Friday, November 9

भ्रष्टाचारको जड-गायत्री लम्साल

  • सभ्य समाज निर्माणका लागि भ्रष्टाचार न्यूनीकरण पहिलो प्राथमिकता हो। भ्रष्टाचारजन्य क्रियाकलापबाट आर्जेको सम्पत्तिलाई सामाजिक बहिष्करण नगर्दासम्म भ्रष्टाचारले प्र श्रय पाउँछ। 
  • ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा छ। जसमा चालीस अंकभन्दा कम ल्याउने मुलुकलाई उच्च भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ। 
आखिर किन नियन्त्रण हुन सकिरहेको छैन भ्रष्टाचार ? यसको जगमा हाम्रो सामाजिक चिन्तन जोडिएको छ।
  • समाजमा सम्पत्ति हुन र कमाउनेलाई सम्मानको नजरले हेरिन्छ। छोटो समयमा अकूत सम्पत्ति कमाउनेलाई निकै आदर गर्छ हाम्रो समाज। के गरेर कमायो भन्नेबारे कसैले सोच्दैन। बरु कमाउन नसक्नेलाई हेयको भावले हेरिन्छ। मानिसको प्रतिष्ठालाई धन र सम्पत्तिसँग दाँजिन्छ न कि बुद्धि र विवेकसँग।
  • हाम्रो समाजमा नेता, कर्मचारी, व्यापारी, व्यवसायी, संघसंस्था तथा नागरिक समाज भ्रष्टाचारजन्य क्रियाकलापबाट अछुतो छैनन्। जति माथिल्लो तह र तप्कामा पुग्छ, उति नै बढी भ्रष्टाचार गरेको घटना बारम्बार सार्वजनिक हुने गरेको छ। ठूला आयोजनाको बालुवामा होस् वा दुर्गममा पठाइएको राहत सामग्रीमा होस्, धेरथोर भ्रष्टाचार हुने गरेको खुला सत्य हो। 
केही प्रश्न ! 
  • यति साह्रै भ्रष्ट किन बन्यो समाज ? देश बनाउने कसम खाएर चिल्लो गाडीमा सरर हिँड्दा पनि गरिबका लागि छुट्ट्याइएका एक माना खजाना झ्याम्म पार्ने दरिद्र सोच किन हुर्किन्छ आखिर ? सामान्य आवश्यकता परिपूर्ति भएको अवस्थामा लोभको भकारी जागै रहन्छ। आर्थिक रूपमा जति सम्पन्न हुँदै गयो उति हाम्रो सोचाइको स्तर तल खस्छ किन ? बस्ने सानदार घर, हिँड्ने महँगा गाडी, आम्दानीको स्रोत करोडौं लगानी हुँदा पनि मनभित्रको दरिद्रताले किन छोड्दैन ? आफ्नै घरको छतमा हेलीप्याड राख्न सक्ने आर्थिक हैसियत भएकासमेत किन झन्झन् मानसिक गरिबी भएका छन् ?
  • विडम्बना हाम्रो समाजमा हरेक हैसियतमा हुने मानिसहरूले भ्रष्टाचार गर्ने गरेका छन्। नीतिनियम बनाउनेले नीतिगत भ्रष्टाचार गर्ने, कार्यान्वयन गर्ने संयन्त्रले कार्यान्वयन नगरेर भ्रष्टाचार गर्ने, तल्लो तहका कर्मचारीले ससानो रकम घुस मागेर भ्रष्टाचार गर्ने।  
  • सिद्धान्तबिनाको राजनीति, चरित्रबिनाको ज्ञान, विवेकबिनाको भोज, परिश्रमबिनाको धन, मानवता बिनाको विज्ञान, बलिदानबिनाको भक्ति र नैतिकताबिनाको व्यापार काम लाग्दैन भनेर महात्मा गान्धीले भन्नुभएको थियो। हाम्रो चाहना भने यसको विपरीत छ। एकै रातमा धनी बन्न मन लाग्छ। परिश्रम नगरी धन कमाउन मन लाग्छ। सिद्धान्त, चरित्र, विवेक नैतिकता सबै बेचेर भए पनि सबैभन्दा धनी बन्ने होड चल्छ। सैद्धान्तिक ज्ञानका जति डिग्री हासिल गरे पनि व्यावहारिकताको भकारी रित्तो र चुहिने बन्दै गएको छ।
  • भ्रष्टाचारविहीन समाज निर्माण गर्नु कठिन अवश्य हो तर अति भ्रष्टाचार न्यूनीकरण भने पक्कै गर्न सकिन्छ। यसका लागि हुर्कंदो उमेरमै सदाचार र नैतिकताको पाठ सिकाइनुपर्छ। त्यसका लागि परिवार, विद्यालय र समाजले नै पहल गर्नुपर्छ। 
  • अहिले भ्रष्टाचारसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राख्ने निगरानी हरेक परिवारका एकजना सदस्यले मात्र राख्ने हो भने क्रमशः, भ्रष्टाचार नगर्ने मानसिकता विकास हुन थाल्छ।  
  • भ्रष्टाचार न्यूनीकरण नगरेसम्म विकासले गति लिन सक्दैन। यसका लागि पहिलो दायित्व पाएको सरकार, संसद, न्यायिक निकाय र संवैधानिक अंगले आफूले पाएका अधिकार असल नियतले प्रयोग गर्नु आवश्यक छ। योभन्दा बढी दायित्व अझ हरेक परिवार र हरेक समाजको हुनु जरुरी छ। हरेक परिवार, समाज अनि सिंगो राष्ट्रले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ को नीति व्यवहारमा लागू गर्नुपर्छ।
  • सुख, शान्ति र सन्तोषका लागि पैसा ठूलो कुरा होइन भन्ने बुझ्नु र बुझाउनु जरुरी छ। 

No comments:

Post a Comment