Thursday, September 13

दुर्वल अख्तियार -रामकुमार आचार्य


दुर्वल अख्तियार
  • राज्यसंयन्त्रका सबै अवयवमा भ्रष्टाचार व्याप्त छ। तर भ्रष्टाचारी नगण्य छन्। भ्रष्टाचारविरुद्ध आवश्यक सबै प्रबन्ध छन्। संविधान, नीति, रणनीति, कानुन उम्दा छन्। दण्ड र मापदण्डको थुप्रो छ। अनुसन्धान गर्ने संवैधानिक निकाय छ। लोकतन्त्र छ। स्वतन्त्र प्रेस र न्यायपालिका छ। राजनीतिक प्रतिबद्धता छ।
  • अख्तियारको क्षेत्राधिकार क्षेत्रभित्र पनि सतर्कता केन्द्र, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग जस्ता निकाय छन्। शक्ति–शक्ति मिलेर महाशक्ति हुने अवस्था छैन। चारै कुना र मुहानसमेत फोहोर भएको विशाल पोखरीको एक कुना मात्र सफा गरेर हुँदैन भन्ने बलियो मानिएको अख्तियारको उपस्थिति हुँदाहुँदै पनि भ्रष्टाचार न्यूनीकरण नहुनुबाट पुष्टि भइसकेको छ।
  • भ्रष्टाचार बाघभन्दा बलियो, गिरोहभन्दा संगठित, शकुनिभन्दा जाली छ। 
  • अख्तियार कमजोर भएर हुँदैन। थप बलियो र सन्तुलित बनाउन नीतिगत सुधार, नागरिक नियन्त्रण र समर्थनको आवश्यकता छ।
  • नीतिगत सुधारतर्फ, अख्तियारको दायरमा सहकारी, गैरसरकारी संस्था, राजनीतिक दल र निजी प्रतिष्ठानलाई ल्याउने, अनुचित कार्य हेरी विभागीय कारबाहीको सिफारिस गर्ने, सतर्कता केन्द्र र राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण विभागहरूलाई अख्तियारमातहत ल्याउने, धेरैको बुद्धि, जाल, प्रपञ्च, प्रविधि र विधि प्रयोग गरेर हुने संगठित भ्रष्टाचारमा संगठित अपराधसरह कारबाही गर्ने र नीतिगत भ्रष्टाचार हेर्ने गरी कानुनी प्रबन्ध गर्नुपर्छ।
  • निर्वाचनमा हुने भ्रष्टाचार पनि विशिष्टीकृत संवैधानिक निकाय अख्तियारले नै हेर्ने व्यवस्था मिलाउनु आवश्यक छ।
  • जनताको व्यापक हिस्साले अपनत्व लिएको र विश्वासिलो अख्तियारले मात्र भ्रष्टाचार न्यूनीकरण गर्ने साहस गर्न सक्छ। अनुसन्धान र अभियोजन प्रभावकारी हुनु जनसमर्थनको पहिलो सर्त हो भने यसका लागि अन्य तरिका पनि अपनाउनु जरुरी हुन्छ। तीन उपाय  निम्न हुन सक्छन् । 
  • जनसमर्थनका लागि विभिन्न समुदाय–बालबालिका, युवा, महिला, किसान, मजदुर, बुद्धिजीवी सम्मिलित ‘अख्तियार क्लब’ निर्माण गर्न सकिन्छ।
  • भ्रष्टाचारको विद्यमान अवस्था, त्यसविरुद्धको मनोविज्ञान, अख्तियारको प्रभावकारिता आदिका बारेमा नागरिक सर्भेक्षण गरेर जनसहभागिता बढाउन सकिन्छ।
  • समुदायको व्यापक हिस्सामा भ्रष्टाचारविरुद्ध र सदाचार प्रवद्र्धनका बारेमा सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरेर पनि जनसमर्थन प्राप्त हुन सक्छ।
  • अहिलेभन्दा शक्तिशालीे अख्तियारको परिकल्पना गरिरहँदा शक्तिको दुरुपयोग हुनसक्ने खतरातर्फ सतर्क हुनैपर्छ। महादेवको गलत वरदानले अख्तियार भस्मासुर हुन खोजेको अनुभव हामीसँग छ। अख्तियारलाई सधैं होसियार राखी भस्मासुर हुन नदिन व्यवस्थापकीय, कार्यपालिकीय, न्यायपालिकीय नियन्त्रणका उपाय प्रभावकारी बनाइनुपर्छ। 
