Saturday, November 17

सफल नेतृत्वका पञ्‍च गुण-रविन्द्र मिश्र

  • देशको विकास या अविकासको विषयलाई जुनसुकै दृष्टिबाट विश्लेषण गरे पनि अपवाद छोड्ने हो भने त्यो अन्ततः आएर नेता मै ठोकिन्छ। राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, आन्तरिक द्वन्द्व, अर्थतन्त्रको सुस्तता सबैको अन्तर्यमा सामान्यतया नेतृत्वको कमजोरी नै निहित हुन्छ।
  • राजनीतिक व्यवस्था र राज्यको संरचना आफैंमा विकासको साधक या बाधक नहुने रहेछ। चिनियाँ, सिंगापुरियन र अरबीयनहरु जसलाई आफ्नो देशको कडा या नरम तानाशाही व्यवस्थासँग कुनै सरोकार नै छैन। उनीहरूको जीवनस्तर उच्च र सुरक्षित छ। उनीहरू संसार घुमिरहेका अनि हर दृष्टिबाट समृद्ध जीवन बिताइरहेका हुन्छन्। 
  • आफूलाई लोकतान्त्रिक भन्नेहरूले लोकतन्त्र नमान्नेलाई दानवीकरण गर्न खोज्नु ठीक होइन।
  • नेपालको हकमा लोकतन्त्र बिनाको राज्यव्यवस्था परिकल्पना गर्न पनि गाह्रो छ। दशकौंको अभ्यासको परिणाम हुनुपर्छ, अनेकौं कमीकमजोरी हुँदाहुँदै पनि लोकतन्त्रलाई नेपालमा गहिरोसँग आत्मसात् गरिसकिएको छ। 
  • सन् १९६० यताका झन्डै ६० वर्ष संसारमा लोकतन्त्र नभएका र भएका दुवै प्रकृतिका दर्जनौं देशले काँचुली फेरेको अवधि हो।
  • देशको सफलता र विफलताको दोष मूल रूपमा नेतृत्व कौशललाई नै जान्छ। 
सफल नेतामा हुनुपर्ने आधारभूत गुणहरूचाहिँ के हुन् ? 
 (क) इमानदारी (इन्टेग्रिटी)
  • विकासका दृष्टिबाट खेर गएको ६० वर्षको असफलताको सबैभन्दा ठूलो कारण नेतृत्वमा इमानदारीको अभाव हो। 
  • राजनीतिको लत लागेका तर लेस पनि मानवता नभएका व्यक्ति असल राजनीतिज्ञ हुन सक्दैनन्।  मानवताविहीन राजनीति पद, प्रतिष्ठा, स्वार्थकेन्द्रित र भ्रष्ट हुन्छ। इमानदार त्यो हो जो मौका पाउँदा पनि भ्रष्ट हुँदैन।
  • लोकतन्त्रमा देश विकासको पहिलो आधार नेतृत्वको इमानदारी हो। गैरलोकतान्त्रिक देशमा पहिलो आधार इमानदारी नहुन सक्छ, किनभने तानाशाहहरू दुई प्रकारका हुन्छन्। पहिलो— भ्रष्ट हुँदाहुँदै देश बनाउने, जस्तो खाडी क्षेत्रका कैयौं राजपरिवार। दोस्रो— भ्रष्ट पनि हुने र देश पनि ध्वस्त पार्ने, जस्तै जिम्बाब्वेका राष्ट्रपति मुगाबे र अन्य कतिपय अफ्रिकी नेता।
(ख) क्षमता (कम्पिटेन्सी)
  • इमानदारी भए पनि क्षमता भएन भने त्यो व्यक्तिले आमूल रूपान्तरणको नेतृत्व गर्न असम्भव हुन्छ। 
  • उसो भए क्षमता भनेको हो के त ? क्षमता विभिन्न गुण दर्शाउने समुच्च शब्द हो। नेताको पहिलो क्षमता नेतृत्वका लागि तुलनात्मक रूपमा क्षमतावान् व्यक्ति पहिचान गर्न सक्ने गुण हो।  ‘विकासका लागि सही व्यक्ति सही ठाउँमा हुन जरुरी छ’ त्यसै भनिएको होइन।
  • क्षमतावान् व्यक्तिको संलग्नताबिना देशको विकास सम्भव भएको छैन।
  • क्षमतावान् नेताको अर्को विशेषता सम्भाव्य नेतृत्वमा क्षमता अभिवृद्धि गर्न र भविष्यमा पनि राजनीतिलाई तुलनात्मक रूपमा सुसंस्कृत राख्न क्रमशः संस्थाहरू निर्माण गर्न सघाउनु पनि हो। 
