Thursday, September 13

प्रधानमन्त्रीज्यू, विकासको मोडेल खोइ ?-हरिप्रसाद शर्मा अन्नपुर्ण पोष्ट

  • राम्रो हावापानी, मौसम, उब्जाउभूमि, अपार पर्यटन सम्भावना, धार्मिक सम्पदा भएको सुन्दर, शान्त नेपाल गरिब र अविकसित भएको विकासका लागि पर्याप्त पैसा नभएर भन्दा भएकै पैसा खर्च गर्न नसकेर हो। गरिब देशमा बर्सेनि औसत २५ प्रतिशतसम्म विकास बजेट खर्च हुँदैन। गरिबी भनेको पैसा नहुनु मात्र होइन, शक्तिहीनता, बोलीहीनता तथा सामाजिक वञ्चितीकरण पनि हो।
  • ०७२ वैशाखको महाभूकम्पजस्ता महाविपत्मा पनि राज्यसँग भएको स्रोत र साधनलाई उचितरूपमा खोज, उद्धार, राहत र पुनर्निर्माणमा प्रयोग गर्न नसक्नुबाट पनि हामी स्रोत र साधनमा भन्दा पनि व्यवस्थापनमा गरिब भएको प्रमाणित हुन्छ। 
  • विकासमा अदालतको ध्येय न्याय स्थापित गर्नमा केन्द्रित हुनुपर्छ। अदालतले कंलकी—नागढुंगा सडकमा गरेको निर्णय यसको ज्वलन्त उदाहरण हो। हामी नतिजामा भन्दा पनि प्रक्रियामा बढी अल्झेका छौं।
  • नेपालमा भने एकातिर भौतिक पूर्वाधार क्षेत्रमा रकमको अभाव छ भनिन्छ, अर्कोतिर वित्तीय संस्थाको मुद्दती निक्षेपमा निष्क्रिय जम्मा हुने र विदेशी ऋण लिने ध्याउन्न मात्र देखिन्छ। नेपालमा सूचना प्रविधिको ठूलो सम्भावना पनि छ। हलिउडको एनिमेसन प्रयोगशाला नेपालमा छ। विश्वकै महँगोमध्येका एभरेस्ट घडी बनाउने काम यहीं भइरहेको छ।
  • हामीले योजनाबद्ध विकास थालेको ६ दशक नाघ्यो। तर गेमचेन्जर भनिएका राष्ट्रिय गौरवका योजना पनि पूरा भएको उदाहरण हामीसँग छैन। 
  • आर्थिक वर्षको सुरु १० महिनाको खर्च २० प्रतिशत र बाँकी ८० प्रतिशत अन्तिम दुई महिनामा खर्च गर्ने मोडेललाई निरुत्साहित गर्न संविधानमै जेठ १५ भित्र वार्षिक बजेट पेस गर्ने व्यवस्था गरियो, तर नीति परिवर्तन भए पनि नियति उस्तै छ।
  • नेपालको विकास मोडेल न विदेशीको जस्तो छ, न आफ्नो। विदेशीको जस्तो भइदिएको भए सिंगापुरजस्तो वैदेशिक इन्भेस्टमेन्ट धेरै ल्याउने र निर्यात गर्ने हो। स्वदेशी मोडेलमा पर्यटन विकास र हाइड्रोपावर बेच्ने भए पनि हुन सकेको छैन। 
  • राष्ट्रले प्रगति नगर्दा त्यसको चोट सबैभन्दा बढी नागरिकमा पर्छ। लोकतन्त्रमा समाजको गरिब, अपहेलित र असहायलाई लास्ट म्यान फस्ट आधारमा न्याय दिनुपर्छ। विगतमा विकास आयोजनामा ढिलाइको मुख्य कारण राजनीतिक स्थायित्वलाई मानिए पनि अब स्थिर सरकार बनेकाले विगतको गल्ती नसच्चाउनु अर्को गल्ती गर्नु हो। मुहान संग्लो नभई तलतिर संग्लोपानीको कल्पना गर्नु मूर्खता हुन्छ।
  • विकास बहुआयमिक भएको हुँदा विधि, पद्धति र सामाजिक कानुनको मर्मलाई आत्मसात गरी विविधताको व्यावहारिक पक्षलाई मध्यनजर गर्दै सीमित जोखिम उठाएर नतिजामुखी विकास व्यवस्थापनमा प्राविधिक जनशक्तिलाई प्राथमिकता दिऔं। सरकार/मन्त्री परिवर्तन हुँदा कार्यालय प्रमुख र आयोजना प्रमुखको फेरबदल पूर्णरूपमा रोकौं। सडक, खानेपानी, ढल, दूरसञ्चारसम्बन्धी सरकारी निकायहरूबीच समन्वय अभावले सहरी सडकहरू निरन्तर भत्काउने र बनाउने खेलबन्द गरौं।
  • ठूला आयोजनामा भेरी–बबई डाइभर्सन आयोजना मोडल’ अपनाऔं। आजको युवा पुस्ताले राजनीतिक नेता र दललाई भन्दा खुला विचार र बहसलाई स्वागत गर्ने हुनाले जनप्रतिनिधिले जबर्जस्ती आफ्नो सम्मान खोज्ने, विभिन्न संघसंस्थामा जबर्जस्ती भूमिका खोज्ने, भोजभतेर खाने, सधैं एकै व्यक्ति अतिथि बन्ने, शिलान्न्यासमा रिबन काट्ने तर काम पूरा नगर्ने प्रवृत्ति त्यागौं। नियम मिचेर दबाबका आधारमा काम गराउँदा गर्व मान्ने हाम्रो संस्कार र चिन्तन बदलौं।

No comments:

Post a Comment