  • सुन्दा र बुझ्दा अख्तियारभित्र पनि भ्रष्टाचार हुन्छ। त्यहाँ अनुचित लाभका लागि दुःख दिन उजुरी दर्ता गराउने, लुकाउने, अभिलेख नराख्ने, अनावश्यक कारबाही गर्ने तथा तामेली र मुल्तबीमा राखेर चलखेल हुन्छ। यस्तो चलखेल रोक्न नागरिक निगरानी प्रभावकारी औजार हो।
  • भ्रष्टाचारका पीडित नागरिक मात्र हुन्छन्। यसका पक्ष ‘लाभग्राही’ हुन्। तसर्थ पीडित स्वयंको भ्रष्टाचारविरुद्ध चासो स्थापित गर्न र स्वामित्व भाव उत्पन्न गराउन पहरेदारी र सक्रिय हस्तक्षेप गरी नागरिक निगरानी जरुरी हुन्छ। यसका लागि अख्तियारको ‘तीन काम चार निगरानी’ को तरिका अपनाउन सकिन्छ। तीन काम भनेको अनुसन्धानात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक काम हुन्। चार निगरानी भन्नाले उपरोक्त तीन कामका साथै अख्तियारको समग्र कामकारबाहीमा हुने निम्नानुसारका निगरानीलाई बुझाउँछ–
    • पहिलो, अख्तियारका समग्र कामकारबाही, नीति, नियम, कार्यविधि, कानुन, बजेट, योजना, संरचना, जनशक्तिका बारेमा पुनरावलोकन गरी आवश्यक सल्लाह, सुझाव र निर्देशन दिन तथा आवश्यकताअनुसार राष्ट्रपतिको ध्यानाकर्षण गराउन राष्ट्रपतिले नियुक्त गर्ने नागरिक समाज, अख्तियार क्लब, पेसागत संस्था र राष्ट्रिय सभाको सदस्य सम्मिलित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सल्लाहकार समिति गठन गर्ने।
    • दोस्रो, परेका उजुरीमा गरिएका कारबाही, तामेली र मुल्तबीमा राखिएका उजुरीको अवस्था, अनुसन्धानमा भएको ढिलाइ, मुद्दा दायर गर्नुअघिको प्रतिवेदन आदिका बारेमा जानकारी लिई थप अनुसन्धान गर्न वा अन्य आवश्यक निर्देशन दिन, समस्या समाधानका लागि सल्लाह, सुझाव दिन राष्ट्रपतिले नियुक्त गर्ने नागरिक समाजका अभियन्ता, पूर्वविशिष्ट कर्मचारी, पूर्वन्यायाधीश, सञ्चार जगत्, प्राध्यापक, विद्यार्थी र पेसाकर्मी सम्मिलित अनुसन्धान पुनरावलोकन समिति गठन गर्ने।
    • तेस्रो, जनसमर्थन प्राप्त गर्न र चेतनामूलक काममा सहभागिता जनाउन तथा जनताको राय संकलन गर्न वार्षिक सर्भेक्षण गर्ने र प्राप्त नतिजाअनुसार सुधार गर्न आयोगले सञ्चालन गर्ने कामको समग्र अनुगमन गरी आवश्यक सुझाव, सल्लाह र निर्देशन दिन राष्ट्रपतिले नियुक्त गर्ने अख्तियार क्लब, नागरिक समाज, विद्यार्थी, शिक्षक, मजदुर, किसान, अभियन्ता सम्मिलित प्रवर्द्धनात्मक कार्य पुनरावलोकन समिति गठन गर्ने।
    • चौथो, भ्रष्टाचारमैत्री कानुन, कार्यविधि, नीतिनियम, संरचना र कार्य वातावरणमा कमी ल्याई सदाचार अभिवृद्धि गराउन, मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र चुस्त सेवा प्रवाह कायम गर्न आयोगले चाल्ने कदममा अनुगमन गरी आवश्यक राय, सुझाव, निर्देशन दिन राष्ट्रपतिले नियुक्त गर्ने विभिन्न विधाका नागरिक विज्ञसम्मिलित निरोधात्मक कार्य पुनरावलोकन समिति गठन गर्ने।

No comments:

Post a Comment