बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Monday, September 17
ओरालो झर्दा सूचकले पनि खेद्ने-कान्तिपुर सम्पादकिय
मानव विकास प्रतिवेदन त्यस्तो ऐना हो जहाँ अंकहरूले देशको तस्बिर देखाउँछन् । यस वर्षको ऐनामा नेपाल अझै धमिलो भएको छ । अन्य मुलुकका गतिअनुसार हामीले प्रगति गर्न सकेनौं ।
मानव विकास सूचकांकमा एक खुड्किलो तल ओर्लेर नेपाल १ सय ४९ औं स्थानमा पुगेको छ । औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचक निकाल्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रतिवेदन हामीलाई आफ्नो समाज नियाल्न सहयोगी छ ।
नेपाललाई मानव विकास क्षेत्रमा पछाडि पार्न शिक्षा र प्रतिव्यक्ति आम्दानीको मुख्य भूमिका छ । प्रतिवेदनअनुसार साक्षरता प्रतिशत ५९ दशमलव ६ छ । अन्य मुलुकको तुलनामा यो सन्तोषजनक होइन । पाँच वर्ष उमेर पुगेका करिब ९५ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् । तर एक कक्षामा भर्ना भएका करिब ६५ प्रतिशत बालबालिका एसईईसम्मको शिक्षा नलिई बाहिरिन्छन् । शिक्षामा यो एक ठूलो चुनौती हो ।
आफैंसँग तुलना गर्दा पच्चीस वर्षयता नेपालले फड्को मारेको देखिन्छ । अन्य मुुलुकको तुलनामा होइन । नेपालले स्वास्थ्य र शिक्षामा प्रगति गरे पनि आम्दानी बढाएको छैन । यसबीच नेपालीको आय शतप्रतिशत बढ्दा अरू मुलुकको साढे २ सय प्रतिशत बढिसकेको छ ।
विकासलाई कसरी बुझ्ने भन्ने क्रममा मानव विकास सूचकांकको सिद्धान्त आएको हो । विकासलाई कुल गार्हस्थ्य उत्पादनका आधारमा मात्र होइन, विभिन्न कोणबाट हेर्नका लागि । राष्ट्रको आम्दानी मानिसका सम्भावना प्रस्फुटित गर्ने गरी लगानी भएको छ कि छैन हेर्न अर्थशास्त्रीद्वय महबुब–उल हक र अमत्र्य सेनले यो सिद्धान्त विकास गरेका हुन् ।
आम्दानी कम भएर पनि क्युवा, श्रीलंकाहरूले मानिसका सम्भावना प्रस्फुटित गराउन लगानी गरेकाले मानव विकासमा अगाडि छन् । आम्दानी धेरै भइकन पनि शिक्षामा कम लगानीका कारण अरब मुलुकहरू मानव विकासमा पछि छन् । मानव विकासको सिद्धान्तले जानेर–बुझेर शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्नेमा जोड दिन्छ । स्वत: हुने विकासमा होइन ।
आम्दानीलाई साधनका रूपमा लिएर साध्यका लागि लगानी गर्नुपर्छ । साध्य मानवता हो । यसर्थ लगानी शिक्षा र स्वास्थ्यमा हुनुपर्छ । मानवतामा लगानी गर्न पनि आय बढाउनैपर्छ । यो सूचकांकको एक तिहाइ भार क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आम्दानीकै छ ।
हाम्रो देशको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आयको तुलनामा मानव विकासमा हामी अघि छौं । हाम्रो आर्थिक विकास मात्र चित्त बुझाउने ठाउँ छैन । त्यही भएर हाम्रोभन्दा दोब्बरजस्तै प्रतिव्यक्ति आय भएको पाकिस्तानभन्दा हामी मानव विकासमा अगाडि छौं । किनकि हामीले शिक्षा र स्वास्थ्यमा उसको भन्दा राम्रो लगानी गर्यौं ।
जतिसुकै खेर गएको किन नहोस्, शिक्षा र स्वास्थ्यमा सरकारले निरन्तर ठूलो रकम खर्चिरहेको छ । घरघरमा भित्रिएको विप्रेषणको लगानी पनि शिक्षा र स्वास्थ्यमै भयो । राज्यले यस क्षेत्रमा केही संरचनागत सुधार गर्यो । परियोजनागत रूपमा भन्दा संरचनागत रूपमै सुधारमा केन्द्रित भयो । गैरसरकारी संस्था र सहकारीले पनि भूमिका खेले । खानेपानीका धारा जोडिए । बाटो बन्यो, बजारसम्म पहुँच पुग्यो । यी सबै गतिविधिले शिक्षा र स्वास्थ्यलाई टेवा दिए । माओवादी द्वन्द्वमा लगानीको माहोल ठप्प बन्यो, प्रतिव्यक्ति आय बढेन तर त्यही मात्रामा सामाजिक विकास रोकिएन ।
अहिले मानव विकास सूचकांकलाई पनि अपूरो मानिन्छ । यसले पनि परिमाण मात्र ध्यान दियो, गुणस्तरमा दिएन । स्कुल गए/नगएको हेर्यो, सिके/नसिकेको ध्यान दिएन । उमेर बढेको देख्यो, कति स्वस्थ र गुणस्तरीय जीवन जियो, ख्याल गरेन । यसमा सुधार जरुरी छ ।
हाम्रो अर्थतन्त्र चलायमान छैन । त्यसैले राष्ट्रिय आम्दानी निकै कम छ । एकातिर मानव विकासको एक तिहाइ भार यसमै छ । अर्कोतिर, आम्दानी बढाउन सक्यो भने सामाजिक विकासमा थप लगानी गर्न सकिन्छ । अनि मानव विकास स्वत: बढ्छ । त्यसैले मानव विकासको बाटोमा अघि बढ्न अर्थतन्त्र सुधार्नु अनिवार्य ।
No comments:
Post a Comment