Thursday, November 15

ट्राफिक व्यवस्थापन (सम्पादकीय)

  • जनसङ्ख्या र सवारी साधनको चाप तीव्र गतिमा बढिरहेको तर सडकको अवस्था त्यसअनुरूप सुधार हुन नसक्नु यसको प्रमुख र प्रत्यक्ष कारण हो । ट्राफिक नियम पालना नगर्ने सवारी चालक र यात्रु, अपर्याप्त ट्राफिक सङ्केत र बत्ती, ट्राफिक प्रहरीको कमीजस्ता कारणले सवारी साधनको व्यवस्थापनमा समस्या आएको छ तर काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रसहित मुलुकभरकै सार्वजनिक यातायात व्यवस्थापन अव्यवस्थित र सकसपूर्ण हुनुमा राज्यको नीतिगत कमजोरी प्रमुख कारण हो । 
  • मुलुकभर २० लाख सवारी साधन रहेको अनुमान छ । बागमतीमा मात्रै ११ लाख ७२ हजार सवारी साधन दर्ता भएका छन् जुन मुलुकभर दर्ता भएका सवारी साधनको करिब ३६ प्रतिशत हो । बागमतीमा दर्ता भएकामध्ये ९० प्रतिशत राजधानीमा गुड्छन् । अन्य अञ्चलमा दर्ता भएका सवारी साधन पनि काठमाडौँमा गुड्छन् । तर उपत्यकाको सडक भने दुई हजार १४ किमि छ, एक लेनको ६६० किमि, दुई लेनको २३९ किमि र चार लेनको १९३ किमि छ ।
  • भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको अवस्था कमजोर भएकै कारण सम्पूर्ण समस्या आएको भन्ने मान्न सकिन्न । सवारी र सार्वजनिक यातायात व्यवस्थापनमा सम्बन्धित निकाय उदासीन रहनु मूल कारण हो । 
  • काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि भनेर अहिले भइरहेका करिब दुई सय रुटलाई ६६ मा सीमित गर्ने गरी अध्ययन भएको छ । 
  • सम्भवतः व्यवस्थित र वैज्ञानिक रुट भनिएको यो नयाँ रुट प्रयोग गर्दा अहिले भइरहेका साना सवारी साधन विस्थापन हुनुपर्ने हुनसक्छ । उपत्यकामा हाल तीन सयभन्दा बढी सङ्घसंस्था र समिति मातहतमा झण्डै ११ हजार सार्वजनिक सवारी सञ्चालनमा छन् । 
  • निजी सवारी साधन प्रयोगमा नियन्त्रण न्यायोचित हुँदैन । राज्यले राम्रो सार्वजनिक यातायात सञ्चालन गरेर वा वातावरण बनाएर निजी सवारी साधन प्रतिको आकर्षण घटाउनसक्छ । यसका लागि ठूलो, सुविधायुक्त, छिटो सार्वजनिक सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । 
  • कतिपय शहरले निःशुल्क सार्वजनिक यातायात सुरु गरिसकेका छन् । काठमाडौँमा अहिले नै निःशुल्क सार्वजनिक यातायातको कुरा उठाउनु व्यावहारिक होला नहोला तर ‘मास ट्रान्सपोर्टेशन’ अपरिहार्य छ । सडक, सवारी र यात्रुमैत्री मार्ग पहिचान गरी तिनमा साना सवारी साधनको सट्टामा ठूला सवारी साधन सञ्चालन हुनसके ट्राफिक व्यवस्थापनमा निकै सुधार आउनेछ । 
  • यात्रुको चाप, भौगोलिकता, दूरी, सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापनको मर्ममा ध्यान पुर्‍याउनैपर्छ । सडक पूर्वाधार, ट्राफिक जनशक्ति, प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा थप सहयोग पुग्नेछ । http://gorkhapatraonline.com/news/61818

No comments:

Post a Comment