Saturday, October 10

राजदूत नियुक्ति, विदेशी अभ्यास र नेपाल-डा. राजेन्द्र चापागाई

  • प्राचीनकालमा जब राजा नै संविधानभन्दा माथि हुन्थे, देश, सरकार राजाकै स्वविवेकमा अडिन्थ्यो। ती राजाको दूतलाई राजदूत भनिन्थ्यो। अहिले सरकारको दूत, सरकार जनताबाट निर्वाचित हुने हुँदा राजदूत मुलुकको दूत अथवा जनताको दूत।
  • राजदूत एक व्यक्ति मात्र हैन, सिंगो राष्ट्रको प्रतिनिधि हो, मुलुकको ऐना हो। नेपालीको मुहार हो, आवाज, अन्तर्राष्ट्रिय छाया हो। अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि, राष्ट्रको गौरव, नेपाल र नेपालीको शिर माथि उठाउने क्रेन हो, सिलेक्टिभ ब्रेन हो। 
  • पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि मात्र विदेश मामिला हेर्ने विभाग गठन गरिएको पाइन्छ। सन् १७६९ मा पृथ्वीनारायणले स्थापना गरेको जैसीकोठा नै विदेश मामला हेर्ने पहिलो संस्था मानिन्छ। पृथ्वीनारायण शाहलाई पहिलो परराष्ट्रमन्त्री मान्न सकिन्छ। विदेश मामिला स्वयं राजा र पछि राणाकालमा राणा शासकले हेर्दथे। राजदूतको औपचारिक व्यवस्था थिएन।
  • राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा पहिलोपटक सन् १९३४ अप्रिल ६ अर्थात् विसं १९९० चैत २४ गते बेलायतका लागि राजदूत नियुक्त गरियो। जुद्धशमशेरका छोरा बहादुरशमशेर विदेशका लागि पहिलो नेपाली राजदूत हुन्। 
  • अंग्रेज उपनिवेशबाट भारत स्वतन्त्र भएपछि नेपालले दिल्लीमा १९४७ मा राजदूतवास खोलेको थियो। भारतका लागि पहिलो नेपाली राजदूत सिंहशमशेरलाई नियुक्त गरिएको थियो। दोस्रो राजदूत सन् १९५१ मा विजयशमशेरलाई नियुक्त गरिएको थियो। जो अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका छोरा र वर्तमानमा राप्रपाका नेता पशुपतिशमशेरका पिता हुन्।  
  • सन् १८१६ मा नेपालको पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँग भए पनि त्यसपछिका १३१ वर्षसम्म नेपालले अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सकेन।
  • विसं २००७ सालको प्रजातन्त्र आगमनसँगै नेपालको बाह्य मुलुकसँगको कूटनीतिक सम्बन्ध तीव्र गतिमा विस्तार भयो। अहिले नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशसँग स्थापित भएको छ भने ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र चार मुलुकका ६ सहरमा महावाणिज्य दूतावास छन्। 
  • पठाइने मुलुकको दूत भए पनि आफ्नो मुलुक र सेवारत रहने मुलुकको जिम्मेवारी लिनपर्ने द्वैध प्रकृतिको पद हो– राजदूत।
  • औपचारिक रूपमा राजदूत नियुक्ति गर्न थालेको ८६ वर्षको अवधिमा सयौंपटक राजदूत नियुक्ति गरिएको छ। नियुक्ति हुनेमा कूटनीतिक सेवाका भन्दा राजनीतिक क्षेत्रका व्यक्ति करिब दोब्बर छन्। दोहोरिनेको संख्या पनि त्यत्तिकै छ। चारपटकसम्म चार छुट्टाछुट्टै देश (रूस, भारत, इजिप्ट र बेलायत) का लागि राजदूत बन्ने व्यक्ति हुन्– झरेन्द्रनारायण सिंह, तीनपटक हुने यदुनाथ खनाल, पदमबहादुर खत्री, डा. भेषबहादुर थापालगायतका छन् भने दुईपटक हुने दुई दर्जनभन्दा बढी छन्।
  • प्रधानमन्त्री भइसकेर पनि अमेरिकाका लागि राजदूत हुने व्यक्ति हुने मातृकाप्रसाद कोइराला। मन्त्री वा परराष्ट्रमन्त्री बनेर पछि राजदूत बन्ने हालसम्म १५ जना छन् भने उच्च संवैधानिक पदमा बसेर पनि पछि राजदूत हुने पाँचजना छन्। राजदूत भएपछि मन्त्री हुने पनि एक दर्जनभन्दा बढी छन्। नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाह हुन्। उनी परराष्ट्रको सहसचिव हुँदा २०४५ सालमा भारतका लागि राजदूत नियुक्त भएकी थिइन्। कार्यकाल पूरा हुन एक वर्ष बाँकी हँुदै २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई फिर्ता बोलाएर चक्रप्रसाद बास्तोलालाई राजदूत नियुक्ति गरेका थिए। 
  • राजदूत एक अर्थमा विदेशमन्त्री हो। त्यसैले आधुनिक विश्व राजनीति, भूराजनीति, आन्तरिक राजनीति, सम्बन्धित देशमा रहेका नेपालीको सुरक्षा र स्थानीय सस्थासँगको कुनै विवाद कूटनीतिक किसिमले सुल्झाउन सक्ने क्षमता र चातुर्य आवश्यक हुन्छ। 
  • ख्याल गरियोस्, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त घोकेको तर अभ्यास गर्ने सीप र चातुर्य नभएको व्यक्ति पनि सफल राजदूत हुन सक्दैन। ‘कूटनीति एउटा कला हो, विज्ञान होइन।’
  • http://annapurnapost.com/news/168063

No comments:

Post a Comment