराजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लहरको प्रत्यक्ष वा परोक्ष प्रभाव नेपालमा पनि पर्दै आएको छ। उदार लोकतन्त्रको विश्वव्यापी लहरको कारणले नेपालमा लोकतन्त्र स्थापना भएको थियो भने १९९० पछि प्रारम्भ भएको उदार र बजारमुखी अर्थतन्त्र, भूमण्डलीकरण, निजीकरणको नेपालको अर्थनीतिमा प्रत्यक्ष प्रभाव परेको थियो, जुन अद्यापि जारी छ। अहिले राष्ट्रवाद, लोकप्रियतावाद, संरक्षणवादको प्रत्यक्ष प्रभाव पनि नेपाली राजनीतिमा परेको छ। विगत आमनिर्वाचनमा वामपन्थी गठबन्धनको विजयमा कमजोर कांग्रेस र तत्कालीन शेरबहादुर देउवा सरकारको अलोकप्रियता पनि कारणहरू हुन्। तर विजयको प्रमुख कारण राष्ट्रवाद र लोकप्रियतावाद थियो। प्रधानमन्त्री केपी ओली नेपाल कम्युनिस्ट पार्टीको सहअध्यक्ष भए पनि वास्तवमा उनी अनुदारवादी राष्ट्रवाद र लोकप्रियतावादका संरक्षक र प्रवक्ता हुन्।
  • निर्वाचनको बेला सरकारको अलोकप्रिय छवि र विश्वसनीयता कमजोर भएकाले अधिनायकवादको आरोप लगाउँदा देउवा आफैं उपहासको पात्र भए। तर ओली प्रधानमन्त्री भएपछि गरेका विवादास्पद निर्णय, प्रवृत्ति र अभिव्यक्तिका आधारमा विश्लेषण गर्दा सरकार सर्वसत्तावादी दिशातर्फ उन्मुख भएको प्रारम्भिक तर स्पष्ट संकेतहरू देखिएका छन्। संविधानको प्रस्तावना र भावनाविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभीष्टले जारी कानुनहरू किन जारी गरिए ? माइतीघर मण्डलालाई किन निषेधित गरियो ? ओलीले शपथग्रहण गर्नासाथ मन्त्रिपरिषद्ले समेत पूर्णता नपाउँदै अर्थ मन्त्रालयअन्तर्गतका राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागजस्ता  महत्वपूर्ण र संवेदनशील निकायहरूलाई प्रधानमन्त्री कार्यालयमा स्थानान्तरण गरियो ?
  •  संसदीय प्रणाली भनेको प्रधानमन्त्रीय प्रणाली हो। त्यसैले प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ। प्रधानमन्त्रीय प्रणाली प्रभावकारी हुनुपर्छ। तर शक्ति केन्द्रीकृत गरी शक्तिशाली होइन। वास्तवमा संविधानबाट निःसृत अधिकारको लोकतान्त्रिक पद्धतिद्वारा पारदर्शी शैलीमा सरकार सञ्चालन गर्नुपर्छ र प्रधानमन्त्री जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ।
  • अधिकारको केन्द्रीकरण संघीय लोकतान्त्रिक प्रणालीको आधारभूत प्रस्थापना र अभ्यासविपरीत हो। त्यसैले ओलीले सिंहदरबार र बालुवाटारमा केन्द्रीकरण होइन, शक्तिको लोकतन्त्रीकरण, संघीयकरण र निक्षेपीकरण गर्नुपर्छ। संघीय लोकतान्त्रिक प्रणालीको सिद्धान्त, मर्म र भावना पनि यही हो।
  • लोकतान्त्रिक प्रणाली भनेको व्यक्ति शक्तिशाली होइन, संवैधानिक र विधिसम्मत प्रक्रियाद्वारा राज्यका निकायहरूलाई कार्यमूलक, प्रभावकारी र गतिशील बनाउने प्रणाली हो। तर राज्यका निकायहरूलाई प्रभावकारी बनाउनुभन्दा पनि ओली शक्तिशाली हुने नियत देखिन्छ। अधिक शक्ति केन्द्रीकृत भयो भने लोकतान्त्रिक र पारदर्शी होइन, अधिनायकवादी प्रवृत्ति हावी हुन्छ। दुर्भाग्यवश उक्त वास्तविकतालाई ओलीले आत्मसात गरेको देखिएन। अमेरिका, युरोपमा जुन आयतन र घनत्वमा लोकतन्त्रमाथि संकट आएको छ, नेपालमा हालसम्म आइसकेको छैन। तर लोकप्रियतावाद र दक्षिणपन्थी राष्ट्रवाद नेपाली राजनीतिमा हावी हुँदै गइरहेको छ।
  • कुनै पनि राष्ट्र र राजनीतिक प्रणाली समस्या र चुनौतीरहित हुँदैन। अहिले विश्वव्यापीरूपमा लोकतान्त्रिक प्रणालीमाथि सिर्जना भएका चुनौतीहरू जटिल र घातक प्रकृतिका छन्। तर उक्त चुनौती जतिसुकै जटिल र घातक भए पनि लोकतन्त्रको विकल्प अनुदारवाद, सर्वसत्तावाद वा अधिनायकवाद होइन र हुन सक्दैन। 
  • लोकतन्त्रमाथिको आसन्न संकट तात्कालिक र क्षणिक हो। किनभने लोकतन्त्रको विकल्प थप उदार, प्रगतिशील, समावेशी र जनमुखी लोकतन्त्र हो। लोकतान्त्रिक प्रणाली तथा लोकतान्त्रिक दलहरूले समाजमा विद्यमान धार्मिक तथा सामाजिक विभाजन तथा ध्रुवीकरण, दक्षिणपन्थी लोकप्रियतावादको विश्वव्यापी लहर र आर्थिक तथा भौगोलिक असमानताजस्ता प्रमुख चुनौतीहरूलाई अविलम्ब सम्बोधन नगरेसम्म केवल मंगल कामनाले मात्रै लोकतन्त्रको संरक्षण र संवर्धन सम्भव छैन। विद्यमान लोकतान्त्रिक प्रणालीमा व्यापक सुधार गरी थप उदार र बहुलवादी लोकतन्त्रको सुनिश्चित गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन।
  • ३१ भदौ २०७५ ०८:४६:०० अन्नपूर्ण पोष्ट
  • http://annapurnapost.com/news/108289