  • नेतृत्व गर्न सक्छु भन्ने (घमण्ड र हठ बिनाको) आत्मविश्वासदेखि समूहमा काम गर्ने सीप, पूर्वाग्रहविहीनता, अध्ययन र लेखनको बानी, धैर्य, दृढता, लगनशीलता, निर्णय लिने क्षमता, साहस, समानुभूतिको भाव, सकारात्मक सोच, क्षमाशील स्वभाव, आत्मसमीक्षा गर्ने आँट, सधैं सिकिरहने चाहना आदि सबै क्षमतावान् नेतृत्वका गुण हुन्। सबै कुरामा निपुण कोही पनि हुँदैन तर सफल नेतृत्वका लागि क्षमताका यी अधिकांश अंश आवश्यक पर्छ। 
  • सामान्य सुझबुझ, विचार र दूरदृष्टि पनि क्षमताकै अंश हुन् ।
(ग) सामान्य सुझबुझ (कमन सेन्स)
  • कहिलेकाहीँ हामी शिक्षाले दिने ज्ञानलाई क्षमता सम्झिन्छौं। तर सामान्य सुझबुझबिनाको क्षमता नेतृत्वमा कामै लाग्दैन। सामान्य सुझबुझयुक्त नेतृत्वको कति धेरै महत्व हुँदो रहेछ भने उसमा के गर्ने र के नगर्ने भन्नेबारे गजबको चेत र मिहिन मूल्यांकन क्षमता हुने रहेछ। त्यही सामान्य सुझबुझ नै कैयौंका लागि विशिष्ट क्षमता बनिदिन्छ। जंगबहादुर राणाको क्षमता शिक्षामा होइन, सामान्य सुझबुझमा निहित थियो। 
  • त्यो शिक्षा होइन, सामान्य सुझबुझको परिणाम थियो। आजका हाम्रा नेताहरू शिक्षित छन्, दर्जनौंपटक विदेश जान्छन् तर केही पनि सिक्दैनन्। 
  • अधिकांश स्थितिमा नेतृत्व भनेको बृहत्तर हितको आदर्श नगुमाई गरिने सम्झौता, सन्तुलन र निर्णय पनि हो। त्यसका लागि नेतृत्व क्षमताका विविध पाटोलाई कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विवेकको आवश्यकता पर्छ। त्यो विवेकचाहिँ व्यक्तिको सुझबुझ हो।
(घ) विचार (आइडिओलजी)
  • विचार नभईकन नेतृत्व हुन सक्दैन। नेतृत्वका लागि वैचारिक स्पष्टता अत्यावश्यक हुन्छ। यद्यपि, विचार वस्तुगत परिस्थितिबाट निर्माण भएको हुन्छ र जब वस्तुगत धरातल परिवर्तन हुन्छ, विचारमा परिमार्जन आउन सक्छ। 
  • जडसूत्रवादी सोच भएकाले मात्र विचारलाई अपरिवर्तनीय ठान्छन्। जसले विचारलाई अपरिवर्तनीय ठान्छन् ती आँखामा पट्टी लगाएका घोडा समान हुन्। तिनको एकोहोरो सोचले सुसंस्कृत समाजको निर्माणलाई हानि पुर्‍याइरहेको हुन्छ। 
  • वैचारिक स्पष्टताले कहिले लचकता, कहिले कठोरता, कहिले सन्तुलन, कहिले दृढता र कहिले आमूल परिवर्तन खोज्छ। त्यसलाई नेतृत्वका अन्य गुणहरू इमानदारी, क्षमता, सुझबुझ र दूरदृष्टिले निर्देशित गर्नुपर्छ। नत्र वैचारिक स्पष्टतामात्र नेतृत्वका लागि पर्याप्त हुँदैन। नेपाल बिग्रिएको विचार नभएर होइन नेतृत्वका अन्य आधारभूत आचरण नभएर हो।
(ङ) दूरदृष्टि (भिजन)
  • विचार र कार्ययोजनाको सम्मिश्रण दूरदृष्टि हो। सफल नेतामा त्यो नभई नहुने गुण हो। 
  • सिक्नका लागि चेतनाको दृष्टिले हेर्नुपर्छ, आँखाले देखेर पुग्दैन।
http://annapurnapost.com/news/112968

No comments:

Post a Comment