Saturday, November 17

जनतालाई सास्ती दिने शासन -श्रीकृष्ण अनिरुद्ध गौतम

  • राजतन्त्र हुँदा जेजस्ता प्रवृत्तिको विरोध गरिएको थियो, दलहरु तिनै प्रवृत्तिका संवाहक बन्न पुगेका छन् ।
  • शासनको आसनमा जो बस्यो, राज्य उसैको विर्ता हो । नाम गणतन्त्र भए पनि संस्कारबाट राजतन्त्र गएको छैन । यस्तो प्रतीत हुन्छ, महाराजको बासस्थान नारायणहिटीबाट शीतल निवास सरेको हो, पदको नाम फेरिएको हो चलन, प्रचलन, शैली र संस्कार होइन । प्रश्न त उठिहाल्छ फेरि, तैपनि व्यवस्था बदल्न किन लागिपर्छन् मानिस, जबकि त्यहाँ शरीरमात्र फेरिने हुन् ।
  • प्रणाली निर्धारण गर्दा शीर्षक नयाँ राखिए, तर पेटबोलीमा पुरानै हरफहरू दोहोर्‍याइए । महाराज हटाइयो, त्यस ठाउँमा राष्ट्रपति राखियो । राष्ट्रपतिलाई महाराजकै आनीबानी सुहाउँदा सुविधाले सज्जित गरियो । त्यसैको परिणाम हो, उनको हिँडाइ यात्रा भएन, सवारी भयो । 
  • संसदीय प्रथा त्यसै पनि भारदारीतन्त्रकै सन्तान हो, यहाँ अरू विकृत बनाइएको छ ।
  • यस प्रथाको उद्भव बेलायतमा भएको हो । त्यहाँको माथिल्लो सदन अर्थात् ‘हाउस अफ लर्डस्’ अर्थात् ठूलाठालुको सदन अहिले पनि प्रकारान्तरमा भारदारीसभा नै हो । ‘हाउस अफ लर्डस्’ नाम आफैंले यही जनाउँछ । तल्लो सदन प्रारम्भमा जमिनदारहरूका लागि गठन भएको थियो । त्यसमा नागरिकहरूको प्रतिनिधित्व भित्र्याउने क्रममा त्यसले कालान्तरमा ‘हाउस अफ कमन्स’को रूप लिएको हो । संसदीय प्रथाले सर्वसाधारणलाई सम्बोधन गर्नभन्दा प्रतिनिधिहरूलाई अभिजात्यतातर्फ उन्मुख गराउँछ । 
  • भारतीय संविधान प्रकारान्तरमा बेलायती उपनिवेशकै विरासत हो । त्यहाँ बेलायती राजशाहीका प्रतिनिधि भाइसरायका ठाउँमा राष्ट्रपति राखिए, यहाँ अचेल संवैधानिक राजाका ठाउँमा राष्ट्रपति भएजस्तै । बनाउने तरिकामात्र फरक तर देखासिकी राजाकै । उस्तै चाकडी, उस्तै साष्टांग दण्डवत् । उस्तै असंवेदनशीलता ।
  • निश्चय नै संसदीय प्रथा बेलायतमा विकसित हुँदै गयो, तर भारतमा प्रदूषित । नेपालमा भने पछिल्लो समयमा नयाँ बनाउने नाममा अरु विकृत बनाइएको छ । यो शासकीय गुणले रहित र निर्मम छ । आवरणमा लोकतन्त्र राखिएको तर यसको आचरण पूरै अल्पतन्त्रको छ । शासनमा बस्नेले जतिसुकै फटाइँ गरे पनि ती दण्डित नहुने परिबन्द मिलाइएको छ । 
  • दलहरूको कार्यशैली यथार्थमा विकृत सामन्ती व्यवस्थाजस्तो छ । देख्दा श्रेणीबद्ध, तर सञ्चालन तानाशाही प्रकृतिको छ । यसमा कुनै दल अपवाद छैन, लोकतन्त्र पक्षधर र कम्युनिस्टका साइनबोर्ड मात्र फरक छन् ।  राजतन्त्र हुँदा जेजस्ता प्रवृत्तिको विरोध गरिएको थियो, दलहरू तिनै प्रवृत्तिका संवाहक बन्न पुगेका छन् ।

No comments:

Post a Comment